रुडोल्फ रायस्पद्वारा लिखित ‘बाय्रन मुन्चौसन’ नामक यात्रा वर्णन गरिएको कृति सन् १७८५ मा प्रकशित भएपछि विश्वसाहित्यमा यात्रासाहित्यको औपचारिक थालनी भएको मानिन्छ । नेपालमा भने लेखकको पहिचान खुल्न नसके पनि १९१० मा ‘जङ्गबहादुरको बेलायत यात्रा’ नामक यात्रासाहित्यलाई औपचारिक मान्ने गरेको देखिन्छ ।

यात्रा साहित्यमा पछिल्लो समय धेरै लेखकको विधामात्रै बनेको छैन नयाँ लेखकको बाक्लै उपस्थिति र स्थापित लेखकहरूको पनि कलम चलेको देखिन्छ । यात्राका दौरानमा घटेका घटनाहरू, भेटिएका पात्रहरू, पुगेको परिवेश र लेखकको निजात्मक अनुभूति तथा विषयवस्तुको कलात्मक संश्लेषणले नै एउटा फरक विधाका रूपमा यात्रा साहित्यलाई लिन सकिन्छ ।

कुनै यात्रा साहित्यको पुस्तक पढ्दा जब पाठकले आफूलाई त्यही यात्रामा जोडिएर लेखकसँगै यात्रा गरेको अनुभूति गर्न थाल्छ तब त्यो साहित्यले पाठकलाई यसरी बाँध्छ कि पाठक चाहेर पनि बाहिर जानै दिँदैन । आम पाठकको चाहना यस्तै हुन्छ कि कुनै पुस्तक पढ्न सुरु गरेपछि सकिएको पत्तो नहोस् र त्यो क्षमता राख्नु पनि पर्दछ लेखकले, विशेष गरी यात्रा साहित्यमा । यात्रा साहित्यको यही लहरमा उभिन आइपुगेका छन् कृष्णमुरारि ढुङ्गेल ।

मैले चिनेको कृष्णमुरारि ढुङ्गेल मूलतः कलाकार हुन् । प्रज्ञा-प्रतिष्ठानमा प्रतिष्ठित कलाकारको जागिरले जिन्दगी चलाउन सहज नभएपछि कलाकारकै रूपमा अमेरिका छिरेका ढुङ्गेललाई अहिलेको पुस्ताले कलाकारका रूपमा खासै नचिन्न सक्छ तर साहित्यका पाठकका लागि भने ढुङ्गेल पुस्तकाकार रूपमा ‘होहाहोला’ नामक यात्रासङ्ग्रहमार्फत नयाँ परिचय लिएर आएका छन् ।

भनिन्छ जीवनलाई फरक लयमा ढाल्नका लागि पनि र संसारलाई नजिकैबाट बुझ्नका लागि पनि यात्रा आवश्यक हुन्छ ।

पुस्तकाकार रूपमा पहिलो कृति पस्किएका कृष्णमुरारि ढुङ्गेलले यस पुस्तकमा विभिन्न ठाउँको भ्रमणका क्रममा अनुभूत गरेका कुराहरूलाई १५ ओटा शीर्षकमा विभाजन गरी लेखेका छन् ।

नेपालबाट अमेरिका जाँदाको यात्राबाट सुरु भएको उनको यात्रालेखनको सिलसिला अन्य देश घुम्दै-घुम्दै अन्तमा अमेरिकमै पुगेपछि सकिन्छ ।

यात्रासंस्मरणको लेखनमा धेरै यात्रा लेखकहरूको आफ्नै शैली छ लेखनको । कसैका संस्मरणमा सपाट वर्णन मात्रै पनि भेटिन्छ त कसैकामा जानकारी धेरै अनुभूति कम हुन्छन् ।

ढुङ्गेलले अमेरिका यात्राको पहिलो यात्राका क्रममा नेपालमा गर्नु परेका विभिन्न प्रक्रियाहरूलाई आफ्नो पहिलो संस्मरणको ‘यात्रारम्भको दुई जोडी’ शीर्षकमा लेखेका छन् । यस शीर्षकमा नेपालमा बसाइका क्रमका आफ्ना अनुभूतिहरू तथा कला साहित्यप्रतिको आफ्नो लगाव र सोही माध्यमबाट अमेरिका पुगेका घटनाहरूलाई समेटेका छन् । नेपालमा रहँदाका साथीहरू तथा अमेरिकामा पुगेपछिका साथीहरूसँगको सहयात्राका सन्दर्भहरूलाई यस शीर्षकमा उठाएका छन् । माधव घिमिरेद्वारा लिखित नाटक ‘मालती मङ्गले’ प्रस्तुतिको सन्दर्भमा अमेरिकाका यात्रा गर्नुअघिका समस्याका साथै थाइल्यान्डको यात्रा तथा युरोपको दुई हप्ताको यात्रा वर्णन ‘यात्राराम्भको दुई जोडी’ शीर्षकमा उल्लेख गरेका छन् ।

आफ्ना साथीहरूको सहयोग र प्रेमले उनलाई विभिन्न ठाउँमा पुऱ्याएको छ । साहित्यको भोक उनका नसा-नसामा रहेको कुरा ढुङ्गेलको लेखनबाट थाहा हुन्छ । पारिवारिक यात्राका रोमाञ्चक अनुभूति यस संस्मरणमा अभिव्यक्त भएको छ ।
यात्राको दोस्रो शीर्षक छ ‘डेम्भरबाट युटा’ ! यो यात्रासंस्मरणमा अमेरिकाभित्रकै कुरालाई लेखेका छन् । आफ्नो पारिवारिक यात्राका क्रममा भएका अनुभूति यस शीर्षकमा समेटिएको छ । एउटा प्रान्तबाट अर्को प्रान्तमा यात्रा गर्दाको क्रममा बाटामा भएका अनुभवहरू यसमा पढ्न पाइन्छ । हवाईजहाजको यात्रामा भएका अनुभवहरू यस शीर्षकमा समावेश गरिएका छन् । हवाई यात्राका रमाइला अनुभवका साथै ती अनुभवभित्र बाँचेको अमेरिकी शैलीको जीवन यसमा प्रस्ट रूपमा देखा परेको छ । उनीहरूले पिउँदै गरेको बियरमा जीवन सङ्गिनीहरूको विरोधको स्वर मसिनो गरी सुनिएको छ । यसरी सुनिनुमा नेपाली समाजले निर्माण गरेका संस्कृतिको छाप देखिन्छ । पूजापाठ तथा हिन्दू धर्मप्रतिको विश्वासका साथै पारिवारिक संस्कारका स्वरूपहरू यस संस्मरणमा देखिएका छन् । भूगोलका हिसाबले अमेरिकामा बसोबास गरेको भए पनि नेपालीको आफ्नो संस्कार र सभ्यताका आयामहरू अझै जीवित रहेको कुरा यस संस्मरणमा देखिन्छ ।
यस संस्मरणात्मक कृतिको तेस्रो शीर्षकमा समेटिएको संस्मरण हो ‘बेलायत कि स्पेन ?’ नितान्त पारिवारिक लाग्ने यो यात्रामा दुई जोडीको युरोप यात्राको वर्णन गरिएको छ । यात्राका क्रममा लेखकले यसमा बेलायत यात्राका कुराहरू प्रस्तुत गरेका छन् । उड्दै गर्दा हवाईजहाजमा चलचित्र हेर्न नपाएको गुनासो छ लेखकको । संसारका सबै हवाईजहाजहरूमा विदेशी चलचित्रहरू चल्दै गर्दा नेपाली चलचित्र नचलेको प्रसङ्गमा उनी कल्पनामा डुबेका छन् । जहाज आकाशमा उडिरहेको छ । यो यात्रामा उनीले हिन्दी र चाइनिज चलचित्र हेरेको र ध.च.गोतमेको पुस्तक ‘तीन वास’ को अध्ययन गरेर यात्राको आनन्द लिएको कुरा उल्लेख गरेका छन् ।
लेखकको मनमा कतै-कतै राजसंस्थाप्रतिको मोह पनि यस संस्मरणमा पाउन सकिन्छ । लेखकले बेलायतको राजदरबारसँग नेपालको राजदरबारको तुलना गर्दै वर्तमानभन्दा अतीत राम्रो थियो भन्ने कुराको उल्लेख यस संस्मरणमा गरेका छन् । बेलायतमा रहेकी उनीहरूकै आफन्तकी एक सदस्य मनीषा बुहारीले हिन्दू व्यवस्था र राजसंस्थाप्रति देखाएको मोहलाई पनि यहाँ उल्लेख गरेका छन् र त्यसमा आफ्नो पनि मोह रहेको कुरा व्यक्त गरेका छन् । बकिङ्घम दरबार घुम्दै गर्दा बेलायतको शौर्यको व्याख्या गरेका छन् । बेलायतको थेम्स रिभरको चर्चा पनि यसमा भेटिन्छ । बढी मात्रामा खानपिन र रमाइलो तथा तस्बिर लिने कुरा र आत्मप्रशंसामा डुबेको यस संस्मरणमा जानकारीमूलक केही कुराहरू छन् भने ठाउँहरू र ती ठाउँहरूका प्रकृतिका कुरा रहेका छन् ।
बेलायतको यात्राका क्रममा हरितालिका तीज र त्यस तीजमा गुजराती मन्दिरमा हिन्दूहरूले व्रत बस्ने परम्पराको व्याख्या गरेका छन् । यसले बेलायतमा पनि हिन्दू मन्दिर रहेको कुरा देखाउँछ । बिस्तारै हिन्दू धर्म तथा त्यस धर्मले स्थापना गर्ने मन्दिरहरू संसारका कुना-कुनामा फैलिँदै छन् भन्ने कुराको जानकारी उनको संस्मरणबाट थाहा हुन्छ । बेलायतमा बिरालो पाल्दा सरकारले पैसा दिने र नेपालमा बिरालो पाल्दा अपशकुन हुने प्रसङ्गको उल्लेख गरेर ढुङ्गेलले चेतनास्तरको मापन पनि गरेका छन् । पाहुना भएर गएको आफ्नो परिवार र साथीको परिवारको अनुभूति यसमा समावेश छ ।
बेलायतबाट फ्रान्सको यात्रा गर्दैगर्दा ‘लन्डनबाट पेरिस’ शीर्षकमा अर्को संस्मरण लेखेका छन् । यो यात्राका क्रममा पानीमुनि रहेको रेलको यात्राको कुरा आएको छ । पानीमुनिको रेलको यात्रा रोमाञ्चित हुने कल्पनामा यो लेख सकिएको छ तर अँध्यारो भएकाले पानीमुनिको यात्राको खासै अनुभव लिन नपाएको गुनासो पनि लेखकको यसमा पाइन्छ ।
अर्को शीर्षक हो ‘पेरिसको सेरोफेरो’ छ । पेरिसमा घुम्दै गर्दा त्यहाँ भएका भौतिक तथा ऐतिहासिक संरचनाहरूको चर्चा यसमा गरेका छन् । नेपोलियन बोनापार्टको स्ट्याचुलाई जोडेर नेपालको आर्मी हेडक्वाटरको प्रसङ्गलाई पनि लेखकले उल्लेख गरेका छन् । आइफिल टावरको रोमाञ्चक यात्राका बारेमा लामो वर्णन यसै शीर्षकमा गरिएको छ । संसारको आठौँ आश्चर्यमा पर्ने आइफिल टावरको वर्णन तथा अत्तर र वाइनका लागि विश्वको प्रसिद्ध ठाउँका रूपमा पेरिसलाई चिनिने कुरा लेखकले यसमा जानकारी पनि दिएका छन् ।
पेरिसजस्तो प्रसिद्ध र विकसित सहरमा पनि पिसाब गर्ने ठाउँको अभाव भएको र यसले निकै नै सकस भएको कुरा रोमाञ्चक त लाग्छ नै । कतै काल्पनिक पनि हो कि भन्ने भान पाठकलाई पर्न सक्छ । जीवनको एक अनुभूतिका रूपमा यसलाई पनि ढुङ्गेलले प्राथमिकताका साथ राखेका छन् । क्रुजमा यात्रा गर्दा त्यहाँका सुन्दर दृश्यहरूको दृश्यावलोकन गर्दै उनीहरूले मानसिक आनन्द लिएका छन् । यसै सहरमा प्रसिद्ध मोनालिसाको चित्रको चर्चा यसमा गरिएको छ । सिङ्गो पेरिस दरबार नै दरबारले घेरिएको कुरासँगै ओपेरा सङ्गीतको पनि चर्चा उनको यो यात्रामा पाइन्छ ।
‘पेरिसबाट लुसर्ने, स्विट्जरल्यान्ड’ यात्राका क्रममा त्यहाँको लुसर्ने भन्ने ठाउँको चर्चा अर्को शीर्षकमा गरिएको छ । यसमा भने बसको यात्रा गरेका छन् । बसबाट देखिने सुन्दर पहाडी इलाकाहरूको चर्चा यसमा गरिएको छ । पिसाब फेर्न नपाए पछि कफी किनेर खाएको र त्यही कफीको बिल देखाएर पिसाब फेरेको प्रसङ्ग होस वा लुसर्ने सहरलाई पोखराको लेकसाइडसँगको तुलाले पाठकलाई लेखकसँगै यात्रा गराउँछ ।
‘सेप्टेम्बर आठ र मोहन दाइ’ शीर्षकको अर्को संस्मरणमा स्विट्जरल्यान्डमा भएका सामान्य अनुभूति र खानपानका कुराहरू छन् । पासपोर्ट हराएर परेको परिबन्दलाई सुन्दर किसिमले प्रस्तुत गरिएको छ । सामान्य घटनालाई पनि लेखकले साहित्यको लेप लगाएर कलात्मकता प्रदान गर्न सक्छ भन्ने कुरा लेखकले यसमा उजागर गरेका छन् ।
त्यहाँबाट उनीहरू इटालीको यात्रामा फर्किन्छन् । लुसर्नेबाट इटाली आउँदाका अनुभूति यस शीर्षकमा गरेका छन् । इटाली सङ्गीत र कलाले निपुण भएको कुरा र त्यहाँको सुन्दरताको वर्णन यस शीर्षकमा गरिएको छ । इटालीको मिलान सहर फेसन र कलासंस्कृतिले सम्पन्न भएको कुरा यसमा उल्लेख गरेका छन् । यसमा लेखकले चर्चको पनि चर्चा गरेका छन् । लियोनार्दो-दा-भिन्चिको सालिक यसै सहरमा रहेको कुरा पनि उनको संस्मरणबाट थाहा हुन्छ । लेखकले इटालीमा पाइने वाइनको स्वादको चर्चा पनि यसमा गरेका छन् ।
भेनिस सहरको चर्चा गर्ने क्रममा एक अर्को शीर्षक ‘सेप्टेम्बर नौ र भेनिस’ नामको अर्को शीर्षक रहेको छ । यस शीर्षकमा इटलीलाई युरोपको विहार भनी चर्चा गरिएको छ । चार सय वर्षअघि अलग्गै अस्तित्वमा रहेको भेनिस टापुको चर्चा यसै संस्मरणमा गरेका छन् । भेनिसमा मात्रै एक सय असी आइल्यान्डहरू रहेको तथ्य यसमा समेटिएको छ । सहरमा बोटहरू नै बढी मात्रामा चल्ने कुराको जानकारी पनि यसमा छ । यो संस्मरणमा सदियौँदेखि वाटर बसहरू चल्ने भेनिस सहरलाई नियाल्न सकिन्छ ।
युरोप यात्राको क्रममा रोमको रमाइलोको प्रसङ्ग पनि लेखकले उल्लेख गरेका छन् । त्यहाँ रहेको एम्पी थिएटरको चर्चा बढो मजाले गरेका छन् । युरोपको सहर नै घुमेजस्तो लाख्ने उनका संस्मरणहरूले पाठकलाई त्यहाँ नगए पनि गएको आभाष दिलाउँछ ।
आर्नो नदी, फ्लोरेन्स सहर, तथा मोनाको देशको चर्चा आफ्नो संस्मरणमा गरेका छन् । अमेरिकाबाट सुरु भएको यात्रा अन्तिममा अमेरिकामा नै समाप्त भएको छ । युरोपका विभिन्न देशहरूका भित्र रहेका तथ्य, ठाउँ, इतिहास, कला र संस्कृतिका साथै प्राकृतिक सुन्दरताको वर्णनमा नेपालका भूभागको पनि तुलनात्मक चर्चा गरिएको संस्मरणको यस पुस्तकमा दुई परिवारका रमाइला अनुभवलाई धेरै मात्रामा समेटिएको छ । समग्रमा पाठकहरूलाई नजानिँदो किसिमले युरोप सहरका प्रसिद्ध ठाउँहरूको अवलोकन गराउँदै आफ्ना अनुभव र अनुभूतिहरूलाई पनि कलात्मक तवरले व्याख्या गर्दै संस्मरण सकिएको छ । सरल भाषामा लेखिएको वर्णनात्मक यात्रासंस्मरण पठनीय हुँदाहुँदै पनि भाषिक त्रुटिहरू भने यसमा प्रसस्तै छन् ।