बेलायती नागरिक, अङ्ग्रेजी साहित्यका विशिष्ट कवि तथा प्रसिद्ध समालोचक सामुएल टेलर कलरिज (सन् १७७२-१८३४)को सन् १८१७ मा प्रकाशन भएको ‘बायोग्राफिया लिटेररिया’ कृति कला क्षेत्रमा महत्त्वपूर्ण मानिन्छ । यस कृतिमा उनले कल्पना सिद्धान्तको स्थापना गरेका छन् । कलरिजको यही सिद्धान्तको कसीमा देवकोटाको पागल कवितालाई चियाउने प्रायस हो यो ।

प्रारम्भ

महान् चिन्तक कलरिज र कवि वर्डस्वर्थद्वारा प्रतिपादित स्वच्छन्दवादलाई नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६-२०१६) ले प्रयोगमा ल्याए र आफ्ना सिर्जनामार्फत स्वच्छन्दवादको सफल प्रयोग गरे । नेपाली साहित्यमा महाकवि, आशुकवि, मानवतावादी कवि र प्रथम स्वच्छन्दतावादी कवि जस्ता उपनाम पाएका देवकोटाले दश वर्षकै कलिलो उमेरदेखि कविता लेख्न थालेका थिए । उनी नेपाली कविताको आधुनिक कालको दोस्रो मोड अर्थात् स्वच्छन्दतावादी धाराका प्रवर्तक हुन् । पाश्चात्य स्वच्छन्दतावादी कविहरू कलरिज र वर्डस्वर्थद्वारा प्रभावित भई उनले नेपाली कविता परम्परामा परिष्कारवादका विरुद्ध स्वच्छन्दतावादको प्रवेश गराए ।

मोहनप्रकाश

देवकोटाको ‘पागल’ कविता आफैँमा कल्पनाको बेजोड गहिराइसम्म पुगेको कविता हो, जसमा विविध बिम्ब, अलङ्कार र प्रतीकहरूको प्रयोगले कविताको आलोक ज्यादै चामत्कारिक बनेको छ । नेपाली साहित्यमा प्रायः सबै विधामा कलम चलाए पनि उनको ख्याति काव्यमा गहन देखिन्छ । उनको ‘पागल’ कविता नेपाली कविता क्षेत्रमै एउटा चर्चित र विशेष मानिन्छ । जादुमय कल्पना, विशिष्ट बौद्धिकता, अनुभूतिको व्यापकता र भावनाको गहिराइमा पुगेर रचना गरिएको ‘पागल’ नेपाली कविता क्षेत्रकै एउटा उत्कृष्ट कविता हो ।

सैद्धान्तिक आधार

कलरिजभन्दा पहिले कल्पनाको स्वरूपलाई लिएर अनेक प्रकारका धारणाहरू थिए । एउटा धारणा त के पनि थियो भने ‘कल्पना दिव्य र रहस्यमय शक्ति हो, यसको तर्कसङ्गत व्याख्या सम्भव छैन, यो अव्याख्येय छ ।’ जोन ड्राइडेनले भनेका छन्, ‘प्रतिभा प्रकृतिको वरदान हो ।’ प्लेटोका अनुसार, ‘कवि रचना कालमा उन्मादको स्थितिमा हुन्छ ।’ सेक्सपियरले ‘पागल, प्रेमी र कविलाई एउटै स्तरमा राखेका छन्, ’किनभने यी तीनै थरीमा कल्पनाको अतिरेक हुन्छ । यी सबै नै प्रतिभा र कल्पनाका बिचको सम्बन्धलाई मान्दछन् र कल्पनालाई करिब अव्याख्येय शक्तिका रूपमा अर्थ्याउँछन् तर सामान्य मानिसहरूको संवेदनाका तुलनामा कविको संवेदना ज्यादा तीव्र र प्रखर हुन्छ भन्ने मान्यता कलरिजको रहेको छ ।

कलरिजका अनुसार कल्पनाका दुई भेद छन्- मुख्य(प्राथमिक) कल्पना र गौण (द्वैतीयिक) कल्पना । प्राथमिक कल्पना हाम्रो समग्र इन्द्रिय ज्ञानको आधार हो । इन्द्रियबाट जेजति ज्ञान प्राप्त हुन्छन् ती अव्यवस्थित र अस्तव्यस्त अवस्थामा हुन्छन् । प्राथमिक कल्पनाको सहयोगविना हामी त्यसलाई व्यवस्थित गर्न सक्दैनौँ । प्राथमिक कल्पनाको अर्को विशेषता जीवन्त हुनु हो । जीवन्त हुनु भनेको कलरिजको विचारमा सक्रिय हुनु र जैविक हुनु हो, निस्क्रिय हुनु र यान्त्रिक हुनु होइन । ‘प्राथमिक कल्पना भन्नु एक अर्थमा ईश्वरीय कल्पना नै हो । जसरी ईश्वर सर्वत्र व्यप्त भएर पनि प्रत्यक्षतः कतै देखिँदैन, त्यस्तै गरी सेक्सपियरजस्ता महान् सर्जकहरू आफ्नो रचनामा सर्वत्र व्याप्त भएर पनि तिनको व्यक्तित्व कतै प्रत्यक्ष प्रकट हुँदैन’ ,भन्ने मत कलरिजको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकाेटा

कलरिजका मतमा गौण (द्वैतीयिक) कल्पना ‘प्राथमिक कल्पनाको प्रतिध्वनि’ हो । यी दुईमा गुणात्मक अन्तर छैन । मात्रा र कार्यपद्धतिमा भने अन्तर छ । प्राथमिक कल्पना असीम हुन्छ भने द्वैतीयिक कल्पना ससीम हुन्छ । यो मात्रात्मक अन्तर हो । प्राथमिक कल्पनाले केवल निर्माण मात्रै गर्न सक्छ भने द्वैतीयिक कल्पनाले निर्माण र विनाश दुवै गर्न सक्छ । यो कार्यपद्धतिको अन्तर हो । प्राथमिक कल्पना सबै मानिसमा विद्यमान रहन्छ । यो साधारण क्षमता हो । गौण वा द्वैतीयिक कल्पना केही मानिसमा मात्रै रहन्छ अर्थात् कविमा मात्र रहन्छ । द्वैतीयिक कल्पनाले पुनः सिर्जनाको ध्येयले सबै वस्तुहरूलाई विलयीकरण गर्छ, मिलाउँछ । विनाश यसले प्राथमिक कल्पनाद्वारा निर्मित दुनियाँको गर्छ । किनभने त्यो दुनियाँ नभत्काईकन अर्को दुनियाँको रचना हुन सक्दैन । उनका अनुसार, ‘बारम्बारको अध्ययन, चिन्तन र मननमार्फत प्राथमिक कल्पनाको दुनियाँलाई भत्काउन सकिन्छ । सेक्सपियरले पहिले धैर्यपूर्वक अध्ययन गरे, गहनतापूर्वक चिन्तन मनन् गरे, अंश-अंशको बोध गर्ने प्रयास त्यति बेलासम्म गरे जबसम्म ज्ञान उनको व्यक्तित्वको सहज अङ्ग बनेन । ज्ञान व्यक्तित्वको सहज अङ्ग बनिसकेपछि ज्ञानलाई रचनात्मक रूप दिन सकिन्छ । द्वैतीयिक कल्पनाको सबैभन्दा महत्त्वपूर्ण काम नै यही हो ।’

कलरिजभन्दा पहिले कल्पना (इम्याजिनेसन) र अवकल्पना (फ्यान्सी) लाई एउटै मानिन्थ्यो अथवा कल्पनाकै भिन्नभिन्नै स्तर मात्रै मानिन्थ्यो । कलरिजले यी दुईका बिचमा गुणात्मक अन्तर रहेको बताएका छन् । मनको त्यो शक्ति जो बिम्ब विधानमा सक्रिय रहन्छ र जो यान्त्रिक वा नियन्त्रित हुन्छ त्यो अवकल्पना (फ्यान्सी) हो । कल्पना भनेको सिर्जनात्मक मन हो ।

कलरिजले प्रतिभा (जिनियस) र प्रज्ञा (ट्यालेन्ट) मा पनि भेद गरेका छन् । प्रतिभा जन्मजात हुन्छ र प्रज्ञा आर्जित हुन्छ । प्रतिभालाई कल्पनासँग र प्रज्ञालाई अवकल्पनासँग दाँज्न सकिन्छ । प्रतिभा सिर्जनात्मक छ, नवनिर्माणको क्षमता छ । प्रतिभा आत्मनिर्भर र मौलिक हुन्छ । अवकल्पना पराश्रित हुन्छ ।

‘पागल’ कवितामा कल्पना
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

कलरिजले ‘कविता सत्यको अभिव्यक्ति हो’ भनेका छन् । ‘सत्य हृदयको अनुभूतिसँग नजिक छ, वैज्ञानिक व्याख्यासँग होइन ।’ देवकोटाको ‘पागल’ कविताका प्रस्तुत दुई पङ्क्ति कलरिजले भनेजस्तै कविको हृदयको अनुभूतिसँग निकट देखिन्छन् किनभने देवकोटा स्वयंलाई अनुभूत छ उनी पागल होइनन् तर उनको प्रतिभा र क्षमता देखेर डाह गर्ने समकक्षीप्रति व्यग्यांर्थ आफू पागल भएको स्विकार्छन् । आफ्नो मानसिक, शारीरिक र भावनात्मक अवस्थाले अभिव्यक्त गरेका गतिविधिहरू स्वतःस्फूर्त कवितामा उल्लेख गर्छन् । कलरिजले भनेको मुख्य कल्पना र गौण कल्पनाको आधार खोज्दा प्रस्तुत कवितांशको शब्दार्थमा मुख्य कल्पनाको जस्तो सामान्य अभिव्यक्ति देखिए पनि व्यङ्ग्यार्थमा गौण कल्पना प्रबल देखिन्छ किनभने मुख्य कल्पना आम मानिससँग सम्बन्धित छ । उनीहरूको बुझाइको पागलपन र कविको बुझाइको पागलपन आकाश जमिनको भिन्नता छ । जुन कुरा निम्न कवितांशले स्पष्ट पार्दछ –

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !

यहाँ शब्दलाई देख्ने, दृश्यलाई सुन्ने र बास्नालाई स्वाद लिने कुरा आफैँमा चामत्कारिक मात्र लाग्दैन, कविको चेतनाको स्तर कति र कल्पनाको क्षमता कस्तो छ भन्ने पनि स्पष्ट हुन्छ । कवि मनलाई सांसारिकताले बेवास्था गरेका सूक्ष्मातिसूक्ष्म कुराले पनि कतिसम्म पिरोल्दछ भन्ने यथार्थबोध माथिको अनुच्छेदले पाठकलाई स्पष्ट पार्दछ ।

शब्द वास्तवमा पढिने वा लेखिने कुरा हो । यहाँ कविभावार्थ देखिनु भनेको आत्मानुभूत गर्नु हो । शब्दशक्ति या सामर्थ्य माथिको विश्वास हो । त्यस्तै दृश्यलाई सुन्न सक्ने क्षमता चेतनाको उपल्लो स्तरमा प्रविष्ट हुनु हो । जसरी देवकोटाले चन्द्रमामा मानिसले पाइला राख्नु पूर्व नै ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेर कवितामा लेखिसकेका थिए । अनि बास्ना त सुँघ्ने वा घ्राणशक्तिले ग्रहण गर्ने कुरा हो तर कविचेत उत्तरवर्ती हुन्छ न कि पूर्ववर्ती । आकाशभन्दा पातला कुरालाई छुनु वास्तविक अस्तित्वको बोध हुनु हो, प्रकृतिचेतको अवस्था हो । जसरी प्रकृतिमा सर्प, भ्यागुता, मुसा आदिले भूकम्प आउनुअघि नै कम्पनको पूर्वसङ्केत पाइसकेका हुन्छन् ।

कलरिजका अनुसार कविताको प्रयोजन भौतिक उपलब्धि नभएर आनन्द हो । किनभने ‘कविको अध्ययनविना कविताको अध्ययन सम्भव छैन’ भन्ने मान्यता राख्छन् उनी । त्यसैले पनि देवकोटाको वैयक्तिक जीवन आफैँमा कवितामय लाग्छ । ‘पागल’ कवितामा गौण कल्पना यति बेजोड भएर प्रस्फुटन भएको छ कि यो कविता कविताभन्दा पनि देवकोटा आफैँ झुल्किएको आभास हुन्छ । उनका आफ्नै जीवनका भोगाइ गौण कल्पनाका माध्यमबाट प्रकट भएका छन्, जुन निम्न कवितांशले स्पष्ट पार्दछ –

स्वर्गको जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन् मूक पागलझैँ,
फूलझैँ एक किसिमको चकोर-फूल
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न !
जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

‘कवि’ शब्द आफैँमा कोमल र सकरात्मक दृष्टिले पूर्ण गहिरो कल्पना शक्तिको उपमा पनि हो । स्वर्गको जादूगर्नी…को भावार्थ कविकै चेतना र सकरात्मक कल्पनाको उपज हो । कविहरू अस्तित्वमै नभएका पदार्थसँग पनि वार्तालाप गर्न सक्छन् । तिनीहरूसँग रमाउन सक्छन्, जुन कुरा मुख्य कल्पनाधारीहरूका लागि असम्भव मात्र हुन्न असोभनीय या पागलपनसिवाय अर्को हुनै सक्दैन ।

कलरिजले कविताको प्रयोजनका बारे दुईओटा कुरामा विशेष जोड दिएका छन् । पहिलो प्रकृतिको वास्तविक सत्यप्रति पाठक वा भावकको सहानुभूतिलाई जागृत र प्रेरित गर्नु हो भने दोस्रो प्रयोजन कल्पनाको सहायताले अनेक प्रकारका चित्रहरूद्वारा नवीनता उत्पन्न गरी कवितातर्फ रुचि बढाउनु । जुन कुरा निम्न कवितांशहरूमा तरङ्गित भएको देखिन्छ –

म माघको ठन्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !

माघको जाडामा ताराको राप…? वस्तुवादीहरूका अघि योभन्दा हास्यस्पद अरू के होला तर चेतनाको द्वार सायद यहीँनेर खुल्दो हो । वैशाख पूर्णिमाकै दिन जन्मनु, ज्ञान प्राप्त गर्नु र सोही दिन मर्नु बुद्धका लागि के संयोग मात्र मान्न सकिन्छ ? कि केही चमत्कार पनि छ यो दुनियाँमा ? ठन्डीमा न्यानो र न्यानोमा ठन्डीको भावानुभूतिमा हराउनु गौण कल्पनाको उच्चतम प्राप्ति हो, जसको अनुभूति महान् कविलाई सिवाय अन्यलाई असम्भव छ ।

एक सुन्दरीका केशमा
समयको तुसाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !

सुन्दरीहरू पनि बुढी हुन्छन् । समय वास्तवमै सर्वशक्तिमान् छ । सबैलाई एकदिन वृद्धपनले समात्छ, रोगी हुन्छन् र एकदिन मर्छन् भन्ने ज्ञान बुद्धको थियो । त्यही ज्ञान कविलाई जागृत हुँदा दुनियाँले कविलाई तिरस्कार गर्नु वा छटाएको भन्नु आफैँमा कर्मकान्डीहरूको दयनीय पाटो हो, तर कविको दृष्टिबाट हेर्दा यो कविताको शक्तिशाली पक्ष हो ।

मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !

प्रकृतिका कण-कण कविको प्रेरणाका स्रोत मात्र होइनन्, सिर्जनका कारक पनि हुन् । प्रकृतिको वैराट्यमा नाच्नु, रमाउनु वा प्रकृतिको सुन्दरता देखेर उत्साहित हुनु इज्जतदार भनौदाहरूका लागि असह्य र अस्वीकार्य पक्ष हो । त्यसैले त समाजका प्रतिष्ठित भनौदाहरूका लागि कवि बहुला वा पागल हुन्छ, तुच्छ र बेकार हुन्छ ।

म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुकहरूले,
राँची पठाइदिए !

तूफान कविका लागि प्रकृतिको उत्सवगान हुन सक्छ, विद्रोह वा क्रान्ति हुन सक्छ । त्यसैले पनि यहाँ कविले तूफानको संसर्गमा गीत गाएको उल्लेख गरेका छन्, जसको परिणाम कविलाई पागलखाना पुर्‍याइएको कटु यथार्थ माथिको कवितांशमा स्पष्ट उल्लेख छ । यो कविता यथार्थमा मुख्य कल्पना र गौण कल्पनाबिचको द्वन्द्व पनि हो ।

प्रस्तुत कवितांशहरूमा मूल कल्पनाबाट कवि गौण कल्पनाको उत्कर्षमा पुगेका छन् र गौण कल्पनाभित्र छिरेर अनेक चित्रहरू बुन्दै आम पाठकका संवेदना समात्न सफल देखिन्छन् । सोही कुरा कलरिजको भाषामा भन्दा ‘आत्मा सक्रिय भई इन्द्रियहरू गौण हुनु भनेको तेरो मेरो भाव समाप्त भई पाठकको विशिष्ट आनन्द प्राप्त गर्नु हो । काव्यमा मानव आत्मा सक्रिय बनाउने शक्ति कल्पना हो ।’ उनले कल्पना शक्तिलाई कविता सिर्जनाको मूल कारक मानेका छन् ।

कलरिजले राम्रो कविताका लागि उच्च कवि प्रतिभाको आवश्यकतामा जोड दिएका छन् । उच्च कल्पना शक्ति भएको व्यक्तिले मात्र राम्रो कविता लेख्न सक्छ । कल्पनाको काम विचार तथा भावको संश्लेषण गर्नु हो । त्यो संश्लेषणको प्रभावकारिता बिम्बको सृष्टिबाट हुन्छ र बिम्ब निर्माण गर्ने काम कल्पना शक्तिबाट मात्र सम्भव छ । कवि गूढ र प्रभावशाली संवेदना बोकेको र भावप्रधान हुनुपर्दछ । उनले कविताको गहिराइमा विशेष जोड दिएका छन् । जुन कुरा ‘पागल’ कविताको प्रस्तुत अंशहरूमा प्रस्ट देख्न सकिन्छ –

मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रन्डीलाई लाश भनेको छु !
….
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रन्डीको नाच हेर !
जनअधिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर-टाउके छापाको कालो मिथ्याले
मेरो विवेक-वीरलाई
जाली झूठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैँ राता !

करिबन आठ दशकअगाडि रचना गरिएको ‘पागल’ कविता आजका दिनमा पनि उत्तिकै सान्दर्भिक, सटिक र शक्तिशाली लाग्छ । निमुखा, गरिब र सर्वहाराहरूको भोट पाएर बनेका सरकारका शासक र उपल्लो दर्जामा पुगेकाहरूको रवाफ, धाक र ढोँग आजपर्यन्त उही छ । आज प्रत्येकजसो नागरिकको आक्रोश प्रस्तुत कविताको भावले बोकेको छ । त्यसैले पनि कलरिजले भनेको कल्पना शक्ति यी कवितांशमा स्पष्ट महसुस गर्न सकिन्छ । कलरिज भन्छन्, ‘कविताको विषय मानव मनसँग हुनुपर्छ, जसमा मानव समाजका भावना, विचार, दुःख, सुख या विद्रोह जस्ता कुराहरू कवितामा समेटिनुपर्छ, जसले पाठकलाई सजिलै प्रभावित पार्न सक्छ । विशिष्ट विचार, सूक्ष्म तथा संवेदनशील अनुभूति प्रभावकारी ढङ्गमा प्रस्तुत हुनुपर्छ । उक्त कवितांशले कविको गौण कल्पनालाई विशिष्ट उचाइमा पुर्‍याउन सफल भएको देखिन्छ ।

कलरिजका अनुसार, ‘जबसम्म प्रतिभा गम्भीर र दार्शनिक हुँदैन तबसम्म ऊ महान् कवि बन्न सक्दैन ।’ उनी भन्छन्, ‘कविता त जसले पनि लेख्न सक्छ तर महान् कविता सामान्य कविबाट सम्भव छैन । महान् कविता हुनका लागि मानवज्ञान, मानववासना, मानव संवेदना, गूढ मनोभावना हुनुपर्छ । अचानक कविता सिर्जना हुन सक्छ तर अचानक महान् कवि बन्न सकिन्न ।’ महान् कवि बन्नका लागि प्रचुर कल्पनाशक्ति, व्यापक जीवनबोध र विचारको गहिराइको आवश्यकता हुन्छ ।

नेपाली काव्य फाँटमा कवि देवकोटा कलरिजले भनेकै स्तरको कल्पनाशक्ति भएका कवि ठहरिन्छन् र उनको ‘पागल’ कविता कलरिजले भनेकै जस्तो हृदय र मस्तिष्कको स्वन्वित रूप हो । उनका अनुसार उच्च कवितामा अनुभूतिमाथि गम्भीर दृष्टि हुन्छ । अनुभूति, घटना, दृश्यावली, भोगाइ र प्रभाव ग्रहणबाट उत्कृष्ट कविताको सृष्टि हुन्छ । कल्पनाले अनुभूतिलाई एकत्रित गर्छ र स्मृतिका रूपमा बिम्बित तुल्याउँछ । मस्तिष्कले त्यसमाथि विचार गर्छ र प्रतिभा सामर्थ्यले ती दुवैबिचको समन्वयलाई भाषाका माध्यमबाट कवितामा रूपान्तरित गर्दछ ।’

जरुर साथी !
म सुन्दर-चकोर, असुन्दर-फोहोर
कोमल-क्रूर
चिडिया, स्वर्गाग्नि-चोर
तूफान-पुत्र
पागल ज्वालामुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल !
जरुर साथी !
सन्के मगज छ सन्के !
यस्तै छ मेरो हाल !

कविहरू आफैँमा मुक्त हुन्छन् । फूलहरूजस्तै सुवासशील र नौनीजस्तै कोमल हुन्छन् । यति हुँदाहुँदै पनि कविहरू परी आए क्रूर, चोर, फोहोर वा ज्वालामुखीको उद्गारझैँ विद्रोही स्वरूप ग्रहण गर्न सक्ने क्षमता राख्छन् । अर्थात् यसको भावार्थ ‘कवि हरहमेसा सचेत रहन्छ र विकृति र भ्रष्टताका विरुद्धमा सदा अग्रसर हुन्छ, त्यत्तिकै सहनशीलता र समाजप्रति उत्तरदायी पनि हुन्छ’ , भन्ने पनि हो । सायद जिन्दगीभर कुनै व्यक्ति सतत विद्रोहमा बाँच्दछ भने त्यो कवि नै हुनुपर्दछ । यसरी समग्रमा ‘पागल’ कविता कलरिजले उल्लेख गरेका मुख्य र गौण कल्पना प्रयोग भएको एउटा सुन्दर र शक्तिशाली सिर्जना हो ।

अन्त्यमा

साहित्यमा सत्य, शिव र सौन्दर्य तत्त्व रहनुपर्छ भन्ने दृढ अठोट रहेका कवि देवकोटा ‘पागल’ कवितामा आँधीका रूपमा प्रकट भएका छन् । आफू बाँचिरहेको समाजमा जताततै विकृतिजन्य फोहर थुप्रिएकाले सत्यं शिवं सुन्दरम्‌को मन्त्रले त्यसलाई उडाउन चाहन्छन् । सफा, सुन्दर र स्वतःस्फूर्त समाजको कल्पना गर्छन् । त्यस्तै भाषा र शिल्प पक्ष गौण हो, भाव र विचार प्रमुख हो भन्ने दृष्टिकोण राख्ने देवकोटाको ‘पागल’ कविता आफैँमा बेजोड कल्पनाशक्तिले ओतप्रोत देखिन्छ ।

अन्ततोगत्वा कवि पनि मानव हो । मानवीय भावना र सम्मान मानवमा नै भएन भने मानव कसरी मानव होला र ? त्यसमा पनि कलरिजको मान्यतालाई आत्मसात् गर्दा कवि माथिल्लो स्तरको चेतनायुक्त मानव हो, जसले कविता वा काव्य सिजर्ना गर्दै गर्दा हरेक शब्दका नाडी छाम्न सक्नैपर्छ । कवि देवकोटाले ‘पागल’ कविताको अनुच्छेद ‘ङ’ र ‘छ’ म क्रमशः दुई ठाउँ ‘रन्डी’ शब्दको प्रयोग गरेका छन् । मेरो बुझाइमा स्त्रीहरूलाई त्यो स्तरमा पुर्‍याएर असोभनीय शैलीमा गाली गर्ने पुरुषहरू किन छिमेकमा देखिँदैनन् ? के परस्त्रीगमन पुरुषको लिङ्ग बेगर नै घटित हुने कुरा हो ? ती पुरुषहरूको स्थान समाजमा कहाँनेर छ ? कवितामा प्रयुक्त यो शब्द किन पनि स्वीकार्य लाग्दैन भने कविले ती दुवै स्थानमा सदियौँदेखि अन्यायमा परेका यी महिलामाथि प्रयोग गरिने उक्त विशेषणलाई अति तल्लो र विकृत स्तरमा दाँजेका छन् । एउटा सचेत पाठकलाई यो शब्दले अवश्य बिझाउनेछ । देवकोटाले जुनसुकै भावावेगमा यो शब्द यहाँ प्रयोग गरे तापनि ती उच्च प्रतिभाप्रति आम सचेत पाठकहरूको नैतिक असहमति हुनेछ र हुनुपर्छ ।

उपर्युक्त शब्दबाहेक ‘पागल’ कविताका हरेक पङ्क्तिमा कवि निर्दोष र सत्यनिष्ठ भेटिन्छन् । कविता पढ्दै गर्दा लाग्छ उनी आफू आफ्ना भावना र विचारमा कठोर भएर उभिएका छन् । आफ्ना विचारमा अडिग देखिन्छन् । उनमा जति सहनशीलता र शान्त भाव छ त्यति नै विद्रोही र क्रान्ति चेतले ओतप्रोत भेटिन्छन् । कवितामा व्यङ्ग्यको प्रचुरता त्यत्तिकै शक्तिशाली छ । अनेकौँ विचारहरूको पत्र-पत्र हुँदाहुँदै पनि कविताको भाव सलल बगेको छ । त्यसैले समग्रमा के भन्न सकिन्छ भने कलरिजले उल्लेख गरेको कल्पनाका मुख्य र गौण कल्पना कवितामा शक्तिशाली भएर प्रकट भएका छन् । मुख्य कल्पनामा टेकेर कविले गौण कल्पनामार्फत जादूगरी शैलीमा भावनाको ज्वारभाटा ल्याएका छन् ।

(यो समीक्षा तयार पार्न घनश्याम कँडेल, कृष्णविलास पौड्याल, राजेन्द्र सुवेदी, प्रा. मोहनराज शर्मा, डा. खगेन्द्रप्रसाद लुइँटेल, माधव ढुङ्गेल र दिवस भट्टराई गुरुहरूको प्रत्यक्ष⁄अप्रत्यक्ष (पुस्तक) सहयोग लिइएको छ । साथै पागल कविताका अंश लक्ष्मी कवितासङ्ग्रहबाट उद्धृत गरिएका हुन् । उहाँहरूप्रति आभार ।)