![](https://sahityapost.com/wp-content/uploads/2023/02/WhatsApp-Image-2023-01-27-at-11.02.31-PM.jpeg)
विषयप्रवेश
यस विश्व ब्रह्माण्ड सृष्टिका अनेकौँ कथा, मान्यता, धारणा, विश्वास र सिद्धान्तहरू रहेका छन् । यस्ता मान्यता र विश्वासहरूलाई आधार बनाएर विश्वसाहित्यमा धेरै रचनाहरू भएका छन् । पौराणिक कथा, मिथक आदि हाम्रा प्राचीन धरोहरहरू हुन् जसले हामीलाई प्राचीन सभ्याता, इतिहास आदि बुझ्ने र खोज्ने आधार दिएको हुन्छ । मिथकमा कुनै पनि समाज, जाति, धर्म वा वर्गका सांस्कृतिक विश्वास, धार्मिक मान्यता, लोक आस्था, लोक विश्वासी, लोक जीवनका अद्भुत परम्परा आदि समेटिएको हुन्छ ।
बाइबलको उत्पत्ति (जेनिसिस) अध्यायलाई हिब्रू भाषामा गरिएको मीमांसा ( मिद्रास) मा आदम र लिलिथको सृष्टि एकैसाथ भएको हो भनिएको छ । उनीहरूका पिठ्युँ एकाअर्कामा टाँसिएका थिए अनि पछि पिठ्युँहरू छुट्याइएपछि मात्र पुरुष र नारी अलग भएका हुन् र दुवै पतिपत्नी भएका हुन् भन्ने कथा पाइन्छ । यसै कथ्यलाई आधार मानेर उपन्यासकार मणिकुमार प्रधानले लिलिथ उपन्यासको रचना गरेका छन् । यहुदी पुराकथा, लोकसाहित्य आदिमा कतै लिलिथलाई आदमको पहिलो पत्नीका रूपमा देखाइएको छ, कतै माताका रूपमा प्रस्तुत गरिएको छ भने कतै राक्षसनी, डँकिनी र जादुगरनीका रूपमा पनि उल्लेख गरिएको पाइन्छ । यहुदी लोक विश्वासमा रहेकी मिथकीय पात्रा हुन् लिलिथ । उपन्यासकार मणिकुमार प्रधानले लिलिथलाई नेपाली साहित्यमा अलिक भिन्नै रूपमा चिनाउने काम गरेका छन् । उपन्यास २६ ओटा अध्यायमा समेटिएको छ । प्रत्येक अध्यायलाई कथा सुहाउँदो शीर्षक दिएका छन् अनि त्यस शीर्षकसँगै कुनै उक्ति, कवितांश, महान् वाणी, बाइबलका अंश आदि पनि राखेका छन् । मणिकुमार प्रधानका अन्य प्रकाशित कृतिहरू हुन्- आज रमिता छैन (कथासङ्ग्रह, १९८६), देश परदेश उपन्यास, १९८९), सञ्चयन (रचनासङ्ग्रह, २०११), फर्की आए मुना मदन (उपन्यास, २०१५), मुलुकभित्र (कथासङ्ग्रह, २०१९), लिलिथ (उपन्यास, २०२०), बादलको छाना (बुकुने कथासङ्ग्रह, २०२१) । आफ्ना प्रायः सबै कृतिहरूमा परम्पराबाट अलग केही नयाँपन दिने प्रयास गरेका छन् स्रष्टा मणिकुमार प्रधानले ।
विषयविस्तार
नेपाली साहित्यमा नौलो कथावस्तु भएको लिलिथ उपन्यास हिब्रू मिथकमा आधारित छ । कथा दार्जीलिङको एउटा गाँउबाट सुरू हुन्छ । सुरुका तीन अध्यायसम्म दार्जीलिङको गाँउमा नानीहरू अज्ञात कारणले मरेका वर्णन पाइन्छ । अध्याय चारबाट प्रथम पुरुष शैलीमा लिलिथले आफ्नो कथा सुनाउँदै आफूलाई यसरी चिनाउँछे- “संसारको आदिनारी म लिलिथ, संसारको आदिपुरुषको प्रथम पत्नी । पुरुषको निरङ्कुश- तन्त्र र देहरूपी कारागारबाट मुक्त भएकी म पितृसत्ता विद्रोही नारी । स्वतन्त्रताका निम्ति मैले आफ्नो पतिलाई त्यागेकै हुँ । इडनको बगैँचाको सुख र सम्पन्नतालाई त्यागेर एकलोपनलाई अँगाल्न सक्ने म नै हुँ लिलिथ ।”
![](https://sahityapost.com/wp-content/uploads/2021/05/RK2.jpg)
डा. राजकुमारी दाहाल (सिलगढी)
हिब्रू मिथकअनुसार नारी र पुरुषलाई जगदीशले एकसाथ उभयलिङ्गी रूपमा सृष्टि गरेका हुन् । आकाशबाट झरेको दैवी अस्त्रले उनीहरूलाई दुई फ्याक पारेर छुट्याइएको हो । यसरी एकैचोटि सृष्टि भएका हुन् – आदिपुरुष आदम र आदिनारी लिलिथ । यसैले नारी पुरुषको सहयोगी मात्र होइन समानाधिकारी पनि हुन् तर आदमको सोच बेग्लै छ । सृष्टिकर्ताले नारी (लिलिथ) लाई पुरुष (आदम) का निम्ति सृजना गरिएको हो भन्ने ठान्छ आदम ; यसैले उसको दम्भ बोल्छ “तिमी नारी । यो नारीको विशिष्टता वा अस्मिता मैले प्रदान गरेको हुँ । यसैले यो विशिष्टताको मर्यादा राख । कहिल्यै नभुल्नू – नारी हमेसा पुरुषमुनि । पुरुष हमेसा नारीमाथि ।” लिलिथको मनमस्तिष्कले यसलाई स्विकार्दैन, यसैले भन्छे “तिमी पुरुषले भनेको म ‘नारी’ र तिमी ‘पुरुष’ को अधिकार बराबर ।” तर आदम नारी र पुरुष बराबर भन्ने मा सहमत राख्दैन । यसैले आफूमाथि पुरुष एकाधिपत्यको विरुद्ध प्रतिवाद गर्दै आदमलाई त्यागेर जगदीश (सृष्टिकर्ता) कहाँ गएर आफ्नो वृत्तान्त सुनाउँछे तर जगदीशले विद्रोही लिलिथलाई भन्छन् – “लिलिथ तिमीले तिम्रो पतिको आज्ञा उलङ्घन गऱ्यौ । तिमी हठी भयौ । स्वतन्त्रता तिमीलाई दिइएकै थियो तर तिमी सन्तुष्ट भइनौ निरङ्कुश स्वतन्त्रताको चाहना गऱ्यौ तिमीले । यसैले आजदेखि यो स्वर्गको दैलो तिम्रा निम्ति बन्द भएको छ ।” यसरी स्वर्गबाट पनि ऊ निर्वासित बन्छे ।
लिलिथ आत्मालोचना गर्छे – “हो मैले स्वतन्त्रता चाहेकी थिएँ । मैले आफ्नो हक पाउन चाहेकी थिएँ तर जगदीशको आँखामा भने म अपराधी भएँ । स्वर्गबाट म प्रताडित भएँ । जे होस्, इडनको रमणीय बगैँचाभन्दा सुन्दर थियो मेरो यो उडान मुक्तिको ।” त्यसपछि आदम र जगदीशसँग प्रतिशोध लिनका निम्ति लिलिथले लालसागरलाई आफ्नो वासस्थान बनाउँछे र त्यहाँबाट पैशाचिक र ध्वांसात्मक क्रियाकलाप गर्न थाल्छे अनि आफ्नो उद्देश्यमा सफल पनि बन्छे । यता जगदीशलाई पनि पृथ्वीमा आफूले सृष्टि गरेको मानव जाति लोभ, ईर्ष्या, हत्या बलात्कार जस्ता दुष्कर्ममा लिप्त भएको देखेर दुःखी बन्छन्, आफूले गरेको सृष्टिमा पछुतो गर्छन्, उनी लिलिथको सहयोग चहान्छन् ; यसैले पृथ्वीमा भएका नवजात शिशुहरूलाई तिनीहरूका मातापिताबाट खोस्ने आदेश लिलिथलाई दिन्छन् । किनभने ती सबै शिशुहरू ठुला भएर पाप कर्ममा होमिने छन् अनि धरतीमा पापको मात्रामा वृद्धि हुनेछ । यसैले ती निर्दोष बालबालिकाहरूको उद्धार हुनेछ । जगदीशको कठोर आदेशमा लिलिथको मातृत्व/ नारीत्व यसरी बोल्छ- “जगदीशको लीला मैले अझसम्म बुझ्नै सकेकी छैन । एकातिर सृष्टि गर्नुहुन्छ अर्कातिर सामूहिक संहारतिर लागिपर्नुहुन्छ । छोराछोरीहरू दुष्ट, बदमास भए भन्दैमा आमाबाबुले तिनीहरूलाई काटिहाल्दैनन् मारिहाल्दैनन् ।” हजारौँ वर्ष पर्खेर जलप्रलयद्वारा नूहको परिवारबाहेक सबै प्राणीधारीको संहार गर्छन् । त्यसपछि नूह र उनका पुत्रहरूलाई आशिष् दिन्छन्- “फल, फूल, वृद्धि गरेर पृथ्वी भरिदेऊ” अनि उजाड पृथ्वीमा नूहले आफ्ना पुत्रहरूद्वारा वंश फैलाउँदै जान्छन् । यसरी नै यस सृष्टिको क्रम चलिरहन्छ, चलिरहेको छ ।
विद्रोही हुन डराएका नारीहरूप्रति समर्पण
यस उपन्यासलाई लेखकले विद्रोही हुन डराएका नारीहरूप्रति समर्पण गरेका छन् । मूल कथावस्तु हिब्रू मिथक र बाइबलीय कथामा आधारित भए तापनि यस उपन्यासको लेखकीय दृष्टिकोणमा नारीवादी स्वर टड्कालो रहेको देखिन्छ । लेखकले आफ्नो अधिकारका निम्ति लिलिथलाई पटक-पटक बोल्न लगाएका छन् । जगदीशले एकैसाथ सृष्टि गरेका हुन्, आदम र लिलिथलाई । यसैले लिलिथले आदमसँग समानताको माग राखेकी थिई तर आदमले दुवै समान हुन् भन्ने कुरो मान्दैन र भन्छ – “तिमीलाई मेरा निम्ति बनाइएको हो ।” लिलिथ आफूमाथि आदमको आधिपत्यलाई विरोध जनाउँछे अनि पितृसत्तात्मक नियन्त्रणबाट मुक्त हुन्छे । लिलिथ आफ्नो परिचय यसरी दिन्छे – ‘पुरुषको निरङ्कुश- तन्त्र र देहरूपी कारागारबाट मुक्त भएकी म पितृसत्ता विद्रोही नारी ।’
लिलिथजस्ता आफ्नो हक र अधिकार खोज्ने नारीको आवश्यकता सदैव रहन्छ । यसैले लेखक जगदीशका मुखबाट भन्न लगाउँछन् – ‘जबसम्म मानव जाति यो पृथ्वीमा रहन्छ पुरुष जातिको अत्यचार र व्यभिचार नारीमाथि भइ नै रहन्छ । त्यस समय तिम्रो उपस्थितिको नितान्त आवश्यकता पर्न जान्छ । पुरुष जातिको नारीमाथि हुने अत्याचारहरूको विरोध गर्न तिमी सधैँभरि लिलिथ भएर बाँच्नुपर्नेछ । विद्रोही बन्नुपर्नेछ तिमी जसरी आदमको एकाधिपत्यमाथि तिमी विद्रोही भएकी थियौ ।’
आफ्ना कर्महरूले विचलित हुँदा लिलिथलाई जगदीश यसरी सान्तवना दिन्छन् – “तिम्रो निगेटिभिटिले नै पृथ्वीमा साहसी नारीहरूले जन्म लिए । घातक हतियारविना निस्सहायहरूको पक्षमा लडिदिने नारी लडाकु मदर टेरेजा के साहसी लडाकु थिइनन् र ? अङ्ग्रेजहरूका विरुद्ध झाँसीकी रानी कट्टर र साहसी विद्रोहीको प्रतीक थिइनन् र ? निदरल्यान्डमा नारी समानाधिकारका निम्ति सङ्घर्ष गर्दै प्रथम नारीवादकी संस्थापक विलहेलमिना ड्रकरले जन्म लिइनन् र ? यसरी लेखक प्रत्येक युगमा लिलिथीय चरित्र (आफ्नो हक र अधिकार खोज्ने, विद्रोही, साहसी, लडाकु) भएका नारीहरूको उपस्थिति चाहन्छन् ।
अन्य प्रसङ्ग
यस उपन्यासमा बाइबलको सृष्टिकथा, देवलोक र पाताल लोकका कुराहरूदेखि लिएर द्वापर युगका रत्नमाला र पूतनाको कथा, वर्तमान समयको दार्जीलिङको परिस्थिति, गोर्खाल्यान्ड आन्दोलनका प्रसङ्गहरू, वीर नेपालीहरूको जातीय हतियार खुकुरीको प्रसङ्ग अनि यसै खुकुरीको भरमा भविष्यमा वीर गोर्खा जातिले विश्वयुद्धमा वीरता देखाउनेछन्, आफ्नो देशलाई परतन्त्र हुनबाट बचाउनेछन् जस्ता जगदीशका भविष्यवाणी पनि कथावस्तुसँगै आएका छन् । कुटनीति, लोभ, लालच, सत्ताको मोह, यौन, रिस, अहङ्कार, महत्त्वकाङ्क्षा, हिंसाजस्ता मानवीय प्रवृत्तिहरू सृष्टिको सुरुदेखि नै रहिआएका देखिन्छन् । यसरी सृष्टिकथा, मिथकीय घटना र पात्र, पौराणिक प्रसङ्ग, वर्तमानका घटना र पात्रहरू प्रयोग भएको यस उपन्यासको कथावस्तुमा समय, काल र सीमाका बाँध भत्केर एकाकार भएका छन् । दार्जीलिङको एउटा गाउँबाट सुरु भएको कथाले सत्ययुग, द्वापरयुग र कलियुगसम्मको फेरो लगाएर दार्जीलिङको त्यसै गाँउमा समाप्त भएको छ ।
लिलिथ उपन्यासको सारगर्भित भूमिकामा मनप्रसाद सुब्बा यसो भन्छन्- हिब्रू लोकाख्यान- बाइबलीय मिथक – हिन्दू पौराणिक मिथक > दार्जीलिङे गोर्खा जाति > यो जातिको सङ्घर्षको इतिहास आदि कुराहरू एकापसमा सहजतापूर्वक समागम भई मिथकहरू नै विनिर्मित भएका अनि सार्वकालिक – सार्वस्थानिक बृहत्तर आख्यान निर्माणको प्रयास देखिन्छ यस उपन्यासमा ।
![पोस्ट पेज – लेखको तल 1st (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/11/1200-100_GIF.gif)
![पोस्ट पेज – लेखको तल 2nd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/Digital-Fraud-900X100-px.gif)
![पोस्ट पेज – लेखको तल 3rd (Banner Ad)](https://sahityapost.com/wp-content/uploads/2023/12/1000x100.gif)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
![](https://sahityapost.com/wp-content/uploads/2023/03/fonepay_payments_fatafat.png)
![](https://sahityapost.com/wp-content/uploads/2023/03/png.png)
र यो पनि पढ्नुहोस्...
![](https://sahityapost.com/wp-content/uploads/2021/06/nepali-upanyas-ka-kehi-ajambari-768x394.jpg)