यस वर्षको उत्तम शान्ति पुरस्कारद्वारा सम्मानित हुने घोषणा भएपछि सचेत पाठकहरूमाझ साहित्यकार भारती गौतमको चर्चा चल्यो । ‘अनुभव र अनुभूतिलाई स्मृतिमा सजाएर रागात्मक, रोचक तथा प्रवाहशील शैलीमा जीवनका कटु–मधु परिवेश चित्रण गर्दै कवितात्मक भाषामार्फत नेपाली संस्मरण साहित्य विधाको गुणात्मक वृद्धिमा योगदान गरेको’ भन्दै उत्तम कुँवर स्मारक पुरस्कार गुठीले उनको पछिल्लो संस्मरण कृति ‘विगत र बाडुली’ (वि.सं.२०७७) का लागि कृतिकार भारती गौतमलाई ताम्रपत्र र नगद एक लाख एक रुपैयाँसहित उत्तम शान्ति पुरस्कारले सम्मानित गर्ने जनाएको हो ।

भारती गौतम धेरै लेख्ने ‘प्रोलिफिक’ सर्जक होइनन्, पत्रपत्रिकाहरूमा नियमित लेखिरहने ‘चल्ती’ लेखक पनि होइनन्, भलै उनी बेलाबखत अन्ताराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को अमेरिका च्याप्टरका गतिविधिमा सक्रिय देखा पर्ने गरेकी हुन् । यद्यपि ‘विगत र बाडुली’ उनको चौथो कृति हो र यसभन्दा पहिले पनि पुस्तकाकार रूपमा उनका तीनओटा कृति क्रमशः कवितासङ्ग्रह ‘आकाशमाथिको सहर’ (विसं २०६३), संस्मरण ‘स्मृतिमा भीमू’ (विसं २०६७) र उपन्यास ‘अमेरिकामा आमा’ (विसं २०७२) प्रकाशित भएका छन् । त्यसो त उनले झन्डै पचास वर्षपहिले विसं २०३० देखि नै फाट्टफुट्ट कविता, कथा र समालोचना पनि लेख्दै आइरहेकी हुन् तर उनको अत्यधिक रुचिको विषयचाहिँ संस्मरण–लेखन हो । भारतीलाई पढेका साहित्यानुरागीहरूलाई थाहा छ, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययन सुरु गर्दा छात्रावासमा परिचय भएर सम्बन्ध बाक्लिँदै गएकी साथी भीमू रिमाल कालान्तरमा आकस्मिक एवम् अनपेक्षित तवरले क्यान्सर रोगको सिकार बन्न पुगेपछि उनकै सम्झनामा दुई वर्षपछि प्रकाशित ‘स्मृतिमा भीमू’ वास्तवमा नेपाली भाषामै संस्मरण–साहित्यको एक उत्कृष्ट कृति हो ।

करिब तीन वर्ष गोरखापत्र दैनिकमा काम गरेपछि त्यो जागिर छाडेर उनी सपरिवार अमेरिका प्रवासिएको पनि साढे तीन दशक नाघिसकेको छ । धनकुटामा जन्म, विवाह विराटनगर, अध्ययन र जागिर काठमाडौँमा अनि दैनिक जीवनयापन अमेरिकामा हुन गएको कारण पनि उनका पछिल्ला सबै रचना र कृतिहरू अनि उनका शब्दहरूमा प्रवासी जीवन बोलिरहेको हुन्छ, घरिघरि नेपाली गाउँले घर–बारी–खरबारी–खेत–खलिहानको सुवास मगमगाउँछ, राजधानी उपत्यकाको बान्की रङमगाउँछ र नेपाली ग्रामीण परिवेशको अकृत्रिम सौन्दर्य झल्किन्छ ।

प्रस्तुत कृति कस्तो हो त ? स्वयं लेखक भारती गौतमको भनाइ छ, ‘विगत पग्लिएर आँखाबाट बगे पनि विगत फक्रिएर अनुहार रङ्गिए पनि हृदयको कागजमा भावनाको मसीले धेरै वर्ष अगाडिदेखि बेला-बेलामा रचेका संस्मरण–चित्रहरू यहाँ प्रस्तुत गरिएका छन् । … नितान्त निजी अनुभूतिमा समेटिएर आफ्नै हृदयको आधारशिलाबाट प्रस्फुटित यी सबै अभिव्यक्ति केवल मेरै मनको मन्थनको धुनबाट रचित गाना हुन् । … उमेर उक्लिने देउरालीमा चुलिएका उन्माद एवं सन्तापको थुप्राबाट अनुभूतिका केही गुच्छाहरू भेला पारेर अभिव्यक्तिको माला तयार पारेकी छु । …’

‘विगत र बाडुली’ नितान्त नयाँ सिर्जना होइन, विभिन्न पत्रपत्रिका एवं अनलाइन सञ्चारमा पहिले नै प्रकाशित भएका लेखहरूको सङ्कलन हो । पुस्तक समग्रमा ‘बा मेरा सर्वस्व’ शीर्षकबाट सुरु भएर ‘आगाको आतङ्क’ शीर्षकमा समाप्त हुँदासम्म जम्मा २६ शीर्षक समेटेर ३५६ पृष्ठसम्म विस्तारित छ र यसमा व्यक्तिगतभन्दा पनि मूलतः पारिवारिक संस्मरणकै आधिक्य छ । समकालीन साहित्य प्रतिष्ठान बेलायतद्वारा काठमाडौँमा प्रकाशित प्रस्तुत पुस्तकमा सङ्कलित ‘बा मेरो सर्वस्व’, ‘आफ्नै दन्त्यकथामा’, ‘सम्झनामा साहिँला काका’, ‘नउघ्रिएका झ्याल’, ‘पल्लाघरका ठुलामामा’, ‘सारीको पिङ’, ‘कुसमयको फोनको घण्टी’, ‘गाडीको समय भयो’ र ‘मनको खत’ शीर्षक संस्मरणहरू लेखकको नितान्त घरायसी एवं पारिवारिक विषयमा आधारित छन् ।

जयदेव गौतम

यसै गरी ‘त्यो दर खाने दिन’ र ‘महाष्टमीको बिहान’ शीर्षक संस्मरणहरूमा नामले सङ्केत गरेझैँ परम्परागत संस्कृतिको आलोकमा परिवार र बालापनसम्बन्धी सम्झना छन् भने ‘बेरीतले दुखेका रीत’ शीर्षक संस्मरणले नेपालको पारिवारिक एवं सामाजिक संस्कारमा देखिएका विभेदबारे जीवन्त रिपोर्ताज पस्केको छ । चारओटा संस्मरण साहित्यिक व्यक्तित्वहरूसित सम्बन्धित छन् जसमा शारदा अधिकारी, झमक घिमिरे, मोहन कोइराला र डायमनशमशेर राणा विषयक सम्झनाहरू छन् ।

पुस्तकमा ‘दो टिकेट चाहिए’, ‘दोलखा भीमसेन’, ‘त्यसपछि कतिसम्म’, ‘आकाश रोएको बिहानपछि’, ‘सेप्टेम्बर एघारपछिको उडान’, ‘अनुभूतिको दोछायामा’, ‘लगनगाँठामा दुई संस्कृति’, ‘यो रात यस्तै लम्बिरहोस्’, ‘जे हामीसँग बोस्टन गएन’ आदि संस्मरणहरूले विविधता थप्ने काम गरेका छन् ।
प्रवासमा बस्न थालेपछिको पीडाबारे भारती लेख्छिन्, ‘घर, आँगन अनि मुलुकबाट बाहिरिएको समय लम्बिँदै गएपछि आफन्तहरू मनमा नजिकिँदै जाँदा रहेछन् । अझ बुबाआमाबाट घर रित्तिएपछि घरबाहिरका आफन्त अरू प्रिय हुँदा रहेछन् । मलाई यस्तो लाग्छ ।’ (पृ.११७)

पुस्तक पढ्दै जाँदा लेखकको अभिव्यक्ति–क्षमता उच्चस्तरीय रहेको प्रस्ट हुन्छ । उनी अत्यन्त सहज, सरल र प्रवाहपूर्ण ढङ्गले आफूलाई व्यक्त गरिरहेकी हुन्छिन् । आमा चन्द्रकलाभन्दा पिता हेमचन्द्र पोखरेलप्रति छोरी भारती हुरुक्क हुने गरेको र नेपाली भाषाका विद्वान् पिता पनि अध्ययनशील छोरीलाई अतिशय स्नेह गर्ने गरेको प्रसङ्ग पुस्तकको पहिलो लेखबाट थाहा हुन्छ । यो र अन्य केही लेखमा पुरानो बलिउड चलचित्र ‘चोरी चोरी’ र कलाकारहरू राजकपुर, नरगिस, केएल सहगल, शमशाद बेगम आदिको उल्लेखले लेखकमा पुराना दिनहरूको याद कति विधि गहिरो गरी जमेको रहेछ भन्ने देखाउँछ ।

उनी भावुक छिन्, संवेदनशील छिन् तापनि कतिपय लेखहरूले लेखक भारतीलाई अमेरिकी चालचलन र रहनसहनका सामु दब्बु नेपाली मानसिकता भएकी व्यक्तित्वका रूपमा पनि देखाउँछन् । नेपाली चालचलनबारे छोराछोरीले जिज्ञासा राख्दा पनि उनीहरूलाई चित्त बुझ्ने गरी जवाफ दिन नसक्नु, माइतमा बहिनीको दुर्घटना–निधन हुँदा त्यसबारे पनि केही भन्न नसक्नु आदि प्रसङ्गहरूले लेखकलाई जीवनको यथार्थलाई केवल ढाकछोप गर्दै अगाडि बढ्न चाहने दुर्बल मानसिकता भएकी व्यक्तित्वका रूपमा प्रस्तुत गर्दछन् । उनी उत्तरहीन र विद्रोही भावनाहीन व्यक्तित्व देखिन्छिन् ।

यसो भए तापनि पुस्तक सरस छ, साहित्यिक गूढता र पारिभाषिक शब्दावलीहरू थोपरेको नभएर भाषा सरल छ, विषयहरू पनि सानामसिना नै छन् । सानाठुला, सुखदुःखहरू समेटिएका छन् । रचनाहरू निश्चल छन्, तिनमा चिच्याहट छैन, अट्टहास पनि छैन बरु शान्त र शालीन छन् । अकृत्रिम संवेदना र वैचारिक उहापोहबाट पुस्तक टाढै छ । तापनि ठाउँठाउँमा भाषिक अशुद्धि र सम्पादनको अभाव राम्रै गरी खट्किन्छ । त्यस्ता केही-केही उदाहरण प्रस्तुत गर्नु सायद बढी श्रेयस्कर हुनेछ–

‘…मेरो अनुभव विगतसँग भेट गर्न गयो (पृ.२४), बेपत्तासँग बिलाउनुभयो (पृ.७८), शिलान्यासमा नै घर भत्किएजस्तो (पृ.१०८), हामी त्यहाँ हुँदाहुँदै झमकको चमत्कारी हेर्ने रमिते… (पृ.१२७), … मेरो भावनाले प्रतिक्रिया गर्न नै बिर्सियो । (पृ.१३१), हाम्रो दिल्लीको उडान बिहानको भएकाले ….(पृ.१६०), बादल लागेको आकाशको बीचमा पूर्णिमाको जूनजस्तै देखिएको ताजमहलको…(पृ.१६४), अगाडि दियो, कलश, गणेश र अरू थुप्रै पूजाका सामानहरू फिँजिएका … (प.१७०), पर्दा खसेको नाटक मञ्चको अर्को दृश्य पर्खेजस्तै उहाँको प्रतिक्रियाकै प्रतीक्षारत थिए ।(पृ.२२७), दसैँको खसीले मानेको जस्तै तीनै जना छोराछोरीले जे हामीसँग बोस्टन नजाने कुरामा अरू विरोध गरेनन् ।(पृ.३२२), एक वर्षअघि हरोक्यानले फ्लोरिडामा… ।(पृ.३५०), सन्नाटा र खालीको कोलाहल भने मुटुसम्म…(पृ.३५२), वर्षको कुनै महिना हरिया हुन्छन् भन्ने विश्वासका ती सुन्तला रङका डाँडाहरू मसी पोतिएका देख्ता त्रूmरताको भयानक अनुहार टाढा थिएन (पृ.३५४)’ आदि ।

यस्ता कतिपय कमीकमजोरी रहे पनि पुस्तक संस्मरण (जसलाई अचेलहुँदो ‘अनुस्मरण’ भन्न थालिएको छ) का रूपमा पठनीय छ । कतै अतिशयोक्तिको भान हुँदैन, तसर्थ यो पुस्तक लेखक भारती गौतमको अतीतको इमानदार अभिव्यक्ति हो भन्दा फरक पर्दैन ।

आलेखको बिट मार्नुअघि विनाटिप्पणी केही उल्लेख लीला लुइँटेलले लेखेको भूमिका पनि गर्नैपर्ने हुन्छ । आफ्नो आठ पृष्ठ लामो भूमिकामा लुइँटेल लेखक भारती गौतम, पुस्तक ‘विगत र बाडुली’, संस्मरण र आत्मकथा विधाहरू आदिबारे बोल्दाबोल्दै अन्यत्र विषय–प्रसङ्गतिर बहकिँदै गएको देखिन्छ । उनी लेख्छिन्, ‘अहिले नेपालमा आत्मकथा एवं संस्मरण भनेर प्रायोजित रूपमा थुप्रै कृति प्रकाशन हुन थालेको…, यसखाले संस्मरण नितान्त ‘अहंपुराण’ मा रूपान्तरित भएका, कतिपय आत्मकथा एवं संस्मरण भनिएका कृति त ‘स्टन्ट’ का रूपमा मात्र देखा परेको तथ्य पनि कसैबाट छिपेको छैन । यस्ता व्यक्तिहरूले चर्चामा आउने अभीष्टले यस्ता स्टन्टकै लागि असफल प्रयास गर्ने दरिद्री एवं हुतिहाराका लागि प्रतिक्रिया व्यक्त गर्न कुनै पनि शब्द बाँकी रहँदैन ।’

यसै गरी लुइँटेल अगाडि लेख्छिन्, ‘अहिले आत्मकथा एवं संस्मरण व्यक्ति स्वयंले नभई खेताला लगाएर लेख्न लगाउने प्रचलन पनि व्यापक रूपमा देखिएको छ । त्यसरी लेखाइएका अधिकांश पुस्तक सम्बन्धित व्यक्तिको भावात्मक अभिव्यक्ति नभएर विवरणमूलक टिपोट भएको अनुभव अधिकांश पाठकले गरेकै हुनुपर्छ । यसरी अहिले लेखाइएका आत्मकथा नामक लेखनहरूलाई नेपाली साहित्यमा ‘आत्मपुराण’, ‘अहंपुराण’, ‘आत्मप्रशंसा’, ‘आत्मश्लाघा’ जस्ता नामकरण गर्नुपर्ने हो कि ? भन्ने जिज्ञासा उठेको मात्र हो ।’

अर्को एक ठाउँ लुइँटेलले लेखेकी छन्, ‘… अनुभवहरू अभिव्यक्त गर्न … यदि सहज वातावरण हुँदो हो त उपन्यासमार्फत आफ्ना निजी अनुभवहरूलाई यथार्थ रूपमा अभिव्यक्त गरेकै कारण दुई जना नेपाली महिला उपन्यासकार परिवार तथा आफन्तजनबाट त्याज्य अवस्थामा रहनुपर्ने थिएन । … अर्कोतर्फ आत्मकथा लेखनका नाममा अर्काको चरित्रहत्या गराउन उद्यत तेस्रो व्यक्तिको निहित स्वार्थका लागि महिलाका नामको दुरुपयोग भएको स्थिति पनि नेपाली साहित्यमा रहेको छ । यसका लागि व्यापक अध्ययन अनुसन्धानको हवाला दिँदै ठुला स्वर उराल्ने व्यक्तिले वर्तमानमा जीवितै बाबुछोरीलाई लोग्नेस्वास्नी बनाइदिएर ठुलै अनुसन्धान गरेको धाक दिएको हास्यास्पद स्थिति पनि यहाँ दोहोऱ्याइरहनु पर्दैन…।’

यति पंक्तिहरू उद्धृत गरिसकेपछि एउटा सहज जिज्ञासा उठ्छ र उठाउनु पनि पर्छ– के नेपाल छोडेर साढे तीन दशकभन्दा बढी समयदेखि अमेरिकामा बस्दै आएकी कुनै लेखकको संस्मरण–ग्रन्थमा यस किसिमको भूमिका लेखन आवश्यक र उचित हुन सक्छ ? किनभने यो त केवल भूमिका–लेखकको एकोहोरो कुण्ठा–वमन मात्र पो भयो र मलाई लाग्छ, लुइँटेलको यो आक्रोशपूर्ण भूमिकासित लेखक भारती गौतको कुनै लेनादेना छैन ।

निःसन्देह, अस्वस्थ अभ्यासको विरोध गर्नुपर्छ, डन्डेसो खुस्कुन्जेल त्यसको आलोचना गर्नुपर्छ र त्यसमाथि बहस एवं वादविवाद चलाउनुपर्छ तर यी कुराका लागि उचित स्थान र उपयुक्त माध्यमलाई छान्नुपर्दछ । एउटा के तथ्य बिर्सनु हुँदैन भने अक्सर पुस्तकको मूलसामग्री पढ्नुअघि पढिने भूमिका पढ्दै गर्दा पाठकको तरोताजा दिमाग विषयान्तर भएर वादविवादको दलदलमा भासिन पुग्यो भने मूलपाठ सुरु नगर्दै पाठकले त्यो किताब कुनातिर थन्क्याइदिने सम्भावना सधैँ जीवन्त रहेको हुन्छ ।