. उद्देश्य

  • विद्यार्थीहरूले मनप्रसाद सुब्बाको, जीवनी, व्यक्तित्व, प्रवृत्ति, प्रकाशित कृति आदिको परिचय पाउन सक्ने छन्।
  • विद्यार्थीहरूले यो व्याख्या पढिसक्दा ‘आदिम माटोको कुरा कविताको विषयवस्तु, उद्देश्य, विशेषता, भाषाशैलीय विन्यास आदि बुझ्न सक्ने छन्।
  • यो विश्लेषणमा आएका कठिन शब्द, वाक्य, उखान-टुक्का आदि जान्न र सिक्न सक्ने छन्।
  • विभिन्न कोणबाट विश्लेषण गरिएको कविताको मूल विषय र विचार जान्न सक्षम हुने छन्।
  • अन्त्यमा पाठमा सोधिएका विविध प्रश्नहरूका उत्तर दिन र लेख्नसक्ने हुने छन्।

. कवि परिचय

नेपाली कविता साहित्यमा मनप्रसाद सुब्बाको उल्लेखनीय स्थान रहेको छ। उनीको जन्म बिजनबारी, दार्जिलिङमा ३ सितम्बर, १९५० मा भएको हो। उनका मातपिताको नाम स्व. धनमाया सुब्बा र स्व. अम्बरध्वज सुब्बा हो। उनी बिजनबारीको विद्यासागर उच्चतर विद्यालयका अँग्रेजी शिक्षक रही सेवानिवृत्त भएका हुन्। उनी नेपाली र अँग्रेजी साहित्यका गहन अध्येता हुन्। उनका कविताहरू सत्तरको दशकदेखि नै प्रकाशित हुँदै आएको पाइन्छ। हालसम्म उनका नौवटा कवितासङ्ग्रह प्रकाशित भएका छन्। तीन हुन्- बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू (१९७९), बुख्याँचाहरूको देशमा (१९८३), उष्मा (१९८७), आदिम बस्ती (१९९५), ऋतु क्यान्भासका रेखाहरू (२००१), अक्षर अर्केष्ट्रा (२००४), किनाराको आवाजहरू (२००८), फुइँफुट्टा शब्दहरू (२०१४), नेत्तिफुङको बास्ना (२०१६)। उनका केही कवितासङ्ग्रहरू जस्तै अक्षर अर्केष्ट्रा मैथिली र असमिय भाषामा , आदिम बस्तीलाई अङ्ग्रेजी, हिन्दी र मैथिली, ऋतु क्यान्भासका रेखाहरू हिन्दीमा, नेत्तिफुङको बास्ना अङ्ग्रेजीमा र किनाराका आवाजहरू अङ्ग्रेजी र हिन्दीमा अनुवाद भएका छन्।   यसैगी उनले पनि अरूका पुस्तकको पनि अङ्गेजीमा अवाद गरेका छन्। ती हुन् Peoms in the Village (रेमिका थापाको कवितासङ्ग्रह गाउँका कविताहरू), Unfatomable (विन्द्या सुब्बाको अथाह उपन्यास), Kirat Munthum (इमानसिंह चेमजोङको किराती वेद), Saga of Mountian Girl (डा हरिसुमन विष्टको हिन्दी उपन्यास आछरी माछरी), Voices from the margin (डा कुमार प्रधानसित सह-अनुवाद), Lyrical  Puran Giri in Translations (पुरण गिरीका गीतहरू)

मनप्रसाद सुब्बा

३. साहित्यिक योगदान-

उनीले विश्व-साहित्यमा चलेका नयाँ नयाँ साहित्य र कविता लेखन परिपाटी धारा र प्रवृत्तिबारे अध्ययन गरी आफ्ना कवितामा उतारेका छन्। उनी एक युग सचेत, शिल्प सचेत, भाव सचेत कवि हुन्। उनीका कवितामा मिथकीय प्रयोग, उत्तर आधुनिकता, किनारीकरण साहित्य आदि जस्ता स्वर देख्न पाइन्छ। उनी एकजना कुशल अनुवादक हुन्। उनीले आफ्नालगायत अन्य केहीका कवितालाई अँग्रजी अनुवाद गरेका छन्। उनी एकजना कुशल समालोचक पनि हुन्।

४. मनप्रसाद सुब्बाको कवित्वगत प्रवृत्ति

मनप्रसाद सुब्बा समसामयिक धाराका एक सचेत कवि हुन्। मनप्रासद सुब्बाको कविताहरूलाई केही समालोचकहरूले समीक्षा लेखेका छन्। तिनले उनलाई विभिन्न दृष्टिकोणले अध्ययन गरेका छन्। समग्रमा हेर्दा मनप्रसाद सुब्बाका कवितामा उत्तरआधुनिक चेतना, जातीय चेतना, सांस्कृतिक जागरण, दार्शनिकता, किरात, भारतीय आदि मिथकीय प्रयोगबाट वर्तमानको जटिलतको अभिव्यक्ति गरिएको पाइन्छ। यसै गरी उनका कवितामा सीमान्तीकृत समूहहरूको आवाज, जीवन दर्शन, चिन्तनपरकता जस्ता प्रवृत्ति पाइन्छन्। उनले सरल भाषामा गहिरा भावलाई अभिव्यक्ति दिएका हुन्छन्। कवितामा विभिन्न प्रतीक, विम्ब, मिथक आदिका प्रयोगले सुसज्जित गरिएको पाइन्छ। उनले विशेषगरी किरातीमूलका वस्तुका चिह्नहरूलाई काव्यत्मकता प्रतीकका रूपमा प्रस्तुत गर्दछन्।

मनप्रसाद सुब्बाका कवितामा मानव अन्तर्मनका छट्पटी, द्वद्व एवम् सङ्घर्षहरूका विश्लेषण र चित्रण पाइन्छ। त्यसै गरी प्रकृतिका सौन्दर्य वर्णन सँगसँगै ऋतु परिवर्तनसित सम्बन्धित हाम्रा सामाजिक, सांस्कृतिक चारित्रिक पक्षहरूमा परेका ऋतु क्यान्भासका रेखाहरूमा विभिन्न ऋतुहरूहरूलाई विभिन्न रङ्ग र तरङ्गहरूद्वारा अत्यन्त कुशलपूर्वक प्रस्तुत गरिएका छन्। उनको ‘अक्षर अर्केष्ट्रा’ मा उनको सङ्गीततर्फको रूचि र अभ्यास पनि रहेको थाहा पाइन्छ।

नवीन पौड्याल (कालिम्पोङ)

५. कविताको मूल पाठ-

आदिम माटोको कुरा

र आज फेरि म माटोको कुरा गर्दैछु

कुनै दार्शनिक अर्थमा होइन

भूविद्को व्याख्या जस्तो पनि होइन्

न त मूर्तिकार र कुमालेले दोहोर्‌याइरहने पुरानो शिल्प जस्तो नै

 

तर एक आदिम मान्छेले बाँचेको माटो

जो हजारौं वर्ष पुरानो पसिना गह्नाउँछ

अनि हजारौं वर्षअघिको रगत ताजा गह्नाउँछ

हो, म त्यही माटोको कुरा गर्दैछु।

 

त्यो आदिम मान्छे जो आजको नागरिक हो

र जो मेरो अनुहारले चिनिन्छ

मेरो हरेक पुस्तासित पुनर्जन्म लिँदै आउने त्यो

आज मेरो अनुहार र चेतना भएर आएको छ।

 

हो, त्यो आम नागरिक म

आफू सृष्टि भएको आदिम माटो गह्नाउँदैछु

‘तिम्रो आदिमताको प्रमाण म दिन्छु’- भन्यो मलाई हिमालले

म टेथिजको गर्भमा छँदा

तिमी माछा थियौ त्यो सागरको पानीमा!’

चट्टानले पनि भन्यो- ‘तिमी सुनाखरी फुल्यौ मेरो काप कापमा’

 

भन्नुहोस गुरू द्रोण!

मैले हजुरको पाउमा

मेरो दाहिने हातको बुढीऔंला गुरूदक्षिणा चढाएको हो कि होइन?

अब सबलाई भनिदिनुहोस् त म को हुँ यो देशमा।

ए धपाऊ न हौ

यी पारिका कागहरूलाई

जो यहाँ म न्याहुल बास्ता पनि

काग काग – को झटारो ममाथि हिर्काउँदैछन्।

६. कठिन शब्दका अर्थ

भूविद- जमिनको विषयमा जान्ने वैज्ञानिक। मूर्तिकार- माटाको मूर्ति बनाउने शिल्पी। कुमाले- माटाको हाँडी र अन्य भाँडा बनाउने शिल्पी।

आदिम- अत्यन्त पुरानो कुरा। पुस्ता- पीँढी, बाजे, बाबु, छोरा नाति हुँदै जाने। टेथिज- अहिलेको हाल प्राचीन कालमा टेथिज समुद्र थियो भन्ने वैज्ञानिकहरूको भनाइ छ।

चट्टान- ढुङ्गाको पहरा, धरतीको विशाल ढुङ्गाहरू।

द्रोण- महाभारतका गुरूपात्र द्रोणाचार्य जसले एकलव्यलाई धनुर्विद्या सिकाउन नमान्दा एकलब्यले उनको मूर्ति बसाएर गुरू थापेर धनुर्विद्या आफै सिकेका थिए। पछि भेट हुँदा द्रोणाचार्यले गुरूदक्षिणाका रूपमा एकलब्यको बुढी औंला मागे। एकलब्यले पनि आफ्नो दाहिने हातको बुढी औंला गुरूदक्षिणा चढाएको कथा महाभारतमा वर्णित छ।

न्याहुल- वनमा मिठो स्वर भएको एक प्रकारको चरा।

७. पाठबोध-

मनप्रसाद सुब्बाको प्रस्तुत कविताको भावले भारतमा गोर्खालीहरूको प्राचीन कालदेखिको बसोबासोलाई इँगित गरेको छ। आजभन्दा हजारौं वर्षदेखि हिमालीभाग र त्यसको मुन्तिरको पहाडी भागमा गोर्खाहरू बस्तैआएका हुन्। हाम्रा संस्कार रीति-रिवाज, परम्परा संस्कृति जम्मै पार्वत्यसुलभ रहेको छ। हामी उहिलेदेखि यहाँ बस्तै आएका हौं। सबै भूभाग एकै थिए। त्यति बेला कुनै देशको सीमाना थिएन। मानिसहरू हिमाल र पहाड ओहोरदोहोर गरिरहन्थे। हाम्रा पुर्खाको जन्म यहीँ भएको थियो।

यही देशमा वर्षौंदेखि बसेर पनि हामीलाई विदेशीको लाञ्छना लगाइन्छ। हामीलाई अझैसम्म देशको मूलधारामा गाभिएको छैन। देशको राजनीतिले हामीलाई शङ्काको दृष्टिले हेर्दछ। जब कि हामी यस देशका प्राचीन बासिन्दा हौं। यहाँ सत्तामा रहेका र तिनका मतिहारहरू हामीलाई कहिलेकाँही विदेशी ठहर्‌याउँछन्। शासनसत्तादेखि टाड़ा राख्छन्।

भारतमा गोर्खालीहरूको परापूर्वदेखिको अस्तित्व रहेको छ तर सरकारले यो कुरा देख्दैन। हामीलाई विदेशी मात्र देख्छ। सरकारी दृष्टिमा देशका लागि हामी नवागन्तुक र पराय हौं। हाम्रो देश सेवामा पनि शङ्का गर्दछ। देशभक्तिको परीक्षा लिएको लिएकै छ तर पनि हामीले शङ्काले हेर्न छाड्दैन।

कवितामा जम्मा पाँचवटा परिच्छेदहरू रहेका छन्। पहिलो, दोस्रो तेस्रो र पाँचौं परिच्छेदमा चार र चौथो परिच्छेदमा भने छ पंक्ति रहेका छन्।

पहिलो परिच्छेदमा कविले माटोको कुरा गर्न खोज्दैछन् जो कुनै ठो माटो होइन्। माटाको कुनै गहिराइ त तत्वको दार्शनिक अर्थमा माटोका अर्थ लिएको होइन। यसमा माटोका यस्तो र उस्तो लवण तत्त्व, यस्तो किसिमको माटो हो भन्ने कुरा पनि होइन। यसका साथै न मूर्तिकार र कुमालेका निम्ति चाहिने किसिमको माटाको कुरा हो। कविका निम्ति माटाको कुनै भौतिक, दार्शनिक आदि अर्थ होइन्।

कविताको दोस्रो परिच्छेदमा कविले आफ्नो कविताको अर्थ संकेतको कुरा गर्ने क्रममा आदिम माटाको कुरा गरेका छन्। यो हाम्रा ठाउँ हो जहाँ हजारौं वर्ष अघिदेखि हाम्रो बसोबासो छ। योही माटामा हाम्रो इतिहास छ, माटाको गन्ध छ। हाम्रो मेहनतको रगत र पसिना यहीँ सिँचिएका छन्। यो ठाउँलाई हामीले नै कोरीबाटी गरी उब्जायौं, यहीँ हाम्रो कर्म थलो बनेको छ। कविले हजारौं वर्षअघिदेखि हामी यही माटामा थियौं र रहने पनि छौं भनेर आफ्नो जातित्वको अस्तत्वलाई सशक्त रूपमा उतारेका छन्।

तेस्रो परिच्छेदमा कविका अनुसार त्यी प्राचीनकालदेखि नै बसोबासो गर्दै आएका, यहीँका रैथाने भएर रहेका हामी यसै देशका नागरिक हौं। पहिले कुनै देशको सिमाना थिएन। अहिले योदेश भारत,यो भुटान, सिक्किम, यो नेपाल यो बङ्गलादेश आदि भनेर अलगअलग रूपमा देश विभाजित भएको छ। आफ्नो आफ्नो देशका नागरिक भएर रहेका छन्। अब हामी सचेत छौं। राजनैतिक सामाजिक, आर्थिक शैक्षिक आदिका कराणले हामी पहिलेझैं असचेत भएर बसेका छैनौं। भारतको मूलवासीको अनुहारसित नमिल्न सक्छ। यद्यपि हामी यहीँका हौं, यहीँका नागरिक हौं।

कविले चौथो परिच्छेदमा पनि हामी यही हिमाली पहाडी भूभागका उपज हौं, यहीँका खाँट्टी बासिन्दा र नागरिक हौं। हामी यहाँ रहेका हिमाल पाखा, पखेरा, खेतबारी फाँट साक्षी छन्। हामीले बिराएर खेत तुल्याएका हौं। हिमालले हाम्रो प्राचीनको प्रमाण दिन्छ। हिमाल पहिले थिएन, पहिले यहाँ ठुलो समुद्र थियो। त्यस समुद्र्को नाथ तेथिज थियो। धरतीको चट्टानको दुइ परत ठोकिएर त्यही तेथिज समुद्र पुरिदै गएर कालान्तरमा हिमाल बनेको थियो। त्यति बेलादेखि नै हामी त्यहीँका वासिन्दा माछाका रूपमा थियौं। अनि पहाडका चट्टानका सुनाखरीसरह रहेका थियौं।

कविताको अन्तिम र पाँचौं परिछेदमा भने कविले गुनासो गरेका छन्। यसरी उहिलेदेखि हिमाली देशका बासिन्दाको अनुहारलाई अहिलेको व्यवस्थाले विदेशी भनेर लाञ्छना लगाइन्छ। कतिपय त यस्ता हुन्छन् जो स्वयम् विदेशबाट आएर यहाँ बसेर उल्टो हामी पुराना वासिन्दालाई विदेशी भनेर लाञ्छना लाउँछन्। कवितामा पारि भनेर विदेशी भूमिबाट आएका कर्कश स्वर भएका, कुत्सित राजनिती गर्ने खालका व्यक्तिहरूले हामीलाई विदेशको छाप लाइदिन्छ। हामी त आफ्नो ठाउँमा न्याउलसरह मिठो अर्थात् नम्र जीवनशैली र बोलीमा रहँदा पनि अशान्त खालका अर्थात् चर्को र कुरूप बोल्ने र कुरूप मानसिकता भएका मान्छेले हामीलाई खेद्ने, धपाउने खालको कुरा गर्दछन्। देशको राजनैतिक व्यवस्थामाथि कविले व्यङग्यको भाव प्रकट गरेका छन्। देशको राजनिती असहिष्णु, शङ्का, अविश्वासमा विकसित भएको छ। यस्तै कुरूप राजनितीका कारण नै देशका साँचो नागरिक कतिपय राजनैतिक कुरामा वञ्चित लाञ्छित र प्रताडि बन्नु परेको वास्तविकतालाई  कविले अभिव्यक्त गरेका छन्।

८. उपसंहार

कवि मनप्रसाद सुब्बाको आदिम माटोको कुरा कवितामा भारतभूमिमा हाम्रो परापूर्व कालदेखि नै मूल वासिन्दा भएर रहेकाछौं। यहाँको हिमाल पहाड नै हाम्रा जीवन शैलीका अङ्ग बनेका छन्। यहाँ हाम्रो उपस्थिति हजारौं वर्षदेखिको रहेको छ। हामी यहाँका वास्तविक नागरिक हौं। अहिले यो पहाडी-हिमाली भूभाग राजनैतिक कारणले विभिन्न देशमा बाँडिएको छ। यसरी भूभाग विभाजनको कुप्रभाव हामीलाई पर्को छ। हिजो अस्ति विदेशबाट आउनेले प्राचीनकालदेखि रहिआएका हामीलाई उल्टो विदेशीको लाञ्छना लाउँछन् भन्ने भाव अभिव्यक्त गरेका छन्।

अभ्यास

१. तल दिइएका प्रश्नहरूका एक-एक वाक्यमा उत्तर लेखः

(क) मनप्रसाद सुब्बाको जन्म कहिले र कहाँ भएको हो?

(ख) मनप्रसाद सुब्बा कुन विद्यालयमा अध्ययन गरेका थिए?

(ग) मनप्रसाद सुब्बा कविबाहेक अरू के के हुन्?

(घ) मनप्रसाद सुब्बाको पहिलो रचना कहिले र कुन पत्रिकामा छापिएको थियो?

(ङ) मनप्रसाद सुब्बाले कुन पुस्तकका लागि साहित्य अकादमी पुरस्कार पाएका थिए?

(च) मनप्रसाद सुब्बाले भाषामा कविता अनुवाद गरेका के के हुन्?

(छ) आदिम माटोको कुरा कवितामा कुन समुद्र्को कुरा उल्लेख गरेका छन्?

(ज) गुरू द्रोण को थिए?

(झ) कागहरू कहाँबाट आएर कराउँदैछन् ?

(ञ) ‘आदिम माटोको कुरा’ कविताको मूल आशय के छ?

२. तल दिइएका वाक्यमा रहेका रित्ता ठाउँलाई उचित शब्द खोजेर पूरा गरः

(क) मनप्रसाद सुब्बा सफल साहित्यकारका साथै—————- पनि हुन्।

(ख) मनप्रसाद सुब्बाले सन् १९६९ मा ——————- लघुउपन्यास लेखेका हुन्।

(ग) सुब्बाका कविता लेखनमा ————— विविधता पाइन्छ।

(घ) जो हजारौं वर्ष पुरानो ————- गह्नाउँछ।

(ङ) म ————- गर्भमा छँदा।

च) चट्टानले पनि भन्यो- ‘तिमी ——- ———- मेरो काप कापमा’।

(छ) आज मेरो ————– र ———- भएर आएको छ।

(ज) तिम्रो ————— प्रमाण म दिन्छु’- भन्यो मलाई हिमालले ।

(झ) मेरो दाहिने हातको ———— ————— चढाएको हो कि होइन?

(ञ) जो यहाँ म ———– बास्ता पनि।

 ३. तल दिइएका खण्ड ‘क’ का वाक्यलाई खण्ड ‘ख’ सित जोडा मिलाऊः

खण्ड क                         खण्ड ख

(क) मनप्रसाद सुब्बाको जन्म             जो आजको नागरिक हो।

(ख) त्यो आदिम मान्छे                     रगत ताजा गह्नाउँछ

(ग) मेरो हरेक पुस्तासित पुनर्जन्म            तिमी सुनाखरी फुल्यौ काप कापमा

(घ) आफू सृष्टि भएको                     मेरो काप कापमा’

(ङ) चट्टानले पनि भन्यो-                  आदिम माटो गह्नाउँदैछु

(च) ‘तिमी सुनाखरी फुल्यौ                   भन्यो मलाई हिमालले

(छ) ‘तिम्रो आदिमताको प्रमाण म दिन्छु’-       एक कुशल अनुवादक पनि हुन्।

(ज) तिमी माछा थियौ!’                     लिँदै आउने त्यो

झ) अनि हजारौं वर्षअघिको                  बिजनबारीमा भएको हो।

(ञ) मनप्रसाद सुब्बा कविबाहेक            त्यो सागरको पानीमा

४. तलका प्रश्नहरूको १०० शब्दभित्र उत्तर लेखः

(क) मनप्रसाद सुब्बा को हुन् र उसको बाल्यकाल कसरी बितेको पाइन्छ?

(ख) मनप्रसाद सुब्बाका मुख्य मुख्य मुख्य प्रवृत्तिहरू केके हुन्?

(ग) कविले आफ्नो आदिमताको प्रमाण के के कुराबाट दिन चाहन्छन्?

(घ) कसले काग काग भनेर जिस्काएको छ?

(ङ) कविले कस्तो कस्तो माटोको कुरा गर्दैछन्?

५. तलका प्रश्नहरूको ३०० शब्दमा उत्तर लेखः

(क) मनप्रसाद सुब्बाको परिचय देऊ।

(ख) मनप्रसाद सुब्बाको साहित्यमा पाइने मुख्य विशेषता केके हुन्?

(ग) आफ्नै भाषामा आदिम माटोको कुरा’ कविताको विषयवस्तु लेख।

(घ) कविलाई आफनो परिचय दिन किन बाध्यता आइपरेको छ?

(ङ) आदिम माटोको कुरा कवितामा कस्तो भावको चित्रण गरिएको छ?

सन्दर्भग्रन्थ

  • जस योञ्जन प्यासी; परख,
  • मोमिला (सम्पा.); कलाश्री, २०७१, काठमाडौं, नेपाली कला साहित्य डट कम।
  • कृष्ण गौतम; उत्तरआधुनिक जिज्ञासा, काठमाडौं, भृकुटी एकाडेमिक पब्लिकेसन्स, २०६४
  • शरद् छेत्री; लेखन अवबोधन, दार्जिलिङ, श्याम ब्रदर्स, २००८।