आमुख :

नेपाली साहित्यमा परिचित एवम् चर्चित नाम हो हरिभक्त कटुवाल । हरिभक्त कटुवाल विशेषतः कवि, गीतकारका रूपमा बढी चिनिए तापनि उनी नाटकककार, कथाकार, चित्रकार र कुशल सम्पादक पनि हुन् । सामाजिक कार्यकर्ताका रूपमा पनि उनको योगदान रहेको देखिन्छ । असममा आदिकवि भानुभक्त आचार्यको जयन्ती उद्यापन गर्ने परम्परा बसाल्नुमा पनि कटुवालको योगदान रहेको पाइन्छ । साहित्य क्षेत्रमा पनि उनले दसओटा कृति उपहार दिएका छन् भने आठओटा पुस्तक सम्पादन गरेका छन् । हरिभक्त कटुवालको असमेली साहित्याकाशमा आगमनसहितै असमेली नेपाली कविताले काँचुली फेर्छ । नयाँ धारा प्रवर्तन हुन्छ । कवितामा युग बोल्न थाल्छ । छन्दमुक्त कविता नयाँ शैली, नयाँ बिम्ब र प्रतीकले अभिव्यञ्जित हुन्छन् । केवल असममा मात्रै नभएर कटुवालको कविता शैलीको प्रभाव दार्जीलिङ, सिक्किम र नेपालका नयाँ पिँढीमा समेत परेको देखिन्छ । उनको सशक्त उपस्थितिले गर्दा समालोचक, कविहरूले उनलाई लिएर नै असमको काव्य काललाई विभाजन गरेको पाइन्छ ।

वरिष्ठ कवि नव सापकोटाले यसरी विभाजन गरेको पाइन्छ- (क) सुरुदेखि सन् १८९२ सम्म-प्रयास काल (ख) १८९३-१९४७ सम्म स्वतन्त्रतापूर्व काल (ग) १९४८-१९५९ सम्म कटुवालपूर्व काल (घ) १९६०-१९७९ सम्म कटुवाल काल (ङ) १९८०-१९९९ सम्म कटुवालउत्तर काल (समकालीन कविता काल) (च) २००० यता उत्तर आधुनिक काल । हरिभक्त कटुवाल सन् १९६० देखि १९७९ सम्म असमेली नेपाली काव्य जगत्‌मा सबैभन्दा बढी प्रभावकारी नाम भएकाले यो युग उनको नामले चिनिएको छ । यो युगलाई असमेली नेपाली आधुनिक कविता यात्राको विकास काल मानिन्छ । यय युगमा कटुवालले नयाँ-नयाँ कवितामा स्वच्छन्दतावाद र प्रगतिवादलाई अपनाउँदै कविता लेखिएको पाइन्छ । कविता यात्रामा नयाँ प्रतीक र प्रयोगको प्रतिपादन सहितै स्वच्छन्द रूपले प्रगतिवादी धारामा कविता कोर्ने कटुवालका कवितामा नवप्रगतिवाद र विसङ्गतिवादको गहिरो छाप पनि देखिन्छ । त्यस युगका अरू कविहरूभन्दा उनका कवितामा सिर्जनामा आधुनिक स्पर्शका जातीय मर्मस्पर्शिता अधिक प्रबल हुन्थ्यो । हरिभक्त कटुवाल रचना सञ्चयनको सम्पादकीयामा नव सापकोटाले कटुवाल बारे यसरी लेखेका छन् – “हरिभक्त कटुवालको एउटै पर्यायवाची छ; कवि । उनी कवि थिए; एउटा पूर्ण कवि । …..महाकवि देवकोटापछि हरिभक्त कटुवालबाहेक अरूको बन्न सक्यो खै प्रकृत कवि ?”

प्रस्तुत लेखमा हरिभक्त कटुवालका काव्य प्रवृत्तिहरूलाई ठम्याउने जमर्को गरिएको छ र त्यसको आधार समेत असम नेपाली साहित्य सभाद्वारा सन् २०२१ मा प्रकाशित र डा. देवकीदेवी तिमसिनाद्वारा सम्पादित ‘हरिभक्त कटुवाल रचनावली’लाई मानिएको छ । यस रचनावलीमा समावेश भएका उनका तीनओटा काव्य पुस्तक(भित्री मान्छे बोल्न खोज्छ, यो जिन्दगी खै के जिन्दगी र बदनाम मेरा यी आँखाहरू) का कविताहरूलाई लिइएको छ । कटुवालका कविताहरूलाई निम्न बुँदागत रूपमा सङ्क्षेपमा चर्चा गरिनेछ –

कृष्णनील कार्की (असम)

नवीन चिन्तन :

असमेली नेपाली काव्य जगत्‌मा नवीन चिन्तनको खोराक पस्किने कवि नै हरिभक्त कटुवाल हुन् । समाजजीवनलाई यथास्थितिबाट मुक्त पार्न नयाँ सोच र चिन्तन चाहिन्छ भन्ने भावनालाई नवीन चिन्तन सहित कवितामा कटुवालले भित्र्याएको पाइन्छ ।

“फ्रेममा हालेर राख्ने आदर्शभन्दा

भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ

बनिसकेको बाटामा हिँड्न भन्दा

बाटो बनाउँदै हिँड्न रहर लाग्छ । “ (यो जिन्दगी खै के जिन्दगी, रहर-१२५)

आदर्शको बोक्रो ओडी आफू मात्रै आदर्शवादी बन्ने चिन्तनलाई कविले धरातलमा उभ्याउन खोजेका छन् । त्यो आदर्शको बढी मान्यता छ जुन आदर्श अरूका लागि पनि प्रेरणास्रोत बनोस्, अरू पनि त्यो आदर्शको पछि लागेर समाजजीवनको परिवर्तनमा सहभागी बनून् । अरूले बनाएको पुरानो बाटामा हिँड्नुभन्दा आफ्ना लागि उपयोगी बाटो आफूले नै बनाएको उत्तम भन्ने भावना छ कविमा । यस किसिमको चेतना नै नवीन चेतना हो ।

विद्रोही स्वर :

विद्रोह भनेको विकल्पको खोजी हो । विकल्पको खोजी गर्ने स्वर नै विद्रोही स्वर हो । कटुवालका सिर्जनाहरूमा पनि विद्रोहको स्वर पाइन्छ । निम्न वर्गप्रतिको उत्पीडन, विभेदप्रतिको विद्रोह, स्वतन्त्रता, स्वाभिमान आदिले विद्रोहकै पक्ष लिएको छ । अनि विद्रोहबाटै नयाँ निष्कर्ष, नयाँ सिर्जना जन्मन्छ । अर्थात् विद्रोह भनेको एउटा विपरीत परिस्थितिसँग सङ्घर्ष गर्नु हो ।

“चिच्याई-चिच्याई संसार थर्काई

भित्री मान्छे बोल्न खोज्छ

कटु सत्यलाई खोल्न खोज्छ

रुद्ध कण्ठ फोर्न खोज्छ

मेरो भित्री मान्छे बोल्न खोज्छ ।” (भित्री मान्छे बोल्न खोज्छ, पृष्ठ-८९)

निशाचर दानवहरूको कर्मकाण्ठ देखेर कविको भित्री मनले विद्रोह गर्छ । समाजसेवीको चोला भिरेर हिँड्ने पाखण्ड नेताहरूको कार्यवली देखेर कविमनले विद्रोह गर्छ तर कविले मनमा मात्रै विद्रोह नगरेर कवितामार्फत विद्रोह स्वरलाई जनमानससमक्ष लाने प्रयास गरेका छन् ।

“धिक्कार छ हाम्रा ती पुर्खालाई, जसले-

लावारिश छोडिदिए भुस्याहा कुकुरजस्तै हामीलाई

केवल दाँत ङिच्याइदिन अरूको भुकाइमा-थुकाइमा

यसरी भूलैभूलको इतिहास बनेर अझै कतिदिन जिउनु ?” (यो जिन्दगी खै के जिन्दगी, खै मान्यता यहाँ आत्माहुतिको-बलिदानको ?, पृष्ठ-१७०)

रैथानेको मर्यादा नपाएकामा कविमनले विद्रोह गरेको छ । बलिदान र आत्माहुतिको मूल्याङ्कन नभएकामा कविमन इतिहास खोतल्न पुगेको छ । अझै पनि कति अरूकै घरको दरबान हुनु, सिमानाको प्रहरी हुनु । सोझो भएर अरूकै लागि कति छाती थापिदिनु भनेर कविले विद्रोही स्वरले गर्जिएका छन् कवितामा ।

“प्रत्येक बिहान म एउटा शिशु बनेर जन्मिसक्छु

जो सूर्यजस्तै बलवान् हुन्छ

त्यसैले, ए धाकका धनीहरू

आआफ्नो धाक सम्हाल ! धाक सम्हाल ! !” ( जीवन : एउटा लास-एउटा शिशु, पृष्ठ-१६०)

प्रत्येक बिहानीले बोकेर ल्याइएको सम्भावनाहरूले कविमनमा आशाको दियो बाल्दछ तर रिसडाहमा पतपती जल्नेहरूको कुदृष्टिले सम्भावनाको धरातल बेस्सरी हलाउँछ । त्यसैले कविमन विद्रोह भएर ती धाकका धनीहरूलाई धाक आफूभित्रै सम्भालेर राख्ने गुहार लगाउँछन् ।

स्वाभिमानी र संवेदनशील स्वभाव र आफ्नै प्रकारको जीवनशैली र भोगाइले होला कतै केही विसङ्गति देखेपछि उनको विद्रोही आवाज गर्जिन्थ्यो । उनी पराधीन नरुचाउने स्वतन्त्र किसिमका मानिस थिए । कतै आफू झुक्न नचाहने, निहुरिन नजान्ने उनको स्वभाव थियो । मनमा जे आयो त्यही बोलिदिन्थे । उनको यसै स्वभावले गर्दा पनि कुनै जागिरमा टिक्न सकेनन् । त्यसैले उनका धेरैजसो कविताहरू शोषित, पीडित र उपेक्षित वर्गहरूका लागि लेखिएका छन् । कविताहरूमा विद्रोहका स्वर चर्किएका छन् ।

आशावादी स्वर :

उनका कविताहरू आशावादी स्वरले पनि सजिएका छन् । आशाको अर्को नाम नै जीवन हो भन्ने सत्यता पनि कटुवालका कविताहरूमा पाइन्छन् । आशा नहुनु भने जीवनको कुनै महत्त्वै छैन । कुनै पनि कार्य आशावादी भई गर्दा सफलताको सम्भावना बढी हुन्छ भन्ने भावना पनि कटुवालको कवितामा पाइन्छ ।

“पर्ख

एउटा अनागत दिनसम्म

पर्ख

एउटा उज्यालो दिनसम्म ।

हाम्रा खप्परबाट पनि उदाउनेछ

एउटा तेजिलो सूर्य

एउटा उज्यालो सूर्य… । “ (यो जिन्दगी खै के जिन्दगी, पर्ख, पृष्ठ-१५६)

अँध्यारोपछि उज्यालो हुन्छ नै, केवल पर्खिनुपर्छ । कर्म गर्दै गएपछि कुनै न कुनै दिन अवश्य त्यसको फल पाइन्छ नै । अनि त्यस फलको सुवासले मगमगाउने छ जीवन । एउटा उज्यालो वर्तमान । यस्तै आशा लिएर नै कविले रचेका छन् कविताहरू ।

“अब कल्पनामा मात्र नगुम्सिएर

कल्पनामा मात्र नअलमलिएर-

वास्तवमा पदार्पण गर

यथार्थको काखमा खेल्ने गर

तिमीले वास्तवमा पदार्पण गऱ्यौ भने?

विश्वब्रह्माण्डको वास्तवस्वरूप अध्ययन गर्ने प्रयास गऱ्यौ भने ?

यथार्थवादी साहित्यको रचना गऱ्यौ भने?

भोलिको हाम्रो संसार नयाँ हुनेछ

यस धरणीले चोला फेर्नेछ ।” (भित्री मान्छे बोल्न खोज्छ, कवि-प्रति, पृष्ठ-८५)

हामीले यथार्थको धरातलमा उभिएर सोच्ने समय आएको छ । केवल कपोलकल्पनामा गुम्सिएर यथार्थको भूमिमा काम गर्न सकिँदैन । हामीले आफूलाई मात्रै पनि हेरेर हुँदैन, विश्वब्रह्माण्डको वास्तव स्वरूप अध्ययन गर्न सक्नुपर्छ । यथार्थवादी साहित्यको सिर्जनाले अवश्य भोलिका दिनहरू नौलो हुनेछन् अनि धरतीले पनि चोला फेर्नेछ भन्ने आशावादी स्वर यस कवितामा गुन्जिएको छ ।

कलात्मक व्यङ्ग्य चेतना :

कटुवालका कविताहरूमा व्यङ्ग्य चेतनाको प्रस्तुति कलात्मक रहेको पाइन्छ । उनले विकृति-विसङ्गति, अन्याय-अत्याचार, वर्गीय विषमता, राजनीतिक व्यवस्था आदिप्रति व्यङ्ग्य प्रहार गर्दै कविता रचेका छन् । सामाजिक बनावटी, देखावटी पक्षलाई पनि दर्बिलो व्यङ्ग्यले तनसनहस पारेका छन् ।

“कतै, जुवाडेल कौडी खेलाउँदै हेरेको एउटा छुकजस्तो

कतै, भर्खर वसन्तले छोडेर गएको उदास रुखजस्तो

यस्तो लागिरहेछ आफैँलाई यो जीवन

अन्तिम पातो पनि च्यातेपछिको एउटा ठुटो चेक बुकजस्तो । “ (यो जिन्दगी खै के जिन्दगी, यो जीवन, पृष्ठ-१४५)

आफूलाई व्यङ्ग्य हान्न पनि पछि हटेका छैनन् कवि कटुवाल । जीवनदेखि विरक्त भएर कविले जीवनलाई अनकौँ प्रसङ्गसँग जोडेका छन् । ती प्रसङ्गहरूको उठान कविले कलात्मक तरिकाले गरेका छन् । त्यसैले होला जीवन ठुटो चेक बुकसँग तुलना गरे तापनि कविता चोटिलो बनेको छ ।

राष्ट्रिय चेतना :

देशलाई एक एकाइ मानेर लेखिएका कविताहरू नै राष्ट्रिय चेतनाका कविताहरू हुन् । देश र जातीय जीवनलाई अभिव्यक्त गर्नु नै राष्ट्रिय चेतनाका कविताहरूको मूल उद्देश्य हो । यस किसिमका कविताहरूमा देशभक्तिको भावना हुन्छ । देश र जातिप्रति एक समताको भाव रहेको देखिन्छ । कटुवालका कविताहरूमा पनि राष्ट्रिय चेतनाका अभिव्यक्ति प्रशस्तै पाइन्छ । हेरौँ त केही कविताका हरफहरू-

“भारत जननी, तिम्रो चरणमा अर्पित छ यो प्राण

लेऊ लेऊ यो तिम्रै हो सब, तिमी हौ मातृ महान् ।

अन्न-वायु-जल सेवन जति जो गरी हुर्कियो यो प्राण

ती सब तिम्रै स्नेहका दान । “ (बदनाम मेरा यी आँखाहरू, अनि पो हाँसुँला हामी, पृष्ठ-१८७)

राष्ट्रिय चेतना राष्ट्रहितको पक्षधर रहन्छ । जन्मभूमिको निमित्त आफ्नो प्राण अर्पण गर्न पनि पछि नसर्ने भाव व्यक्त गरेका छन् कविले । यस देशमा हुर्किएको, यस देशको सेवा नै धर्म हुन जान्छ भन्ने राष्ट्रिय चेतनाले ओतप्रोत भएको भावना यस कवितामा पाइन्छ ।

“देशका लागि मर्नेहरूको

कीर्ति यो जन्ममा मेटिने छैन

काफर जो छौँ- हाम्रो गाथा

इतिहासमा लेखिने छैन ।“ (बदनाम मेरा यी आँखाहरू, सहिदप्रति, २०७)

देशका लागि आत्माहुति दिनेहरू सहिद हुन्छन् । उनीहरू देशका लागि सर्वोच्च बलिदान दिन तयार रहन्छन् । यस्ता देशप्रेमीहरूको नाम देशले सदैव सम्मानस्वरूप सम्झिने गर्छ । उनीहरू अमर रहन्छन् तर काफरहरूको ठाउँ इतिहासमा कहिल्यै हुँदैन । उनीहरूले त समाज, जातिलाई समेत बदनामको दाग लगाउँछन् भन्दै कविले राष्ट्रिय चेतनाको भावना कवितामा व्यक्त गरेका छन् ।

जीवन दर्शन :

सङ्घर्ष नै जीवन हो तर जीवन सङ्घर्ष हो कि जीवनका लागि सङ्घर्ष हो । चार्लस डार्बिनले जीवनलाई बाँच्नका लागि सङ्घर्ष भनेका थिए । जीवनलाई लिएर सबैको दृष्टिकोण छुट्टै छ । कोही भन्छन् – जीवन निराशाको यात्रा, कोही भन्छन् – जीवन आशाको यात्रा । कोही अविरल यात्रा भन्छन् जीवनलाई, अनि फेरि कोही जीवन दुई दिनको यात्रा देख्छन् । जीवनको यात्रामा जसले जति अनुभव जम्मा गर्छ उसको जीवन त्यसैमा निर्भर गर्छ । जीवन यात्राको भोगाइअनुसारको परिभाषा हुन्छ । जीवनलाई विश्लेषण गर्ने तरिका भोगाइमा निर्भर हुन्छ ।

कटुवालका कविताहरूमा जीवन पाइन्छ । कटुवालको भोगेको जीवन, उनले नजिकैबाट देखेका जीवनका अनकौँ पाटाहरू कवितामा पाइन्छ । उनले जीवनलाई आफ्नै चस्माले हेरे । कोही बेला जीवनदेखि बिरक्तिएर निराशाको नजिक पनि पुग्न गए । त्यसैले होला कुनै कुनै समालोचक, लेखकहरू उनलाई निराशावादी कवि पनि भन्ने गर्छन् तर निराशाको स्वरबिच पनि उनले जीवनलाई आफ्नै तरिकाले हेरेका छन् । जीवनको निराशा पक्षभित्र पनि जीवन दर्शन त रहेकै हुन्छ । आशा र निराशाका कविताहरूमा जीवनलाई विभिन्न दृष्टिकोणले हेरेका छन् । कटुवालले जीवनलाई कतै काँचको चुरा, रबरका सस्ता चप्पल, ठुटो चेकबुक, उदास रुख, पन्चर भइरहने बाइसाइकलको ट्युब आदिका रूपमा दाँजेको पाइन्छ । उनका थुप्रै कविताहरूमा जीवनदर्शन पाइन्छ, सबै कविताहरूको चर्चा गर्न यहाँ सम्भव छैन । त्यसैले यहाँ केवल तीनओटा कविताका केही हरफहरू मात्रै प्रस्तुत गर्दै छु….।

“जीवन, तैँले पथका लाखौँ

तितामिठा नुनिला-खल्ला

रसजहर सबै तनतनी पिउँदा

कष्ट कति कति खप्पिस होला ?” (भित्री मान्छे बोल्न खोज्छ, जीवन, पृष्ठ-५५)

कटुवालले जीवनको पीडा अनुभव गरेका छन् । एउटा जीवनको परिक्रमामा आइपरेका अनकौँ पिरमर्काहरू झेलेर जीवन बिताउँदा कति कष्ट हुन्छ होला भन्ने भावना कवितामा व्यक्त गर्दै कटुवालले जीवनलाई जीवनदर्शनकै तराजुमा झुन्डाएका छन् ।

“यो जिन्दगी खै के जिन्दगी

भित्रभित्रै खोक्रिएर बाहिर-बाहिर बाँचेको

एटमको त्रासले चुसेको

समस्याको भूतले सताएको

यो जिन्दगी खै के जिन्दगी ।“ (यो जिन्दगी खै के जिन्दगी, पृष्ठ-१४९)

कटुवालको चर्चित कविता यो जिन्दगी खै के जिन्दगीमा जीवनलाई हेर्ने दृष्टिकोणमा कविले आफ्नै जीवनलाई उतारेका छन् । सायदै उनको आर्थिक अवस्थाले उनलाई जीवनबारे यस किसिमको भावना व्यक्त गर्न विवश बनाएको होला । समस्याको चेपारोमा परेर उनले जीवनलाई साधारण रूपमा धान्न नसक्ने स्थितिमा उनले जीवनबारे उपर्युक्त अभिव्यक्ति पोखेका हुन् ।

“घरिघरि हावा भरिरहनुपर्ने

पङ्चर भएको

बाइसाइकलको ट्युबजस्तै यो जीवन

कति टिठलाग्दो छ

टाल्यो- उप्किन्छ

उप्किन्छ- टाल्यो

टाल्दाटाल्दै टाल्ने ठाउँ नै हराइसक्छ

र पनि नटाली धर छैन

नगुडी चक्कालाई सुख छैन ।“ (यो जिन्दगी खै के जिन्दगी, जीवन : एक दृष्टि, पृष्ठ-१५९)

जीवनको भोगाइले जीवनबारे लेख्न उनलाई सजिलो भएको होला । जीवन भनेकै सङ्घर्ष होला । सङ्घर्षमय जीवनमा कहिले हाँसो कहिले रोदन । जीवन एकनास पनि छैन कहिले घाम छ त कहिले पानी । मानिसैपछिका जीवनको व्याख्या भिन्नभिन्नै हुन सक्छ । जीवन जिउँदाजिउँदै थुप्रै कुराहरू मानिसले सिकेको हुन्छ भने कतिपय कुराहरू भोगेको हुन्छ । त्यसैले त जसले जीवनमा जस्तो भोगेको छ त्यही नै जीवन भनी भन्ने गर्छ । हो, त कटुवालले पनि जीवनभोगाइको यथार्थ कवितामा उतारेका छन् ।

उपसंहार :

हरिभक्त कटुवाल नेपाली कविताको यात्रामा प्रयोगवादी कालका स्वच्छन्दतावादी धारालाई निरन्तरता दिने कविका रूपमा परिचित छन् । कविता यात्राको थालनीमा जातीय अस्मिताका कविताहरू रचेका थिए भने मध्य भागमा विद्रोही स्वर उनका कवितामा चर्किएको थियो अनि जीवनको अन्तिम चरणमा पलायनवादी विचार धाराले ग्रसित देखिन्छन् । व्यक्ति हरिभक्त कटुवाल निराशावादी रहे तापनि कवि कटुवाल आशावादीकै पक्षधर थिए । उनका कविताहरू लयात्मक र गेयात्मक सहितै रोचक अनि संवेदनशील छन् । सरल, सहज भावाभिव्यक्ति तथा तुकबन्दीयुक्त लयात्मक भाषिक प्रयोग कटुवालको शिल्पगत वैशिष्ट हो । यसैले कटुवालका प्रायः कविताहरू नै गीत बन्न गएका छन् । सफल कविताहरू गीत बन्दछ भन्ने प्रमाण कटुवालका कविताहरूमा पाइन्छ ।

सन्दर्भ ग्रन्थ :

१. हरिभक्त कटुवाल रचनावली- सम्पा. डा. देवकीदेवी तिमसिना

२. बिन्दु हरिभक्त कटुवाल विशेषाङ्क- सम्पा : के. बी. नेपाली