असमको बाक्सा जिल्ला अन्तर्गत भोलाझार बङ्गालीपाडा निवासी प्रकाश कुइँकेलको पहिलो कृति नै गजल विधाको रहेको छ । ‘हुङ्कार’ शीर्षक गजल कृति भर्खरै सन् २०२१ मा प्रकाशित भएको छ । नेपाली र असमिया भाषाका विभिन्न पत्रपत्रिका लगायत सामाजिक सञ्जालमा पनि उनका गजल, मुक्तक, कविता प्रकाशित भइसकेका छन् । साहित्यप्रति रुचि सन् २०१४-१५ तिर भए तापनि उनको ‘लुटपाट’ शीर्षकको पहिलो नेपाली कविता हिमालय दर्पण र हाम्रो प्रजाशक्तिमा सन् २०१८ मा प्रकाशित भएको हो । त्यस हिसाबले उनी लेखनयात्रामा लागिपरेका चार वर्ष मात्रै भएको छ । कविताबाट लेखन यात्रा सुरु गर्ने प्रकाशले सामाजिक सञ्जालमा मुक्तक लेख्न थालेदेखि मुक्तककारका रूपमा जनप्रियता हासिल गरेका हुन् । उनले मुक्तक प्रतियोगिताहरूमा धेरै पुरस्कारहरू हासिल गर्न सक्षम पनि भएका छन् । साहित्यपोस्ट, असमेली मुक्तक मञ्च, साक नेपाल आदिबाट परिचालित प्रतियोगितामा प्रकाशले पुरस्कार जितेका छन् । यी पुरस्कारहरूले उनलाई एक जना सशक्त मुक्तकारका रूपमा पनि परिचय गराइसकेको छ । स्नातक उत्तीर्ण प्रकाश वर्तमान भारतको कर्णाटक राज्यमा जागिरे जीवन बिताइरहेका छन् ।

असमबाट भूमीष्ट भएको गजल कृति हुनाले यस लेखमा असमको गजलीय परिवेशलाई पनि यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ । असमका पहिलो गजलकारका रूपमा धर्मोगत शर्मा तुफान चिनिन्छन् । उनको गजल कृति ‘विद्रोही आवाजहरू’ सन् १९७४-७५ मा प्रकाशित भएको हो । यस कृतिले पहिलो गजल कृतिका रूपमा स्वीकृति त पायो, तर यसपछि अरू कृतिहरू जोड्न निकै वर्ष पर्खिनुपऱ्यो । अरू गजलकारहरू जन्मिनु पनि निकै समय लाग्यो । लगभग ३१ वर्षको लामो समयपछि मात्रै दोस्रो गजल कृति झुल्कियो । यस गजल कृतिले केही सम्भावनाहरू लिएर आयो । वातावरणमा गजलको सुवास फैल्यायो । सन् २००६ प्रकाशित गोविन्द शाण्डिल्यको ‘गजल गान्धार’ दोस्रो गजल कृतिका रूपमा पाठकहरूबिच पुग्यो । गोविन्द शाण्डिललाई साथदिन अर्का गजलकार निस्किए भविलाल लामिछाने । दुवैले गजल विधालाई आदरपूर्वक समाते । असममा गजलीय वातावरण सिर्जनातर्फ लागे । आफ्ना गजलहरूले त्यसताकका पत्रिका-खबरकागतहरू सजाए ।

पाठकहरू पनि आकृष्ट भए । दुवैले गजलका कृतिहरू प्रकाशित गर्दै गए । सन् २००७ मा भविलाल लामिछानेले प्रकाशित गरे ‘दुइटा नज्म केही गजल’ , सन् २०११ मा ‘गजल’ । सन् २०११ मा गोविन्द शाण्डिल्यले प्रकाशित गरे ‘मृगतृष्णा’ । अब गजल विधा बिस्तारै साँगुरो गल्लीबाट निस्किन चाहन्थ्यो । केवल दुई-चार जनामा सीमाबद्ध नरहेर अरूको कलमबाट पनि पन्नामा झुल्किन चाहन्थ्यो । त्यसैको परिणाम होला सन् २००८ मा रुद्र ढुङ्गेलको ‘अनुरागका अक्षरहरू’ मा कवितासहितै गजल विधाले पनि ठाउँको पाएको थियो । सन् २०१६ मा असम नेपाली साहित्य सभा (अनेसास)ले प्रकाश गरेको र डा. जमदग्नि उपाध्यायको सम्पादनामा ‘गजल सिद्धान्त एवं विकास यात्रा’ पुस्तक प्रकाशित हुन्छ । यस पुस्तक प्रकाशन सहितै त्यसताक अनेसासले गजलको कार्यशाला गराएको थियो । नेपालबाट प्राज्ञ डा. देवी नेपाल र गजलकार सुरेश सुवेदीलाई प्रशिक्षकका रूपमा अनेसासले निम्त्याएर असमका विभिन्न ठाउँमा गजल विधाको प्रशिक्षण गराएको थियो । थुप्रै गजल अनुरागीहरूले प्रशिक्षणमा सहभागी बन्दै यस विधाप्रति आकृष्ट भएका थिए । यस कार्यशालाले असममा गजलको वातावरण निर्माणमा थप सहयोग पुऱ्याएको थियो । परिणाममा थुप्रै गजलकारहरू जन्मिएका थिए । अहिलेका चर्चित गजलकार रामप्रसाद दाहाल पनि यसै कार्यशालाबाट गजलकारका रूपमा आत्मप्रकाश गरेका हुन् । उनले अहिलेसम्म दुइटा गजल कृति प्रकाशित गरिसकेका छन् ।

कृष्णनील कार्की (असम)

‘उद्भव’ (२०१६) र ‘राँको’ (२०१८) । त्यसपछि सन् २०१९ मा हृषीकेश अधिकारीको गजल कृति ‘मनको बारुद’ प्रकाशित हुन्छ । अर्जुन निरौलाको काव्य कृति ‘हजुरबाको अनुहार’ (२०१६), कृष्णनील कार्कीको ‘समयको भाग्यरेखा’ (२०१९), हेमन्त भट्टराईको ‘कोपिलो’ (२०१६) आदि पुस्तकहरूमा पनि कवितासहितै गजलहरू भित्रिएका पाइन्छन् । संयुक्तरूपमा असममा पहिलो गजल कृति सन् २०१९ मा प्रकाशित हुन्छ । रामप्रसाद दाहाल, कृष्णनील कार्की र अर्जुन निरौलाको सम्पादनामा असमका ३१ जना गजलकारहरूको गजल सङ्कलन ‘गजल यात्रा’मा प्रत्येककै तीनओटा गरेर कुल ९३ ओटा गजल सङ्कलित छन् । अहिले उल्लिखित गजलकारहरूको सङ्ख्यामा पनि बढोत्तरी भएको छ । बढोत्तरीको कारण भन्दा सायदै सामाजिक सञ्जालको प्रभाव र गजल विधाप्रति युवाहरूको आकर्षण होला । गजलका सैद्धान्तिक पुस्तकहरूको सजिलै उपलब्धता पनि अर्को एउटा कारण हो । असमको गजल विधाको सुरुवाती समयमा यी सुविधाहरू थिएनन् । उपर्युक्त तथ्यले असममा गजलको वातावरण बनिँदै गरेको कुरा पुष्टि गर्दछ । असममा गजलको लामो अथवा बृहत् इतिहास नभए तापनि गजलले कविताछेउ उभिने प्रयासमा दिनौँ एक पाइला अघिसारेको छ । हुन त गजल पनि प्रेमका विषयमा शृङ्गार रसका छन्दमा लेखिएको कविता नै हो ।

अब हातमा लिएको पुस्तकतिर फर्कन्छु । ‘हुङ्कार’ गजल कृतिमा ६८ ओटा गजल समावेश छन् । पुस्तकको पृष्ठ सङ्ख्या ८० रहेको छ । पूर्वायण प्रकाशन, गुवाहाटीबाट प्रकाशित पुस्तकको मोल १०० रुपियाँ छ । गजलको शीर्षक हुँदैन त्यसैले यहाँ प्रत्येक पन्नामा एउटा गरेर समावेश गरिएका गजलहरूलाई सङ्ख्याको क्रममा सजाइएको छ ।

सुरु-सुरुमा गजल राजा-महाराजाहरूको गुणानुवर्णनमै सीमित रहेको हो । पछि यो प्रेम प्रसङ्गसम्म विस्तारित भयो । गजलको शाब्दिक अर्थले प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रेमिकाका विषयमा कुराकानी, प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु, प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । गजलको खास अर्थ प्रेम हो भन्ने तर्क सबै विद्वान्‌हरूले मानेका छन् तर अहिले गजल केवल प्रेममा मात्रै सीमाबद्ध रहेको छैन । अहिले गजल राष्ट्रप्रेम, मातृप्रेम, समाजिक प्रसङ्ग तथा कुसंस्कार, कुरीतिविरुद्ध साथै प्रगतिशील विचारधाराको पक्षमा पनि यसको प्रयोग दिनप्रतिदिन बढ्दै गएको छ । प्रेमप्रणयका भावहरूदेखि विद्रोह र क्रान्तिका भावहरूलाई समेत गजलमा समेटिएको पाइन्छ । शासक र शोषकप्रति नवोदित गजलकार प्रकाश कुइँकेलको गजलीय हुङ्कार रहे तापनि यस लेखमा प्रकाशका गजलमा छचल्किएको मातृप्रेमलाई सरसर्ती हेर्ने प्रयास गरिएको छ ।

आमाभन्दा हामीले बुझेका केही कुराहरूमध्ये जन्मदिने, हुर्काउने र सक्षम बनाएर आफ्ना खुसी हुने, निःस्वार्थ सन्तानको मात्रै विचार गर्ने र तदनुत्तरको व्यवहार गर्ने प्रवृत्ति हो । ठुलोमा दस उपाध्यायहरूभन्दा एक आचार्य, सय जना आचार्यहरूमा एक पिता, हजार पिताहरूमा एक आमा महान् छिन् भनेर हाम्रा धर्मशास्त्रहरूमा उल्लेख छ । त्यसैले आमा भन्ने शब्द ज्यादै उच्च एवं गरिमामय तथा आदरणीय छ । शास्त्रमा आमालाई पृथ्वी र धरातलसँग दाँजिएको छ । नेपोलियन बोनापार्टले पनि आमा सन्दर्भमा त्यसै भनेका होइनन् – मलाई एउटी असल आमा देऊ र म तिमीलाई एउटा राष्ट्र दिनेछु । आमाको महिमा जति गाए पनि सकिँदैन किनभने आमा उपमा नै छैन । यस्ती आमा पनि कतै कतै दुःखकष्टमा दिन बिताइरहेको देखिन्छ । किन होला भन्ने प्रश्नको जबाफ कसले देला ? आमाको विशाल महिमालाई यथावत् राख्न विद्यालयहरूमा नैतिक शिक्षाको पाठ प्रदान गर्नुपर्ने आवश्यकता आजको बदलिँदो समयको माग हो । नैतिक शिक्षाले मात्रै अहिलेका युवाहरूमा जन्मदिने आमा र जन्मेको माटालाई माया गर्ने, सद्भाव गने र सहयोगात्मक भावना सहित सत्कर्ममा लीन हुने पाठ सिकाउनु सक्नेछ । यसखाले शिक्षाले मात्रै सभ्य नागरिकको परिचय दिन सहयोग गर्नेछ ।

आमाको काखमा हुर्किएको सन्तान । आमाको स्तनपान गरेर हुर्किएको सन्तान । आमाको औँला समातेर हिँड्न सिकेको सन्तान । आमा भोकै बसेर आफू अघाएको सन्तान । आफ्ना सपनाहरू कुल्चिएर छोराको सपना साकार पार्न दिनरात खट्ने आमा जब विवाहपश्चात् त्यही सन्तान पत्नीको मायामोहमा लीन भएर आमाप्रतिको दायित्व-कर्तव्य, ममता बिर्सिन्छ तब गजलकारको कलमले साँचो उगेल्छ-

“वृद्ध बा-आमालाई आश्रममा राखिन्छ महोदय
श्रीमतीको अनेकौँ जतन हुन्छ मेरो सहरमा ।” (गजल-२, पृ-१४)

“बिहेपछि हजुर आफ्नै आमाबाट छोरो टाढिन्छ यहाँ
बोल केही भन आमा त्यस्तो छोरो जन्माएर के पायौ ।” (गजल-३७, पृ-४९)

गजलकार प्रकाशले असल छोरो भएर आमाबुबालाई सुखको संसार देखाउने पनि प्रयत्न गरेका छन् । सायदै उनले आमाबुबाप्रति छोराको व्यवहार कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गर्न खोजेका होलान् । हो, पनि आमाबुबालाई हेरचाह गर्ने सन्तान सुखको निद्रामा त्यसै पनि सुत्न सक्छ । मानसिक सुखको संसारमा पौडिन सक्छ । यस्तै भाव व्यक्त गरिएको एउटा सेर हेरौँ त-

“बुढेसकालको सहारा छोरो हो भन्छन् बाआमा

उनीहरूलाई सदा असल छोरो बनेर हँसाउनु छ ।” (गजल-३, पृ-१५)

मानिसको मनले पनि जताततैको उडान भर्छ । जे सम्झियो त्यहाँ नै पुग्ने केवल मन नै त हो । गजलकार प्रकाश पनि कहाँ चुप लागेर बस्ने हुन् त । उनको मनले पनि उडान भरेको छ । कहिले पन्छी भएर आकाशमा उडेको छ । नेता भएर देश बेच्न खोजेको छ भन्दै व्यङ्ग पनि कसेका छन् । दस महिना दुःखकष्ट झेलेर जन्माउने आमाको काखमै अन्तिम सास पनि फेर्न मन लागेको छ भन्ने भावले प्रकाशका गजलमा आमाप्रतिको ममता व्यक्त भएको छ ।

“जुन आमाले दश-महिना गर्भमा राखेर धर्ती देखाइन्

मलाई अन्तिम श्वास पनि उनकै काखमा फेर्न मन छ ।” (गजल-१४, पृ-२६)

आमाको गुण कहिल्यै पनि नबिर्सिने सन्तान नै असल हो । आमाको गुण पनि बिर्सिन सकिन्छ र ? जसले दस महिना गर्भमा राखेर जन्माइन्, सुन्दर संसार हेर्ने अवसर प्रदान गरिन् । मान्छे बनाइन् यस्ती ममतामयी आमालाई पनि कसैले बिर्सिन सक्छ र ? गजलकार प्रकाशले त आमालाई धन्यवादका हरफहरू अघिसारेका छन् गजलबाट । कृतज्ञता व्यक्त गरेका छन् आमाप्रति । जीवनपथमा असल बनेर अघि बढ्ने प्रेरणा पनि त आमाबाटै प्राप्त हुन्छ । पत्थरले हान्नेहरूलाई फूलको माला लगाइदिने परामर्श पनि त आमाकै हो । आफू भोकै रहेर पनि सन्तानलाई भोकको अनुभव हुन नदिने आमा, आफू कष्टमा बसेर पनि सन्तानलाई शिक्षाको ज्योतितर्फ अघिसार्ने आमाको गुण कसैले बिर्सन सक्छ र ? जस्तै परिस्थितिमा पनि सत्यको साथ नछोड्नु यस्ताका भगवान् सधैँ दाहिना हुन्छन् भन्ने आमालाई गजलकार प्रकाशले गजलबाट धन्यवाद दिएर आमाप्रतिको ममता बोध गराएका छन् ।

“जस्तै परिस्थितिमा पनि पछि नहट्नु, ईश्वर दाहिना हुन्छन्
सत्यको साथ नछोड्नु भन्दै बुझाउने मेरी आमालाई धन्यवाद ।” (गजल-१८, पृ-३०)

मन्दिरमा भगवान् खोज्नेहरूको कमी छैन । मन्दिरमा भगवान् खोज्नेहरूले आमाबुबालाई वृद्धाश्रममा राखेका उदाहरणहरू भेटिन्छन् । सायदै तिनीहरूले भगवान् नचिनेर होला । फोटा र मूर्तिमा भगवान्‌को कल्पना गर्नेहरूले किन बिर्सिएका आफ्ना घरका भगवान्‌लाई । किन अनादार गरेका जीवन्त भगवान्‌लाई । किन आमाको चरण स्पर्श नगरेका ? किन आमालाई खुसीमा जीवन बिताउन नदिएका ? धर्म गर्न कुनै दान गर्न पर्दैन, मन्दिरमा गई राख्नु पर्दैन आमालाई खुसी राखे हुन्छ । चार धाम, सबै तीर्थ आमामै गएर समाहित छन् । आमाको चरण स्पर्शबाटै स्वर्गको द्वार खुल्छ । आमालाई गरिने सम्मान, माया, आदर नै हरेक सङ्कटको समाधान हो । आमाको आशीर्वाद छ भने सब थोक छ । आमालाई कष्ट दिने, रुवाउनेले मन्दिरमा गएर केही पाउँदैन त्यो त केवल देखावटी ढर्रा मात्रै हो । मन्दिरमा भगवान् खोज्ने होइन आफ्नै बुबाआमालाई भगवान् मानेर अघि बढ्ने प्रगतिवाद सोच व्यक्त गरेर पनि प्रकाशले गजल कोरेका छन् –

“मन्दिर पसेर भगवान् कतिन्जेल खोज्ने हो?
बाआमा नै भगवान् भन्ने भावना राख्नुहोस् ।” (गजल-३६, पृ-४८)

“आमा-बुबा हजुरहरू सबैको भगवान् होइसिन्छ
तर भगवान्‌लाई नै मान्छेले सधैँ टाढा बनाउँछ ।” (गजल-४७, पृ-५९)

“तपाईँको नजरमा मन्दिरभित्र भगवान् पाइएला
मलाई आमाको चिहानमा भगवान्‌को भावना आउँछ ।” (गजल-५९, पृ-७१)

जीवनमा सबैभन्दा खुसी आमाकै काखमा मिल्छ । छोराप्रति आमाको कष्ट कतै तुलना हुँदैन । आमाको महत्त्व जतिपल्ट उल्लेख गरे पनि कमै हुन्छ । जब मानिस पीडामा हुन्छ, परित्राणको कुनै आश्रय रहँदैन र त्रासले ग्रसित हुन्छ त्यस वेला मानिसले आमालाई सम्झिन्छ । आमाको प्रेम शाश्वत प्रेम हुनाले आफ्ना सन्तानको हितमा जुनसुकै अवस्थामा पनि निरन्तर बगिरहन्छ चाहेँ सन्तान असल होस् अथवा खराब । आमाका लागि सन्तान यति प्रिय हुन्छन् कि आफ्नो अस्तित्व पनि आमाहरू सन्तानमै देख्ने गर्छन् । आमालाई ममताको आँचलमा सुताउने सन्तानहरूले आमाको ऋण चुक्ता गर्ने प्रयास गरेका छन् भने आमालाई दुःखको सागरमा पौडिन विवश बनाउने सन्तानहरूको पनि कमी छैन यो विचित्र संसारमा । आमाप्रतिको ममतामा चुर्लुम्म डुबेर गजलकार प्रकाशले आफ्नो भावना व्यक्त गर्न बिर्सिएका छैनन् । त्यसैले होला उनी अरू होइन माया गर्ने आमा नै चाहिन्छ भन्छन् । सुखदुःखमा सधैँ आमाको हात नै खोज्ने गर्छन् प्रकाश । आफू रित्तिएर सन्तानको झोली भर्ने आमाको सदैव साथ चाहन्छन् प्रकाश । हर सङ्कटहरूमा आमाले साथ दिएपछि किन भगवान् खोज्दै मन्दिर, धाम जानुभन्ने भावना पनि प्रकाशका गजलमा व्यक्त भएका छन् । आमाको गुणगान गाएर कहिल्यै सकिँदैन त्यसैले आजीवन आमाको ऋणी छु भन्न खोजेका छन् प्रकाशका गजलले ।

“अरू होइन मलाई माया गर्ने आमा चाहिन्छ
सुखदुःखमा सधैँ अघि सार्ने मेरी आमा चाहिन्छ ।

आजीवन उनको ऋणी छु म, मृत्युपश्चात् पनि
मेरा दुःखमा नयन भिज्ने आँसु झर्ने आमा चाहिन्छ ।” (गजल-३८, पृ-५०)

आमाको दुःखमा गजलकार प्रकाशको आवाज चर्किएको छ । आमाको कष्टको विरोधमा प्रकाशले हुङ्कार भरेका छन् । आफूलाई खुन-पसिनामा एकाकार पारेर पनि आमालाई कष्टको अनुभव नगराउने भाव गजलमा व्यक्त भएको छ । सामन्तीहरूको शोषणको विरुद्धमा प्रकाशको कलम बोलेको छ । सामन्तीहरूको शोषण केही मात्रासम्म खपे पनि आमालाई यातना दिने कुरामा गजलीय आवाज मुखरित भएको छ ।

“हो साहू, मलाई बन्धक राख, जे जे मन लाग्छ गर
तर फूलजस्ती प्यारी मेरी आमाको शरीर बेचिनु हुँदैन ।” (गजल-४४, पृ-५६)

राजसत्ता विरुद्धमा पनि प्रकाशको कलम गर्जिएको छ । राजसत्ताले मन गर्नु हो भनी जे पनि गर्न सक्छ । देशमा चलिरहेका नचाहिँदा कामहरू विरुद्ध व्यवस्था लिन सक्छ । रोक लगाउनु सक्छ । राम्रो कर्मप्रति मानिसलाई धावित गराउनु सक्छ । उचित, अनुचित छुटाउनु सक्छ तर राजसत्ताले गर्न चाहँदैन । उनीहरू त देशमा नशालु पदार्थका पसल खोलाउने अनुमति दिन्छन् । वृद्धाश्रम बनाउन सहयोग गर्दछन् । राजसत्तालाई केवल राजगद्दी चाहिएको छ । त्यसैले त गजलकार प्रकाशले गजललाई नै अस्त्र बनाएका छन् । गजलले प्रहार गरेका छन् ।

“बाआमा घरमै रहून् ए सरकार वृद्धाश्रम भाचियोस्
उनीहरूको सेवाजस्तो दुनियाँमा अर्को सौगात हुँदैन ।” (गजल-४८, पृ-६०)

उपसंहार :

गजलको प्रारम्भिक चरण अरबी, फारसी, उर्दु, हिन्दी हुँदै नेपालीसम्म आएको पाइन्छ । त्यसैले होला नेपाली गजलका कृतिहरूमा पनि केही आगन्तुक शब्दहरू पाइन्छन् । प्रस्तुत गजल कृति हुङ्कारमा प्रकाश कुइँकेलले कतिपय आगन्तुक शब्दहरूको प्रयोग गरेको पाइन्छ । काफिया गजलको मुटु हो । प्रकाशका गजलमा काफियाको सही प्रयोग भएको छ । काफिया दोहोरिएको छैन । गजलमा भाव र बिम्बको जसरी अपेक्षा गरिन्छ, त्यस सँगसँगै शब्दगत सरलता, कोमलता, हार्दिकता, जीवन्तता, लयात्मकता र सम्प्रेषणीयता हुनु पनि उत्तिकै आवश्यक ठहरिन्छ । प्राविधिक विधा भएकै कारण संरचनामात्र यसको प्रमुख कुरा होइन । आन्तरिक संरचना र बाह्य संरचना पनि ठिक हुनुपर्छ । यिनीहरूको उचित समायोजनले मात्रै सुन्दर गजल बन्ने सम्भावना अधिक हुन्छ । गजल फूलले हानेर पत्थरको चोट दिन सक्ने हुनुपर्दछ भन्ने मत सर्वमान्य रहेको छ । प्रकाशका गजलका बाह्य संरचना पक्ष ठिक छ । कतिपय गजलका अन्तरिम पक्ष अझ ठिक पार्न सक्ने सम्भावना देखिन्छ । कुनै-कुनै गजलहरूका सेरहरूमा एकैखाले भाव दोहोरिएको पाइन्छ । यस क्षेत्रमा अझ लगनशीलता सहित गहिरो अध्ययन जारी गरिराखे आगामी दिनमा प्रकाशले अवश्य नै गहकिला गजल पस्कनेछन् । प्रकाशको गजलीय यात्रा सुन्दर र प्रकाशमय बन्ने सम्भावना प्रबल देखिन्छ ।