आमुख : सम्बन्ध अनेकौँ प्रकारका हुन्छन् । पारिवारिक, सामाजिक, राष्ट्रिय लगायतका अनेकौँ सम्बन्ध हुन्छन् मान्छेका । एक व्यक्तिले अर्को व्यक्तिसँग स्थापित गर्ने क्रियात्मक व्यवहारलाई सम्बन्ध भन्न सकिन्छ । सम्बन्धको विस्तार मान्छेको चाहना र रुचिअनुसार हुने गर्छ । मान्छेको हार्दिक र मानसिक क्षमता जति विस्तार हुँदै जान्छ सम्बन्ध पनि त्यति नै विस्तार हुन्छ । रगतको नाताबाट बनेका सम्बन्ध हुन्छन् । हार्दिकता आधारमा भावनात्मक रूपमा स्थापित सम्बन्ध हुन्छन् । अर्थात् यस प्रकारका धेरै सम्बन्धहरू हुन्छन् व्यक्तिअनुसारको । जैविक रूपमा नभएका सम्बन्धहरू पनि भावात्मक रूपमा बाँधिन सक्ने सम्भावना हुन्छ । हृदयले ग्रहण गरेको सम्बन्धको महत्त्व अधिक हुन्छ । सबैभन्दा प्यारो र टिकाउ सम्बन्ध यिनै हुन्छन् । जति विशाल हृदय त्यति नै विशाल सम्बन्ध हुन्छन् ।
असमका प्रसिद्ध नाट्यकार विनोद खनालले ‘रगतको साइनो’ नाटकमा रगतको सम्बन्ध र भावनात्मक सम्बन्धको पाटालाई नियाल्ने प्रयास गरेका छन् । अहङ्कारको रापमा रापिएर सम्बन्धको महत्त्व बिर्सिएकालाई सम्बन्धको पाठ पढाउने प्रयास गरेका छन् नाट्यकारले । घर, समाजका मानिसहरूबिच सम्बन्ध कायम गर्दै सामाजिक जीवन व्यतीत गर्नु पनि ठुलो चुनौती नै हो । सकारात्मक सोच भएको व्यक्तिले सम्बन्धहरूलाई उचित न्याय दिन सक्तछ । नकारात्मको सोच भएको व्यक्तिबाट सम्बन्धको हत्या हुन्छ । स्वार्थी व्यक्तिले स्वार्थ हेरेर मात्रै सम्बन्ध जोड्छ । स्वार्थ पूर्ण भएपछि सम्बन्ध पनि विच्छेद गर्दछ । रगतको साइनो अथवा जैविक सम्बन्ध हुँदैमा सम्बन्ध टिकाउ हुन्छ भन्ने कुनै निश्चयता छैन । मतभेद अथवा आदर्शगत विभेदले पनि यस्ता सम्बन्धलाई विच्छेद बनाएको समाजमा देख्न पाइन्छ तर रगतको साइनो नभएर भावनात्मक सम्बन्धै मात्रै भएका सम्बन्धहरू पनि टिकाउ भएको देखिन्छ । यस्ता सम्बन्धले भावनाको कदर गर्छ । विचारहरूको सम्मान गर्छ । आदर्शहरूलाई आत्मसात् गर्दै सँगसँगै अघि बढ्ने बाटाहरू निकाल्छ ।
नाटककारको परिचय : नाटककार विनोद खनालको जन्म असमको विश्वनाथ जिल्लाको बटियामारी गाउँमा २ अगस्त सन् १९५९ मा भएको हो । बाबुको नाम प्रजापति खनाल र आमा वृन्दादेवी खनाल । यसै त विनोद खनाल सांस्कृतिक कर्मी भनेर बढी चिनिन्छन् । उनी नाटककार मात्रै नभएर एक जना सफल अभिनेता, निदेर्शक र घोषक पनि हुन् । उनले धेरै पेसादारी घुमन्ते थिएटरमा अभिनय गरेका छन् । सुमन, असमी, भाष्कर, नटराज, आराधना, लालीगुराँस, ब्रह्मपुत्र आदि थिएटरमा पनि अभिनय गरेको अनुभव उनमा छ । भिडियो एल्बमहरूमा पनि अभिनय र निर्देशन गरेका छन् । हे कान्छी, मेरो मनमा, बहती धारा साथ बहे हम, परिवार आदि भिडियोमा काम गरेको अभिज्ञता पनि उनमा छ । थुप्रै प्रतिष्ठित पुरस्कार र सम्मानले सम्मानित भएका पनि छन् । असम नेपाली नाट्य सम्मेलनबाट नाट्यचार्य (२०१३) उपाधि प्राप्त गरेका छन् भने विक्रमशील हिन्दी विद्यापीठ, मध्य प्रदेशबाट भारत गौरव (२०१३), पञ्जाब कला साहित्य अकादमीबाट कलाश्री (२०१३), कृष्णजी फाउण्डेशन, दादर, मुम्बाईबाट तेजोमय समाज रत्न (२०१८), राष्ट्रिय कवि सम्मेलन एवम् सम्मान समारोह, आग्राबाट शब्दसाधक (२०१९), गोर्खा जनजाति सांस्कृतिक समारोह, जयगाउँ, डुवर्सबाट गोर्खा गौरव (२०११), साहित्य त्रिवेणी, कलकत्ताबाट स्वारस्वत सम्मान (२०१६), अखिल असम छात्र संस्था, असमबाट प्रतिमा बरुवा पाण्डे सम्मान (२०१८), शब्द गङ्गा शुद्धि अभिमान संस्थान, उनाउ, बानपुरबाट कला साधक (२०१९) आदि गरिमामय सम्मानले सम्मानित भइसकेका छन् । हालै उनका केही नाट्यकृति प्रकाशित भएका छन् -रगतको साइनो (पूर्णाङ्क नाटक, २०२१), गरिबको आँसु (पूर्णाङ्क नाटक, २०२१) र बाँसुरी (अनुदित पूर्णाङ्क नाटक, २०२१) आदि ।
विषय प्रवेश : रगतको साइनो नाटकको मूल पात्र अशोकले सम्बन्धको गाथालाई अँगालेको पाइन्छ । अशोक केवल रगतको साइनोमा अल्झिएको छैन । उसले समाजमा बनेका अरू-अरू मानवीय साइनोको पनि कदर गरेको छ, ती साइनोहरूलाई न्याय दिलाउने प्रयास गरेको देखिन्छ । ती प्रयासहरूभित्रका दृश्यहरूलाई नाटककारले क्रमबद्ध तरिकाले सजाएका छन् । हेरौँ त ती क्रमबद्धताभित्रका बुँदागत केही कुराहरू-
सम्बन्धको घेरो : कुनै घेराभित्र सम्बन्धलाई बाँध्न सकिँदैन । अथवा घेराभित्र रहेका सम्बन्धहरू पनि घेराभित्रै रहिरहन्छन् भन्ने निश्चयता पनि हुँदैन । समयानुसार सम्बन्धहरू जोडिँदै जान्छन् भने प्रतिकूल समयमा कुनै-कुनै सम्बन्धहरूले घेरो उछिन्छ । कोही वेला नसोचेको अथवा नचिनेको व्यक्तिसँग पनि उसको व्यवहार अथवा सहयोगले सम्बन्धको प्रगाढता बढाउँछ । अनि कोही वेला रगतको साइनो भएर पनि सम्बन्धहरूमा प्रगाढताको कमी रहन्छ । यस्तै सम्बन्धको घेराभित्र नाटकको नायक अशोक अल्झिएको छ ।
समय र समस्यासँग लड्ने अशोक व्यक्ति स्वाधीनताको पक्षधर भएको पात्र हो । आत्म स्वाभिमानले गर्दा पिरमर्काका बाछिटाहरूले उसलाई हरदम चुटे । ती बाछिटाहरूमा कहिले ऊ भिज्यो, कहिले नुहाएर निराशाको वस्त्र पनि ओडो । निराशाको वस्त्र फुकालेर फ्याँक्ने कोसिसमा कसैले सहयोगको हात फैलाए भने कसैले ती वस्त्रहरूलाई झन् नौलो तरिकाले लगाइदिने प्रयास पनि गरे ।
जीवन त सङ्घर्षकै अर्को नाम हो । सङ्घर्षको मैदानमा जीवनका मोडहरू बदलिन्छन् । यिनै मोडहरूमा सम्बन्धले पनि पाउलो फेरेको हुन्छ । घातप्रतिघातका भूमिबाट अर्जन गरेका उपलब्धिहरूले जीवनको बाटो पनि निर्णय गरेको हुन्छ । तिनै बाटामा भेटिएका कुनै सम्बन्धले गहिरो छाप छोड्छ भने कुनै सम्बन्धले जीवनको गति नै बदलाइदिन्छ । यस नाटकमा पनि मूल पात्र अशोक आमा गायत्रीको व्यवहारबाट वाक्क भएर घर छोड्न बाध्य भएको छ । ऊ आफ्नो घरको घेराभित्र अर्थात् रगतको साइनोबाट मुक्त भएर बाहिरिन्छ । गाँस, vaस र कपासको खोजीमा ऊ कुनै एउटा गाउँमा पुग्छ । दयालु नरपतिले उसलाई आश्रय दिन्छन् । रगतको साइनो नभए तापनि पुत्रको मर्यादा पाउँछ अशोकले । अर्कै एउटा सम्बन्धको घेराभित्र पस्दछ जहाँ उसले सोचेजस्तो वातावरण पाउँछ । बहिनी ज्योति पाउँछ । सम्बन्धहरूमा फेरि अर्को एउटा सम्बन्ध थपिन्छ । उसको छोरो हुन्छ । ऊ आफैँ बाबुको सम्बन्धको घेराभित्र आबद्ध हुन्छ तर यो सम्बन्धले खुसीभन्दा पनि बढी दुःख ल्याएर आउँछ । थोरै दिनमा छोराको मृत्यु हुन्छ । अशोककी पत्नी कविताले यो दुःखद समाचार पत्याउन खोज्दिन । ऊ बौलाउँछे । मानसिक हालत दिनौँ बिग्रँदै जाँदा सम्बन्धहरू फेरि बिग्रँदै जान्छन् ।
सम्बन्धमा पहिरो : कुनै पनि कारण नभईकन सङ्घर्ष सुरु हुँदैन । कारणहरू जब सम्झौताको माहोलदेखि टाढिन थाल्छन् तब सङ्घर्षको सूत्रपात हुन्छ । कोही व्यक्तिगत रिस, डाहमा जलेर पनि सङ्घर्षमा लिप्त हुन चाहन्छ भने कोही धनदौलतको लालचमा फसेर सङ्घर्षको आश्रय लिन्छ । शान्तिको वातावरणलाई सखाप पार्न सङ्घर्ष जन्मिन्छ । सङ्घर्षको परिणामले धेरजसो अशान्तिमय परिवेशको सिर्जना गर्दछ । यिनै अशान्तिमय परिवेशमै कसैको स्वर्गजस्तो घर नरक बन्न पुग्छ भने कसैको सुख छिनिन्छ अनि दुःखैदुःखको बादलमा घेरिन्छ । यिनै दुखको बादलमा पनि एक झर सुखको वर्षामा नुहाइदिन कोही प्रयासरत देखिन्छन् भने कोही दुःखको बादलभित्र बिजुलीको ताण्डव नृत्य हेर्न चाहन्छन् । यस्तै मानव समूहले बनिएको सामाजिक व्यवस्थामा सङ्घर्षका अनेकौँ मोडहरू देख्न पाइन्छ, हेर्न पाइन्छ । कोही सङ्घर्षको कारक बनिएर प्रतिशोधको आगामा जलेको छ भने कोही सङ्घर्षमा पिल्सिएर सुन्दर जीवनदेखि बिरक्तिएको छ । अर्थात सङ्घर्षले दुवै पक्षमा नकारात्मक प्रभाव पारेको छ । हो पनि नकारात्मक सोचको उपज नै सङ्घर्ष हो । नकारात्मक सोचले मनलाई थकाउँछ, शरीरलाई गलाउँछ । मस्तिष्कमा भारीपन ल्याउँछ । अशान्तिमय वातावरणको सिर्जना गर्छ ।
यस्तै सङ्घर्षका विभिन्न कारणहरू प्रस्तुत नाटक रगतको साइनोमा पाइन्छ । सङ्घर्षले गर्दा नै सम्बन्धमा पहिरो गिर्छ, सम्बन्धविच्छेद हुन्छ । विचारहरू नमिल्दा पनि सङ्घर्षको सूत्रपात हुन्छ । यस नाटकमा पनि गायत्री र अशोकका विचारहरू नमिल्दा घर झगडाको थालनी भएको हो । अर्थात् सङ्घर्षको बिउ उम्रिएको हो । अशोकले विपत्मा परेकी एउटी केटी कवितालाई पत्नीको मर्यादा दिँदै मानवताको निदर्शन देखाउन चाहेको थियो, कसैको बिग्रिएको घरलाई सपार्न चाहेको थियो तर उसको सोचलाई कदर गर्न छोडेर बुढो औँलो देखाउँदै लोकलज्जा र सामाजिक व्यवस्थाको आडमा उसकी आमा गायत्रीले उसैलाई घरबाट निकाला गरेर सङ्घर्षको सुरुवात गर्छिन् । सङ्घर्षलाई रोक्ने प्रयासमा अशोकका बुबा तारापति एक्लो बृहस्पति हुन्छन् । घर छोडेर अशोक बाहिरिएपछि उनले अन्तिममा नोकर नन्दुलाई भनेको संलाप यहाँ राख्न चाहन्छु- नन्दु, आज झुल्किएको घाम बेलुका अस्ताएर भोलि फेरि उदाउँछ अनि आजको जस्तो एउटा अर्को दिन भोलि फेरि भेटिन्छ । रात पनि भेटिन्छ । तर नन्दु, हातबाट निस्किेको तीर आफ्नो लक्ष्यमा नपुगी कहिल्यै फर्किँदैन । कोही वेला परिवर्तन र संस्कारको पक्षमा रहँदा पनि सङ्घर्षले बाटो छेक्ने गर्छ । यस नाटकमा अशोकले पनि यस्तै सङ्घर्षका बाटाहरूमा हिँडेको पाइन्छ ।
अहङ्कारबाट पनि सङ्घर्ष जन्मिन सक्छ । अनि यही सङ्घर्षले मधुर सम्बन्धमा पहिरो ल्याउँछ । अहङ्कारले मपाइँपन बढाउँछ । अहङ्कारी आफैँआफ ठुलो बन्दछ र अरूलाई तृणतुल्य ठान्दछ । परिणाम त उसले विनाश नै ल्याउँछ । यस नाटकमा पनि अशोककी आमा गायत्रीलाई एउटी अहङ्कारी नारी चरित्रमा खडा गरिएको छ । जसको अहङ्कारी स्वभावले प्रायःजसो नै सङ्घर्षको भित्र्याएको पाइन्छ । आचार-व्यवहारमा पनि अहङ्कारको पर्दा लागेको देखिन्छ । यहाँ नोकर नन्दुप्रतिको गायित्रीको व्यवहार प्रष्टाउन एउटा संलाप प्रस्तुत गर्दछु- तँ बौलाहा कुकुरझैँ धेरै नभुक् । रोएर स्वाङ पार्नु पर्दैन । विघ्नै गरिस् भने भरे मालिकलाई पोल सुनाई मेरो अपमान गराउलास् । भित्र जा कुकुर । यहाँ नोकरलाई कुकुरसँग तुलना गरेर घरको काममा सहयोग गर्ने व्यक्तिलाई निचो देखाइएको छ । प्रभुभक्त कुकुरको गुणलाई बिर्सिनु भनेको अहङ्कारी हुनु हो अथवा जसलाई निचो देखाउने कोसिस गरिएको छ ऊ भन्दा निचो हुनु हो । यस्तै स्वभावले सङ्घर्षको सुरुवात हुन्छ ।
शिष्टाचार एउटा व्यक्तिको पहिचान हो । शिष्टाचारहीन व्यक्ति असभ्यताको नमुना हो । शिष्टाचारहीन व्यक्ति हरहमेसा सङ्घर्षकै पक्षधर भएर उभिएको हुन्छ । सम्बन्धमा पहिरो ल्याउने तरखरमै हुन्छ । घरमा आएका कविताका बुबा कुष्माखर भन्ने व्यक्तिप्रति शिष्टाचार बिर्सिएर गायत्रीले अनापसनाप बोलेका संलापहरू यहाँ प्रस्तुत गर्दछु- ए…तिमी सम्धीको साइनो गाँस्न आएका ? मानिसलाई सरम हुनुपर्दछ । पोइला गएकी छोरीलाई खोज्दै बाबु टुप्लुक्क । तपाईँ यो घरबाट जान सक्नुहुन्छ । जानुहोस्, छोरी खोज्दै दोवारा यो घरमा नआउनू । बुझ्नुभयो? विपत्मा परेकी छोरी कवितालाई अशोकले अँगालेर जुन महत्ता देखाएको थियो, साथै अशोकको घरपरिवार पनि त्यस्तै महत्ताको सङ्गमस्थल हो भन्ने कुष्माखरको सोचमा गायत्रीको व्यवहारले शून्यता ल्याएको छ । शिष्टाचारहीन व्यवहारले यहाँ पनि सङ्घर्षको बिउ छरेको छ । सम्बन्धमा पहिरो ल्याएको छ ।
अति मात्राको मानसिक पीडाले पनि सङ्घर्षलाई निम्त्याउँछ । पीडाको औषधि सान्त्वना अथवा सत्यतालाई स्विकार्दै जीवन पथमा हिँड्नुहुन सक्छ । पीडाको औषधि जलन हुन सक्दैन । हुन सक्दैन एकान्तवास । पीडालाई नियन्त्रणमा राख्न नसक्दा बौलाहा हुन बेर पनि लाग्दैन । यस नाटकमा पनि पुत्रवियोगमा तड्पिएकी कवितामा बौलाही विशेषणसहितै सङ्घर्षका बाछिटाहरू पर्न गएको छ । यस शोकले कवितासहितै अशोक, ज्योतिमा सङ्घर्षका छिटा परेको छ । मधुर सम्बन्धमा पहिरो ल्याएको छ । हेरौँ त यस शोकमा डुबेकी कविताले कस्ता संलापहरू अलापेकी छन् । कविताले आश्रयदाता बहिनी ज्योतिलाई पुत्रवियोगको कारण भनेकी छन् – तैँले नै मेरो छोरालाई छोएकी थिइस् । तैँले नै मारिस् । म तलाईँ यसै छोड्दिनँ । तलाईं म घाँटी च्यापेर मारिदिन्छु । यस्ता आरोपहरू मानसिक असन्तुलनका कारण भए तापनि सङ्घर्षका पनि कारण हुन् । कोही वेला असन्तुलनलाई सन्तुलनतिर मोड्ने हुँदा पनि सङ्घर्ष नै हुने गर्छ । किनकि धैर्यको पनि एउटा निर्दिष्ट सीमा हुन्छ । यस नाटकमा पनि धैर्यशील र विवेकशील अशोक अधैर्य हुँदै सङ्घर्षको चक्रव्यूहमा फस्न पुगेको छ । कविताको मानसिक असन्तुलनले उसको पनि मानसिक स्थिति डगमगाएको छ । त्यसैले उसको यो संलाप यहाँ राख्न गर्न चाहन्छु- अँ…अँ…तिमी बौलाही हौ । हो । हो । बौलाहीलाई बौलाही नभनेर के भन्छन् ? तिमीले एउटा सुन्दर घर-संसारलाई बरबाद बनाइदियौ । तिम्रा लागि नै बाबु भई भई पनि टुहुरोजस्तो भएर त्यो घरलाई त्यागिदिनुपऱ्यो केवल तिम्रा निम्ति । तिमी बौलाही हौ । यस्तै संलापले सम्बन्धमा पहिरो ल्याउने काम गरेको छ ।
सम्बन्ध गहिरो : सम्बन्ध गहिरो बनाउनुमा दुवै पक्षको भूमिका रहन्छ । विचारहरूको मेल, एकअर्कालाई सम्मान, सकारात्मक सोच आदिबाट दुई पक्षमा सम्बन्ध मधुर हुने सम्भावना बढी देखिन्छ । रगतको साइनो हुँदैमा सम्बन्धमा राम्रो हुन्छ भन्ने पनि छैन । रगतको साइनो भएर पनि सम्बन्धमा आँच आएको देख्न पाइएको छ । अथवा रगतको साइनो नभएर पनि सम्बन्धमा रगतको साइनोभन्दा पनि गाढा सम्बन्ध भएका उदाहरण पनि समाजमा देख्न पाइन्छ । यस नाटकमा पनि रगतको साइनो नभए तापनि अशोकको सम्बन्ध तारापति र नरपतिसँग पुत्रको झैँ छ । ज्योतिसँगको अशोकको सम्बन्ध रगतको नभए तापनि दाजुबहिनीको झैँ छ । यी सम्बन्धहरूमा रगतको साइनो कतै छैन । सम्बन्धहरूमा स्वार्थ छैन । सम्बन्धहरूमा छ त केवल मानवता तर अन्तिममा नाटककार विनोद खनालले यस नाटकको शीर्षक नै ‘रगतको साइनो’ रहेकाले होला नोकर नन्दुसित अशोकको रगतको साइनो जोड्दै दुवै बाबुछोरालाई रगतको साइनोमा मुछेका छन् ।
उपसंहार : नाटककार विनोद खनालले सम्बन्धलाई रगतको साइनो, विचारको मिलाप, मायाँ र मानवतासँग जोडेका छन् । रगतको साइनोमा पनि त्याग र बलिदान चाहिन्छ भन्ने सन्देश दिन नाटककार चुकेका छैनन् । साइनो जस्तोसुकै भए तापनि साइनो टिकाउनुमा दुवैपक्षको उत्तिकै भूमिका रहनुपर्ने आवश्यकतालाई उभ्याउने प्रयास नाटककारको रहेको देखिन्छ । वर्तमान समयका बाक्लै देखा पर्ने पारिवारिक मनमुटावलाई विषयवस्तु बनाइएको नाटकमा साइनोको महत्त्व मुखरित भएको छ । कतै-कतै क्रान्तिकारी स्वर पनि गुञ्जायमान छ । यिनका नाटकमा रहेको वैचारिकतामा विशेषतः मानवीय मूल्य र मान्यतामा आधारित रहेको पाइन्छ । मात्सर्य, क्रोध, हिंसा आदिलाई त्यागेर प्रेम, सद्भाव एवं शान्तिले साइनोको सम्मान गर्दै मानवीय दृष्टिकोणको पक्षधर रहेर जीवन जिउने भावनाको अभिव्यक्ति यस नाटकको लक्ष्य रहेको देखिन्छ । नाटकमा दुःखद र त्रासद वातावरण संरचित भए तापनि अन्त्यमा सुखदोन्मुख वातावरणको सिर्जना गरिएको छ । नाटकमा प्रयुक्त भाषाशैली सरल, सहज र बोधगम्य छ । नाटक मञ्चनीय छ । थिएटरमा पनि यस नाटकमञ्चन भएको छ ।
यस नाटकले कतिपय वर्णविन्यास दोष खपेको छ । कतै-कतै कथ्य भाषाको पनि प्रयोग गरिएको छ । सकारात्मक दृष्टिकोणबाट नियाल्दा यस कृतिमा परिमार्जनको केही आवश्यकता देखिन्छ । लेख्तै जाँदा परिमार्जन हुँदै जाने हो । पुस्तकको आवरण पृष्ठ सुन्दर छ । पछिल्लो पृष्ठमा असमिया साहित्यका वरिष्ठ साहित्यकार, नाट्यकार, निर्देशक, कवि रफिकुल होसेनको शुभेच्छा वाणी लिपिबद्ध रहेको छ । असमेली नाट्य क्षेत्रमा एउटा मूल्यवान् नाट्य कृति उपहार दिन सक्षम खनालजीलाई दीर्घ साहित्यिक यात्राका लागि हार्दिक शुभकामना दिन चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।