
नेपाली नियात्रा साहित्यमा डा. दामोदर पुडासैनी ‘किशोर’ (२०१९)को छुट्टै पहिचान छ । ग्रीष्मको नीलो बतास (२०७८) लेखक पुडासैनीद्वारा रचिएको पछिल्लो नियात्रासङ्ग्रह हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यस सङ्ग्रहमा लेखक पुडासैनीका २३ नियात्राहरू सङ्गृहीत छन् । पुस्तकको भूमिका वरिष्ठ साहित्यकार तथा नेपाली नियात्रा विधाका शिखर व्यक्तित्व डा.तारानाथ शर्माले लेखेका छन् । शर्माले ‘नेपाली नियात्रा साहित्यको विशेष कृति’ शीर्षकमा यस कृतिले खप्तड र त्यस वरिपरिको परिवेशलाई राम्ररी चिनाएको उल्लेख गरेका छन् । उनले लेखक पुडासैनीका नियात्रा पढ्न पाएकोमा प्रसन्नता प्रकट गर्दै लेखक पुडासैनीका कलमबाट यस्तै अन्य नियात्राकृतिको अपेक्षासमेत गरेका छन् ।
प्रस्तुत नियात्रासङ्ग्रहमा लेखक दामोदर पुडासैनी ‘किशोर’को यात्राको पहिलो र महत्त्वपूर्ण गन्तव्य डोटी जिल्लाको खप्तड नै रहेको छ । काठमाडौँदेखि खप्तडसम्मको यात्रामा लेखकले २०७०सालको जेठ महिनाका १७गतेदेखि २३गतेसम्मका दिनहरू व्यतीत गरेका छन् । यस अवधिमा गरिएका यात्रामा आधारित १९ नियात्रा र त्यसअघि २०६८साल माघमा डडेल्धुराका दुई दुर्गम गाउँ मणिलेक र बेलापुर जाँदा अनि छिमेकी देश भारतको नैनीतालभ्रमणका बेलामा गरेका यात्रानुभवलाई समेटेर तयार पारिएका चार नियात्रा गरी जम्मा २३ नियात्रालाई यहाँ सङ्कलन गरिएको छ । यी नियात्रामा लेखकले यात्राको अपार आनन्दको अनुभव गरेका छन् । ‘काँचो रगतको अभिलेख’बाट यो कृति प्रारम्भ गरिएको छ । यसमा लेखकले आफ्नो जन्मभूमि काठमाडौँबाट बेलाबेलामा स्वदेश तथा विदेशको यात्रामा निस्कने गरेको उल्लेख गरेका छन् । यहाँ उनले काठमाडौँ मुलुकको सङ्घीय राजधानी रहेको हुँदा विभिन्न सुविधाका लागि देशैभरिबाट मानिसहरू यहाँ आउने र ती मानिसहरूसँगै धेरै थरीका विकृति र विसङ्गतिहरू पनि भित्रिने गरेको बताएका छन् । लेखकले हाल काठमाडौँमा तरुनी आमाको तन चुसेर बुढेस कालमा घरबाट निकाल्नेहरूको बिग्बिगी छ भन्दै यहाँका अहिलेका विसङ्गतिप्रति कटाक्ष गरेका छन् । उनले सुविधा र भौतिक संरचनाका नाममा अहिले काठमाडौँको प्रदूषित वातावरणमा सास फेर्नका लागि स्वच्छ हावा पनि पाइँदैन भनेर चिन्ता व्यक्त गरेका छन् ।
त्यसैले पनि स्वस्थ तथा स्वच्छ हावामा सास फेर्नका लागि आफू राजधानीदेखि बाहिरिने गरेको बताएका छन् । त्यसै हुनाले आफ्ना कार्यालयको व्यस्तता र घरको व्यावहारिकताबाट फुर्सदिलो भएर २०७०साल जेठ महिनाको १७गतेका दिन मध्याह्न काठमाडौँको नयाँ बसपार्कबाट लेखक सुदूरपश्चिमको खप्तडलाई गन्तव्य बनाएर बझाङ जाने बसमा सवार हुन्छन् । यात्रा गर्न पाउँदा आफैँलाई समेत बिर्सने लेखक पुडासैनी बाहिरी वातावरणसँग रमाउँदै बसमा सवार सहयात्रीका गफमा मस्त हुन्छन् । जेठका दिन आकाशमा बादल लाग्ने र पानी पर्ने क्रम निरन्तर जस्तै हुन्छ । बेलाबेलामा उघ्रिन्छ बादलको घुम्टो अनि बन्छ घमाइलो संसार । बसमा सँगै यात्रारत एक भूतपूर्व भारतीय सैनिकले ‘चरीको के भर छ र रात काट्यो डालीमा बसेर’ गीतलाई थेगो बनाएर जीवनकथाका पोकाहरू फुकाउँछन् । तीन पत्नी र १८सन्तानका पिता उनले जीवनको नश्वरता तथा क्षणभङ्गुरतालाई मजाले व्याख्या गर्छन् र बाटो काट्ने मेसो निकाल्छन् ।
बर्खामासमा बेला न कुबेला खस्ने पहिरोले मुग्लिनमा केही बेर कुर्नुपर्छ यात्रु र तिनका वाहनलाई । मुग्लिनबाट गुडेको बसले झन्डै एक घण्टामा पु¥याउँछ रामनगर । आधा घण्टामा नै खानेकुरा खाइसक्नुपर्ने उर्दी लाग्छ चालक र सहचालकको । रामनगरमा अन्नभन्दा फलफूलतिर नै ढल्कन्छ लेखकको मन । पाकेका आँप, पोलेका हरिया मकै र स्याउले भरिन्छ पेट । रात पर्छ तर गाडीको गतिमा कुनै मन्दता हुँदैन । देवदहमा पुगेर गाडी फेरि लामो ताँतीमा उभिन्छ । आफ्नो पति पाकिस्तान पुगेकी४५वर्षीया अधबैँसे महिलाले २०वर्षीय पुरुषसित गर्दै गरेको चर्तिकलालाई उनैका जेठाजुले सार्वजनिक गरिदिँदा गाउँलेले ती दुवैलाई सास्ती दिएछन् । आखिरमा ती दुवै प्रहरी चौकीको शरण परेछन् । गाउँलेले तिनलाई छोड्नुपर्छ भन्दै सडकयातायात नै ठप्प पारेका रहेछन् । त्यहाँ पनि कुर्नुपर्छ लेखक र उनका सहयात्रीलाई झन्डै एक घण्टा । देवदहबाट रातको अन्धकारमा गुडेको बस बुटवल,गोरुसिङ्गे हुँदै मध्यरातमा भालुवाङ पुगेर केही बेरका लागि विश्राम लिन्छ । भालुवाङमा जेनतेन पेटमा चारो भर्ने काम हुन्छ ।
रातको अन्धकारलाई चिर्दै लेखक र उनका सहयात्री चढेको बस भालुवाङबाट पश्चिम हानिन्छ । अन्धकारमाथि प्रकाशको विजय हुन्छ । प्रकाशले नै जीवनलाई उत्कर्षतिर डो¥याउने गर्छ भन्ने भावलाई मनमा खेलाउँदै लेखक अगाडि बढ्छन् । बाँकेको कोहलपुर पुग्दा निद्राले झ्वाम्मै छोप्छ उनलाई । बिहानको मिर्मिरे उज्यालो हुँदा कर्नाली पुलमा गाडीले पु¥याउँछ । त्यहाँ माछा मार्ने माझी र पसलेहरूको कर्नालीका माछाको किनबेच र मोलतोल गर्दै गरेको दृश्य उपस्थित हुन्छ । घाम झुल्केर परिवेश रङ्गिदै गर्दा सडक छेउछाउका बस्तीमा जीवन चलायमान हुन थाल्छ । घोडाघोडी ताल, पहलवानपुर, चौमाला छिचोलेर कैलालीको अत्तरिया पुग्दा त जेठको घाम मजाले छिप्पिइसकेको हुन्छ । अत्तरियाबाट मोडिन्छ गाडी गोदावरीतिर । मेघको गर्जन र घनघोर वर्षासँगै उकालिन थाल्छ बस । एउटा उकालो अर्को उकालो, त्यसपछि फेरि उकालो । उकालैउकालाको शृङ्खला पार गर्दै अगाडि बढ्छ बस । बसभित्र बैतडी, डडेल्धुरा र डोटी जाने यात्रु छन् खचाखच । अपरिचितसँग पनि तुरुन्त परिचित बन्न सक्ने खुबी भएका लेखक पुडासैनी सहयात्रीसँग गफगाफमा रमाउँदै यात्रारत हुन्छन् । बुढीतोला, नाचेन्थली र खानीडाँडा हुँदै बसले लेखकलाई भासुको भिर नजिकै पु¥याउँछ । त्यसको केही बेरपछि नै सहजपुर पुग्छन् लेखक र उनका सहयात्रीहरू । त्यहाँबाट अघि बढ्दा कैलालीको अन्तिम सिमाना फल्टुँडे डाँडा पुगिन्छ । त्यहाँबाट डोटी जिल्ला टेकेको बसले केही बेरपछि बुडर पु¥याउँछ । बुडरबाट अघि बढ्दा गाडी गौराबजार पुग्छ अनि हल्बुडे लेकको चिसो सिरेटोले सेकाउँदै दिउँसोको खानाका लागि डडेल्धुराको भातकाँडा पुगेर विश्राम लिन्छ । भातकाँडामा दिवाभोजन गरेपछि अगाडि बढेका लेखक स्याउली बजार पुगेपछि बझाङ जाने बसलाई छोड्छन् र ओर्लिन्छन् । त्यहाँ उनको आफूसँगै खप्तड जाने सहयात्री सडक विभागका इन्जिनियर केशव आचार्यसित भेट हुन्छ । आफ्नो यात्रामा साथ दिने सहयात्रीसँग भेट हुँदा दङ्ग पर्छन् उनी ।

चूडामणि काफ्ले
डडेल्धुराको स्याउली बजारबाट दिउँसोको दुई बजे इन्जिनियर साहेबकै गाडीमा सवार भएर थालिन्छ डोटीतिरको यात्रा । अब सेती नदीको किनारै किनार अघि बढ्छ उनीहरू चढेको गाडी । बानेडुङ्ग्रेसैनी र पचनाली गाउँ हुँदै उनीहरू पुग्छन् कुलपाते बजार । कुलपातेमा १३महिना साउदीको गर्मी खाएर स्वदेश फर्केपछि लस्सीको बेपार थालेका साहुले मिठो लस्सी खुवाउँछन् । चिसो लस्सीले आँतै शीत्तल हुन्छ । त्यसपछि पुनः थालिन्छ पूर्वतिरको यात्रा । दिपायलको पिप्पला बजारमा स्याउ किनेर झोला भरेपछि गाडी हानिन्छ सिलगढीतिर । केही बेर अघि छोडेको सेतीसँग फेरि जम्काभेट हुन्छ । सेती नदीको पुल तरेर उकालिन्छ गाडी । सिलगढी बजारलाई बायाँ पारेर अझै उकालिन्छन् लेखक र उनका सहयात्री । साँझसम्ममा झिँग्राना पुग्ने दाउ हुन्छ उनीहरूको । चालक जीवन कार्की पनि निकै फुर्तिला र जाँगरिला छन् आफ्नो ड्राइभिङमा । घाम डाँडामा पुग्नै लाग्दा गाडी बगलेक पुग्छ । बगलेक बजारले चिया र बिस्कुटले स्वागत गर्छ नवागन्तुकको । बगलेकबाट अलिकति अगाडि जानासाथ पहिरो आएर बाटै छेकिदिएपछि गाडी छोडेर थालिन्छ पैदल हिँडाइ । केही समय हिँड्दै गर्दा घाम अस्ताउँछ पश्चिमतिर । झमक्क साँझ पर्दा झिँग्राना फाइभ स्टारमा न्यानो स्वागत गर्छन् एक्ला प्रेमबहादुर साउदले लेखक र उनका सहयात्री साथीको । जङ्गलको बिचमा रहेको झिँग्राना होटलमा बास पर्छ । त्यसको नजिकै खप्तड राष्ट्रिय निकुञ्ज रहेकाले रातभरि जङ्गली जनावरको त्रासले मुटुको ढुक्ढुकी बढाइराख्छ । अब पाङ्ग्राको सहयोग पनि रहेन ; जति सकिन्छ आफ्नै गोडाको भर ।
जेठ १९गते बिहानै उठेर खप्तडका लागि झिँग्रानाबाट लेखकको जङगलैजङ्गलको पैदल यात्रा सुरु हुन्छ । अघि बढ्दै गर्दा बाटामा दुई सैनिक मित्रसँग भेट हुन्छ । गफगाफ गर्दै जाँदा बाटैमा भालुको बथानसँगै जम्काभेट हुन्छ । मान्छे देखेपछि बाटो छोडी वनतिरै भाग्छन् भालुहरू । बीचपानी भन्ने ठाउँमा सैनिक अधिकृतले लेखक र उनका सहयात्रीलाई न्यानो आतिथ्य र दिवाभोजनले सत्कार गर्छन् । गन्तव्य प्राप्त नभएसम्म रोकिँदैन यात्रा । जङ्गलैजङ्गलको भय र त्रासले भरिएको यात्रा । जङ्गलमा गाई चराउँदै गरेकी एक महिलाले यसै वनमा एउटा बहुलाएको राँगो पसेकाले जोगिएर हिँड्न सल्लाह दिएपछि अझै बढ्छ त्रासको मात्रा । जङ्गल सकिएपछि विशाल पाटनमा पुग्छन् लेखक र उनका सहयात्री । बाटामा पर्ने पाटनमा फूलहरूको अनुपम सौन्दर्यले लट्ठ पार्छ बटुवाहरूलाई । बहुलाएको राँगाको त्रासलाई त्यो राँगो हिजो नै तिहुन बनेको खबरले निकै कम पार्दछ । बलभद्र नामका एक भद्र भेटिन्छन् बाटामा । यात्रामा निकै बेर साथ दिन्छन् उनले । आफ्ना अनुभवका केस्राबाट लेखकलाई मक्ख पार्छन् बलभद्रले । बाटामा खप्तड खोलो आउँछ । निश्चित बाटो र गन्तव्य लिएर हिँड्ने खोलो र अनिश्चित मार्ग र गन्तव्य लिएर हिँड्ने मानिसका विषयमा लेखाजोखा हुन्छ । पूर्वी र पश्चिमी दर्शनको पनि विवेचना गर्छन् लेखक । कृत्रिम र प्रदूषित सहरी संसारभन्दा लेकका यी पाटनको सौन्दर्य नै उच्च र महिमामय ठान्छन् लेखक । त्यो दिन छिरिपाटनस्थित खप्तड होटलमा नै हुन्छ बसाइ ।
छिरिपाटन खप्तडमा कृष्णदत्त अवस्थीले खप्तड र त्रिवेणी मेलाको बयान गर्छन् । लेखकले नजिकै रहेको खप्तड तालको अवलोकन गर्छन् । त्यसै ताललाई देवताको प्रतीक मानेर अछामबाट आएका एक हुल मान्छेले पूजा गर्छन् ; भाकल बुझाउँछन् । भीमबहादुर रावलले चलाएको खप्तड होटलमा नै हुन्छ दिवाभोजन । त्यसै होटलमा मीनबहादुर रावल नामका एक गोठालासित भेट हुन्छ । होटलमालिक भीमबहादुरले छिःछिः दुर्दुर् गरेका तिनले जिन्दगीभरि नुहाउने र लुगा धुने गर्दा रहेनछन् । आफ्नो शरीरका जुम्रा टिपेर खाने त्यस्तो मानिस देख्दा मानवसभ्यताले नै उपहास गरे जस्तो हुन्छ त्यहाँ । खप्तडमा लेखकले पाटनको सौन्दर्यपान गर्छन् । उनी खुब प्रसन्न हुन्छन् । राष्ट्रिय निकुञ्जको जङ्गलबाट हरिनलाई लखेट्तै आएको चितुवाले खप्तडकै पाटनमा जिउँदै आहारा बनाएको दृश्यले लेखकको मनै अत्याउँछ । खप्तडमा खप्तड बाबाको आश्रममा रहेको बाबाको मूर्तिमा उनको जीवन प्रतिबिम्बित हुन्छ । यस आश्रमले उनका बारेमा प्रचलित कथन, कहावत र चमत्कारपूर्ण क्रियाकलाप पनि जीवन्त बन्दछन् । यसै बिन्दुमा लेखकको खप्तड यात्राले चरमोत्कर्ष प्राप्त गर्छ । उनले प्रकृतिमा जीवनको तन्मयता हासिल गर्छन् । ढकमक्क फुलेको फूलैफूलको राजधानीले उनलाई मोहनी नै लगाउँछ । उनले त्यहाँ बादलको महोत्सव फेला पार्छन् । खप्तडमा विस्तारित असीमित पाटनले नयाँ उत्साह, उमङ्ग र स्फूर्ति प्रदान गर्छ । हावाका सुमधुर झोक्काले जीवनका नयाँ कथा सुनाउँछन् । नयाँ भूगोलको साक्षात्कारमा हृदयले अनौठो अनुभूति सँगाल्छ । नीलो जङ्गल, नीलो आकाश र नीला बादलराशिको त्रिवेणी खप्तडमा दुःखको भोगाइमा पनि सुखको अनुपम आनन्द प्राप्त हुन्छ ।
खप्तडमा नै भेटिएका वीरबहादुर ठगुन्नाले गङ्गादशहरा मेलाको बयान गर्दै मेलामा आउनका लागि निम्तो गर्छन् । ३३वर्षदेखि भारी बोकेर जीवन निर्वाह गर्दै आएका चुने बोहराले आफ्नो र यार्सागुम्बाको जीवनकथाको व्याख्या गर्छन् । अब बिस्तारै खप्तडको शिखरयात्राबाट ओरालो अवतरण आरम्भ हुन्छ लेखकको । बीचपानीको होटलमा जसोतसो रात बिताउँछन् । भोलिपल्ट बिहान उठेर जङ्गलको बाटो ओर्लँदा जङ्गली जनावरको भयले निकै अत्याउँछ मन । जङ्गल सकिनासाथ भेटिएको बिसौनामा एक रुँदै गरेका सिपाहीलाई उनैका साथीले सान्त्वना दिँदै गरेको दृश्य उपस्थित हुन्छ । घरमा आफ्नै अर्धाङ्गिनी बित्दा पनि आफूले अन्तिम भेट गर्न नपाएको गुनासो रहेछ उनको । विवेक भए सेना नहुने र सेना हुँदा विवेक नहुने एउटा तितो यथार्थ उद्घाटन हुन्छ त्यहाँ । राष्ट्रिय निकुञ्जबाट बाहिरिएपछि पुगिन्छ झिँग्राना होटलमा । झिँग्राना होटलका पूर्वपरिचित प्रेमबहादुर साउदले उसिनेका आलुले टन्न पेट भरिदिन्छन् । मध्य दिनमा बल्ल भेटिन्छ पाङ्ग्राको सहयोग अनि मिल्छ गोडालाई विश्राम । बगलेकका वीरबहादुर र उनकी छोरीका डेढ होटलमा लेखक र उनका साथीलाई गरिन्छ मेजमानी । त्यहाँबाट गुडेका लेखक र उनका सहयात्री दिउँसै पुग्छन् डोटीको सिलगढी ।
सिलगढीको प्रसिद्ध शैलेश्वरी मन्दिरमा लेखकको इतिहासका अध्यापक शिवराम श्रेष्ठसित जम्काभेट हुन्छ । भेटघाट र गफगाफपछि उनैले घुमाउँछन् सिलगढी बजार । सेती नदी तरेर दिपायलतिर लाग्छन् लेखक । जेठका दिन मधेसको उखुम गर्मीले पिरोल्न थाल्छ । बिना परिश्रम खलखली पसिनाका धारा पो बग्न थाल्छन् । झमक्क साँझ पर्दा डडेल्धुराको तुफान डाँडास्थित महेश्वरी होटलमा पुगेपछि बल्ल आराम मिल्छ । डडेल्धुराका प्रसिद्ध तीर्थस्थल घटाल बाबा र उग्रताराका मन्दिरमा पनि पुग्ने इच्छा हुन्छ लेखकको । सदरमुकामको बसपार्कबाट अलिकति ओरालो ओर्लेर सोलपरी र आइतबजार पुगिन्छ । त्यसपछि आउने चमशाल र जोगिना पछि भेटिन्छ घटाल खोला । त्यसै खोलाको किनारमा हुन्छ घटाल बाबाको मन्दिर । भीमसेनका छोरा र इन्द्रका भानिज मानिने घटाल बाबा हातमा कर्द लिएर उभिएको अवस्थामा भेटिन्छन् । घटालको पूजा गर्ने पुजारी आफैँलाई देउता भनाउन खोज्ने रहेछन् । भक्तजन घटाललाई भन्दा उनैको बढी श्रद्धा गर्दा रहेछन् । सुनका तिलहरी र लकेट लगाउँदै भाकल बुझाउने र पूजा गर्ने रहेछन् । मूक पशुको बलि दिनेको त्यहाँ ताँती नै लाग्ने रहेछ । लेखकले बलिपूजाको विरोध गर्दा पुजारी रिसले आगो हुन्छन् । त्यहाँबाट केही बेरपछि उग्रताराको मन्दिरमा पुग्छन् लेखक । पुजारीले उग्रताराको वर्णन गर्छन् र महात्म्यको बखान गर्छन् । दसैँका महाष्टमी, महानवमी, विजया दशमी अनि मङ्सिरको पूर्णिमाका दिन उग्रतारामा महोत्सव हुने बताउँछन् पुजारीले । त्यहाँ पनि पशुपन्छीको धेरै बलि चढाइने रहेछ । दुवै देवस्थलको परिभ्रमणपश्चात् तुफान डाँडाको महेश्वरी होटल पुगेर विश्राम लिएपछि टुङ्गिन्छ एक हप्ताकै खप्तड यात्रा पनि ।
यस सङ्ग्रहका अन्त्यतिरका चार नियात्रामध्ये दुई नियात्रा डडेल्धुराका विकट दुई गाउँ मणिलेक र बेलापुरयात्राका छन् । बाँकी दुई चाहिँ छिमेकी मित्रराष्ट्र भारतको नैनीतालको यात्रामा आधारित छन् । २०६८सालको माघ २२ र २३गते लेखक पुडासैनी लेखापरीक्षणको सिलसिलामा डडेल्धुरा जिल्लाका दुई विकट गाउँ मणिलेक र बेलापुर पुगेका हुन्छन् । डडेल्धुराको स्याउली बजारसम्म गाडीमा पुगेका उनी स्याउली बजारबाट केही अघि बढ्नासाथ सवारीसाधनले साथ नदिँदा पैदल हिँडाइमा पर्छन् । रन्द्रुवा नदी पार गरी उत्तरपूर्वी पहाडको उकालो लागेपछि केही बेरमा बडम गाउँ र गुरिया गाउँ छिचोल्छन् । त्यस यात्रामा लेखकलाई लक्ष्मीदत्त जोशी र रवि ठगुन्नाले साथ दिएका हुन्छन् । अपराह्नको दुई बज्दा टुप्लुक्क पुग्छन् मणिलेक गाउँमा । मणिलेकमा पारुदेवी खडायतबाट दिवाभोजनसहित हार्दिक स्वागत अभिवादन गरिन्छ । स्थानीय बासिन्दा र जनप्रतिनिधिको उपस्थितिमा बैठक हुन्छ । सरकारी रकमको सदुपयोग हुन नसकेको र व्यापक भ्रष्टाचार भएकोमा जनप्रतिनिधिकै विरोध हुन्छ । विद्यालय भवन निर्माणार्थ प्राप्त बजेट दुरुपयोग हुँदा बालबालिकाले खुला चौरमा पढ्नु परेको हुन्छ । स्थानीय जनताका कथाव्यथा सुनेर समाधानका उपाय सुझाउँदै बेलापुरतिर अग्रसर हुन्छ लेखक र उनका सहयोगीहरूको समूह । रातको आठ बज्दा बेलापुरको शेरी गाउँ पुग्छ लेखापरीक्षण टोली । माघको २२गते शेरीमा नै रात बिताएर भोलिपल्ट बिहानको भोजनादिपछि यात्रारम्भ हुन्छ । केही बेरमा टोली बेलापुर पुग्दा गाउँ आफ्नै धुनमा मस्त हुन्छ । काठमाडौँबाट आफ्नो गाउँमा आएका मान्छेलाई देखेर दङ्ग पर्छ बेलापुर गाउँ । बेलापुरबासीको राजधानीसँग आफ्नै किसिमको गुनासो छ । गाउँले नुन देऊ भन्दा काठमाडौँले घुन दिने गर्छ र हामीलाई बाटो बनाइदेऊ न भन्दा राजधानीले पहिरो लडाएर थिल्थिलो बनाउँछ । त्यस गाविसका सचिवहरू यति सक्षम छन् कि स्वर्ग वा नर्कमा पुगेका जेष्ठनागरिकको भत्ताको भर्पाई बनाउन समर्थवान् छन् । गाउँका प्रतिनिधि, कर्मचारी र लेखापरीक्षण टोलीसमेतको बैठकमा निस्कन्छन् यी सबै समस्या र निकालिन्छन् समाधानका उपायहरू । त्यहाँको कार्यक्रम समाप्त भएपछि लेखक र उनको टोली बेलुका डडेल्धुरा फर्कन्छ ।
यस सङ्ग्रहको अन्त्यमा रहेका ‘सुपात्रसँग एक दिन’ र ‘नीलो आँखा र नीला छायाहरू’ दुई नियात्रा २०६८साल माघमा महेन्द्रनगरबाट भारतको नैनीतालको यात्रामा जाँदाका गतिविधिमा केन्द्रित छन् । माघ २०गते बिहानै जावेद खान नामका भारतीय चालकसँगै लेखक र उनका सहयात्री महाकाली नदी (शारदा ब्यारेज) तरी भारतको प्रसिद्ध यर्पटकीय नगर नैनीताललाई गन्तव्य बनाएर अघि बढ्छन् । बाटैमा पर्ने खटिमा बजार, सिदकुल रोड हुँदै यात्राले निरन्तरता पाउँछ । सडक छेउछाउका खेतका गहुँ तथा उखुखेतीले लेखकको मनै लोभ्याउँछन् । बाटाका छेउमा नै मनमोहक नानकताल उपस्थित हुन्छ । कुशल चालक जावेदले तीव्र गतिमा चलाएको गाडीले सितारगञ्ज पार गराएर इस्थमुस औद्योगिक क्षेत्र पु¥याउँछ । बिहानको साँढे आठ बज्दा हल्द्वानी पुगेका लेखक र उनका सहयात्री भोकले सताएपछि सीतापुर भन्ने ठाउँमा पुगेर टन्न पेट भर्छन् । त्यहाँबाट गुडेको केही बेरमा नै पुगिन्छ काठगोदाम भन्ने गाउँ । त्यहाँबाट उकालो लाग्दा पहाडले पटुकी बाँधेजस्तै देखिन्छ सडक । त्यहाँका ससाना घुम्ती र मोडले सम्झाउँछन् जीवनकै उकाली र ओरालीहरू । पहाडकै बिचबिचमा बसेका दो गाँव र रुसी गाँव नाघेपछि भेटिन्छ मुसुक्क हाँसेर बसेको पर्यटकीय नगरी नैनीताल । लेखक र उनका साथीलाई नयाँ पर्यटक फेला पारेपछि त्यहाँका स्थानीय गाइड तथा पथप्रदर्शकले घेरा हाल्छन् । अब्लुल मजिज त्यस्ता भाग्यमानी गाइड हुन्छन् जसले लेखक र उनका सहयात्रीलाई नैनीतालका इको केभ गार्डेन, सरिया ताल, खुर्पा ताल, लभ एन्ड सुसाइड प्वाइन्ट, बाह्र पत्थर टे«किङ प्वाइन्ट, सुक्खा ताल, स्नो भ्यु प्वाइन्ट, नयनादेवी मन्दिर आदि प्रमुख यर्पटकीय तथा धार्मिक स्थलहरूको अवलोकन भ्रमण गराउँछन् । प्रमुख पर्यटकीय स्थलको भ्रमणपश्चात् अपराह्नतिर भोजन गरेपछि त महेन्द्रनगर फर्कनै हतार हुन्छ ।
यसरी डा.दामोदर पुडासैनी ‘किशोर’ले प्रस्तुत नियात्रासङ्ग्रहमा नेपालको सुदूरपश्चिमको खप्तड क्षेत्र र छिमेकी मुलुक भारतको नैनीतालको यात्रामा आफूले सँगालेका अनुभवलाई पाठकसमक्ष पस्कने काम गरेका छन् । उनले गरेका यात्रामा त्यहाँको प्रकृति र जनजीवनलाई नजिकैबाट अनुभूत गरेका छन् । उनी जहाँ पुग्छन् त्यहाँको सकारात्मक पक्षको खुलेर प्रशंसा गर्दछन् भने त्यहाँका खराब पक्षलाई सुधार गर्ने भरमग्दुर प्रयास गर्छन् । समाजमा व्याप्त विसङ्गति, विकृति, कुरीति, कुसंस्कार आदिको सधैँ विरोध गर्ने लेखक आफ्ना वैज्ञानिक दृष्टिबाट समुदायलाई अग्रगामी मार्गदर्शन गर्न चाहन्छन् । उनले खास गरी खप्तड क्षेत्रको पर्यटकीय उत्थानका लागि यातायात, आवास आदिको खट्किँदो अभावमा सुधार गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनु पर्ने सन्देश प्रवाह गरेका छन् ।
लेखक पुडासैनीको प्रस्तुत कृतिको भाषा परिष्कृत र परिमार्जित छ । उनको अभिव्यक्ति तथा शैलीमा बेग्लै खालको मोहनी छ । उनको यस रचनामा पाठकलाई आकर्षण गर्ने मौलिक कला छ । उनले आफ्नो अभिव्यक्तिलाई सूक्ति तथा लोकोक्तिले सिँगारेका छन् । पाठकले पढ्दा साहित्यको नौलो स्वाद तथा मिठास फेला पार्छन् । त्यसैले जति पढ्यो पढूँ पढूँ लाग्ने उनको यो कृति नेपाली साहित्यको समकालीन नियात्राहरूमा अब्बल दर्जाको छ भन्दा अत्युक्ति हुने छैन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

