नवीन पौड्याल भारतीय नेपाली साहित्यमा समालोचक भनी चिनिसकेका साहित्यकार हुन् । उनी दार्जीलिङ सरकारी महाविद्यालयको नेपाली विभागको पूर्व प्राध्यापक, वर्तमानमा पेदोङ सरकारी महाविद्यालय कालेबुङका भारप्राप्त अधिकारी (प्राध्यापक) पनि हुन् । साहित्यमा उनी राम्रा गीत र गजल सृजना गर्ने सर्जक पनि हुन् । युवा पुस्ताका सशक्त समालोचक पनि हुन् भनी प्रमाण अघिल्लो प्रकाशित समालोचनाकृति नेपाली कथा समीक्षा (सहलेखन), आख्यान अनुशीलन (समालोचनात्मक लेखसङ्ग्रह), साहित्य अनुशीलन (समालोचनात्मक लेख सङ्ग्रह), कृति सन्धान (समालोचनात्मक लेख सङ्ग्रह) दिइसकेका छन् ।

विमर्शमा साहित्य सन्धान –

समालोचक नवीन पौड्यालको चोथौँ समालोचनाको कृति-साहित्य सन्धान सन्- २०१८-मा (नई – इन्डिया – प्रकाशन सिलगढीबाट प्रकाशित कृति हुन् । १५ वटा समालोचकीय रचनाहरू यसभित्र समावेश छन् । भानुभक्तीय रामायणको आख्यानपरक अध्ययनबाट सुरु भएका समालोचनामा पौड्यालले धेरै मेहनत र जाँगरले अध्येतालाई अघि बढाएको छ । अघिल्लो समालोचना कृतिभन्दा धेरै माथि उठेर नवीनका प्रज्ञा कलम र बौद्धिकको खोराकमा माझिएका दृष्टिकोणहरू छन् । समालोचना समीकरणात्मक निर्णय समालोचकबाट भएको छ ।

शोधपरक समालोचना भारतमा नेपाली नियात्रा साहित्यको सर्वेक्षणात्मक अध्ययन, दार्जीलिङका नयाँ पुस्ताका समालोचकहरू, भारतमा नेपाली लोकसाहित्य – सङ्कलन र अध्ययनको स्थिति, भारतमा नेपाली लेककथा-अभिप्रायगत अध्ययन स्थिति, भारतमा प्रचलित नेपाली लोक नाटक सामान्य परिचायत्मक अध्ययन, वर्तमान भारतका केही नारी समालेचकहरू सङ्क्षिप्त अध्ययन आदि रचनाहरूबाट पौड्यालभित्र रहेको शोध व्यक्तित्व र अध्ययनलाई जान्न सकिन्छ । भारतीय नेपाली साहित्यमा कृतिमाथि तथा प्रवृत्तिमाथि थुप्रै समालोचनात्मक लेखहरू लेखियो, लेखिँदै तर यस्ता शोधपरक रचनाहरू धेरै कम पढ्न पाउँछौँ । अङ्ग्रेजी साहित्य, हिन्दी साहित्यबाट यताउति अङ्कन गरी समालोचनात्मक लेखहरू धेरै प्रकाशित भइरहेका छन्, भविष्यमा पनि होलान्, नाम चलेका सर्जकमाथि र कृतिमाथि त झन् कुरै छैन, काम भइरहेका छन् । गाउँबस्ती चेपकुनामा चेप्टिएर बसेका हाम्रा कुराहरू सोधखोज गरी नाङ्लोमा राखेर केलाउने काम कठिन मात्रै नभएर गाह्रो स्थितिलाई च्यापेर कडा मेहनत गर्नुपर्ने हुन्छ । यस्ता स्थिति र मेहनत नवीनका समालोचनाले दर्साएका छन् । हाम्रो साहित्यको सर्वेक्षणात्मक समालोचनामा र शोधपरक समालोचनामा नवीन पौड्यालको विशेष चासो देखिन्छ ।

सुकराज दियाली

यो साहित्य सन्धान समालोचना भारतीय नेपाली साहित्यको नाटक र गीत लोकपक्षमा धेरै नयाँ कुराहरू छिराएका छन्; गहन अध्ययन र शोधखोजको कसीमा राखेर । साहित्यको पाठक, विद्यार्थी र शोधार्थीका निम्ति काखीमा च्यापेर राख्नुपर्ने यो कृतिको महत्त्व यहाँदेखि उता पाठक आफैँले बुझ्नुहोला । सन् २०१८ मा थुप्रै सृजनात्मक कृतिहरू प्रकाशित भयो तर थोरै समालोचनाको कृतिहरू पढ्न पायौँ । ती कृतिहरूमा साहित्य सन्धानलाई उत्कृष्ट कृतिहरूको सूचीमा राख्न सकिन्छ । साहित्य सन्धान पढ्नैपर्ने यदि कुनै साहित्यप्रेमी, जातिप्रेमीहरूले पढ्न पाउनुभएको छैन भने तपाईँ राम्रो कृति पढ्नदेखि ओझेलमा पर्नुभएको जस्तै बोध गरेँ । साहित्य सन्धानको विषयमा धेरै भारतबाहिरका वरिष्ठ साहित्यकार, असम, मणिपलुर, नागाल्यान्डका विद्वान्‌हरूबाट प्रशंसा र महत्त्वलाई फोनबाट प्राप्त गरेँ । राङभाङ भेल्लीका सशक्त समालोचक किशन प्रधानले फोनमार्फत भने, “भाइ नवीन पौड्यालको साहित्य सन्धान – राम्रो समालोचनाको किताब रहेछ, मैले पढी सिध्याएँ । पढ्नुहोला बडो गहन र महत्त्वपूर्ण छ । मैले किताब खोजेँ अनि पढिसकेँ ।

`वाह! नवीन सर साँच्चै सुन्दर, अर्थ र गरिमापूर्ण काम गर्नुभएछ, बधाई छ । समालोचना तर सृजनात्मक र घुलनमा हाम्रो भारतीय नेपाली साहित्यको लेखाजोखा र केही मूल्याङ्कनलाई प्रस्तुत गर्नुभएछ । साहित्य सन्धानमा अलिक भिन्नै प्रकारको समालोचनाको कृति भएको छ । यसमा कुनै कृति व्यक्तिको मूल्याङ्कन र समालोचनाभन्दा साहित्येतिहास र सर्वेक्षणपरक रहेको छ । साहित्य सन्धानले प्रा. नवीन पौड्याललाई खाँट्टी समालोचकको पगरीमा गुँथ्यो भने साहित्यविद्‌बाट दुईमत नहोला ।