कथा समाजकै उपज हुन् । दुःख, पीडा र संवेदना नै स्रोत हुन् कथाका । पात्र र परिवेश भिन्न भए पनि प्रत्येक व्यक्ति अलिखित कथाका किताब हुन् । कथा पठनको उदारीकरण गर्न अर्को एउटा सङ्ग्रह आँखामा पर्‍यो । साहित्यको दोस्रो राजधानी भनेर चिनिने चितवनका श्रष्टा हुन् वसन्त पराजुली । अनि उनको कृति “मोम्चो” । नवीन र मातृभाषामा नामकरण गर्ने नौलो प्रचलनलाई पछ्याउँदै नाम राखिएको छ जसको अर्थ नारी, महिला या आइमाई नै हो । शीर्ष कथा सहित अन्य सबै कथा नारी संवेदनाकै वृत्तमा छन् । कहीँ न कतै नारी संवेदनाको उठान भएकै छ ।

momcho

एउटा पाठकको आँखामा जे देखियो जस्ताको तस्तै राख्ने अनुमतिमा यो कृतिमाथि केही लेखिँदै छ ।

संयोग भनौँ कुमाता (उनको पहिलो कथासङ्ग्रह ) पनि पढ्न पाएँ । कुमातामाथिको असन्तोषले मोम्चोमा पुगेर सुरक्षित अवतरण गर्‍यो । एघारओटा कथामा फैलिएको मोम्चो पढिरहँदा कतै न अल्झी सरासर अन्तसम्म लैजानु एउटा कलाकारिता त हो नै । कथालाई सङ्क्षेपीकरण गरिएको हो कि भन्ने आक्षेप लाउन प्रशस्त छुट छ ।

निम्न र मध्यम वर्गीय समाजको प्रतिनिधित्व गर्ने कथाहरू सामाजिक यथार्थ कथावस्तु हुन् ।

श्रुतिको विवाहदेखि सम्बन्धविच्छेदसम्मको छ महिनाको अवधिमा आएका अरोहअवरोह र वाञ्छित निर्णय स्वाभाविक अन्त्य लाग्छ । समाजमा नकारात्मक कथा बनिन लायक श्रव्यहरूको अभाव छैन । श्रुति र श्रव्य पात्र नामकरण सशक्त पक्ष हो । आखिर यो खालका कथा बढी नै कानेखुसी हुने गर्छन् । कुटी नं २०० कि शकुन्तलासँग पत्रकारका रूपमा प्रस्तुत भएका पात्र कथाकार आफैँ हुन् कि भनेर सामान्य पाठकले पनि लख काट्छन् । जति उत्सुकताले उनको कथा खोतल्न पत्रकार उत्सुक थिए त्यो उत्सुकता कथामा सारका रूपमा आएको छ यद्यपि पत्रकार पनि संवेदनशीलतामा मुछिएको अन्त्यले सबै बिर्साउँछ । शङ्काको मनोविज्ञान कुन हदसम्म पुग्छ ? पुरुषप्रधान समाजमा कति सजिलोसँग दोषारोपण हुन्छ र सजिलोसँग सहन विवश पारिन्छ । पहिलो कथाकै नाम नदोहोर्‍याउन पाएको भए हुने । नामको के अभाव थियो र ।

विष्णु पादुका

चौथो कथा मोम्चोले शीर्षक छानिएर न्याय पाएको छ । किशोरवयको प्रेमलाई सहर्ष स्वीकार गर्नु नै जीवनकै घातक भएको छ । शिक्षाको भरपुर उज्यालो नपुगेका तमाम सुदूर बस्तीमा यस्तो घटना भइरहेको हामी देख्छौँ सुन्छौँ । सँगैकी आइती पढेर शिक्षक हुन सक्नु र मङ्गलीले त्यत्रो दुःख पाउनु मानवीय भूल र भोगाइ यथार्थ छ । गोरेजस्ता पात्रको उत्पत्ति हुनुमा जुनसुकै जाति या जस्तोसुकै आर्थिक हैसियत भए पनि प्रमुख कुरा पुरुषप्रधान सोच र आमा हुनुको प्राकृतिक बाध्यता हो भन्ने कथाको पुस्ट्याइँ हो । स्थानीय मातृभाषाका संवादले कथालाई जीवन्त बनाएको छ ।

सागर अनिताको अनैतिक यौनसम्बन्धले अन्ततः प्राणघातक यौनरोग नै आधुनिक प्रेमको उपहार भएको छ । जसलाई आफ्नो प्रेमिकाको भरोसा तोडिएको मोडले यो कथा पनि नारी संवेदनशीलतासँग पुरुषको खेलबाड भएको छ । सबै कुरा राम्रो हुँदाहुँदै देखावटी सुन्दरता कायम राख्ने दियाको हठले अन्तमा आफैँले दुख पाएको कथा अलि बढी काल्पनिक लाग्दछ । अथवा दियालाई सुन्दरताको रक्षा गर्नुपर्ने बाध्यताको पुष्टि नपुगेको पो हो कि ?

रोशन र रोशनीको अन्तर्जातीय प्रेमले समाजसँगको सङ्घर्षमा विजय पाए पनि अन्तमा जातीयता र पुरुषप्रधानताले नै हुँदाखाँदाको परिवार भत्केको छ । दुई छोरी पालेर हुर्काएर बसे पनि अन्तमा पाएको दुःखमा पहिलेका सबै दुःख र तनाव बिर्सेर छिट्टै उही पुरुषप्रति दयनीय देखिनु नारी संवेदनालाई अति लचिलो बनाइएको छ । यथार्थमा के यस्तो हुन्छ ? अस्वाभाविक लाग्दैन र ?

माओवादी द्वन्द्वकालका दुई छापामार असीम सुस्मिताको दुःखकष्टमय भोगाइ र राजनीतिले दिएको बेइमानीपन नै बेइमानीको मूल स्रोत हो । जनयुद्धको असर भोलिसम्म पनि कथा बनेर रहनेछ । युद्धको नाममा सत्तानजिक पुग्नेको र युद्धमा जोगिएर पनि राज्यले समेट्न नसकेका ती तमाम छापामारको दुर्दान्त व्यथा हो बेइमानी । प्रेम र प्रेमाको प्रेम असफल हुनुमा नारी भएर आमा हुन नसक्नु नपाउनु एउटा आत्महत्याको कारण भएको छ । अघोषित दोषले कथाको नायक दोधारमा रुमलिएको छ कथा दोधारभित्र ।

आर्थिक अभावमा अलि ठुलो बिमार लाग्दा मध्यमस्तरका नेपालीको के हाल हुन सक्छ । आफ्नो लोग्नेको ज्यान जोगाउन एउटी सफा मन भएकी नारीले कतिसम्म त्याग गर्छे ? बेचिएको मातृत्वले पुष्टि गर्छ । उसो त नेपाली पाठकको आँखामा नौलो विषयवस्तु होइन कथाका लागि तर पनि प्रस्तुतीकरणले कतैको सापटी प्रमाणित गर्दैन । यो नै कथाको सफलता हो । कथाको शीर्षक नै अशुद्ध वेचिएको मातृत्वमा व र बको भिन्नता मेटाइएको हो कि ?

अन्तिम कथा जिजीविषा विभिन्न बहानामा बिदेसिनेहरूको प्रतिनिधि कथा हो । माडीवासीको जङ्गली जनावरसँगको युद्धले यथार्थलाई प्रतिबिम्बित गरेको छ । अमेरिका पुगेपछि मानिसमा आउने उदारता र परिवर्तनले नेपाल बिर्साउने अर्को पक्ष पनि यथार्थ लाग्छ । कथाको अन्त्य यता बाबुको मृत्युको खबरले आहत नायिका आफ्नी छोरीको अनुहार हेरेर बाँच्ने जुन जिजीविषा पलाएको छ अन्त्य प्रधान शीर्षकले मूल कथाको भार बहन नगरेको आभास हुन्छ ।

कथाका राम्रा नराम्रा पक्ष तुलना गर्दा सबल पक्षको पल्ला नै भारी छ । प्रायः सबै कथामा पात्रभन्दा बढी लेखक हाबी भएको आभास हुन्छ । कथालाई पात्रले डोर्‍याएका छैनन् लेखकले तानेका छन् । यसलाई कथाको असफलताका रूपमा लिइन्छ तर जुन-जुन विषयवस्तु रोजे त्यो विविधता हो । कतै स्थानको उल्लेख्यता कतै स्थान नदेखिनु, मूल पात्रको नाम मुस्किलले एक-दुई ठाउँमा मात्रै सम्बोधन हुनु, प्राकृतिक वर्णनलाई सुरुवातमा ल्याउनु सबल पक्ष हुन् । कुनै कथालाई अन्त्य गर्न बिट मार्न खोजिएको कुनैलाई चट्ट अन्त्य गरिने दुई खालको प्रयोग भएको छ ।

सारमा कथासङ्ग्रह पठनयोग्य सङ्ग्रहयोग्य छ ।