नेपाली भाषासाहित्य क्षेत्रका एक सुपरिचित नाम हाे डा. देवी नेपाल । मिलनसार बानीबेहाेरा र लाेकसँग घुलमिल गर्ने शैलीबाट मजस्तै धेरै मानिसहरू उनीसँग प्रभावित भएका देखिन्छन् । “केही नयाँ कर्म गरूँ र गराऊँ !” डा. नेपालसँग यही सिद्धान्त छ जसले नयाँ उत्साह, जाेस जाँगरलाई प्रेरित गरिरहेकाे पाइन्छ ।
‘प्रगतिवादी नेपाली खण्डकाव्यमा द्वन्द्वविधान’ शीर्षकमा विद्यावारिधि गरेका नेपाल वाल्मीकि क्याम्पस काठमाडौँका सहप्राध्यापक तथा हाल नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हुन् । प्राज्ञ डा. नेपालमा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्का सदस्यमध्ये उमेरले लगभग कान्छै भएर पनि हुनसक्दछ; केही उल्लेखनीय कर्म गरूँ ! गरूँ ! भनेजसाे फाराकफुरुक पनि देखिन्छ । उनी पनि सँगै रहेकाे अहिलेकाे प्रज्ञा सभाले आजसम्मकाे नेपाल प्रज्ञा-प्रतिष्ठानकाे इतिहासमै सङ्ख्यात्मक रूपमा सबैभन्दा बढी अनुसन्धानात्मक कृतिका प्रकाशन गरेकाे पाइन्छ । यस कार्यकाे हिस्सेदार डा. नेपालले पनि बन्न पाएका छन् ।
सिर्जनालेखन, समालोचना तथा अन्य लेखनक्षेत्रमा दत्तचित्त भएर लागिरहेका, अनेकाैँ साहित्यिक कार्यक्रममा देश, विदेशसम्म कुदिरहेका, जथाभावी छिराेलिएकाे नेपाली भाषालाई मानक भाषा कसरी बनाउन सकिएला भन्नेजस्ता फराकिलो चिन्तनमा पनि डुबेका र नवीन भाषा-व्याकरणकाे निमार्णमा पनि खटेका डा. देवी नेपाल कसरी भ्याउँछन् यत्राेविधि काम ? तीनछक पर्छु बा ! यति धेरै अभिभाराका बाबाजुद पनि नेपालकाे हालसालै “लेखन शिल्प” नामक पुस्तक बजारमा आएकाे छ । एरावती प्रकाशन प्रा.लि.ले प्रकाशनमा ल्याएकाे साे पुस्तक सिकारु, सिर्जनशील लेखकहरूदेखि सर्वसाधारण एवम् विश्वविद्यालयका प्राध्यापकसमेतलाई उपयाेगी हुने देखिन्छ ।
डा. नेपालद्वारा सम्पादन/लेखन ‘छन्द पराग (२०६२)’ शीर्षकको पुस्तकले आफूलाई पच्चिस हजारभन्दा बढी सङ्ख्यामा बजारमा उपस्थिति गराइसकेको छ । विद्यालय, विश्वविद्यालयका पुस्तकालयदेखि छन्दसम्बन्धी जानकारी राख्ने जाेसुकैकाे हातमा, सिरानीमा “छन्दपराग”ले अवतरित हुन पाएकाे छ र यसै पुस्तकले डा. देवी नेपाललाई साहित्यिक पाठकहरूका माझ अझ बढी परिचित गराएको पनि हाे ।
‘लेखन शिल्प’ले आफूलाई ४४० पृष्ठभित्रका लेखन शिल्पसम्बन्धी ३७ ओटा खण्डहरूमा विस्तार गरेकाे छ । सिर्जनात्मक लेखन र अन्य लेखनको तुलनात्मक अध्ययन खण्ड एकबाट आरम्भ भई सम्पादकीय लेखन खण्ड सैँतिससम्म पुस्तक विस्तारित छ ।
लेखन शिल्पले विशेष गरेर कविताविधाका नयाँ नयाँ संरचना र आयामसहित आएका उपविधाहरूलाई समेटेकाे छ जसमा हाइकु, मुक्तक, गजल, गीत, बालकविता, शास्त्रीय छन्द, मुक्त छन्द, काव्य, खण्डकाव्य, लामो कविता, महाकाव्य, बृहत् महाकाव्य, बृहत्तर महाकाव्यसम्मकाे सूचना छ ।
त्यस्तै, (क) कविताका लघुतम रूप : हाइकु, ताङ्का, सेदाेका, छाेक, एलाक, मुक्तक, रुबाई, लाेकलय, कवितु, कूटपद्य, सायरी, दाेहा, साेरठा/ठी, चाैपाई, आल्हा, पूरबी, केस्रा, खिचडी, युग्मक, उल्टाे, बाछिटा, सुसेली, साइनाे, खाेरिया, उदक, उक्तक, झर, शीत, छेस्का, आगाे, टुक्काकविता, काेपिला । (ख) कविताका लघु रूप : फुटकर कविता, गीत, गजल, फाँचल आदिकाे पनि सङ्क्षिप्त टिप्पणी कविताका विज्ञ डा. नेपालले गरेका छन् ।
आख्यानका विविध रूप, लघुकथा, कथा, उपन्यास, आत्मकथा, निबन्ध, नियात्रा, जीवनी, रूपक र यसका प्रकार, एकाङ्की नाटक, पूर्णाङ्की नाटक, गीतिनाटक, चलचित्र, पुस्तक–समीक्षा, समालोचना, भूमिका, अनुसन्धनात्मक लेख, शोधप्रस्ताव, शोधप्रतिवेदन, रिपोर्ताज, पत्रसाहित्य, निवार्ता, दैनिकी र सम्पादकीय लेखनसँग सम्बन्धित खण्डहरू समावेश गरेकाे छ । हरेक शीर्षकमा परिभाषा, सैद्धान्तिक चित्रण, व्यावहारिक लेखनसम्बन्धी सूचना दिइएकाे छ ।
जाेकाेहीले पनि “लेखन शिल्प” पल्टाएपछि आफूले चाहेकाे कुनै पनि विधा/उपविधामा लेखन/सिर्जना गर्न सकाेस् भन्ने हेतुले भाषा पनि सरलभन्दा सरल बनेर सहजकर्ता बनेकाे लाग्दछ । याे खुवीलाई पनि मान्नै पर्दछ जसले डा. नेपालाई सर्वसाधारण पाठकसँग पनि परिचित हुने माैका दिएकाे छ । लाग्छ, याे पुस्तक एउटा युगप्रतिनिधि बन्दैछ !
म बारम्बार कृष्णप्रसाद पराजुलीकाे “राम्रो रचना मीठाे नेपाली”लाई सम्झने गर्दछु । जसले मलाई नेपाली साहित्यलेखनमा बामे सर्न सिकाएकाे थियाे अझ उसले एउटा युगको प्रतिनिधित्व गरेकाे थियाे । जुन पुस्तकले नेपाली भाषासाहित्यकाे विकासक्रमसँगै लेखनपठनका क्षेत्रमा आफूलाई सहजकर्ता बनाएर उपस्थिति गराएकाे थियाे । सिर्जनात्मक कार्यमा सरल बनाइदिएकाे थियाे । प्राविका भुराभुरीदेखि विश्वविद्यालयका जुँगामुठेसम्मले चुमेका “राम्राे रचना मिठाे नेपाली”ले जुन युगीन स्याबासी पाएकाे छ, त्यस्तै स्याबासी पाउन अब “लेखन शिल्प”ले पाठकहरूकाे सल्लाह सुझावलाई आत्मसात् गर्दै समयसापेक्ष अगाडि बढ्दै रहाेस् ! लेखकलाई बधाई तथा शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।