विषयको उठान–

मीनकुमार नवोदित पचासको दशकदेखि कविता लेखनमा सक्रिय रूपमा लागेका युवा कवि हुन् । दिप्रुङ–४ रात्माटा खोटाङमा माता धनमाया तथा पिता गङ्गाबहादुर श्रेष्ठका सुपुत्रका रूपमा वि.सं. २०३८ भाद्र १७ गते जन्मिएका नवोदितका ‘फूलबारीभित्रका भमराहरू’ (२०५७) ‘झरीले रुझेको गाउँ’ ( २०७०) र ‘सयमको बयान’ (२०७८) गरी तीनओटा कवितासङ्ग्रह प्रकाशित छन् भने ‘छविलाल रेग्मीको परिचय’ (२०६२) तथा ‘टीकाप्रसाद लामिछानेको व्यक्तित्व र कृतित्व’ (२०६३) जस्ता ग्रन्थहरूको पनि उनले लेखन तथा सम्पादन गरेका छन् । साहित्यको रुचिले पत्रकारितासम्म डोरिएका नवोदित विराटनगरमा बसेर पत्रकारिता गर्ने कुशल पत्रकार पनि हुन् । युवा वर्ष मोती पुरस्कारसहित झन्डै पौने दर्जनभन्दा बढी क्षेत्रीय तथा राष्ट्रिय पुरस्कार/सम्मान प्राप्त गरेका नवोदितले पत्रकारिताको क्षेत्रमा देखाएको क्रियाशीलताका निम्ति पनि झन्डै दुई दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । डेढ दर्जनभन्दा बढी सङ्घसंस्थामा उनको संलग्नतासमेत रहेको छ । यसरी विभिन्न सङ्घसंस्थामा संलग्न रहेर पत्रकारिता पेसा अँगालेका नवोदित साहित्यिक गतिविधिमा पनि त्यत्तिकै क्रियाशील छन् । प्रस्तुत लेखमा उनको तेस्रो कवितासङ्ग्रह समयको बयानमाथि छोटो परिचर्चा गरिएको छ ।

समयको बयान’ कविता सङ्ग्रहको संरचना–

प्रस्तुत कवितासङ्ग्रहमा जम्मा बयालिसओटा कविताहरू सङ्ग्रहित छन् र पूरा सङ्ग्रहमध्ये जम्मा सतासी पृष्ठलाई उनका कविताले ओगटेका छन् । यस आधारमा हेर्दा एउटा कविताले सरदर दुई पृष्ठ ओगटेको देखिन्छ । यस आधारमा हेर्दा उनका कविताहरू छोटा–छोटा छन् भन्ने देखिन्छ तापनि उनका कविताहरूले पन्ध्र लाइनका एक पृष्ठदेखि चार पृष्ठसम्मको आयाम प्राप्त गरका छन् । ‘भविष्यवाणी’ र ‘रिटायर्ड जिन्दगी’ आयामका दृष्टिले लामा कविता भएको र ‘देशको नाममा’ तथा ‘जन्मदिन’ जस्ता कविता चाहिँ पन्ध्र हरफ र सत्र हरफमा लेखिएका छोटा कविता हुन् । फुटकर कविता मूलतः तात्क्षणिक अनुभूतिमा लेखिने भए पनि नवोदितले छोटो कवितामा जीवनको लामो कथालाई प्रस्तुत गर्न सकेका छन् । ‘रिटायर्ड जिन्दगी’ कवितालाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । गद्य लयात्मक ढाँचामा लेखिएका नवोदितका कवितामा कवितात्मक अन्तर्लयले निकै सघनता प्राप्त गरेका छन् ।

समयको बयान’ कवितासङ्ग्रहको कथ्य विषय–

कवि मीनकुमार नवोदित आफू बाँचेको समयलाई कवितात्मक स्वरूप दिने कुशल काव्यशिल्पी हुन् । कवि कलाकारहरू आफू बाँचेको समयबाट बढी प्रभावित हुन्छन् र समयको विद्रूपता तथा उत्साहलाई हृदयसंवेद्य रूपमा आफ्ना काव्यसिर्जनामा अभिव्यक्त गर्छन् । समय आफ्नै लय, शैली, रफ्तार र स्वरूपमा चलायमान रहन्छ । त्यसबाट प्रभावित मान्छेले भने समयलाई अनुकूलता र प्रतिकूलतामा अर्थ्याउने गर्दछ । एउटै सयममा कसैले प्रकृतिबाट सकारात्मक ऊर्जा प्राप्त गरिरहेका हुन्छन् भने कसैले नकारात्मक ऊर्जा प्राप्त गरिरहेका हुन्छन् । कसैको उन्नति भइरहेको हुन्छ भने कसैको अवनति । कोही जन्मिरहेका हुन्छन् अनि कोही मरिरहेका हुन्छन् । कोही दुःखको अनुभूति गरिरहेका हुन्छन् भने कोही सुखको । समयको यो वैपरित्यलाई कवि–कलाकारहरूले आफ्नै ढङ्गले अनुभूत गर्दछन् र सिर्जनशक्तिद्वारा त्यसलाई काव्यसौन्दर्यमा बदल्छन् । कवि नवोदितले ‘समयको बयान’ कवितासङ्ग्रहमा समयको पारिणामिक विविधतालाई निकै प्रतीयमान, आलङ्कारिक र सरस शैलीमा अभिव्यक्त गरेका छन् ।

टेकनाथ दहाल

जन्मेदेखि मरुन्जेलसम्मको जीवन एकै किसिमको हुँदैन । एउटै समय पनि सबैका लागि एउटै नभएजस्तै समयको लामो अन्तरालमा भोगिने जीवन पनि सूत्रात्मक र रैखिक नहुनु स्वाभाविक नै छ । जसरी जीवनका हरेक रङहरू समयको तरेलीमा निरन्तर परिवर्तन भइराख्छन् त्यसरी नै रहरहरू पनि सर्पले काँचुली फेरेझैँ फेरिइरहन्छन् । बालापनको रहर युवामा हुँदैन अनि युवापनको रहर वृद्धवृद्धामा हुँदैन । रहरहरूको पनि जन्म र मृत्यु हुन्छ । जीवनमा कति रहरहरू समयको गतिसँगै मरेका हुन्छन् । जीवनको यस सत्यलाई कवि नवोदितले यसरी प्रस्तुत गरेका छन्–

सँगैको यात्रा पनि दोबाटोमा पुगेपछि छुटिँदो रहेछ
जसरी छुटी जान्छ चराको जिउबाट
थाहै नपाई प्वाँख
जसरी झरिजान्छ रुखबाट पात
बादलको आँखाबाट पानी
त्यसरी नै छुटिगए एक–एक
जिन्दगीका रहरहरू ।
–छुटी जानेहरू

उमेर ढल्कँदै गएपछि आफन्तहरू पनि पराया बन्दै जान्छन् । जीवनका तितामिठा अुनभूति र व्यावहारिक बोझले व्यक्तिलाई आफन्तबाट अलग्याउँदै लैजान्छ । बाल्यकालका साथी सङ्गातीजस्ता युवावस्थामा भेटिँदैनन्, अनि युवावस्थाका जस्ता साथी सङ्गाती वृद्धावस्थामा हुँदैनन् । बालापनमा हुने ममताको वर्षा युवावस्थामा हुँदैन अनि युवावस्थाको भरोसा वृद्धावस्थामा हुँदैन । समयले रेट्दारेट्दै मानिसलाई थोत्रो सारङ्गीको चुँडिनै लागेको तार बनाउँछ । दिदीबहिनी दिदीबहिनी रहँदैनन् । दाजुभाइ दाजुभाइ रहँदैनन् । छोराछोरी छोराछोरी रहँदैनन् । श्रीमान्‌श्रमती श्रीमान्‌श्रीमती नै रहँदैनन् । सबै पराया बन्छन् । जीवनको अन्त्यावस्थाको यो तिक्त यथार्थलाई कविले राम्रोसँग बोध गरेका छन्–

लुगा धुँदाधुँदै पातलिएको साबुनझैँ
पातलिँदै जाँदा रहेछन् सम्बन्धहरू
सम्बन्ध पातलिँदै जाँदा
ताराझैँ टाढा–टाढा भाग्दा रहेछन् आफन्तहरू
– सम्बन्धहरू
+ + + + + + + +
खोपीको औषधिले जति पनि
गर्दा रहेनछन् आफन्तले माया
सुनसान हुन्छ दिनभरि घर
कसलाई पोखूँ मनको वेदना
सधैँ भइरहन्छ ढुङ्गोझैँ गह्रुङ्गो मन
– वृद्ध बासँग एक साँझ

दक्षिण एसियाकै सबैभन्दा पुरानो देश, छ सय वर्षअघि संसारकै सम्पन्न मुलुकमध्येको एक देश, कहिल्यै भौगालिक उपनिवेशको चपेटामा नपरेको देश यतिखेर श्रमशक्ति निर्यात गरेर तयारी वस्तु आयात गरिरहेछ । श्रमका निम्ति युवापुस्ता भौँतारिँदै मरुभूमिमा बालुवा चाल्न पुगेका छन् । तिनले भित्र्याएको रेमिट्यान्सले भुँडी भर्नेहरू आफ्ना छोराछोरीलाई अमेरिका, अस्ट्रेलिया र क्यानडाको ग्रिनकार्ड र पिआरधारी बनाएर बेइमानीको धन उता स्थानान्तरण गर्दै छन् । देशमा कमिसनका एजेन्टहरूको राज छ । गाउँका पाखोबारी र गैह्री खेतमा बनमारा र चिलाउने उमारेर सोझासाझा युवा सहरबाट क्रमशः खाडी मुलुक पुगेका छन् । देशको यो युगीन विद्रूपतालाई कवि नवोदितले नवीन विम्बसहित यसरी व्यक्त गरेका छन्–

हलो, जुवा, डोको, नाम्लो र कोदालो
गएका छन् उँट चराउन
बालुवा उम्रने देश ।
–वास्तविक अनुहार

तर कवि नवोदित आशाको दियो लिएर देशको सुन्दर मुहार हेर्न निस्किएका छन् । राजनीतिले गर्ने कुटिल भाषणभन्दा उनको आशापेक्षी सपनामा एउटा हृदयसंवेद्य र दृढ अठोट मुखरित छ । उनी निर्यात भइरहेको युवा श्रमशक्तिलाई रोकेर देशको मुहारलाई उज्यालो बनाउन चाहन्छन् । यो उनको मात्रै होइन सत्ता र शक्तिको नजिक नभएका तर देशको ममताले हृदय कुँडाइरहेका आम नेपालीको चाहना हो । शक्ति र सत्ताले नचाहने कुरा नै मूलतः आम नेपालीको चाहना हुने गरेको र त्यो आवाज कवि नवोदितभित्र पनि विद्यमान छ–

हो, हराएका छन् देशबाट
वास्तविक अनुहारहरू
सबैलाई खोजेर एकपटक
मौलिक रङले पोत्नु छ
देशको अनुहार ।
–वास्तविक अनुहार

सर्जकहरूलाई तीन कुराले विशेष प्रभाव पार्छ – आफ्नो देश, आफ्नो जीवन र आम मानिसको जीवन । धेरै सर्जकहरू आफ्नै जीवन र देशको परिवेशलाई कलामा व्यक्त गरिरहेका हुन्छन् । आफ्नो जीवनमा धेरै परिवेशहरू जोडिएका हुन्छन् । पढेका, सुनेका, देखेका, भोगेका र अनुभूत गरेका धेरै पात्र र परिवेशले वैयक्तिक जीवनलाई प्रभावित पारेको हुन्छ । त्यो प्रभाव कलामा व्यक्त हुन्छ । देशसँग जाति, धर्म, परम्परा, इतिहास, संस्कृति जस्ता धेरै पक्षहरू जोडिएका हुन्छन् । आम मानिसको जीवन भन्नु चाहिँ मूलतः वैश्विक चेतना हो । वर्तमानका कविताहरूलाई हेर्ने हो भने धेरै कविहरूले देश लेखेका छन् । शक्ति र सत्ताले थिलथिलो बनाएको समाज लेखेका छन् । अनियमितता र अनाचरणलाई वैधानिक बनाएर देश खोक्रो बनाउने राजनीति–प्रशासन प्रणालीप्रति असन्तुष्टि पोखेका छन् । देश दुखाउने राजनीति–प्रशासन प्रणाली हो । त्यसविरुद्धको आवाज कवि नवोदितले पनि निकालेका छन्–

एकान्तमा बसेर सोचिरहेछु
बाको मन्त्रजस्तै सरकारसित
देशको पीडा निको पार्ने
कुनै मन्त्र भइदिए !
– बाको मन्त्र
+ + + + + + + +
जब अदालतबाटै न्यायको अपहरण हुन्छ
तब बलात्कारी र हत्याराहरूको
विजयजुलुस निस्कन्छ सडकमा
साइरन बजाउँदै हिँड्छ प्रहरी
जुलुसकै अघि-अघि
जो माथिको आदेश पालना गर्दै
भर्खरै जेलमुक्त भएको खुङ्खार डाँकुलाई
ठोक्छ सलाम !
– शासकसँग
+ + + + + + + +
दुःख र आपत् पर्दा
म बाआमालाई सम्झन्छु
भगवान्‌लाई सम्झन्छु
तर किन सम्झिन्नँ शासकलाई ?
– शासक र भगवान्

जहाँ विधिव्यवस्था नै भ्रष्ट हुन्छ त्यहाँ योग्य र योग्यताको कदर हुनुको साटो आफू र आफन्तले प्रश्रय पाउन थाल्दछ । शक्ति र सत्ताले अव्यवस्थाको अभ्यास गर्न थालेपछि न्याय, समानता र प्रगतिको बाटो अवरुद्ध हुन्छ । तब सत्ता र शक्ति नै पक्षपाती बन्न थाल्दछ । कवि नवोदितले एकै समयमा सबैलाई समान न्याय गर्न नसक्ने प्रकृतिलाई चित्रण गर्न विम्ब रूपमा सरकारलाई अघि सारेका छन्–

सरकारजस्तै कति पक्षपाती रहेछ मृत्यु
क्षणभरमै ढले भरोसाका पिलर
एकाएक भाँचिए भविष्यको लट्ठी ।
–एक वृद्धको बकपत्र

आम कविलाई जस्तै कवि नवोदितलाई पनि देश दुखेको छ । वाल्मीकि र व्यासलाई पनि देश दुखेको थियो । देवकोटा र घिमिरेलाई पनि देश दुखेको थियो । हरेक कविलाई देश दुख्दछ । कवि नवोदित देशको युगीन पीडालाई यसरी व्यक्त गर्छन् –

परदेश सोच्नेहरू अहिले कहाँ होलान् ?
देश सोच्ने म
अभावको गीत गाउँदै
हिँडिरहेछु सिमानाबाटै अपहृत
जङ्गेपिल्लर खोज्न ।
– घाइते समय

रहर पनि अनेक हुन्छन् । रहरहरूले वैपरीत्यका बीच सामञ्जस्यको खोजी गर्दछ । जुन छैन त्यसको रहर हुन्छ । बग्दै गरेको उमेरलाई रोक्न खोजेर उनले विगतप्रतिको मोह देखाए पनि मूलतः कवि नवोदित आफ्नै उमेरसँग पनि विद्रोह गर्न चाहन्छन् –

गाउँको कुनै प्रख्यात साहूले
ऋणको तमसुक लुकाएझैँ
समयको बेगसँगै
आफैँबाट भाग्दै गएको
उमेरलाई च्याप्प समाएर
सिरानीमुनि राखेर मस्तले निदाउने रहर छ ।
– रहर
+ + + + + + + +
बर्सौँदेखि जसरी उपद्रो गरिरहेछ
शासकले सत्तामाथि
त्यसरी नै उमेरसँग विद्रोह गरेर
गर्नेथेँ आफ्नै जिन्दगीमाथि
भएभरका सबै उपद्रो ।
– उमेरसँग विद्रोह

समाजका विषमतालाई पनि कवि नवोदितले विम्बात्मक रूपमा देखाएका छन् । सत्ताले गर्ने विभेद तथा बाध्यता बोकेर प्लेन चढ्नुको मर्मभेदी पीडालाई पनि प्रस्तुत कवितासङ्ग्रहभित्रका कविताले अभिव्यक्त गरेका छन् । भूतदेखि भविष्यसम्म लमतन्न सुतेको समयलाई नेपाली समाज र जीवनशैलीसँग जोडेर कविले परिवर्तित परिवेशलाई निकै कलात्मक रूपमा देखाएका छन् । समयलाई केन्द्रबिन्दुमा राखेर लेखिएका उनका कविताको अन्तर्वस्तुमा पर्याप्त विविधता रहेको छ । समय, सम्बन्ध तथा अनुभवजन्य स्मृतिको बहुआयमिक संवेदनालाई कलात्मक अभिव्यक्ति दिने सन्दर्भमा साइबर चेतना, पर्यावरणीय चेतना तथा पितृभक्तिको निकै गहिरो छाप कवितामा देख्न पाइन्छ । नवोदितका कविता सरल र सरस छन् । सरल भाषामा गम्भीर रहस्य र यथार्थ खोतल्नु उनका कविताका खास विशेषता हुन् । सरलता साधारणीकरण गर्न बाधक बन्दैनन् भने उनका कविताहरू निश्चय नै अधिकभन्दा अधिक एषणाहरूको समन गर्न सक्षम छन् । आफू बाँचेको युग र परिवेशलाई उनले निकै मार्मिक र कलात्मक ढङ्गले अभिव्यक्त गरेका छन् । उनीभित्र समयबोधी चेतना छ ।

निष्कर्ष–

कवि मीनकुमार श्रेष्ठ ‘नवोदित’ पचासको दशकमा नेपाली कविता क्षेत्रमा उदाएका नवीन कवि हुन् । तीनओटा कवितासङ्ग्रह प्रकाशित गराइसकेका नवोदितभित्र एक परिपक्व र सरल भाषामा गम्भीर भावलाई अन्योक्तिमूलक ढङ्गले व्यक्त गर्न सक्ने कवि हुन् । उनका कविताले समयको बयान गरेका छन् । समय भूत, वर्तमान र भविष्यमा तन्किएर रैखिक ढाँचामा हिँडिरहेको छ । कवि नवोदितले त्रैकालिक सन्दर्भलाई कवितामा उठान गरेका छन् । शक्ति र सत्ताको वर्तमान कालिक विद्रूपता, राजनीति–प्रशासनको कमिसनकेन्द्रित सत्तासञ्चालनका कारण सर्वसाधारणमा परेको प्रभाव, श्रमनिर्यातको बाध्यता र त्यसले ग्रामीण जीवनशैलीमा निम्त्याएको जटिलता, मानिसका जिजीविषा, अतीतमोह जस्ता विषयलाई नवोदितका कविताले उठाएका छन् । बाल्यकालदेखि वृद्धावस्थासम्मका कथालाई बुनिएका ‘रिटायर्ड जीवन’ जस्ता कविताले उनलाई जीवनको मर्मबोध गर्ने कविका रूपमा चिनाएको छ । यस्तो लाग्छ– कवितामा मेरै जीवनलाई व्यक्त गरिएको छ । मध्यमवर्गीय परिवारको एउटा सदस्यले जीवनमा गरेको सङ्घर्षको मार्मिक कथा हो– ‘रिटायर्ड जीवन’ कविता । यसरी युगीन जीवन, समाज, राजनीति, संस्कृति जस्ता अनेकन् पक्षलाई व्यक्त गर्ने उनका कविता निकै उच्चस्तरका छन् । अस्तु ।