समय सधैँ अरूकै मात्र दाहिना हुनु, बारम्बार वर्षिने समयकोर्राले सिर्फ उनीहरूलाई मात्र निशाना बनाउनु, भूकम्प होस् या महाव्याधि विनाश सबै उनीहरूकै पेवाझैँ हुनु, साथमा विकासको नाममा भइरहेका विनाशे डोजर ताण्डवले उनीहरूकै गोरेटोका डोबहरू मास्दै अघि बढ्नु, केवल संयोग मात्रहुन सक्लान् ?

यी र यस्तै प्रश्नहरू कवि जीवन लामायात्राको पछिल्लो कविता कृति चौसट्ठी वर्ग मिटरले उठाएका छन् । लामाका कविताहरूले विविध प्रश्न गरिरहन्छन्, बारम्बार । खासमा यो सही बखत पनि हो प्रश्न गर्ने । समय चेतनाको उडान भरिरहेका सबै विद्वत्जन आजकल यस्तै प्रश्न मेलामा सहभागी छन् । यस ऐक्यवद्धताले अर्घेल्याइँपूर्ण इतिहासको गर्तमा कैद, तमाम सीमान्तीय जीवनहरूको मुक्तिका खातिर सामुहिक प्रयत्नको शुरुवात गरेको छ ।

स्थानीयताको खोजी प्रत्येक सचेत नागरिकको सरोकारभित्र पर्दछ । जाति विशेषको मौलिकता जरासँग जोडिन्छ । अनि जरा आफ्नो पुर्खाको थातथलो, भाषा, पहिरन, रहनसहन, संस्कृतिलगायत जीवन दर्शनसँग । एक निश्चित जाति वर्गको सन्दुकभित्रको खजानाझैँ बनेको नेपालका सत्तासीनहरूले एकै छिन् अघिमात्र पनि कीर्तिपुर गेटतिर ढलेको भरिया सूर्यबहादुर तामाङको लासलाई टुलुटुलु हेरेका थिए । भरिया बनाइएका तामाङहरू इतिहासका पत्रपत्रमा भारीसँगै च्यापिंदै मरेका थिए जो चलिरहेको छ आजपर्यन्त । त्यसैले त प्रश्न गर्ने उचित समय भएको छ । यो राज्य कसैको निजी सम्पत्ति हो ? कवि लामा यस्तै विषयप्रति चिन्तनशील छन् । बिझाँउने यथार्थ उत्रिएका छन् उनका कविताहरूमा । भन्छन्ः

सूर्य ढल्दा

                   न पृथ्वी अँध्यारो भो

                   न देशमा रात पर्यो

                   न आकाशमा जूनतारा नै उदाएनन्

                   तर सूर्य कहिले नउठ्ने गरी

                   ढलिरहे, ढलिरहे बेवारिसे ।

(“सूर्यतिमी अस्ताउँदा”)

यस कविताले उजागर गरेको व्यङ्ग्य यथार्थझैँ खासमा किनारीकृत सूर्यहरू राजधानीको सडक पेटीमा मरिरहंदा पनि केही फरक पर्दैन यो राज्यलाई । न सत्तासीनको महफिलमा रौनकता घट्छ, न कुनै भोजभतेर थामिन्छ । केवल ए ढिक्का हिक्का खस्दो हो सूर्यजस्तै तेजहीन बटुवा सूर्यहरूको, बस् । के मानिसको मरण कुकुर बिरालोको भन्दा पनि सस्तो हो, जो आज पनि सडकमा तमासा बनिरहोस् ? नहुनु पर्ने, तर भयो त्यही ।

कुमारी लामा

प्रश्न त अरु पनि छन् अनगिन्ती यस सङ्ग्रहमा हाम्रै परिवेशमा मौलाइ रहेका विसंगतिपूर्ण रजगजबारे । प्रभुत्वका वैचारिकी र राजनीतिबारे जेलको कालकोठरीमा चिन्तन गर्दाका बखत एन्टोनियो ग्राम्स्कीको मस्तिष्कमा नेपालभन्ने देश पक्का थिएन । यद्यपि वैश्विक सन्दर्भमा दूरदराजको यस देश र यसभित्रको दूरभूगोलमा रहेका सुरेलमाथिको शासकीय वर्चस्वसँग ठ्याक्कै मेला खान्छ ग्राम्स्कीयन विचार । कहाँ छैन यहाँ प्रभुत्वको राजनीति ! विकासको नाममा ठ्याम्मै गाउँबस्ती ध्वस्तपार्ने डोजरको आतङ्कमाझ मेरी डेशन या वाङ्गारी मथाइहरूका पर्यावरणमैत्री विकास वकालत केवल गहिरो कुवाभित्रबाट आइरहेको मधुरो ध्वनिभन्दा बढी हुन सकेको देखिन्न । यसै बखत गिटी बालुवामाथिको राजनीतिले हाम्रा नदीहरू पहेँलो लेदोमा परिणत हुने क्रममा तीव्रता आएको छ । दोलखाका आदिवासी सुरेलहरूको बासस्थानमा खललपारिदिन कुन आइतबार भो र ! कविलामा घोत्लिन्छन् सुरीका सुरेलहरूको विस्थापन उन्मुख समयप्रति । उनीहरू भूकम्पको राहत स्वरुप राज्यले निगाह गरेको चौसट्ठी वर्ग मिटरको दुईकोठे टहरमा खुम्चिन बाध्य भएका छन् एकातिर भने अर्कोतिर विकासको नाममा गाउँघर धुलाम्मे पारी गुड्ने गाडीको कर्कश ध्वनिको चपेटामा चुर्लुम्म छन् । लामा असंगतिका छेउकुना खुट्याउछन् ।

                   नानीहरू सुतेका बेलामा गाडीहरू गुड्छन्

                   र नानीहरूका निन्द्रा खलबलाउँछन्

                   गाइवस्तु सुत्ने बेलामा गाडीहरू गुड्छन्

                   गाईवस्तु तर्साउँछन् ।

(“सडकजालो”)

नानीहरूको मात्र हैन दिनानुदिन बढेको अव्यवस्थित सडक जञ्जालले प्रकृतिकै निन्द्रा हराम परिरहेको छ । समसामयिक पर्यावरणीय विषय उठान सहित कविले समय चेतनाको दावा गर्दछन् । जीवन लामाका कविताबारे कवि श्रवण मुकारुङ्का शब्द स्मरणयोग्य छन्, “…कवि जीवन लामाको समय र उनी उभिएको भूगोल हेरेपछि मात्रै उनका कवितालाई देख्न सकिन्छ । यसरी हेर्दा उनी यो समयका साद्यनारत् कवि हुन्, र यो समय भनेको २०६२÷६३ को समय हो । मुकारुङको भनाइसँग विमति जनाउने ठाउँ छैन । दोस्रो जनआन्दोलनपछि सतहमा आएका अनेकन विषय लामाका कविताले समेटेका छन् । त्यति मात्र नभई पर्यावरणीय विध्वंसले निम्त्याएका समस्याहरूको उजागर पनि यो समयको आवश्यकता हो, जसप्रति लेखकको झुकाव प्रस्ट देखिन्छ ।

जीवन लामाको साहित्यिक यात्रा एकदमै नयाँअनुहार होइनन् नेपाली साहित्यका लागि । यस अघि उनले कविता सङ्ग्रह निर्दोषी मान्छे ल्याइसकेका छन् । उनी जीवन, समाज र समाजका अनेकन तहमा भइरहने राजनीतिका विषयमा विशेष चाख राख्छन् । किनारीकृत समुदायको आवाजमुखरको हरसम्भव प्रयत्नमा रहेको दृष्टान्त उनकै कविताहरूले पेश गरेका छन् । तामाङ पहिचानको सवाल मात्र नभई स्थानविशेष र स्थानीयपनसँगको सामीप्य उनका कतिपय कविताले उठाएका छन् । दोलखाली कवि लामा राङराङथलीको विशेषता वर्णन गर्नुदेखि सुरेलका सुस्केरा केलाउन पछि पर्दैनन् । आदिवासीको पक्षमा खुलेर वकालत गर्ने उनी आफ्नो अमिल्दो नेपालीभाषा, आँखाको बनोटदेखि प्रकृतिपूजक पुर्खाले सिर्जेको संकृति र निर्माण गरेका गुम्बा, लहरे, माने, चौतारा र घ्याङले निरन्तरता दिएको सांस्कृतिक पहिचानमाथि गर्व गर्छन् । पहिचानका अनेक स्वरुपमध्ये सांस्कृतिक पहिचानले गहन महत्त्व बोकेको हुन्छ । सांस्कृतिक पहिचानप्रति कटिबद्ध कवि लामा समानता, सहअस्तित्व र न्यापूर्ण समाजका पक्षधर भएको साक्षी उनकै कविताहरू हुन् ।

कविताका सबै बान्की मिलेका कविताहरूको बाहुल्यता माझ जीवन लामाका कतिपय कवितामा कट्मेरोपना भेटिन्छ । बन्दाबन्दै नबनेका आकृतिजस्ता कविताहरू पनि छन् यस सङ्ग्रहमा, जस्तो कि कवितारङ विभेद । विषयगत गम्भीरताका बाबजुद आशातीत बैठान नभएको कविता हो यो । समाजका अनेक व्यथिती, विभेद र विसंगतीका आवाज बुलन्द भए तापनि कोरोना कहर विषयक गोडा चारेक कविता यस सङ्ग्रहमा समेटिनु भने लेखकीय सीमा हो । तथापि भुइँझार झैँ आततायी खुट्टाहरूको मारमा निरन्तर परिरहेका भुइँमान्छे, आदिवासी, चौसट्ठी वर्ग मिटरमा खुम्चिन बाध्य जाति समुदायका विषयदेखि पर्यावरणप्रतिको सचेतना सहितका कविताका सर्जक जीवन लामाको सहित्यिक यात्राको उपस्थिति निसन्देह  अर्थपूर्ण छ