साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लाई–सीले तताएका चिसा रातहरू

Chovar Blues Mobile Size

लाई–सी दाजु गुरुङकृत दोस्रो कथासङ्ग्रह हो । लाई–सी नामक यो पुस्तकमा अठारओटा कथा रहेका छन् । साङ्ग्रिला बुक्सले २०७८ मा प्रकाशित गरेको यो पुस्तकको नाम कथाकार गुरुङले चिनियाँ भाषामा राखेका छन् । लाई–सीको अर्थ कोशेली अथवा उपहार भन्दै उनले नेपाली साहित्य जगत्‌लाई (लाई–सी) कथासङ्ग्रहको कोशेली दिएका छन् । कथाकार गुरुङको जन्म पूर्वी पहाडमा भए पनि उनी हङकङमा बसोबास गर्दछन् । नेपालबाहिर बसेर आफ्नो देश सम्झँदै लेखेका कथाहरूमार्फत आम मानिसका दैनिक जीवनका जटिलता र भोकको पीडालाई देखाउन सफल भएका छन् उनी ।

ससाना कथाहरूको माला बनेर आएको लाई–सीभित्र केही भोगेका र केही देखेका वास्तविक घटनाहरू छन् । उनले कतै कतै आफैँलाई पात्र बनाएर उभ्याएका छन् भने कतै यथार्थ पात्रहरूलाई कल्पनाशीलताको शब्दशिल्पीले चिटिक्क पारेका छन् । यस सङ्ग्रहका धेरैजसो कथामा नारी केन्द्रीय पात्र रहेका छन् । यिनले नारी मनोविज्ञान र नारी संवेदनाको सूक्ष्म अध्ययन गर्नुका साथै मानवीय दुष्प्रवृत्तिहरूको कलात्मक उद्घाटन समेत गरेका छन् । सुन्दर, सरल र मन छुने भाषा, परिपक्व शिल्प अनि ससाना घटनालाई कथामा बुन्न सफल दाजु गुरुङको यो बेजोड कला यहाँ छताछुल्ल भएको पाइन्छ ।

लाई–सी

कथाकार पुरुष भएर पनि उनका कथाहरूमा नारीपीडा, नारीमन, नारीकामवृत्ति र नारी रुचिलाई बडो सूक्ष्मताका साथ प्रस्तुत गरिएको छ । प्रायःजसो कथामा पुरुषप्रति चर्को घृणाभाव देख्न सकिन्छ । पुरुष र पुरुष समाजले नारीलाई खेलौनाका रूपमा उपयोग गरिरहेकोमा असन्तुष्ट छन् कथाकार दाजु गुरुङ ।

लाई–सी भित्र लुकेर बसेका केही कथा प्रेमको झरीले निथ्रुक्क भिजेका छन् भने अन्य केही कथा समाज र राजनीतिका श्यामश्वेत चित्र बनेका छन् । उत्तर आधुनिक साइबर संस्कृतिले सङ्कटमा पारेका बैँसालु मनका कथाहरूमा एउटा उनको सशक्त कथा छ “निरगन्ध रहरहरू” । यो कथामा एउटी अत्यन्तै सुन्दरी युवती छे, नेपाली केटाको मायाजालमा फसेकी सुन्दरीले बिस्तारै केटाको असली रूप पहिचान गर्छे र बिर्सिदिन्छे उसलाई । बारमा जान्छे, खान्छे, पिउँछे र चुरोटको धुवाँसँगै सबै आफ्ना पिरहरू उडाइदिन्छे । एक्काइसौँ शताब्दीकी नारी ऊ स्वतन्त्र छे । ऊ कसैको मतलब गर्दिन । एक हुल जँड्याहा उसको यौवन देखेर मात्छन् किनकि उसले लगाएका कपडा विफल देखिन्छन् शरीरको भूगोल लुकाउन… ऊ एक्लै बोल्छे, “केही चोटहरू बिर्सन अँध्यारो साँझको सहारा लिएकी थिएँ तर चोटको ठाउँमा घाउहरू थपिँदै गए –कस्ता निर्गन्ध रहरहरू ।” (पेज २०)

sagarmani mobile size

कथाकार गुरुङ देशप्रेमी छन् । देशप्रेम अमूर्त हुँदैन, देशप्रेम मूर्त हुन्छ । देशको माटामा उभिएका आफ्ना पहाड पर्वत, खोला नाला, पशुपक्षीको, देशवासी, आदिलाई कति मायाँले छाम्छन् उनी, कति संवेदनाले लेख्छन् । उनी टाढा बसेर पनि आफ्नो देश नेपाललाई मुटुमै लुकाइरहन्छन् ।

आधुनिक प्रविधिको सर्वसुलभता र सर्वव्यापकताले गर्दा समय र भौगोलिक दूरीको खाडल साँघुरिएको छ । एक सचेत सांस्कृतिक मान्छे यिनै पुर्खाहरूको सविस्तार फैलावटमा आफ्नो जन्मथलो छोडेर टाढा पुगे पनि ऊ यसरी प्रत्येक चाडपर्वमा आफ्नै देश सम्झेर बिथोलिन्छ । गुरुङ भन्छन्, “कटक्कै दुख्छ मन कहिले बाध्यतामा, कहिले रहरका बोझहरूमा, मन घर पुग्छ । आँगन र गाउँबेँसी डुल्छ अनि घरभित्र चिहाउँछ । कतै आमा अगेनामा आगो फुक्दै हुनुहुन्छ कि बाँसको सोतेले । (पेज २१४) यो “विस्मृतिको डिलमा” कथा पढ्दै जाँदा अचानक पाठकलाई आफैँ एउटा कुनै पुरानो गाउँ पसेझैँ लाग्छ । “यसरी कुनै कालखण्डदेखि स्याहारसम्भारका हातहरू नपुगेर होला, वर्षामा पलाएका झारपात र बनमाराहरू हिउँदका चिस्यानमा सुकिरहेछन् एउटा कुरूप समय बोकेर ।” (पेज २११) बाल्यकालको सम्झना, मनका तृष्णा रहर साँचेर कहाँ–कहाँ डोऱ्याइरहेछ गोलार्धको हरेक कित्ता–कित्तामा । यसै प्रवाहहरूमा कहाँ–कहाँ हेलिइरहेछन् मान्छेहरू जमिन–जमिन, आकाश–आकाश…..।

शशी भट्टराई श्रेष्ठ

दुःख र दर्दको भारीले थिचिएको अर्को कथा हो “कामरेड” । बर्सौँदेखि माओवादले उत्पन्न गरेको भय र हिंसाले नागरिक विचलित छन् । त्यसैले नेपाली सधैँ देश छोड्न बाध्य छन्, परदेशमा पुगेर दास हुन बाध्य नेपालीको कथा कामरेड हो । शरीर वा तुच्छ शारीरिक श्रम बेच्न देश छोडेर अन्यत्र भौँतारिनुपर्ने नेपालीको बाध्यता र विवशता छ यो कथाभित्र । “कति कहालीलाग्दा दिनहरू, मान्छे देख्दा तर्सनुपर्ने । कति आतङ्कित बनाउने रातहरू । आकाश गर्जिँदा तर्सिएर सुतेको ठाउँबाट दौडिनुपर्ने । कहाँबाट कहाँ पुऱ्यायो द्वन्द्वको रापले, अझै सेकिरहेछ त्यो रापले मेरो जीवनलाई ।” (पेज १२४) कथाको पात्र कामरेड महेश भन्छ, बाह्रबुँदे शान्ति सम्झौतापछि धेरै साथीहरू नेपाली सेनामा छनोट भए तर म परिनँ … महेशले सुनाएको द्वन्द्वको भोगाइ, आक्रोश, असन्तुष्टिहरू, जो बन्दुक बोकेदेखि खाली खुट्टा फर्किएसम्मको समय जोडेर बुनेको यो कामरेड कथाले “पेरिसडाँडा” तिर हेर्दै छ जस्तो लाग्छ ।

लाई–सीभित्र एउटा रहस्यमय कथा छ, “सेतो खाम” नाम गरेको कथाभित्र नौओटा उपकथाहरू रहेका छन् । रातो खाममा सजिएको किताबभित्र एउटा सेतो खाम भेटिन्छ । यो कथा कतै दैनिकीजस्तो, कतै चिठी पो हो कि जस्तो लाग्छ । यसमा कहिले आमा मुख्य पात्र हुन्छिन् त कहिले सानी छोरी । एउटा अदृश्य व्यक्ति पनि छ यहाँ । साँच्चै भन्नुपर्दा त्यै मान्छेका वरिपरि कथा बेरिन्छ । आफ्नो हरियो पासपोर्ट नहुँदा सानी छोरी एक ठाउँमा दुःख पोख्छे – “केही हङकङबाहिरका शैक्षिक भ्रमणहरू मिस गरिसकेकी छु मैले । अहिलेसम्म कुनै ट्राभल डकुमेन्ट छैन मसँग । न त हङकङ न त नेपाल, आखिर कहाँकी नागरिक हुँ म ?” आमा नेपाली नागरिक हुन् भन्ने कुरा उसले थाहा पाउँछे तर बाबु साथमा नभएपछि ऊ कुनै देशको नागरिक बन्न सकेकी छैन । नेपाली आमाको कथा र व्यथा छ सेतो खामभित्र ।
आखिर किन यी सबै गहन जिम्मेवारी एक्लै वहन गरेर उभिन बाध्य बन्छे नारी ? पुरुष र महिलाबिचको यो खाडल कहिलेसम्म ? नेपाली नारीहरूलाई कहिलेसम्म कथाको पात्र बनाइन्छ ?
‘मोनिका’, ‘गुडबाई मोनिका’ यी दुई कथा पढ्दै जाँदा यस्तो लाग्छ, कतै लेखकको यो आफ्नै जीवन गाथा त होइन ? उनको “टाँकीका फूलहरू” कथासङ्ग्रहमा रहेको मोनिका र लाई–सीमा भएको गुडबाई मोनिका भाग १ र भाग २ कथा हुन् । एउटा कथा बुझ्नलाई दुवै किताब पढ्न जरुरी छ ।

मोनिका नाम गरेकी फिलिपिनो केटी नेपाली केटाको मायाजालमा पर्छे । कामको सिलसिलामा दुवै हङकङमा भेटिन्छन् । उनीहरू मन मुटु एक भएको प्रमाण सहित एउटा चर्चमा जान्छन् र औँठी साटासाट गर्छन् तर…. मोनिकालाई श्रीमती मोनिका गुरुङ बनाएर कथाले बिस्तारै अर्को मोड लिन्छ । मोनिकाले नेपाल देख्या त छैन तर पनि उसलाई नेपाल असाध्यै मनपर्छ । ऊ भन्छे, “विश्वको मानचित्र पल्टाएर मलाई मेरो मायालुले नेपाल देखायो । त्यही वेलादेखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने कुरा थाहा पाएँ । अनि पो थाहा भयो हामीलाई पढाइएको पाठ्यक्रम गलत रहेछ ।” (पेज ४१) आमा बन्ने भएपछि छिटै नेपाल पुगेर आउँछु भन्दै फकाएर हिँडेको आफ्नो मान्छे कहिल्यै फर्की आएन । एक्लै छोरी स्याहार्दै बसेकी मोनिकालाई छोरीले पनि छाडेर हिँडेपछि ऊ आफ्नै देश गएर बस्छु भन्ने अन्तिम निष्कर्षमा पुग्छे र दुःखी हुँदै भन्छे, “जब एउटा जिउने आशाभरोसा नै अनायासै छुटेर जान्छ भने किन मैले मात्र पछ्याइरहने ? अब पनि एक्लै यसरी जिन्दगीलाई विदेशमा किन अनुबन्धमा बन्धक बनाइराख्नु ?

दाजु गुरुङका कथामा यौन ज्यादै नजिक आउँछ, कथामा प्रेममिलन, बिछोड नै एकआपसमा दौडिरहन्छन् । नीतिकथा, लोककथा, दन्त्यकथा, परिकथा भन्दा भिन्नै साइबर युगका कथा छन् लाई–सीमा । सामाजिक सञ्जालले नजिक बनाएको, कुनै बारमा कतै अफिसमा जोडिन आउँछन् कथाका पात्रहरू ।
यस किताबमा रहेको “लालीगुराँस डटकम” पढ्दै गर्दा मलाई डा. गोविन्दराज भट्टराईको “विश्वग्रामीकरणका ईश्वरलाई पुकारा” भन्ने एउटा लेखको सम्झना आयो । त्यो लेखभित्र एक जना सुवेडी कान्छो भन्ने पात्र छ । उसले एक दिन आफ्नो उमेरिलो अतीत सम्झँदै भन्छ, “कस्तो रड्डी समय बाँचियो नि ! एउटा फुनसम्म निस्केको थिएन । अहिलेजस्तो मुबाइल निस्केको भए, दिनभरि खोला बगरमा ढुङ्गामाथि उनी देखिएलिन् भनेर म यसरी ढुकिरहने थिइनँ ।”

यता लालीगुराँस डटकम कथामा एक जोडी मायालु हुन्छन् । उनीहरू सामाजिक सञ्जालबाट नै नजिक भएका हुन्छन् । उनीहरू च्याटमा रमाउँछन्, भ्वाइस मेसेज गर्छन् । दुवै विवाहित छन् त्यही पनि एक्ला छन् । वेला-वेलामा कथाको नायक आफ्नो परिवार सम्झन्छ र एक्लै बोल्छ, किन म यसरी अर्को संसारमा खुसी हुँदै छु, तुरुन्तै आफ्नो मन आफैँ बुझाउँछ यसरी, “मन भएर पनि बाध्यतावश परिवारबाट अलग-अलग भूगोलमा रहनु, कामको व्यस्तताले परिवारलाई समय दिन नसक्नु… यस्तो दूरीलाई आदर्शले रोक्न नसक्दो रहेछ ।” ऊवेलाको सुवेडी कान्छाको निश्चल चोखो मायाँ र आजका जोडिको माया …।

यसरी दाजु गुरुङले भोगविलास र यौनमा डुब्दै गएको अहिलेको समाजको विकृत चेहरा जताततै छ है, भनेर कथाको माध्यमबाट छर्लङ्ग देखाएका छन् । कामको खोजीमा आफ्नो देश छोडेर अन्यत्र जाने महिलाका दुःखहरू, स्वार्थले भरिएका पुरुष नजर …यी सधैँ छन् र जताततै भेटिन्छन् ।

अन्त्यमा, लेखकलाई प्रश्न – पुरुष मात्र यो समाजको समस्या हो त ? किन सबै कथामा पुरुषको मात्र दोष देखाइएको छ ? नढाँटी भन्नुपर्दा लाई–सीले पुसका चिसा रातहरू थाहै नपाई तताइदियो ।

प्रतिक्रिया
Loading...