
शेखर दहित, थारु भाषामा लेख्ने सर्जक हुन् । उनको जन्म बर्दियाको राजापुरमा भएको हो । उनको बाल्यकाल राजापुरमै व्यतीत भयो । अध्ययनका क्रममा नेपालगन्जदेखि काठमाडौँसम्म पुगेका शेखर विखत केही वर्षदेखि कोहलपुरलाई कर्मथलो बनाउँदै आएका छन् । ‘थारु जोधा’ शेखर दहितको तेस्रो कृति हो । उनले ‘गयर्वा बुडु’ २०७३ र ‘गयर्वा बुडुक ठाँह्रा’ २०७७ प्रकाशित गरिसकेका छन् । ‘थारु जोधा’ को प्रथम संस्करण पहिलोपटक २०७८ माघमा प्रकाशित भएको हो । पुस्तकको आवरणमा एक जना थारु लिजेन्डेरिको तस्बिर छापिएको छ । आवरण तस्बिर आफैँमा ऐतिहासिक त छँदै छ नै । थारु जातिको जेनेटिक अनुहारको बोध गराउन समेत प्रयाप्त छ ।
तस्बिरको श्रेय लेखकले पिनरेस्टलाई दिएका छन् । पुस्तक सिट्रेड रिसर्च सेन्टर काठमाडौँले प्रकाशित गरेको हो । जम्मा दुई सय दश पेजको यो पुस्तकको मुल्य ३५० रुपैयाँ रहेको छ । पुस्तक हेर्दा पनि आकर्षक छ । कागजको मोटाइकै कारण पनि हुन सक्छ शेखरका यस अघिका दुई पुस्तकहरू भन्दा यो पुस्तक हेर्दा पनि मोटो र गहकिलो देखिएको छ । उनका अघिल्ला पुस्तकहरूभन्दा यो पुस्तक अझ निखारिएर आएको छ । प्रस्तुति सरल छ । शेखरको लेखनशैलीमा जुन मिठास छ त्यो यस पुस्तकमा पनि सुरुदेखि अन्त्यसम्म हरकोही पाठकले महसुस गर्न सक्दछ । पुस्तक पढिरहँदा कहीँकतै झर्को-फर्को लाग्दैन । थारु भाषा यति सरस र सुललित हुन्छ नै त्यो यस पुस्तकमा पनि छ । पाठक जति-जति पुस्तकभित्र डुब्दै जान्छ उसको आँखामा सजिब थारु बस्तीहरू सलबलाउन थाल्दछन् । पढ्न सुरु गरिसकेपछि अन्त्य नहुँदासम्म पुस्तक छोड्न पटक्कै मन लाग्दैन ।
सिधा भन्नुपर्दा ‘थारु जोधा’ जीवनगाथा समेटिएको पुस्तक हो । थारु जोधामा सात जना थारु व्यक्तित्वका जीवनकथाहरू समेटिएका छन् । पुस्तकमा बैजनाथ थारु (बाँके), रेसमबहादुर थारु, शिवरतन थारु, राधाकृष्ण थारु, सगुनलाल थारु, सोमप्रसाद कथरिया ( बर्दिया) र गुम्रा थारु ( दाङ) का कथा समेटिएका छन् । राधाकृष्ण थारु, बैजनाथ थारु, शिवरतन थारु र गुम्रा थारु यस लोकबाट बिदा भइसकेका पात्र हुन भने सगुनलाल द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका हुन् । रेसमबहादुर थारु र सोम प्रसाद कथरिया दुई जना भने जीवित पात्रहरूका कथा उधिनिएको छ । सबैभन्दा लामो कथा सगुनलाल चौधरीको १ पेजदेखि ४९ पेजसम्म र सबैभन्दा छोटोमा शिवरतन थारुको कथा २० पेजमा ११४ देखि १३४ सम्म समेटिएको छ ।

सागर गैह्रे
पुस्तकको शीर्ष कथा सगुनलाल थारुका बारेमा रहेको छ । सगुनलाल थारुको जन्म दाङमा भएको थियो । वि.सं.२०२६ सालतिर उनको परिवार बर्दियाको धधवार ८ काला बेल्भार भन्ने ठाउँमा बसाइ आएको हो । उनले जिन्दगीका धेरै वर्षहरू शिक्षकका रूपमा गुजारे । उनी थारु साहित्यको कोसेढुङ्गा मानिने गोचाली पत्रिकासँग जोडिएका थिए । ४९ वर्षको उमेरमा २०५८ पुष १२ गते तत्कालीन शाही नेपाली सेनाले गाउँबाट गिरफ्तार गरेर लगिएकाले अहिलेसम्म उनको अवस्था अज्ञात छ । थारु जोधामा सगुनलाल थारुको जीवनका अनेक पाटाहरूलाई लेखक दहितले खोतल्ने प्रयास गरेका छन् ।
वि.सं.२०२७ सालमा उनी बाँकेको बैजापुरमा शिक्षकका रूपमा कार्यरत थिए । उनी थारु समुदायमाथि भइरहेको अन्यायको जहिल्यै डटेर विरोध गर्थे । उनी गोचाली पत्रिकामा २०२८ सालदेखि नै आबद्ध थिए । गोचाली पत्रिका तत्कालीन समयमा विद्रोहीहरूको आवाज पोख्ने प्लेटफर्म थियो । उनले थारु समुदायका असन्तुष्टिहरूलाई गोचाली पत्रिकामार्फत सङ्गठित गर्ने प्रयास गरे । प्रशासनको नजरमा गोचाली पत्रिकाले समाजलाई भड्काउने काम गरिरहेको थियो । यही आरोपमा वि.सं.२०३० भदौ ११ मा उनी पक्राउमा परे र उनी एक वर्ष कैलाली जेलमा थुनामा परे । जेलबाट छुटेपछि उनी बर्दियाको बैदामा स्कुल खोले । पछि उनी २०३३ मा सिउनियामा प्रअ भए । उनले मगरागढी, सिउनिया, भौराटप्पा, पाताभार लगायतका अनेक स्कुलहरूमा शिक्षकका रूपमा काम गरे । शिक्षणकै क्रममा उनी फेरी वि.सं.२०४२ सालमा गुलरिया समातिए र फेरि प्रहरी थुनामा परे । उनी एक जना जुझारु र कर्मशील शिक्षक थिए । सचेत सर्जक र राजनीतिक रूपमा सचेत नागरिक थिए । उनी ‘युदवप्रसाद मिश्र’ पुरस्कारबाट सम्मानित भएका थिए । एउटा जिम्मेवार शिक्षकका रूपमा शिक्षा कार्यालयले उत्कृष्ट शिक्षकका रूपमा उनलाई सम्मान गरेको थियो ।
पञ्चायती व्यवस्थाको अन्त्यपछि देशमा बहुदल आयो । देशमा राजनीतिक परिवर्तन भए पनि जमिनदारहरूले किसानलाई हेर्ने दृष्टिकोणमा कुनै फेरबदल देखिएन । आफूलाई चित्त नबुझेका कुरामा प्रतिक्रिया जनाउन उनी कहिल्यै पछि हटेनन् । त्यसैले पनि उनी सधैँ प्रशासनको नजरमा कसिङ्गर थिए । पचासको दशक, देशमा जनयुद्ध सुरु भयो । विक्रम संवत् २०५८ सालमा उनी गिरफ्तारीमा परे । त्यसयता सगुनलाल थारुको अहिलेसम्म पनि सास लासको अत्तोपत्तो छैन ।
आम नेपाली नागरिकका रूपमा सगुनलाल थारुले हिँडेको बाटो कहिल्यै सुगम भएन । उनले थारु जातिको उज्यालो भविष्यको चाहमा आफ्नो सिङ्गै जीवन निरन्तर सङ्घर्षमा होमे । आफूले हिँडेको बाटाबाट कहिल्यै डगमगाएनन् । एउटा शिक्षकका रूपमा उनको भूमिका र थारु साहित्यिक पत्रकारिताको इतिहासमा उनको योगदान सदा स्मरणीय रहने छ ।
लेखक शेखर दहितले सगुनलाल थारुले नियमित रूपमा डायरी लेख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनको मितव्ययी, स्वभाव र सरलताको खुलेर प्रशंसा गरेका छन् । उनी डायरी लेखिरहन्थे । डायरीमा उनले जनकपुर र पटनाको यात्राको रोचक वर्णन गरेका छन् । घरका ससाना खर्चहरूको विवरण पनि टिप्ने गरेका थिए ।
सगुनलाल थारुको सम्मानमा बारबर्दिया नगरपालिकाले शोभानगर चौराहामा उनको पूणर्कदको शालिक स्थापना गरेको छ । त्यसै गरी सत्खलवादेखि बेलभारसम्मको बाटालाई सगुनमार्ग नामकरण गरिएको छ । शेखर दहितले सगुनलाल थारुको इतिहास लेखिदिएर थारु युवापुस्तालाई ठुलो गुन लगाएका छन् ।
थारु जोधामा समेटिएको अर्को कथा ‘गुम्रा थारुको जीवनी’ हो । गुम्रा थारु दाङ बेलवा बन्जारीका किसान थिए । मात्र ३५ वर्षको युवा उमेरमा उनले २०१७ साउन २ गते सहादत प्राप्त गरेका थिए । धेरै विद्वान्हरूले दाङ उपत्यकालाई थारुहरूको आदि (उद्गम) थलो हो भन्ने गरेका छन् । नेपालकै ठुलो मानिने दाङ उपत्यकाको सुकौरागढमा थारु राजा दङ्गीशरणको दरबारका भग्नावशेष यद्यपि रहेको विश्वास गरिएको छ । थारु जाति दाङमा कति पुस्ता र कहिलेदेखि बसोबास गरिरहेका थिए भन्ने कुरा अझै अनुसन्धानकै विषय रहिआएको छ । थारु जातिको आदिथलो कहाँ थियो र उनीहरू कहाँबाट आएका थिए भन्ने कुरामा अहिलेसम्म जति पनि तर्कहरू सुनिएका छन् ती अन्धाले हात्ती छामेर आफ्नो तर्क प्रस्तुत गरेजस्तै भएको छ । निकट भविष्यमा थारु जातिको उद्गम थलो र उनीहरूको पहिचानका लुकेका पाटाहरू उघारिएलान् भन्ने अपेक्षा गरौँ ।
दाङमा थारु राजाहरूले शासन गरेको र दाङ उपत्यकालाई थारु समुदायले आफ्नो परिश्रम र मिहिनेत पसिनाले खेतीयोग्य बनाएको कुरा सबैले स्विकारेको सत्य हो । दाङमा थारु समुदायको मौलिक बस्ती खेतीपाती र सांस्कृतिक परम्परा रहिआएको थियो । उनीहरूको बर्सौँको प्रयास, लगन र मिहिनेतकै कारण दाङ उपत्यका मलिलो र उब्जाउ जमिनमा रूपान्तरण भएको हो भनिन्छ ।
कालान्तरमा दाङ उपत्यकामा अन्य जाति र समुदायका मानिसहरूको आवागमन सुरु भयो । प्रतिस्पर्धामा अत्यन्त सरल, अनपढ र सोझा थारुहरू विभिन्न कारणले पछि पारिँदै गए । उनिहरूलाई कतिपय अवस्थामा दमन र शोषणको जालोमा फसाउन थालियो ।
जब थारुहरू आफ्नै भूमिबाट बेदखल हुनुपर्ने स्थिति आयो । आफूले मिहिनेतले उब्जाएको फसलमा आफैँ निरीह पात्र भएर भाग खोज्नुपर्ने स्थिति आयो । त्यसपछिका दिनमा जमिनदार र किसानका बिचमा हिंसात्मक द्वन्द्वका घटनाहरू हुन थाले । जमिनदार र किसानहरूबिच पटक-पटक झडप भए । सोही द्वन्द्वका क्रममा गुम्रा थारुले सहादत प्राप्त गरे ।
गुम्रा थारु निर्भीक र हक्की स्वभावका थिए । उनले थारु समुदायमाथि भएको थिचोमिचो र अन्यायको विरोधमा डटेर प्रतिकार गरेका थिए । उनको मृत्यु मात्रैले यो द्वन्द्व थामिएन । जमिनदारहरूको ज्यादतीबाट आजित भएपछि उनीहरू नयाँ ठाउँको खोजमा भौतारिन थाले । हजारौँ थारु परिवारहरू सम्भवतः बिसको दशकमा पेटभरि भात र स्वतन्त्रता खोज्दै दाङबाट बुह्रान र मल्ह्वारारा झरे । आफ्नै खेतीपाती र संस्कृतिमा रमाउने सपना बोकेर उनीहरूले पुर्खाहरूले आबाद गरेको थातथलो छोड्ने क्रम लामो समय जारी रह्यो । गुम्रा थारुको जीवनीमा लेखक शेखर दहितले इतिहासमा दबिएका थारुहरूका दुःखका अनेकन् पोकाहरू छताछुल्ल पारेका छन् । गुम्रा थारुको कथा पढ्दा पाठकहरूको मन कतै आक्रोशले रातो हुन्छ त कतै आँसुले आँखा भिज्छन् ।
थारु समुदायमा गुम्रा थारु एउटा बिम्ब बनेका छन् । उनको शालिक दाङको घोराही ट्राफिक चोकमा उभिएको छ । त्यही शालिकको अगाडि एउटा उन्मत्त घोडाको पनि शालिक ठडिएको छ । उड्न लागेको घोडाको शालिकले गुम्रा थारुको शालिकलाई ओझेलमा पारिदिएको छ । यस्तो लाग्छ कि त्यो घोडाको शालिक जमिनदारहरूको दम्भको प्रतिक हो । (पेज ८२) । गुम्रा थारुको शालिक समेत कुनामा सिमानामा पारिएको लेखकको बुझाइ छ ।
थारु जोधाको तेस्रो जीवन कथा रेसमबहादुर थारुको रहेको छ । रेसमबहादुर थारुको बसोबास बर्दिया लक्ष्मणामा रहेको छ । उनको नाम बर्दियाको कन्द्रा फाँटामा थारु कमैयाहरूले गरेको सशक्त कन्द्रा आन्दोलनसँग जोडिएको छ । कन्द्रा आन्दोलन कमैया मुक्ति आन्दोलनको एउटा फिलिङ्गो थियो । विशेष गरी तराई क्षेत्रमा व्याप्त अमानवीय कमैया प्रथालाई उन्मूलन गर्ने आगाको झिल्को बनेर कन्द्रा आन्दोलन सुरु भएको थियो । कन्द्रा आन्दोलनका अगुवाहरू जग्गाप्रसाद पाण्डे र काशिराम थारु दिनेश श्रेष्ठ देखिन्छन् । आन्दोलन अघि बढ्दै जाँदा मध्यान्तरपछि उनीहरू आन्दोलनको मोर्चाबाट बहिष्कृत हुन्छन् र त्यो रिक्त ठाउँ लिन आइपुग्छन् रेसमबहादुर थारु । रेसम थारु शारीरिक रूपमा अग्ला छन् । उनको आवाज पनि ठुलो र हक्की छ । उनी निडर र निर्भीक छन् । आफूलाई लागेको कुरा बोल्न उनी रत्तीभर डराउँदैनन् । आन्दोलनलाई जहिल्यै जोसलो पात्रको खोजी हुन्छ । कन्द्रा आन्दोलनले खोजेको नायकमा हुनुपर्ने गुण सायद रेसममा थियो कि ? हिम्मतिला र जुझारु रेसम थारुलाई व्यक्तिगत रूपमा मैले पनि राम्रोसँग चिनेको छु । आन्दोलनलाई गन्तव्यमा पुऱ्याउन उनी निरन्तर जुटिरहन्छन् । उनका विरुद्धमा अनेक चालबाजी र षड्यन्त्र हुन्छन् । फेरि पनि उनी आन्दोलनबाट दायाँबायाँ हुँदैनन् ।
कन्द्रा आन्दोलनको जगमा उभिएको कमैया आन्दोलनको बाछिटाले कैलालीदेखि कञ्चनपुरसम्मको सामन्ती भूमिव्यवस्थालाई मज्जाले रुझाउँछ । कमैयाहरूको आन्दोलनले बर्सौँदेखिको सामन्ती प्रणालीलाई जगैदेखि हल्लाइदिन्छ । प्रशासनले कन्द्राका कमैयालाई लखेट्न हात्ती डोजर र सुरक्षाकर्मी प्रयोग गरेर उनीहरू बसेको बस्ती उजाडिदिन्छ ।(पेज ९६) । कमैयाहरू जस्तोसुकै विपत्तिको सामना गर्न तयार हुन्छन् । आन्दोलन झन्-झन् चर्किँदै जान्छ, फैलिँदै जान्छ । अन्ततः सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गर्दछ । नेपालको इतिहासमा यो ऐतिहासिक दिन थियो । थारु समुदायमा व्याप्त कमैया प्रथाजस्तो एउटा कालो धब्बाको अन्त्य भएको दिनको रूपमा यो दिनको पछिसम्मै स्मरण भइरहनेछ । कन्द्रा आन्दोलनकै जगमा उठेको कमैयाहरूको सङ्घर्षको रापतापबाट सरकारले कमैया प्रथाको अन्त्य घोषणा गरेको कुरालाई रेसम थारुको जीवनकथामा छर्लङ्ग पारिएको छ । रेसम थारुको नाममा एउटा बस्तीको नाम नै रेसमपुर गाउँ राखिएको छ ।
थारु जोधा पुस्तकमा समेटिएका अर्का जोधा हुन् ‘शिवरतन थारु’ । उनी मोतीपुर बर्दियाका किसान थिए । उनका बाबु विश्राम थारु कपिलवस्तुबाट बर्दियाका जमिनदार हरिहर शर्माका कमैया बस्न आएका थिए । हरिहर शर्माको जमिनदारी मोतीपुरमा पनि थियो । हरिहरको मोतीपुर मौजा मै बस्दथे शिवरतन थारु । दरबारको निगाह पाएका उनी कमैयाका अगुवा थिए । थारु नेता राधाकृष्ण थारुका समकालीन थिए । पछिल्लोपटक उनी राष्ट्रिय पञ्चायत सदस्य बनेका थिए ।
उनले पटक-पटक राजा वीरेन्द्रसँग भेट गर्ने अवसर पाएका थिए । ‘तिम्रो माग के छ चौधरी…’ भनेर राजाले सोध्दा सरकार हामीलाई पानी सिँचाइ गर्ने कुलो आवश्यक छ भनेका थिए । मानखोला र भादामा पुल नहुँदा बर्दियाका जनतालाई हिँडडुल गर्न गाह्रो भएकाले दुईओटा पुल बनाइदिनुपऱ्यो भनेर माग गरेका थिए ।
यो त्यो समयको कुरा हो जति वेला बर्दियामा कहीँकतै पक्की बाटो थिएन । पानी सिँचाइको सुविधा थिएन । खोलानदीमा पूल थिएनन् । स्कुल थिएनन् । त्यति वेलाको बर्दिया र आजको बर्दियाको बिचमा जमिनआकाशको अन्तर छ । बर्दियाको पुरानो स्वरूप नै पूरै बदलिएको छ । लेखक दहित, शिवरतन थारुले पहिलोपटक राज्यसँग जनताका लागि पुल र सिँचाइको माग राखेको कुरा महत्त्वपूर्ण र ऐतिहासिक भएको ठहर गर्दछन् ।
बाँके जिल्लाको जि गाउँ बजारमा एउटा प्रतीक्षालय छ, ‘बैजनाथ प्रतीक्षालय’ । बैजनाथ थारुको होला ? धेरैलाई खुलदुली लाग्नु स्वाभाविकै हो । अहिले त झन् बाँके जिल्लाको एउटा गाउँपालिकाको नाम नै बैजनाथ गाउँपालिका राखिएको छ । अझ रोचक कुरा यो छ कि २०७८ सालको जनगणनाअनुसार नेपालकै सबैभन्दा बढी जनसङ्ख्या भएको गाउँपालिका पनि यही बैजनाथ गाउँपालिका भएको छ । आखिर बैजनाथ को हो त ?
बैजनाथ थारु पेरारीका किसान थिए । उनले तत्कालीन जमिनदारहरूका विरुद्धमा ठुलो सङ्घर्ष गरेका थिए । सङ्घर्षमा उनको हार र जमिनदारहरूको जित भएको थियो । बैजनाथ थारुले जमिनदारहरूका बिरुद्ध युद्ध छेडेका थिए । जमिनदारलाई कुनै पनि फसलको हिस्सा नदिने अभियान चलाएका थिए । जमिनदारहरूले बैजनाथलाई हत्या गर्न सबैसँग रकम जुटाएर भारतबाट भाडामा सिपाही ल्याएर पेरारी गाउँलाई चारैतिरबाट घेरा हालेका थिए । आफूलाई पकड्न आएका सैनिकहरूलाई देखेपछि बैजनाथ घरभित्रै धानको भकारीमा लुकेका थिए । खानतलासीको क्रममा लुकेर बसेका बैजनाथलाई सैनिकले पक्डेर बन्दुकको कुन्दाले हान्दै, लाठी र बुटले भकुर्दै मरणासन्न अवस्थामा छोडेका थिए । सैनिकहरू गइसकेपछि हेर्दा बैजनाथको ढुकढुकी चल्दै रहेछ । तत्काल उनलाई नेपालगन्ज पुऱ्याइयो । उपचारको क्रममा तीन दिनपछि उनको मृत्यु भयो । यो विक्रम संवत् २००७ साल चैत्र १४ गतेको घटना थियो । थारु जोधा पुस्तकमा बैजनाथ थारुको पूरै जीवनी समेटिएको छ । नेपाली काङ्ग्रेस समर्थक बैजनाथ थारुलाई किसान सहिदका रूपमा स्मरण गर्दछन् । उनको अन्त्येष्टिमा स्वयं वीपी कोइराला उपस्थित थिए, लेखकले लेखेका छन् ।
आजभन्दा सत्तरी वर्षअघिको घटनालाई लेखकले जीवन्त तरिकाले समेटेका छन् । बैजनाथको कथा पढिरहँदा कुनै योद्धाको फिल्म हेरिरहेजस्तो अनुभूति हुन्छ ।
तपाईँहरू धेरैले गुलरिया आवतजावत गरिरहँदा बजारको चौकमा एउटा ठिङ्ग उभिएको शालिक देख्नुभएको होला । तपाईँले याद गर्नुभएको छ, त्यो शालिक राधाकृष्ण थारुको हो । राधाकृष्ण थारुको शालिक देखे पनि उनी को हुन् र उनको सामाजिक व्यक्तित्व के हो ? समाजका लागि उनको योगदान के हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । थारु जोधामा राधाकृष्ण थारुको जीवनका लुकेका अनेक पाटाहरू उघारिएका छन् ।
राधाकृष्ण थारुको जन्म जमिनदार र सम्पन्न परिवारमा भएको थियो । उनलाई नपुग्दो केही थिएन । बर्दियामा उनीहरूजस्तै पहाडी राणा र मधेसी जमिनदारहरू थिए । थारु किसानहरूलाई अन्य जमिनदारहरूले गरेको दमन शोषण देखेर उनी बिरक्तिएका थिए । उनी किसानहरूको पक्षमा उभिएको देखिन्छ । उनी नेपाली काङ्ग्रेसका कार्यकर्ता थिए । २०१५ सालको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए ।
पञ्चायत कालमा उनी भूमिगत भए । जेलनेल भोगे । देशमा प्रजातन्त्र र थारु किसानहरूको जीवनमा उज्यालो देख्ने उत्कट चाहनाका बिचमै उनले २०४६ सालमा यो संसारबाट बिदा भए । उनी यो संसारमा भौतिक रूपमा छैनन् र पनि थारु किसान उनलाई थारु जननेता मान्दछन् । उनका कथा पढिरहँदा उनीप्रति असीम श्रद्धाभाव जागेर आउँछ ।
थारु जोधामा समेटिएका अन्तिम पात्र सोमप्रसाद कथरिया हुन । सोमप्रसाद थारु अझै जीवित छन् । उनको बसोबास बर्दिया भौराटप्पामा रहेको छ । उनी वि.सं.२०३९ सालदेखि कुलापानीको अगुवा छानिएका हुन् । भौराटप्पा बर्दियाको विकट टापु हो जसको चारैतिर कर्णालीको भँगालाले घेरिएको छ । भौराटप्पालाई थारु किसानहरूले अथक मिहिनेत र परिश्रमले उब्जाउ बनाए । कालान्तरमा भौराटप्पामा अनेक ठाउँबाट थारु समुदायका मानिसहरू नदी तरेरै भौराटप्पा आइपुगे । हेर्दाहेर्दै त्यहाँ ठुलो मानव बसोबास भयो । उनीहरूले बस्तीमा बाटो बनाए, कुलो खनाए र एउटा सुन्दर संसार निर्माण गरे । “फेर्को एकठो लौव थारु गाउँ, थारु समाज भौरा टप्पम बैठल रह !” (पेज १९८)
भौराटप्पाको सुन्दरता र मलिलो उब्जाउ जमिन देखेर अन्य समुदायका मानिसहरू पनि भित्रिन थाले । उनीहरूले विभिन्न बहानामा सोझा थारुहरूलाई दबाउन थाले । दाङ जिल्लामा जस्तै किसान र जमिनदारबिचका रस्साकस्सीहरू भौराटप्पामा पनि घटित हुन थाले ।
थारु जाति अत्यन्त मिहिनेती कर्मशील र काममा जुटिरहने जाति हो । उनीहरू सकेसम्म अरू कसैको काममा अनावश्यक हस्तक्षेप गर्दैनन् । कसैले ज्यादती गर्छ भने सामूहिक रूपमा प्रतिकार गर्न पनि पछि पर्दैनन् । थारु जातिको कर्म, मनैदेखि कृषि हो । उनीहरू तनमन दिएर जमिनलाई मायाँ गर्छन् । श्रम र पसिना सिँच्दछन् र स्वादिलो अन्न उब्जाउँछन् । उनीहरू कृषि पेसामा मनैदेखि समर्पित हुन्छन् । थारु समाज जहिल्यै सामाजिक नीति, नियम र मूल्य मान्यतामा चल्ने गर्दछ । भौराटप्पालाई चलायमान बनाउन अनेक सामाजिक नियमहरूमध्येको सबैभन्दा महत्त्वपूर्ण र प्राथमिकतामा रहेको पद कुलोपानीको पद हो ।
सोमप्रसाद कथरिया, त्यही कुलोपानीका ‘चौधरी’ थिए । सोमप्रसाद थारुमा भौँराटप्पाको सिँचाइको लागि देखिने सोच, चिन्तन हेर्दा उनी आफ्नो कर्ममा कुन हदसम्म समर्पित छन् भनेर सहजै अनुमान गर्न सकिन्छ । उनको मनमा जति वेला पनि नदीको पानीलाई कसरी सबैको खेतमा पुऱ्याउने भन्ने चिन्ता मात्रै देखिन्छ । उनीहरूले कर्णाली नदीको पानीलाई खेतका प्रत्येक गरामा बर्सौँदेखि पुऱ्याउँदै आएका छन् । यही काम गर्न राज्यको अरबौँ खर्च चाहिन्छ र पनि राम्रो नतिजा हात लाग्दैन । एउटा थारु अगुवा जसले सारा गाउँलेहरूलाई समेटेर फरुवा र गलको भरमा त्यत्रो कर्णालीको बहाउलाई अर्को बाटामा मोडेर किसानका खेतका गरा गरामा पुऱ्याउने सामर्थ राखेको उनको कथा पढ्दा थाहा हुन्छ । वास्तवमै सोमप्रसाद थारुको काम अनुकरणीय र अदम्य छ । यो साहस जोकोहीले गर्न सक्दैनन् । उनले सारा गाउँलेलाई बर्सौँदेखि नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वलाई चुनौती दिने आँट कसैसँग छैन ।
भौराटप्पामा माघ-फागुनदेखि बैसाख जेठसम्म बस्तीका किसानहरू ‘डेसाहुर’ जाने चलन छ । ‘डेसाहुर’ जाँदा उनीहरू जङ्गल, खोलाकै किनारमा बस्दछन्, त्यहीँ खाना पकाएर खान्छन् र त्यहीँ झोपडी बनाएर रात गुजार्छन् । ‘पनगुर्वा’ ले आफूहरूको काम सफल होस् भनेर पानीको देउतालाई पूजा गर्छन् । पशुहरूको बलि चढाउँछन् र नदीको पूजा गर्दछन् । डेसाहुरमा कहाँबाट कुलो खन्ने, कहाँ बाँध बाँध्ने जस्ता काम पानीका गुर्वाको सल्लाहमा हुने गर्दछ । कर्णालीले कहिले बालुवाले खेत पुरिदिन्थ्यो । कहिले बाढीले बाली सखाप पारिदिन्थ्यो । त्यसैले पनि उनीहरू ‘डेसाहुर’ जाँदा साइत हेरेर जाने गर्दछन् ।
सोमप्रसाद थारु अझै पनि कुलोपानीको जिम्मेवारीलाई आफूले सकेसम्म जीवन्त र चुस्त तरिकाले कर्तव्य निभाइरहेका छन् । भौराटप्पाबासीको मनःकामना सधैँ पुरा भैइरहोस् हामी पनि कामना गरौँ ।
लेखकको यो कृति कमैयाहरूको न्यायपूर्ण आन्दोलन र निरन्तर सङ्घर्षको दस्ताबेज हो यो पुस्तक । राणाशासन, पञ्चायती शासन, बहुदल, सशस्त्र द्वन्द्व हुँदै गणतन्त्रले ल्याएको यो बिहानीसम्मका थारुजीवनका उकालीओरालीहरू, दमन र उत्पीडनहरू सिङ्गो पुस्तकभरि खाँदाखाँद भेट्न सकिन्छ ।
पुस्तकले थारुहरूको ऐतिहासिक विषयवस्तुलाई समेटेको छ । नेपालको पूर्वी तराईदेखि पश्चिम तराईको अन्तिम सीमासम्म अज्ञात समयदेखि थारु जातिको बसोबास रहिआएको छ । उनीहरूले डरलाग्दो औलो रोगदेखि जङ्गली हिंस्रक जनावर र प्राकृतिक विपत्तिहरूसँग जुझ्दै बर्सौँदेखि तराईको जमिनलाई उर्बर बनाएको र आबाद गरेको देखिन्छ । समय अन्तरालमा तराई क्षेत्रमा अन्य समुदायको पनि प्रवेश बढ्दै जान्छ । थारु जातिको सोझोपनको फाइदा उठाउँदै कतै डर, धम्की देखाएर कतै छलछाम, जालसाझी गरेर त कतै कानुनी प्रावधानहरू तेर्स्याएर उनीहरूले थारुहरूले कमाइआएको भूमिदेखि बेदखल पार्दै जान्छन् । यो क्रम अद्यापि जारी छ । आफूहरूमाथि भइरहेका तमाम खाले उत्पीडन र दमन विरुद्धमा थारुहरूले सङ्गठित आवाज उठाउने काम गरेका छन् । प्रतिकारमा पनि उत्रिएका छन् । यी सबैखाले घटना र समयको साक्षीका रूपमा ‘थारु जोधा’ आएको छ ।
सगुनलाल थारु, बैजनाथ थारु, गुम्रा थारु यस क्रममा मारिएका छन् । कतिले जेलनेल, अप्रवासी जीवन बेहोरेका छन् । त्यो क्रम अझै रोकिएको छैन । सशस्त्र जनयुद्धकालमा सयौँ थारु युवाहरूले सहादत प्राप्त गरेका छन् । कैयौँ बेपत्ता पारिएका छन् । कैयौँ अङ्गभङ्ग भएका छन् । थारुहरूको सङ्गठित आक्रोश टीकापुर घटनासम्म आइपुगेको छ । अझै पनि थारु समुदायले आफूहरूप्रति राज्यले उपेक्षापूर्ण व्यवहार गरिरहेको कुरालाई वेला-वेलामा उठाइरहेका छन् ।
शेखर दहितको ‘थारु जोधा’ समग्रमा भन्नुपर्दा अहिलेसम्म नलेखिएको थारु सङ्घर्षको इतिहासको उठान पनि हो । उनले पुस्तकलेखनका क्रममा धेरै मानिससँग कुरा गरेका छन् र ऐतिहासिक दस्ताबेजहरूको अध्ययन पनि गरेका छन् । हरेक कथाहरू यति जीवन्त छन् यस्तो लाग्छ कि ती घटनाहरू घटित हुँदा लेखक घटनास्थलमै थिए । उनले थारु समाजबाट लुप्त भइसकेका शब्दहरू प्रशस्त प्रयोग गरेका छन् । स्थानीय बोलीचालीको लबजमा ठाउँहरूको नाम लेखिएकाले अलग्गै थारु समाजको सुगन्ध भेटिन्छ ।
पुस्तकमा केही कमीकमजोरी पनि छन् । भूमिसुधार आयोगका अध्यक्ष केशव बडाल हुनुपर्नेमा केशव बराल भएको छ । (पेज १०३)
बर्दिया राष्ट्रिय निकुञ्ज हुनुपर्ने बाँके राष्ट्रिय निकुञ्ज भएको छ । (पेज २९) । पुस्तकमा धेरै कुरा रिपिट भएका छन् । पढ्ने क्रममा दोहोरिएका ती प्रसङ्गहरू भने खासै बिझाउँदैनन् । झर्कोफर्को लाग्दैन । ‘थारु जोधा’ शेखर एक्लै (वान म्यान आर्मी ) एकल प्रयासबाट निक्लिएको र भाषा या अन्य सामग्रीको कमी भनौँ कि विज्ञ सम्पादकको अभावमा यी सानातिना कमजोरी देखिनु भनेको चामलमा धानका बियाँ भेटिएजत्तिकै हो ।
यो कृतिको अर्को पाटो, लैङ्गिक समावेशीको पक्षमा कमजोर देखिएको छ । यस पुस्तकमा पुरुषहरूको मात्र जीवनगाथा समेटिएको छ । विभिन्न आन्दोलनमा महिलाहरूले पनि पुरुषजत्तिकै भूमिका निर्वाह गरे पनि उनीहरूको प्रसङ्ग भने एकदमै कम देखिन्छ । जस्तै कन्द्रा आन्दोलनको योद्धा कौशिला थारु, भौराटप्पामा बेल्वाको ‘खलिहान आन्दोलन’ मा कोइलीदेवी जसले सहादत प्राप्त गरिन् उनीहरूको प्रसङ्ग निकै नै कम वर्णन गरिएको छ । त्यसै गरी ‘बेल्वा-बन्जारी किसान आन्दोलन’ मा गाउँका सम्पूर्ण महिलाको योगदान लेखकले प्रसङ्ग उठाए पनि कम छ । सायद अब आउने कृतिमा यी कुरामा पनि ध्यान दिनेछन् ।
शेखर, थारु भाषी लेखक हुन् । यति महत्त्वपूर्ण किताब थारु भाषामा लेखिएर थारु समुदायमा मात्रै पुग्छ । उनले यो पुस्तकलाई समानान्तर रूपमा नेपाली, अङ्ग्रेजी र थारु भाषामा निकाल्नुपर्थ्यो । अनि मात्र उनको लेखनीको स्वाद आम पाठकहरूले अनुभूत गर्न पाउनेछन् । उनी आफैँ पनि अङ्ग्रेजी साहित्यका विद्यार्थी हुन् । उनी आफ्नो रोजगारदातासँग अङ्ग्रेजीमा कुरा गर्छन् र अङ्ग्रेजीमै रिपोर्टिङ गर्दछन् । उनका कैयौँ साथीभाइहरू पहाडी समुदायका छन् र उनी नेपालीमै पनि विभिन्न लेखहरू लेख्ने गर्दछन्, भन्न खोजेको के भने उनी तीनओटै भाषामा पोख्त छन् । त्यसैले उनले आफूले लेखिसकेका कृतिहरूलाई अङ्ग्रेजी र नेपाली भाषामा पनि अनुवाद गर्न सके भने उनको परिचय थारु समुदायमा मात्रै सीमित रहनेछैन ।
थारु भाषाका कथा नयनराज पाण्डे, महेशविक्रम शाह, रामलाल जोशी अथवा अन्य पहाडे स्रष्टाका आँखाबाट वा उनीहरूका अनुभूतिबाट पढ्न अभिशप्त हामी पाठकहरू अब थारु समुदायबाट उनीहरूकै आँखाबाट उनीहरूकै अनुभूतिमा, उनीहरूका पुर्खाले भोगेका दुःख र सङ्घर्षका कथा पढ्न पाऊँ । त्यस दिशामा ‘थारु जोधा’ थारु साहित्यमा कोसेढुङ्गाका रूपमा स्थापित हुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । यो पुस्तक नेपाली भाषामा समेत अनुवाद भइदिए एक जना थारु स्रष्टाले लेखेको थारु गाउँका अर्गानिक कथावस्तु आम नेपाली पाठकले समेत अनुभूत गर्न पाउने थिए भन्ने मेरो मनसुबा हो ।
हामी समतामूलक न्यायपूर्ण समाजको परिकल्पना गर्दै रहँदा सबै तह र तप्काबाट उनीहरूका समाजका सङ्घर्षका कथाहरू आउन भन्ने चाहना राख्दछौँ । यस्तैमा थारु समुदायका शेखरले यो गुनिलो पुस्तक ल्याएका छन् । पुस्तक वास्तवमै सराहनीय र पठनीय छ । ‘थारु जोधा’ ऐतिहासिक दस्ताबेज हो । यसले बाँके, बर्दियादेखि दाङका थारुहरूको ऐतिहासिक सङ्घर्षका कथाहरूलाई समेटेको छ । पुस्तक पठनीय मात्रै होइन सङ्ग्रहणीय पनि छ । शेखर दहित, थुप्रै सम्भावनाहरू बोकेर साहित्य फाँटमा प्रबेश गरेका हुन् । हुने बिरुवाको चिल्लो पात भनेझैँ उनले सुरुवाती दिनहरूमै आफ्नो औचित्य साबित गरेका छन् । युवा लेखक शेखर दहितलाई यो अनुपम कृतिका लागि धेरै-धेरै बधाइ र शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

