साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

जोगी जिन्दगीको खोजी

धादिङमा जन्मिएको नवराज कसरी निर्वाणानन्द बन्न पुगेका हुन् भन्ने तथ्यका कथाहरू क्रमशः अघि बढ्छन् । बाल्यकालदेखि नै बाबुको आँखो बनेको माहिलो छोरा किन दाजुभाइभन्दा फरक व्यवहारको सिकार बनेको होला भन्ने तथ्य जान्न पाठकलाई कथाले तानिरहन्छ ।

Chovar Blues Mobile Size

शैलेन्द्र अधिकारी पेसाले शिक्षक हुन् । मैले चिनेको त्यति मात्रै हो । केही समयअघि आफ्नै ल्यापटपमा कसैको अनुरोध हार्न नसकेर उपन्यासको विषयवस्तु नियाल्दै रहेछन् । अलि बढी नै सतर्क भएर घोत्लिइरहेको देखेपछि मैले ठट्टाको भावमा भनेँ, के हो कस्तो गम्भीर कुरामा व्यस्त हुनुहुन्छ कि क्या हो ? एक फुक्का स्वच्छन्द हाँसो हाँसेर जबाफ दिए, उनले । त्यो कसले लेखेको थियो मैले सोधिनँ तर कुनै युवतीको वर्णनमा अशिष्ट र छरपस्ट शब्द थिए अलिक अपाच्यजस्ता लाग्ने । मैले असहज मान्दै शैलेन्द्रजीलाई भनेँ, यस्तो उपन्यास त के लेख्नु र छाप्नु हौ बेकारमा !

यही मेसोमा उनले आफूले पनि उपन्यास लेखेको र प्रकाशित भइसकेको बताई नसक्दै झोलाबाट झिकेर एउटा अर्को पुस्तक रससिद्धान्तसँगै दुइटा पुस्तक हातमा दिए र भने, फुर्सदमा पढ्नुहोला । उनले दिए र मैले लिएँ कुनै सङ्कोचविना । म प्रायः मन परेका पुस्तक छानेर र किनेर मात्रै पढ्ने मान्छे हुँ । कामको व्यस्तता र विविध बाध्यताका बिच निर्वेद उपन्यास घरमा ल्याएर थन्क्याएँ । पछि जब पढ्ने फुर्सद मिल्यो तब मैले यस्तो गतिलो मायावी शैलीको उपन्यास किन पहिल्यै पढिनँ होला भनेर फेसबुकमा पोस्ट्याएँ पनि । प्रस्तुत उपन्यास निर्वेदको प्रस्तुतिले मलाई निरन्तर तानिरह्यो पसलमा चक्लेट देखेको बालकले झैँ मलाई छोडेन र मैले नसकिउन्जेल यसलाई छोडिनँ । त्यसकै परिणामस्वरूप यो प्रतिक्रियात्मक लेखन जन्मेको हो ।

दुई वर्षअघि छापिएर पुनः दोस्रो संस्करण आइसक्दा पनि एक असल पाठक वा साहित्य अनुरागी भनेर चिनाउन चाहने मैले प्रस्तुत उपन्यास ‘निर्वेद’ पढेको रहेनछु । उपन्यासमा एउटा विद्यार्थी जसलाई सामान्य जीवनयापन गरिरहेको जीवनभन्दा सबै भौतिक सुखसुविधा त्यागेर संन्यास धारण गरेको व्यक्ति कस्तो हुन्छ होला भन्ने जिज्ञासाले तान्छ । यही कुराले आदित्य नामको पात्र जोगीका सङ्गतमा पशुपति आसपासका क्षेत्रहरूमा तिनै जोगीहरूका पछि लागेर हिँड्छ । कहिलेकाहीँ जोगीका भाषिक प्रस्तुतिले समस्या भोग्छ तर जसोतसो काम चलाउँछ । उसलाई मुर्दाका पछि लागेर हिँड्नु कुनै लगावको कुरा होइन तर त्यसै क्षेत्रमा बसोवास गर्ने अधिकांश जोगीहरूका विविध क्रियाकलापले तान्दै लान्छ । अन्ततः एक जोगीको सङ्गतबाट दिनरातभरिको जीवनचर्या बुझ्नुबाहेक अन्य कुनै स्वार्थ नभएको जनाएर स्वामी नित्यानन्दसँग राम मन्दिरमा रहन्छ । रातभर त्यहाँका उडुस र उपियाँले त्यही दिन सबै जिज्ञासा त्यागेर भाग्न झगडा गरिरहे तापनि आदित्य हार्दैन । बरु नित्यानन्दकै सङ्गतबाट निर्वाणानन्दसम्म पुग्ने माध्यम बनाएर अन्ततः ऊ को हो र कसरी यस अवस्थामा आइपुग्यो भन्ने कुरा पत्ता लगाउन पछि लाग्दा सिङ्गो उपन्यासको कथा बुनिन्छ ।

चन्द्र खड्का

आश्रममा रहन थालेको आदित्यलाई बोधानन्द स्वामी, प्रा.डा. यदुनन्दन मिश्र आदि थुप्रै व्यक्तित्वहरूसँग भेट्ने अवसर मिलेको थियो । यसैबिच संयोगले निर्वाणानन्दसँगै हरिद्वारसम्म पुग्छ । रहस्यको अनन्त सञ्जालमा फसेको आदित्य नेपाल फर्कने बेला एक्लै फर्कनुको विकल्प नरहेको भनेर सबै बन्दोबस्त गरिदिएको बताएका निर्वाणानन्द आश्रमबाटै हराएपछि कथाले नयाँ मोड लिन्छ । आश्रममा तिनको ल्यापटप भएको र त्यसमा निर्वेद नामको फाइल खोलेर पढ्न गरेको अनुरोधसँग अब आदित्य कथावाचकजस्तो मात्रै बन्न पुग्छ ।

sagarmani mobile size

धादिङमा जन्मिएको नवराज कसरी निर्वाणानन्द बन्न पुगेका हुन् भन्ने तथ्यका कथाहरू क्रमशः अघि बढ्छन् । बाल्यकालदेखि नै बाबुको आँखो बनेको माहिलो छोरा किन दाजुभाइभन्दा फरक व्यवहारको सिकार बनेको होला भन्ने तथ्य जान्न पाठकलाई कथाले तानिरहन्छ । बाल्यकाल र युवावस्थामा उसले गरेका रमाइला बालसुलभ तथा युवावस्थामा गरेका प्रेमिल सन्दर्भहरू रोचक छन् । धादिङदेखि काठमाडौँको आरआर कलेजसम्मको यात्रा र विभिन्न युवतीहरूसँग उसले गरेका प्रेमसम्बन्ध रोचक छन् । बागबजारको कुनै पुस्तक पसलको जागिरे केटो प्रेममा के-केसम्म हर्कत गर्छ । तर स्मृति कार्कीसँगको आत्मिकझैँ लाग्ने प्रेममा समेत शारीरिक सम्बन्धका कारण बाध्यात्मक रूपमा गरिएको निर्णय गर्भपतनको कारण नै अन्ततः उसको पतन भएर उपन्यास पनि सकिन्छ ।

नवराज, मूल परेका कारण बाबुको घृणायुक्त व्यवहार सहेर बाँचेको र बँचेको जीवन स्मृतिको स्तृतिमा बितेर समाधिस्थ भएको छ । परम्परागत रूढि सोचका कारण बाबुसँग मूल परेको सन्तान भनेर सधैँ अपहेलित हुनुपरेको र स्मृतिसँग बढी घनिष्टताका कारण खुला सोचले शारीरिक सम्बन्ध राखेर गरिएको गर्भपतनको निर्णयले कसरी ग्लानिबोध गर्दै जीवन बिताउँछ भन्ने कुराले आफूलाई असफल प्रेमीबाट संन्यास ग्रहण गर्दै निर्वाणानन्द भई हरिद्वारमा पुगेर जीवनको अन्त्य गरेको छ ।

जीवनको सार के हो ? यसै तथ्यलाई उपन्यासकार शैलेन्द्रले ज्यादा महत्त्व दिएको देखिन्छ । उपन्यासको पछिल्लो पानामा राखिएको सन्दर्भ हेर्दा पनि लगभग यही नै यसको सार हो कि भन्ने सङ्केत गरेको पाठकले सहजै अनुमान लगाउन सक्छन्- “मानिसको गन्तव्य सुख हो । सुख र सन्तुष्टि भन्ने कुरा पनि अमूर्त छन् । यसलाई व्याख्या गर्ने कार्य झन् कष्टकर छ । धेरैले प्रयत्न गरिसक्दा पनि सुख परिभाषित हुन सकेको छैन । कसैले सुखलाई स्वर्ग, कसैले ब्रह्मत्व, कसैले बुद्धत्व र कसैले सम्पत्ति पनि भन्दछन् । जसलाई यी कुनै कुराबाट पनि सुखानुभूति हुँदैन त्यसले नै आफ्ना लागि आफैँ मार्गको अन्वेषण गर्न थाल्दछ । भावको अभावको, उपस्थितिमा अनुपस्थितिको, ज्ञानमा अज्ञानको बोध वैराग्य अर्थात् निर्वेद हो । निर्वेद त्यो बिन्दु हो, जसबाट बटुवा आफ्नो गन्तव्यको आभा दर्शन गर्दछ ।”

मोक्ष र शवासन शीर्षकका दुइटा टुक्रे कविताबाट सुरु भएको उपन्यासको भाषा पक्कै काव्यात्मक होला भन्ने अनुमान पनि पाठकले सहजै लगाउन सक्छन् । सिङ्गो २५६ पृष्ठको उपन्यासभरि लालित्यपूर्ण प्रशस्त वाक्यगठन भेटिन्छन् । यसका केही उदाहरण –

  • हातमा थालीभरि फूलपाती र भनभरि इच्छा आकाङ्क्षा बोकेर भगवान्‌को दर्शन गर्ने हतारोमा अर्को दर्शनार्थीको खुट्टा कुल्चिए पनि थाहा नपाए झैँ हतार गरिरहेका दर्शनार्थी…।
  • पशुपतिनाथ मन्दिरले आफ्नै पाउ थापेर राखिदिएको जस्तो लाग्ने घाटले मलाई जबरजस्ती तानिरहेछ, बच्चालाई बजारको नयाँ लुगा वा खेलौनाले तानेजस्तै ।
  • अपरिचित छन् तर समान छ । आँसु उस्तै छ तर आँखा फरक छन् । आँसु झर्ने कारण भने समान छन् ।
  • एउटा मृत्युमा कैयौँ आस्था र विश्वासको मृत्यु हुन्छ । एउटा चेतनाको मृत्युमा कैयौँ आशा र भरोसाको मृत्यु हुन्छ ।
  • काँक्राको चिरालाई वेला-वेलामा पानी छ्यापेर होसमा ल्याउन खोजिरहेकी सानी केटी…।
  • खै कसको ईर्ष्याको कारणले हो, आकाशमा ताराहरू जल्न थालेका थिए ।
  • निर्वाणानन्द भन्थे, प्रकाश बजार गएको दिन सबै सामानको भाउ बढ्छ ।
  • मस्तिष्कमा प्रश्नहरू गड्यौलाजस्तै कल्याङमल्याङ गरिरहे ।
  • खल्तीमा पचास रुपैयाँ छ र पेटमा मुसाको म्याराथुन सुरु हुन आँटिरहेछ ।
  • हरेक क्रियाकलापको प्रथम गुरु राजे नै थियो । भलै, गुरु पूर्णिमाको दिन उसलाई कसैले सम्झिँदैनथे ।
  • आमाले कहिल्यै बाँचिनन् आफ्ना लागि, जति बाँचिन् परिवारका लागि बाँचिन् ।
  • काँक्रालाई नापेर बिचमै चिरेजस्तै सडकले धादिङ बेँसीलाई बिचमै चिरिदिएको छ । भनौँ, भर्खरकी नवविवाहित युवतीको टाउकोलाई सिउँदोको सिन्दूरले छुट्याएजस्तो ।
  • …जिन्दगी पनि किस्तामा बाँचिरहेका केही थान मानिसहरू देखिन्छन् ।
  • मजेत्रो फाटेको हो कि मन थाहा नपाएका, लोग्नेले हो कि भाग्यले विश्वासघात गरेको पत्तो नपाएका, आफूले आँखामा राखेको मान्छेको चित्र मेट्नुपर्ने हो कि आफ्नै आँखाको आँसु पुछ्नुपर्ने हो, द्विविधामा रहेका महिलाहरू ।
  • …शीतले नुहाउन लागेका दुबोहरू, पारिजातको फूलले गाउँ नै सुगन्धित र पुष्पमय हुने समय !
  • बिर्सनु भनेको बाँच्नु रहेछ । बिर्सनु भनेको खुसी हुनु रहेछ ।

निर्वेदमा मनोविज्ञानलाई पनि राम्रोसँग पस्किइएको छ पात्रहरूका सन्दर्भगत चित्रणमा । विभिन्न सन्दर्भमा आएका पात्रहरूको संवाद वा प्रस्तुतिले मनोविज्ञानको पक्ष सबल रूपमा भेट्न सकिन्छ । ती युवतीहरू घण्टको रालो समातेर फोटो खिच्न थाले । एउटीले त्यसलाई निकै प्रेमपूर्वक सुमसुम्याई र रालोको टुप्पामा भएको मुन्द्रालाई देखाएर भनी- “आबुई ! हेर्न यहाँ पनि मुन्द्रो हुँदो रहेछ ।” (पृ.२१) । शिवलिङ्ग भनेको चैँ के हो मामु ? बच्चाको जिज्ञासा कहाँ सकिन्थ्यो र !…त्यस्तो अङ्ग कहाँ हुन्छ मामु ? मेरो खै त ? बालिकाको मुखबाट बिलकुल अबोध प्रश्न भुईँमा खस्यो । (पृ.२७) । पँधेरामा कुनै केटी नुहाइरहेकी छे भने हामीलाई तिर्खा लाग्न थालेको थियो (पृ.११०) । साँच्चै मान्छेको यौनाङ्ग खुट्टाको कापमा होइन, मस्तिष्कभित्र रहेको हुन्छ (पृ.१३०) ।

यसरी उपन्यासले विविध सन्दर्भहरूलाई एकसाथ प्रस्तुत गरेको पाइन्छ । अध्यात्म केन्द्रित हुँदाहुँदै पनि उपन्यास भौतिकताको वकालतमा प्रशस्त पोखिएको छ । त्यो चाहे विश्वका वामपन्थीले आदर्श मान्ने गरेका कार्ल मार्क्सका मलामी १३ जना मात्रै भएको सन्दर्भ होस् वा आश्रममा युवतीले सेल्फी लिँदा स्त्र्युचित देह गन्धले प्रभावित बनाएको स्वामी स्वप्नदोष भएर अचानक पश्चात्तापको गर्तमा डुबेको कुराले सामाजिक बन्धन, भौतिक सुखसुविधा सबै तोडेर संन्यास धारण गरेको मान्छे पनि भौतिकताको पोखरीमा अचानक डुब्न सक्ने बताइएको छ (पृ२४४) ।

अन्ततः आदित्य नामको पात्र जोगीको जीवनचर्या बुझेर जोगी हुने प्रबल सोच बोकेर काठमाडौँको पाशुपत क्षेत्र, भारतको हरिद्वार र सायद लेखकको आफ्नो थातथलो धादिङका विभिन्न क्षेत्रलाई परिवेश बनाएर जीवन्तता दिने कोसिस गरिएको छ । जोगी हुन त्यति सजिलो छैन आजको पुँजीवादी भौतिकताको सर्वव्यापकता भएको समाजमा अनि त्यही समाजको एउटा पात्र जोगी बन्ने धुनमा जोगी हुन नसके तापनि एउटा मान्छे जोगी हुनुका पछाडि के-के कारण हुन सक्छन् भन्ने खोजमा लागेको छ । त्यही खोजको उपज नवराज अर्थात् स्वामी निर्वाणानन्दको समाधिपछि आदित्यले उनको ल्यापटपमा पाएको निर्वेद नामको फाइल नै उपन्यासको मूल विषयवस्तु बनाएको सघन प्रस्तुति हो ।

शैलेन्द्र अधिकारीको पहिलो आख्यान कृति निर्वेद समग्रमा पठनीय छ । नवराज अर्थात् नमेको बाल्यकाल होस् (विद्यालयमा राजेसँग मिलेर गरेका हर्कत) वा कीर्तिपुर बसेर कलेज पढ्दै जागिरे जीवनमा गरेका युवाकालीन हर्कत अनि स्मृतिसँगको भौतिक र आत्मिक प्रेमबाट बिछोडिएको एक युवक स्वामी निर्वाणानन्द बनेर जीवन टुङ्गिइरहँदा वास्तविक रूपमा आध्यात्मिक मनोवृत्ति सहज छैन भन्ने सन्देश दिन सफल छ । निर्वाणको स्थितिमा पुग्न निर्वाणानन्द बनेको एउटा जोगीमा आखिर ‘नमे’ पन अभ्यन्तरमा जीवितै रहेकाले जोगी जिन्दगीको खोजीको अन्त्य नै ‘निर्वेद’ उपन्यास हो भन्न सकिन्छ ।

लेखक परिचय
चख
चन्द्र खड्का
प्रतिक्रिया
Loading...