विषय प्रवेश
कुनै पनि जाति, समाज र देशको विकास र रूपान्तरणमा नारीको उल्लेख्य भूमिका रहेको कुरालाई कसैले नकार्न सक्दैन, तर इतिहासमा ती कुराहरूको चर्चा बिरलै पाइन्छ । स्थापित पुरुषवादी दृष्टिकोणका कारणले महिलाहरूको इतिहास ओझेलमा परेको देखिन्छ । योगमाया उपन्यासमा यस्तै आझेलमा परेकी राणाकालकी एक जना विद्रोही महिला योगमाया र उनको जीवन दर्शनलाई उपन्यासकारले नीलम कार्की निहारिकाका जीवन्त बनाएकी छन् । “हामीजसरी सीता भृकुटीलाई सम्झन्छौँ, सम्मान गर्छौँ योगमाया पनि त्यस्तै पात्र हुन्” – यो भनाइ हो योगमाया उपन्यासकी लेखिका नीलम कार्की निहारिकाको । (साक्षात्कारबाट)
विषय विस्तार
वि.सं. २०७४ को मदन पुरस्कारले पुरस्कृत योगमाया सत्य घटनामा आधारित ऐतिहासिक उपन्यास हो । लेखिका नीलम कार्की निहारिकाका अन्य प्रकाशित कृतिहरू हुन्- चिरहरण (उपन्यास, पद्मश्री पुरस्कार प्राप्त), बेली (कथासङ्ग्रह), अर्की आइमई (उपन्यास), मौन जीवन (उपन्यास), नियतिको खेल (उपन्यास), कागजमा दस्तखत (कथासङ्ग्रह), त्रिचालिस कथा (कथासङ्ग्रह), द्रौपदी अवशेष (उपन्यास) आदि । इतिहास, धर्म र संस्कृतिको उत्खनन गर्ने काम उनका प्रायः सबै कृतिमा भएको पाइन्छ । लेखिकाले लेखेका प्रायः सबै कृतिहरूमा नारी अधिकार, इतिहास, समाज र संस्कृतिसँग जोडिएका कुराहरू नै छन् ।
संरचना
योगमाया उपन्यासमा प्रथम पुरुष दृष्टिकोण प्रयोग गरेर गङ्गा पात्रको माध्यमबाट कथा भनिएको छ । विशिष्ट शैलीमा लेखिएको योगमाया उपन्यास समग्रमा ५०३ पृष्ठ लामो छ जसमा सङ्ख्या दिएका ५५ ओटा अध्याय अनि ‘आरम्भ’, ‘दुखुना भन्छे’ र ‘प्रसङ्गवश’ शीर्षक दिएका तीनओटा अध्याय छन् । ‘आरम्भ’ शीर्षकमा अमेरिकी अनुसन्धानकर्ता बार्बरा निम्री अजिजले पारिजातलाई भेटेको, उनकै घरमा बसेको र योगमायाका केही सृजना अङ्ग्रेजीमा अनुवाद गर्न दिएको प्रसङ्गबाट कथा विस्तार भएको छ अनि ‘दुखुना भन्छे’ अध्यायमा जलसमाधि लिने अन्तिम समयको वृत्तान्त दुखुनाको माध्यमबाट वर्णन गरिएको छ; यस क्रममा अन्तिम अध्याय ‘प्रसङ्गवश’मा लेखिका नीलमले उपन्यास तयार पार्ने क्रममा आफूले भेटेका पात्रहरू र पुस्तक वा अन्य प्रकाशित सामग्री दिई सहयोग गर्नेहरूलाई कृतज्ञतासहित सम्झेकी छन् ।
नीलम कार्की निहारिकाले योगमाया उपन्यासको सामग्री सङ्कलनमा निकै समय र मेहनत खर्चेकी छन् । सर्वप्रथम अमेरिकाकी समाजशास्त्री एवं पत्रकार बार्बारा निम्री अजिजले १९८० मा मनकामनामा पहिलोचोटि हजुरवाणी सुनेकी अनि यसको अनुसन्धानमा लागेकी हुन् । लेखिका नीलमले योगमायाले बिताएका ठाँउहरूको भ्रमण, जलसमाधि लिएका अनुयायीहरूका आफन्तसँग भेट, जनकलाल शर्मा, ज्ञानमणि नेपाल र डम्बरबहादुर बस्नेतका पुस्तकहरू अध्ययनका साथै उनीहरूसँग भेट गरेर सामग्री सङ्कलन गरेकी छन् । यसबाहेक बार्बरा निम्री अजिजसँग र पारिजातकी बहिनी सुकन्यासँग भेट, अन्तर्वार्ता गरेर धेरै जानकारी लिएकी छन् । गहन रिसर्च र प्रमाणित डाटाको विश्लेषणबाट जन्मेको इतिहास हो योगमाया उपन्यास । यस उपन्यासलाई ऐतिहासिक दस्ताबेज पनि मान्न सकिन्छ । बहुपात्र प्रयोग गरेर रचिएको यस उपन्यासकी मुख्यपात्र योगमाया वा ठुलीहजुर हुन् अनि अन्यमध्ये गङ्गा वा सानीहजुर, प्रेम नारायण, नैनकला, दुखुना, गन्जबहादुर आदि सशक्त पात्रहरू हुन् । उपन्यासमा प्रायः छोटा-छोटा वाक्य र अत्यधिक संवाद प्रयोगका साथै तत्कालीन परिवेशको भाषा प्रयोग गरिएको छ ।
मायाबाट योगमाया
भोजपुरको साधारण परिवारमा जन्मेकी योगमायाको जीवनमा आधारित ऐतिहासिक उपन्यास हो । योगमाया नेपाली इतिहासको एक कालखण्डमा एक जना प्रखर विद्रोही थिइन् । उनलाई आफ्नै जिन्दगी र सामाजिक परिवेशले नै विद्रोही बनाएको हो । यस उपन्यासमा साधरण महिला माया न्यौपाने कसरी योगमाया बनिन् अनि समाज परिवर्तनका निम्ति आफ्ना अनुयायीसहित अरुण खोलामा हामफालेर जलसमाधि लिएको घटनालाई मुख्य कथा बनाइएको छ । वि.सं. १९२५ मा भोजपुरको सिम्लेमा जन्मेकी मायाको माइत गाउँबाट धेरै टाढा सानो उमेरमै विवाह हुन्छ । त्यहाँको बुहार्तन, दुःख कष्टमा उनका दिनहरू बित्छन् । त्यहाँबाट न माइत जाने अनुमति पाइन्छ न माइतबाट कोही त्यहाँ पुग्छन् । एक रात हिम्मत गरेर उनी भागेर माइत आउँछिन् तीन दिन लगाएर । पछि तीन दिनसम्म घर न माइत भएर हराएकी बुहारीलाई घर नभित्राउने भएपछि उनी माइतिमै बसेकी हुन्छिन् पुरुषप्रधान समाजमा पतिको घर छोडेर बस्ने नारीलाई समाजले सन्चोले बाँच्न दिँदैन । यसैले उनी गाउँकै कँडेल थरका युवकसित आसामतिर लाग्छिन् । आसाममा उनको जीवन क्रमशः सामान्य हुँदै गइरहेको हुन्छ तर अचानक कँडेलको मृत्यु हुन्छ र उनी फेरि एकपटक एक्लो हुन पुग्छिन्, जीवनमा धेरै कष्ट भोग्छिन् । फेरि उनको जीवनमा एक जना पुरुष आउँछन्, जसले सम्मानसहित उनलाई पत्नी रूपमा अपनाउँछन् । उनलाई माया यसरी सम्झन्छिन्- दुःख बिसाउने चौतारो भन्नु कि, समाजको सामु छेकबारको भित्ता, त्यही बनेर उभिनुभएको थ्यो नैनकलाका बा ।
छोरी नैनकला जन्मेपछि उनको जीवन क्रमश: सामान्य हुँदै जान्छ तर पनि मानसिक छटपटी, औडाहा, केही नपुगेको बोध भने उनलाई भइरहन्थ्यो । उनलाई सांसारिकताभन्दा भजन, कीर्तन, जोगी, साधु – सन्तहरूको सङ्गत न्यानो लाग्न थालेको हुन्छ । तीमध्ये पनि कति जना गुप्त रूपमा साधु भेसमा रहेकाहरूले गरेका जागरणका कुरा, देशका कुरा, स्वतन्त्रताका कुरा, जन्मभूमिका कुरा, अन्धविश्वास र सामाजिक कुरीति हटाउनुपर्ने कुराहरूबाट मायाभित्र सुसुप्त अवस्थामा रहेको विद्रोही सोचले मलजल पाउन थाल्छ । एकपल्ट गाँउमा पुराण कथा लागेको हुन्छ, त्यहाँ पण्डितले प्रवचनमा भनेका “परस्त्री र परपुरुष गमन गर्नाले भविष्यमा नर्कको याताना भोग्नुपर्छ तर नजानेर यस्तो अपराध गरेको छ भने ज्ञान पाएपछि त्यसको प्रायश्चित्त गऱ्यो भने यातना भोग्न पर्दैन” भन्ने कुराले मायामा ठुलो प्रभाव पार्छ । उनलाई लाग्छ अज्ञानतावश हामीले गरेका कर्मको अब प्रायश्चित्त गर्नैपर्छ, जुन व्यक्तिले कष्टमा मलाई सहारा दिए मेरै कारणले उनले नर्कको यातना भोग्नुपर्ने रहेछ, पापमुक्त बन्नका निम्ति हामी छुट्टिएर बस्नैपर्छ । मायाका पतिले सम्झाउने धेरै चेष्टा गर्छन् तर माया मान्दिनन् । त्यसै समयमा उनका पतिको मृत्यु हुन्छ र उनले आफ्ना कान्छा भाइ अग्निधरलाई आफूलाई लिन आसाम बोलाउँछिन् र छोरी नैनकलालाई लिएर माइतमा आई भाइबुहारीसँग बस्न थाल्छिन् । यहीँ प्रसङ्गबाट योगमाया उपन्यास सुरु हुन्छ ।
नेपाल आइसकेपछि माइतमै बसे पनि उनलाई गाउँघरमा कतिले स्नेह गर्छन्, कतिले कटाक्ष गर्छन् तर यस्ता कुराहरूमा मायाको ध्यान जादैन, बरु गाँउमा भएका अन्याय, कुरीति, अन्धविश्वासको विरोधमा, नारीका हकमा बोल्छिन् । आफना कुरामा निडर, हक्की, निर्भीक र हठी पनि देखिन्छिन् । साधु सन्तका साथ लागेर मनःकामना, स्वर्गद्वारीको दर्शन गरेर फर्किन्छिन् । उनको मन ध्यान र तपस्यातिर जान्छ, गाउँकै शङ्खेश्वर मन्दिरको गुफामा एक महिना तपस्या गर्छिन् र घर छाडेर कुटीमा बस्न थाल्छिन् अनि स्थानीय नरनारी, दलित-उपेक्षित समुदायमा क्रमशः उनी भक्तिमाता, शक्तिमाई, ठुलीहजुर आदि नामले पुकारिन थालिन्छिन् । मझुवाबेँसीमा धेरै कुटीहरू थपिन्छन्, ठुलीहजुरको भक्तिलाई मान्नेहरू घर छोडेर कुटीमै बस्न थाल्छन्, उनका अनुयायीहरू सबै जात, धर्मका महिला, पुरुष, जवान, वृद्ध, वृद्धा आदि थिए । भजन, कीर्तन, प्रवचनले त्यहाँको वातावरण रमाइलो बन्छ । एकपटक अरुण खोलामा ठुलो बाढी आउँछ, शीतला माईको प्रकोपले र नब्बे सालको महाभूकम्पले धेरैको ज्यान लिन्छ तर योगमाया र उनका भक्तहरू बस्ने कुटी वा स्थानमा नित्य भजन भइरहन्छ, आपत्मा परेकालाई सहयोग पनि भइरहन्छ । सामाजिक परिवर्तनका निम्ति कुटी बनाएर ईश्वरको ध्यान गरेर अशिक्षित समाजलाई सङ्गठित गरी सचेतनता फैलाउने साहसी महिला मान्न सकिन्छ । उनमा सबल नेतृत्व क्षमता रहेको देखिन्छ ।
योगमायाले समाजोपयोगी कुराहरू आफ्ना मागपत्रमा लेखी धनकुटा बडाहाकिमकोमा र अनेकपटक श्री ३ कोमा पठाउँछिन् । केही मागहरू पूरा हुन्छन्, उनीहरू खुसी हुन्छन्, योगमायाको मानसम्मान र प्रतिष्ठा बढ्छ तर पछि उनीहरूका अन्य मागहरू पूरा हुँदैनन् । उनी आफैँ पनि काठमाडौँ पुगेर श्री ३ लाई भेटेर मागपत्र हातैमा थमाएर आएकी हुन्छिन् तर आफ्नो उद्देश्य पूरा नहुने देखेपछि तत्कालीन शासकलाई दबाब दिएर समाजमा परिवर्तन ल्याउने ठान्छिन् । यसैले योगमायाले दुई सय चालिस अनुयायीहरूका साथ अग्निदाह गर्ने घोषणा गर्छिन् । त्यसको तयारी चलिरहेकै बेला अन्तिम समयतिर प्रहरी सिपाहीको ठुलो जत्था आइपुग्छ र सबैलाई पक्राउ गरी लैजान्छन्, यसरी उनको त्यो योजना सफल हुन सकेन । उनीहरूलाई तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुन्छ तर रिहाइपछि फेरि उही भजनकीर्तन गर्ने, तीर्थ जाने, तपस्या गर्ने क्रम चलिरहन्छ । योगमायाले मौखिक रचना गर्ने र गाउने गरेका गीत, भजन, कविताहरू (जसलाई उनीहरू हजुरवाणी भन्थे ) लाई वि.सं.१९९५ मा भारतबाट छपाई ल्याइन्छ तर त्यसलाई सरकारले जफत गरिदिन्छ तर पनि योगमाया हार मान्दिनन् अनि हातले लेख्न लगाएर भोजपुरी धनकुटा, ओखलढुङ्गा, तेह्रथुमका जगा-जगामा टास्ने काम गराउँछिन्, गाउँ-गाँउमा आफ्ना अनुयायी पठाएर लय हालेर गाएर सुनाउने र प्रचार गर्ने काम गराउँछिन् । फेरि एकपटक श्री ३ समक्ष मागपत्र बुझाइन्छ तर ती मागहरू यसपटक पनि पूरा हुँदैनन् । अन्ततः आफ्ना मागहरू पूरा नभएपछि राणाशासनका विरुद्धमा असार २२ गते वि.सं. १९९८, हरिशयनी एकादशीका दिन एकाबिहानै योगमाया सहित ६६ जना अनुयायीहरू अरुण खोलामा जलसमाधि लिन्छिन् । यो सामूहिक मृत्युवरण आत्महत्या थिएन तर अन्याय र अत्यचारको मौनविरोध थियो ।
विद्रोही योगमाया
समाज परिवर्तन गर्न मृत्युपर्यन्त लड्ने नेपालकी पहिलो विद्रोही नारी हुन् योगमाया । तत्कालीन नेपालको राणा शासन र ब्राह्मणवादको हैकममा रहेको समाजमा जागरण ल्याउने काम उनले गरिन् । जीवनमा भोग्नुपरेका दुःख, कष्ट, प्रताडना, अपजस, बुहार्तन, सामाजिक लाञ्छना, कटाक्ष आदिले उनी गृहस्थी छाडेर धर्मकर्म, तीर्थव्रत र साधुसंन्यासीको सङ्गततिर आकर्षित बन्छिन् । माइतघरमा पनि सामाजिक उपेक्षा पाएकी हुनाले उनमा तत्कालीन सामाजिक बेथिति, छोरीहरूमाथि असामान्य व्यवाहारले विद्रोहको बीजारोपण भयो । पुरुषलाई मात्र बहुविवाहको अनुमति दिने समाजमा सामाजिक क्रान्ति आफैँबाट सुरु गर्ने सहासी योगमायाले तत्कालीन अन्यायपूर्ण सामाजिक मान्यातालाई चुनौती दिँदै पुनः विवाह गरिनन् । आफूले जीवनमा गरेको सङ्घर्षले नै उनलाई यस प्रकारको सहास दिएको हो । ईश्वरप्रति आस्था, कर्मयोगमा विश्वासी, समाजसुधारलाई आफ्नो तपस्याकै अंश सम्झने योगमायाले जीवनकालमा गरेका आन्दोलन, विद्रोह, सामाजिक कार्य, आदि नारीका निम्ति मात्र नभएर सम्पूर्ण समाजकै निम्ति थियो । योगमायाको कुटी सबै जातका मानिसहरूका निम्ति खुला थियो । उनले तत्कालीन समाजमा जरा गाडेको जातीय विभेदको विरोध आफ्नै घरबाट सुरु गरेको देखिन्छ । समाजमा रहेका विकृति र असङ्गतिहरू हटाउनु उनको मुख्य ध्येय रहेको थियो ।
उनी कुनै धर्म प्रचारक वा धर्म गुरु थिइनन्, उनले समाजसुधारका निम्ति आध्यात्मिक पाराले आफ्नो जागरण अभियानलाई अघि बढाएकी थिइन् । उनी सामाजिक विभेद, लैङ्गिक विभेद, जातीय विभेदको अन्त्य हुनुपर्छ भन्ने पक्षमा थिइन् । उनले उठाएका मुद्दाहरू यस प्रकारका थिए – १. बालविवाहको विरोध, २.सती प्रथाको विरोध, ३. विधवाको मञ्जुरीसहितको विधवा विवाहको पक्षमा ४. बहुविवाहको विरोध ५. जोईको इच्छ नभई पोइले सौता हाल्न नपाउने ६. नारी शिक्षाको पक्षमा ७. नारीका साथै सबै जातिका मानिसहरूले पनि वेद पढ्नु पाउनुपर्छ ८. कमारा कमारीको किनबेचको विरोध, ९. घुसखोरी र भष्ट्रचारको विरोध, १०. चक्रवर्ती व्याजको विरुद्ध ११. जाली, किर्ते तमसुक बनाई सोझासिधालाई ठग्ने, उठिबास गराउने चलनविरुद्ध १२. जातपात र छुवाछुतविरुद्ध १३. नारीशोषण, अन्याय, अत्याचार, थिचोमिचोका विरुद्धमा १४. खेतीयोग्य जमिन बाँझो राख्न नहुने, भूदान यज्ञ गरी गरिबलाई जग्गा उपलब्ध गराउनुपर्ने पक्षमा १५. गरिबको ऋण मिनाहा गरिनुपर्छ, १६. गाउँमै खादी कपडा बुन्ने र लगाउने पक्षमा, १७. रुद्राक्ष बेच्ने चलन समाप्त गरिनुपर्छ, १८. गरुडपुराण लाउने प्रथा अन्त्य गरिनुपर्छ, १९ पुराना ऐन खारेज गरी समयअनुसार नयाँ कानुन प्रचलनमा ल्याउने पक्षमा, २०. अधर्मको नाश र धर्मको स्थापनाको पक्षमा इत्यादि । योगमायाले उठाएका मुद्दाहरू सामाजिक, धार्मिक, आर्थिक, नैतिक पक्षसँग जोडिएका छन् ।
योगमायामा कवित्व गुण
योगमायामा काव्य रचना गर्ने शक्ति पनि रहेको थियो । प्रस्तुत उपन्यासमा उनको कवित्व गुणको पनि चर्चा पाइन्छ । तत्काल गीत, भजन रचना गर्नु/गाउनुजस्ता गुण उनमा रहेको थियो । उपन्यासमा भएका केही उदाहरण-
१. चटकजस्ता संसारमा स्वप्नाजस्तो खेल,
प्राणीहरूका हृदयमा तृष्णाको भेल छ ।
२. आसामीले थैली कर्जा तिरिसकेछ,
साहू भन्ने लोभी चाहिँले बाँकी भनेछ,
हेर त केटा तमसुकमा यति बढेको,
अन्तर्यामी प्रभु देख्छन् धर्म छोडेको ।
३. पर्नेछ आखिर अवश्य मर्नु,
तृष्णा र सेखी रति क्यै नगर्नू ।
४.सत्शक्ति शरण लेऊ महा दया गरिदेऊ ।
सज्ज्योतिमा सारिदेऊ,
असत्लाई छकाइदेऊ,
सृष्टिको चलन फर्काइदेऊ ।
५.जगत्भित्र तिमी छौ
तिमीभित्र जगत् छ ।
आखिरीमा होइन केही
हेर्दै जाँदा छैन केही ।
६. पण्डितले चाल पाउनू, गडुर न लाउँनू
धेर कर्ममा नभुलून्, प्रेतमा नहुल्नु
यो बात सुन्दा पण्डितको चित्त दुख्नेछ
भक्तजीको दृष्टि पर्दा नर्क सुक्नेछ ।
७.जन्म नर अन्न पच्चिसा लायो
साना र ठुला पाथीहरू चलायो,
लिनुपर्दा ठुला दिनु पर्दा साना
अधम् त्यो हो कुम्भिपाक् बास जान्नू ।
८. सलामी दिन्छु बारम्बार
राजाले सतीलाई छोडिदिए
ईश्वरले मति फेरिदिए ।
राजाले बिन्ती सुनिदिए
सतीलाई पोल्न छाडिदिए
धन्य हो सरकार ३ सरकार ।
९. महाराज छन् दरबारमा हेर्न आउँदैनन्,
दुःखीजनले नियाँ निसाफ सीधा पाउँदैनन् । इत्यादि
यस्ता भजन, गीतहरू आध्यत्म/धर्मसँग सम्बन्धित, अन्यायका विरुद्ध वा सामाजिक चेतना जागृत गराउने खालका छन् । उनका रचनामा ईश्वर भक्तिका साथै छुवाछुतको विरोध, घुसखोरी विरुद्ध, सामाजिक कुरीतिको विरोध आदि पनि पाइन्छ । नेपाली प्रगतिवादी कवितामा विद्रोहचेत ( वि.सं. २०६२) पुस्तकअन्तर्गतको पूर्वाञ्चलका कवितामा प्रगतिवादीचेत लेखमा अशोक सुवेदीले “योगमाया नेपालकै विद्रोहको इतिहासमा आगो ओकल्ने क्रान्तिकारी महिला हुन्” अनि योगमायारचित भजनहरूलाई “नेपाली साहित्यमा प्रगतिशील विद्रोहचेतका वाणीहरू हुन्” भनेका छन् । यसै पुस्तकको भूमिकामा डा. ताराकान्त पाण्डेयले “वास्तवमा योगमायाका विचार, व्यवहार र सिर्जनामा पाइने विद्रोही चेतना सिङ्गो नेपाली कवितामै विद्रोही चेतनालाई वाणी दिने, प्रगतिशील चेतनाको निर्माण गर्ने महत्त्वपूर्ण पूर्ववर्ती प्रयास हो र यसको अध्ययन एवं मूल्याङ्कन हुनु आवश्यक छ” भन्ने विचार व्यक्त गरेका छन् ।
पारिजातले योगमायालाई सामन्तवाद विरोधी आशुकवि मानेकी छन् । (पारिजातको जीवनकथा- नरेन्द्रराज प्रसाई) । पारिजातले योगमायाका भजन, गीत, कविताका बारेमा “सामन्तवादी नीति, राणाशासन, शोषण नीति, जाली फट्याइँ, प्राशासनिक दमन, महिलाप्रतिको शोषण, जाली तमसुक, बाहुनवाद, भारतीय मुद्राले बिस्तारै निल्दै लगेको नेपाली मुद्राको मूल्यसमेतको विरुद्धमा कविता रच्ने योगमायातर्फ समालोचकहरूको ध्यान किन गएन ? भन्ने प्रश्न पनि उठाएकी छन् । पारिजात अझ भन्छिन् ‘मलाई अनौठो लाग्छ शृङ्गार रसमा ठेली ठेली समालोचना लेखेर दिमाग खेर फाल्ने समालोचकहरूले योगवाणीतर्फ एक आँखा पनि दिएनन् । (शक्ति, भक्ति र मुक्तिकी सङ्गम – योगमाया) (सम्पादक-पवन आलोक; वि.सं २०७०) ।
अन्य प्रसङ्ग
यस उपन्यासमा मूल कथावस्तु सँगसँगै त्यस कालखण्डका अन्य ऐतिहासिक प्रसङ्गहरू पनि आएका छन् । जस्तै भारतमा चलेको स्वाधीनता आन्दोलनको प्रभाव नेपालमा परेको; महात्मा गान्धीको सत्यग्रह आन्दोलनमा भाग लिएका नेपाली युवाहरू राणा विरोधमा एकजुट भएका; आधुनिक भारतका महान् चिन्तक एवं समाज सुधारक अनि आर्य समाजका संस्थापक स्वामी दयानन्द सरस्वतीका अनुयायीहरू मनःकामना दर्शन गर्न आएका अनि त्यहाँबाट प्रेमनारायणसँग ठुलीहजुरलाई भेटेका, कर्म र संन्यास, धर्म मार्ग र जीवन मुक्तिबारे चर्चा, विमर्श गरेका कुराहरू; भारतमा छपाएर ल्याएको हजुरवाणीलाई जनसाधरणमा प्रचार हुन नदिनका लागि तत्कालीन सरकारले जफत गरेर जलाएका घटनाहरू; जोसमनि सन्त परम्पराका अदेशदिल राईका चेला सन्त ब्रह्मदिल दासले किराँतमाझ जोसमनिको प्रचार गरेका ; भोटबाट भोटेहरू नुन, सियो, जिम्बु लिएर नेपाल आउँथे र अन्न साटेर लैजान्थे; यसबाहेक राणा शासनमा सत्ताका निम्ति दाजु, भाइ, भतिजबिचमा भएका मारकाट, विश्वासधात, उनीहरूका भोग विलासका प्रसङ्गहरू, काठमाडौँमा दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभक्त र गङ्गालाललाई सहिद बनाइएका कुराहरूको उल्लेख पनि यस उपन्यासमा पाइन्छ ।
निष्कर्ष
एउटा वार्तामा लेखिका नीलम कार्की निहारिकाले भनेकी छन्- नलेखिएका इतिहास लेख्ने जिम्मावारी आजका सर्जकहरूको हो । योगमायाको भुमिका नारीका निम्तिमात्र नभएर समाजकै निम्ति थियो । उनले समाजका सबै वर्गका मानिसहरूलाई सचेत बनाउने काम गरेकी थिइन् । त्यस वेलाको पितृसत्तात्मक समाजमा पुरुषहरू पनि योगमायाका अनुयायी रहेका थिए । लामो समयसम्म ओझेलमा पारिएको योगमायाको सामाजिक जागरणको आन्दोलनको अब मूल्याङ्कन हुन थालेको छ । अमेरिकाकी समाजशास्त्री एवं पत्रकार बार्बारा निम्री अजिजले सन् १९८० मा मनःकामनामा पहिलोचोटी हजुरवाणी सुनेकी अनि यसको अनुसन्धानमा लागेकी हुन् । यिनले नै सर्वप्रथम यसतर्फ अनुसन्धानको ढोका खोलेकी हुन् । योगमायाबारे उनका दुईओटा पुस्तक प्रकाशित छन्- Heir to a silent song : two Women of Nepal (2001), Yogmaya and Durgadevi : Rebel women of Nepal (2020) । योगमायाको नाममा डाकटिकट, राष्ट्रिय स्तरमा पुरस्कार राखिनु, योगमाया फाउन्डेसन, योगमाया आर्युवेद विश्वविद्यालय स्थापना जस्ता अनेकौँ कार्यहरू भइरहेका छन् । यसैक्रममा योगमायाजस्तो बृहत्काय उपन्यास लेखिनु अनि यस पुस्तकलाई वि.सं. २०७४ मा नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कारबाट पुरस्कृत गरिनु एउटा महत् कार्य भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।