
“जुन जातिको भाषा, साहित्य र संस्कृति बलियो हुन्छ त्यो जाति नै संसारमा बलियो प्रकारले चिनिएको हुन्छ” यही वाक्यलाई मूलमन्त्र बनाएर कला साहित्यमा साधनारत स्रष्टा मुक्तिप्रसाद उपाध्याय । नेपाली वाङ्मय जगत्मा सुपरिचित उनलाई मैले धेरै ठाउँमा पढ्दै, सुन्दै आएकी छु- पत्रपत्रिकामा, अन्तर्वार्तामा, पुस्तकमा, सिने जगत्मा । उनका कृतिमाथि गरिएका विवेचना पनि वेलाबखत हेर्दै आएकी छु । केही दिनअघि शरत्पूर्णिमाकी रम्य रमिता उनको नाटकमाथि एक्काइसौँ शताब्दीलाई शरत्पूर्णिमाकी शकुन्तला शीर्षकमा रञ्जु पाण्डेको एक गहिरो विश्लेषण पढेर म निकै प्रभावित भएकी थिएँ । त्योभन्दा अघि कान्छी र मालती रोबोटजस्ता उनका दुई साइबर उपन्यासमा यान्त्रिक युगको सम्भावना र मालतीको वैज्ञानिक फड्को जस्ता शशी भट्टराईका समीक्षात्मक लेख बडो तृप्तिकर थिएँ । साहित्यपोस्टबाट यी आलेखहरू पढ्ने अवसर मैले पाएकी थिएँ । वाङ्मय समृद्धिका लागि स्रष्टा र द्रष्टा दुवैको समान भूमिका रहन्छ भन्ने बोध मैले त्यतिखेरै गरेँ ।
बाल साहित्यमा अकादेमी पुरस्कार (सन् २०१५) प्राप्त उपाध्यायका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । विशेषतः उनी बालसाहित्यकार हुन् । त्यसपछि अरू विशेषणले सम्बोधित छन्, सम्मानित छन् । उपन्यास, नाटक, निबन्ध, अनुवाद, सम्पादनसँगै उनका अन्य कर्म पनि उल्लेख्य छन् । गीत सङ्गीत र अभिनय उनको त्यस्तै रुचिको विषय हो ।
यो चिसो मौसम र ओमिक्रोनले गलाएको वेला पर्थ हुँदै सिडनी यात्रा संस्मरणको अध्ययनमा मैले आफ्नो अस्वस्थता नै भुलेछु । यसअघि नै उनको जर्मन यात्रा स्वच्छ डोनाउको किनारतिर मैले पढिसकेकी थिएँ । त्यसबाट अस्ट्रियाको राजधानी भिएनाबारे राम्रो जानकारी पाएँ । भौतिकता र आन्तरिकता दुवै कुरा छन् त्यसमा । त्यहाँ रहेका नेपाली बन्धुको दुःख वर्णनमा भने यो मन अलिक अशान्त भयो । त्यही कृतिको शिल्पकलाले लोभिएर फेरि अर्को पढेँ, बुच्के छपडी ।

अनिता पन्थी
अस्ट्रेलियाको पर्थ (सन् २०१७) मा आयोजना गरिएको पाँचौँ अन्ताराष्ट्रिय नेपाली साहित्य सम्मेलनमा भाग लिन नेपाल, भारत, जापान, बेलायत, अमेरिकादेखिका लेखक स्रष्टालाई आमन्त्रण गरिएको छ । आसाम सिलगुढीबाट प्रतिनिधिका रूपमा उपाध्याय चुनिएका छन् । अनेसासको आतिथ्यमा पर्थ हुँदै सिडनीसम्मको साहित्यिक यात्रा तथा आफन्त अनि मित्रमिलाप, भेटघाट र केही दर्शनीय भूमिको अवलोकनमा उनको यात्राले पूणर्ता पाएको छ ।
दुई दिने साहित्यिक कार्यक्रम सम्पन्नपश्चात्को तेस्रो दिन आयोजक मण्डलीले आमन्त्रित अतिथिलाई पिनाकल मरुभूमिको भ्रमणमा लगेका छन् । त्यसपछिको यात्रा पारिवारिक तथा वैयक्तिक किसिमको रहेको छ । यद्यपि ती रोचक छन्, लाभदायक छन्, सूचनामूलक छन् । पात्रसँगको भेटघाट, बात संवादमा गहिरा कुरा छन् । यात्रामा आकर्षक दृश्य छन् । कृति अध्ययन गरिसक्दा त्यसबाट मैले धेरै नौला जानकारीहरू पाएँ । त्यसो त यो जानकारीमूलक मात्र होइन । यसमा भौतिकता र आन्तरिकताको मिठो संयोजन गरिएको छ । प्रेम, विश्वास, अनुशासन, मर्यादा र भावनाले नै एउटा देशलाई उठाउन सकिन्छ, त्यहाँको सम्पन्नताले लगाएको अर्थ हो, यो । अविश्वास र अनुशासनहीनताले हामी आज पनि गरिबीदेखि माथि उठ्न सकेका छैनौँ । उग्र छौँ नियम पालना गर्दैनौँ । अनि कसरी मर्यादित हुन सक्छौँ ? त्यसैले त व्यक्ति स्वार्थमा लिप्त छौँ । राष्ट्र दिनप्रतिदिन खस्किँदो छ । समृद्ध देशको चकचकी सुन्दा कुर्सीको लडाइँमा लागेका हाम्रा महोदयप्रति म अनायास क्रुद्ध भएँ । डा. गोविन्दराज भट्टराईको मेरो पहिलो बेलायत यात्रा पढ्दा मलाई त्यस्तै भएको थियो ।
यात्रामा लेखक बहुत जिज्ञासु देखिएका छन् । त्यही जिज्ञासामा अस्ट्रेलियाको ऐतिहासिक, साहित्यिक, भौगोलिक विषय सन्दर्भ उल्लेख्य छन् । साउथ वेल्समा सन् १९०८ मा जन्मेका क्रिकेटर डोनल्ड ब्रेडम्यानको सङ्क्षिप्त परिचयले लेखक उपाध्याय खेलकुद तथा क्रिकेटमा बडो चाख राख्ने स्रष्टा हुन् भन्ने पनि अवगत हुन्छ । उनका चासोका विषय अनेक छन् ।
पर्थ हुँदै सिडनी उनको दुईहप्ते यात्रा संस्मरण हो । तिथि सहितको क्रमिकतामा दैनिकी भनूँ जस्तो । डायरी यात्रा संस्मरणभन्दा अधिक अर्थपूर्ण होला ।
एउटा नेपाली नागरिकले विदेशी भूमिमा परिचय स्थापनाका लागि गरेको सङ्घर्ष ठुलो छ । अध्ययन व्यापर व्यवसाय अनि घरघरेडी जोडेर मर्यादित तथा व्यवस्थित तरिकाले जीवन बाँचेको सुन्दा गौरवबोध हुन्छ, विश्वबजारमा हाम्रा मान्छेको प्रतिस्पर्धा देख्दा अनायासै तृप्त भइँदो रहेछ ।
फरक मानसिकता भएको देशबाट महासागरको अवलोकन गर्न गएका मुक्ति नारीको निर्वस्त्र देह देखेर विस्मित हुँदै एक ठाउँमा भन्छन्, “कट्टु र ब्रा मात्रै लगाएर घाम तापिरहेका सुन्दरीबाट एकछिन त नजर हटाउनै गाह्रो पर्यो (१३)।”
जब कोही व्यक्तिको महत्त्व बुझ्न उसको अनुपस्थिति आवश्यक भएझैँ आफ्नो देशको मायाँ कति लाग्दो रहेछ त्यो जान्न परदेसिनुपर्ने रहेछ । देश नछोडीकन देशको महत्त्व कहिल्यै बोध हुने छैन । पर्थ हुँदै सिडनीमा मलाई यस्तो ज्ञान प्राप्ति भयो । अनि लाग्दै छ, स्वदेशमाभन्दा विदेशमा रहेका नेपालीलाई साँच्चै देश दुखिरहेको छ । आँखामा, मुटुमा, मनमा, भावनामा, विचारमा जताततै उनीहरूले मातृभूमिलाई सजाएका छन् । अनन्त व्यवधान र चुनौतीको दौलामा पनि आफ्नो भाषा, साहित्य र संस्कृतिप्रतिको माया प्रेम अनि त्यसको संरक्षण र संवर्द्धनका लागि उनीहरूले गरेको त्याग र निष्ठाको सराहना गर्दै लेखक भन्छन्, भाषा साहित्यको सेवा गर्न कवि वा साहित्यकार नै हुनुपर्दैन । नेपालीले खोलेको हिमालयन रेस्टुरेन्टमा एक म्यानेजरले खाजा खाएको बिल भुक्तान गर्न मान्दैनन् । भन्छन्, संसारका विभिन्न देशबाट साहित्य सम्मेलनमा आउने अतिथिको सेवा गर्न पाउनु ठुलो कुरा हो ।
लगभग अरूको दृष्टिमै नपर्ने सूक्ष्म कुराले समेत यहाँ यात्रीलाई ध्यानाकर्षण गरेको छ । अनि गम्भीर भएर उनी त्यसलाई विश्लेषण गर्छन्, राय राख्छन्, “मञ्चबाहिर देब्रेतिरको भित्तामा नेपालको मात्रै झन्डा थियो । अस्ट्रेलियाको झन्डाले पनि त्यता कतै ठाउँ पाउनुपर्ने हो कि भन्ने सोचले मेरो मनमा लुकामारी खेल्यो । अन्ताराष्ट्रिय भनेपछि सम्भव भएसम्म अनेसासका शाखा भएका सबै देशका झन्डा राख्न सक्दा कस्तो हुन्थ्यो होला (१६)।” यहाँ कति न्यायपूर्ण छ उनको दृष्टि ।
कर्म भूमिमा रहेर आफ्नो मातृ भाषा, साहित्य, संस्कृति र जातीय पहिचानका लागि उनीहरूले गरेको हरेक प्रयत्न स्तुत्य छन् । अन्ताराष्ट्रिय साहित्य सम्मेलन त्यसैको एउटा दृष्टान्त हो । गोष्ठीमा निकै महत्त्वपूर्ण कुरा भएका छन् । सम्मेलनको दोस्रो दिन भीमसेन सापकोटाले धनात्मक सोच अनि मानव जीवनशैली एक कार्यपत्र प्रस्तुतिको सिलसिलामा तास्मेनियामा अङ्ग्रेजीपछि सङ्ख्यात्मक रूपमा नेपाली बोलिन्छ र नेपाली साहित्य शिक्षणका लागि चाँडै नै त्यहाँ स्कुल खोलिने कुराको उल्लेख गरेका छन्, हाम्रो लागि यो अत्यन्तै हर्षको कुरा हो ।
कार्यक्रमको आरम्भमा नेपालको राष्ट्रिय गान लगत्तै अस्ट्रेलियाको गाइएको छ, यो डायास्पोराको एउटा राम्रो उदाहरण हो । अहिलेको समय नै डायास्पोराको छ । विश्व नै एउटा डायास्पोरिक ग्राम भएको छ । गोष्ठीमा तुलसी दिवसले राखेका धारणा सही थिए यद्यपि त्यहाँ पाठ गरिएका कवितामाथि केही नबोल्नुमा, ‘के ती कविता एउटै पनि राम्रा थिएनन् ?’ लेखक मुक्तिको यस प्रश्नमा इमानदारी र निर्भीकता दुवै यथोचित लाग्यो । उनले यहाँ सत्य कुरा बोल्न सकेका छन् ।
प्रायः विदेश भ्रमणका साहित्यमा त्यहाँका मानिसको प्रकृति प्रेमले मलाई ज्यादै छुने गर्छ । यहाँ पनि त्यस्तै छुने कुरा छ । समृद्धिमा पुगेका उनीहरूबाट हामीले धेरै थोक सिक्नु छ, “बाटा घाटाका छेउमा रुखबिरुवा रोपिएका छन् । विशेष अप्ठ्यारो नपरी र सरकारी अनुमति नलिईकन घरको रुख काट्न समेत पाइँदैन (२९)।” हाम्रोमा यस्तो दिन कहिले आउला ? म त एकछिन सोचमग्न भएछु । विकासको नाउँमा यता धमाधम वन फडानी भएका छन्, पहाडपर्वत फोरिएका छन् । त्यसको प्रतिफल गाउँबस्ती उठेका छन् । विनाशक बाढी पहिरो खनिएको छ ।
भ्रमणमा वेला-वेला उनी त्यहाँको विकास देखेर खिन्न हुन्छन्, आफ्नो निर्धो मुलुक आँखा वरिपरि नाच्न थाल्छ । भन्छन्, “रुखो सुक्खा, बालुवाको देशमा अपराधीलाई सजाय दिन राखिने गरिएको देश आज स्वर्गतुल्य बनेको छ ।” तर हाम्रो देश त आफैँ स्वर्गसमान थियो । त्यसको अवमूल्यन भएको उनी अर्को ठाउँमा बताउँछन्, “हाम्रोमा स्वयं प्रकृति आफैँ आएर सुन्दरता र रमणीयता प्रदान गरे तापनि मानिसको प्रयासले त्यसलाई अझ राम्रो बनाउनुपर्ने ठाउँमा हाम्रो यताको अविवेकी मस्तिष्कले प्रकृतिलाई नै नष्ट भ्रष्ट पारेको पाइन्छ । परिश्रम, विवेक, समर्पण र आत्मीय भावनाले सजाउने हो भने स्वर्ग खोज्न अरूतिर जानै पर्दैन, आफ्नै ठाउँ स्वर्ग हुन्छ (२९)।”
स्रष्टा साहित्यकार विदेशको यात्रा पुनरागमनपश्चात् त्यहाँको नियम कानुन, समृद्धि र पर्यावरणबाट अत्यन्तै प्रभावित भई आफ्ना कृतिमा ती कुरा उल्लेख गर्छन्, प्रशंसा गर्छन् । यता देशका ठुलाठालु राज्यको ढुकुटीमा कति पटक विदेशागमन भए । यद्यपि उनीहरू त्यहाँको सकारात्मकताले किन प्रभावित हुँदैनन् ? यदि प्रभावित हुँदा हुन् त हाम्रो मुलुक पनि प्रगतिको खुड्किलो उक्लिँदै हुन्थ्यो होला । पर्थ हुँदै सिडनी पढ्दा नेताजीहरूलाई मैले यस्तो प्रश्न गर्ने हैसियत बनाएँ ।
विकसित र विकासोन्मुख मुलुकबीचको पृथक्ता भन्नु नै त्यस देशको नियम कानुन रहेछ, पुस्तक पढ्दै गर्दा मैले यो कुरा पनि जानेँ । हाम्रोमा नीति छ यद्यपि कार्यान्वयन छैन । उता नीति नभएरै नीतिको कार्यान्वयन बडो उदेक लाग्छ । विधिको शासन नमान्ने हामी ज्यादै उग्रवादी छौँ । त्यही उग्रताले हामी पिछडिएका छौँ, विभेदहरू सिर्जना भएका छन्, त्यसैअनुरूप हाम्रा संस्कार, संस्कृति र मानसिकता निर्माण भएका छन् ।
त्यहीँ साहित्यिक गोष्ठीमा भेटिएका मित्र रामजी घिमिरे (छोरी ज्वाइँ) को घरमा लेखक पुगेका छन् । संवादको क्रममा रामजीकी श्रीमतीले खुसी बाढ्दै भन्छिन्, “अबको एक महिनामा हामीले पहिलो नाति देख्न पाउनेछौँ ।” हो त्यतिखेर उनले चकित हुँदै सोध्छन्, “नाति नै हुन्छन् भन्ने कुरा तपाईँले कसरी थाहा पाउनुभयो ?” यसको उत्तरले हाम्रो कुरूप समाजलाई गिज्याएको भान हुन्छ, “नेपाल र भारतमा जन्मिनुअघि लिङ्ग निरीक्षण गर्ने चलनलाई अपराध मानिन्छ तर यहाँको नियम अर्कै रहेछ । यहाँ छोराछोरी के हुन्छ भन्ने कुरा पहिले नै भनिदिँदा रहेछन् । किनभने यहाँ भारतवर्षको जस्तो गर्भ तुहाउन पाइँदैन । कानुन लाग्छ । (३८)।” हाम्रोमा जन्मिन नपाएरै कति कोपिलाहरू झरेर गएका छन् । जुन कुरा सम्झेर ल्याउँदा म स्तब्ध भएँ ।
हामीलाई आश्चर्य लाग्ने यहाँ धेरै थोक छन्, त्यस्तै अर्को छ- हस्पिटलमा नवजात शिशुलाई जन्म दिएर घर फर्केकी प्रसूतालाई ‘बच्चाको बाबु को हो ? श्रीमान् या अर्कै व्यक्ति ? छोरीको बाबु अहिले साथमै रहेको श्रीमान् हो भने पनि उसलाई बाबुका रूपमा स्विकार्ने कि नस्विकार्ने ?’ जस्ता प्रश्न सोध्न सरकारको स्वास्थ्य विभागबाट विभागीय कर्मी आएको प्रसङ्ग अत्यन्तै नौलो छ । आफ्नो सन्तानको हक बाबुलाई भन्दा आमालाई बढी लाग्ने र महिला स्वतन्त्रताका यस्ता विषय हाम्रोमा कल्पनासम्म गर्न सकिँदैन ।
पर्थ हुँदै सिडनीमा हामीले स्वअनुशासन र स्वाभिमानको पाठ सिक्नुपर्छ । एक सामान्य नागरिक र मन्त्री एउटै कानुनको दायरामा रहेको कुरा एकपटक हाम्रा नेताजीहरूले पनि पढ्न जरुरी छ । अझ विशेषतः उनीहरूकै लागि यहाँ गम्भीर पाठ छ । गाडीमा सिटबेल्ट नबाधेकोमा आफ्नो असावधानी स्विकारेर मन्त्रीले फाइन तिरेको कुरा यता हामीलाई सह्य छैन ।
आफ्नो परिवेशले निर्मित जिज्ञासालाई स्वाभाविक मानेर मुक्तिले अस्ट्रेलियाजस्तो ठाउँमा यहाँ बिजुली कतिको जान्छ ? भनी सोधेको प्रश्न नै मलाई बडो गजब लाग्यो । ठिक प्रश्न गरे भन्ने पनि भयो । त्यो सोधाइमा उनका आफन्त मनीषले सुनाएको वास्तविकता हाम्रा लागि तिलस्मी कथाभन्दा पनि ज्यादा काल्पनिक लाग्छ, “केही वर्षअघि सिडनी सहरको व्यापारिक केन्द्रमा के कारणले हो कुन्नि केही क्षणका लागि बिजुली सप्लाई बन्द भएछ । अँध्यारो हुनु त स्वाभाविक थियो । चल्दाचल्दैका लिफ्ट बन्द भए, जाडाको समय थियो हिटर बन्द भए, जो जहाँ थिए त्यहीँ नै मान्छे पनि जड भए, सबै स्तब्ध भयो । कोही कतै चलमल गर्नै सकेनन् । एक प्रकारले हाहाकार नै मच्चियो । यहाँ त्यस्तो हुनु भनेको अचम्मको घटना हो । … भोलिपल्ट यहाँका विद्युत् र राष्ट्रिय यातायात विभागका दुई जनाले राजिनामा दिएछन् । विद्युत् मन्त्रीले राजिनामा दिएको कुरालाई नीतिको आधारमा मान्न सकिन्छ तर यातायात मन्त्रीले राजिनामा दिनु अनौठो हुन गयो । बिजुली बन्द भएको ठाउँमा उपकरण सहित विद्युत् विभागका मानिसहरू सडक जामले गर्दा समयमा पुग्न नसक्नु यातायात विभागको कमजोरी देखियो भनेर यातायात मन्त्रीले राजिनामा दिएको भन्ने जानकारी पाइयो (८०)।”
मुक्ति सर अरू नभए पनि यो घटना चाहिँ हाम्रा मन्त्री महामन्त्रीका ढोकाढोकामा लगेर टाँस्ने एउटा अभियानै चलाउनुपर्यो । बरु म पनि सहयोग गरौँला । कि कसो ?
चौध दिनको यात्रामा एउटा कृति नै तयार गर्ने लेखक उपाध्याय बडो जागरूक छन्, ऊर्जावान् छन् । सुरम्य प्रकृतिलाई कृत्रिम सजावटले अझ सुन्दर बनाएका नयनाभिराम दृश्यसँगै अस्ट्रेलियन मानिसको तारिफ गर्दै उनी भन्छन्, यहाँका मान्छे, मान्छे भएर बाँचेको देखिन्छ । त्यो इमानदारीलाई कदर गर्दै फेरि थप्छन्, नियमको पालना गर्छन्, एकअर्कालाई विश्वास गर्छन् ।
अनेक दृष्टिबाट उनको यो कृति महत्त्वपूर्ण छ । मन छुने प्रेरक तत्त्वहरू पनि उत्तिकै छन् । भाषाशैलीमा सरलता छ । स्रष्टाले दैनन्दिनको समय विवरणदेखि दूर रहेर यात्राका अविस्मरणीय र उपयोगी विषयमा ध्यान दिएका छन् । जतिसक्दो पाठकलाई लाभ हुने नवीन ज्ञानको खोजी गरेका छन् । त्यहाँको भौतिक, प्राकृतिक र ऐतिहासिक विषयसँगै ऐश्वर्यशाली देशको मनोविज्ञानलाई राम्रोसँग अध्ययन गरिएको छ । त्यो महत्त्वपूर्ण छ । हामीलाई नौलो लाग्ने विषय प्रशस्त छन् । कृति सङ्ग्रहणीय छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

