साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नितीलाई नियाल्दा

आजसम्म पनि समाजका अधिकांश पुरुष घर बाहिर गई कमाउने काम गर्छन् भने महिलाहरू चुलोचौको अनि छोराछोरीको स्याहारसुसार । यहाँ सुमन पृथक् विशेषता भएका पुरुष पात्र हुन् । उनी बाहिर गएर अर्काको अधीनस्थ काम गर्न रुचाउँदैनन् । बरु आफूले घरधन्दा सम्हालेर श्रीमतीलाई विदेश पठाएका छन् ।

Chovar Blues Mobile Size

साहित्य समाजको दर्पण हो । आख्यानमा त समाज झन् मुखरित भएर आएको हुन्छ । नेपाली साहित्यका क्षेत्रमा आख्यान निकै नै मौलाउँदै आएको पाइन्छ । त्यसमाथि साहित्यकारहरूले आफ्ना साहित्यमा समाजका अन्तरकुन्तरमा छुपेका , कसैले व्यक्त गर्न नसकेका कथाव्यथा उजागर गर्ने गर्छन् ।

उपन्यासकार मीरा गोतामे एक उदयमान साहित्यकार हुनुहुन्छ । विभिन्न कथा, कविता अनि निबन्धजस्ता लेखरचना प्रकाशित गर्दै साहित्यका क्षेत्रमा पदार्पण गर्नु भएकी गोतामेको निती पहिलो पुस्तकाकार कृति हो । समाजका विविध विषयवस्तुलाई उजागर गरी लेखिएको यो पहिलो उपन्यास नै  उहाँलाई चर्चाको शिखरमा पुर्याउने कोसेढुङ्गो बनेको छ ।

 निती भन्ने बित्तिकै हामी सदाचार, कर्तव्य जस्ता कुराहरू सम्झन्छौँ । मानिसले जीवन जिउने क्रममा विभिन्न नीति नियमका घेराभित्र रहेर अनेकन काम कर्तव्य गर्नुपर्ने हुन्छ । तर यो निती फरक छ । यसले बहन गरेको विषयवस्तु अनि भाव नै पृथक

व्यतिक्रमिक शैलीमा उठान गरिएको यस कृतिकी मुख्य पात्र निती हुन् । उनको कथालाई बढावा दिनका लागि अन्य कैयन् हृदयस्पर्शी उपकथाहरू आएका छन् । मूल कथावस्तु स्वयंमा जोडदार हुँदाहुँदै उपकथाले अझ रौनकता थपेका छन्  ।  उपकथाका रूपमा आएका कथावस्तु अनि पात्रहरूले पनि छुट्टै पहिचान बोकेका छन् । समाजका पृथक पृथक आयाम प्रस्तुत गरेका छन् । यसबाट एक साहित्यकारले आफू बाँचेको समाजमा रहेका मानिसहरू को जीवन भोगाइलाई कति गहिरिएर नियालेको हुने रहेछ भन्ने कुरा आकलन गर्न सकिन्छ ।

वर्तमान समाजबाट लिइएका निती, रिती, आरती, सपना, सुधा, आकृती, स्वीकृती, पूजा, आशा, संयुक्ता, सुमन, आकाश, विजय, दिपेश, सुरज र सौरभजस्ता पात्रले आआफ्नै ढङ्गबाट समाजको प्रतिनिधित्व गरेका छन् ।

sagarmani mobile size

अधिकांश मानिसले समाजमा नजरअन्दाज गर्दै आएका कुराहरू गोतामेको उपन्यास निती का विषयवस्तु बनेका छन् । पुस्तक पढिरहँदा कतै म भेटिन्छ , कतै वरपरका छिमेकी भेटिन्छन्, कतै आफन्त भेटिन्छन् भने कतै आफ्नै साथीको वास्तविक कथा पढिरहेको महसूस हुन्छ । महिलाले आफ्नै घरभित्र भोगिरहेका अव्यक्त व्यथालाई उपन्यासमा सबैले बुझ्ने भाषामा व्यक्त गरिएको छ ।

उपन्यासमा नारी पात्रको बाहुल्यता देखिए पनि उपन्यासकारले पुरुषहरूलाई कहीँ कतै अन्याय गरेको पाइँदैन । समाजमा कतिपय नारीहरू घर परिवारका सदस्य अनि आफ्नै श्रीमानबाट पीडित भएका छन् । पुरुषहरू पनि कति हदसम्म पीडित हुन सक्दा रहेछन् भन्ने कुराको ज्वलन्त उदाहरणका रूपमा यहाँ समीपलाई लिन सकिन्छ ।

बबिता ढुङ्गेल

समाजमा सत् असत् दुवै थरीका मानिस हुन्छन् । यस्तै उपन्यासमा पनि यस्ता पात्र अनगिन्ती छन् । संयुक्ताझैँ अर्काको रमाइलो परिवार बिथोल्ने खलपात्रहरू समाजमा अझै विद्यमान छन् । यस्ता पात्र धमिराझैँ छिरेर पारिवारिक संरचना नै ध्वस्त पार्लान् भनी सचेत पनि पारिएको छ ।  सुखद पारिवारिक जीवन व्यतीत गरिरहेका निती र आकाशको जीवनमा संयुक्ता धमिरा बनेर छिरेकी छ । उसले समीपको जीवनलाई पनि सहज हुन दिएकी छैन । विवाहेत्तर सम्बन्ध समाजको एक विकृत पक्ष हो भनी असहमति समेत प्रकट गरिएको छ  । ।

सबै मानिस नराम्रा पनि हुँदैनन् । यहाँ सुधा सुल्झिएकी पात्र हो । आफू भित्रभित्रै रोएर पनि अरूलाई हसाउनु उसको विशेषता । परिस्थितिका सामु ठगिएकी छे ऊ । सानैमा पिता गुमाउनु परेकाले उमेरमै व्यवहारमा फसेकी छे । विवाहपश्चात् पनि सन्तान हुँदैनन् उसका । सन्तान जन्माउन नसकेका निहुमा आफ्नै पति अनि परिवारबाट तिरस्कृत भएकी छे ऊ । यहाँसम्म कि पारपाचुकेसमेत बेहोर्न विवश । श्रीमानले अर्को विवाह गर्छन् । अर्की पत्नीबाट सन्तान पनि हुन्छ । तर नियतिले सुधाको सौतालाई खोसेर लैजान्छ । सौताको सन्तानले मातृवात्सल्य पाएन भनेर ऊ विभोर भएकी छ । पूर्व पतिको पुनः श्रीमती बनिदिने अनुरोधलाई उसले सहर्ष स्वीकारेकी छे । यो उसको विशाल हृदयको उपज हो । उसको महानतालाई सलाम गर्नै पर्छ ।

आजसम्म पनि समाजका अधिकांश पुरुष घर बाहिर गई कमाउने काम गर्छन् भने महिलाहरू चुलोचौको अनि छोराछोरीको स्याहारसुसार । यहाँ सुमन पृथक् विशेषता भएका पुरुष पात्र हुन् । उनी बाहिर गएर अर्काको अधीनस्थ काम गर्न रुचाउँदैनन् । बरु आफूले घरधन्दा सम्हालेर श्रीमतीलाई विदेश पठाएका छन् । पतिधर्मबाट च्युत नभई एवम् कर्तव्यबाट वञ्चित नभई जिम्मेवारी बहन गरेर बसेका छन् उनी । श्रीमतीले विदेशी भूमिमा रहेर श्रम  पसिना बगाइ  परिवारका लागि भनेर पठाएको पैसाको उनले कतै दुरुपयोग गरेका छैनन् । एक कुशल पति अनि कुशल पिता भएर जिम्मेबारी वहन गरेका छन् ।

 नारीहरू वैदेशिक रोजगारीमा जानुलाई अझै पनि हाम्रो समाजले राम्रो मान्दैन । तर सबैमा यो कुरा लागू हुँदैन । नराम्रो बाटोमा हिँड्न चाहनेलाई जति नै काँडे बार लाए पनि रोक्न सकिँदैन । आफ्नो स्वत्वमा रहन चाहनेलाई जति सुकै व्यक्तिगत स्वतन्त्रता भए पनि संस्कार विरुद्ध पाइलै चाल्दैनन् भन्ने कुराको दह्रो उदाहरण यहाँ आशा भएकी छिन् । उनले आफ्नो  श्रीमान् र उनको  बेरोजगारीको कहिल्यै अपमान गरेकी छैनन् । इज्जत गरे आफ्नै इज्जत बढ्नु स्वभाविक पनि  हो । यस्ता राम्रा पात्र सिर्जना गरी सुन्दर सन्देश प्रवाह गर्नु लेखकको अर्को उल्लेखनीय पक्ष हो ।

आजको युग विज्ञान प्रविधिको युग हो । सामाजिक सञ्जाल त दैनिक जीवनको अभिन्न अंग बन्दै गइरहेको छ । यसको कसैले सही सदुपयोग गरिरहेका छन् त कसैले दुरुपयोग । यो व्यक्तिको नियतमा भर पर्ने कुरा हो । त्यसैले साहित्यकार भन्नुहुन्छ, मान्छेले मोबाइलमा आफ्नो चरित्र बोकेर हिँडिरहेका छन् । कसैले अर्काको मोबाइल एकछिन मात्र हेर्न पायो भने उसको चरित्र उदाङ्गो हुन्छ  ।

ठाउँ ठाउँमा  स्वास्नी हुँदाहुँदै अर्कीसँग लाग्ने लोग्नेमान्छे र जाँडरक्सी खाएर जिम्मेवारी नसम्हाल्ने लोग्नेमान्छेमा को ठिक ? जस्ता संगीन प्रश्नहरू पनि राखेर लेखकले पाठकलाई एकछिन रोकिएर सोचमग्न हुन विवश पार्न सक्नु लेखनीको प्रशंसनीय पक्ष हो ।

वास्तवमै प्रकृति र मानवका बीच तादात्म्य सम्न्ध हुन्छ । प्रकृति रुँदा जीवन दुख्छ र जीवन खुसी हुँदा प्रकृति स्वतः खुसी भएको आभा हुन्छ । प्रकृतिको यही न्यानो काखमा नै मान्छेले गुरु भेट्छ । आनन्दको अनुभूत गर्छ । उपन्यासमा प्रकृतिप्रेम पनि प्रगाढ रूपमा प्रस्तुत गरिएको छ ।

यसैगरी अर्काका लागि आफ्नो जीवन नै समर्पण गर्दा पनि पटक पटक त्यही व्यक्तिबाट धोका पाएपछि नारीहरू कति सम्म विद्रोही हुनपुग्दा रहेछन् । उक्त कुरा अन्त्यमा नितीले घर छोडेको प्रसङ्गबाट स्पष्ट बुझ्न सकिन्छ । पढेका, कामकाजी अनि सक्षम नारीहरूले इज्जतको डरले आफूमाथि भएको अन्याय अत्याचार सहेर बस्नु हुँदैन । विद्रोह गर्नुपर्छ । त्यसको विरुद्ध धावा बोल्नु सक्नु पर्छ भन्ने कुरालाई निती मार्फत् ससक्त रूपमा अभिव्यक्त गरिएको छ । 

गल्ती कमजोरी सबैका हुन्छन् । उपन्यासमा कताकति भाषिक अशुद्धि र भावात्मक पुनरावृत्ति पनि नभेटिने होइनन् । आगामी संस्करणमा तिनले पक्कै पनि स्थान नपाउलान् । तर पनि सरल भाषाशैली, छोटा छोटा वाक्य गठनले उपन्यास काव्यात्मक बनेको छ । विषयवस्तु आकर्षक छन् । अनि प्रस्तुति सुन्दर । पहिलो उपन्यासले नै आफ्नो पहिचान बनाउन सक्नु लेखकको सबल पक्ष हो ।

समग्रमा निती सामाजिक यथार्थवादी उपन्यास हो । यसले हाम्रै समाजको कथालाई उजागर गरेको छ । उपन्यास पठनीय छ । एक पछि अर्को गरी आउने रोचक प्रसंले पाठकको ध्यानाकर्षण गराइरहन्छन् । 

प्रतिक्रिया
Loading...