विषयप्रवेश

साहित्यकार गोविन्दराज भट्टराई बहुआयामिक व्यक्तित्वका धनी प्रतिभाका रूपमा परिचित छन् । सिर्जना र समालोचनाका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका भट्टराईको लेखन विविध विधामा सबल रहेको छ । लेखन तथा शैक्षिक क्षेत्रमा नेपालमै बौद्धिक व्यक्तित्वका रूपमा परिचित भट्टराई मूलतः पाश्चात्य दर्शनको उत्तरआधुनिक चिन्तनका आधिकारिक व्याख्याताका रूपमा समेत लोकप्रिय रहेका छन् । अङ्ग्रेजी तथा नेपाली भाषाका क्षेत्रमा यिनको साधना अनुकरणीय रहेको छ । दर्जनौँ कृतिका लेखक भट्टराईले २०७२ सालमा आएको विनाशकारी भूकम्प र त्यसले निम्त्याएको त्रासदीय अवस्थालाई केन्द्रित गरी ‘भूकम्प प्रार्थना’ शीर्षकको कवितासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । मानवीय जीवनका सूक्ष्मभन्दा सूक्ष्म कुरालाई पक्रेर भावनामा गाल्ने हुनाले यिनका कवितामा मानवीय संवेदना जीवन्त रूपमा मुखरित भएको पाइन्छ । वास्तवमा भन्दा कारयित्री अनि भावयित्री दुवै प्रतिभाको सङ्गम साहित्यकार गोविन्दराज भट्टराईमा पाउन सकिन्छ । यस लेखमा भट्टराईको २०७७ सालमा प्रकाशनमा आएको ‘भूकम्प प्रार्थना’ कवितासङ्ग्रहमा प्रस्तुत भएको जवनवादी चेतना अनि कविको सूक्ष्मानुभूति चेतनालाई छाम्ने प्रयास गरिएको छ ।

भूकम्प प्रार्थना कवितासङ्ग्रह

टङ्कप्रसाद पन्थ

प्रस्तुत कवितासङ्ग्रह २०७७ सालमा ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशनमा आएको हो । यस सङ्ग्रहमा जम्मा अठारओटा कविताहरू समेटिएका छन् । २०७२ साल वैशाख २२ गतेदेखि २०७२ साल श्रावण ९ गतेसम्म लेखिएका कविताहरू यहाँ सङ्कलित गरिएको छ । केही कविताहरू फुटकर रूपमा पत्रिकाहरूमा प्रकाशित भएको पनि सङ्केत पाइन्छ । भावनाको सूक्ष्मतम अनुभूतिलाई पक्रेर कविता लेख्ने गोविन्दराज भट्टराईका यी कविताहरूमा मानवीय संवेदनाका साथमा जीवन चेतना चुलिएर आएको देख्न सकिन्छ । कविता पढ्दै गर्दा पाठकीय चेतनामा परेको प्रभावलाई केन्द्रमा राखी यहाँ केही प्रकाश पार्ने प्रयास गरिएको छ ।

भूकम्प प्रार्थनाभित्र प्रस्तुत जीवन चेतना

पहिलो क्रममा रहेको ‘हान एक अर्को कोदालो हान’ शीर्षकको कवितामा अदृश्य रूपमा रहेको ईश्वरीय शक्तिप्रति लक्षित गरी पृथ्वीलगायतका ब्रह्माण्डीय पिण्डहरूको अस्तित्वसँगै मानवलगायतका जीवहरूको अस्तित्वको गम्भीर प्रश्नलाई यहाँ उठाइएको छ । भुईँचालाको प्रहारको पीडा भोगेका विभिन्न देशहरूको अवस्थाका साथै नेपालमा आएको १९९० को भूकम्प, त्यसपछिका कम्पहरूको अवस्था अनि २०७२ सालमा आएको विनाशकारी भूकम्पले गराएको क्षति, निम्त्याएको दयनीय अवस्थाको मार्मिक अभिव्यक्ति यहाँ पाउन सकिन्छ । सृष्टि जगत्‌मै निरीह मानव अस्तित्व अनि कसैको खटनमा बाँच्नुपर्ने वा मर्नुपर्ने नियतिनिर्दिष्ट तारतम्यको संयोगका झलकहरू पनि प्रस्तुत कवितामा अभिव्यञ्जित भएको पाइन्छ । व्याजस्तुतिमय शैलीमा दैवीलीला र ताण्डवपूर्ण विनाशप्रतिको सघन विमतिभाव यहाँ झल्किएको पाइन्छ । जीवनको क्षणभङ्गुरताका साथै भौतिक पदार्थ र पृथ्वीको पनि निश्चित आयु रहेको मर्मलाई यहाँ प्रकाश पारिएको छ । ईश्वरप्रतिको सङ्केत यहाँ यसरी प्रस्तुत भएको छ –

थाहा छ तिमीले दिएको समय कति थोरै छ

कसैलाई धारामा नपुग्दै लडाउँछौ

कसैलाई तिर्खा मेट्न नपाई

जेसुकै गर तिम्रै बगानको कुरा हो

तिम्रो निरङ्कुशतासामु हामी कमिला भुसुना हौँ

यत्रो चिच्याहट, क्रन्दन र पुकार केही सुनेनौ

जब क्रोधमा त्यो विशाल फरुवा

उचालेर जमिनमा हान्छौ । (पृ. ४)

मानवीय जिजीविषाका स्वरहरू पनि कवितामा सलबलाएर आएको पाइन्छ । जन्म र मृत्युबिचको क्षणिक दूरी र त्यो पनि अदृश्य ईश्वरीय खटनपटनमा हुने तितो यथार्थलाई यहाँ सङ्केत गरिएको छ ।

‘म तिम्रै प्रार्थनामा थिएँ’ कवितामा गीताको श्लोकको पृष्ठभूमिमा भूकम्पले मच्चाएको त्रासदीय भावलाई मसिनो गरी समेटिएको छ । मानिसले सजाएका सपना अनि जीवनमोहका भावनामाथि बुट बजारेर हुने प्राकृतिक विपत्तिले धनी गरिब सबैलाई एउटै त्रिपालमुनि ल्याएको वास्तविकतालाई उठान गरी यस्तो विपद् पर्दा सबै समान रहेको मर्मस्वरूप वास्तविक साम्यवादको छाया यहाँ पाइने विचार प्रस्तुत भएको छ । कोक्रामा झैँ हल्लाएर सबैलाई थर्कमान बनायौ । अब अति भयो हाम्रो प्रार्थना सुन भनी आग्रह गरिएको छ । मानवीय अस्तित्वलाई केन्द्रमा राखी जीवनको व्याख्या गर्ने काम यहाँ गरिएको छ ।

‘फर्क अब यताको गुँडमा फर्क’ शीर्षकको कवितामा भूकम्पको प्रलयकारी प्रहारबाट पीडित मानिसहरू जो काठमाडौँ छाडेर बाहिरिए, तिनीहरूको अनुपस्थितिमा सहर नै शून्य र मरुस्थलतुल्य भएको मर्मसँगै बिरक्तिएको कविमनको सूक्ष्म चिन्तन पनि यहाँ मुखरित भएर आएको देख्न सकिन्छ । काठमाडौँ सहरको शोभा बनेर रहेका विभिन्न पेसा, व्यवसाय र तप्काका मानिसहरू एकाएक सहर छाडेर गएपछि मुर्दासमान बनेको सहरमा फर्किएर त्राण दिनका लागि आह्वान गरिएको छ । भूकम्पपछिको सहरिया परिवेशको वास्तविकतालाई यहाँ सूक्ष्म रूपमा केलाउने काम पनि गरिएको छ ।

गाडीहरू बन्द छन्

एक्ला बाटा लम्पसार छन्

जीवन शून्यजस्तै छ,

छन् लडेका बिरामीहरू

ठेलाहरू नाम्ले र बोरेहरू यतिखेर

कता पुग्यौ हामीलाई एक्लै छोडेर

कालीमाटी चोकमा हाम्रै बाटो हेर्नेहरू

नाम्ला डोरीका पटुका बाँधेर

सडकपेटीमा बस्नेहरू, रुङ्नेहरू, उङ्नेहरू

प्रत्येक यात्रीलाई ग्राहक सम्झी बोल्न खोज्थ्यौ । (पृ. १२)

काठमाडौँको सातो गएका बेला तिमीहरू कहाँ गयौ ? सातो फुक्न आऊ, सातो हराएका हामीहरू तिम्रै प्रतीक्षा गरेका छौँ भनी सबैलाई आमन्त्रण गरिएको छ । यहाँ आशावादी जीवनबोध मुखरित भएर आएको देख्न सकिन्छ ।

‘नछोड आज पनि गहुँ काट्न नछोड’ प्रस्तुत कवितामा एकातिर भूकम्पको विनाश र त्यसको चोट छ भने अर्कातर्फ गाउँघरमा खेतीकिसानीको चटारो कायमै रहेको सन्दर्भका साथमा सभ्यताले झेलेको निरन्तरको विनाशकारी प्रहार तथा त्यस्ता घाउहरूलाई भुल्दै गएर सामान्य अवस्थामा फर्किनुपर्ने यथार्थलाई प्रकाश पारिएको छ । विश्वसभ्यताका धरोहरहरू प्राकृतिक विपत्तिका कारण विनाश हुँदै गएको र तिनको पुनर्निर्माण हुँदै गएको यथार्थलाई पनि यहाँ सङ्केत गरिएको छ । घाउमा खाटाहरू बसेर क्रमशः भूलिँदै जाने प्रकृतिका साथमा आशावादी जीवनदृष्टि पनि यहाँ प्रस्तुत भएको पाइन्छ । प्रकृतिले निम्त्याएका विविध ताण्डवलाई यहाँ प्रस्तुत गरिएको छ ।

कहिले हुरीले भत्कायो र आँधीले उडायो

धर्ती बगाउने पहिरा

आकाश उम्लिएर उचालिने समुद्री छाल

गर्भगृहबाट उठेका अग्निका लप्का

खरानी धुवाँ र लाभाका नदी

अनि प्रलयङ्कारी भूकम्पहरू,

त्यसो त मानिस आफैँ पनि

प्रलय उत्पन्न गर्छ, जब ऊ

फुर्सदको समयमा गहुँ काट्न छोडेर

बन्दुक भिरी हिँड्छ । (पृ. १९)

यो मानवजीवन अनि सृष्टि प्रकृति देवीकै जीवन्तता र निरन्तरताको गाथा रहेको विचारका साथमा विभिन्न अभाव र प्रतिकूलतामा बाँचेकाहरूको नियतिजन्य अवस्थाप्रतिको कविसंवेदना छताछुल्ल भएर पोखिएको देख्न सकिन्छ । यस्तै प्रतिकूलताका बिचबाट भविष्यका आशाहरू सजाएर कर्मपथमा लाग्नुपर्ने सन्देश यहाँ प्रवाहित भएको पाइन्छ । मानिसका कृत्यप्रतिको कटाक्षपूर्ण व्यङ्ग्य पनि यहाँ व्यक्त भएको छ ।

‘आज पनि कीर्तिपुरमा उज्यालो भयो’ शीर्षकको कवितामा २०७२ साल वैशाख २९ गतेको दोस्रो भयावह कम्पनले सिर्जना गरेका तरङ्गहरू यहाँ प्रतिबिम्बित भएर आएको पाइन्छ । ठुलो धामीको कम्पनको सांस्कृतिक बिम्बद्वारा धर्तीको कम्पनको प्रकृति र त्यसको नियन्ता वा सञ्चालकप्रतिको आग्रहभाव पनि यहाँ अभिव्यक्त भएर आएको पाइन्छ । मृत्युदण्डको मुखमा पुर्‍याइएको कैदीलाई पनि अन्तिम इच्छा सोधिन्छ तर आफ्नो अन्तिम इच्छासमेत बोल्न नपाई क्षणभरमै मृत्युका मुखमा पर्नुपर्ने दैवीय लेखाका साथमा भयको मनोविज्ञान पनि सूक्ष्म रूपमा प्रस्तुत भएको देखिन्छ । प्रकृतिको ताण्डवमय भयभीत दृश्यलाई यसरी प्रस्तुत गरिएको छ –

आधी मिनेट पृथ्वीमा विध्वंस नाच्यो

नाच्यो कस्तो डरलाग्दो ताण्डव नृत्य प्रलयको

मनको होस हरायो शरीर कामेको काम्यै

ठेगान छैन म के गर्दै छु

तर पनि भनेँ नभाग तिमीहरू नभाग

अस्ति नै धेरै घर सिङ्गै उत्तानो परेका छन्

घोप्टिएका धस्सिएका धुलिएका छन्

बाँकी लड्न तयार छन्

भाग्ने ठाउँ कहाँ छ र

सबैतिर मृत्युले उत्सव गरेका बेला

निर्माताले ठुला-ठुला झाँकी नचाएका बेला । (पृ. २४)

मनले सबै कुरा सकेर मृत्युको नजिकबाट साक्षात्कार गरेको सजीव अनुभूति यहाँ प्रतिबिम्बित भएको छ । सर्वशक्तिमान् बिजुवाको रौद्र रूपको झाँकीपछि कीर्तिपुरमा उज्यालो भएको सन्दर्भका साथमा आशावादी भावनाको प्रस्तुति भएको पाइन्छ । सांस्कृतिक बिम्बका साथमा प्रकृतिको विकराल रूपको चित्रण यहाँ पाउन सकिन्छ ।

‘जीवनका ढाकरमा खोसेला र परालको भारी बोकेर’ कवितामा भूकम्पको झड्कासँगै जीवनबोधको दर्शनले कुतकुत्याएको गहन चिन्तन यहाँ मुखरित भएर आएको देख्न सकिन्छ । जीवन हुनुको अस्तित्वबोध अनि एक दिन मरेरै जाने जीवनको दोसाँधमा उभिएर विसङ्गतिबाटै अस्तित्वको खोजी गर्नुपर्ने विचार यहाँ प्रवाहित भएको पाइन्छ । जीवनको एक क्षणलाई पनि सिर्जनात्मक कर्ममा लगाएर अक्षरको खेती गर्ने बोर्गेस, पास्तरनाक, नैपल, भर्जिनियया उल्फ, सिमन दि बुभार, सात्र, हेमिङ्वे, बेके, मुराकामी आदि व्यक्तिहरूका जीवनदर्शनले पारेको गहन प्रभावबाट जीवनबोधको पाठ सिकी एक दिन व्यर्थमा बित्यो भने एकदिन अगाडि मृत्युले भेट्नेछ भन्ने निष्कर्षका साथमा कविता समापन भएको छ । हाम्रो वास्तविक धरातलमा हेर्दा भने अवस्था यस्तो रहेको छ –

सिर्जनाको दिनान्तमा बिसाएर

मेरा वरिपरि हेर्छु

यहाँ भने आफ्ना साथीहरू

तासमा लट्टिएका देख्छु, जुवामा नारिएका देख्छु

मद्यशालामा बेहोस लडेका देख्छु- जीवनको

लक्ष्य के हो भन्नै गाह्रो रहेछ

आफ्नो हृदयको बत्तीले जति देखायो त्यति नै मात्र

उज्यालो छ त्यति नै मात्र जीवन रहेछ । (पृ. ३३)

वास्तविकता के हो भनी खुट्याउन नसकिएको मानसिक अवस्थाको प्रस्तुति यहाँ भएको पाइन्छ । जीवनको औचित्यलाई नबुझेकाहरूले बेफ्वाँकमा समय खेरा फालिरहेको अवस्थाप्रतिको संवेदना यहाँ मुखरित भएको छ ।

‘अर्थात् अब विलाप बन्द गर’ शीर्षकको कवितामा मक्किएका, पुराना भएका र आफैँ भत्काउनुपर्ने संरचनाहरू भत्किएको र जो नियन्ता प्रकृति हो, उसैले लडाएको भत्काएको सन्दर्भलाई यहाँ प्रकाश पारिएको छ । भौतिक वस्तुप्रतिको अतिमोहका कारण हामी भ्रममा भएकाले तीप्रति बढी चिन्ता गर्दछौँ । कति हाम्रा आफन्तहरू गए । जानु त एक दिन सबैले हो तर एक आयु बाँच्न पाए हुने भन्ने इच्छा सबैमा रहेको हुन्छ तर शोक गर्नु व्यर्थ छ भन्ने विचार यहाँ व्यक्त भएको छ । मास्टर बिल्डरको बिम्बलाई झल्काई आजको मानिसले पनि मास्टर बिल्डरकै नियति भोगेको यथार्थलाई यहाँ झल्काइएको छ । हामीले प्रकृतिमाथि अति दोहन गरेकाले असह्य भएर प्रकृति क्रुद्ध भई सारा विनाश निम्त्याएकी हुन् भन्ने मर्म पनि यहाँ मुखरित भएको छ । भत्किएका सम्पदाहरू निर्माण भई जीवन लयमै फकिन्छ भन्ने अभिप्रायका साथमा आशावादी भाव यहाँ मुखरित भएको छ ।

नगरौँ शोक नगरौँ

हामी फेरि ढुङ्गा फोडौँला

नयाँ आकारका मूर्ति भवन दरबार सबै जोडौँला

एकैछिनका लागि आँखाका रमिताहरू फेरि जोडौँला

भोलि ता ती पनि मकाउनेछन् लड्नेछन्

पृथ्वीकै आयु सीमित छ भने

हाम्रा शोकको के अर्थ ?

नगर अब शोक बन्द गर । (पृ. ४१)

निर्माण अनि सिर्जना कर्ममा लाग्नका लागि यहाँ उत्प्रेरणा जगाउने काम गरिएको छ । सबै कुरा क्षणभङ्गुर छन् भनेर जान्दाजान्दै पनि जीवन निष्क्रिय रहन सक्दैन भन्ने विचार यहाँ अभिव्यक्त भएको छ ।

‘सोध न पिङ्की उतातिरका आइमाईलाई कति बेला त्यो आउँछ भन्दै छन्’ शीर्षकको कवितामा काठमाडौँका महलधारी सम्भ्रान्तहरूको मनोविज्ञान र अचेतनको आग्रहलाई प्रस्तुत गरिएको छ । काठमाडौँको विकास र सबैलाई आकर्षण गर्ने प्रवृत्तिले गर्दा गाउँ शून्य भएको, गाउँकै विभिन्न नाउँधारीहरू काठमाडौँ छिरेपछि धनाढ्य बन्दै गएको, त्यस्ता नवधनाढ्यहरूको प्रतिनिधि पात्रका रूपमा प्रस्तुत फिलिप साहु पनि अरू जस्तै त्रिपालमुनि बस्न पुगेको अवस्था यहाँ व्यक्त भएको छ । ९० सालको भूकम्पको पृष्ठभूमिमा त्यही बार, तिथि र जोग पारेर फेरि ठुलो भूकम्प आउने हल्लाको मनोविज्ञानले फिलिपलाई सताएको छ । सुगर र प्रेसरको बिरामी फिलिप आफ्नो शरीर काम्दै गएकाले घर हल्लिन थालेको भ्रममा पर्छ । श्रीमती पिङ्कीलाई कति बेला आउँछ भनी अरू आइमाईलाई सोध्न पठाउँछ । यहाँ भयमा बाँचेको मानवीय मनको सूक्ष्म विश्लेषण गरिएको छ ।

‘भयो यो धर्तीको सङ्गीत स्विचअफ गरिदेऊ’ शीर्षकको कवितामा भूकम्पको कम्पनलाई धर्तीकै सङ्गीतको प्रतीकका रूपमा सङ्केत गरिएको छ । प्रलयका बेला प्राणी तथा वनस्पतिले देखाउने प्रतिक्रियाका सन्दर्भमा मानिसको निरीह अवस्थालाई पनि यहाँ उल्लेख गरिएको छ । यस्तो प्रलय निम्त्याउने मृत्यून्मुख नृत्यलाई बन्द गर्न आग्रह गरिएको छ । प्रकृतिनिःसृत आगाले डढाएर ध्वस्त पार्ने प्रवृत्तिलाई पनि यहाँ व्यक्त गरिएको छ । इतिहासबाट पाठ सिकी भविष्यमा पाइला चाल्नुपर्ने सन्दर्भलाई कवितामा यसरी प्रस्तुत गरिएको छ –

तर आउनेलाई एउटा उपदेश छ

नभाग जब पृथ्वीले

यो भोटे कुकुरको साङ्लो खोलिदिन्छिन्

आत्तिएर बौलाएर यसले विध्वंस गर्छ

नभाग, भाग्नेलाई यसले

ठाउँको ठाउँ कड्याप्पै पार्छ

हेर यसपलि कति बितेका छन्

कति लुकेका

कति-कति छुटेका पनि छन्

भयो, धर्तीको सङ्गीत स्विच अफ गरिदेऊ

अब ता । (पृ. ५५)

‘सुनौलो घामले बुट्टा कोरेको’ शीर्षकको कवितामा भूकम्पको त्रासदीले पढाएको पाठसँगै बदलिएको मानसिकताको झलक पनि प्रस्तुत भएको पाइन्छ । गगनचुम्बी महलहरू निर्माण गरी छिमेकीहरूको प्रकाशसमेत छेकिदिनेहरू पनि भुईँमै झर्नुपरेको वास्तविकतासँगै सानो घर अनि सूर्यप्रकाशले पोतेको परिवेश, चराचुरुङ्गीहरूको आवाजको प्राकृतिक आनन्दमै जीवन सार्थक हुने मर्म यहाँ अभिव्यक्त भएको छ । भूकम्पले राम्रै पाठ पढाएर गएको सन्दर्भलाई कवितामा यसरी प्रस्तुत गरिएको छ –

अब म निर्भय छु धन्य भूकम्प !

तिमीले यत्रो पाठ पढायौ,

सबैलाई एकपल्ट भुईँमै सुतायौ

ढुङ्गामाटाको गजुर ठड्याएर

त्यसको अभिमानले उचालिनेलाई पनि

यसपालि गुप्त ज्ञान दिलायौ

नहेप, भुईँमा घर भएकाहरूलाई नहेप,

कतै घर नभएकाहरूलाई पनि नहेप

अन्त्यकालमा सबैले टेक्ने ठाउँ भुईँ नै हो । (पृ. ५७)

साधा जीवन उच्च विचारप्रतिको आदर्शका साथमा सबैको वास्तविक धरातल एउटै रहेको अभिप्रायलाई यहाँ प्रस्ट पारिएको छ । मानवीय मृदु व्यवहार र सद्भावको अपेक्षा पनि यहाँ मुखरित भएर आएको पाइन्छ । धनी र गरिबको विभेदका रेखा कोर्नेहरूप्रति मर्ममै प्रहार गरिएको छ ।

‘बुलेटप्रुफ ज्याकेटसँगै पुरिएको म’ शीर्षकको कविताको पृष्ठभूमिमा ग्रिसेली मिथक पुराणको इकारस भन्ने पात्र जो शिल्पी भएका कारण जेलमा रहँदा पखेटा निर्माण गरी तिनै पखेटाका सहायताले उडेर जेलबाट भागेको सन्दर्भलाई उठाई आजका मानिसलाई सन्देश प्रवाहित गरिएको छ । मैनले जोडिएका पखेटा धेरैमाथि जाँदा सूर्यको तेजले पग्लिने खतरालाई बेपर्वाह गरी उड्दै जाँदा पखेटा पग्लिएर समुद्रको बिच भागमा खसी उसको मृत्यु भएको सन्दर्भद्वारा अहिलेका कुलीन मानिसहरू दम्भ देखाएर पचास तलाको घर बनाउने अनि आफ्नो औकात प्रदर्शन गर्ने चरित्रलाई यहाँ ध्वनित गरिएको छ । छिमेकीहरूको पुकारा समेत नसुनी प्रकृतिप्रदत्त साझा अधिकारलाई मिचेर सबै कुराले सम्पन्न छु भन्ने दम्भ पाल्नेहरूको हविगत भएको त्रासदीपूर्ण अवस्थालाई यहाँ झल्काइएको छ । बुलेटप्रुफ ज्याकेटको धाक लगाएको मानिस भूकम्पले भत्काएको क्षणभरमा पचास तलाको घरबाट जमिनमा झर्नुपरेको यथार्थका साथमा कति मानिसहरू घरभित्र पुरिएर मर्नुपरेको मार्मिक अवस्थालाई यहाँ प्रकाश पारिएको छ । पचास तला माथिबाट जमिनमा झरेर भग्नावशेषभित्र निसासिएको म पात्रको आत्मकथन यसरी प्रस्तुत भएको छ –

म यो धुलामाटाले पुरिएको छु

छड, इँटा, बिम, ढलानले छोपिएको छु

तिमी कहाँ छ्यौ हे जीवन सँगिनी ! ?

बालुवा र सिमेन्टको पर्वत कति गह्रौँ,

मेरो बुलेटप्रुफ पनि

चेप्टियो कि क्या हो ?

तिमी त्यसपछि कहाँ के भयौ थाहा छैन

म त भग्नावशेष भित्रबाट बोल्दै छु । (पृ. ६६)

धनपैसामा दम्भ गर्नेहरू पनि मरेरै जानुपर्छ । पचासौँ तलामाथि बसेर आकासिएको गौरव गर्नेहरू पनि एक दिन भुईँमा झर्नुपर्ने वास्तवितालाई यहाँ प्रतिबिम्बित गरिएको छ ।

‘पाटिले ऐलान गरेको छ, अबदेखि कसैले विलाप नगर्नू’ कवितामा भूकम्प, बाढीपहिरो, आगजनी आदि जस्ता प्राकृतिक विपद्‌को त्रासदीय अवस्थालाई कविताको विषय बनाइएको छ । भूकम्पपछि ताप्लेजुङमा गएको पहिरोले धनजनको ठूलो क्षति गरेको सन्दर्भलाई जोडी राजनीतिक कर्मीहरूले दिने गरेके आश्वासन र सान्त्वनालाई कटाक्षपूर्ण शैलीमा प्रस्तुत गरिएको छ । सबै कुरालाई राजनीतिसँग जोड्ने हाम्रो मानसिकता, पहिरोको कष्टपूर्ण सकस झेलिरहेका पीडित जनतालाई संविधान बनेपछि सबै कुराको समाधान हुन्छ भन्ने कुरालाई सन्दर्भमा राखेर सशक्त प्रहार गरिएको छ । भुईँचालो, पहिरो आदि जानुमा हाम्रो पार्टी जिम्मेवार छैन जस्ता भनाइका मर्महरूलाई उद्धृत गरी राजनीतिक नेतृत्वमा रहेको चेतनास्तर र संवेदनाहीन अवस्थालाई कटाक्षपूर्ण रूपमा उदाङ्गो पारिएको छ । यसैगरी जनताको पीडामा संवेदना प्रकट गर्नुको सट्टा रङ्गीन तस्बिरमा समाचार सम्प्रषेण गर्न हतारिने पत्रकारिता ‌जगत्‌प्रति पनि व्यङ्ग्य प्रहार गरिएको छ । विचारको सूक्ष्मताका साथै अभिव्यक्तिमा व्याजस्तुतिमय शैलीको कारण कविता जीवन्त रहेको पाइन्छ ।

‘यो मादक वर्षा पिएपछि अब के होला ?’ शीर्षकको कवितामा प्रकृतिका संसारमा हुने एकपछि अर्को प्रहारको अवस्थालाई उठान गरिएको छ । भूकम्पले धाँजा-धाँजा पारेको जमिनमा निरन्तर हुने वर्षाले फेरि कस्तो दशा निम्त्याउला भन्ने आशङ्काको भाव यहाँ अभिव्यक्त भएको छ । असारको पहिलो दिनमा विनागर्जन, विना होहल्ला शान्त रूपमा भएको वर्षाले त्रिपालमा जीवन बिताइरहेकाहरूको अवस्था अनि भूकम्पले हल्लाएका ठाउँहरूको सम्भावित दुरावस्थाप्रतिको चिन्ताबोध प्रस्तुत कवितामा अभिव्यक्त भएर आएको पाइन्छ । मादक वर्षाको बिम्बद्वारा बेहोसी तालमा त्यसले निम्त्याउने अनिष्टपूर्ण परिणामलाई सङ्केत गरिएको पाइन्छ । भूकम्पको पीडा कायम रहेको र त्यसैमाथि वर्षाले पार्नसक्ने क्षतिप्रतिको मानवीय संवेदना यहाँ प्रकट भएर आएको देखिन्छ । प्रकृतिको विकराल अवस्थाको चित्रण यसरी गरिएको छ ः

अस्ति खसेका मुटु थर्काउने चट्याङ

आज कता पुगे

ती बिजुलीका त्रासद झिलिक र मिलिक

आकाशले कहाँ पो थन्क्याए होला

कालो कालो डरलाग्दो बादल यताबाट

उता उडेको छ फेरि

भूमरी भै बटारिएको, मुस्लिएको छ

तर्छेर सुत्न नसकी

मेघ गर्जन र वज्रपातमा जागै बस्यौँ

रातभरि कत्रा आँधीहरू चले

पालतम्बू कहाँ पुगेर सिउरिए, फ्याँकिए

शिविरका छानाहरू उड्दै उड्दै

पखेटा फिँजाएर आकाशभरि

कत्रो भयावह तमासा खपियो ! (पृ. ७६)

मानिसले भोगेको प्रतिकूल समयको जीवन्त अनुभूति यहाँ पाइन्छ । प्रकृतिको ताण्डव नृत्यका अगाडि बिचरो मानव के नै गर्न सक्छ र ? भयको तमासा हेरेर बस्नुपर्ने नियतिलाई यहाँ सघन रूपमा उतारिएको छ ।

टम जार्टद्वारा लिखित कवितालाई ‘नेपालमा भूकम्प’ शीर्षका रूपमा नेपाली भाषामा अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ । एउटा कुनाको मानिस पीडामा पर्दा अर्को कुनामा बस्नेका मानवीय नाताले भावनाहरू पोखिँदा रहेछन् भन्ने मर्म यहाँ पाउन सकिन्छ । प्रस्तुत कवितामा पीडा, रोदन र आँसुलाई वास्तविक जीवनका भोगाइ मानिएको छ । आँसुका थोपाहरूलाई आफ्नै स्वर्गीय प्रियजनले पठाएका उपहारका रूपमा लिइएको छ । पीडाले जीवनमा सुध्रिनका लागि पाठ पढाउने हुनाले हाँसोभन्दा पीडा नै उत्तम रहेको मर्म यहाँ व्यक्त भएको पाइन्छ । ईश्वरले मानिसलाई रुनका लागि सृष्टि गरेको, सबैका आँखाबाट एक दिन समयले नै आँसु पुछ्नेछ । पीडामा हुर्किएको मानिसले मात्र अरूका पीडाको बोध गर्न सक्छ भन्ने भावका साथमा मानवीय संवेदना मुखरित भएर आएको पाइन्छ ।

‘सधैँ आउने उनी आज किन अबेला भो’ शीर्षकको कवितामा भूकम्पलाई मानवीकरण गरी अतिथिको संज्ञा दिइएको छ । तीन दिनसम्म विश्राम लिए तापनि पुनः भूकम्पको धक्का आउँछ कि भन्ने आशङ्का, द्विविधा अनि भयग्रस्त मानसिकतामा बाँचेका मानिसको अवस्थाको सजीव चित्र यहाँ प्रस्तुत गरिएको छ । लगातार आगमनको थकाइले गर्दा कतै सुस्ताउँदै होला, आए त क्रुद्ध रूपमै आउनुपर्ने जस्ता तर्कनाहरू पनि यहाँ सलबलाएको देख्न सकिन्छ । भय अनि आशङ्काको मानसिक दशालाई यसरी चित्रण गरिएको छ –

ठिक यति बेला आयो भने कुन घरले

यो प्राण लिन्छ होला ?

यी वृक्ष उखेलिने हुन् कि

यो घर चिरिएको छ,

दुई कदम चाँडो कुदूँ कि

त्यसरी कुदेको अरूले देख्ने हुन् कि ?

राति ओछ्यान टकटक्याउँदा

सिराने मिलाउँदा ब्युँझेर कोल्टे फेर्दा

दाँत माझ्दा अथवा

अझ धाराको पानीले बाल्टी हिर्काउँदा

झझल्को सधैँ आएको जस्तो

कस्तो अभिन्न अतिथि

तीन दिन तीन रात बितिसके

अझै फर्केको छैन । (पृ. ८५)

क्षणक्षणमा भूकम्प आउँछ कि भनी आशङ्कामा रहेको मनोदशालाई यहाँ सजीव रूपमा चित्रण गरिएको छ । जब भूकम्पको झड्का आयो तब बारुलाको चाकामा सुइराले रोपेझैँ गरी बाँच्ने लालसामा घरबाहिर सडकभरि फैलिएका मानिसको मनोदशालाई पनि यहाँ सूक्ष्म रूपमा विश्लेषण गरिएको पाइन्छ ।

‘ठुलो ब्यागप्याक बोकेर जब भाइ ओर्लिन्छन्’ शीर्षकको कवितामा भाइको जन्म सन्दर्भ, आमाले भोगेका कष्टदायी क्षण, जन्मपछिको सामीप्य, बाबाकै अवतारका रूपमा भाइको उपस्थितिलाई लिइएको, भाइ सुकर्म टोलको ओरालो झर्दा बा आएकै छनक हुने अनुभूति, नेपालमा भूकम्पले पारेको क्षति ट्विटरमा देखेर फोन गरेका भाइसँगको संवादात्मक झलक, सम्पूर्ण ब्रह्माण्डसँगै सुकर्म टोल पनि थरथरी काँपेको अवस्था उल्लेख, भाइसँगका स्मृतिबिम्बका बिब्ल्याँटाहरू यहाँ अभिव्यक्त भएका छन् । भूकम्पीय प्रभावका बाछिटाहरूका साथै जीवनको वास्तविक अनुभूति प्रवाह यहाँ सघन भएर आएको पाइन्छ ।

‘यो टाढाको तानसेन सहरमा’ शीर्षकको कविता तानसेन आगमन हुँदाको समयमा तानसेनमै रचिएको देखिन्छ । तानसेनको ऐतिहासिक सुकिलो कथा अनि प्राकृतिक सुन्दरताको झलकका साथमा कविभित्रको सूक्ष्मानुभूति छाल पनि पोखिएर आएको पाइन्छ । भूकम्पले चिरेको धर्तीको सन्दर्भलाई प्रतीकात्मक रूपमा जोडिएको प्रस्तुत कवितामा जीवनयात्राका गन्तव्य अनि ईश्वरीय खटनपटनका सन्दर्भहरू जोडिएर आएको पाइन्छ । तानसेबाट साक्षात्कार हुने वारिपारिका पहाडी भित्ताहरू, माडीमा कुहिराको फाँकी जमेर बनेको ह्वाइटलेक, स्थानीय परिवेशगत झलकका साथै नियतिले मानिसलाई डोर्‍याउने जीवनदर्शन समेत यहाँ प्रतिबिम्बित भएर आएको देख्न सकिन्छ । प्रस्तुत कवितामा तिमीका रूपमा ईश्वर वा लेखान्तलाई सम्बोधन गरी उसैले खनेको बाटोमा आफूनिमित्त यात्री बनेर हिँडिरहेको दार्शनिक चेतना सलबलाउन पगेको अनुभव हुन्छ । कवितामा तानसेन केन्द्रित प्रकृति र परिवेशको झलक यसरी प्रस्तुत भएको छ –

तानसेनको वारिपारि

टाढा-टाढाका भित्तामा

अरुणोदयपूर्वका बिजुली

टिमटिमाइरहेका बेला

कति चर्को डाँकोमा भाले बास्तै छन्

अरू पनि पक्षी ब्युँझेर गाउन थालेका

यन्त्रहरू पनि एक दुई ब्युँझेका छन्

पर्वतहरूको अर्धवृत्ताकार

मदनपोखरादेखि बर्तङसम्मको

यो विशाल कालो कराही

आकाशतिर फर्केर

ब्युँझन खोज्दै छ । (पृ. १००)

तानसेनको भूगोल, यहाँको प्रकृति अनि शिक्षा र चेतनाको आलोकका रूपमा रहेको यस क्षेत्रले स्वतन्त्रता र परिवर्तनमा पनि भूमिका खेलेको सन्दर्भलाई यहाँ सङ्केत गरिएको छ ।

‘कि त आज घरमा कोही मानिस छैन ?’ शीर्षकको कवितामा विज्ञान र प्रविधिले बदलिएको संसारको झलक प्रस्तुत गरिएको छ । परिवारका सदस्यहरू घरभित्रै भए पनि संवादहीनता र अपनत्व अभावको अनुभूति यहाँ व्यक्त भएको छ । छोरीहरू अनि धर्मपत्नीका आआफ्नै तुनेला अनि आफ्नो पनि कम्प्युटको कामको सिलसिलालाई उल्लेख गरी शनिबारका दिन पनि सबै व्यस्त रहेको परिस्थितिलाई झल्काई हार्दिकता र मानवीय सम्बन्धहरू साँगुरिँदै गएको वर्तमानको टड्कारो यथार्थलाई यहाँ उजागर गराइएको छ । मानिस यन्त्रसँग बोलिरहेछन्, खेलिरहेछन् वास्तविक भावनाबाट टाढिँदै गएका छन् भन्ने मर्म यहाँ प्रस्तुत भएको पाइन्छ । निर्जीव अनि नीरव परिवेशबाट वाक्क भएको कविमन सुत्ने बेलामा यस्तो कल्पना गर्छ –

अस्ति २९ गते कसरी

आआफ्ना यन्त्र बिसाएर रातदिन बोल्यौँ

आज त्यस्तै एक झट्का आइदिए

केही समय भूकम्पको बात मार्थ्यौँ होला,

किञ्चित् डराएजस्तै भएर

कालको कुरा गर्थ्यौँ होला

यो संसार क्षणिक छ

यो मरिहत्ते गर्नु व्यर्थ छ

पनि भन्थ्यौँ होला

सँगै चियाखाजा खान्थ्यौँ होला

आज पनि भुईँतलामा

सँगै सुतौँ है भन्थ्यौँ होला । (पृ. १०९-११०)

यहाँ आपद्‌विपद् र सङ्कटका घडीमा सँगै हुने दुःखसुख साट्ने मानवीय प्रवृत्ति भएकाले मानिस यान्त्रिक र संवेदनाहीन भएका बेला ठिक्कको भूकम्प आइदिए परिवारका सदस्यहरू त एकै ठाउँमा भएर जीवनका कुरा गर्थ्यौँ, भावना साटासाट गर्थ्यौँ भन्ने अपेक्षाभाव व्यक्त भएको पाइन्छ । यहाँ विधि शब्द हुँदा निषेध अर्थ व्यक्त हुने ध्वन्यात्मक मर्म मुखरित भएको पाइन्छ । कविको सूक्ष्म चेतनाका साथमा जीवन्त संवेदनाभाव अभिव्यक्त भएर आएको देख्न सकिन्छ ।

निष्कर्ष

नेपाली वाङ्मयका विभिन्न क्षेत्रमा मात्र नभई अङ्ग्रेजी भाषामा पनि समानान्तर रूपमा कलम चलाउने विशिष्ट साधकका रूपमा साहित्यकार गोविन्दराज भट्टराईको नाम आलोकित बनेको छ । सबै तहका स्रष्टा र व्यक्तिहरूलाई उत्तिकै मायाँ र स्नेह प्रदान गर्ने भट्टराईको व्यवहार पनि विशिष्ट खालको रहेको छ । पूर्वीय पाश्चात्य दर्शनका साथै साहित्य समालोचनाको समानान्तर ज्ञान हासिल गरेका भट्टराईको व्यक्तित्वका विविध विशेषताहरू रहेका छन् । यहाँ गोविन्दराज भट्टराईको कवित्व प्रतिभालाई उनका कविताहरूकै आलोकमा प्रस्तुत गरिएको छ । ‘भूकम्प प्रार्थना’ शीर्षक आफैँमा ध्वन्यार्थक मर्ममा प्रस्तुत भएको पाइन्छ ।

कुल अठारओटा कवितामा पन्ध्रओटा कविताहरू भूकम्पीय विषय र त्यसले सिर्जना गरेको विभिन्न क्षेत्रको अवस्था र मानसिकतालाई झल्काउन सफल भएका छन् । अन्त्यतिरका तीनओटा कवितामा पनि भूकम्पीय प्रभावका सन्दर्भहरू जोडिन आएकाले समग्र कविताको रचनागर्भ भूकम्प र त्यसले छाडेका प्रभावमा केन्द्रित रहेको देख्न सकिन्छ । हामी सबैले भोगेका त्रासदीपूर्ण कहालीलाग्दा क्षणहरूलाई एउटा कविको चेतनाले कसरी ग्रहण गर्छ भन्ने दृष्टान्तका रूपमा यस सङ्ग्रहका कवितालाई लिन सकिन्छ । यस सङ्ग्रहका सबै कविताहरूमा मानवीय संवेदना भाव छताछुल्ल भएर आएको देख्न सकिन्छ । प्रकृति र जीवनको अक्षुण्णतालाई नबुझ्दा नै आजको मानिसले यान्त्रिकतामा दम्भ गर्न पुगेको वास्तविकतालाई झल्काई जतिसुकै आकासिएको भ्रम पाल्नेहरू पनि एकदिन भुईँमा झर्नुपर्ने यथार्थलाई मार्मिक रूपमा व्यञ्जित गरिएको छ । सरलताभित्र सघन भावमर्मलाई व्यक्त गर्नुका साथै जीवदर्शनका विशिष्ट खुराकहरू पनि यहाँ पाउन सकिन्छ । सबै कवितामा मानवीय जीवनको महिमाका साथमा अस्तित्ववादी चेतना सलबलाएर आएको पाइन्छ । पूर्वीय र पाश्चात्य विश्वासमा स्थापित बिम्ब र प्रतीकहरूको स्वाभाविक प्रयोगले कविता सशक्त बनेको पाइन्छ ।

गोविन्दराज भट्टराईको कवित्व साधनाको विशिष्ट नमुना ‘एक कल्प’ (२०७१) कवितासङ्ग्रहमै साक्षात्कार गर्न सकिन्छ । यहाँ २०७२ सालको विनाशकारी भूकम्पले निम्त्याएको त्रासदीपूर्ण मनोदशालाई सूक्ष्म रूपमा केलाई वास्तविकताको तत्त्वबोध गराउने उद्देश्य राखिएको पाइन्छ । यी कविताहरूमा अभिघात चेतना सघन रूपमा चुलिन पुगेको अनुभव हुन्छ । मानवीय जीवन चेतनाका साथमा अस्तित्वबोधको दार्शनिक पक्ष पनि यहाँ सशक्त रूपमा आएको पाइन्छ । प्रथम पुरुष र तृतीय पुरुष दृष्टिबिन्दुको प्रयोगका साथै सन्दर्भअनुकूल द्वितीय पुरुष लक्षित अभिव्यक्ति पनि पाउन सकिन्छ । संस्कृतका सूक्ति तथा अङ्ग्रेजीका महत्त्वपूर्ण उद्धरणहरूद्वारा विषय सन्दर्भलाई थप पुष्टि गर्ने कला पनि विशिष्ट प्रकृतिको रहेको छ ।

गद्य लयभित्रको आन्तरिक लयसङ्गीत चेतनाद्वारा कविताहरू आप्लावित बनेका छन् । जसले गर्दा कविता पढ्दै जाँदा पाठकले हार्दिकताको अनुभूति गर्दछ । कविताको मर्मलाई खोल्स्याउँदै जाँदा अभिधाका तुलनामा व्यञ्जना वा ध्वन्यात्मक अर्थ ध्वनित भएर आएको देख्न सकिन्छ । धेरैजसो कवितामा व्याजस्तुतिमय शैली प्रस्तुत भएको पाइन्छ । भनाइमा प्रशंसाको छनक देखिए पनि मर्ममा घोच्ने गरी प्रहार गर्नुले सुधारको चेतना सम्प्रेषण भएको स्पष्ट हुन्छ । कवितासङ्ग्रहको शीर्षकले पनि अभिधार्थभन्दा ध्वन्यार्थलाई व्यञ्जित गरेको देखिन्छ । प्रकृतिका विविध रूप, समयका विभिन्न पलहरूको सूक्ष्म विश्लेषण यहाँ गरिएको छ । अदृश्य रूपमा रहेको ईश्वरीय शक्तिको तारतम्यलाई भोग्नै पर्ने जीवनको नियतिका साथै रहस्यमय जीवनसम्बन्धी दार्शनिक चिन्तन पनि यहाँ मुखरित भएर आएको पाइन्छ । जीवनवादी आशावादी स्वरसमेत यहाँ सशक्त बनेर आएको छ । समग्रमा भन्नुपर्दा गोविन्दराज भट्टराईका कवितामा सृष्टि-सिर्जनाप्रतिको मोह, आशावादी जीवनदृष्टि, मानवीय मूल्यबोध, मानवीय संवेदना, यान्त्रिताप्रतिको विमति, विकृतिप्रतिको व्यङ्ग्य, सूक्ष्म अनुभूति चेतनाका साथमा अध्यात्मवादप्रतिको आस्थाभाव सलबलाएर आएको पाइन्छ ।