निर्माणात्मक कार्यमा खुरुन्धार रूपमा लागि परेका जोसिला भर पर्दा समालोचक हुनुहुन्छ श्री. नवीन पौडेल । यस पुस्तकसम्बन्धी डा. कृष्णराज घतानीले यस्तो मन्तव्य पोखेका छन्; भारतीय नेपाली साहित्यमा विधागत रूपमा देख्न पाइने समालोचना क्षेत्रको यस सन्दर्भिका कृतिले विगतदेखि वर्तमानसम्मको तथ्यहरू खोजेर एउटा ठुलो अन्तराल नै परिपूर्ति गरेको मान्न सकिन्छ । सुरुदेखि अद्यतन भारतीय नेपाली समालोचना र समालोचकहरूको आवश्यक उपस्थिति बुझ्न पाउनु यस कृतिको थप महत्त्व हो । कृतिकार नवीनले निकै लामो परिश्रमपछि यस प्रकारको कार्य सम्पन्न गरेका छन् ।’

समालोचना परजीवी विधा हो र यो एक प्रकारले निर्माणात्मक कला पनि हो भन्ने विद्वान्‌हरूको विचार पाइन्छ भने समालोचनाजस्तो बौद्धिक विद्याका सर्जकहरूलाई वर्णक्रमअनुसार सजाएर समालोचक सन्दर्भिका जस्तो बृहत् कोश तयार गर्नु भारतीय नेपाली समालोचनाको इतिहासमा एउटा ठुलो अभावपूर्ति हो । उक्त सन्दर्भिकाको सन्दर्भमा आफ्नो विचार पोख्दै डा. परशुराम पौडेलद्वारा यस्तो मन्तव्य पोखिएको पाइन्छ – ‘भारतीय नेपाली साहित्य संसारमा नवीन पौडेल कुनै अपरिचित व्यक्ति होइनन् । बाह्रौँ श्रेणीमा अध्ययनरत हुँदा नब्बेकै दशकमा ‘सुमार्ग नामक हस्तलिखित पत्रिका सम्पादन गरिसकेका नवीनले हुने बिरुवाको चिल्लो पात भन्ने लक्षण सानै उमेरमा देखाएका थिए ।’

यस पुस्तकका लेखक प्रा. श्री नवीन पौडेल पुस्तक लेखिनुको कारण प्रस्ट पार्दै यसो भन्नुहुन्छ – ‘सन् २०२० को कोरोना महामारीको कारणले देशव्यापी लकडाउन भयो अनि घरमा त्यसै बस्दा यो सन्दर्भिका तयार गर्ने जाँगर चलेको हो । उहाँको यस उक्तिलाई अघि सार्दै यसो भन्न सकिन्छ । उहाँले जाँगरलाई कार्यान्वित गर्नुभएको हुनाले नै आज भारतीय नेपाली साहित्यको क्षेत्रमा समालोचनाको सन्दर्भिकाजस्तो बृहत् कोश तयार भएर नेपाली साहित्य भण्डारमा अनुसन्धानात्मक कृति थपिन पुग्यो । भविष्यमा अरू सन्दर्भिका लेखिएलान् तर समालोचना सन्दर्भिकाको इतिहासमा भने श्री. नवीन पौडेलकृत यस समालोचना सन्दर्भिका कृतिले भारतीय नेपाली समालोचना सन्दर्भिकाको इतिहासमा साहित्यमा माइल खुट्टी भएर दीप जलाइरहने छ । यसर्थ यो जाँगर चलाउने कार्यले ठुलो उपलब्धि हासिल गरेको मान्न पर्दछ । प्रथम त यस समालोचना सन्दर्भिकाले भावी अनुसन्धान कर्ता वा अन्वेषकहरूलाई कार्य गर्नका निम्ति सजिलो खुड्किलो निर्माण गर्ने कार्य गरेको छ । यसै सिलसिलामा यस पुस्तकलेखनको मूल प्रेरणास्रोत भने साहित्यकार कुमारप्रसाद कोइरालाद्वारा प्राप्त भएको हो भन्ने कुरा लेखकबाटै बुझिन्छ ।

डा. इन्द्रबहादुर छेत्री

यस पुस्तक तयार गर्नुको मुख्य उद्देश्य पहिल्याउने कममा सृजनात्मक रचना कृतिहरूको अन्वेषण अनुसन्धान र व्याख्या-विश्लेषण आदि गर्ने कार्य समीक्षक, समालोचक , टिप्पणीकार आदिले गर्ने गर्दछन् र साहित्य जगत्‌मा यी सृजनाहरूको मूल्याङ्कन हुने गर्दछ अनि ती रचनाहरूको संरक्षण तथा गुणस्तरीयता आदिको लेखाजोखा पनि समालोचनात्मक कार्यद्वारा नै हुने गर्दछ । यद्यपि यस्ता सृजनाकारका कृतिहरूका अध्ययन मनन गरेर लेखाजोखा गर्ने समालोचकहरूको चाहिँ कसले संरक्षण गर्ने ? भन्ने प्रश्नको उत्तरमा प्रस्तुत पुस्तक समालोचना सन्दर्भिका उभिएको पाइन्छ ।

प्रस्तुत पुस्तकमा मूल रूपमा समालोचनाको परिभाषास्वरूप र प्रकारहरूको विस्तृत जानकारी दिइएको पाइन्छ । साथै भारतीय नेपाली साहित्यमा समालाचनाको विकास र परम्पराको इतिहास पनि विस्तृत रूपमा चर्चापरिचर्चासँगै प्रकाश पार्ने कार्य गरिएको छ । सन् १९२२ मा सूर्यविक्रम ज्ञवालीको नैवेद्य समालोचना भारतीय भूमिमा सृजना भएकाले यसै समालोचना कृतिसँगै भारतीय नेपाली समालोचना लेखन कार्यको शङ्खनाद भएको विषयलाई सन्दर्भिकाका कोशकारले उल्लेख गरेको पाइन्छ ।

त्यसपछि यस पुस्तकमा सन्दर्भिका कोशकारले नेपाली समालोचनाको सैद्धान्तिक पक्षको इतिवृत्त केलाएर प्रकाश पार्दै भारतीय नेपाली समालोचनाको विकास परम्परालाई, चार चरणमा विभाजन गरेर विभिन्न चरणहरूका समालोचनात्मक धारालाई खुट्याउने कार्य गरेको पाइन्छ ।

पहिलो चरण वा प्रारम्भिक काल; सन् १९२२ देखि सन् १९४१ दोस्रो चरण सन् १९४२ देखि सन् १९६५ तेस्रो चरण १९६६ देखि १९९९ चौथो चरण सन् २००० देखि हालसम्म ।

यसरी चरण विभाजनको स्वरूपलाई अध्ययन गर्दा लेखकले प्रत्येक चरण विभाजन कार्य गर्दा युक्तिसङ्गत ढाँचाले उल्लेख्य र महत्त्व विषयलाई उठान गरेर प्रत्येक चरणको समय सीमाङ्कन गरेको पाइन्छ । पहिलो चरणमा सूर्यविक्रम ज्ञवालीद्वारा सुरुवात गरिएको समालोचना लेखन परम्परालाई अघि बढाएर पारसमणि प्रधान आदिले भारतीय नेपाली समालोचनाको घडेरीलाई बलियो बनाएको प्रसङ्गलाई विस्तृत रूपमा चर्चापरिचर्चा गरिएको पाइन्छ ।

दोस्रो चरणको प्रारम्भ बिन्दुको रूपमा रामकृष्ण शर्माको समालोचनाको क्षेत्रमा प्रादुर्भाव भएपछि मानिएको छ र यस दोस्रो चरणमा धेरै समालोचकहरूले समालोचनाको क्षेत्रमा योगदान दिए तापनि उल्लेखनीय रूपमा रामकृष्ण शर्मा र गणेशलाल सुब्बा जस्ता यस चरणका प्रतिनिधि समालोचकहरू रहेका विषयलाई लेखकले उल्लेख गरेका पाइन्छन् ।

तेस्रो चरण सन् १९६६ देखि सन् १९९९ मा इन्द्रबहादुर राईका टिपेका टिप्पणीहरू सन् १९६६ मा प्रकाशित भएपछिको समयदेखि सन् १९९९ सम्मको समयलाई तेस्रो चरण मानिएको छ । यस तेस्रो चरणमा प्रा. पौडेलले इन्द्रबहादुर राई बाहेक समालोचनाको क्षेत्रमा योगदान दिने अन्य समालोचकहरूका योगदानसम्बन्धी पनि विस्तृत परिचय दिएर विश्लेषण गर्ने कार्य गर्नुभएको छ । जसमा यस चरणका केही उल्लेखनीय समालोचकहरू यस प्रकार रहेका पाइन्छन्; भाइचन्द्र प्रधान, अगमसिंह गिरी, महानन्द पौडेल, कुमार प्रधान, राजनारायण प्रधान, लक्खीदेवी सुन्दास, कमला सांकृत्यायन, रामलाल अधिकारी, नरबहादुर दाहाल, जगत् छेत्री, गुमानसिंह चामलिङ, भीमकान्त उपाध्याय, रत्न वान्तवा, शरद् छेत्री, प्रेम प्रधान, सूर्यकुमार सुब्बा, जीवन नामदुङ्ग, प्रतापचन्द्र प्रधान, नरेशचन्द्र खाती, मोहन पी. दाहाल, घनश्याम नेपाल, शान्तिराज शर्मा, हस्त नेचाली, अर्जुन प्रधान, बी. योन्जन, कृष्ण प्रधान, युवाराज काफ्ले, गोकुल सिन्हा, रुद्रराज मास्के, हरेन आले, एम. पथिक, कुमार छेत्री, ललिता राई अहमद, जस योन्जन ‘प्यासी’, असीत राई, डी. कुमार परियार, मोहन ठकुरी, मनप्रसाद सुब्बा, शान्ति छेत्री र शोभाकान्ति थेगिमहरूले भारतीय नेपाली समालोचनाको क्षेत्रमा योगदान दिएर यस विद्यालाई फाँटिलो र मलिलो बनाएका विषयलाई विस्तृत रूपमा व्याख्या विवेचना गरिएको पाइन्छ ।
चौथो चरण सन् २००० देखि हालसम्म लेखक प्रा. श्री. नवीन पौडेलले सन् २००० देखि यताको चरणलाई समालोचनाको विस्तारवादी चरणका रूपमा लिएको देखिन्छ । यस चरणमा नयाँ-नयाँ समालाचकहरूले नेपाली समलोचना लेखन कार्यको क्षेत्रमा प्रवेश गर्नका साथै यी समालोचकहरूबाट विभिन्न सैद्धान्तिक, व्यावहारिक, प्रायोगिक र वस्तुवादी पक्षहरूलाई आत्मसात् गर्दै समालोचनाको विकासमा योगदान दिने कार्य यी समालोचकहरूबाट भएको छ र ती समालोचकहरूको कार्य कृतिलाई गहन अध्ययन गरेर तिनीहरूको सैद्धान्तिक पक्षलाई केलाइएर प्रवृत्ति र धारालाई प्रकाश पार्ने कार्य पनि गरिएको पाइन्छ ।

प्रस्तुत पुस्तकमा श्री. पौडेलले समालोचनाको पद्धति र सैद्धान्तिक पक्षहरूको आधारमा भारतीय नेपाली समालोचनालाई नियाल्ने प्रयास गरेको पाइन्छ । यस सिलसिलामा उहाँले समालोचनाको वर्गीकरण वा भेद प्रस्तुत गरेर देखाउनुभएको छ । प्रस्तुत पुस्तकमा उल्लेख गरिएका समालोचनाका भेदहरू निम्न प्रकारका रहेका पाइन्छन् – १. सैद्धान्तिक २. व्याख्यात्मक ३. निर्णायात्मक ४. तुलनात्मक ५. प्रगतिवादी ६. इतिहासपरक ७. मनोविश्लेषणात्मक ८. शैली विज्ञानपरक ९. विधागत १०. परिरवेश पर्यावरणमूलक ११. व्यक्ति केन्द्रीपरक १२. कृति केन्द्रीपरक १३. शैक्षणिक १४. प्रागिक १५. नारीवादी १६. भाषा केन्द्रीपरक जस्ता समालोचनाका प्रकारहरू रहेका विषयलाई प्रकाश पार्दै तत्सम्बन्धी व्याख्या विश्लेषण पनि गरिएको पाइन्छ ।

प्रस्तुत कृतिका सष्टा प्रा. श्री. नवीन पौडेलज्यूले यस कृतिका निम्ति अथक परिश्रम गर्नु भएको अनुभव हुन्छ । सम्पूर्ण समालोचनात्मक कृतिहरूको गहन अध्ययन गरीकन प्रत्येक कृतिलाई वर्गीकरण गरेर विश्लेषण गरिएको पाइन्छ जुन विषय अत्यन्त सराहनीय रहेको छ ।

यस समालोचना सन्दर्भिका कृतिले समालोचनाको इतिहासमा पूर्ण रूपमा सन्दर्भिकाको विशेषण बोकेर उभिएको छ भन्दा अत्युक्ति नहोला । किनभने यस ग्रन्थमा लेखकद्वारा समालोचनाका प्रमुख ग्रन्थसहित भारतबाट प्रकाशित नेपाली समालोचनाका पुस्तकहरूका सूची, समेत दिने सूक्ष्मातिसूक्ष्म कार्य गरिएको छ । यस कममा समालोचनात्मक लेख सङ्कलित र सम्पादित पुस्तकहरूका सूची, त्यस्तै अभिनन्दन स्मृति ग्रन्थ र विशेषाङ्क पुस्तकहरूका सूची तथा अनुदित समालोचना पुस्तकहरूका सूची, साहित्य अकादमी नयाँ दिल्लीबाट प्रकाशित जीवनीमूलक पुस्तकहरूका सूची, स्वतन्त्र रूपमा लेखिएका साहित्यिक जीवनीमूलक पुस्तकहरूका सूची अनि एकल सर्जक केन्द्रित समीक्षात्मक लेख सङ्कलन भएका पुस्तकहरूका सूची, समालोचना प्रधान पत्रिका जर्नलहरूको सूची, समालोचना विशेषाङ्क भएका पत्रिकाहरूको सूची, यस्तै एकल सर्जक समीक्षा केन्द्रित विशेषाङ्क पत्रिकाहरूको सूची र अन्तमा विभिन्न विषयमा सङ्गोष्ठी सम्पन्न पत्रहरूका सङ्कलन पुस्तक सूची दिएर लेखक पौडेल महोदयले सन्दर्भिकाको आत्मामा प्राणसञ्चार गर्ने कार्य गरेको पाइन्छ ।