विषयप्रवेश
देवी नेपाल नेपालमा मात्र नभएर नेपाली जाति फैलिएका विभिन्न देशहरूमै परिचित नाम हो । देवी नेपाल खास गरी छन्द कविताको पुनर्जागरण गराउने एक शिक्षक/प्रशिक्षक, सर्जक, समालोचक प्रतिभा हुन् । दर्जनौँ कृति प्रकाशनमा ल्याएका नेपाल सिर्जना, विधासिद्धान्त, समीक्षा, समालोचना आदि क्षेत्रमा कलम चलाउँछन् । ‘छन्द पराग’ (२०७३) कृतिका माध्यमबाट छन्द कविता लेखनसम्बन्धी मार्गदर्शन गर्ने एक अभियन्ताका रूपमा परिचय बनाएका यिनी हँसमुख अनि मृदुभाषी छन् । साहित्यसम्बन्धी प्रशिक्षण र प्रसारण गर्ने क्रममा निर्माण भएको ज्ञानलाई सूत्रबद्ध गरी ‘लेखन शिल्प’ (२०७८) कृति प्रकाशनमा ल्याएका हुन् । लोकप्रिय अनलाइन पत्रिका साहित्यपोस्टमा सिर्जना पाठशाला स्तम्भ चलाइ त्यसैमा सामग्रीहरू सम्प्रेषण गर्दै जाँदा कृतिका रूपमा प्रकाशित गर्ने अभिप्रेरणा जागेको र प्रस्तुत कृति प्रकाशनमा आएको पाइन्छ । देवी नेपालका सर्जक, समालोचक, अभियन्ता, सम्पादक आदि व्यक्तित्वका विविध पक्षहरू रहेका छन् । प्राज्ञिक तथा सामाजिक क्षेत्रमा पनि यिनको प्रभाव सघन रहेको छ । कविता–काव्यहरूको सिर्जना तथा बालसाहित्यका क्षेत्रमा पनि यिनको योगदान उल्लेखनीय रहेको छ । समालोचनाका क्षेत्रमा पनि यिनको कलम प्रखर रूपमा चलेको देख्न सकिन्छ । यस लेखमा अन्य कुराको सन्दर्भमा नभई यिनको भर्खरै बजारमा आएको ‘लेखन शिल्प’ कृतिमाथि पाठकीय अनुभूतिका साथ समीक्षात्मक रूपमा प्रकाश पार्ने काम गरिएको छ ।
लेखन शिल्प कस्तो कृति हो ?
लेखनका विभिन्न प्रकार रहेका छन् । मूलतः सिर्जनात्मक र समालोचनात्मक गरी लेखनका दुई प्रकार रहेका छन् । यी दुईभित्र प्रवेश गर्दा विविध प्रकारका उपभेद तथा प्रविधिको अवस्था रहेको छ । अस्तित्वमा रहेका विविध कित्तालाई स्पष्ट पारी विधागत लेखनसम्बन्धी ज्ञान, अभिप्रेरणा र अभ्यासलाई केन्द्रित गरी प्रस्तुत कृति तयार पारिएको छ । लेखन कलालाई कसरी व्यवस्थित, स्तरीय र परिष्कृत गराउने भन्ने कुरामा यो कृति केन्द्रित रहेको छ । कविताको सूक्ष्म भेदका मात्रै एकतिसवटा भेद र तिनको परिचय समेट्नुका साथै नेपाली साहित्यमा स्थापित तथा नवीन प्रकृतिका विधाहरूको परिचय, प्रकृति, संरचनागत ढाँचा तथा लेखनसम्बन्धी अभ्यासलाई प्रकाश पार्ने काम यसमा गरिएको छ । कुनै पनि विधाले खास स्वरूप र प्रवृत्ति बोकेका हुन्छन् । सोही मर्ममा तिनको सिर्जना शिल्पको विकास गराउनुका साथै सर्जक नवसर्जकहरूलाई मार्गनिर्देशन गर्ने दृष्टिले प्रस्तुत कृति सबैका लागि उपयोगी सामग्रीका रूपमा आएको छ । लेखनका प्रकार तथा तिनको आधारभूत मर्मलाई प्रकाश पारी निर्माणसम्बधी ढाँचा र चरण पनि यसमा प्रस्तुत गरिएको छ । लेखक वा साहित्यकार बन्न चाहने व्यक्ति होस् वा अनुसन्धान कार्यमा अगाडि बढ्न चाहने व्यक्तिका लागि यो पथप्रदर्शक माध्यमका रूपमा रहेको पाइन्छ ।
संरचनागत आयाम
ऐरावती प्रकाशन प्रा.लि.द्वारा प्रकाशित प्रस्तुत कृति भौतिक तथा प्राज्ञिक दुवै दृष्टिले सबल र उपयुक्त रहेको छ । आवरण पृष्ठको सज्जा, कागजको गुणात्मकता, अक्षरको आकार, बँधाइ, मूल्य आदि कुराहरू पनि स्तरीय रहेको पाइन्छ । कुल चार सय चालिस पृष्ठमा निर्मित प्रस्तुत कृतिको भूमिका खण्डमा दश पृष्ठ, सन्दर्भ सामग्री खण्डमा नौ पृष्ठ र मूल भाग वा मुख्य विषय प्रस्तुति खण्डमा जम्मा चार सय एक्काइस पृष्ठ रहेको पाइन्छ । नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपतिको सान्दर्भिक शुभकामनाले कृति र कृतिकारको वैशिष्ट्यलाई झल्काएको पाइन्छ । सन्दर्भ सामग्री खण्डमा लेखकको परिचयात्मक झलक पनि प्रस्तुत गरिएको छ । कृति निर्माणका क्रममा उपयोग गरिएका सन्दर्भ सामग्रीको सूची पनि दिइएको छ । यस कृतिमा सैँतिस अध्यायगत शीर्षकहरू रहेका छन् । कविता, कथा, निबन्ध, नाटक जस्ता विधाभित्र परम्परागत प्रचलनमा स्थापित भएका उपविधाहरू र तिनको सिर्जनात्मक रचना प्रक्रियालाई यहाँ प्रकाश पारिएको छ । कविताको सूक्ष्म रूपअन्तर्गत स्थापित भएका हाइकु, मुक्तकलगायत सम्पूर्ण विधाउपविधाहरूको परिचय, प्रकृति, विकास, संरचनागत ढाँचा, निर्माण प्रक्रिया, रचना निर्माणको तहगत प्रक्रिया तथा आवश्यक दृष्टान्तलाई केन्द्रित गरी अध्यायको निर्माण भएको पाइन्छ । अध्याय वा शीर्षक सम्बद्ध सामग्रीहरूको विन्यासलाई हेर्दा लगभग समान प्रकृतिको आयामगत विस्तार पाइन्छ । धेरै अध्यायमा निर्मित भएर पनि अध्यायगत ढाँचमा सन्तुलन पाइनु यस कृतिको आकर्षक पक्ष रहेको मान्नुपर्दछ । अध्यायको आकारगत विन्यासमा पनि लेखक सचेत रहेको पाइन्छ ।
लेखन शिल्पका महत्त्वपूर्ण कडीहरू
अभिव्यक्तिको उद्देश्य विचारको सम्प्रेषण नै रहेको सन्दर्भलाई उठाई अभिव्यक्ति मूलतः तिन प्रकारका रहेको कुरा यहाँ प्रकाश पारिएको छ । बोलचालमा केन्द्रित सामान्य अभिव्यक्ति, संज्ञानात्मक तहमा केन्द्रित बौद्धिक अभिव्यक्ति, अनि अभिव्यञ्जनामूलक साहित्यिक सिर्जनामा केन्द्रित आलङ्कारिक अभिव्यक्तिको अवस्थालाई यहाँ उल्लेख गरिएको छ । कविता, आख्यान, निबन्ध र नाटकलाई सिर्जनात्मक लेखनका मुख्य भेदका रूपमा उल्लेख गरी तिनैका पृष्ठभूमिमा विविध विधा र उपविधाहरू जन्मिएको सङ्केत पनि यहाँ गरिएको छ । विधागत अध्ययन तथा अनुसन्धानका लागि यो कृति एकप्रकारको गुरुग्रन्थका रूपमा तयार भएको छ । नेपाली कविताको सूक्ष्म भेदअन्तर्गत प्रचलनमा रहेका र भर्खर जन्मेर अभ्यासमा आइरहेका विभिन्न एकतिस प्रकारका उपभेदहरूको परिचयात्मक सन्दर्भ उठाई सामान्य सैद्धान्तिक रूपरेखा तथा प्रयोग नमुनाहरूलाई समेत प्रस्तुत गर्नुले भ्रखर बामे सर्दै गरेका भेद उपभेदप्रतिको अभिलेखीकरण हुनु आफैमा महत्त्वको विषय रहेको छ । हाइकु, ताङ्का, सेदोका, छोक, एलाक, मुक्तक, रुबाई, लोकपद्य, कवित्, कूटपद्य, सायरी, दोहा, सोरठा, चौपाई, आल्हा, पूरबी, केस्रा, खिचडी, युग्मक, बाछिटा, सुसेली, साइनो, खोरिया, उदक, उक्तक, झर, शीत, छेस्का, आगो, टुक्का, कोपिला जस्ता नवीनतम प्रयोगमा आएका कविताका रूपलाई पहिचान दिने काम पनि यहाँ भएको छ । प्रस्तुत कृतिमा लेखक देवी नेपालको सैद्धान्तिक ज्ञानका साथमा समालोचकीय प्रखरताको झलक पनि पाउन सकिन्छ । इतिहासमा प्रयोगमा आएर गुमनाम हुन पुगेका केही नयाँ प्रयोगहरूको सन्दर्भलाई सङ्केत गरी चर्चामा आउने लहडका मोहमा सामान्य संरचना हेरफेर गरेर नयाँ स्वरूपको न्वारन गर्ने तर जन्माउने व्यक्तिबाट अन्य स्रष्टाहरूमा हस्तान्तरण समेत नहुने नियति यस्ता भेद उपभेदको नहोस् भनी स्पष्ट पार्ने काम पनि छ ।
यस कृतिको अर्को महत्त्वपूर्ण पक्ष विधाहरूको स्वरूपगत परिचय मात्र नभई निर्माण कलाको कार्यकलापको तहगत ढाँचा पनि प्रस्तुत गरिएको छ । एकातिर शब्दहरू थुपार्दैमा सिर्जना हुँदैन भन्ने सुझ प्रदान गरिएको छ भने अर्कोतर्फ प्राविधिक ढाँचामा बाँधिएर आआफ्नो प्रतिभाको प्रदर्शन गर्ने विषय स्रष्टा स्वयंको कला सामर्थ्य हो भन्ने कुरालाई पनि जोड दिइएको छ । सिर्जनात्मक लेखनको तिन चरणको ढाँचा प्रस्तुत गरी नवसिकारुहरूलाई अभ्यासमा केन्द्रित भएर सिर्जना कर्ममा अगाडि बढ्नको लागि मार्ग प्रशस्त गर्ने दृष्टिले पनि प्रस्तुत कृति उल्लेखनीय रहेको छ । पहिलो चरणलाई शब्द संयोजनको तह, दोस्रो चरणलाई अर्थ संयोजनको तह, र तेस्रो चरणलाई भाव संयोजनको तहका रूपमा छुट्याई चरणगत हिसाबबाट अगाडि बढ्दा कलात्मक सौनदर्यको निर्माण भई कुनै पनि सिर्जना अब्बल बन्न सक्ने मान्यता यहाँ प्रकाश पारिएको छ । यस प्रकारको निर्माण ढाँचाद्वारा सामान्य लेखन र साहित्यिक लेखनमा के फरक छ भन्ने कुरा पाठकले सहजै छुट्याउन सक्छ । कुनै खास विषय क्षेत्रको कल्पना गरी त्यससम्बद्ध शब्दहरूको सङ्कलन गरेर तिनलाई सामान्य अर्थ द्योतन हुने गरी अनि विशिष्ट कलात्मक अभिव्यक्तिद्वारा व्यञ्जनात्मक भाव सम्प्रेषण हुने गरी खाका नै बनाएर प्रस्तुत गर्नुले सामान्य मानिसले पनि अभ्यास गरी सिर्जनामा हात हाल्न उत्प्रेरित हुने गरी विषयलाई प्रस्तुत गर्न सक्नु लेखक नेपालको मौलिक क्षमता मान्न सकिन्छ । यो प्रशिक्षक देवी नेपालको सिर्जना पाठशालामा परीक्षणद्वारा खारिएर आएको विशिष्ट प्राप्ति बन्न पुगेको छ । अर्थ संयोजनको तहलाई अस्थिपञ्जर निर्माण कलाको उपमा दिइएको छ । यस्तो अस्थिपञ्जरले साहित्यको कलात्मक आस्वादन नदिने हुनाले भाव संयोजनमा स्रष्टा बढी सचेत हुनुपर्ने मान्यता पनि यहाँ अभिव्यक्त भएको छ । अर्थ संयोजनका तहमा विधागत झलक आए पनि कलात्मक परिपुष्टताको अभाव हुने हुनाले भाव संयोजनको चरणमा कलाको विशिष्ट पुट हुन गई सिर्जना जीवन्त बन्न पुग्ने मान्यता प्रस्तुत गरिएको छ । यसैगरी उमेर अनुसारको व्यक्तिको विचारधारात्मक मान्यता अनि त्यसैका पृष्ठभूमिमा विषय वा भावको अभिव्यक्ति हुने कुरालाई पनि दृष्टान्तका साथमा प्रस्तुत गरिएको छ । यस सन्दर्भमा स्रष्टा मनोविज्ञानलाई छाम्ने काम पनि यहाँ भएको पाइन्छ ।
प्रस्तुत कृतिमा विधा तथा उपविधाहरूको व्युत्पत्तिगत सन्दर्भ, खास प्रकृति र प्रवृत्ति, तत्सम्बन्धी पूर्व स्थापित मान्यता, पूर्वीय तथा पाश्चात्य चिन्तन परम्पराको विकासात्मक उठान, वर्तमानको अवस्थालाई समेत झल्काउने काम गरिएको छ । इतिहासका सन्दर्भहरूको झलक प्रस्तुत गर्नुका साथै मानक मान्यताका अवधारणाहरूलाई पनि जोडेर कृतिलाई शोधमूलक बनाउने काम गरिएको छ । आख्यानका लघुतम संरचना सूत्र कथा, केस्रा कथा, लघुकथाको संरचनात्मक आधार उल्लेख गर्ने काम यहाँ गरिएको छ । यस्तै लघु संरचनाअन्तर्गत कथा र आत्मकथालाई राखिएको छ । आख्यानको बृहत् संरचनामा उपन्यास आत्मोपन्यास, नाट्योपन्यास, निबन्धोपन्यास जस्ता भेदहरूको प्रकृति, संरचनागत ढाँचा र निर्माण प्रक्रियालाई प्रस्तुत गरिएको छ । उपन्यास लेखन शिल्पमा उपन्यास सिर्जनाका लागि आधारभूत आठवटा चरणहरू प्रस्तुत गरिएको छ । दृश्यविधाको पहिचान बोकेको नाटकलाई पठनीयताका दृष्टिले पनि उपयुक्त बनाउनुर्पो विचार यहाँ राखिएको छ । नाटक गीतिनाटकमा पनि आठवटा चरणहरू देखाइएको छ । निबन्धको निजात्मकतालाई झल्काई नियात्रा, जीवनी आदिलाई निबन्धकै कित्तामा राखिएको छ । यस्तै चलचित्र लेखनसम्बन्धी सिर्जना अभ्यासमा सिर्जनात्मक चरण र प्राविधिक चरण गरी दुई मुख्य आधार प्रस्तुत गरिएको छ । सिर्जनात्मक चरणमा छवटा तह र प्राविधिक चरणमा सोह्रवटा तह गरी बाइसवटा चरणहरू प्रस्तुत गरिएको छ । चलचित्रको प्राविधिक पक्ष तथा त्यसको आधारभूत मूल्यलाई प्रकाश पार्ने काम पनि यहाँ गरिएको छ । दैनिकी लेखन, सम्पादकीय लेखन सम्बद्ध सामग्री पनि यहाँ समावेश गरिएको छ । लेखनलाई व्यवस्थित, वस्तुगत, पूर्वाग्रहबाट मुक्त, आकर्षक र प्रभावकारी बनाउनका लागि लेखक स्वयंले ध्यान दिनुपर्ने कुराका साथमा सम्बन्धित विधाको मर्मलाई गम्भीरताका साथ आत्मसात गर्नुपर्ने विचार पनि यहाँ सम्प्रेषण भएको छ ।
सिर्जनात्मक लेखनका साथै अनुसन्धानात्मक प्राज्ञिक लेखनको प्रकृति, प्रयोग र यसमा हुने भाषिक स्वरूप, प्रस्तुति शैली, ढाँचागत संरचना आदि कुराहरूका साथमा विधाको पहिचानगत आधारलाई प्रस्तुत गरिएको छ । बहुविधाहरूका बहुआयामिक प्रकृति र ढाँचाहरूको अध्ययनलाई एकीकृत रूपमा सिमलेर यहाँ प्रस्तुत गरिएकाले पनि कृति बहुउपयोगी बन्न पुगेको छ । कृति पढ्दै जाँदा लेखक स्वयंको स्रष्टा व्यक्तित्व र द्रष्टा व्यक्तित्वको सामर्थ्य झल्किएको पाइन्छ । सिर्जनात्मक प्रकृतिका लेखनका क्रममा जति रूपमा आलङ्कारिकता, कलात्मक शिल्प चातुर्य र भावात्मक संवेगको पक्षलाई जोड दिइएको छ । यस्तै प्राज्ञिक वा अनुसन्धानमूलक लेखन औपचारिकतामा आधारित भई प्रविधिमा बाँधिनुपर्ने हुनाले त्यस क्रममा सचेततापूर्ण बौद्धिकताको उपयोग हुनुपर्ने कुरामा जोड दिइएको छ । वस्तुपरकताका साथमा तटस्थ प्रकृतिको प्रस्तुति, कर्म र भाववाची क्रियाको प्रयोग गरी समस्या र उद्देश्यमा केन्द्रित हुनुपर्ने कुरामा जोड दिइएको छ । पुस्तक समीक्षा लेखन, अनुसन्धानात्मक लेखन, शोधप्रस्ताव लेखन तथा शोधप्रतिवेदन लेखनको अवधारणागत मान्यता, स्वरूप, संगठन तथा प्राविधिक कुराहरूको मिहिन प्रस्तुतिले लेखकको अनुसन्धानात्मक सुझ प्रकट भएको पाइन्छ । अनुसन्धानमूलक कार्यमा हुने वस्तुपरकता र प्रविधियुक्ततालाई बढी मात्रामा ख्याल गर्नुपर्ने कुरा पनि सुझाइएको छ । सरल रूपमा विधाहरूलाई चिनाउनुका साथै सान्दर्भिक तथ्य र झलकहरूको प्रस्तुतिले प्रस्तुत कृति नै एकप्रकाले प्रयोगशालाका रूपमा निर्माण भएको मान्न सकिन्छ ।
प्रस्तुत कृतिमा समकालीन समयमा चर्चामा आएका सामग्रीहरू पनि समावेश भएका छन् । रिपोर्ताज जस्तो नवीन प्रकृतिको विधालाई चिनाउनुका साथै त्यसमा संयोजन हुनुपर्ने पत्रकारिता र सिर्जनात्मक लेखन धर्मको मिश्रणको अवस्थालाई पनि स्पष्ट रूपमा प्रकाश पारिएको छ । विषयप्रतिको चित्रात्मकता, आख्यानात्मकता र निजात्मकता जस्ता तिनवटा कुरा रिपोर्ताजमा अनिवार्य रहेको अभिप्राय पनि यहाँ प्रकाश पारिएको छ । रिपोर्ताज लेखनका लागि प्रतिभा, व्युत्पत्ति र अभ्यास जस्ता तिनवटै क्षमताको आवश्यता पर्ने कुरा यहाँ उल्लेख गर्नुले यसमा भएको बहुल पक्षलाई सङ्केत गरेको स्पष्ट हुन्छ । रिपोर्ताज लेखनको संरचनागत चरणहरू प्रस्तुत गरी गणेशप्रसाद भट्टराईद्वारा तयार पारिएको रिपोर्ताजको नमुना पनि समावेश गरिएको छ । यस्तै निर्वाताका रूपमा रहेको अर्को नवीन प्रकृतिको लेखनलाई पनि यहाँ प्रकाश पारिएको छ । अन्तर्वार्तालाई निबन्धात्मक शैलीमा प्रस्तुत गर्दा निवार्ताको निर्माण हुने कुरा यहाँ उठाइएको छ । यस प्रकृतिको लेखनमा आख्यानीकरण, संवाद तथा द्रष्टादृष्टिको अहम् भूमिका रहने कुरा पनि महत्त्वका साथ अभिव्यक्त भएको छ । निवार्ता लेखनको संरचनात्मक चरणका साथमा निवार्ता लेखनमा सिर्जनात्मक कला र समालोचकीय सुझको अपेक्षा गरिएको छ । साक्ष्यका लागि नेत्र एटमको एउटा निवार्ताको नमुनासमेत यहाँ प्रस्तुत गरिएको छ । प्रस्तुत कृतिमा बहुविधाको पहिचानात्मक तथा निर्माणात्मक पक्षलाई समेट्ने काम गरिएको छ । विविध आयाम र विशेषता बोकेको प्रस्तुत कृति सबै तहका र उमेर समुहका पाठकहरूका लागि पठनीय र सङ्ग्रहणीय समग्री बनेको छ ।
निष्कर्ष
बहुआयामिक व्यक्तित्व भएका साहित्यकार प्राज्ञ देवी नेपालद्वारा लिखित ‘लेखन शिल्प’ सिर्जनात्मक तथा व्यावहारिक लेखनको दस्तावेजका रूपमा आएको छ । सिर्जना गर्ने कुरा स्रष्टाको निजी क्षमता र रुचिको विषय हो तर पनि खास ढाँचा र प्रारूपको अभावमा प्रतिभा त्यसै खुम्चिएर रहने अवस्था हुन्छ । विधाको सुझबुझ नहुँदा प्रतिभाले वास्तविक आकार पाउन सक्तैन । त्यस्तो प्रतिभा र क्षमतालाई उजागर गराउनुका साथै विधाको खास प्रकृति र ढाँचामा बाँधिएर कलात्मक विचार प्रवाहित गराउने कुरामा प्रस्तुत कृति एक उत्प्रेरक सामग्रीका रूपमा आएको छ । यहाँ नेपाली साहित्य र समालोचनाका क्षेत्रमा अस्तित्वमा रहेका विधाहरूको परिचयात्मक प्रस्तुति, प्रवृत्तिगत विशेषताका साथै निर्माण विधि र कलाको पाटो सशक्त रूपमा आएको छ । कविताका क्षेत्रमा देखिएका नवीनतम प्रयोगका साथै रिपोर्ताज तथा निवार्ता जस्ता नयाँ प्रयोगमा आएको विधाहरूको परिचयात्मक प्रस्तुतिका साथै ढाँचागत नमुनाहरू पनि राखिनुले प्रतिभा भएका तर सामग्रीको अभाव झेलेका व्यक्तिहरूलाई उत्प्रेरित गरी सिर्जना कर्ममा हिँडाउनका लागि यस कृतिले मार्गदर्शन गर्ने देखिन्छ । यसैगरी कुनै पनि सिर्जनात्मक, समालोचनात्मक, अनुसन्धानात्मक कर्मका लागि व्यक्तिमा हुट्हुटी जगाउनुका साथै खास बाटोबाट गएमा सफल लेखक वा साहित्यकार बन्न सकिन्छ भन्ने आधार पनि यहाँ प्रस्तुत गरिएको छ । विधाहरूको परिचय, प्रवृत्ति तथा तत्सम्बन्धी अभ्यास अन्यत्र पनि भएका छन् तर पचासभन्दा बढी स्थापित अनि नवीन विधा–उपविधाहरूलाई एउटै कृतिमा समेट्ने गुरुतर कार्य यहाँ भएको छ । यसले पनि प्रस्तुत कृतिको मूल्य र उपादेयता बुझ्न सकिन्छ ।
यी विविध साक्ष्यहरूका आधारमा प्रस्तुत कृति बहुआयामिक महत्त्वको रहेको कुरा स्पष्ट हुन्छ । बालप्रतिभादेखि युवा तथा प्रौढहरूलाई सिर्जना लेखनतर्फ अभिप्रेरित गराउने प्रशिक्षणमूलक आधार सामग्रीका रूपमा यो कृति आएको छ । यसैगरी पाठक वा अध्येताहरूका लागि बहुविधाहरूको आस्वादन लिनका लागि विविध प्रकृतिका सामग्रीहरूलाई एकीकृत रूपमा सिमल्ने काम यहाँ गरिएको छ । अर्कोतिर खोज तथा अनुसन्धान कार्यका लागि महत्त्वपूर्ण खुराक पाइनुका साथै कुनै विधा–उपविधा आदिको जानकारी लिन वा स्रोत पहिल्याउनका लागि सन्दर्भ सामग्रीका रूपमा प्रस्तुत कृति तयार गरिएको छ । यसैले यसलाई विविधताको एकमुष्ट सँगालोका रूपमा लिन सकिन्छ । स्रष्टा र द्रष्टा व्यक्तित्वको विशिष्ट क्षमता भएका देवी नेपालप्रति यस्तो सुकर्मका लागि हार्दिक बधाई तथा धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।