भारतीय नेपाली साहित्यमा कविताको क्षेत्रमा पछिल्लो पुस्ताकी कवि भनेर चिनिन्छिन् देविका मङ्ग्रान्ती राई । भिक्टोरिया बोइज स्कुल, डाउनहिल, खरसाङकी शिक्षक देविकाका कविता पढ्दा लाग्छ जङ्गली फूल, पहरा, तिनै घुम्तीहरू र तिनै उकाली ओरालीहरूको धुलामा बसेका विगतका आफ्नै पैतालाका पदचाप, प्रकृति र गाउँलाई हेर्ने उनको पृथक् दृष्टिकोणले नै उनलाई कवि बनाएको हुनुपर्छ । न त उनी प्रसिद्ध कवि मेथ्यु आर्नोल्डबाट प्रभावित बनेकी हुन् न त उनकै कविताबाट ।

मलाई लाग्छ देविका गाउँ, प्रकृति, जीवन र प्रेम हेरेर कविता लेख्छिन् । हुन सक्छ उनले आफ्नै गाउँ र प्रकृति हेरेर नै फागुन तिमी फर्किआउनू (२०२१) कृतिरूपी सिर्जनाको मोती टिप्न सिकेकी हुन् । कवि, प्रेमी र पागलसँग कसैले सक्दैन । उनीहरूको क्रियाकलापले बेला-बेला भुतुक्कै हुने गरी अचम्मित बनाउने भएकाले यसो भनिएको होला । प्रतिभाशाली व्यक्ति स्वभावैले सनकी हुन्छन् भन्ने अर्को विश्वव्यापी मान्यता पनि छ । विश्वविख्यात कलाकार पिकासोका चेला एलसाल्भाडोर निजी हेलिकप्टरमा घाँस उमार्थे । महाकवि देवकोटा सूर्यलाई समात्न हिँडेको भन्दै नागार्जुनको डाँडा उक्लिन्थे । संसारमा जोसुकै कवि, कलाकार, लेखक, चित्रकार, मूर्तिकारलाई हेरौँ, यदि ऊ साँच्चिकै प्रतिभाशाली छ भने सनकका अनेकौँ गुणहरू उसमा हुन्छन् ।

देविकाको पनि प्रकृतिमाथि हेर्ने दृष्टिकोण, बुझाइ, हेराइ र अनुभूति गर्ने कला भिन्न छ र त उनी कवि बनिन् । त्यसैले त उनका कविता सुन्दै गर्दा कहिले निस्पट्ट अँध्यारामा जीवन हुन्छ त कहिले शरद्‌को चन्द्रमामा । अन्याय र शोषणको विरुद्ध अनि अछुत विरुद्धको युद्ध नै छेड्ने उनका कविता, कवितामा उनले कसरी सिड्गो दार्जीलिङलाई नै टप्पक टिपेर बिम्बात्मक शैलीमा आफ्नो भाव पस्किन्छिन् र यसको सभ्यताको भाव खुलस्त पोख्छिन् । त्यो कला र प्रस्तुति शैली उनमा अनौठो र अद्भुत छ ।

दीपक सुवेदी

देविकाका कविताका प्रत्येक बिम्बहरू चम्किलो र उज्यालो भई बाच्न चाहन्छन् । त्यसैले त पाठकको मनमा कम्पन आउँछ । पर्खनु मात्र पर्छ, उनी कवितामा कविता नै लेख्छिन् कि समय र सङ्कोच ? आक्रोश नारीहरूको लेख्छिन् कि सम्झनाका पलहरू ? अमानवीय संसारको कुरूप मान्छे र विद्रोह लेख्छिन् कि परिवर्तन ? प्रेम लेख्छिन् कि प्रेमको सुन्दरता ? वर्तमान लेख्छिन् कि भविष्य ? यो सहजै भन्न कसैले सक्दैन । जीवनरूपी जङ्गलको शून्यतामा अनि आफ्नै समय र आफ्नै मौसममा समयानुसार ऋतु जनाउँदै कहिले चाँप त कहिले गुराँस भएर, कहिले बेलीचमेली त कहिले सुनाखरी भएर फुलिरहेकिछन् । बिहानको ठिहीमा धनाढ्यहरूको बुटपालिस गरेको, फालेका खानेकुराहरू बाँडीचुँडी खाएको र खुवाउँदै गरेका तस्बिरहरू र सडक किनारमा पोखिएको त्यो मान्छेका नुनिला आँसु बग्दै र भत्कँदै गरेको मनोविज्ञानको घर देख्ने देविका भन्छिन्–

बाँच्न चाहन्छु पुस्तकमा
बाँच्न चाहन्छु कथा, कविता र लेखहरूमा
बाँच्न चाहन्छु फेरि पनि पहाड पर्वत
वनपाखाका प्रत्येक कुनामा
संस्कृतिमा, धरोहर पुस्तकहरूमा (चम्किलो उज्यालो भई बाँच्न चाहन्छु, पृ. ६३)

देविकाका कविता पढ्दा पाठकलाई साँच्चै लाग्छ– ‘कविता फगत कल्पना मात्र होइन । यथार्थ पनि पोखिन्छन् कवितामा ।’ तर यो यथार्थबाट चिप्लिएर कवि कतैकतै अति भावुकतातिर गएकी हुन् कि भन्ने पनि हुन्छ । सताउनु सताउँछन् सम्झनाहरूले दलबहादुर गिरी बाँधिएका साङ्लाका आवाजहरू, पुतलीदेवी र सरयू पोद्दारले जेलभित्र देखेका सपनाहरू, गङ्गा छिरिङ । सावित्रीदेवीले बोकेका तिरङ्गनाहरू, सबैसबैका ऐतिहासिक तथ्यहरू यिनैको महिमामा बाँच्नुपर्छ ।

नागवेलीजस्तो नघुमाई जीवनका आला यादहरू रहेका छन् । अनुभूतिको गहिराइमा पुगेर मायाँले बाँध्न पनि नसकिने प्रेमी सम्झेर सुस्ताइरहेको प्रेमिका । किन अझै अपूरै छन् कवि देविकाका सपना ? कति मीठो छ कविले शरद्‌को चन्द्रमामा खन्याएको सयपत्रीको मायावी बतास र हिउँदको सिरेटाले हानेका सुरिला भाकाहरू । त्यसमा जोडिएका मनभित्रका अतृप्त इच्छाहरू । कहाँ हराए होलान् खरसाङका सुन्दर सुनाखरी र सुनका बुटाहरू सुमसुम्याउने यौवनहरू । गाउँका तिनै चौतारी, उकालीओराली, देउराली, गोरेटाहरू, दुःख, पीडाहरूका साथै अभावहरूमा घोलिएर घोल बनेका बिम्बहरूलाई कसरी समाउँछिन् कुन्नि देविका ! तिनै बिम्बहरूलाई टप्पक टिपेर सजाइएकी छन् उनका कविताका प्रत्येक क्यानभासहरू र त अनौठा छन् उनका कविता ।

देविकाले कसरी पोतिन् कुन्नि सम्झनाका पलअनुसारका रङगहरू ? अद्भुत छ उनका कविताहरूमा बिम्बहरूको मिश्रण, प्रकृति र प्रेम । हृदय असम, अँगालाको मायाँ, महासागर, सुन्दरी, आसिफा, दार्जीलिङ र खरसाङभित्रबाट ग्रामीण परिवेशका मौलिक बिम्बहरू टिप्न आतुर र चतुर छन् देविका । बगिरहेको नदीको सङ्लो पानीमा सूर्यले पौडिरहेको हेरेर कविता कोर्न सजिलो त कहाँ छ र तैपनि देविका कविताकै संसारमा हाँसेकी छन् र त्यसैमा रमाएकी छन् पनि । बिलौनाहरूले गाँजेका छरपस्ट रातहरू काट्न सबैले बिहानको प्रतीक्षा गर्छन् । दिनभरिको थकाइ बिर्सन मानिसहरू रङ्गीन साँझको कल्पना गर्छन् । के यी सबै कविता हुन् त ?

कविताका पुराना तर्कहरू खालि तर्कका लागि गरिने तर्क मात्र हुन् । समय परिवर्तनशील छ । कतिपय कवितामाथि गरिएका बहसहरू नै मिथ्या र अनर्थ छन् । वेदना लेख्नु मात्र पनि कवि र कवित्वको काम होइन । त्यसैले साहित्यका अरू विधाभन्दा कविता विधा सधैँ उच्च छ भन्छिन् देविका । बतासको स्पर्शले नाचिरहने लतिका लहराहरू, बगैँचाभरि शीत बनेर मुस्कुराउने त्यो जुनेली रात नै एक अर्थले देविकाका कविताका स्रोत हुन् ।

सामाजिक, सांस्कृतिक वा पौराणिक जीवनसँग जोडिएका विशेष अर्थ बोकेका व्यक्ति वा घटनाहरू प्रतीक हुन् । जसले युगीन व्यापकता र सीमितता दुवैको प्रतिनिधित्व गर्दछन् । जब देविकाका शब्दहरूले एउटा पाठकलाई हिर्काउन थाल्छन्, तरङ्गहरू मस्तिष्कभरि तँछाडमछाड गर्छन् अनि देखिन्छ समकालीनताको फोटोग्राफी कवितामा । देविकाजस्ता कविहरूले नै सधैँ युग परिवर्तन गर्ने सामार्थ्य राख्छन् र त सधैँ कविताको सत्तामा पुग्ने सौभाग्य पाउँछन् ।

कवितामा प्रयुक्त प्राकृतिक वा भौतिक छायालाई बिम्ब भनिन्छ । अर्थात् कविता पढ्दा पाठकका मस्तिष्कमा छाया बनेर आउने दृश्यहरू नै बिम्ब हुन् । कविता लेख्नु मात्र ठुलो कुरा होइन । कविताले समाजलाई केकस्तो चेतना दियो ? प्रचलित कविताको समकालीनतालाई कुन मार्गमा डोऱ्यायो त्यो महत्त्वपूर्ण कुरा हो । सभ्यतासँगै सुनका बुटाले जीवन बदले तर पनि देविकाका कवितामा जुन ढङ्गले बिम्बहरू पोखिन्छन्, प्रस्तुत हुन्छन् त्यो भने साधारण छ । उनका कविताले निःशब्द र अक्षरहरूलाई सत्य मान्न बानी परेका पाठकहरूलाई क्षणभरमा घोत्लिएर पटक-पटक सोच्न बाध्य बनाउँछ । नयाँ उज्यालो बाटातिर हिँड्न सधैँ प्रेरित गर्छन् । उनका कविताका तीव्रानुभूतिले पाठक यतिसम्म उत्साहित हुन्छन् कि सेतो सुनाखरीका पहाडबाट नयाँ सूर्य उदाएजस्तो अनुभूति हुन्छ ।

अमेरिकन समाजशास्त्री सिराइस मिल्सले भनेका छन्– ‘प्रत्येक व्यक्तिभित्र समाज हुन्छ, समाजको पछाडि इतिहास जोडिएको हुन्छ, इतिहाससँग त्यति बेलाको समाज र संसार जोडिएको हुन्छ ।’ त्यसैले हिजोको समाजको चरित्रले आजको मनोदशा निर्माण हुने हो, चरित्र अभिव्यक्त हुने हो । हिजोको समाज विभेदकारी थियो र आजको समाजको चरित्र पनि विभेदकारी छ, जुन देविकाका कवितामा आएको पाइन्छ । मानवीय संवेदनाभित्र समृद्ध राष्ट्र र शान्तिपूर्ण जीवनशैली कवि देविकाका कविताको विशेषता बन्न पुगेका छन् । कवितामा कोरियोग्राफ भनेको प्रस्तुत गर्ने शैली हो । अहिले कविताको कोरियोग्राफीमा बहस पनि भइरहेको छ । अनि कवितामा कला या विचार ? कोरियोग्राफीको हिसाबले देविकाका कविताहरू उस्तै-उस्तै लाग्छन् । कवितामा विविधीकरण दिन सक्यो भने त्यो सम्प्रेष्य हुन्छ, अनि कविता साँच्चै पाठकसम्म पुग्छन् ।

हामीले विज्ञान पनि बुझेनौँ, धर्म पनि मानेनौँ । कवितालाई, अर्थात् काव्यलाई पागलहरूको अभिव्यक्ति भन्यौँ र अराजक भयौँ । विज्ञान र साहित्यका हरेक अध्ययन र ती परीक्षणबाट प्राप्त हुने निष्कर्ष आजका सिद्धान्त हुन्, रचना हुन् जसले यो संसारलाई परिवर्तन गरिदिए । विज्ञान र कलाको उद्गम स्थल एउटै हो, त्यो हो हाइपोथिसिस, अर्थात् परिकल्पना । देविकाको फागुन तिमी फर्किआउनू पनि त्यही हाइपोथिसिस हो ।

विख्यात कवि अक्टोभियो पाजले केही वर्षअघि आफू बाँचेको समयसँग एक मार्मिक प्रश्न गरेका थिए– ‘कविता कसले पढ्छ ?’ यस्तै अनुभव बिसौँ शताब्दीको तेस्रो दशकतिर ‘विभ्रम र यथार्थ’ लेख्दै गर्दा प्रसिद्ध बेलायती चिन्तक क्रिस्टोफर कड्बेललाई पनि भएको थियो । उनले आफ्नो पुस्तकमा धेरै मानिसले कविता नै पढ्दैनन्, पढ्ने इच्छा नै देखाउँदैनन् र आवश्यकता नै महसुस गर्दैनन् भन्ने तिखो टिप्पणी गरेका छन् ।

नेपाली कवितामा क्लिष्टता एउटा पीडा भएर रहेको छ । तर सबै कविता क्लिष्ट हुँदैनन् । नबुझिनुको समस्याले पाठक ग्रस्त छन् । सबै कविता नबुझिने पनि हुँदैनन् । थोरै शब्दहरूले धेरै कुरा बोल्नुपर्ने भएको कारणले अलिक सन्दर्भ बुझ्न कठिन त होला । त्यसो त यो पनि भनिन्छ– ‘जसरी पाठकको स्तर हुन्छ त्यसरी नै कविताको पनि स्तर हुन्छ ।’ कविले कविताका बारेमा प्रकाश पारिरहनु पर्दैन ती आफैँमा मर्मशील हुन्छन् । कवितामा ठुलो शक्ति हुन्छ जसमा एउटा गहन विचार, अन्तर्निहित भावना र गतिलो सन्देश दिने शक्ति राख्दछ । कविता बुझ्न समयचेत र सान्दर्भिकतालाई मनन त गर्ने पर्ने हुन्छ ।

यस सङ्ग्रहका कवितामा पाठक यस समस्याबाट भने मुक्त हुनेछन् तर कतिपय ठाउँमा भावहरू दोहोरिएका छन् । हुन त यो प्रायः कविहरूको साझा समस्या नै हो तर कविले कोरियोग्राफीको हिसाबले आफूलाई विविधीकरण वा कविताअनुसार मौलिकपना दिन सक्यो भने त्यो कविता प्रभावकारी हुन सक्छ । जीवनका अमूर्त तत्त्व र चिन्तनलाई भने देविकाका कविताले अन्तै कतै छोडेका छन् ।

कविता जुन समय, समाज, सभ्यता र परिवेशमा बाँचेका हुन्छन्, तिनका सोच र भोगाइहरूलाई कृत्रिम बनाउनु भाषिक शुद्धता होइन । कृतिभित्रका कविताहरूमा सुरेन्द्र कुमार लिम्बु (पृ. ३७), परदेशी (पृ. ३७), बीच (पृ. ५३), धिनताङ (पृ. ५३), बराज्यू (पृ. ५४), गर्नुभएबापत (पृ. ४०), जस्ता पदयोग र पदवियोगका समस्या भने नभएका होइनन् । सुन्दरताभित्र सुन्दरताको खोजीभन्दा पनि असुन्दरताको उत्खनन गरेर दृष्टिकोणसँग जोडिन गएको प्रसङ्ग साँच्चै, अनुसन्धेय हुँदो रहेछ । त्यसैले अब कवि देविका मङ्ग्रान्ती राईले बुझेकी हुनुपर्छ– ‘एउटा कुशल पाठकले कविताका पङ्क्तिका बिचमा आपसी ताल, लय तथा गतिको अपेक्षा अलि बढी नै गरेको हुँदो रहेछ ।’ अन्त्यमा, आफ्नो छुट्टै र अलग पहिचान बनाउन प्रयासरत कवि देविका मानिसको संवेदना, भावनामाथि करुणामयी बिम्बहरू भरेर व्यक्ति, समाज र राष्ट्र, दुःख र प्रेमलाई सबभन्दा नजिकबाट स्पर्श गर्ने कवि भएर सबैका प्रिय बनिरहून् निरन्तरताको शुभकामना ।