Chovar Blues Mobile Size

संयोग

उपन्यासकार पदम विश्वकर्मा नेपाली साहित्यवृत्तमा चिनिएका स्रष्टा हुन् तर व्यक्तिगत रूपले भने मैले देखेभेटेको छैन । सामाजिक सञ्जालमा भने हामी बाक्लै आफन्तिएका छौँ । घटना भन्नु संयोगको परिणति हो । यो पुस्तक मेरा हात लाग्नु पनि संयोग हो । सन् २०२१ को डिसेम्बर महिनाको २६ तारिकका दिन स्रस्टा साँझ अमेरिकाका सहजकर्ता साहित्यकार प्रा. विश्वराज अधिकारीले उपन्यासकार पदम विश्वकर्माको यसै वर्ष यानि कि सन् २०२१ मा प्रकाशित भएको बहुचर्चित उपन्यास ‘क्वारेनटाइन’ माथि परिचर्चा कार्यक्रम सञ्चालन गरेको थियो र सो कार्यक्रमको एउटा परिचर्चाकारमा म उभिएको थिएँ । यसका लागि उपन्यासकार पदम विश्वकर्माज्यूले अमेरिकी हुलाकको बुई चढाएर उपन्यास मेरा हात लगाइदिनुभयो । यी सबै संयोगका परिणति हुन् । त्यसैले यसै सर्कामा मैले ‘क्वारेन्टाइन’ फिँजाएको छु ।

आवरण

उपन्यासको आवरणमा कोरोना कहरलाई बुझाउने तथा कोरोनाले गरेको क्षतिलाई एउटा आँखाले हेरिरहेको अमूर्त मानव आकृति छ । त्यसले मानवक्षय तथा मानवजीवनको अपूर्णताको विम्ब प्रस्तुत गर्छ भने नजिकै रहेको एउटा बलिरहेको मैनबत्तीले हताहतको चिर शान्तिको कामना गर्दछ । पुस्तकको पश्च भागमा उपन्यासकार विश्वकर्माको एउटा सानो तस्बिर छ भने त्यसकै दायाँ र तलतिर सायद प्रकाशकको तर्फबाट होला कृतिकारको साहित्यिक परिचय र कृतिको सार प्रस्तुत गरिएको छ । वि.सं. २०७८ सालमा साङ्ग्रिला पुस्तक प्रालिले प्रकाशन गरेको उक्त कृतिको आवरण टाइम्स क्रिएसन्ले बनाएको छ । आइएसबीएन रहेको यो पुस्तकमा कोरोना महामारीको कारणले ज्यान गुमाएका आत्माहरूमा समर्पित छ । कसैको भूमिका नरहेको यस कृतिको पछाडिको भागमा ‘र, अन्त्यमा ….’ शीर्षकमा लेखकीय धन्यवाद ज्ञापन रहेको छ । जसमा पाठकबाट प्रतिक्रियाको अपेक्षा गरिएको छ ।

व्यक्तिकृति

लमजुङको धमिलीकुवामा जन्मेका हुन् उपन्यासकार पदम विश्वकर्मा । हाल कोलोराडो, अमेरिकालाई मुकाम बनाएका विश्वकर्मा नेपाली साहित्यको फलकमा दर्बिलो साहित्यकार मानिन्छन् । सन् २०१० देखि २०१२ सम्म अनेसास कोलोराडो च्याप्टरको अध्यक्ष भएर साहित्यिक जिम्मेवारी निर्वाह गरिसकेका उपन्यासकार विश्वकर्माले सन् २०१२ देखि २०१४ सम्म अनेसासको केन्द्रीय महासचिव भएर भूमिका निर्वाह गरिसकेका छन् । यसै गरी सन् २०१८ मा अनेसास ट्रस्टीको उपाध्यक्षमा निर्वाचित भएका छन् । यही क्रममा सन् २०१४ देखि २०१८ सम्म अनेसासको दुई कार्यकाल केन्द्रीय अध्यक्ष भएर नेपाली साहित्यलाई नेतृत्व प्रदान गरेका छन् । विश्वका विविध मुलुकको भ्रमण गरिसकेका विश्वकर्मा विद्यालयबाटै निबन्धलेखनमा उत्कृष्ट थिए । साहित्यिक गतिविधिमा सक्रिय थिए ।

समाजशास्त्र, मानवशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका उनले अम्बेडकर अन्ताराष्ट्रिय पुरस्कारलगायत धेरैओटा पुरस्कार प्राप्त गरेका छन् । ‘शब्दसुमन’ कवितासङ्ग्रह प्रकाशन गरेका छन् । त्यसको अङ्ग्रजीमा अनुवादसमेत भएको छ । त्यसपछि ‘तमसुक’ कथासङ्ग्रह प्रकाशन गरिसकेका विश्वकर्माको प्रस्तुत कृति ’क्वारेन्टाइन’ भने उपन्यास हो ।

‘क्वारेन्टाइन’मा औपान्यासिकता

उपन्यास हातमा छ । यद्दपि कुनै कृतिको जेनिथ हुँदैन तर पनि पाठकले आफ्नै पाठकीय अधिकारका कारणले एउटा अब्बल फेच्चाको पगरी गुताइहाल्छन् कृतिलाई । म पनि यही पाठकीय अधिकारको प्रयोग गर्दै यो उपन्यासभित्र पाठकीय गवेषण गर्दछु । पाठकीय गवेषणा पनि एकलकाँटे भइ नै हाल्छ । किनभने पाठकको पनि एउटा परिवेश, चेत, दृष्टिकोण तथा ज्ञानको सीमितता हुन्छ र पनि पाठक निजात्मक तवरले त्यही सीमितताभित्र पूर्ण आधिकारिक हुन्छ ।

उपन्यासभित्र गवेषण गरिरहँदा सबैभन्दा हेरिने कुरा नै बुनोट तथा प्रस्तुतिको औपन्यासिकता हो । औपन्यासिकता भन्नु आख्यानको अुनपम सिर्जना हो । कल्पनाशीलता हो । कल्पनाशीलताभित्रको यथार्थता हो । त्यस कारण उपन्यासमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको औपन्यासिकता हो ।

कुनै आख्यान उपन्यास हो वा होइन भनेर छुट्याउन त्यो कृतिमा प्रयोग भएको औपन्यासिकतालाई आधार मान्नुपर्ने हुन्छ । यस अन्तरगत उपन्यासभित्र द्वन्द्व निर्माण, कथानक निर्माण, पात्र परिचालन, तिनका बिचमा हुने संवाद, दृष्टिबिन्दु, आख्यानको लम्बाइ तथा कार्यपीठिका आदि पर्छन् । यसैका आधारमा उपन्यासकार पदम विश्वकर्माको ‘क्वारेनटाइन’ उपन्यासको औपान्यासिकताका आधारहरू केलाउन प्रयत्न गर्दै छु । सर्वप्रथम यो उपन्यासको कथानकको सार खिचौँ ।

कथासार :

अमेरिकाको कोलोराडोबाट लसएन्जलसतिर बाआमालाई छोरीको छोरोनातिको वर्थडे मान्न पठाएको बिन्दुबाट सुरु हुन्छ कथा । बर्थडे भव्य छ । कोलोराडो फर्कँदा आमाबाबु दुवैलाई कोरोनाले छोएको छ । आक्रान्त पारेको छ । आइसीयुमा भर्ना गरिएको छ । अन्त्यमा बाबुआमा दुवैलाई विनय तथा जमुना पात्रले गुमाउनुपरेको छ । त्यही पीडाका बिचोबिच कथानक कुदेको छ । कथानकका मूल पात्र विनय तथा जमुनामा एकैपल्ट बाबु, आमा गुमाएको पीडाभित्र मातृभूमिको सम्झनाले विह्वल बनाएको छ । यो विपर्यास परिस्थितिले उब्जाएको मनोवैज्ञानिक पीडा ज्यादै हृदयविदारक तरिकाले प्रस्तुत गरिएको छ ।

अर्कोतिर दोकान बन्द हुँदा विनयको अवस्था होमलेसको जस्तो भएको छ । यसैबिच दुर्भाग्य विनयलाई कोरोना भएको छ र दुईहप्ताको क्वारेन्टाइन बस्ताको मानसिक द्वन्द्व केलाउँदै कथानक अघि बडेको छ । यो अनुभूति जेलमा बसेको जस्तो भएको छ र फेसबुक यो विपर्यास परिवेशको सहारा भएको तथ्य उजागर पारिएको छ ।

क्वारेन्टाइनपछि पनि विनय काममा जान नपाएको तथा उनकी श्रीमती जमुनाको जागिर गएको परिवेशमा खर्चको अनिकाल परेको यथार्थ पस्किएको छ । सहयोगी सुरेशसँग पैसा सापट मागे । दिए । तर सुरेश आफैँ ब्याङ्करप्सीमा परे र टाट पल्टिए ।

उपन्यासमा यसैबिच अर्को परिवारको कोरानाकथा सुरु हुन्छ । कोलोराडोमै बस्ने छिमेकी राजीव र उनकी श्रीमती पार्वती तथा उनका छोराछोरीसहित सबैलाई कोरोना लागेको र पार्वतीबाहेक अरू सबै मारिएको विडम्बनापूर्ण परिवेश तथा हृदयविदारक चित्र उतारिएको छ ।

उपन्यासमा फेरि न्युयोर्क मुकामकी सिर्जनाको कोरोनायुक्त जीवनको चर्चा गरिएको छ । यसपछि जमुनाको भाइ चन्द्रशेखरलाई न्युयोर्कमा कोरोना लागेको कुरा छ । यसपछि जमुना आफैँलाई कोरोना लागेर अस्पताल भर्ना हुनुपरेको छ । जमुनाको मृत्यु भएको छ । मर्माहत विनयको अवस्थाको चित्रण गरिएको छ ।

यही अवस्थामा पूर्वस्मृतिमा विनय र जमुनाको बिहेपूर्वको प्रेम तथा विवाह प्रसङ्ग जोडिएको छ । जमुनाको काजकिरिया नेपाली परम्पराअुनसार घरमै क्वारेन्टाइन बसेर चोखो खाएर गरेको परिवेशको चित्रण गरिएको छ ।

आर्थिक अवस्था कमजोर भएर खानावितरण लाइनमा गएर खाना लिनुपरेको । मागेर खनुपर्ने होमलेसजस्तै भएको छ जीवन तर यसैबिच कथानकले सकारात्मक मोड लिन्छ । कोरोनाको खोप आएर मानवजातिलाई आश पलाएको तथा अमेरिकी सरकारले राहत बाँडेको कुरालाई उठाएर कथानकलाई सकारात्मक स्वरूप दिइएको छ ।

अमेरिकी समाजको संस्कृतिअनुसार विनयका छोराछोरी कलेज पढ्नका लागि घर छोडेर हिँडेका छन् । विनय झन् एक्लो भएको छ । उता आफ्नो लोग्ने, छोराछोरी कोरोनाकै कारणले गुमाएकी पार्वती पनि परदेशका ठाउँमा एक्लै जीवनसँग सङ्घर्ष गरिरहेको अवस्थामा कारण तथा आवश्यकताको सिद्धान्तअनुसार समापनमा पुग्दा विनय र पार्वतीले पुनर्विवाह गर्छन् र कथा सकिन्छ । यानि फेरि जीवन सुरु हुन्छ ।

रूपविधान : बनोट/बुनोट : उपन्यासमा प्रयुक्त कथानक र त्यसको तात्पर्यलाई असल तानमा बुन्नु जरुरी हुन्छ । यो समग्र योजना बनोट हो भने त्यो तानमा कति मेहनतका साथ कथानक भर्ने भन्ने बुनोट हो । उपन्यासकारले उपन्यासको बनोट तथा बुनोट गर्दा लस एन्जलसदेखि कोलोराडो र न्युयोर्कसम्म तान फिँजाएका छन् । सो तानमा कोरोनाले पारेको भौतिक, मानसिक, आर्थिक, मानवीय हृदय तथा समग्र जिन्दगीमाथि आइपरेको विषयवस्तुका धागाले तानमा कथानक बुनेका छन् ।

कार्यपीठिका : उपन्यासको कथावस्तुमा ज्यादै धेरै प्रभाव पार्ने विषय भूगोल हो । यानि कार्यपीठिका हो । किनभने जुन भूगोलको समाजका बारेमा चित्रण गर्ने हो त्योअनुसार नै कथावस्तु, कथाकालीन समय, वातावरण, संस्कृति, भाषा, त्यहाँका मान्छेको जीवनप्रणालीका बारेमा उपन्यास सजग हुनुपर्दछ । त्यसपछि मात्र उपन्यास लेखनको जग बस्छ । प्रस्तुत उपन्यासमा कार्यपीठिका कोलोराडो अमेरिका, न्युयोर्क अमेरिका र लस एन्जलस अमेरिका रहेका छन् । यसो भएकाले अमेरिकी समाजको भौतिक तथा सामाजिक मान्यतालाई यो उपन्यासले मजाले उजागर गरेको छ ।

द्वन्द्वविधान : उपन्यासको ज्यादै महत्त्वपूर्ण शरीर भनेको आख्यानात्मक द्वन्द्वविधान हो । कथाभित्र दुई वा दुईभन्दा बढी विचार, मान्यता वा परिवेशका बिचमा द्वन्द्व गराएर आफूलाई राम्रो लागेको मान्यता, विचार वा परिवेशको पक्षमा निकास निकाल्नु द्वन्द्व विधान हो । कथानकमा सामान्यतया यो द्वन्द्व मान्छे र प्रकृति, मान्छे र मान्छे, मान्छे र समाजका बिचमा हुने गर्छ । दुई विपरीत विचारका बिचमा हुने गर्छ । नायक र खलनायकका बिचमा हुने गर्छ । द्वन्द्व विधानमा एउटा समस्याका बारेमा छलफल गराउनुपर्छ ।

यो प्रसङ्गमा हेर्दा उपन्यासमा द्वन्द्वको एकातिर कोरोना कहर छ । कोरोनाले पारेको भौतिक, मानवीय, सामाजिक तथा समग्र क्षति छ भने अर्कोमा विज्ञान छ । मान्छेले झेलिरहेको समस्या छ । त्यो समस्यामा आस छ । आखिर मान्छेले बाँच्नैपर्छ र बाँच्ने आसले जितेको छ । जीवनबाट मृत्युभय हारेको छ । जीवन हाँसेको छ । त्यसैले द्वन्द्व विधानका हिसाबबाट उपन्यासमा सतर्कता र उत्कृष्टता दुवै देखिन्छन् ।

कथ्यनिर्माण : उपन्यासकारभित्र आएको द्वन्द्वले एउटा आकार लिन्छ । त्यो द्वन्द्व जति गतिलो भयो त्यति नै आकार दर्बिलो हुन्छ र त्यो आकार भन्नु उपन्यासकारद्वारा गरिएको कथ्यनिर्माण हो । उपर्युक्त कुरा अभिव्यक्त गर्न कथानकको सिर्जना गर्नु आवश्यक हुन्छ । कुनै घटनालाई आख्यानीकरण गर्नु कथानकको निर्माण हो । खासमा कथानकको निर्माण द्वन्द्वव्यवस्थापनबाट हुन्छ । आकर्षक तथा दर्बिलो द्वन्द्वबाट कथानकको क्लाइमेक्स हुन्छ । उपन्यासमा कसरी द्वन्द्वको निर्माण भयो र समाधान भयो भन्ने कुरा कथानक प्रस्तुतिले बुझाउँछ । यो बुँदाबाट हेर्दा उपन्यासकारले कोरोना तथा विज्ञानका बिचमा द्वन्द्व गराएर विज्ञानको जित यानि मान्छेको आशको जित गराएका छन् र यसै कुरालाई पुष्टि गर्न कथानकको निर्माण गरेका छन् ।

पात्रविधान : उपन्यास आख्यान भएकाले उपन्यासकार आफैँले चिताएको कथानक प्रस्तुत गर्न पात्रको व्यवस्थापन गर्नु आवश्यक हुन्छ । यानि कि कथानक भन्ने मुख पात्र हो । आख्यानकारको शिल्पअनुसार मान्छे, जनावर, मेसिन, रुखबिरुवा तथा अन्य अमूर्त पात्र पनि हुन सक्छन् कथानकमा । कथालाई स्वैरकाल्पनिक पात्रका माध्यमबाट पनि अभिव्यक्त गर्न सकिन्छ । मान्छे पात्र राखेर आख्यान निर्माण गर्ने कार्य भरपर्दो र बोधीय हुने कुरा भने कसैले नकार्न सक्दैन । कथानक कोबाट द्वन्द्व अघि बढाउने भन्ने माध्यम पात्र हो । उपन्यासकारले कथानक निर्माण गर्न मान्छेलाई पात्र बनाएका छन् ।

प्रमुख पात्र विनय र जमुना तथा पार्वती छन् भने सहायक पात्रमा बा, आमा, डाक्टर, सुरेश बाबु, विनयका दाजु, छिमेकी राजीव, राजीवकी श्रीमती पार्वती, जमुनाको भाइ चन्द्र शेखर आदि छन् । उपन्यासभरि प्रमुख पात्र वा सहायक पात्र सबै प्रोटागोनिस्ट छन् । सकारात्मक छन् । नायक छन् । यो उपन्यासमा कोही पनि मान्छे पात्र खलनायक छैन । यानि एन्टागोनिस्ट छैन । त्यसैले कोरोना नबोले पनि यो उपन्यासको खलनायक यानि एन्टागोनिस्ट पात्र कोरोना हो ।

थिम : उपन्यासको अर्को महत्त्वपूर्ण तत्त्व थिम हो । यानि त्यो उपन्यासमा प्रयुक्त कथानक प्रस्तुतिको केन्द्रीय भाव के हो ? उपन्यासकारले के कुरा भन्नका लागि यो उपन्यास लेखेको भन्ने कुरा थिम हो । सामान्यतया मानवीय जीवनका सकारात्मक/नकारात्मक, प्रकृति तथा जगत्‌, ज्ञान तथा ब्रह्माण्डका बारेमा केही खास कुरा भन्न खोज्नु थिम हो । थिममा उपन्यासकारले यो उपन्यास के म्यासेज दिनका लागि लेखेको भन्ने कुरा बुझिनुपर्छ । यो उपन्यासको थिम भनेको कोरोना लागेको मान्छेको भौतिक तथा मानसिक पीडालाई अभिव्यक्त गरेर जस्तोसुकै परिवेशमा पनि मान्छेले सकारात्मक सोच लिएर बाँच्नुपर्छ, जीवन भोग्नुपर्छ भन्ने म्यासेज रहेको छ उपन्यासकारको ।

पाठक : उपन्यासको औपन्यासिकता निर्माण गरिरहँदा उपन्यासको कथावस्तु, थिम वा सन्देश कुन वर्गका पाठकका लागि हो भन्ने हेक्का राख्न सके उपन्यास दर्बिलो बन्ने पक्का हुन्छ । त्यसकारण टार्गेटेड पाठकको संवेदनालाई ख्याल गर्नु पर्ने हुन्छ उपन्यासमा । उपन्यासकारले आफ्नो यस्तो मुड बनाउनुपर्छ ताकि टार्गेटेड पाठकलाई कथाको संवेदनशील प्रभाव छोड्नुपर्छ । यो हिसाबबाट हेर्दा उपन्यासकारको टार्गेटेड पाठक भनेको विदेशमा बसेका नेपाली तथा स्वदेशमा बसेकै भए पनि कोरोनासँग संवेदनशील भएका मानिस रहेका छन् । यो बुँदामा पनि यो उपन्यास सफल छ ।

लम्बाइ : औपन्यासिक आख्यानलाई मूल्याङ्कन गर्दा त्यो उपन्यासभित्र प्रस्तुत गरिएको कथात्मक आयाम, परिधि तथा फैलावटलाई हेरिन्छ । त्यसका साथै पुस्तकको भौतिक आकारका आधारमा यानि त्यसमा भएका शब्द सङ्ख्यालाई पनि उपन्यासको वर्गीकरणमा आधार बनाइएको हुन्छ । यसैका आधारमा औपन्यासिक आख्यानलाई बृहत् उपन्यास, उपन्यास, मझौला उपन्यास, छोटा उपन्यास तथा लघुउपन्यास भनेर विभाजन गरिएको पाइन्छ । यो आधारबाट हेर्दा प्रस्तुत ‘क्वारेन्टाइन’ उपन्यासमा कथानकको आयाम, परिधि र फैलावट मझौला खालको छ । भौतिक आधारमा पनि यो उपन्यास मझौला नै छ । त्यस कारण यसको आयामगत लम्बाइ र शब्दगत लम्बाइलाई हेर्दा यो उपन्यास मझौला खालको छ ।

विशेषता

प्रस्तुत उपन्यास ‘क्वारेन्टाइन’भित्र प्रवेश गरेपछि विविध विशेषताहरू देखा पर्दछन् । यो कोरोनाकालमा नेपाली साहित्यमा मात्र होइन, संसारकै साहित्यमा कोरोनासँग सम्बन्धित विविध कोणलाई आधार बनाएर साहित्य सिर्जना भएका छन् । नेपालमै पनि धेरै साहित्यहरूको निर्माण भएको छ । लेखिएको छ । विदेशमा बसेर कोरोनाको कहरका बारेमा लेखिएको पुस्तकको शीर्षकले नै यो कुरा बोध गराउँछ । उपन्यास पढेपछि उपन्यासकारको औपन्यासिक विशेषताहरू देखिएका छन् । ती विशिष्ट छन् ।

भाषा : उपन्यासकारले कथानक प्रस्तुत गर्दा उपयोग गरेको भाषा सरल र सबल छन् । ती सललल बगेका छन् । भाषाको कारणले कहीँकतै पाठकलाई अप्ठ्यारो महसुस हुँदैन । भाषाका सरलताका कारणले गर्दा पाठकका हृदयभित्र कथानकका प्रसङ्गले झङ्कार उत्पन्न गरेका छन् । पाठकका मनमा झङ्कार उत्पन्न हुनु उपन्यासको सफलता हो ।

दर्शन : यद्दपि उपन्यास कोरोना माहामारीको विषयमा लेखिएको छ तर पनि कथानक प्रस्तुतिभित्र जीवनबोध छ । यानि कि जीवनदर्शनको व्याख्या छ (पृ. ४४) । जीवनदर्शन भन्नु जीवनको सार खोज्नु हो । जीवनको अनिश्चितताको खोजी हो । त्यही अनिश्चितताभित्र मजाले बाँच्नु जीवन हो । किनभने कोरोना कहरको एक झोक्कामा अरबपति बाटामा माग्न बसेको अवस्थाको जीवन यही उपन्यासमा देखिन्छ तर पनि मजाको कुरा के हो भने त्यो अरबपतिले जीवनलाई सकारात्मक रूपले हेरेको छ । भोगेको छ । सकारात्मक सोचका साथ बाँच्नु जीवन हो भन्ने सन्देश उपन्यासभित्र रहेको छ ।

यथार्थवादी : उपन्यासभित्र यथार्थवादी चिन्तन देखिन्छ । कोरोना पीडित भौतिकको भौतिक अवस्था तथा परिवेशलाई एक दम यथार्थ धरातलमा वर्णन गरिएको छ । घरमा स्टोरमा खाने सामान सकिएको छ । किन्नका लागि पैसा छैन । पैसा भए पनि सामान छैन । क्वारेन्टाइनमा बस्ताको अवस्था, अस्पतालको अवस्थाको दुरुस्त चित्रण गरिएको छ । सरकारले दिएको राहतको पनि चर्चा गरिएको छ । त्यस कारण उपन्यासकार यो कृतिभित्र यथार्थवादी देखिएका छन् । त्यसै गरी न्युयोर्क, कोलोराडो तथा लस एन्जलसको विपर्यास जीवनलाई यथार्थ तरिकाले प्रस्तुत भएको छ । कोरोना लागदा बजार जान नसक्ने, अस्पतालले ठाउँ छैन भनेर भर्ना नगर्ने, ओखतीमुलो नपाइने विपर्यास जीवनको चित्रण यथार्थ छ ।

मनोवैज्ञानिक : उपन्यासभित्र कोरोनाको पीडाले बनाएको एउटा चित्र छ । त्यो चित्रले मान्छेको तत्कालीन अवस्थामा मान्छेमा आउने मानसिक सोचाइको दुरुस्त वर्णन गरिएको छ । यही मनोवैज्ञानिक आधारस्तम्भमा मान्छेको मनवत्वलाई एक दम गहिरिएर विविध पाटाबाट हेरिएको छ । खासमा भन्ने हो भने उपन्यासको प्रमुख ध्येय नै कोरोना पीडित परिवेशको मनोवैज्ञानिक चित्रण गर्नु हो । यसमा उपन्यास खरो उत्रिएको छ ।

प्राकृतिक चित्रण : सुन्दर प्राकृतिक चित्रण गर्न सक्नु उपन्यासको महत्त्वपूर्ण विशेषता रहेको छ । खोलानाला, आकाश, घर पाखा, वातावरणको सुन्दर प्रस्तुति छ उपन्यासमा ।

विम्ब : उपन्यासभित्र उपन्यासकारले विम्बको प्रयोग भरपुर गरेका छन् । अझ विम्बभन्दा पनि विपर्यास विम्बको प्रयोग पनि गर्न सक्ने विशेषता बोकेका छन् स्रष्टाले । उदाहरण फूलसँग माइक्रोस्कोपमा देखिने कोरोनाका कीटाणुको स्वरूपगत तुलना गरिएको छ । स्वभावमा फूल र कोरोनाको कीटाणुविपरीत स्वभावका भए पनि स्वरूपमा एकै देखिन्छन् । यो विम्बले जिन्दगीको गूढ रहस्य बताउँछ ।

सांस्कृतिक : उपन्यासकारको एउटा विशेषता सांस्कृतिक रहेको छ । कोरोनाकालको सामाजिक अवस्था, मान्छे-मान्छेका बिचको सम्बन्धलाई टँढँ बनाएको जस्ता कुराहरूको सकुशल वर्णन गरिएको छ । यो सांस्कृतिक परिवर्तनको क्रममा नेपालको छुवाछुतको परम्परालाई पनि संस्मरण गरिएको छ । अमेरिकाको चुम्बन संस्कृतिलाई पनि चर्चा गरिएको छ । नेपालमा रहेको परैबाट नमस्कार गर्ने प्रथाको सुन्दर प्रस्तुति गरिएको छ ।

डायस्पोरिक : उपन्यासकारको मुकाम अमेरिकाको कोलोराडोमा छ । उनी नेपालबाट अमेरिका छिर्ने पहिलो पुस्ताका नेपाली हुन् । यो पुस्ता जहिले पनि डायस्पोरिक पीडा लिएर बाँच्दछ । त्यस कारण उनले उपन्यासमा कोरोना कहरका वेला भएको विपर्यास जिन्दगीलाई केन्द्रमा राखेर नेपाल सम्झेका छन् । नेपालको समाज, प्रचलन, भाषा, वेश तथा समग्र नेपाल सम्झेका छन् । त्यस कारण उनको यो उपन्यासमा जताततै डायस्पोरिक पीडा पढ्न पाइन्छ ।

दुर्वल पक्ष

उपन्यास स्तरीय तथा सुन्दर बनेको छ । वर्तमान नेपाली साहित्य फलकमा आएका समाचार र चर्चाले यो कुरा पुष्टि गरेका छन् । यो कुरामा कुनै संशय छैन तर पनि पक्का कुरा के हो भने संसारमा कुनै पनि कुरा पूर्ण छैनन् । पूर्ण भन्नु भावनात्मक कुरा हो र भावनात्मक कुरा स्रष्ट, द्रष्टा तथा पाठकका बिचमा फरक-फरक मापकको हुन्छ । यही पाठकको सार्वभौम अधिकारलाई प्रयोग गर्दै यो उपन्यासलाई यस्तो बनाइएको भए हुन्थ्यो भन्ने लागेका कुरालाई यहाँहरूसमक्ष प्रस्तुत गर्दै छु ।

जाहिर छ यो उपन्यासको शीर्षकले नै भन्छ कि कोरोनासँग सम्बन्धित छ उपन्यास । शीर्षकले निर्देशन गरेअनुसार उपन्यासकारले कोरोना विषयभित्र मात्र बस्नुपर्ने हुन्छ । खासमा क्वारेनटाइनमा बस्ताका भौतिक, आर्थिक, मानसिक, सामाजिक, सांस्कृतिक अवस्था तथा परिवेशको चित्रणमा सीमित हुनुपर्ने हो तर उपन्यासमा धेरै ठाउँमा विषयान्तर गरिएको छ । उदाहरण : प्रमुख पात्रका बाले आफ्नो लाहुरे जीवनको कथा तथा संसारकै युद्धको इतिहास किन बताउनुपऱ्यो ? (पृ. १८—२३) । धेरै विषयमा विषयान्तर भएका छन् । यसै गरी अमेरिका छिर्ने तल्लो बाटाको कथालाई प्राथमिकताका आधारमा नै हालिएको छ । खासमा यो विषयको मूल कथानक प्रयोजनसँग तादात्म्य राख्दैन । यानि कि उपन्यासभरि कथावस्तु असान्दर्भिक तरिकाले छरिएका छन् ।

उपन्यासको अन्त्यमा विनय र पार्वतीको बिहे गराएर संयोगात्मक बनाइएको छ उपन्यास । त्यस कारण सम्पूर्ण कथानक यी दुई पात्रका बिचमा घुम्नुपर्ने हो तर उत्तिकै महत्त्व दिएर एउटै उपन्यासमा सिर्जनाको न्युयोर्कको परिवार र न्युयोर्कको चन्द्र शेखरको कोरोनाको पीडाजन्य कथानक हालिएको छ । यसले गर्दा कथावस्तु छरिएको छ र कथाको मूल प्रवाहमा ती कथा नहालेको भए पनि हुन्थ्यो भन्ने लागेको छ ।

उपन्यासभित्र सांस्कृतिक प्रसङ्ग ल्याउँदा जातविशेषको खाद्य पदार्थमाथि टिप्पणी गरिएको छ । त्यसले त्यो संस्कृतिलाई होच्याएको जस्तो लाग्छ (पृ. ३५) ।

उपन्यासभित्र पात्र र परिवेश धार्मिक आस्थाका हिसाबमा क्रिस्चियन देखाइएको छ । अन्तेष्टि गर्न चर्च र सिमेट्रीको कुरा छ तर उत्ति नै खेर नेपालमा मर्न पाएको भए शङ्ख फुकेर आर्यघाटमा पुऱ्याउने कुराको संस्मरण छ ।
एउटै व्यक्तिको नाम कतै पारु कतै पार्वती भएको छ (पृ. १००) ।

कोरोनासँग सम्बन्धित सामान अस्पतालमा अभाव भएको कुरा उपन्यासभित्र धेरै-धेरै ठाउँमा परेको छ ।
प्रमुख पात्र विनय र जमुनाको प्रेम तथा बिहे प्रसङ्ग दुईपल्ट आएको छ ।

र अन्त्यमा कोरोना जस्तो विश्वलाई नै हल्लाइदिएको, विश्वका सभ्यतालाई हल्लाएको, विज्ञानलाई चुनौती दिएको तथा मान्छेले मान्छेकै बारेमा एकपल्ट सोच्न बाध्य पारेको गहन विषयमाथि हात हालिएको छ तर उपन्यासको भावगत, रूपगत तथा अर्थगत हिसाबमा ती विषयको अन्तरसम्म कथानक पस्न नसकेको अनुभूत हुन्छ ।

उपसंहार

उपसंहार एउटा बाध्यता हो । कुनै कुरा सुरु गर्नु भनेको अन्त्य गर्नु पनि हो । सुरु र अन्त्य जीवन हो । त्यस कारण म यति वेला पुछारमा आइपुगेको छु । रूप सकिएको छ । सारमा छु ।

उपन्यास कोरोनाविषयक छ । कोरोनाले संसारमा विपर्यास जिन्दगी निर्माण गऱ्यो । यसले मान्छे, प्रकृति तथा विज्ञान सबैलाई चुनौती दियो । यही चुनौतीका बिचमा यो उपन्यासले ती तीन विषय मान्छे, प्रकृति तथा विज्ञानका भौतिक, मनोवैज्ञानिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवेश र निरीहतालाई मजाले उजागर गरेको छ ।

कारोनाले गार्द मान्छे भटाभट लासमा रूपान्तरण भएको दर्दनाक र कहालीलाग्दो परिस्थिति देखाएको छ उपन्यासले । लास राख्न फ्रिजको पनि अभाव भएको छ र अन्त्यमा स्वास्थ्यकर्मीले मान्छेको लासमा राखिदिएको नेमट्याग नै मान्छेको परिचय भएको छ । त्यसैले जीवनबोधी भएको छ उपन्यास । एकदम धनाढ्य मान्छे खाना वितरण गर्ने ठाउँमा लाइन लाग्न पुगेको कठिन तथा हृदयस्पर्शी क्षण छ । आखिर के रहेछ जीवन ? मान्छेको शौर्य, सम्पत्ति, सान, सौकत, पद र प्रतिष्ठा ? के रहेछ र मान्छेको शौर्य ? घमन्ड अनि तुजुग ? केवल एउटा स्वास्थ्यकर्मीले लासमा लेखिदिएको तीन अक्षरको नाममा सीमित भएको छ परिचय । आखिर के रहेछ र मान्छे ?

आँसुको भलभित्र बगेको छ उपन्यास । विनयका बाआमाको कोरोनाबाट मृत्यु भएको कुराले रुवाउन सुरु गर्छ र पार्वती र राजीवको परिवारको पीडाले पाठकको मन रुवाउँछ । राजीव, उनका ससाना बालबच्चा छोराछोरीको कोरोनाका कारणले भएको निधनले रुवाउँछ । विनयकी श्रीमती जमुनाको मृत्युले रुवाउँछ । आफ्ना श्रीमान्‌को मृत्यु भएपछि पार्वतीले गर्न खोजेको आत्महत्याले रुवाउँछ । एकातिर कोरोनाले पारेको हताहत त छँदै छ त्यसमाथि विविध सञ्चार माध्यमबाट आएका स्वाभाविक र अस्वाभाविक, सही र गलत समाचारले परिवेश झन् विदीर्ण भएको छ । हल्लैहल्लामा कोरोनाको उद्गम चिनको बुहान प्रान्तका कुरा छन् । डालीको कोरोनाका कारणले मृत्यु भएको कुरा छ । लस एन्जलसमा प्रिन्सेस कुर्जबाट आएका यात्रुको कोरोना परीक्षण गर्दाको भौतिक परिवेश बस र रेल, तथा जहाजमा यात्रा गर्दाको अवस्था र मनोविज्ञानको वर्णन छ । यी सबैले पाठकका मनमा रुवाइ सिर्जना गर्छन् ।

यसरी उपन्यास एउटा शोककाव्यजस्तो बनेको छ तर अन्त्यमा प्रमुख पात्र कोरोनाले बनाएको विधुर विनय र विधवा पार्वतीको बिचमा बिहे गराएर संयोगान्त बनाउनु उपन्यासको सबैभन्दा दर्बिलो पक्ष हो भन्न चाहिँ ठोकेर सकिन्छ । उपन्यासको यो समापनले बाँचुन्जेल आखिर बाँच्नैपर्छ जीवन भन्ने सन्देश प्रवाह गरेको छ । अर्कातिर मरेका मान्छेको नाममा आफ्नो जीवन अर्पण गर्ने र कहर खेपिरहँदा मात्र मायाँ हुन्छ भन्ने पुरानो विचारमाथि प्रहार गरेको छ । यी दुई समापनले उपन्यास एक दम सुन्दर बनेको छ । सकारात्मक बनेको छ । बधाइ छ उपन्यासकार ।

अब एकदम अन्त्यमा छु । उपन्यासकार पदम विश्वकर्मासँग प्रविधिले भेट गरायो । आफन्तियौँ । यसमा प्रयुक्त विचार मेरा निजी हुन् । यति भन्ने हैसियत मेरो पाठकको सार्वभौम अधिकारले दिएको हो । समयले अनुमति दिएमा कुनै दिने भौतिक नै भेटौँला । अहिले कृतिको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।