‘माँ’ अर्थात् आमा । कोही जन्मले आमा बन्छन्, कोही कर्मले । ठुलो त्याग, तपस्या र समर्पणपछि मात्रै आमा बन्न सकिन्छ, चाहे जन्मले होस् या कर्मले । आमा बनिसकेपछि पनि त्यस्तै त्याग, तपस्या र समर्पणको भूमिका निर्वाह गर्न सक्नुपर्छ आमाले । अनि मात्रै आमा साँच्चै आमा हुन्छिन् । नाताको आमामात्रै आमा होइन, हुन सक्दैन । जन्मले होइन कर्मले आमा बनेकी र कर्मशील आमाको सत्यकथा हो ‘माँ’ ।
चन्द्रमाया अर्थात् माँ । चन्द्रमाया – उपन्यासकी प्रमुख पात्र, केन्द्रीय पात्र । सिङ्गै उपन्यास चन्द्रमयाकै जीवनको उहापोहमा केन्द्रित छ । चन्द्रमायाको बाल्यकालदेखि असी बर्से उमेरसम्म तन्किएको छ उपन्यासको लम्बाइ । यति लामो जीवनयात्रामा चन्द्रमायाले जीवनका लागि केकति सङ्घर्ष गरिन्, आफ्नो भूमिका निर्वाहमा केकति दुःख पाइन् र त्यो भूमिका निर्वाहका क्रममा उनले केकति लाञ्छनाहरू सहिन् र केकति शारीरिक र मानसिक यातना भोगिन्, केकति दमन सहिन्, त्यसको वर्णन यो उपन्यासमा छ । सिङ्गै उपन्यास नारी संवेदनाले भरिएको छ । यसको अर्थ यो पनि होइन कि नारीलाई दयाको पात्रका रूपमा प्रस्तुत गरिएको छ । बरु एउटी नारीलाई सङ्घर्षको प्रतिमूर्तिका रूपमा प्रस्तुत गरिएको छ र सङ्घर्ष गरेरै धेरै कुरा हासिल गरेको प्रेरक प्रसङ्गहरू उपन्यासमा समेटिएका छन् ।
‘माँ’ लाई उपन्यास भनिएको छ तर यो चन्द्रमायाको आत्मकथाजस्तो लाग्छ । कथा, उपन्यास भनेको साहित्य हो । साहित्य भनेको धेरैजसो कल्पना हो, कल्पनाशीलताको उपज हो । तर ‘माँ’ कल्पना होइन र कल्पनाशीलताको उपज पनि होइन । यो त यथार्थ हो, चन्द्रमाया आफैँले भोगेको । लेखिका दुर्गा रिजालले धेरै यथार्थमाथि थोरै कल्पनाशीलता भरेर लेखिन् र यो उपन्यास बन्यो । चन्द्रमाया आफैँले लेखेको भए निःसन्देह यो आत्मकथा बन्थ्यो र पाठकले आत्मकथा भनेरै पढ्थे । दुर्गा रिजालले उपन्यास भनेर लेखिन् र यो उपन्यास बन्यो । अनि पाठकले पनि उपन्यास भनेरै पढ्दै छन् तर यो नितान्त काल्पनिक कथा होइन, शतप्रतिशत सत्यकथा हो । सिङ्गै जीवन उपकार–कर्ममा बिताएकी चन्द्रमायाको वास्तविक कथा हो । नेपाली समाजमा धेरै चन्द्रमायाहरू थिए र अझै पनि छन् । फरक यत्ति हो, हिजोकी चन्द्रमाया कुसंस्कारको सिकार बनिन् । आजका चन्द्रमायाहरू कुविचारको सिकार बन्दै छन् ।
तत्कालीन नेवारी समाजको एउटा उज्यालो ऐना हो ‘माँ’ । यो ऐनामा तत्कालीन नेवारी समाजको अनुहार छर्लङ्ग देखिन्छ । संस्कारको नाउँमा कुसंस्कारमा जकडिएको तत्कालीन नेवारी समाजमा महिलामाथि हुने अन्याय, अत्याचार र घरेलु हिंसालाई ‘माँ’ उपन्यासमा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । तत्कालीन नेवारी समाजको आर्थिक तथा सामाजिक र सांस्कृतिक पक्षको झलक पनि उपन्यासमा आएको छ । कुनै वाद, सिद्धान्त र प्रयोगभन्दा पर रहेर अत्यन्तै सरल लेखनशैली अपनाएर लेखिएको यो उपन्यासमा सहज प्रवाह छ तर सघन घनत्व छ । पाठकहरूलाई कहीँकतै घोत्लिनु आवश्यक पर्ने छैन । बरु चन्द्रमायाको सङ्घर्ष र उसले भोगेको दुःखले अभिभूत भएर स्वयं पाठकको मुटु पनि वेला-वेलामा ढक्क–ढक्क फुल्नेछ । पाठक पनि संवेदित हुनेछन् । उपन्यासको संवेदना पक्ष प्रबल छ ।
उपन्यासकी प्रमुख पात्र पञ्चमायाको सहनशीलता, त्याग, धैर्य, लगनशीलता र जीवनका लागि उसले गरेको सङ्घर्षको हृदयस्पर्शी कथा हो ‘माँ’ । पञ्चमायाको आँट र साहसको पनि खुलेरै वर्णन गरिएको छ । नौ वर्षकी बालिका पञ्चमायाले ज्यानभन्दा ठुलो भारी बोकेर माघको जाडामा खाली खुट्टा मध्यरातमा पाटनको बङ्गलामुखी नजिकैको मामाघरदेखि काठमाडौँको बौद्धको आफ्नो घरसम्मको दूरी एक्लै हिँडेर पार गर्नुलाई आँट, हिम्मत र साहसको प्रतीकका रूपमा लिन सकिन्छ । हिजोकी बालिका पञ्चमायाको त्यही, आँट, हिम्मत र साहसले आजकी सङ्घर्षशील र सबैको सपनाको देश अमेरिकासम्म पुग्न सफल पञ्चमाया बन्न पुगेकी छे । भूतप्रेतको कथाले प्रधानता पाउने तत्कालीन समयमा एक्ली बालिकाले मध्यरातमा त्यति लामो बाटो तय गर्नु चानचुने कुरा पक्कै होइन । अहिले पनि त्यो क्षण सम्झिँदा आङ जिरिङ्ग हुन्छ । मध्यरातमा एक्लै सुनसान बाटामा एकपछि अर्को, घाट, श्मशान र दोबाटाहरू पार गर्दै हिँड्दै गर्दा नौ वर्षकी बालिकाको मनोदशा कस्तो थियो होला ? पाठकले कल्पनामात्रै गर्न सक्छन् ।
मामाघरको चर्पीमा जन्मेर दुःखैदुःखमा हुर्केकी, दुःखैदुःखमा बढेकी र दुःखैदुःखमा बाँचेकी एउटी आमा अर्थात् चन्द्रमायाको अनौठो जिन्दगीको विचित्रको जीवनयात्राको कथा हो ‘माँ’ । स्कुलमा एकदिन मात्रै पाइला टेकेकी, ॐ नमो वागीश्वराय मात्र भन्न सिकेकी, तर कदेखि ज्ञसम्म र एदेखि जेडसम्म कहिल्यै नछिचोलेकी चन्द्रमाया अमेरिकासम्म पुगेको आश्चर्यजनक कथा छ ‘माँ’ उपन्यासमा । उपन्यासको कथा त यत्ति नै हो । तर कसरी पुगिन् एउटी अनपढ, अशिक्षित र अदक्ष नेवार महिला सारा संसारकै सपनाको देश अमेरिकासम्म ? यो कौतुहल मेट्न सिङ्गै उपन्यास एकपटक पढ्नैपर्छ ।
उपन्यासमा केन्द्रीय पात्र चन्द्रमायाको जन्मदेखि उसको हुर्काइ, बढाइ, विवाह, बुहार्तन र अमेरिकायात्रासम्मको कथा छ । छोयला–बजी खाने इच्छा पूरा गर्न माइत पुगेकी गर्भवती सूर्यमायाले माइतीको चर्पीमा जन्माएकी हुन् चन्द्रमायालाई । लोग्नेको हेलाहोचामा परेकी सूर्यमायाले छोरी चन्द्रमायालाई दुःखले हुर्काउँछिन् । दुःखैदुःखमा हुर्केकी चन्द्रमाया सात वर्षको उमेरदेखि नै मेलापत गर्न थाल्छिन् । छोरीले पढे वेश्या बन्छन् भन्ने कुसंस्कारले ग्रस्त परिवारमा जन्मेकी चन्द्रमायाले पढ्ने–लेख्ने अवसर पाउँदिन । चौध वर्षकै उमेरमा पहलमानजस्तो, नाङ्लाजत्रो छाती भएको, अजङ्गको मान्छेसित चन्द्रमायाको बिहे हुन्छ तर छोरीको कन्यादान गर्न बाउ आउँदैनन् । चन्द्रमायाको बिहे छिन्ने कुराको घरसल्लाह नै नगर्ने, कुनै रीत पनि नगर्ने भनेर केटापक्षबाट बाजेले एक सय पच्चिस रुपियाँ लिन्छन् । त्यसैकारण चन्द्रमायालाई उसकी नन्दले ‘तँलाई एक सय पच्चिस रुपियाँले किनेको’ भनेर सधैँभरि वचन लगाइरहन्छिन् ।
चन्द्रमायालाई हजुरबाले त छक्याएर बिहे गरिदिएकै हुन् । नियतिले पनि छल गर्छ उसलाई । उसको लोग्नेको अर्को पनि श्रीमती भएको थाहा पाउँछे । एउटी छोरी पनि हुन्छ – गीता । जात नमिलेकाले गीताकी आमालाई बाहिर कोठामा राखेको । त्यसैले गीतालाई हेर्ने जिम्मेवारी चन्द्रमयााकै काँधमा आइपर्छ । यहीँबाट सुरु हुन्छ चन्द्रमायाको उपकारकर्मको यात्रा । नयाँ घर किन्नलाई आफ्ना गहना बेचेर पैसा दिन्छे चन्द्रमाया तर घर पास हुन्छ नन्दको नाउँमा । नन्दको वचनवाणबाट चन्द्रमाया घाइते भइरहन्छे । नन्द र आफ्नै लोग्नेको दुर्व्यवहारबाट ऊ पीडित भइरहन्छे तर लोग्नेको एकै चुम्माले पनि ऊ निकै प्रभावित हुन्छे । लोग्नेस्वास्नीबिचको प्रेमको बोध गर् । तर त्यो बोध दिगो हुँदैन । दुःख र पीडा सहन अभिशप्त छे चन्द्रमाया । बुढानीलकण्ठ गएर सत्यनारायणको प्रसादी ल्याएर दिँदा ‘उतै सुतेर त आइनस् तँ ?’ भन्ने लोग्नेबाट कति प्रताडित भएकी होली चन्द्रमाया ? कल्पना मात्रैले पनि आङ जिरिङ्ग हुन्छ ।
आफ्ना बैँसालु रहरलाई बलिमा चढाएर चन्द्रमाया घरव्यवहारमा लीन हुन्छे । बढ्दै गएको परिवारको आवश्यकता पूर्ति गर्न ऊ घरघरका कामदेखि नाली सोर्ने, घर बनाउने ठाउँमा ज्यामी काम गर्ने, घरमा रङ्ग लगाउने, मार्बल–चिप्स घोट्ने काम हुँदै आफैँले घर बनाउने ठेकेदारसम्म बन्छे तर आमा बन्न सक्दिन । आमा बन्ने रहरले पेटमा कपडा बाँधेर गर्भवती भएको नाटकसम्म गर्छे तर ऊ आमा बन्न भने सक्दिन । उसलाई नियतिले नै ठगेको छ तर अर्को नियतिले उसलाई कर्मले आमा बन्ने शौभाग्य भने दिएको छ । त्यसैले ऊ धेरैको आमा बन्न सफल हुन्छे ।
लोग्नेको दमन र अत्याचार सहन नसेकर घरै त्याग्ने मनसायले हिँडेकी चन्द्रमाया कहाँ-कहाँ पुगेर विवशताका सुस्केरा लिएर पुनः घरमै फर्कन्छे । नियतिले उसलाई त्यही घरमा दुःख गर्न र दुःख सहन लेखेको रहेछ । पुसको कठ्याङ्ग्रिने मध्य जाडामा लोग्नेबाट सिस्नोपानीको चुटाइ खान्छे । मन दुखाएर माइत जान्छे । फेरि जस्तोसुकै कठिनाइ परे पनि सामना गर्छु भन्ने अठोट लिएर घर फर्कन्छे । सौताकी छोरी स्याहारेकी चन्द्रमायाले फेरि घरमै बसेर सौताको छोरा पनि स्याहार्छे । फेरि अर्को छोरा पनि स्याहार्छे । जन्मले नभए पनि कर्मले धेरै सन्तानकी आमा हुन्छे । आमा हुनुको सुखले चैन मिल्नुको साटो लोग्नेको अत्याचार अनि सासू र नन्दको मानसिक र शारीरिक यातनाले चन्द्रमायाको मनलाई बेचैन बनाउँछ । अनि मर्छु भनेर बाख्राको दाम्लो पासो लगाएर भऱ्याङमा झुन्डिने कुविचार आउँछ उसको मनमा । त्यही वेलामा उसले एउटा अज्ञात आवाज सुन्छे, ‘पञ्चमाया, तैँले जिन्दगी बाँच्न र बचाउनका लागि पाएकी होस् । मर्नु नै थियो भने तँ जन्मेकै चर्पीको भुसमाथि मर्दिहोस् । किन र कसले तँलाई बचायो ? आफ्नो विगत जिन्दगी हेर् । के तँलाई महायुद्धजस्तो लाग्दैन ? किन गरिस् त्यति ठूला लडाइँ ? के बाँच्न र बचाउनका लागि हैन… ? कसैलाई अपकार गरेर संसारबाट नजा पञ्चमाया । उपकार, उपकार र उपकार मात्र गरेर बस् । यही तेरो भूमिका हो ।’ त्यसपछि उसले बाँचेर अझै थप सङ्घर्ष गर्ने अठोट गर्छे ।
एक जना आर्मीले सञ्चालन गरेको कुखुराफार्ममा काम गर्न थालेपछि चन्द्रमायाको जिन्दगीले नयाँ मोड लिने सङ्केत मिल्छ । आर्मीकी श्रीमती अर्थात् चन्द्रमायाकी दुलहीसापले एकदिन भन्छिन्, ‘तिम्रा दुःखका दिन सकिएका हुन् कि कसो ?’ उनका नन्देभाइ अमेरिकाका राजदूत भएर जान लागेको र चन्द्रमायालाई भान्से बनाएर लाने प्रस्ताव नै चन्द्रमायाको जिन्दगीको टर्निङ प्वाइन्ट बनिदिन्छ । अन्ततः अमेरिकाका लागि नेपाली राजदूतको भान्से बनेर चन्द्रमाया सबैको सपनाको देश अमेरिका पुग्छे र उसको जिन्दगीले नयाँ मोड लिन्छ ।
अमेरिका पुगेर पनि उसका दुःखका दिन भने सकिँदैनन् । फेरि अर्को सङ्घर्ष सुरु हुन्छ । ऊ अङ्ग्रेजी पढ्न थाल्छे । अङ्ग्रेजी सिक्न थाल्छे । जानी नजानी बोल्न थाल्छे । बिस्तारै बोल्न सहज हुँदै आउँछ । उसको काम सहज हुँदै आउँछ । अन्ततः जिन्दगी नै सहज हुँदै आउँछ । राजदूतावासको कार्यकाल सकेपछि इन्डियन मूलका गोश्वामी जोडीको बच्चाको हेरविचार गर्ने काम गर्छे । चार वर्ष त्यहाँ काम गर्छे । गोश्वामीका दुईओटा बच्चा चन्द्रमायाकै काखमा हुर्किन्छन् । तिनका पनि आमा बन्छे चन्द्रमाया । तिनै गोश्वामीले चन्द्रमायाको ग्रिनकार्डको आवेदन हालिदिन्छन् । उनैको मद्दतले चन्द्रमायालाई अमेरिकाको ग्रिनकार्ड प्राप्त हुन्छ । भाग्योदय चिट्ठा परेजस्तै रमाउँछे चन्द्रमाया । अन्तमा अर्की इन्डियन मूलकी ९२ वर्षीया एकल महिला वासन्तीकहाँ काम गर्न पुग्छे । उसैसित बस्छे । अहिलेसम्म बसिरहेकी छे ।
उपन्यासभत्रिको कथा यत्ति हो । अरू उपकथाहरू थुप्रै छन् । चन्द्रमाया अमेरिका पुगेर पनि पटक-पटक नेपाल आउँछे र फर्केर फेरि अमेरिका नै पुग्छे । अब उसको कर्मथलो अमेरिका भएको छ ।
उपन्यासमा सौतेनी डाहा छ । सासूको बुहार्तन छ । लोग्नेको अत्याचार छ । नन्दको दमन छ र बाउको बेवास्ता र गैरजिम्मेवारी पनि छ । यी सबैबाट प्रताडित बनेकी छे चन्द्रमाया । तैपनि उसले हिम्मत हारेकी छैन । उसले सब थोक सहेकी छे र अनुपम मानवीय सहिष्णुताको उदाहरण प्रस्तुत गरेकी छे । जिन्दगीलाई सङ्घर्षमा होमेकी छे र उपकारलाई आफ्नो असीम उपलब्धि ठानेकी छे । त्यसैले उसले जिन्दगी नै उपकार–कर्ममा बिताएकी छे । जन्मले आमा हुने सौभाग्यबाट वञ्चित भए पनि कर्मले देशीविदेशी धेरै सन्तानकी आमा बनेकी छे । त्यसैले उपन्यासको शीर्षक ‘माँ’ अत्यन्तै सार्थक बनेको छ ।
उपन्यासमा यथास्थानमा उखानटुक्काहरूको प्रचुर मात्रामा प्रयोग भएको छ, जसले भाषामा मिठास भरेको छ र पठनलाई स्वादिलो बनाएको छ । शब्दभण्डार पनि उत्तिकै खँदिलो बनेको छ । भाषालाई सिँगार्ने थुप्रै नयाँ–पुराना शब्दहरूको पनि प्रयोग गरिएकाले उपन्यासको भाषिक संरचना सबल बनेको छ । दिउल, छापो, हत्तर, क्यास्केट, ओट, वरणी, मानस, चलेसा, बैला, खोऱ्याई, पिल्लिएर, हडिँदो, धरालो जस्ता प्रचलित–अप्रचलित शब्दले पाठकको शब्दभण्डार बढाउने निश्चित छ । यति हुँदाहुँदै पनि कतै-कतै जुका हुनुपर्नेमा जुगा, हालत हुनुपर्नेमा आलत, रानीमासु हुनुपर्नेमा नानीमासु, हँडिदो हुनुपर्नेमा हडिँदो, तहसनहस हुनुपर्नेमा नहसनहस भएकाले दाँतमा ढुङ्गा लागेजस्तो चाहिँ हुन्छ । नेवारी शब्दको प्रयोग र वाक्यगठनमा भएका गल्ती भने नेवार मातृभाषाका पाठकले मात्रै पत्ता लाउन सक्नेछन् । यद्यपि गैरनेवारले लेखेको हुँदा यी गल्तीहरूलाई क्षम्य भन्न सकिन्छ । अर्को संस्करणमा सुधार गर्नू भने वाञ्छनीय हुनेछ ।
उपन्यासकी मुख्यपात्रको नाउँ उपन्यासभरि पञ्चमाया लेखिएको छ तर उपन्यासको पहिलो पाना (प्रकाशकीय) मै पञ्चकुमारी लेखिएको छ । प्रकाशकीयमै हेर्दा सामान्य, तर यति गम्भीर गल्ती नुहुनुपर्ने हो । उता कृतज्ञाता ज्ञापन गर्ने क्रममा स्वयं उपन्यासकारले पनि पञ्चकुमारी नै उल्लेख गरेकी छिन् । पञ्चमाया हो कि पञ्चकुमारी ? वास्तविक पात्र पञ्चकुमारी भए पनि कुनै कारणवश काल्पनिक पात्र पञ्चमाया बनाइएको हो कि ?
पुस्तक : माँ
विधा : उपन्यास
लेखक : दुर्गा रिजाल
प्रकाशक : शिखा बुक्स
संस्करण : पहिलो, २०७७
पृष्ठ : २३०
मूल्य : रु. ४००/–
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।