साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

जब दाजुबहिनीका बिचमै सेक्स हुन्छ …

लुकेको वासना उपन्यास वर्तमान चेतनाको झिल्को हो, एउटा रूप हो, यो एउटा अवधारणा हो । यो एउटा कामवासनाको कथा मात्र हैन, नेपाली समाजको वर्तमान चित्रलाई इमानदार भएर लेखिएको पूर्ण तस्बिर हो ।

‘हिजो म बाठो थिएँ र संसार बदल्न चाहन्थेँ, तर आज म बुद्धिमान् भएको छु त्यसैले आफैँलाई बदल्न चाहन्छु ।’

तेह्रौ शताब्दीका महान् प्रख्यात कवि मौलाना जलालुद्दिन रुमीको कविताले आत्मकेन्द्रित परिवर्तनको विराट् र विस्तृत रूप नै संसार परिवर्तनको प्रमुख आधारका रूपमा स्वीकार गर्दछ । हरेक मानिस उमेरको एक मोडमा संसार, देश, समाज, परिवार परिवर्तनको सपना बाँच्दछ । उमेरको उकालो र सांसारिका नियम भित्रको चङ्गुलमा फस्दै गएपछि संसार हुँदै देश, देश हुँदै, आफ्नो समाज, त्यो समाज हुँदै परिवार र परिवारबाट पनि खुम्चिएर आफूलाई परिवर्तन गर्ने साँघुरो घेरामा आइपुग्छ । त्यहाँ आइपुग्दा समयले नेटो काटिसक्छ र अन्त्यमा आफूलाई परिवर्तन गर्ने जिम्मा कुनै ईश्वरीय शक्तिमा छोडेर भक्तभजनमा हाम फाल्दछ ।

म एक जना नेपाली कम्युनिस्ट आन्दोलनका प्रखर नेतालाई चिन्दछु । राणा, पञ्चायत, प्रजातान्त्रिक समयमा कम्युनिष्ट आन्दोलनमा रगत कुरा गर्ने, कविता लेख्ने, भौतिक क्रान्ति र आन्दोलनबाट मात्रै राज्यसत्ता प्राप्त गर्न सकिन्छ, समाजवाद ल्याउन सकिन्छ भनेर सिङ्गो जीवन सिध्याएका उनले अहिले ध्यान, योग, साधना, तन्त्रमन्त्र, ग्रन्थ मार्फत आफूलाई परिवर्तन गर्नतर्फ उद्यत छन् ।

सिङ्गो जीवनभर अँगालेको विचार, सिद्धान्त र दृष्टिकोणबाट मानिस उमेरको बुढ्यौली मोडमा आइपुगेर किन स्खलित हुन्छ ? समाजशास्त्रको विज्ञानका लागि यो एक महत्त्वपूर्ण विषय बन्न जान्छ ।

त्यही आदर्श, नीति, सम्भावना, भौतिकवादी दृष्टिकोण सहित सुरु हुन्छ यो उपन्यास लुकेको वासना । संसार फगत एक टुक्रा हो, यो हुनु र नहुनुसँग सजनीको जीवनले कुनै अर्थ राख्दैन । देश छोडेर सुखी देशमा पुगेकी २३ वर्षिया युवती सजनीले सोच्ने संसार हो यो उपन्यासको कथा । ऊ आफैँमा यो संसार केन्द्रित छ भन्ने भ्रममा छे । मानौँ कि यहाँको समाज, समय, सिद्धान्त, सपना र सम्भावनाहरूप्रति उसको कुनै लगाव छैन, चासो छैन । उसको आफ्नै दुनियाँ छ, जीवन छ, जिजीविषा छ, उसले देखेको सपना बाँच्न चाहन्छे, आफैँले खनेको बाटो हिँड्न चाहन्छे । किनकि अस्ट्रेलियाको एक सहरको कुनै कुनामा छ एउटा कोठा, र त्यो कोठामा उसको चौथो प्रेमी सरोज उसको नाङ्गो वक्षस्थलमा मस्त निदाइरहेको छ ।

niti book inside post

समाज देखिने आँखीझ्याल

नेपाली समाजका नियतिहरू यी यस्ता उपन्यासमा पोखिन र हामी पढ्न अभिशप्त छौँ । मानौँ कि एकपछि अर्को त्यो नियति भोग्न हामी बाध्य छौँ । आज सजनीले पालेको दृष्टिकोण (भ्रम) निकट भविष्यको मेरो वा तपाईँको छोरीको नियति हो, भ्रम हो । यथार्थबाट निकै दूर दूर…. ।

उपन्यासको म पात्र सजनी, वर्तमान नेपाली समाजको प्रतिनिधि पात्र मात्र हैन, केही हदसम्म असत् र आवेगमा बाँच्ने पात्र पनि हो । युवा उमेरले देखेको नेपाली समाजको चित्र बोकेको उपन्यासले होस्टेलको रङ्गरमाइलोदेखि आर्थिक, भौतिक सुख बाँच्ने अभिलाषाका साथ पुगेको दूरदेशसँग नेपाली समाजलाई तौलिन्छ । अर्थराजनीति, समाज विज्ञान, संस्कार सभ्यतालाई अस्ट्रेलियाको हावापानी र दैहिक सुखसँग तौलिएर नेपालमा बसेकी आमाले गरेको विवाहको प्रस्तावमा वैवाहिक बेफाइदाका तर्क प्रस्तुत गर्दछ । शिक्षित युवतीले सोच्ने दृष्टिकोणको जीवन्त चित्र हो यो ।

नवीन अभिलाषी

पितृसत्तात्मक समाजले महिलामाथि गरेको दमनका अनेक कथाहरू उपन्यासले भन्छ । आमाले बाँचेको जीवन नै प्रमुख पात्रलाई दयनीय लाग्छ । यौन उत्पीडनबाट बाहिर निस्किन नसकेका नेपाली महिलाहरूको प्रतिनिधि कथाहरू समावेश यो उपन्यासमा नारी स्वतन्त्रता, महिला मुक्तिको आवाज कसरी र किन यति खरो रूपमा उठिरहेको छ त्यसको तर्क र प्रमाण पेस गर्दछ र त्यो मानेर नमानेर पाठकले स्वीकार गर्न बाध्य हुन्छ ।

पुरुष सत्तामाथिको आक्रोश, आन्दोलन र अभियान हो यो ।

उपन्यासले त्यस्ता थुप्रै प्रश्नहरू गर्दछ, जस्तो कि पुरुषका लागि वेश्यालय छन्, महिलाका लागि खोइ ? पुरुषले यौनोत्तेजना शान्त बनाउन महिला खोज्दै हिँड्न पाउने, महिलाले किन नपाउने ? आफ्नै बाउले आमामाथि गरेको अन्यायका कारण आमाको जीवन नै किन दयनीय लाग्छ ? प्रेमी प्लेवोई हुन पाउने युवतीले दुई-चारओटा प्रेमी बनाउन किन नहुने ? सन्तान उत्पादनका लागि विवाह किन अपरिहार्य ? विवाहविना नै सन्तान उत्पादन गर्ने अधिकार नेपाली महिलाले किन नपाउने ?

सम्बन्धित पोस्टहरु

युरोपेली तथा अमेरिकन भूगोलमा वैदेशिक रोजगारका लागि जाँदा अपनाउनुपर्ने प्रक्रिया प्रणालीहरू कुन हदसम्म हुन्छन् ? यो अहिलेको नेपाली कथा हो, त्यसले नेपाली समाजका पारेको असर कस्तो छ ? त्यो देख्न पाइन्छ । नेपालको शिक्षा प्रणालीदेखि यहाँको राजनीतिप्रति युवाहरूको धारणा कतिसम्म निराशाजनक छ भन्ने कुरा उपन्यासले इमानदार भएर भन्छ ।

यौन उदारताको पक्षमा

नेपाली समाजले सधै वर्जित बनाएको यौन धारणाका विकृत रूप (?) हरू भित्रभित्रै कसरी फैलिन थालेका छन् ? यौनकै आसपासमा सुरुदेखि अन्त्यसम्म घुमेको उपन्यास यसको उदार संस्कारलाई विनासङ्कोच स्वीकार गर्दछ । कुनै-कुनै अध्यायका कथाहरू यौनकथाजस्तो मात्र छैनन्, यौन जीवनका नयाँ आयामहरूबारे पनि उपन्यासले खुलस्त भन्छ ।

हाम्रो समाजमा रहेको लेस्बियनको पाटो, पोर्नोग्राफीप्रतिको युवाहरूको लगाव र त्यसको प्रयोग सामान्य छ । समलिङ्गी व्यक्तिहरूबिचको विवाहलाई सरकारले मान्यता नदिए पनि उनीहरूको पहिचानलाई राज्यले स्वीकार गरिसकेको छ । समलिङ्गी विवाहलाई सरकारले मान्यता नदिए पनि हाम्रो समाजमा भइरहेका छन्, भलै त्यस्ता विवाहको सामाजिक वा सरकारी मान्यताको विषय बहसमै होस्, तर प्राकृतिक रूपलाई मानवनिर्मित संरचनाहरूले ढिलोचाँडो स्वीकार गर्नुपर्छ ।

एउटा मानिसको मस्तिष्कमा दैनिक ६० लाख विचारहरू खेल्छन् । त्यसमध्य कम्तीमा १० प्रतिशत विचार यौन धारणा हुन् । यौन विचार, धारणा र क्रियाकलापविना मानव जीवन बाहिर आउन सक्दैन । उपन्यासले हाम्रा युवाहरूले शिक्षा आर्जन गर्ने शैक्षिक संस्थादेखि होस्टेलमा हुने यौन गतिविधिहरूबारे बताउँछ । अहिलेको खुला समाजमा मातमदिरा र यौन विषयले पाएको प्राथमिकताबारे भन्छ । त्यो पनि कुनै पनि प्रकारका सीमा र परिधिभन्दा बाहिर गएर ।

यौन आनन्दको उत्कर्षको सीमा यहाँसम्मको देखाइएको छ कि दाजु र बहिनीबिचकै मातमदिरा सहितको यौनसम्बन्धलाई विभिन्न तर्कले ठिक छ भन्छ । युवती नै किन नहोस्, ऊ यसरी उदार हुन्छे कि देश छोडेर परको भूगोलमा पुग्दा दाजुबहिनीकै सम्बन्ध पनि यौनसम्बन्धमा परिणत होस् । प्रेम मात्र प्राविधिक कुरा हो, संयोग हो भन्ने सिकाउने उपन्यासले सम्बन्धलाई सहज रूपमा स्वीकार गर्ने र परित्याग गर्ने अवधारणाको विकास गर्न खोजेको देखिन्छ ।

कथा-कथ्य

उपन्यासको प्रमुख विषय यौन हो, त्यसबाट उत्पन्न र त्यसले पारेका असर कथालाई सहायक कथाको रूपमा उल्लेख गरिएको छ तर उपन्यासको मुख मूल कथा नै छैन । कथाको एउटा बाटो छैन । आरोह अवरोह, उत्सुकता, सुरुवात अन्त्यबारे घोत्लिनुपर्छ तर यति भन्दा उपन्यासमा कथा नै छैन त ? त्यो होइन यो उपन्यासलाई कथाहरूको योग भन्न सकिन्छ ।

सुरुमा कथा निकै ढिलो बग्छ । आदर्श र दर्शनका वाक्यहरू एकपछि अर्को गर्दै आउँछन् । धर्म, संस्कृति, दर्शन, परम्पराका विषयमा उल्लेख विचार र अवधारणाहरू हरकोहीका लागि उत्प्रेरित लाग्छन् । एक-एक वाक्यमा जीवनदर्शनबारे गहिरो भाव भन्छन् । त्यो शैलीले पाठकलाई मज्जाले तान्छ मात्रै हैन धेरै थोक सिक्ने वातावरण पनि दिन्छ । एक-एक वाक्यले जीवनमा हारबाट बाहिर तान्छ र जीवनको फरक पाटो बाटामा डोहोऱ्याउँछ ।

तर म पात्र सजनीको सुरुवाती आदर्श चेतना र अन्त्यको निरीहताले उपन्यासलाई कमजोर महसुस बनाउँछ । प्रमुख पात्रको कथाभन्दा उपन्यासका सहायक पात्रहरूको कथाहरू रुवाउने खालका छन् । मायाँ, अम्बिका, रम्बिका, अञ्जलिले बाँचेको जीवन वर्तमान नेपाली महिलाहरूको कथाहरू हुन् । लेखकले मूल पात्रलाई कुनै कथा नै नदिएको भए पनि सहायक कथाहरूले उपन्यास पूर्ण छ । उपन्यास पढ्दा प्रमुख पात्र सूत्रधारजस्तो लाग्छ भने सूत्रधारसँग जोडिन आइपुग्ने पात्रहरू सशक्त पात्रहरूजस्तो ।

उपन्यास नयाँ शैलीमा व्यक्त गर्न खोजिएको छ । उपन्यासका कथाहरू तलमाथि अगाडिपछाडि छन् । बुझ्न त सकिन्छ तर त्यसमा लेखकले अझै काम गरेको भए हुन्थ्यो भन्ने महसुस हुनु स्वाभाविकै लाग्छ । पटकथाहरू निकै कम छन् जति छन त्यसले सन्तुष्ट बनाउँछ । पटकथाका प्रसङ्गहरू दोहोरिएजस्तो पनि लाग्छ । पात्रहरू अचानक आउँछन् र अचानक हराउँछन् विनाप्रसङ्ग । त्यो शैली नयाँ लाग्छ । उपन्यास कथा र त्यसको प्लटको प्राविधिक पक्षमा अझै धेरै काम गर्न जरुरी थियो ।

पुछारमा, लुकेको वासना उपन्यास वर्तमान चेतनाको झिल्को हो, एउटा रूप हो, यो एउटा अवधारणा हो । यो एउटा कामवासनाको कथा मात्र हैन, नेपाली समाजको वर्तमान चित्रलाई इमानदार भएर लेखिएको पूर्ण तस्बिर हो । विश्वले स्वीकार गरेको विषय तर नेपाली समाजले अझै खुल्ला रूपमा अँगाल्न नसकेको मानिसको कथा हो । यौनजस्तो प्राकृतिक सौन्दर्यलाई धर्म, संस्कार, परम्पराको पगरीले छोपेर राखेको नियति अहिले कसरी खुल्ला रूपमा फैलिँदै छ र फैलिनुपर्छ भन्ने न्यायिक दृष्टिकोणहरू उपन्यासले भन्छ ।

नारी हस्ताक्षरबाट यो विषयमा, यति गहिराइमा पुगेर उपन्यास कमै लेखिन्छन्, भलै यो उपन्यास अध्ययनपछि लेखकलाई कैयौँ प्रश्नको सामना गर्नुपर्ला तर यो शसक्त उपन्यासका रूपमा पाठकले स्वीकार गर्ने नै छन् ।

प्रतिक्रिया
Loading...