ए सेती !

तिमी बगिरहेछौ गर्भमै

र त

तिम्रा पोखरेली सन्तानहरू

नेपाली साहित्यका गहना बनेका छन्

आमाका अनन्त मायाँका खानिमा

यी गहना बन्ने खानि पनि तिमी नै होइनौ र !

त्यही लामो सूचीबाट केही नाम मैले सापटी लिएँ है

सरूभक्त, हरिदेवी, अलि मियाँ, विनोद गौचन, तीर्थ श्रेष्ठ

उषा शेरचन अनि प्रभा बराल पनि तिम्रै कोखमा जन्मेका होइनन् र सेती !

विश्व्यापी कोरोनाका विभिन्न भेरियन्टको प्रभावका बिच प्रभा बरालको एक उपन्यास केही समयअघि बजारमा आयो । बजारमा आएका अरू कृतिझैँ आएर पाठकका हातमा नपुगी हराएन; कतै गोदाममा चाङ लागेर थन्किएन, बरु निरन्तर चर्चा र परिचर्चा भइरहेको छ, पाठक तथा समीक्षकको प्रशंसा बटुलिरहेको छ । एक दशकअघिको दुईपटक श्रीमान्‌सँगै जापान भ्रमणमा रहेकी प्रभाले त्यति वेला देखेसुनेका घटनाहरूलाई उपन्यासमा उनेकी छन् । प्रभाको ‘फिलिङ्गो’ नामक उपन्यासमा प्रवासमा नेपालीहरूले भोग्नुपरेका तिता यथार्थलाई मिठो ढङ्गले आख्यान बुनेकी छन् ।

पैसा कमाउन विभिन्न बहानामा जापान पुगेका नेपालीहरू कस्तो सङ्घर्ष गर्न बाध्य छन् भन्ने तथ्यलाई दृश्यात्मक तरिकाले पाठकका दिमागमा तरेली खेल्छन् । महिला हुन् वा पुरुष सबैले पैसा कमाउन सक्दो कोसिस गर्छन् नै र दुवै थरीले गरेका सङ्घर्षको सन्दर्भ खोतल्दै तुलनात्मक रूपमा हेर्दा उपन्यासकार प्रभाले महिलाले भोग्नुपरेका सङ्घर्षका पाटाबाट कथालाई पस्केकी छन् ।

नेपालमा मात्र होइन जतिसुकै सभ्य र सुसंस्कृत भनिएको देशमा गए पनि महिलाले पाउने लोग्ने र भोग्ने पाटो उही र उस्तै भएको देखाएकी छन् । महिलाका पक्षबाट लेखिरहँदा पुरुषलाई महिलाले कसरी फसाउँछन् भन्ने तथ्यलाई सँगसँगै प्रस्तुत गर्नुले खराब महिला वा पुरुष हुनुमा नभई व्यक्तिमा निहित हुन्छ भन्ने कुरा सन्तुलित रूपमा उपन्यासमा राखिएको छ । सबै महिला असल हुँदैनन् भन्ने तथ्यलाई ‘मिसावा’ पात्रमार्फत देखाउन खोजिएको छ भने सबै पुरुष खराब हुँदैनन् भन्ने कुरा सीमान्ती\लाई विभिन्न कार्यमा सहयोग गर्ने पात्रहरू र खास गरी निर्भयको मेनेजरमार्फत प्रस्तुत गर्न खोजिएको छ । मूलतः महिलाको आत्मनिर्भरताको बाटो पहिल्याउन शिक्षित मात्रै होइन चेतना पनि आवश्यक छ भन्ने कुरालाई सीमान्तीलाई एक महिला प्राध्यापकले दिएको उत्प्रेरित भावले पुष्टि गर्न खोजेको छ ।

चन्द्र खड्का

जापानमा रहेका श्रीमान्‌लाई भेट्न भिनाजुको साथमा पुगेकी सीमान्ती आधुनिक प्रविधिसँग अनभिज्ञ छे । लामो अन्तरालमा भेटिएका जोडीको कामातुर परिवेशलाई सहज रूपमा प्रस्तुत गरिएको छ । सुरुमा भाषाको समस्या र जितेन्स्या (साइकल) चलाउन नजान्दाको कठिन यात्रा हुँदै नवीन परिवेशमा सुजु दिदीको सहयोगमा सानोतिनो काम गर्न सिक्छे । सुजु सीमान्तीकी छिमेकमा रहने एक नेपाली महिला हुन् । जापानीहरूको उभिएर गर्ने कार्यशैली तोइरे अर्थात् शौचालय महिलाले सफा गर्ने चलन त्यति सहज नभए तापनि बाध्यतामा गर्दै स्वार्जनमा लाग्छे । विभिन्न कामहरू सिक्दै र गर्दै भाषाको ज्ञान लिएपछि काम गर्न अनुकूल हुन थालेको अनुभव गर्छे । अध्ययनका लागि आएका धेरै नेपाली अवैधानिक रूपमा काम गर्न बाध्य हुनुपरेका घटनाहरू पनि सीमान्तीले देख्न पुग्छे ।

काम गर्दै विभिन्न नेपालीहरूसँग भेट्नुका साथै जापानी बौद्धमार्गी एक कट्टर समूहसँग समेत आध्यात्मिक सन्दर्भमा भेट हुन्छ । धेरै रुचि नभए तापनि अध्यात्मका माध्यमले शान्ति मिल्छ भने के नै फरक पर्छ र भन्ने आशयले केही समय प्रार्थनामा पनि पुग्छे सीमान्ती र बिस्तारै श्रीमान् निर्भयको अनुपस्थितिमा पनि जितेन्स्या लिएर जता पनि पुग्न सक्छे । विभिन्न नेपालीहरूलाई भेट्ने सन्दर्भमा नेपालबाट एक गोष्ठीमा भाग लिन पुगेकी महिला प्राध्यापकले स्वनिर्भरताको आदर्शपूर्ण भनाइलाई आत्मसात् गर्दै बिस्तारै त्यही मार्गमा लाग्छे । झट्ट हेर्दा यो निर्भयप्रतिको धोका हो तर ऊ स्वयं जापानी केटी मिसावासँगको एकोहोरो प्रेममा फसेको छ । यो गुह्य रहस्य थाहै नपाई ऊ आफ्नो कमाइको केही हिस्सा बचत गर्न थाल्छे र यही काम नै उसको जिन्दगीको महत्त्वपूर्ण निर्णय बन्न पुगेको छ ।

अठारौँ शताब्दीको औद्योगिक क्रान्तिपछि विश्व पुँजीवादी युगमा प्रवेश गरेको मानिन्छ । यही शताब्दीको मध्यतिर मार्क्सले पुँजीलाई श्रमसँग जोडेर गरिएको दार्शनिक व्याख्याले दुनियाँलाई फरक सोच दियो । पुँजीवादी समाजमा नारी वा पुरुष सबैको एउटै लक्ष्य भनेको अधिकतम श्रमका माध्यमले अधिकतम आम्दानी गर्ने भन्ने नै देखिन्छ । नेपाली समाजमा भने पुँजीवादी युगका पुरुषवादी सोचले महिला भनेका पुरुषका कमाइमा बाँच्ने परनिर्भर प्राणीका रूपमा लिइने गरिएको छ । आत्मविश्वासको कमी र सहकार्य एवं सहयोग अपेक्षाकृत रूपमा नमिल्नाले अधिक नेपाली महिलाहरू परम्परागत ‘महिला’ जिन्दगी बाँचिरहेका छन् । शिक्षा र चेतनाको अभावका साथै सामाजिक संस्कारका कारण पनि नेपाली महिलाको अवस्था पूर्ण रूपमा फेरिएको भेट्न सहज छैन । यद्यपि नारी अधिकार र चेतनाको फिलिङ्गाले सन् १९७० को दशकपछि मात्रै भरभराउने कोइला बन्ने अवसर फ्रान्स हुँदै विश्व परिवेशले पाएको सर्वविधितै छ । एक शताब्दी यसै चलिरह्यो तर नेपालमा अपवादबाहेकका सन्दर्भबाहेक भर्खरै केही दशकदेखि आत्मनिर्भरताको खोजी र व्यवस्थापनको चाँजोपाँजो हुन थालेको पाउन सकिन्छ ।

पछिल्लो जनगणनाको तथ्याङ्कले करिब २१ लाख जति नेपाली कुनै न कुनै किसिमले श्रम बेच्न परदेशमा रहेको प्रारम्भिक प्रक्षेपण गरेको छ । यही तथ्यलाई जापानमा अध्ययनका लागि विद्यार्थी वा डिपेन्डेन्ट भिसामा रहेका नेपालीले भाषाज्ञानको अभाव र सिपमूलक कार्य गर्न नजान्दा कसरी महिलाहरूसमेत पुरुषको शौचालय निर्लज्ज सरसफाइको काममा व्यस्त हुनुपरेको भनी देखाइएको छ । अर्कातिर जापानमा समेत नेपालीद्वारा नेपाली नै ठगिनुपरेका उदाहरण पनि समावेश गरिएका छन् ।

उपरुल्लिखित सन्दर्भका साथै जापानीहरूको लगनशील भाव र मिहिनेत, धार्मिक स्वतन्त्रताभित्रको कट्टरता, (जितेन्स्या) साइकल चलाउने अनिवार्यता, साकुरा फुल्नु र हानामी पर्व मनाइनु प्रकृति र संस्कृतिको समन्वयात्मक प्रसङ्ग आदिलाई उपन्यासकारले आवश्यक मात्रामा जापानी भाषाका शब्दको उल्लेख्य प्रयोग गर्नु र नेपालका सन्दर्भ कम र तेत्तिसओटा उपशीर्षकमध्ये अधिकांश जापानकै सन्दर्भमा केन्द्रित हुनुले पाठकलाई जापानी परिवेश त्यसमा पनि नागोयामा सहरमा नेपाली युगलले ‘पोर्न’ भिडियो बनाएको सन्दर्भ (पृ.१७१), हाइकुको इतिहासको पृष्ठभूमि (मात्चुयामाका साहित्यकार सिकी जसले हाइकु सम्राट् माचुओ बासोलाई चिनाएका थिए), मात्चुयामा सहरको नामकरणको सन्दर्भ (पृ.२५७) केही प्रतिनिधि उदाहरण हुन् ।

डेढ दशकअघि पद्मावती सिंहको ‘समानान्तर आकाश’ उपन्यास पढिरहँदा सुस्मिता नामकी पात्रले गरेको सङ्घर्ष र प्राप्ति अनि अघिल्लो वर्ष प्रकाशित उषा शेरचनको ‘आधी’ उपन्यासकी चाँदनी पात्रले आफन्तैद्वारा बलात्कृत भएर बाँकी जिन्दगी सार्थकसँग बिताउन चाहँदा निरर्थक भएर कठोर कदम उठाउनुपरेको सन्दर्भ उपन्यासमा प्रस्तुत गरेका छन् । नारीद्वारा नारीकै पक्षमा लेखिएका यी उपन्यास विद्रोहको भाव देखाउन खोजिए तापनि सशक्त विद्रोह गर्न सामर्थ्य राख्न नसकेझैँ प्रतीत हुन्छ । यी नारीकृत उपन्यासका तुलनामा दुई दशकअघि प्रकाशित ‘समय त्रासदी’ की मूल पात्रले पुरुषको लिङ्गच्छेदन गरी छुट्टै संसारको निर्माणमा हिँडेको देखाइएको सन्दर्भ यस पङ्तिकारलाई बढी प्रभावकारी र सशक्त लागेको हो ।

माथि उल्लिखित नारीकृत दुई उपन्याससँग ‘फिलिङ्गो’ को कुनै सम्बन्ध छैन तर तीनैओटा उपन्यासका विषयवस्तु छनोट र पुरुषपीडित महिलाले ‘एनजिओ’ खोलेर आफूले जस्तै पीडा भोग्नेहरूका लागि बाँकी जीवन सफलसँग बिताएको देखाउन खोजिएको छ । यी सबै उपन्यासका महिला पुरुष उर्फ लोग्नेबाट पीडित छन् तर अन्य पुरुषको साथ र सहयोग आवश्यक मात्रामा पाएको देखाएर महिला अधिकारको खोजी गर्नु भनेको पुरुषविरोधी हुनु होइन भन्ने तथ्यलाई पुष्टि गर्न खोजिएको अनुभूत हुन्छ । अर्को समानता भनेको यी तीनैओटा उपन्यासमा पुरुषवादी सोचले सङ्कीर्ण विचार राख्ने लोग्नेका विरुद्ध छ भने उपन्यासकी नायिका वा मूलपात्रलाई सहयोग गर्ने कुनै एक महिला देखाइएका छन् । यी समान प्रकारका रमाइला सन्दर्भ सायद अरू उपन्यासमा पनि होलान् तर यस पङ्तिकारले अध्ययन नगरेको हुन सक्छ । अर्को कुरा यस पाठक प्रतिक्रियामा तुलनात्मक अध्ययन गर्न खोजिएको नभएर सामान्य सङ्केत मात्रै गर्न खोजिएको हो ।

समग्रमा भन्नुपर्दा यो लेखन कुनै बौद्धिक अध्ययनको उपज नभई एउटा कृति अध्ययनपछिको पाठक प्रतिक्रिया मात्र हो । पचासको दशकदेखि कविता लेखनबाट साहित्य क्षेत्रमा प्रवेश गरेकी भनिएको प्रभा बरालको यो पहिलो आख्यान कृति हो । यसले मूलतः प्रवासमा श्रीमान्‌सँग डिपेन्डेन्ट भिसामा बसेर ‘इन्डिपिन्डेन्ट’ महिला बनेर नारी सबलता र आत्मनिर्भरताको सन्देश दिन सफल बनेको देखिन्छ । तेत्तिसओटा उपशीर्षकमा विभाजित उपन्यासमा ‘प्रार्थना’(पृ.२३२-३७) अनावश्यक पाना थप्ने काम मात्रै गरेको निरर्थक लाग्छ भने लगत्तैको उपशीर्षक ‘गुडियाको गाउँ’ (पृ.२३८) उपसंहारतिर लम्कने गतिलो सन्दर्भ देखिन्छ । जे होस् उपन्यासकी मूल पात्र सीमान्तीको प्रवासमा सङ्घर्षपूर्ण जीवनपछिको सफलताउन्मुख आत्मसम्मानमा बाँच्न चाहने नारीका आदर्श बनेको देखाएको नारीकेन्द्रित उपन्यासले पाठकलाई पठनीय कृति र नेपाली साहित्यलाई सङ्ग्रहणीय पुस्तक दिएकामा लेखक प्रभा बराललाई आख्यानपरक लेखनमा हार्दिक शुभकामना एक साहित्यानुरागीको !