
१. ओइलाएको फूललाई
तल लिइएको गीतको स्थायी पद नेपाली साङ्गीतिक चलचित्र ‘बाटोमुनिको फूल’ बाट हो । यो गीत सुनेपछि मेरो हृदयमा एक प्रकारको तरङ्ग उत्पन्न भएर आउँछ । त्यसपछि मनमा थुप्रै भावनाहरू उत्पन्न हुन थाल्छन् ।
ओइलाएको फूललाई फेरि फुलायौ तिमीले,
हारेको जिन्दगीलाई जिउन सिकायौ तिमीले,
म तिम्रो पाउमा परूँ, म तिम्रो पूजा गरूँ !
[यश कुमारका गीत अनि सङ्गीत]
हामी सबैलाई थाहा भएको कुरा नै हो कि मार्नेभन्दा बचाउने सधैँ महान् हुन्छ अनि जो महान् हुन्छ ऊ पूजनीय हुन्छ । हुन त मरेकाहरूलाई बचाउन सक्नेहरू अहिलेसम्म निस्केका छैनन् तर पनि मरेकाहरूलाई बचाउन चाहनेहरूको कमी छैन । कसैलाई मर्नदेखि बचाउनलाई आफ्ना सारा धनसम्पत्तिदेखि लिएर ज्यानसमेत दिनलाई सधैँ तत्पर रहनेहरू पनि पाइन्छ । संसार स्वार्थी छ भन्ने जान्दाजान्दै पनि आफ्नो सब थोक समर्पण गर्न चाहनेहरू पनि भेटिन्छ । यस्ता सङ्कल्पित अनि समर्पित इच्छा भएका व्यक्ति भेट्दा र देख्दा मात्र होइन उनका बारेमा सुन्दा र सम्झँदा पनि श्रद्धाले शिर झुकेर आफैँ निहुरिन्छ, हृदय प्रफुल्लित भएर आउँछ, अनि उनलाई सलाम ठोक्नलाई आँखाभरि आँसु आफैँ भरिदिन्छ ।
फूल फुलिसकेपछि ओइलाएर झर्छ । त्यो प्राकृतिक हो । त्यसलाई नमान्ने कोही छैन । फुल्नुपर्ने फूलको बोटलाई कुनै प्रकारको क्षति पुऱ्याएर ओइल्याइदिनु राम्रो काम कदाचित् होइन तर कुनै कारणवशले कुनै प्रकारको चोट पुराएर ओइलाइदिएको फूलको बोटलाई स्याहारसुसार र मलजल गरेर फेरि हरियोभरियो बनाएर फुल्न लगाउन ठुलो काम हो । एउटा महत्ता हो । फूलको बोटलाई जस्तै स्याहारसुसार, मलजल र माया गरेमा मर्न लागेको मान्छे पनि बाँच्न सक्नेछ । त्यस्ता मानिसहरू भएका ठाउँहरूमा ईश्वर सधैँ मुस्कुराइरहेका हुन्छन् ।

इगम खालिङ (दार्जीलिङ)
कसैले हराएको जीवन होस् वा आफैँ हारेको जीवन होस् त्यसलाई फेरि जिउन सिकाउने व्यक्ति महान् हुन्छ । सफलता प्राप्त गर्न र जित्न सिकाउनेहरू धेरै भेटिन्छ तर साँचो जीवन जिउन सिकाउनेहरू थोरै मात्र भेटिन्छ । बिगार्नु, हराउनु अनि ज्यान लिनु त्यति गाह्रो नहोला जति मर्नलागेको लाई बचाउनुहुन्छ । तर पनि कहिलेकाहीँ हारेको, ओइलाएको र मर्न लागेकोलाई बचाउने पनि भेटिन्छ । त्यस्तो व्यक्तिलाई सम्झँदा मात्रै पनि मनले आफैँ धन्यवाद दिन्छ अनि हृदयले आफैँ उनको गुनगान गाउँदछ ।
हुन त जिन्दगी कति रङ्गिन छ । कति रमाइलो छ । बाँच्न जाने चारैतिर प्रेमैप्रेम छ । कालो चस्माले हेरे संसार कालै देखिन्छ अनि रातोले हेरे रातै । मन नै मानवरूपी चस्मा हो । सही चस्मा चुनेर लगाएमा संसार साँच्चै सुन्दर देखिन्छ । जति संसारलाई दिँदै जाइन्छ उति संसारले दिँदै जान्छ । जाने यहीँ स्वर्ग छ नजाने यहीँ नर्क । खोजिरहनु पर्दैन ओइलाएको फूललाई फुलाउने र हारेको जिन्दगीलाई जिउन सिकाउनेलाई भेटेमा ईश्वर साक्षात् भेटिन्छ । त्यसैले भनेको निःस्वार्थ प्रेम र समर्पणले बाँचे ईश्वरले आफैँ वास गर्नेछ ।
२. जिन्दगीको के भरोसा
जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो ।
दुई आँखामा, एकमा हाँसो, अर्कोमा रुवाइ छ ।
रात्रिको अँधेरी, बिहानीको सुनौलो, यही नै संसारको रीत हो साथी ।
हरेक पलमा, दुःखैदुःख छन्, सुख त बहाना नै हो ।
[कर्ण दासका शब्द र स्वर]
उक्त पद ‘मध्याह्न एल्बम’ को ‘जिन्दगीको के भरोसा’ बाट लिइएको हो । यस गीतका शब्द र स्वर कर्ण दासले दिएका छन् । यस गीतमा भिन्न प्रकारका स्वाद र सोच पाइन्छ । यस गीत सुन्दा मेरा पुराना यादहरू ताजा भएर आइदिन्छ : हामी भर्खर कलेज पढ्ने विद्यार्थी भएका थियौँ । त्यति वेला हामी विभिन्न प्रकारका नेपाली, हिन्दी र अङ्ग्रेजी गीतहरू सुन्ने गर्थ्यौँ । कति गीतका सङ्गीतहरू मन पराइन्थ्यो भने कति गीतका शब्द र स्वरहरू । त्यसरी नै एकदिन म ‘जिन्दगीको के भरोसा’ मस्त भएर सुनिरहेको थिएँ, मेरो एक जना साथीले मलाई सम्झाउँदै भन्नुभयो, “के तिमीलाई थाहा छ, यो गीतले के भनिरहेछ र कस्तो असर पार्न सक्छ भन्ने? यस्ता गीतहरू भर्खर पढ्दै गरेका युवाहरूले सुन्नु हुँदैन?” मैले उनलाई सिधै सोधेँ, “किन नसुन्ने ?” उनले फेरि भन्न थाल्यो, “यो गीत निराशाले भरिएको छ । यस्तो गीतका शब्दहरूले मनमा निराशा र वैरागी भावहरू उत्पन्न गराउँछन् अनि कहिलेकाहीँ नकारात्मक परिणाम । म तिमीलाई उदाहरणहरू दिएर सम्झाउन त सक्दिनँ तर यसले मनोवैज्ञानिक असरचाहिँ केही हदसम्म पार्छ । कलिलो मन र मानसिक चिन्तामा परेकालाई राम्रो गर्दैन ।” त्यसपछि उनले मलाई बिस्तारोसित एउटा आत्महत्या गराउने हङ्गेरीयन गीत ‘ग्लुमी सन्डे’ का बारेमा सुनाउन थाल्यो । उनका कुराहरू सुनेर म कति दिनसम्म सोचमा परिरहेँ । यस गीतका बारेमा यहाँ बिचमा नै अलिकति कुरा गर्न लागिरहेको छु :
‘ग्लुमी सन्डे’ हङ्गरीका रेजसो सेरेस भन्ने एक जना गीतकारले सन् १९३३ मा बनाएका थिए । यस गीतको सम्बन्ध अधुरो प्रेमसित थियो अनि यति साह्रो वेदनाले भरिएको थियो कि कुनै पनि सुन्ने व्यक्तिले आफ्नो वेदनालाई जीवन्त अनुभव गर्न थाल्थ्यो ।
भियनामा एउटी किशोरी केटीले एउटा गीतको पाना समातेर आफूलाई पानीमा डुबाएकी थिइन् । बुदापेस्टमा एक जना व्यापारीले आफूलाई अन्त्य गर्नअघि लेखेको नोटमा त्यही गीतको अंश पाइएको थियो । त्यसरी नै लन्डनमा एक जना महिलाले त्यो गीत एकोहोरो सुन्दा नशालु पदार्थको सेवन ज्यादा गरिपठाएकी थिइन् । त्यसरी धेरै आत्महत्याका घटनाहरू ‘ग्लुमी सन्डे’ सित जोडिन पुगेकाले गर्दा यस गीतलाई हङ्गेरी अनि इङ्गल्यान्डले प्रतिबन्ध लगाएका थिए । अझै पनि हामीजस्ता लाखौँले यस गीतको मौलिक अनि पूर्ण संस्करण सुन्न पाएका छैनौँ ।
टिन पान एली ट्युनस्मिथ, साम एम लुईस र वेलायती रङ्गशालाका गीतकार डेसमन्ड कार्टरले गीतको अङ्ग्रेजी संस्करण अनुवाद गरेका छन् । लुईसको संस्करण सन् १९३६ मा हाल क्याम्प र उसको अर्केस्ट्राले रेकर्ड गरेको छ । यसको दोस्रो पद्म यस प्रकार छ [१]:
“Gloomy is Sunday, with shadows I spend it all
My heart and I have decided to end it all
Soon there’ll be candles and prayers that are sad, I know
Let them not weep, let them know that I’m glad to go
Death is no dream, for in death I’m caressing you
With the last breath of my soul, I’ll be blessing you.”
त्यसरी ‘ग्लुमी सन्डे’ को कुरा सुनाएर साथीले डर देखाउँदै ‘जिन्दगीको के भरोसा’ भन्ने गीत नसुन्ने सल्लाह दियो । उनको सुझाव मानेर मैले केही दिन सुनिनँ तर पछि गएर त्यस गीतमा साँच्चै त्यस्तो के त रहेछ भनेर मलाई बुझ्ने इच्छा जागेर आयो । दुई-तीनपल्ट दोहोराई-दोहोराई सुन्दा पनि त्यस्तो निराशाजनक चाहिँ लाग्दै लागेन तर कर्ण दासको अर्को गीत “जीवनदेखि थाकिसके” चाहिँ अलिक असरदार लाग्यो । मेरो एक जना घनिष्ट साथीले मलाई एक ताल भनेको थियो कि उनको गाउँको एउटा भाइले आत्महत्या गर्नुअघि त्यो गीत धेरैपल्ट सुनेको रहेछ हरे । त्यस गीतको स्थायी पद यस प्रकार छ—
जीवनदेखि थाकिसकेँ
तिमीलाई रुवाइसकेँ
मृत्यु नै यहाँ अब प्यारो लाग्छ
बिछोड नै आफ्नो लाग्छ ।
हामी स्कुले जीवनदेखि नै मर्मले भरिपूर्ण भएका गीतहरू खोजी-खोजी सुन्ने गर्थ्यौँ । साथीहरूलाई पत्रचार गर्दा पनि कतिपय प्रासङ्गिक ठाउँहरूमा गीतका पदहरू लेखेर पठाउने गर्थ्यौँ । गीतको असरचाहिँ सशक्त हुँदो रहेछ भन्ने मैले मेरो स्नातकको परीक्षा चलिरहेको वेलामा अनुभव गरेँ : परीक्षा लेखिरहेका वेलामा पनि बिच-बिचमा मलाई कति गीतका धुनहरू कानमा गुन्जिरहन्थे । त्यस्तो प्रकारले हो भने परीक्षामा सफल भइँदैन भन्ने बुझ्दाबुझ्दै पनि गीतसङ्गीत आत्माको धेरै नजिक भएको कारणले गर्दा होला म गीत सुन्नदेखि टाढा हुन सक्दै सकिनँ ।
मलाई कसरी परीक्षाको समयमा गीतको मतिभ्रम (ह्यालुसिनेसन) हुन्थ्यो त्यो मैले परीक्षा सकेर धेरैपछि मेरो एक जना साथीलाई सुनाएँ । बातैबातमा उसले पनि आफ्नो जीवनमा गीतसित सम्बन्धित घटेको एउटा घटना सुनायो : त्यसदिन ऊ गाउँको एक जना दाजुको बिहेमा जन्ती गएको थियो । उसको मन त्यति खुसी थिएन । उसलाई बिहेमा समय काट्न साह्रो परिरहेको थियो, तर जब बिहेको हलमा ‘शीशा हो या दिल आखिर टूट जाता है’ भन्ने हिन्दी चलचित्र ‘आशा’ को गीत जब बज्न थाल्यो तब उसको मुड अचानक परिवर्तन भएर आयो । त्यो गीत सुनिसकेपछि ऊ विचलित भएर पिउन थाल्यो । त्यसपछि उसले के के उत्पतङ्गहरू गऱ्यो ती सबै उसलाई थाहै भएन । त्यो घटना घटेको धेरै दिनपछि मात्र उसलाई महसुस (रियलाइज) भयो कि उसको मुडलाई त्यस गीतले थाहा नपाई परिवर्तन गरिदिएको थिएछ ।
हुन त कुनै पनि गीत स्रोताका उमेर, रुचि र स्थितिसित मिल्न गएमा धेरै प्रभावकारी बन्दछ । सबै उमेरका स्रोताहरूले एकै प्रकारले गीत मन पराउँछ भन्ने छैन । त्यो गीत सुनेर राम्ररी ग्रहण गर्न त्यति वेला हामी पनि चुक्यौँ होला तर गीत त गीत (हृदयको नजिक) हुन्छ अनि हामी सबैलाई सुन्न मन लाग्छ । कुनै पनि गीत हाम्रा आन्तरिक अनि बाह्य जीवन-संसारसित सम्बन्धित हुन्छ । कहिलेकाहीँ त्यहाँ जीवनको दर्शन पनि पाइन्छ ।
जसको सुरु हुन्छ त्यसको अन्त्य पनि हुन्छ, जसको उत्पादन हुन्छ त्यसको विनाश पनि हुन्छ, जसको निर्माण हुन्छ त्यसको विनिर्माण पनि हुन्छ, अनि जसको जन्म हुन्छ त्यसको मृत्यु पनि हुन्छ । हामी जन्मँदै हाम्रो जैविक घडी सक्रिय भइसकेको हुन्छ । जुन क्षण हाम्रो जैविक घडी रोकिन्छ त्यो क्षण नै हाम्रो मृत्युको झण बन्दछ । मृत्यु हाम्रो जीवनको मात्र सत्य नभएर हाम्रो विश्व र ब्रह्माण्डको पनि हो । मृत्युलाई भुलेर मृत्युदेखि भाग्न सकिँदैन । दर्शनशास्त्रले मृत्युलाई परमसत्यको रूपमा मान्दै आएको छ । यसको सम्बन्ध आत्मासित जोडिदिएको छ । जब आत्माले शरीरलाई छोड्छ तब मृत्यु हुन्छ । मृत्यु कुनै पनि समय आउन सक्छ । मृत्यु निश्चित भए तापनि यो आउने समय अनिश्चित हुन्छ ।
‘जिन्दगीको के भरोसा’ निराशा प्रकट गराउने खालको गीत नभएर मृत्युलाई बुझेर खुसीसित बाँच्न सिकाउने खालको गीत हो । हाम्रो मृत्यु कुनै पनि समय हुन सक्छ भन्ने जान्दाजान्दै पनि हामी यसलाई भुल्छौँ, अनि लोभलाभ, अहं र अज्ञानताको दलदलमा फस्दै जान्छौँ । त्यस्तो दलदलबाट मुक्ति पाउन सहज हुँदैन । मृत्युको कुरा गर्नु भनेको नै मृत्युलाई नभुल्नु हो । मृत्युलाई नभुल्नु भनेको नै यसलाई बोध गर्नु हो । बोध गरेर जिउनु भनेको नै मृत्युदेखि भयमुक्त जीवन जिउनु हो ।
हाम्रो जीवन-संसार स्थायी छैन । हाम्रो मन पनि स्थिर छैन । जहाँ जीवन हुन्छ त्यहाँ चल हुन्छ । यही चलाचलभित्र हामी गतिशील प्रत्येक क्षण बनिरहेका हुन्छौँ । यही बन्ने क्रममा हामी मृत्युतिर हिँडिरहेका हुन्छौँ । शून्यबाट जन्मेर शून्यभित्र हराउने झण नै मृत्यु हो । यसरी मृत्युको कुरा गर्नु भनेको आत्महत्यादेखि नडराउनु होइन तर जीवनका नकारात्मक पक्षहरूलाई पनि स्वाभाविक रूपमा स्विकार्दै मौलिक जीवन जिउनु हो । जर्मनका एक जना प्रसिद्ध दार्शनिक मार्टिन हाइडेगरले त झन् जीवनको असली बचाइका निम्ति मृत्युलाई भुल्नु हुँदैन भन्ने दार्शनिक विचार दिएका छन् । साँचो जीवन बचाइमा मृत्युको भय हुँदैन । भय नभएको व्यक्ति सधैँ साँचो जीवन बाँच्न सफल हुन्छ । विज्ञान र प्रविधिले मृत्युलाई छल्न खोजे तापनि मृत्यु कहिल्यै छलिँदैन । मृत्यु सधैँ हामीसितै हुन्छ । यसलाई नभुल्नुमा नै हाम्रो स्वतन्त्रता छ । स्वतन्त्रतामा मात्र सत्यको सही मूल्याङ्कन हुन्छ अनि सत्यले मात्र मानिसलाई शान्ति दिन सक्छ । सत्यलाई जे गरे तापनि सत्य सधैँ सत्य नै रहन्छ । सत्यलाई कुनै अशान्ति छैन । सत्यलाई स्विकारेर जिउनु नै शान्ति हो । त्यसैले सत्य सुन्दर हुन्छ ।
आफैँलाई मारेर मृत्युलाई झुक्याउन सकिँदैन । साँचो मृत्यु मर्न सकिँदैन । मृत्युलाई बुझेर बोध गर्नु भनेको एकार्थमा प्रकृतिको माझमा आधारभूत जीवन जिउनु पनि हो । जसले मृत्युलाई चिनेर, बुझेर र बोध गरेर बाँच्न जान्दछ उसलाई ‘ग्लुमी सन्डे’ जस्तो गीतले मार्न सक्दैन अनि ‘जिन्दगीको के भरोसा’ जस्तो गीतले निराश बनाउन सक्दैन । बरु जीवन पूर्णतामा जिउन सिकाउँछ । वास्तविक जीवन जिउन सिकाउँछ । मृत्युलाई चिनेको मानिसले मात्र ओइलाएको फूललाई फेरि फुलाउन सक्ने अनि हारेको जिन्दगीलाई जिउन सिकाउन सक्ने क्षमता आफूभित्र राख्दछ ।
[१] https://www.mentalfloss.com/…/songs-killer-strange-tale…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

