
मोफसलमा बसेर नेपाली साहित्यसाधनामा लागेका लक्ष्मी श्रेष्ठ (२०२१) कविताको उपविधाअन्तर्गत मुक्तक लेखनमा बढी सक्रिय देखिन्छन् । उनको यसभन्दा अगाडि मनभित्रका तरङ्गहरू हाइकुसङ्ग्रह (२०७७) कृति प्रकाशित भइसकेको । प्रस्तुत सधैँ तिम्रो सम्झनामा मुक्तकसङ्ग्रह (२०७७) उनको पछिल्लो कृतिका रूपमा देखा पर्दछ । विभिन्न पत्रपत्रिकाहरूमा कैयौँ लेख रचनाहरू प्रकाशित गरिसकेका श्रेष्ठले प्रकाशनको पर्खाइँमा केही पुस्तकहरू सम्पादन गरेर राखेको देखिन्छ ।
रुमानी मुक्तककारहरूले प्रेमिल अनि स्वप्निल आकाशमा हराउन चाहने जोकोहीका लागि जिब्राको टुप्पामा झुन्डिने किसिमका मुक्तकका बान्कीहरू पस्किएका हुन्छन् । यस कृतिमा पनि प्रेमाङ्कुरित भएका पात्रका लागि बढो मार्मिक र हृदयस्पर्शी पङ्क्तिहरू प्रविष्टि भएका छन् । यसैले पनि मायाप्रीति गाँस्न र साथीसङ्गीहरूका बिचमा कुराकानी र गफको प्रसङ्ग जोड्न मुक्तकले अहं भूमिका खेलेको हुन्छ । ‘तिमी छौ र पो म आजसम्म बाँचेको छु … तिमीलाई नै यो मन मुटुमा साँचेको छु’ (पृ. ३३) । साहित्य एउटा कुराकानी जोड्ने माध्यम पनि हो । कतिपय सन्दर्भमा आफ्ना भनाइलाई थप स्पष्ट पार्न समेत कवितांश जोड्ने गरिन्छ । युवायुवतीका लागि यो पुस्तक अझ पठनीय र सङ्ग्रहनीय देखिन्छ ।
समाजमा देखिएका विकृति विसङ्गतिका विरुद्ध दावानल बनेर उभिएका मुक्तकले सामाजिक रूपान्तरणको अपेक्षा गरेको छ । राजनीतिक खिचातानीभित्र बेइमानी, बेथिति, अन्याय अत्याचार र राजनीतिकका आडमा हुने सार्वजनिक सम्पदाको तहसनहस अनि दोहनमा गर्व गर्नेहरू पनि कमी छैनन् । बिटामा न्याय रुमलिएको छ । सर्वसाधारण अनेक प्राकृतिक र सामाजिक संरचनाका विविध नयाँ आयाममा पिल्सिएका छन् । आम मानिसको पिरव्यथालाई मुक्तकांशले सरल तरिकाले उजागर गर्नुका साथै समयको महत्त्व नबुझी भौँतारिएर हिँड्ने लठुवा र भडुवाप्रति रोष व्यक्त गर्न मुक्तककार चुकेका छैनन् । अझ सहरिया परिवेशमा रम्न, मिठो खान, सुखपूर्ण जीवन बिताउन हिँड्नेहरूको दर्दनाक कथा र अवस्थाको कारुणिक चित्रण मुक्तकांशले प्रस्तुत गरेको छ ।
वैदेशिक रोजगारीमा सुनौलो भविष्य देखेका युवाले पाएको हन्डर र डक्करबाट बाँझिएका जमिनमा जीवनको भविष्य खोज्न चाहेका छन् । अनि सहरिया सभ्यतामा सुख खोज्नेहरूले पाएको दुःखको क्षतिपूर्ति अब आफ्नै जन्मभूमि फर्केर त्यही माटोमा पसिना रोपी लहलहाउँदो सपनामा खोजेका छन् । सभ्य समाजको स्थापना सहरबाट हुन्छ भनेको त त्यहाँ मानवै मानवको सुन्दर बस्तीमा त स्वार्थैस्वार्थको धमिराले भित्रभित्रै खोक्रो पारिसकेको अवस्था पो रहेछ । न त्यहाँ मानवीय मूल्य र जीवनको अस्तित्व नै पाइन्छ न सभ्यता र मानवीयता सहानुभूति नै । हो, त्यस्तो नारकीय जीवन जिउनुभन्दा त गाउँ नै फर्केर नयाँ जीवनको सुरुवात गर्नु नै बेस हुन्छ । त्यसैले जन्मीहुर्की पढीलेखी गर्दै आएको गाउँले परिवेश जीवनको सहारा रहेछ । सहाराको एक मात्रै भूमि चटक्कै छाडी हिँड्नेहरू फेरि त्यही जन्म गाउँ फर्कने चाहना गरिरहेका छन् ।

बाबुराम लम्साल
‘अब जानुपर्छ क्यारे, सहर छोडी गाउँमा
आफू जन्मीहुर्की, बढेको पुर्ख्यौली ठाउँमा
स्वार्थी र निष्ठुरी रहेछ यो सहर त साह्रै
सहरमा सधैँ राख्नुपर्छ जिन्दगी दाउमा’ (पृ. ९७) ।
तमाम विषयलाई समेट्ने प्रयास गर्दै जाँदा विश्वभर महामारीका रूप लिएको कोभिड १९ ले मानवीय जीवनलाई आतङ्कित बनाएको प्रसङ्ग पनि बढो जीवन्त रूपमा प्रस्तुत गरिएको छ । कोभिडका कारण लाखौँ मानिसले अकालका मृत्युवरण गरिरहेका छन् । वृद्धवृद्धाका लागि त अभिशाप नै भएको छ । स्वयं यमराज प्रत्यक्ष देखा परेको छ । यसलाई निर्मूल पार्न खोज अनुसन्धानमा लागेका वैज्ञानिकहरूसमेत हम्मे-हम्मे भएका छन् भने उनै कोभिडको सिकार बनिरहेका छन् । हरतरहले मानवलाई कोभिडबाट बचाउन अनुसन्धाताहरू रातदिन खटिरहेका छन् । स्वरूप परिवर्तन हुँदै आएको कोभिडले प्रतिरोधात्मक क्षमता बढाउन प्रयोगमा आएका खोप र औषधिले समेत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् । दिनानुदिन मानवीय जीवन कष्टकर बन्दै चिन्ताग्रस्त बनेको छ । कोभिड नियन्त्रणका नाममा विकासोन्मुख देशहरू महामारीको निहुँमा ब्रह्मलुट नै गरिरहेका छन् । ओखतीमुलोको खरिदका नाममा भ्रष्टाचारले आकाश नै चुमेको छ । मुक्तककारले विषयमा वैधानिक चोरहरूका नाममा मुक्तकका पङ्क्तिहरू निकै खर्चेका छन् । ‘महामारीले देशमा भन्दा विदेशमा …भ्रष्टाचार धेरै गरे भन्छन्’ (पृ. १२६) । उनले तमाम विषयलाई मुक्तकमा समेट्दै आफूमा भएको देशप्रेम, राष्ट्रभक्ति, सुशासनका साथै मानवीयता, जातीय एकता, सामाजिक सद्भाव र विश्व भ्रातृत्व प्रेमलाई प्रदीप्त पारेका छन् ।
युवायुवतीहरूका माझमा निकै रुचाइएको मुक्तक विशेष गरेर माया प्रेममा केन्द्रित हुन्छ । मायाको सागरमा डुब्नेहरू मुक्तकलाई प्रेमपासमा जोडिने माध्यम बनाउन उद्यत हुन्छन् । प्राकृतिक र नैसर्गिक रूपमा प्राप्त गरेको मायावीपन मुक्तक भएर पोखिन्छ । संयोगको आकर्षण र वियोगको विकर्षणमा मुक्तकीय बान्की ओकलिएका हुन्छन् । यसले प्रेमाङ्कुर बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । नयाँ मानिसहरूमा जोड्नका लागि र सहृदयता व्यक्त गर्नको सहयोगी बनेर देखा पर्दछ । यौवनावस्थामा पुगेका जोकोहीका लागि मुक्तकका बान्की रसमय बनेको हुन्छ । भौतिक प्रेम गर्नेहरू स्वार्थी मतलबी हुन्छ । स्वार्थलिप्साका लागि मात्रै प्रेमको जालो बिछ्याएका हुन्छन् । भौतिकी प्रेम स्वार्थको जालोमा फसेको हुन्छ । यस्तो प्रेम क्षणभरका लागि मात्रै हुन्छ । ‘तिम्रो मिठो मायालाई … बिर्सनलाई सोच्न सकिएन’ (पृ. ३२) । मानवीय संवेदनालाई उजागर गर्ने खालका उनका मुक्तकहरूले घातप्रतिघातको आहालमा डुबेका स्वप्निल आकाशमा कावा खाँदै हिँड्ने पाठकका लागि पठनीय छ ।
मायाप्रेमका साथसाथै राजनीतिक, आर्थिक, सांस्कृतिक, धार्मिक हरेक क्षेत्रमा देखिएका विद्रूपतालाई मुक्तककारले मुक्तकको विषय बनाएका छन् । सांस्कृतिक मूल्य हराउँदै गइरहेको अवस्थामा मानवीय अस्तित्व पनि सङ्कटमा परेको हुन्छ । आयातित संस्कृतिले मौलिक संस्कृतिलाई विस्थापित गर्दै जाँदा सनातनदेखिको रीतिस्थिति लोप हुँदै जानेछ । यस कुराप्रति युवापुस्ताको ध्यान जानु जरुरी देखिन्छ ।
यस सधैँ तिम्रो सम्झनामा पुस्तक पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले प्रकाशन गरेको छ । यस कृतिमा दुई सय बिसओटा मुक्तकहरूले स्थान पाएको छ भने १२८ पृष्ठमा फैलावट रहेको छ । सरल भाषाशैली, मिठासपूर्ण अभिव्यक्तिले मुक्तकलाई सुललित बनाएको छ । कही कतै शाब्दिक पुञ्जको रखाइले बनावटीपनमा मुक्तककार रुमलिएकी भन्ने आभास प्रतीत हुन्छ । स्वतःस्फूर्ततालाई भन्दा अभ्यासमा जोड दिएको अनुभूति अधिकांश मुक्तकले व्यक्त गर्दछ । उठान बिन्दुलाई बैठानमा लगेर टुङ्ग्याउन सकेको भए कतिपय मुक्तक सुनमा सुगन्धजस्तै बन्ने थिए । खैर यसले नेपाली भाषा साहित्यमा फरक किसिमको रौनकता थपेको छ । अबका आउँदा दिनहरूमा परिस्कृत, परिमार्जित र अझै सुन्दर रचनाहरू पस्कँदै जानु मुक्तककारलाई शुभकामना !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

