कर्णाली पुग्नुअघि कर्णालीसम्बन्धी लेखिएका भेटेजति सबै (अठार थान) पुस्तक पढेर केही वर्ष बिताएका रहेछन् । यो कुरा उनले हालै प्रकाशित ‘त्यो उज्यालो कर्णाली’ नामक पुस्तकको सन्दर्भसूचीमै लेखेका छन् । कर्णालीलाई धेरैले पिछडिएको वा पछाडि पारिएको क्षेत्र ठाने पनि लेखक प्रतीक ढकालले भनेका छन्— “यो क्षेत्र त हाम्रो लुकेको स्वर्ग हो, साङ्ग्रिला हो, धर्तीमुनिको अभिलेख हो र समृद्धि प्राप्तिका लागि अनन्त सम्भावनाको बीज हो । यो नै नेपालको एक मात्र त्यस्तो क्षेत्र हो जसले सिङ्गै मुलुककै कायापलट गरिदिन सक्छ ।”

यति कुरा उनले जमेर लेखेका छन् । पुस्तक पढिरहँदा नियात्रा पढिरहेको मात्र छैन कि बरु म नै त्यहीँ गएर उल्लिखित स्थानहरूमै पुगेको छु, हेरेको छु, छामेको छु र विचरण गरिहेको छु भन्ने महसुस हुने गर्छ पाठकलाई । प्रतीक ढकालले शब्दहरूको बान्की मिलाएर लेखेकै कारण पाठकहरूलाई आफ्नो किताबबाट दायाँबायाँ हुनै दिँदैनन् । त्यो नै उनको विशिष्ट गुण, लेखकीय क्षमता र कुशलता नै हो भन्ठान्छु म । हुन त मैले उनलाई व्यक्तिगत रूपमा चिन्दिनँ । चिनेकै उनका केही पुस्तकहरू पढेर मात्रै हो । जति पढेँ, सबै मन छुने खालका छन् भन्दा मलाई कुनै गारोसारो पर्दैन ।

दलबहादुर गुरुङ

उनी आफैँले लेखेका छन्— “त्यो उज्यालो कर्णाली पुस्तक कतै यात्रा, कतै जात्रा बनेको हुन सक्छ ।” साँच्चिकै उनले भनेका कुराहरूले कहिले हँसाउँछन् भने कहिले रुवाउँछन् पनि । कर्णालीका पीडालाई नजिकबाट अध्ययन गरेका प्रतीकले त्यस क्षेत्रको अपार सम्भवनालाई समेत केलाएर पुस्तकमा विस्तृत बयान नै गरेका छन् । पुस्तकमा इतिहास छ । र भूगोलका कुराहरू छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका कुरा प्रशस्त छन् । कृषि, पर्यटन र पुरातात्विक कुराहरूको लामो र चखिलो बयान नै पढ्न पाइन्छ । संस्कृति, सभ्यता, संस्कार र सिर्जनाका कुराहरूले भौगर्भिक कर्णालीलाई विराट् बनाएको छ भन्ने कुरा पुस्तकमै उल्लिखित छ ।

कर्णाली क्षेत्रमा नपुगेका मान्छेहरूलाई उनले बडो भावनात्मक रूपमा पुर्‍याएका छन् । कर्णालीको चिसोपानी, तातोपानी खुवाएका छन् । त्यहाँका मान्छेहरूसँग मितेरी लगाइदिएका छन् । भोक, रोग र शोकसँग जोडिदिएका छन् । लाग्छ, प्रतीक कर्णाली क्षेत्रलाई अरू प्रदेश र राजधानीसँग जोडिदिने समन्वयकारी व्यक्ति हुन् । लेखक मात्र होइनन् उनी, बरु देखक पनि हुन् । सर्जक मात्र होइन् उनी, स्रष्टा पनि हुन् ।

प्रस्तुत पुस्तकमा लेखक प्रतीक कतै अन्वेषक, कतै अध्येता, कतै पर्यटक, कतै अभियन्ताजस्तो देखिन्छन्, भेटिन्छन् । कर्णालीको सिञ्जामा पुगेर खस भाषाको जननी क्षेत्रको बयान गरेका भेटिन्छन् । कतै पुराना राजाका बारेमा सोधखोज गर्दै हिँडेका हुन्छन् । त्यहाँका धर्म, संस्कृति, रहनसहन, बोलीचाली, भाषा, परम्परा, रीतिरिवाजका कुराहरू एक-एकलाई टिपेर साह्रै धैर्य र मेहनतसाथ पुस्तक तयार पारेका छन् । कतै यो पुस्तक कर्णाली अब जानेहरूका निम्ति पथप्रदर्शिका (गाइडबुक) नै पो हो कि जस्तो पनि लाग्दै छ मलाई त !

हुन त उनको खास रुचि वा लेखनको विषय हिमाल र हिमाली यात्रा नै हो । जलवायु परिवर्तनका कारणले हिमाल कतै नाङ्गा डाँडामा रूपान्तरण हुने त होइनन् ? कालापत्थरको रूपमा मात्र देखिने त होइनन् ? हिमालजस्तै हाँस्ने हिमाली क्षेत्रका नागरिकले कालान्तरमा कुरूप कालाडाँडा मात्रै हेरेर रुनुपर्ने त होइन ? त्यति वेला त्यहाँका बासिन्दाले के गर्लान् ? के गरी जीवन बिताउलान् ? संसारभरका पर्यटकहरू हिमालको साटो उजाड अर्थात् हिउँविनाका काला-काला डाँडाहरू मात्र हेर्न त्यतातिर पुग्लान् त ? प्रतीकले बारम्बार यही प्रश्न गरिरहेका छन्— सबैसँग ।

लामो समय नेपाल सरकारको निजामती सेवामा रहेर निवृत्त भएका उनले बाँकी जीवन लेखेर नै देशको सेवा गर्ने दृढ अठोट बोकेका छन् । उनको सङ्कल्प नै यही छ । उनको यही अठोट वा दृढ सङ्कल्पले नेपाली साहित्यमा नयाँ-नयाँ आयामहरू थपिनेछन् । पुस्तकले पाठकका मनमा ठाउँ ओगट्दै जाने छन् । उनकै पुस्तकले पाठकहरूलाई तराईदेखि हिमालसम्म पुर्‍याउने छन्— घरै बसीबसी । उनलेजस्तो दुःख पाउनुपर्ने छैन अब पाठकले । उनले जस्तो जोखिम मोलेर हिँड्नुपर्ने पनि छैन पाठकले अब । भोकै, पानीमा रुझ्दै, पसिना चुहाउँदै, लिगामेन्ट फाटेको खुट्टालाई आफैँले फकाउँदै अनि कसैको मान र अपमान सहँदै हिँड्नुपर्ने छैन कहिल्यै पनि पाठकहरूले अब । ती सबै दुःख त उनले हाम्रै लागि बेहोरेकै छन्— निरन्तर निरन्तर ।

प्रतीक कतै कवि भएका छन् यस किताबमा । कतै इतिहासकार भएका छन् । कतै-कतै त गायक पनि । देशका ७६ जिल्ला घुमिसकेका उनलाई घुम्नु, डुल्नु र लेख्नु जत्तिको मज्जा अरू के पो होला र ? यो मेरो निजी अनुमान मात्र हो । हुन त अनुमानको भरमा हनुमान उत्रनु राम्रो होइन तर पनि मलाई त्यस्तै लागेको छ ।

उनले राराका छेउमा बसेर लेखेको कविता साँच्चै नै हृदयस्पर्शी लाग्यो । उनी लेख्छन् …

“अब एउटै कुराको मात्र डर छ

कहीँ तिम्रो मृत्यु

यो देशका लागि उत्सव नबनोस्

र आर्यघाटमा

तिम्रो चिता जलिरहँदा

मुलुकमा कतै दीपावली नहोस् … ।”

यो कविताले देशका वर्तमान नेतृत्वलाई बाण हानेको छ । कस्सेर दनक दिएको छ । पुस्तकमा उनले आफ्ना आक्रोशहरू यसरी नै कवितामा पोखेका छन् ।

सायद २०४०/४२ सालतिर होला, उनी पाल्पाको कृषि कार्यालयमा सुब्बास्तरको जेटी भएर जागिर खान आएका रहेछन् । पाल्पामा जन्मे, हुर्केको म, त्यति वेला उनीसँग पाल्पामै भेट्न नपाए पनि त्यो उज्यालो कर्णाली पुस्तकमार्फत यति वेला भेट्न पाएको छु । अक्षरको नातोले जोड्दै गएर यसरी नै भेट्ने अवसर मिलेको छ यति वेला ।

पढ्दा पुस्तक रसिलो छ । कतै-कतै कुरो नबुझेर कसिलो पनि छ । सरल शब्द, वाक्य छन् तर त्यहाँको रैथाने भाषाको प्रयोगले गर्दा ठाउँ-ठाउँमा कुरो बुझ्न हम्मे-हम्मे पनि पर्छ । यो वेलामा लेखकले दिएका उही छन्दका फुटनोटहरू खुबै उपयोगी साबित हुन्छन् । यति वेला आएर लाग्छ, उनले कर्णाली जानुभन्दा अघि नै त्यहाँका बारेमा लेखिएका पुस्तकहरू धेरै समय लगाएर मज्जाले पढेँ भनेको सत्य रहेछ । नत्र उनको लगौँटी फुस्काइदिने थियो कर्णालीले । कर्णालीको यात्रा गरेर थकित छैनन् । बरु, त्यहाँको वैभव देखेर चकित-चकित छन्— प्रतीक ढकाल ।

“करनाली उन्चलको बयान को गन्न सक्छ र ?

पुराना पुराना कुडा को उदिन्न सक्छ र ?”

सायद यो गीतले भनेजस्तै कर्णालीको बयान थोरै समय घुमेर, धेरै शब्दले समेत गर्न कठिन छ । त्यहाँको भूगोल, भाषाले भावनामा केही तरङ्ग ल्याउन भने सक्ने छ । त्यो उज्यालो कर्णाली नामको यो पुस्तक कर्णाली क्षेत्रका लागि एउटा इतर कर्णालीवासीले दिएको हालसम्मकै सबैभन्दा सुन्दर उपहार हो । प्रमीथसले स्वर्गबाट ल्याइदिएको आगाको झिल्कोजस्तै हो— यदि कर्णालीवासी र कर्णालीका सरकारहरूमा चेतना भया ।

उनको लेखनयात्रा निरन्तर यसै गरी अघि बढिरहोस् ! हार्दिक शुभेच्छा !