आदरणीय प्रतीक दाइ, हार्दिक नमन !

हाम्रो राम्रोसँग चिनजान भएको धेरै भएको छैन । सायद दिनमा गन्दा पनि हुन्छ होला । यसअघि हजुर एक अग्रज र वरिष्ठ नियात्राकार मात्र हुनुहुन्थ्यो मेरा लागि । काठमाडौँको मीनपचासको जाडो खेपेको पनि पन्ध्र वर्ष टेकेछ । साहित्यिक क्षेत्रमा पाइलो गाडेको पनि झन्डै बिस वर्ष नै नाघेछ । त्यो अघि गरिमा र मधुपर्कको ननस्टप ग्राहक थिएँ म । त्योबाहेक पनि साहित्यिक पत्रिकाहरू रचना, अभिव्यक्ति, मातृभूमि समकालीन साहित्य भनौँ भेटेजति पत्रिकाको अनुशासित पाठक थिएँ म । यी पत्रिकाहरूमा हजुरका नियात्राहरू पढ्ने अवसर पाइरहन्थेँ । यात्रा भ्रमणको वर्णनसँगै हजुरका नियात्रामा मिठो भाषाशैली भेटिन्थ्यो । त्यो समय यस्तै अध्ययनमा बित्थ्यो मेरो ।

काठमाडौँ आएको निकै समयपछि भनौँ मेरो साहित्यिक सक्रियता ओरालो लाग्दै गरेको वेला एउटा कार्यक्रममा हजुरसँग भेट भयो । मलाई सम्झना भएसम्म त्यो कार्यक्रम नयाँ बानेश्वरको अल्फाबिटा भवनको पार्किङस्थलमा भएको थियो ।

हजुरले परबाट चिच्याउँदै मलाई भन्नुभयो— “ए, बहिनी तिमी शर्मिला होइनौ ? तिम्रो त्यो सिर्जना र सन्त्रास पढेँ, निकै राम्रो लेखेकी रहेछौँ नि !”

“हो दाइ, धन्यवाद !” यति भनेर हामी छुट्टियौँ किनभने कार्यक्रम सकिएपछि हामी दुवै घर फर्कने हतारोमा थियौँ ।

मलाई निकै खुसी लाग्यो । सिर्जना र सन्त्रास मैले वेलायतमा विमोचन गराएकी थिएँ ।

यता खासै प्रचारप्रसार गरेकी थिइनँ । प्रचारप्रसार नगर्दा पनि आफ्ना सिर्जनाहरूलाई अग्रजहरूले पढिदिनुहुँदो रहेछ, अनि राम्रो पनि भनिदिनुहुँदो रहेछ भनेर निकै उत्साहित भएकी थिएँ म— त्यो वेला । हुन त पढ्नु हुनेहरू धेरैजसोले राम्रै प्रतिक्रिया दिनुभएको थियो तर पनि किन किन मैले तपाईँको त्यो प्रतिक्रियालाई सम्झिरहन पुगेछु ।

त्यसपछि लामो समयसम्म हाम्रो भेटघाट हुन सकेन । म पनि साहित्यिक माहोलबाट अलिक टाढा भएँ । पछि कोरोनाकालमा समाचार पढेँ । हजुर नियात्रा समाजको अध्यक्ष हुनुभएको रहेछ अनि नियात्रा समाजको सङ्ग्रहका लागि नियात्राहरू सङ्कलन गरिरहनुभएको जानकारी फेसबुकमार्फत प्राप्त गरेँ । मलाई पनि मेरो नियात्रा हजुरलाई दिन पाए हुन्थ्यो भन्ने मनमा लाग्यो । मैले मेसेन्जरमा छोटो संवाद लेखेँ ।

“दाइ म हजुरलाई मेरो नियात्राको पुस्तक दिन चाहन्छु । कहाँ दिऊँ ?”

हजुरले भन्नुभयो— “पैरवी बुक हाउसमा छोडिदिनू बहिनी ।”

मैले पैरवीमा लगेर मेरो नियात्राको साथसाथै अन्य कथाका पुस्तकहरू पनि छोडिदिएँ ।

झन्डै तीन-चार महिनासम्म पुस्तक लानुभयो कि भएन भन्ने कुनै जानकारी नै भएन । मैले पनि खोजी नै गरिनँ । म पनि आफ्नै तालकी मान्छे छु नि !

शर्मिला खड्का (दाहाल)

बिचमा म कोरोनाको खोप लगाएपछि म निकै बिमारी भएँ । बिहान उठ्नेबित्तिकै फेसबुक देवीको दर्शन गर्नुपर्ने मान्छे म त फेसबुक चलाउनै नसक्ने भएँ । बिस्तारै तङ्ग्रिँदै जान थालेँ । हजुरबाट कुनै समाचार आएन । सोचेँ— मजस्ती भगिनीपुस्ताका किताबको के मूल्य होला र दाइलाई ? तर एकदिन हजुरको फोन आयो । त्यो वेला म ठुली छोरीको बुढीसासूको वार्षिकीमा थिएँ । बिमारी नै भए पनि मुखसम्म देखाउन जानैपर्‍यो भनेर मेरा आदरणीय सम्धी-सम्धिनीज्यूको घर गएकी थिएँ म । हो, त्यही वेला हजुरको फोन आयो । हामीबिच निकै लामो कुराकानी भयो र त्यो भिडभाड होहल्लामा पनि मैले समय लिएर कुरा गरेँ ।

हजुरले भन्नुभयो— “बहिनी तिम्रा किताब त मैले धेरै अगाडि नै ल्याएको थिएँ । तर फोन गर्छु भनेको भुसुक्कै बिर्सेछु तर साह्रै व्यस्त भएकाले पढेको चैँ छुइनँ है ।”

यो कुराका साथसाथै अन्य कुराहरू पनि भए । मेरो बिमारीको कुरा पनि भयो ।

यसरी ढिलै भए पनि जानकारी दिएर नपढेको सत्य कुरा भन्नुभएपछि हजुरप्रतिको मेरो हार्दिकता चुलियो ।

त्यसपछि नियात्रा समाजको सातौँ साधारणसभामा हाम्रो भेट भयो । त्यो कार्यक्रम प्रज्ञा-प्रतिष्ठानको खुल्ला डबलीमा भएको थियो । हजुरले मलाई निकै महत्त्व दिनुभएको महसुस भयो । मैले त्यहाँ हजुरको पारदर्शी व्यवहार देखेँ । अनुजहरूलाई माया गर्ने अनि अग्रजप्रति श्रद्धा/सम्मान प्रकट गर्न प्रयोग गरिने अद्भुत कला देखेँ । साँच्चै भन्ने हो भने हजुरको शालीन व्यवहारबाट म ज्यादै प्रभावित भएँ ।

धेरै समयदेखि साहित्यिक कार्यक्रमहरूमा जान नपाएको र लकडाउनले घरमा नै गुम्सिनुपरेको हुनाले मलाई त्यो कार्यक्रम निकै रमाइलो लाग्यो । मेरो मन प्रफुल्ल भयो । प्रिय बहिनी प्रभा बराल र साथी गीता रेग्मीको आत्मीय र मायालु व्यवहारले मलाई पनि आफू बिमारीपछि निकै फ्रेस भएको महसुस भयो । प्रभा बहिनी अहिलेका थोरै र सक्रिय महिला साहित्यकारमा पर्नुहुन्छ । उहाँको फिलिङ्गो पढेर नै मैले उहाँभित्रको साहित्यिक प्रतिभाको पहिचान गरिसकेकी थिएँ । अत्यन्त मृदुभाषी बहिनी साह्रै मिलनसार लाग्छ मलाई । त्यस्तै साथी गीता पनि बोल्दै पिच्छे हँसाउने र पवित्र भावना भएकीले आत्मीय लाग्छिन् मलाई ।

यसको केही हप्तापछि हजुरले म पनि समाजको आजीवन सदस्य भएको जानकारी गराउँदै फेसबुकमा फोटो राख्नुभएको थियो । मेरो खुसीमा अझ खुसी थपियो । मानिसलाई खुसी हुन ठुल्ठुला पुरस्कार, प्रगति उपलब्धि नै चाहिन्छ भन्ने पनि हुँदो रहेनछ । सानासाना खुसीले पनि मानिसलाई ठुलो आनन्द दिँदा रहेछन् भन्ने लाग्यो मलाई पनि ।

त्यसपछि हजुरलाई पढ्ने र बुझ्ने आकाङ्क्षाले लालायित हुन थालेँ म । हजुरको ‘त्यो उज्यालो कर्णाली’ भर्खर प्रकाशित भएको थियो । त्यो पुस्तकले फेसबुकमा निकै चर्चा पाइरहेको थियो । मैले त्यो पुस्तक पनि ल्याएँ । उसो त चलनचल्तीमा रहेका पुस्तकहरू भेटेपछि किन्ने नै गर्छु म । सबै पढ्न नभ्याए पनि कुनै-कुनैको त पढेर समीक्षा पनि लेख्ने गर्छु म । अलि अघि प्रभा बहिनीको ‘फिलिङ्गो’ को र भर्खरै प्रकाशित गीता खत्री दिदीको ‘उडेको आकाश डुलेको धर्ती’ को समीक्षा पनि लेखेकी थिएँ ।

हजुरको ‘त्यो उज्यालो कर्णाली’ मा के छ त भनेर जान्ने उत्सुकताले पिरोलिन थालेँ म । जब पुस्तक पढ्न थाले त्यसपछि हजुरलाई राम्ररी चिन्ने र बुझ्ने अवसर पाउँदै गएँ ।

“त्यो उज्यालो कर्णालीभित्र के छ त ?” मभित्रकी चेली शर्मिलाले सोधी ।

“के छैन त्यो उज्यालो कर्णालीमा ? पख् म सबै बताउँछु तँलाई ।” पाठक शर्मिलाले भनी र भन्दै गई—

जहाँ अँध्यारो हुन्छ त्यहाँ उज्यालोको अस्तित्व पनि हुन्छ वा जहाँ उज्यालो हुन्छ त्यहाँ अँध्यारोको पनि अस्तित्व हुन्छ । यो चराचर जगत्‌मा उज्यालो नहुने हो भने यो सृष्टि यसरी निरन्तर चल्न धेरै मुस्किल पर्थ्यो । त्यही उज्यालोको किरणले कर्णालीको अस्तित्वलाई उजागर गरेको छ । त्यो उज्यालोले कर्णालीको अँध्यारो पक्षलाई लखेटेको छ । यहाँ के छैन र यार ? राष्ट्रप्रेम छैन कि, भाषा-साहित्यको प्रेम छैन कि, हिमाल र प्रकृतिको प्रेम छैन कि ? लोकभाका र संस्कृतिको प्रेम छैन कि, सीमान्तकृत वर्गको प्रेम छैन कि ? सबैतिर प्रेम नै प्रेम छ । आखिर ईश्वर भनेकै निःस्वार्थ र निश्चल प्रेम त हो नि ! यिनै पाँच तत्त्व मिलेर पञ्चामृत बनेको छ नियात्रा विधामा यो पुस्तक ।

भन्न त हामी भन्छौँ— जीवन यात्रा नै हो । यति लामो जीवन हामी अनेकौँ घटनाहरूसँग जुध्दै, दुःखसुख भोग्दै, घामपानी झेल्दै यहाँसम्म आइपुगेका हुन्छौँ तर वास्तविक यात्रामा अनेकौँ कठिनाइ भोग्दै, रमाउँदै, पाठकलाई आफ्ना निजात्मक अनुभूतिसँग संवाद गराउँदै एउटा सुन्दर कृति सिर्जना गर्न कतिको सकिन्छ भन्ने कुराको अनुपम उदाहरण हो यो कृति । यहाँ यात्राको कोरा वर्णन मात्र छैन लामो समयदेखि नेपाली जनताले भोगेका राजनीतिक पीडा छ । यहाँ टम्म भरिएर छचल्किएका हिमालको सौन्दर्य पनि छ । प्रकृतिको अनुपम सौन्दर्यको वर्णन त छँदै छ सामाजिक विकृति र विसङ्गति, अहं, आडम्बरका घटनाहरू पनि छन् । लोकसाहित्य र पौराणिक हिन्दू सनातन धर्मप्रति गहिरो प्रेम छ, लोकसंस्कृतिप्रति अविच्छिन्न मायाँका उद्गार छन् । देशप्रति अगाध प्रेम छ । यसरी यो उज्यालो कर्णाली उज्यालो बनेको छ । नेपालको विकास प्रक्रियामा अति नै पछाडि परेको दुर्गम ठानिएको ठाउँमा एक्लै हिँड्ने साहसीपन छ ।

कर्णाली प्रदेशको सिञ्जा क्षेत्रलाई नेपाली खसभाषाको उद्गमस्थल मानिन्छ तर प्रज्ञा-प्रतिष्ठानजस्तो देशको भाषा र साहित्य संस्कृतिको विकास गर्न स्थापना भएको संस्थाले सो नाम पनि सही ढङ्गले व्याख्या गर्न नसकेको गुनासो छ । गुनासो मात्र होइन गतिलो झटारो नै छ । कर्णालीमा प्रकृतिले दिएको अनुपम उपहार राराताल छ । त्यहाँ वनजङ्गल छ । जडीबुटी र अनेकौँ खानिहरू छन् । यो देशलाई धनी बनाउने सबै कुरा त्यहीँ छन् ।

पाठक शर्मिला बोलिरहँदा चेली शर्मिला बिचमा नै बोल्न थाली— “हो तैँले त कर्णाली मात्र उज्यालो देखिस् तर मैले त प्रतीक दाइलाई नै पो ‘त्यो उज्यालो कर्णाली’ देखेँ । तँ अब चुप लाग् म बोल्छु । म दाइका बारेमा केही भन्छु ।”

दाइले यहाँ कर्णालीभित्रको उज्यालो मात्र होइन आफूभित्रको उज्यालो पनि छर्नुभएको छ । त्यो उज्यालोले कतिको गोडमेल पाउँछ त्यो त म भन्न सक्दिनँ तर मेरो चाहिँ मनभित्रै रोपिएको छ । हुन त मैले नि यस्ता सानातिना उज्यालो छर्ने कोसिस मेरो संस्मरण सङ्ग्रह ‘सिर्जना र सन्त्रास’ मा गर्न नखोजेको चाहिँ होइन । त्यो हजुरभित्रको उज्यालोले हजुरभित्रको सहयोगी भावना, सहृदयी व्यवहार र आर्दश चरित्रलाई नै हरियालीयुक्त बनाएको मैले महसुस गरेकी छु । राराताल जाँदा नेपाली सेनाको मेजरसा’ब र मेजर्नी साबको कारणले हजुरले दुःख पाउनुभएको कुराले मेरो पनि मन दुःखित भएको छ । यस्ता कुराको म पनि सधैँ विरोध गर्दछु । तर त्यसलाई हजुरले कसरी भुत्ते पार्नुभयो भन्ने वृत्तान्तले धेरैको मनमा खुसीको सुगन्ध छरिन्छ भन्ने कुरामा दुई मत हुन सक्दैन है दाइ । मेरो खुसी त असाध्यै हलहल भयो । मेरो संस्मरणमा मैले यसरी आफू अन्यायमा पर्दा कोही नबोले कुरा लेखेकी थिएँ नि सायद हजुरलाई यही भएर पनि ‘सिर्जना सन्त्रास’ मन परेको हुन सक्छ । त्यो पुस्तकले मलाई पनि हजुरकै कित्तामा ल्याएर उभ्याइदिएको रहेछ ।

हाम्रो देशका सरकारी कर्मचारीहरूमा यस्तो मपाईँ प्रवृत्ति धेरै देखिन्छ । हुन त यसमा सर्वसाधारण जनता पनि दोषी छन् होला किनकि उनीहरू आÏनो काम पूरा गर्न हाकिमको धेरै चाकडी गर्छन् । ती हाकिमहरूले अन्तिममा त्यो चाकडीलाई नै रासायनिक परिवर्तन गरी आफ्नो मपाँईंपनमा ढाल्छन् अनि उनीहरूमाथि नै लाद्न पुग्छन् र यस्तै कुराले रारातालमा भएको त्योजस्तै घटनाहरू दोहोरिन पुग्छन् । यो कुरा मैले पनि अलिकति बेहोरेकी छु । मेरा श्रीमान् हाकिम भएर ताप्लेजुङ जानु हुँदा त्यहाँ हाकिमसा’ब र हाकिम्नी सा’बलाई गरिने चाकडी देखेर मै अचम्ममा परेकी थिएँ । हुन त म धेरै समय त्यहाँ बसिनँ यदि बसेकी भए ती मेजर्नीसा’ब जस्तो हुन बेर लाउँदिन थिएँ हुँला । हजुरले यस्ता सामाजिक विकृतिलाई कसरी औँल्याएर देखाउनुभएको छ भन्ने थाहा पाउन त पुस्तक पढ्नैपर्ने हुन्छ । मलाई भन्न मन लाग्छ, यस्तो मपाईँत्वबाट शोषित हुने कुरामा हामी पनि उत्तिकै दोषी छौ किनकि हामी नै एक पाउको जिब्रो चलाउनुभन्दा तीन धार्नीको टाउको हल्लाउन उचित ठान्छौँ । त्यसैले औँल्याउनु त धेरै परको कुरा हुन्छ । यसरी सबैले औंल्याउने र त्यसलाई निर्मूल गर्ने प्रयास गरेका भए आज हामीले यो दिन देख्नै पर्दैनथ्यो कि ?

अर्को कुरा हजुरले माओवादीको जनयुद्धको कुरा लेख्नुभएको छ । त्यो कुराले मेरो मन साह्रै रसायो । अनि यो देशमा त्यस्तो के तत्त्व छ जसले यति साह्रो बनाउँछ भन्न मन लाग्यो । ‘के साह्रो हौ..’ त मैले मेरो ‘सिर्जना र सन्त्रास’ मा लेखेकी नै छु नि हो त्यो त पढ्नुभयो होला नि ? त्यसैले कुरा बुझिहाल्नुभयो होला । साहित्यकारहरूले यसरी नेताहरूलाई झटारो मात्र हैन, भुतुक्कै पार्ने गरी भुत्ते खुकुरीले नै हानेको त मैले देखेकी नै थिइनँ दाइ नेपाली साहित्यिक पुस्तकमा । मलाई लाग्थ्यो, मैले पो धेरै छुच्ची भएर बोलेँ कि ? तर होइन रहेछ । हजुरको खुकुरीका अगाडि मेरो खुकुरी त काठको पो भइसकेको रहेछ । हजुरको त्यो फलामको भुत्ते खुकुरी कहिलेकाहीँ मलाई नि सापटी दिनू है दाइ ।

तर दाइ हजुरले गर्नुभएको एउटा सानो कुरामा चाहिँ मेरो चित्त बुझेको छैन है । त्यो के भने नि हजुरले होटलको नाम अशुद्ध लेखे भनेर नखाई हिँड्नुभयो नि, हो यो कुरा चाहिँ मलाई अलिक हजम भएन है । किनकि भाषासाहित्य र पाक्कला अलिक फरक विषय हो नि ! हाम्रा आमा हजुरआमाहरू नपढेका भए पनि खानापिना मिठो नै पकाउनुहुन्थ्यो भन्न मन लाग्छ है मलाई त ! यसरी भोकै हिँडेको चाहिँ मेरो मनले ठिक मानेन है दाइ । सायद दाइको मायाँले पनि होला मलाई यस्तो लागेको । भाषाको प्रेम हुँदैमा भोकै चाहिँ हिँड्नु हुँदैन क्या, त्यो पनि यस्तो दुर्गम ठाउँमा ।

अर्को एउटा कुरा भन्न मन लागेको छ दाइ । त्यो के भने नि— हजुर पूर्वको मान्छे, पश्चिमी भाषासाहित्य लोकभाका र लयसित कसरी प्रेम बस्यो हँ ? कसरी यति धेरै लगाउ बढ्यो ? हामी पूर्वको मान्छेलाई त्यो ज्ञान लिन त निकै गाह्रो पर्छ जस्तो लाग्छ मलाई त । हुन त धर्म, साहित्य, सङ्गीत, ज्ञान र सिपको कुनै भौगोलिक सिमाना हुँदैन भनिन्छ तर पनि म पूर्वकी मान्छे भएर होला, अनौठो उत्सुकता जागेर मात्रै भनेकी नि !

अब कुरा अन्तिममा आयो दाइ । यो पुस्तक पढ्ने क्रममा मैले एपी वान टेलिभिजनमा हजुरको अन्तर्वार्ता सुनेँ । निकै प्रभावित भएँ । हजुर लामो समयसम्म नेपालको गृह मन्त्रालय र पर्यटन मन्त्रालयमा बसेर उच्च पदमा बसेर रिटायर्ड हुनुभएको रहेछ । देशको भौगोलिक अवस्था र हिमालबारे हजुरलाई यति धेरै ज्ञान रहेछ कि मै छक्क परेँ । हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड नै पर्यटन उद्योगलाई मान्न सकिन्छ । विदेशीहरू नेपाल भ्रमणमा आउने भनेको नै हिमाल हेर्न र हिमालको यात्रामा आउने हो तर दुःखको कुरा के छ भने हजुरजस्तो हिमालविज्ञलाई सरकारले चिनेकै छैन । कुनै महत्त्वपूर्ण भूमिका दिन सकेको छैन । हजुरजस्तो विज्ञलाई पर्यटनदूत बनाएर देशको पर्यटन उद्योगलाई सगरमाथा पुर्‍याउनुपर्नेमा त्यो हुन सकेकै छैन । झोलेहरूले झन्डा बोकेर हिँडेपछि त्यो विज्ञता त्यत्तिकै हराएर जाने रहेछ । हुन त यो देशले हजुरजस्ता कैयौँलाई चिन्न सकेको नै छैन । यदि चिन्न सकेको भए यो देशको हालत यस्तो हुने पनि थिएन होला । अनि हजुरले ‘त्यो उज्यालो कर्णाली’ जस्तो पुस्तक लेख्नैपर्ने थिएन होला ।

म सानी हुँदा प्रायः हिमाल देख्ने गर्दथेँ सपनामा । झलमल्ल सेतो हिमाल देखेको वेला म सपनामा निकै रमाइरहेकी हुन्थेँ । त्यो सपना देखेको दिन प्रायः बिपनामा म खुसीको समाचार सुन्न पाउँथेँ ।

अहिले मलाई लाग्छ मैले सपनामा होइन, बिपनामा नै हिमाल बोक्ने मान्छे भेटेकी छु । हिमाल पनि सानोतिनो हो र ? सगरमाथा नै बोक्ने दाइ भेट्टाएकी छु । अब यस्ता खुसीका समाचारहरू धेरै सुन्न पाउनेछु मैले । त्यो खुसी यो देश, यो समाज, हाम्रो भाषासाहित्य, संस्कृति र हामी सबैका लागि हुनेछ ।

अब पाठक शर्मिलाको पालो आयो ।

“खै, तैँले त मलाई केही बोल्नै दिइनस् । आफू मात्रै भटाभट बोलेर चार-पाँच पेज भरिहालिस् ।”

चेली शर्मिलाले भनी— “ठिक छ नि त ! दाइको पुस्तकको पाठकीय समीक्षा लेखेर ६/७ पेज भर न । मलाई पनि जितेर लेखे भइहाल्यो नि !”

चेली शर्मिलाले यति भनेपछि पाठक शर्मिलाले पनि भनी— “पख, म पनि लेख्छु ।”

हेर्दै गर्नुहोला है दाइ, हजुरकी चेली र पाठक दुवैले केही न केही त पक्कै लेख्छन् होला । मैले भान्छाबाट देखिरहेकी छु— अहिले दुवै किताबतिरै झुत्तिएर तानातान गरिरहेका छन् ।