साहित्यिक सङ्गठक तथा स्रष्टा गीता खत्रीको नाम केही समय अघिदेखि नै सुन्दै आएकी मैले उनका कृतिहरू भने भर्खरै मात्र पढ्न पाएँ । यी सिद्धहस्त कथाकारको ‘अन्तहीन इच्छा’ कथासङ्ग्रह पढेपछि कौतुहलता र जिज्ञासाले रननन्न भएको मस्तिष्कमा अहिले ‘उडेको आकाश डुलेको धर्ती’ पढेपछि भने बेग्लै खालको आनन्द छायो । भिन्नै किसिमको ऊर्जा पलायो र आत्मगौरव पनि बढ्यो ।

यस्तो हुनुका चार प्रमुख कारण थिए । पहिलो, एउटा नेपाली दम्पती विश्वयात्री बन्न सफल हुनु । दोस्रो, नेपालीको विश्वयात्राले नेपाली साहित्यको भण्डारमा एउटा सुन्दर नियात्रा कृति थप्नु । तेस्रो, नेपाली नारी स्रष्टाको कलमले यस्तो दर्बिलो र निर्भीक प्रस्तुति दिनु । अनि चौथो, एउटी नेपाली महिला अन्ताराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जस्तो अन्ताराष्ट्रिय स्तरको विश्वव्यापी संस्थाको निर्वाचित केन्द्रीय अध्यक्ष हुँदै हाल त्यसको पनि कमान्ड सम्हाल्ने सर्वोच्च निकाय बोर्ड अफ ट्रस्टीको पनि निर्देशक पदमा पुग्नु ।

उमेरले साठीको हाराहारीमा हिँड्दै गरेकी गीताको नियात्रा पढिरहँदा लाग्यो, उनी अग्रगामी सोचाइ र नवीनतम चेतनाले भरिएकी तीस बर्से नौजवान हुन् । अपरिमित उत्सुकताले भरिएकी गतिशील सर्जक हुन् । आफूले चिताएका ठाउँमा सशक्ततापूर्वक लागेर पुगिछाड्ने अथक यात्री हुन् । आफूभित्रको कौतुहलतामा पाठकलाई समेत एकाकार गराउँदै मोहनीलाग्दो नियात्राका माध्यमबाट तत् तत् स्थानमा सफल भ्रमण गराउन सक्ने सामर्थ्य बोकेकी कलमवीर हुन् ।

उनको नियात्राकृति ‘उडेको आकाश डुलेको धर्ती’ ले मेरो पाठकमनलाई पूरै एकोहोऱ्यायो, घरै बसीबसी जापान, केन्या र दक्षिण अमेरिकाका विचित्र-विचित्रका ठाउँमा घुमायो । कहिले रुवायो, कहिले हँसायो । रोमाञ्चकारी तरङ्गमा लहरायो । जापानको सर्वोच्च थुम्को फुजीसान हिमाल पनि डुलायो । मेक्सिकोको क्यारेवियन समुद्रको बिचभागमा पुऱ्याएर पानीमुनिको संसारसित साक्षात्कार पनि गरायो । क्योटोको अलौकिक दरबार घुमायो । हिरोसिमाको बीभत्सतादेखि कामाकुराका बुद्धको तपस्थलीसम्म विचरण गरायो । नैरोबीका गोही, जिराफ, अनाथालयका हात्तीहरूका बाललीला र इक्वेडरको काल्पनिक रेखामा पुऱ्याएर चटक देखायो । मसाइमाराका चितुवाको मुखमै पुऱ्याएर रौद्ररम्यताको स्थितिमा पुऱ्यायो र हायलकायल गरायो । यात्राका विभिन्न घुम्ती र मोडहरूमा तरह-तरहका अनुभूतिसहित विचरण गराउँदै मलाई पनि यात्राका लागि प्रेरित गऱ्यो र, मलाई नियात्राकृतिभित्रका केही प्रसङ्ग कोट्याउँदै तिनलाई आफ्ना पाठकीय अनुभूतिमा उतार्ने ऊर्जा पनि जगायो ।

भवानी खतिवडा

संसारका अभूतपूर्व बनावटमध्येको एक भएर हो, वा यो पुलको धेरै विशेषता भएर हो— क्यालिफोर्नियाको नाम सुन्नासाथ सुन्तलारङको गोल्डन गेटको चित्र आखाँअगाडि आइहाल्थ्यो र मन गोल्डेनगेट पुलमा पाइला राख्न लालायित भइजान्थ्यो ।”

यस्तै कौतुहलताबाट नियात्राको थालनी गर्ने, सरल र बोधगम्य भाषाको माध्यमबाट तत् तत् स्थानको रसिलो, कसिलो र महकिलो वर्णन गर्दै पाठकहृदयमा आनन्दको चरमोत्कर्ष हुलिदिने कलाशिल्पी हुन् गीता । लेखनीमा मिठास थपिएकाले नै होला, नियात्रा पढ्दै जाँदा स्वादिष्ट व्यञ्जन चाखेजस्तो अथवा मिठो सङ्गीतको अनुगुञ्जन भएजस्तो र सुन्दर दृश्य हेरिरहेजस्तो अनुभूति भइरहन्छ ।

“देशबाहिर जहाँ बसेर दुःख गरे पनि पैसा त देशभित्रै भित्रिने हो । नेपाली परिवार खुसी र सुखी हुने हो ।” संसारको जुनसुकै कुनामा पुगे पनि हृदयमा नेपाल र नेपालीको मायाँ बोकेर हिँड्ने नियात्राकार गीता धेरैपटक देश सम्झिएर छताछुल्ल पोखिएकी छिन् । आफूभित्र उर्लिएको सङ्लो र चोखो देशभक्तिसँग उदात्त शैलीमा रोएकी पनि छिन् र, रुँदारुँदै पनि तिनै आँसुले कृतिभित्र जन्मभूमिको महक छर्किएकी छिन् ।

भ्रमणका क्रममा राम्रा कुरा देख्यो कि उनी नेपालको सम्झना गर्न पुग्छिन् । ‘किन हामीले कहिले पनि अरूको राम्रो कुराको सिको गर्न सकेनौँ ? हाम्रा सन्तानलाई आफ्नो देश सुन्दर बनाउनुपर्छ भनेर सिकाउन सकेनौँ ? के हाम्रो मुटुबाट देशप्रतिको इमान लोप हुँदै गएको हो त ?’ भन्ने चिन्ता व्यक्त गर्छिन् । देशप्रतिको कर्तव्यबोधले ओतप्रोत तुल्याउँछिन् र पाठकलाई पटक-पटक सोचमग्नताको स्थितिमा पुऱ्याइदिन्छिन् ।

सन् १६८० मा अमेरिकाको सबै बढी सुरक्षा व्यवस्था भएको समुद्रबिचको टापुमा निर्मित अल्काट्राज जेलबाट तीन जना कैदी भागेको प्रसङ्ग साँच्चै विचित्रको छ । ती कैदीले चम्चा र काँटाले महिनौँ लगाएर सुरुङ खनेर तीन माइल लामो समुद्रको चिसो पानीमा डुबुल्की मार्दै भागेको प्रसङ्गले मस्तिष्कमा भिन्नै खालको तरङ्ग उठाइदिन्छ । कैदी हराएपछि ती कैदीको खोजी भएको र कतै नभेटिएपछि मरे भनेर फाइल बन्द गरिएको । लगत्तै जेल पनि बन्द गरेको । बन्दीको लास नभेटिएको र पछि तिनै कैदीले आफूहरू जिउँदै भएको कुराको जानकारी दिँदै प्रहरी विभागलाई पत्र लेखेको प्रसङ्ग पढिरहँदा पुस्तक पढेको होइन, म कुनै रहस्यमयी र तिलस्मी कथालाई सिनेमाको पर्दामा हेरिरहेकी छु भन्ने आभास हुन्छ । आफ्ना अनुभवलाई कलात्मक शैलीमार्फत सम्प्रेषण गर्ने सामर्थ्य भएर नै होला, ‘उडेको आकाश डुलेको धर्ती’ भित्र पसेपछि अन्तिमसम्म नपुगी निस्कनै मन लाग्दैन । गीताले यात्रामा देखे/भेटेका यथार्थ कुरालाई अन्तर्मनको अभिव्यक्तिसित घोलेर नढाँटीकन नियात्रामा उतारेको मैले अनुभव गरेँ । उनले देखेका वस्तुहरूलाई आफूले देखेको, उनकै पाइला पछ्याउँदै र उनीसित गफिँदै हिँडेको महसुस भयो ।

युनिभर्सल स्टुडियोको ढोकाबाट भित्र पस्नसाथ भूतप्रेतका चिह्नहरू देखिए । कर्कश आवाज सुनियो । छाम्दै हिँड्दा भूतका लामालामा हातमा छुन पुगियो । हामीलाई अँध्यारो कोठाको रोलर कोस्टरमा राखियो । अनि स्वाट्ट माथि पुऱ्यायो । मुटु नै खस्लाजस्तो गरेर झ्वाट्ट तल झाऱ्यो । मान्छेका कङ्कालैकङ्काल झुन्डिएका, शरीरलाई कात्रोले बेरेका, लामा नङ भएका कङ्कालले हात निकालेर हामीतिर तेर्स्याउँथे ।” यस्तो वर्णन भएको नियात्रा पढ्दापढ्दै मुटु नै निस्किएलाजस्तो बिम्बहरू दृश्यपटलमा आउँदा रहेछन् र हायलकायलको स्थितिमा पुऱ्याउँदा रहेछन् । पढ्दापढ्दै पाठकमनले भन्छ– “गीताको विचारमा निर्भीकता मात्र होइन, विचारको सम्प्रेषणीयतामा पनि दम छ ।”

मारकाट, हत्या, हिंसाले कसलाई के नै पो फाइदा हुन्छ र ? आखिर यो जीवनलाई हामीले छोडेरै जानुपर्छ । तपाईँले विभिन्न समयमा विभिन्न रूप धारण गर्दै ज्ञान र विवेकको शिक्षा दिँदै आउनुभएकै हो भने यो वेला पनि आएर त्यो ज्ञान बाँडिदिए के बिग्रन्छ र ? कामाकुराका अमिदा (अमिताभ) बुद्धका सामुन्नेमा उभिएर भगवान् बुद्धसित स्रष्टाले गरेको निर्भीक प्रश्न यो हो । उनको यो प्रस्तुतिले के बताउँछ भने उनी जोसुकैसित आफ्ना सहमति र विमतिका कुरा राख्न हिचकिचाउँदिनन् । उनको मसीले विभेद र विसङ्गति सहनै सक्दैन । उनी आफ्नो माटामा ‘वसुधैव कुटुम्बकम्’ को अभिव्याप्ति होस् र नेपाली मनमनमा परमशान्तिको अनुगुञ्जन होस् भन्ने चिन्तनले भरिएकी सर्जक हुन् ।

अमेरिकी हाइस्कुलका पाठ्यक्रममा र विश्व इतिहासका सबै पुस्तकहरूमा बुद्ध भारतमा जन्मेका हुन् भनेर लेखिएको विषयले पाठकलाई धेरै समयसम्म छटपटी चलाइरहन्छ । भित्रैदेखि मन तछारिन्छ । देशका स्वाभिमानसित जोडिएका यस्ता विषयलाई कौटनीतिक माध्यमबाट पहल गरेर सच्याउन उनले उठान गरेका प्रसङ्गहरूले हाम्रा शासकवर्गलाई दायित्वबोध गराउने र मार्गदर्शन प्रदान गर्न सक्ने सामर्थ्य राख्दछन् ।

र, अन्त्यमा गीता खत्रीजीवा लामिछानेजस्ता विश्वयात्री स्रष्टाहरूलाई आफ्ना मनभित्रका भावना बाँड्न र आग्रह गर्न मन लाग्छ— “आर्थिक र अन्य सबै रूपले सक्षम प्रिय नियात्राकारद्वय, तपाईँहरूले विदेश यात्रा गरेर नेपाली साहित्यलाई धनी बनाउन गर्नुभएको सत्प्रयासलाई म उच्च सम्मान गर्दछु । अब तपाईँहरूले आफ्नो जन्मभूमिको पनि भ्रमण गर्नुपर्छ । हाम्रा प्रकृति, संस्कृति, भूगोल र गौरवशाली हिमालका चित्ताकर्षक रमणीयतालाई विश्वमाझ पुऱ्याउनुपर्छ । नेपाललाई पदयात्राको महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित गराउँदै विश्वका मान्छेहरूलाई नेपाल आउन प्रेरित गर्नुपर्छ ।

र, फेरि पनि भन्छु, तपार्इँहरूले देशका लागि दुनियाँ लेख्नुभयो, त्यसका लागि बधाइ । अब दुनियाँका लागि देश लेख्नुहोस् त्यसका निमित्त धेरै-धेरै शुभकामना अर्पन्छु ।”