साहित्यको एउटा लोकप्रिय विधा हो गीत । स्वर, पद र ताल युक्त जति पनि गान हुन्छन् त्यसैलाई गीत भनिन्छ । गीतमा भाव,भाषा र रसको कलात्मक समाहार हुन्छ । त्यसैले यसलाई गीतिकाव्य पनि भनिने गरिएको छ । जब गीतमा वाद्य र नृत्यको समाहार हुन्छ तब त्यसलाई सङ्गीत भनिन्छ । विशाल अर्थमा गीतको अर्थ खोज्ने हो भने उत्कृष्टपूर्ण र औचित्यपूर्ण ढङ्गले गाउनु नै हो संगीत। ‘सङ्गीत’ शब्द गीतमा सम् उपसर्ग जोडिएर बनिएको हो । सम् + गीत = सङ्गीत । (गीतम +वाद्यम +नृत्यम) पश्चिममा संगीतलाई म्युजिक भन्दछन् । म्युजिक शब्दको उत्पत्ति ग्रीक शब्द ‘Mousike’ बाट भएको हो ।
सङ्गीतबारे विभिन्न पण्डितहरूले भिन्न भिन्न मत प्रकाश गरेका छन् । भारतखण्डेले भने जस्तै सङ्गीत चिन्तामणिको अनुसार पनि सङ्गीत जस्तो व्यापक शब्द भित्र गीत, वाद्य र नृत्य यी तीनैको हुन अत्यन्त आवश्यक छ । जसमा गीत प्रधान तत्व हो, वाद्य अनुकारक र नृत्य उपरंजक हो । स्वर, लय, ताल सङ्गीतका मुख्य तत्त्व हुन् ।
गीत कहाँ विद्यमान छैन र ! गीत सर्वत्र छ । गीतको स्रोत के हो भन्दा यो संसारै गीतको स्रोत हो भन्न सकिन्छ । प्रकृतिका हरेक सम्पदा जस्तै नदी, झर्णा, खोला, पात, पतिङ्गर फूल, जड-जीव, हावा-बतास, आकाश-बादल सबैलाई लिएर गीत लेखिन्छ अनि गाइने गरिन्छ । प्रकृतिका यी सबै आधारहरूलाई लिएर मानव जीवन समृद्ध छ । जहाँ जीवन छ त्यहाँ गीत-सङ्गीत छ । सङ्गीतमा नरमाउने कोही छैन । “पशुर्वेति, शिशुर्वेति, वेत्ति नाग रसं फणा ।” वास्तवमा भन्नु हो भने मान्छेको त जन्मदाको च्याँ च्याँ देखिनै गीतसँग सम्बन्ध रहेको हुन्छ । आमाले नानीलाई काखमा राखेर थपथपाउँदै अथवा कोक्रामा हालेर हल्लाँउदै ‘आहो-लै-लै’ भन्दै ललरी गाउँदै सुताउने गरेको क्षण देखिनै मनुष्यको गीतसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध रही आएको छ । यस्ता मनोवैज्ञानिक गीति लहरसँग जीवनको लय र जीवनलाई जीवित राख्ने छन्द जोडिएको छ । गीत मननपराउने मान्छे अत्यन्त कठोर या त त्यो विश्वासको लायक हुँदैन भनेर पनि भनिएको छ । तर जति सुनिएको छ गीत-सङ्गीतले पाषाण हृदयलाई पनि पगाल्न सक्षम भएको छ । भनाइ छ तानसेनका सङ्गीतले बादल बर्सिन्थ्यो रे । सङ्गीतको मोहमा परेर गिरिजापति नटराज बने । “नाहं वसामि वैकुण्ठे योगीनां हृदये नच” भनि विष्णुले महामुनि नारदसँग यसरी भनेका थिए।
धार्मिक आधार अनुसार गीत- सङ्गीतको मूल स्रोत हो सामवेद । किम्बदन्ती अनुसार सर्वप्रथम ब्रह्माजीले सरस्वतीलाई र त्यसपछि सरस्वतीले नारदलाई सङ्गीत शिक्षा दिइएको थियो रे ! त्यसपछि नारदले भरतलाई र भरतले फेरि नाट्यशास्त्र द्वारा जनसाधारणमा त्यसको प्रचार गरेका हुन रे । त्यसैको वरदान स्वरूप युगौं युगदेखि जीवश्रेष्ठको प्राण स्वरूप भएर चलिरहेको छ र जहिलेसम्म यस धरामा मानवजाति जीवित रहला तहिलेसम्म चलिनै रहने छ ।
आजको यो लेखको विषय हो “भारतेली नेपाली गीतिसाहित्य ” र यस गहन विषयमाथि चर्चा गर्ने, अघि गीत कहिले देखि र कसले प्रथम लेख्यो त्यो जान्न अति आवश्यक छ । महाकवि जयदेवका ११०० सनमा १२ सर्ग रहेका “गीत गोविन्द” नै गीत लेखनको अनुपम कृति ठहरिएको छ । नेपाली भाषामा चाहिँ लोकगीत जस्ता मौखिक परम्पराबाटै गीत लेखनको प्रारम्भ भएको हो । गीत मुख्यतः तीन प्रकारका हुन्छन् ।
१.शब्दाश्रित गीत- यस किसिमका गीतमा सङ्गीतलाई भन्दा शब्दलाई प्राधान्य दिइन्छ ।
२.सङ्गीताश्रित गीत- यस प्रकारका गीतमा शब्द भन्दा सङ्गीतको महत्त्व धेरै हुन्छ । अर्थात् शाब्दिक सौन्दर्य नभए पनि सङ्गीतलेनै गीतमा महक र मिठास भरिदिन्छ ।
३. शब्द-सङ्गीताश्रित गीत- यस किसिमका गीतमा शब्द र सङ्गीतको महत्त्व समान र सन्तुलित मात्रामा हुन्छ । यस्ता गीतहरू कालजयी हुन्छन् । गीत एउटा कालजयी बनिनुमा सुन्दर गीत-सङ्गीतको साथै सुरिला कण्ठका गायक-गायिका र श्रोतागणको समर्थन पनि उतिकै महत्त्वपूर्ण हुछ ।
गीतलाई तीनवटा भागमा विभाजन गर्न सकिन्छ । जस्तै –
१. शास्त्रीय गीत (उपशास्त्रीय, ठुमरी, कजरी, हीरी र गजल) ।
२.लोकगीत (जुवारी अथवा दोहोरी आदि) ।
३.आधुनिक गीत (रक, पप… आदि) । यसबाहेक भक्तिमूलक गीत, प्रेम गीत, चाडपर्वका गीत, धान रोप्दा गाउने गीत, रसिया, असारे गीत, घाँस काट्दा,गाइवस्तु चराउँदा गाइने गीत, पर्यावरण गीत, देशभक्ति गीत… आदि । यस गीत मध्ये फेरि एकल गीत, संयुक्त गीत, समूह गीत आदि गीत पनि गीतका अंग हुन ।
गीत-सङ्गीतका कुरा गरिसकेपछि अब मूल विषय तर्फ लम्कनु पर्दछ । भारतेली नेपाली गीति साहित्यको विशाल अवयवलाई नियाली हेर्दा भारतमा पहिलो नेपाली गीत सङ्ग्रह लेख्ने व्यक्ति हाजिरमान राई हुन भन्ने कुरा थाहा लाग्दछ । उहाँको “मीठा मीठा नेपाली गीत ” नामक गीत सङ्ग्रह प्रकाशित हुन्छ १९०० मा । त्यसपछि १९१६ सनमा धनवीर मुखिया द्वारा नाटक, रङ्गमञ्चमा गीत/भजन लेखेको थाहा लाग्दछ । त्यसै गरी पारशमणि प्रधानले १९१९ सनमा र सन् १९२७ तिर दार्जिलिङमा एल. डी लामाले धेरै गीत लेखेका थिए भन्ने जानकारी पाइन्छ । भारतेली नेपाली गीतकार मध्ये अर्का एकजना हुन बहादुर सिंह बराल । उहाँको “आँशु” नामको गीत-सङ्ग्रह १९३८ सनमा देहरादून “भाग्सु”द्वारा प्रकाशित भएको हो । यस सङ्ग्रहमा गंगावती, पवित्रा देवी, मित्रसेन थापा, मैतराज… आदिका गीत /भजन पनि समाविष्ट छन् । मित्रसेन थापाका ” लाहुरेको रेलीमाइ फेसनै राम्रो, मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रै बैनीले आदि चर्चित गीत हुन । नवीन बरदेवाको “गीत कुञ्ज” १९६१ सनमा प्रकाशित हुन्छ । त्यसैगरी “बगेको खोला फर्केर आउँदैन”, नरोउ न्याउली पारी वनमा ” आदि कर्णप्रिय गीत नरेन्द्र प्रधान ‘अज्ञात’ले लेखेका हुन । अगम सिंह गिरीका “कर्तव्य पथको पथिक तिमी”, ” नौलाख तारा उदाए” जस्ता प्रसिद्ध गीतमा अम्बर गुरुङले सङ्गीत भरेका थिए । त्यसरी नै गोपाल सिंह नेपालीका “रागिनी” र “पञ्चमी” सन १९४२ मा प्रकाशित भएका हुन् । दार्जिलिङका अरू प्रमुख गीतकारहरू हुनहुन्छ गोपाल योञ्जन, तुलसी घिमिरे, अम्बर गुरुङ, गोकुल चन्द्र, नरबहादुर दाहाल, राधिका राया, एम. एम. गुरुङ आदि ।
सिक्किमेली गीतकार तुलसीराम शर्माको “कला कमल” (सन १९६७), चन्द्रबहादुर सुवेदीको “हारेको कर्म” (सन १९७०), देवी प्रसाद कौशिकको “सुस्केरा हरू” (सन् १९७०), टी.बी चन्द्र सुब्बाको “दु:ख सागर” (सन १९९८), सानु लामाको “जहाँ बग्छ तिष्टा रङ्गीत” (सन् २००१), पवन चामलिङ ‘किरण’का “मान्छेको साइनो”(सन् २००८), र “मेरो मुर्च्छना” (सन् २००९) । दार्जिलिङ-सिक्किमका अन्य गीतकार मध्ये प्रमुख हुनुहुन्छ बलि सुब्बा, रबिन गुरुङ, रूद्र पौड्याल, प्रधुम्न श्रेष्ठ, वैरागी काँइला, ध्रुव लोहागण, वीरू वाङन्देल, मुक्ति बस्नेत, जीविका अश्रु, विक्रम प्रधान, जीतेन्द्र बरदेवा, मनबहादुर मुखिया, अविनाश श्रेष्ठ आदि ।
उत्तर-पूर्वको असम प्रान्तमा पनि गीति साहित्य निक्कै फस्टाएको देखिन्छ । गीति साहित्य लेखेर साहित्य भण्डारलाई समृद्ध पार्ने राज्य असम, दार्जिलिङ र सिक्किम नै हुन् । असममा गीत लेखनको इतिहास धेरै पुरानो छ भन्दा अत्योक्ति नहोला । किन भने प्राप्त तथ्यानुसार सन १८९७ मा स्थापित विश्वनाथ जिल्लाको बिहाली स्थित श्री पीताम्बर पीठ स्थापित कालदेखि नै भक्तहरू द्वारा भजन-कीर्तन गर्ने गर्थे । कृष्णभक्तिका गीत-भजनहरू धेरैजसो हरिनारायण विद्याभूषण द्वारा नै लिखित थिए । त्यस उपरान्त सन् १९०७ मै वाराणसीबाट बिहाली निवासी नरपति मुक्तानको (दिनलिपि, मरनोत्तर प्रकाशित, सन् १९९२,प्रकाशक- कमल मोक्तान) गीत सङ्ग्रह ” प्रेम तरङ्ग माया लहरी” प्रकाशित भएको तथ्य प्राप्त हुन्छ । बिस्तारै गीतहरूले पुस्तकको आकार पाए पछि गीत सङ्ग्रहहरू क्रमानुसार प्रकाशित हुँदै जान्छन् । पण्डित हरिनारायण विद्याभूषण द्वारा “गीतमालामा” (१९१०), पण्डित हरिनारायण उपाध्याय र हारमुनि मास्टर गङ्गाधर उपाध्याय खतिवडाको संयुक्त प्रयासमा “सङ्गीत चन्द्रोदय” (सन् १९२७), गोकुल प्रसाद जोशीको “भविष्य”(सन् १९५४), रामजी ज्ञवालीको “गीत सङ्ग्रह ” र प्रेम सिंह सुवेदीको “तीजको मैदानमा बहिनीको आँसु” (सन् १९५५), हरिभक्त कटुवालको “सम्झना” (१९६०) आदि प्रकाश हुन्छन् । हरिभक्त कटुवालको “मलाई नसोध कहाँ दुख्छ घाउ” र “पोखिएर घामको झुल्का” अति जनप्रिय गीत हुन् । त्यसरी नै कुलबहादुर छेत्रीको “गीत मञ्जरी” (१९८६), “युगरेखा” (वि.सं०-२०२७), टिकाराम उपाध्याय “निर्भिक” को “राग-अनुराग” (सन् १९७३),दुर्गा घिमिरेको “धुकधुकी” (सन् १९८३), गोमादेवी शर्माको “तिम्रो प्रेरणा” (१९८६), नवराज छेत्रीको “मेरा केही गीतहरू” (१९८७), गुरुभक्त धितालको “मेरा पीर मेरा गीत” (सन् १९८८), चन्द्रकला नेवारको “चन्द्रकलाका गीतहरू” (१९८८),तुङ्गनाथ उपाध्यायको “माधुरी” (सन् १९९१), बद्री गुरागाईँको “गीतायन” (२०००-२००३), चक्रपाणि शर्माको “सयपत्री” (२००३), कृष्ण भट्टराइको “सङ्गीतका लहरहरू” (२०१३), कृष्ण छेत्रीको “गीत सरगम” (२०१४), टिका भट्टराइको “यहाँको ढुङ्गा र माटोले के भन्छ” (१९९१), “मन्थन हृदय क्रन्दन अभिव्यक्ति” (२००४), हर्ष-विषादका मुनाहरू”(२०१२), प्रह्लाद बानिया छेत्रीको “धेरै आँखा रोजे मैले” (२००४), रत्न प्रकाश गुरुङको “प्रेममाला” (२००४), डा० शान्ति थापाको “माया” (सन् १००४), मोहन सुवेदीको “गीतको मुर्च्छना” (सन् २०१२), थानेश्वर शर्माको “गीतको गल्लीहरूमा” (सन् २०१३), जीतबहादुर सोनारको “कताकता एकान्तमा” (सन् १०१७), प्रेम विश्वकर्माको “मादल” (२०२०), रिजु देवीको “गीतमञ्जरी” (सन् २०२०), पुष्पराज श्रेष्ठको “नौलो जागरण” (२०२०) र २०२१ सनमा डा० नारायणचन्द्र उपाध्यायको “गीत लहर; स्वर सङ्गम” प्रकाशित हुन्छ। ” हावा मीठो पानी मीठो”, “बज्र झैं कठोर छ आमा मेरो छाती”, ” भाषा मेरो सबै भन्दा प्यारो ” आदि रिजु देवीका कर्णप्रिय गीत बनेका छन भनें “वीरको आँगन यो पूण्यभूमि धाम हो” र “जातले मान्छे ठुलो र सानो कहिल्यै हुँदैन” प्रेम विस्वकर्माका महत्त्वपूर्ण गीत रहेका छन् ।
गीत र कविता मिलाएर संयुक्त संग्रह प्रकाश गर्ने कवि-गीतकार पनि धेरै छन् असममा । तर लेखको माग अनुसार छुट्टै गीत सङ्ग्रहलाई मात्र यहाँ सामेल गरिएको हो । फुटकर गीत लेखेर श्रोता-पाठकहरूको मन जीत्न सक्षम हुनु भएको गीतकार पनि यहाँ धेरै हुनुहुन्छ । जस्तै- कृष्ण भट्टराई, राम ढकाल, धर्मराज उपाध्याय, स्व.इन्द्रकान्त कार्की, लीलबहादुर छेत्री, स्व.हरेण सुब्बा, युद्धवीर राणा, जनकराज उपाध्याय, विनोद खनाल, ओमप्रकाश बस्नेत, कृष्ण मिजार, तुलसी कार्की, विक्रम सुब्बा, रेवती मोहन तिमसिना, डम्बर रिजाल, नवीन भराली, दिलीप लोहार, उदय शाण्डिल्य, नरबहादुर दर्जी, रत्न बस्नेत, चक्र बास्तोला, लीला तिमसिना, गोपाल काश्यप, ओमराज शर्मा, अमित शापकोटा, जीत मिजार, मोहन छेत्री… आदि । स्व. इन्द्रकान्त कार्कीका “कालो कोठीले, रुमाल हरायो, भागी भागी लुकी लुकी नहिँड तिमी” आदि गीतहरू आज पनि जनताका मुख मुखमा छन् । तर एउटा कुरा स्वीकार गर्नै पर्दछ कि पाश्चात्यको प्रभावमा परेर हिजो आज हाम्रो भारतेली नेपाली गीति साहित्य पनि विकृत हुन लागेको छ । गीतहरूमा हामी ठोस नेपाली शब्दको ठाउँमा इंलिश, उर्दू, फारसी, असमीया शब्दहरूको प्रयोग गर्छौँ । जस्तै – ‘प्रिय, प्रेयसी, जीन्दगी, प्यार, दिल आदि । वाद्यहरू पनि रक, पप भए । जुवारी नभएर डुएट सङ भए । यस्तो हुन गए पछि हाम्रो गीति साहित्य भण्डारको सौन्दर्य निम्न स्तरको हुन बेर लाग्दैन । त्यसैले प्रत्येक गीतकारहरूले यसबारे मनन -चिन्तन गर्न अत्यन्त आवश्यक देखिन्छ ।
एकजना सफल गीतकार बनिनलाई चाहिन्छ अथक प्रयास र साधना । केवल मात्र शब्दको जडाउले कुनै पनि गीत सुन्दर बन्दैन । सुन्दर गीत भावव्यञ्जक हुनका साथै लोकरञ्जक हुन पर्दछ । तब मात्र गीत सम्पूर्ण हुन्छ । गीति साहित्यको पनि अरू साहित्य जस्तै उचित मुल्यांकन भए देखि धेरै गीतकारहरूको मनोबल अटुट रहने छ र साहित्य भण्डारले अझै नौला गीति कोशेली प्राप्त गरेर समृद्ध हुने छ । फेरि पनि भन्न सकिन्छ भारतेली नेपाली गीति साहित्य अहिले प्रगतिको पथमा छ ।
आधार-
१. विविधावली -छविलाल उपाध्याय
२.अन्यान्य लेख, पत्र-पत्रिकादि
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।