मानव इतिहासमा ‘विस्थापन’ धेरै लामो समयदेखि देखिँदै आएको छ । यसको उल्लेख धार्मिक ग्रन्थहरूमा पनि उत्तिकै पाइन्छ । मध्य एसियाबाट भएका हुन् अनि आर्यहरूका मानव बसाइँ, अफ्रिकेली मानव बसाइँ आदिले देखाएका विस्थापन यसका केही उदाहरणहरू हुन् । पहिलो अनि दोस्रो महायुद्धले युरोपभित्र उत्पन्न गरेको विस्थापन अनि त्यसपछि यो मानव समस्यालाई उत्तर औपनिवेशिक कालका शोध अध्ययनले आफ्ना धेरै विषयहरूमध्ये एउटा सम्भावनायुक्त अध्ययनको रूपमा यसलाई पाएको हो । समाज विज्ञानका वर्तमान अध्ययनभित्र यसलाई एउटा दह्रिलो मुद्दाका रूपमा अध्ययन गरिन्छ । वर्तमान राजनीतिक सङ्कट अनि यसबाट भइरहेका समस्याहरू जस्तै- म्यान्मारदेखि दक्षिण सुडान, सिरिया, मेक्सिको, मध्य-पूर्वी देशहरू अनि युरोप आदिमा उत्पन्न भएको विस्थापन झन्डै ६८.५ मिलियन जनसङ्ख्या रहेको अध्ययनले बताएको छ । यो विस्थापन पहिलो अनि दोस्रो महायुद्धको अनुपातमा झन् धेरै बताइएको छ । विस्थापन भएपछि आफ्नो देश, स्थान, बास छोडेर अन्यत्र बस्नुपर्ने अवस्थाको वास्तविकतालाई विस्थापित भनिन्छ ।

विस्थापित शब्द एउटा विशेषण शब्द हो जसलाई संस्कृत शब्द मानिन्छ । शब्द्कोशीय अर्थअनुसार ‘आफ्नो देश, निवासस्थान आदिबाट बलैले अन्यत्र हटाइएको, निष्कासित, उद्वासित, निकालावास गरिएको’ बताइएको छ । अङ्ग्रेजीमा यो शब्दलाई Displaced भनिन्छ जसको अर्थ पनि to put out of place, to disarrange रहेको छ । विस्थापन संज्ञा शब्दबाट विशेषण हुँदै एउटा अवस्थालाई बुझाउने शब्दका रूपमा यसको प्रयोग प्रचलन छ । यस्तो अवस्थामा रहेर लेखिएका वा त्यो अवस्थालाई संस्मरण गरेर लेखिएका वृत्तान्तलाई ‘विस्थापित साहित्य’ भनिन्छ । विस्थापितहरूलाई वर्गीकृत गरेर हेर्दा विस्थापन दुई क्षेत्रमा भएका हुन्छन् । १. आन्तरिक २. बाह्य क्षेत्र । विस्थापित एकल (solo) अनि द्वेत वा सामूहिक (dual or mass) पनि हुन्छ । विभिन्न राजनीतिक कारण, व्यभिचारका कारण, धार्मिक अतिक्रमणका कारण, सामाजिक बाध्यताका कारण, मानवनिर्मित समस्याका कारण, धार्मिक सङ्कटका कारण, प्राकृतिक-जलवायु परिवर्तनका कारण, अनिकाल इत्यादिका कारण मानिस विस्थापित हुने गर्दछन् । अन्ताराष्ट्रिय, अन्तर्देशीय, अन्ताराज्यीय, अन्तःप्रान्तीय विस्थापन आजका अध्ययनका विषय हुन् । विगत अनि वर्तमानमा विभिन्न प्राकृतिक विपद्, युद्ध, सिमाना विवाद, देशभित्रका राजनीतिक सङ्कट, आन्तरिक आन्दोलन, जातीय द्वन्द्व इत्यादि कारणहरूले गर्दा विस्थापन हुने गरेका घटनाहरू यथेष्ट छन् ।

यी विस्थापनहरू कुनै लामो अनि जीवनभरका निम्ति हुन्छन् भने कुनै छोटो समयका निम्ति मात्र पनि हुन्छन् । विभिन्न समय अनि परिवेशअनुकूल हुँदै आएपछि विस्थापनको अवस्था सामान्य बनेका पनि हुन्छन् । अतः विस्थापन विषय लेखिएका विस्थापित साहित्यले छोटो र लामो दुवै समयलाई समेटेका हुन्छन् । यसले आफ्नो शोध अध्ययनका क्षेत्र, आधार अनि कोणहरू पनि तय गर्दै गएको कुरा समाज विज्ञानमा पाइन्छ । यसलाई समाज विज्ञानमा मानव विस्थापन (Human Displacement) का रूपमा हेरिन्छ । विकिपिडियाबाट निकालिएको परिभाषाअनुसार, मानिसहरूलाई आफ्ना घर, देश, प्रान्तबाट बलजफ्ती वा जबरजस्ती निकालिने प्रक्रियालाई विस्थापन भनिन्छ । विस्थापन शब्द मानव बसाइँसँग मिल्ने अर्थमा प्रयोग हुने हुनाले यसका मानव बसाइँका जस्तै धेरै समानता हुन्छन् । मानव विस्थापनका धेरै कारणहरू हुन्छन् । बृहद् अर्थमा सामान्यतः तीनओटा अर्थमा यो विस्थापन मिल्न सक्छ । जस्तै-१. प्राकृतिक प्रकोपले प्रेरित अर्थात् प्राकृतिक, जलवायु प्रकोपका कारण हुने गरेका बाध्यतामूलक विस्थापन यसभित्र आउने गर्छन् । मानव समुदायलाई निरन्तर रूपमा एकै स्थानमा बस्न नसकिने अवस्था उत्पन्न हुँदा यो विस्थापन गर्नुपर्ने हुन्छ । २. विकास कार्यले प्रेरित अर्थात् कुनै पनि स्थानमा निरन्तर रूपमा भइरहेको विकासका कारण उक्त स्थानमा बस्न नसकिने अवस्था उत्पन्न हुँदा हुने विस्थापन । ३. द्वन्द्वप्रेरित अर्थात् कुनै एउटा समुदाय अनि अर्को समुदायका बिचमा भएको सामाजिक, धार्मिक, राजनीतिक द्वन्द्वका कारण हुने विस्थापन ।

योगेश खाती (दार्जीलिङ)

आज स्वानुभूतिसँगै सिर्जनशील साहित्यमा पनि विस्थापन विषयमाथि धेरै पुस्तकहरू लेखिएका देख्न पाइन्छन् । विस्थापनमाथि लेखिएका धेरै ती पुस्तकहरूलाई विस्थापित साहित्यका रूपमा लिन सकिन्छ । वर्तमान सामाजिक सञ्जालभित्र पनि यस्ता साहित्यलाई विस्थापित साहित्यका रूपमा मान्न सकिने अध्ययनका धेरै आधारहरू देख्न सकिन्छ । तीमध्ये अमेरिका सरेका भियतनामी विस्थापित उपन्यासकार साथै पुलित्जर पुरस्कार विजेता Viet Thanh Nguyen को- The Displaced : Refugee Writers on Refugee lives भन्ने पुस्तक रहेको छ । यसभित्र उनी लगायत सत्र जना शरणार्थीहरूले आआफ्ना विस्थापनका कुराहरू अनि अनुभवहरू लेखेका छन् । यसरी नै अर्को पुस्तक Ella E. Schneider Hilton को Displaced Person: A Girl’s Life in Russia, Germany and America (सन् २००६ ) रहेको छ । यस पुस्तकभित्र रसियाबाट जर्मनीको नाजी समयमा कठोर विस्थापन अनि त्यसपछिको विस्थापित जीवन विषयबारे लेखिएको छ । त्यसरी नै बोलिभिया विस्थापनमाथि लेखिएको Esther Wieber को पुस्तक Displayed: A Memoir (सन् २०२०) प्रकाशित पुस्तक देखिएको छ । Lanelle MacLahlan द्वारा लेखिएको Displaced Childrens’ Loss and Trauma: Nurturing the Displaced Childrens’ Wholeness (सन् २०२१) भन्ने पुस्तक पनि भेटिन्छ । विस्थापित साहित्यबारे गहकिला लेख सङ्कलनहरूका पुस्तक, Kate Rose द्वारा सम्पादित Displaced: Literature of Indigeneity, Migration and Trauma (सन् २०२०) आदि वर्तमान सामाजिक सञ्चारभित्र देख्न सकिन्छन् । यीबाहेक पनि धेरै विस्थापित साहित्यहरू लेखिएका छन् ।

दक्षिण एसियाली क्षेत्रबाट लेखिएको अर्को गैर आख्यानअन्तर्गत विस्थापित साहित्य, पाकिस्तानी महिलाहरूका शैक्षिक हकका निम्ति लड्ने कार्यकर्ता साथै संसारकै सबैभन्दा कम उमेरमा नोबल पुरस्कार पाउने (सन् २०१४) मलला युसुफजईका धेरै पुस्तकहरू देख्न पाइन्छन् । मलालाले I’m Malala (सन् २०१३ ), Displaced, We are Displaced: My Journey and Stories from Refugee Girls around the World (सन् २०१९) लगायत धेरै पुस्तकहरू लेखेकी छन् । बङ्गलादेशकी तसलिमा नसरिन पनि अर्की विस्थापित साहित्यकारका रूपमा पाइन्छ । उनले No Country for Women (सन् २०१०) भित्र पनि नारी स्वतन्त्रताको कुरा गर्दै विस्थापन अवस्थामै रहेर अन्य धेरै सिर्जनात्मक कृतिहरू पनि लेखेकी छन् । उनका धेरै आत्म कथाहरू आफ्ना विस्थापित जीवनमा लेखिएका पाइन्छन् भने आमार मेये बेला (My Girlhood) निकै चर्चित पाइन्छ ।

दक्षिण एसियाली क्षेत्रतिर नेपाली भाषी समुदाय मूल रूपमा नेपाल अनि भारत, भुटान र म्यानमारमा धेरै लामो समयदेखि बसिआएका छन् । संसारका अन्य देशहरूमा भने पेसागत तथा व्यावसायिक रूपमा बसाइँ सरेपछि केही स्थायी अनि केही अस्थायी रूपमा स्वेच्छाले विस्थापित रहेका देखिन्छन् । इतिहासमा दक्षिण एसियाली क्षेत्रबाट नेपाली भाषी समुदायलाई विविध कारण देखाएर बारम्बार विस्थापित बनाइएका घटनाहरूमध्ये भुटानी विस्थापन पनि एउटा चहकिलो घटना हो । यसबारे भुटानी मानव अधिकार कार्यकर्ता, भुटानी आन्दोलनका नेता, लेखक टेकनाथ रिजालले एउटा पुस्तक लेखेका छन् । पुस्तकको नाम Torture Killing Me Softly (सन् २००९) रहेको छ । अङ्ग्रेजी भाषामा लेखिएको यो एउटा गैर आख्यान पुस्तक हो । भुटान सरकारले उनलाई पक्रेपछिको अवर्णनीय, अमानवीय, अत्याचारको मार्मिक संस्मरणसँगै उनलाई मुक्त गरिएको घटनासम्मको लामो स्वानुभूतिका अभिव्यक्ति यसभित्र छ । यस पुस्तकभित्र कतिपय ठाउँहरूमा यस्ता झलझली आउने घटनाहरू छन्, जसले पाठकलाई केही क्षण भावुक बनाउनेछ । आक्रोशित बनाउनेछ । यस्तै गैर आख्यान कृतिहरू आउने क्रममा बबिता मादेनको १९८६ वास हराएपछि (सन् २०२२ ) पनि पाठकसमक्ष देखा परेको छ । यो एउटा गैर आख्यान कृति हो । यो कृति सिर्जनात्मक कृति नभएर स्वानुभूतिबारे लेखिएको संस्मरणात्मक कृति हो । जम्मा २१ ओटा अध्यायहरूमा बाँडिएको एक सय चार पृष्ठको यो पुस्तक विस्थापित जीवनको एउटा लेखोट हो । पहिलो अध्याय ‘चौध अगस्ट’ देखि सुरु भएर अन्तिम अध्याय (एक्काइस) ‘१९८६-ले दिएका नीलडामहरू’ रहेका छन् । यो पुस्तक आत्मकथा हुँदाहुँदै पनि यसको वर्णनात्मकता अनि विश्लेशणात्मकताले यसलाई विशिष्ट बनाएको छ । यस पुस्तकभित्र वर्णन गरिएका घटनाहरू, यसका भाषिक बुनोट, विषय प्रस्तुति आदिका आधारले यसलाई भारतीय नेपाली साहित्यअन्तर्गत विस्थापित साहित्यका एउटा आकर्षक अनि दह्रिलो पुस्तकका रूपमा मान्न सकिन्छ । सम्पूर्ण पुस्तकभित्र ‘म’ पात्राले पाठकलाई डोऱ्याएको छ ।

दक्षिण एसियाली नेपाली भाषी समुदायभित्र पालै पालो घटेका धेरै घटनाहरूमध्ये दुइओटा राजनीतिक घटनाहरू विशेष छन् । पहिलो, सन् १९८६ मा दार्जिलिङमा उठेको छुट्टै राज्यको मागमा उठेको आन्दोलन अनि दोस्रो, भुटान देशभित्रका नेपाली भाषी समुदायले गरेका आन्दोलनपछि भएको विस्थापन । यी घटनाहरूलाई अध्ययन गर्दा पहिलो घटना आजसम्म धेरैओटा मोड अनि नेतृत्व पार गर्दै एउटा आलोचित स्वरूपमा आएर आज बिसाएको छ भने दोस्रो घटना अन्ताराष्ट्रिय हस्तक्षेप अनि उदारतामा समाधानको एउटा सूत्रले अधीन बनाएर बसेको छ । दुवै घटनाले जन्माएका विस्थापन हेर्नुपर्दा समय अनि ऊर्जाका धेरै सदुपयोगसँगै दुरुपयोग पनि भएका छन् । भुटान देशभित्रबाट नेपाली भाषीहरूलाई उच्छेद गरिने घटना अनि भारतको पश्चिम बङ्गालभित्र पहाडी क्षेत्रमा नेपाली भाषी समुदायभित्रको सामाजिक संरचनालाई नष्ट गरिने उद्देश्यले उत्प्रेरित अन्तःकलह अनि यसले ल्याएका विस्थापन आजका अध्ययनका टिठलाग्दा परिणतिहरू हुन् । टेकनाथ रिजालले आफ्ना जेल बन्दी अवस्थाको संस्मरण गर्दै उक्त पुस्तकमा भुटानी कानुन अनि यसमा आफ्ना विवशताका कुरासँगै आफैँ त्यसभित्र पलपल मर्दै अनि पलपल बौरिँदै बाँच्न सकेको यथार्थ लेख्न सकेका छन् भने बबिता मादेनको यस पुस्तकभित्र आफ्नो बाल्यकालको छोटो समयको विस्थापित अवस्थालाई लिएर लेखिएको छ ।

बबिता मादेनले सत्य तथ्य घटनासँगै एउटा अनभिज्ञ सङ्घर्षका नीलडामहरू यहाँ देखाएकी छन् । झन्डै तीन दशकपछि आएर ती घटनाका महलमपट्टि गर्न खोज्दा अथाह पीडा, घाउ, षड्यन्त्रका अनुत्तरित प्रश्नहरू देखा परेका छन् । टेकनाथ रिजालका पुस्तकमा आफ्नो देशले आफ्ना देशवासीमाथि गरेका षड्यन्त्रका कुरा छन् भने बबिताका पुस्तकमा एकै देशभित्र रहेका एकै समुदायभित्रै मिल्न सकिने तर मिल्नै नचाहिने एउटा जालझेलको मातको गन्ध छ । त्यस गन्धले नेपाली भाषी समुदायका बृहत् सामुहिक उद्देश्यलाई भुलेर व्यक्तिगत तानातानमा हुर्किएको एउटा उद्देश्यहीन सामाजिक सङ्घर्षलाई स्थापित गरेको छ । राजनीतिक पृष्ठभूमिमा लेखिएको यस पुस्तकभित्र मार्मिक घटनाहरूलाई ताजा गराउने दृढताको कथा छ । छ्यासीको आँधीबेह्रीमा पिह्रोलिएकी एउटी अबला केटीको निस्सासिने अवस्था छ । यद्यपि आफ्ना परिस्थिति, सङ्घर्ष र विस्थापित अवस्थामा भए पनि आफ्नो शिक्षालाई महत्त्व दिएर अघि बढेको घटना खुबै प्रेरणादायी छ । आफ्नो माटो, घर अनि आफन्तहरूबाट छुट्टिनुपरेको अवस्था सम्झेर आफ्नो चिनारी र क्षमाका निम्ति गरिएको एउटा अन्तर्ध्यानजस्तो छ यो पुस्तक । एकै जातीय रङ्गले खुन खोजेको अवस्थामा पनि रङ्गीत नदीले छुट्याएको अन्ताराज्यीय सिमाना जातीय रङ्गअघि उदार बनि खुलिदिएको घटना छ । त्यही घटनाले भारतीय नेपाली साहित्यमा विस्थापित साहित्यका आधार बनाइदिएको छ । छिमेकी राज्य सिक्किमको काखमा आफ्ना समस्या, डर अनि भरोसा राखिएको कुरा पुस्तासम्मले भुल्नु नहुने तथ्यका रूपमा यो पुस्तक भेटिन्छ ।

अन्ताराज्यीय विस्थापनबारे यस पुस्तकले एक ठाउँमा एउटी सानी बालिकालाई परेको अभिघातबारे हृदयस्पर्शी कुरा जनाएको भेटिन्छ । जस्तै- सिक्किम पुगेपछि कैयौँ रातहरू म ढुक्कले निदाउन सकिनँ । मेरो दिमागमा डरले घर बनाएर बसेको थियो । रातो पट्टी बाँध्ने भयानक अनुहारहरू आँखामा आइरहन्थ्यो ।’(पृष्ठ २५, शरणार्थी ) पुस्तकभित्र उक्त अन्तर्दलीय द्वन्द्वको परिणति कस्तो थियो भन्ने कुरा यसरी राखिएको छ – ‘गोर्खा जातिका निम्ति यो दुर्भाग्य नै थियो कि दागोपापले न त पहाडको स्थायी समाधान न त पहाडमा शान्तिको स्थापना नै गर्न सक्यो । पहाडले नयाँ व्यवस्था पाएपछि १९८६ को आन्दोलनमा भिक्टिमाइज भई विस्थापित हुनुपरेका पीडितहरूलाई पुनर्वास गरिनेछ भनेर ठुलो आशा साँचिएको थियो तर यस्तो कुनै पहल गरिएन । दुईपटक पाँच-पाँच हजार गरेर जम्मा दस हजारको आर्थिक सहयोग गरेर आन्दोलनमा गुमेको सम्पत्तिको क्षतिपूर्तिलाई ठामठिम पारिदियो । जजसको घर जलेको थियो उनीहरूलाई मात्र त्यति राहत पनि प्रदान गरिएको थियो अन्य शरणार्थीहरूलाई कुनै सहयोग गरिएन ।’ (पृष्ठ-५०-५१, बीभत्स घटना) विस्थापित जीवनको साधारण संस्मरणभन्दा पनि एकजना सानी नानीको संस्मरणमा बबिता मादेन आफैँ हुनु पनि यो पुस्तकको अर्को आकर्षण पक्ष हो । कारण बबिता मादेनको अन्तरात्मादेखि आएको स्वीकृतिस्वरूप यो उद्गारले पाठकलाई तानिरहने यथार्थ नै उनको सफलता हो । जस्तै- ‘मेरा निम्ति अब यहाँ सब थोक बिरानो थियो । आखिर मान्छेको आदत न हो जता लगायो उतै लाग्छ, जता बसायो त्यतै बस्छ..।’ (पृष्ठ-५३, गाउँ फर्किएको दिन) विस्थापनले दिने सबैभन्दा पीडामय कुरा नै आफ्नो घर सम्पत्ति, आफ्नो स्वाभिमान, आफ्नो हिम्मत, आफ्ना सङ्गत आदि नष्ट हुनु हो । अन्तर्दलीय द्वन्द्वले एकार्कामा ल्याएको शत्रुतापूर्ण क्रियाकलापबारे एउटा उदाहरण पुस्तकभित्र भेटिन्छ । लेखिकाको उक्त वर्णन बडो चित्रात्मक पाइन्छ । जस्तै – ‘त्यो भित्र पसेको जूनको धिमा उज्यालोमा बाबैले हामीलाई ठिम्याएर हेरेपछि हातको इसाराले पारितिर देखाए । हामीले पनि त्यतैतिर फर्किएर हेऱ्यौँ । त्यहाँ हाम्रो घर जलिरहेको थियो । सबैभन्दा तल हाम्रो घर अनि बिचमा बाजेको घर जलिरहेको थियो । …हामीले त्यो हेरिरह्यौँ ।’ (पृष्ठ- १८, घर जलेको रात) विस्थापनले मानिसलाई कहिलेकाहीँ यति पीडा दिन्छ त्यसको कुनै अनुमान नै हुँदैन । पुस्तकभित्र एउटा ठाउँमा ‘दुःखले मान्छेलाई यति एक्लो र बैरङ बनाउँछ कि उसलाई उभित्रको भक्ति भावनासम्मले साथ छोडिदिन्छ ।’ (पृष्ठ-४०, अशुभ खबर) भन्ने कुराले यसको बयान गर्दछ ।

निष्कर्षमा, भारतीय राजनीतिक परिदृश्यमा बबिता मादेनले दार्जीलिङ पहाडमा भएको आन्दोलनको चुर कुरालाई राख्न चाहेकी छैनन् बरु अन्तर्दलीय द्वन्द्वका कुरा अनि परिणतिलाई देखाएकी छन् । यद्यपि पुस्तकको अन्त्य भागमा ‘मेरो हिस्साको विगतलाई ‘१९८६ वास हराएपछि’- भित्र इतिश्री गरेर म भने अर्को लेखन यात्राको सुरुवात गर्ने प्रयासमा छु’- भन्ने वाक्यले भने त्यो चुर कुराको खल्लोपनलाई आशावादी बनाएर राखेको छ । यो पुस्तकले कुनै राजनीतिक दल अनि उनीहरूका नीति र नियतमाथि प्रहार गरेको छैन बरु पुस्तकभित्र देखिएका अवस्थासँग पाठकलाई परिचित गराएको छ । धेरैले यस पुस्तकलाई राजनीतिक पुस्तकका रूपमा मनिलिए तापनि यस अध्ययनभित्र भने भारतीय नेपाली साहित्यका भण्डारमा विस्थापित साहित्यअन्तर्गत लेखिएको एउटा गैर आख्यान पुस्तकका रूपमा यसलाई हेरिने प्रयास गरिएको छ । यस कृतिका धेरै अन्य पक्ष हुनै सक्छन् कारण कृतिको अध्ययन अनि पाठ र पाठकको अनुभूति वैयक्तिक हुन्छन् । अतः छोटो समयका निम्ति अन्तर्दलीय द्वन्द्वका कारण भएको विस्थापनलाई संस्मरण गर्दै आफ्ना बाल्यकाल अनि किशोरी अवस्थासम्मका विस्थापित जीवनका कुरा यहाँ बबिता मादेनले राख्न सकेकी छन् । विस्थापनका तीन कारणहरूमध्ये आन्तरिक विस्थापनभित्र आउने द्वन्द्वका प्रकोपले हुने विस्थापनअन्तर्गत यसलाई राख्न सकिन्छ । यस पुस्तकभित्र देखिएको छोटो समयको विस्थापन अनि लामो समयदेखि चलिआएको भारतीय गोर्खाहरूका चिनारी अनि एकार्कालाई भेदन गर्ने अविवेकी अवस्थालाई निको पार्दै विस्थापनदेखि स्थापनसम्म पुऱ्याउने एउटा अन्तर्ध्यानस्वरूप यस पुस्तकले आफैँलाई स्थापित गरेको छ ।