विषय प्रवेश

नीलम कार्की निहारिका नेपाली आख्यानका क्षेत्रमा पछिल्लो समयमा निकै चर्चामा आएकी प्रतिभा हुन् । २०५० को दशकसँगै आख्यानका क्षेत्रमा प्रवेश गरेकी कार्कीको कलम कविता, कथा हुँदै उपन्यासका क्षेत्रमा उत्तरोत्तर अगाडि बढेको पाइन्छ । ‘अर्की आइमाई’, ‘चीरहरण’, ‘योगमाया’ जस्ता कृतिबाट निकै चर्चा पाएकी निहारिकाले २०७८ सालको आगमनसँगै अर्को उपन्यास कृति ‘द्रौपदी अवशेष’ पाठकसामु ल्याएकी छन् । यिनको लेखन परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले अब्बल रहेको मान्न सकिन्छ । कथा र उपन्यास साधनाद्वारा नेपाली समाजमा महिलाले भोग्नुपरेका पीडा, विभेद र ताडनाका विषयलाई घटना, पात्र र प्रवृत्तिद्वारा प्रकाश पार्ने काम यिनले गरेकी छन् । ऐतिहासिक, पौराणिक, तथा सामाजिक-सांस्कृतिक क्षेत्रबाट विषयको चयन गरी समाजका वास्तविकतालाई उत्खनन गर्ने हुनाले यिनको लेखन खास सन्दर्भलाई आधार बनाएर प्रस्तुत हुने हुनाले अनुसन्धानात्मक बन्न गएको देखिन्छ । प्रस्तुत लेखमा कार्कीको पछिल्लो उपन्यास कृति ‘द्रौपदी अवशेष’ले उठान गरेको विषवस्तु र प्रवृत्तिगत सन्दर्भलाई प्रकाश पार्ने प्रयास गरिएको छ ।

द्रौपदी अवशेषलाई छाम्दा

प्रस्तुत उपन्यास नीलम कार्की निहारिकाद्वारा २०७८ सालको सुरुमै प्रकाशनमा आएको हो । यस उपन्यासले हुम्ला जिल्लाको हिमाली गाउँहरूमा रहेको बहुपति प्रथालाई खोजमूलक शैलीमा प्रकाशमा ल्याएको छ । महाभारत कथामा सुनिएको विशेष प्रकारको प्रकरण हुम्ला जिल्लामा एक प्रथाकै रूपमा रहेको कुरा यहाँ झल्काइएको छ । यसका साथमा कणर्लीका जनताको जटिल जीवनशैली, प्राकृतिक सुन्दरता र सरल अनि निश्छल रूपमा बाँचेको मानवीय जीवनको पाटोलाई पनि यहाँ झल्काइएको छ ।

vकथावस्तु

यस उपन्यासको कथावस्तु मूलतः हुम्लाका हिमाली गाउँको समस्यालाई झल्काउनमा केन्द्रित रहेको छ । उपन्यासमा मपात्रका भूमिकामा रहेको दिग्विजय सुधारिएको आधुनिक चुलो निर्माण कार्यक्रम लिएर विकट हिमाली गाउँमा गएको हुन्छ । कर्णाली नदीलाई छिचोल्दै जाने क्रममा बाटामा उसको ग्याल्जनसँग भेट हुन्छ । ग्याल्जनकै साथ र सहयोगमा छ महिनासम्म दिग्विजय त्यहाँ बस्छ । आफ्नो ड्युटीका साथमा उसले त्यहाँको भूगोल, सामाजिक ढाँचा, सांस्कृतिक प्रथा र प्राकृतिक सुन्दरताको साक्षात्कार गर्दछ । विकट हिमाली जीवनलाई नजिकबाट नियाल्नुका साथै त्यहाँ अस्तित्वमा रहेको बहुपति प्रथालाई मसिनो गरी बुझ्ने अवसर पाउँछ । ग्याल्जन, पेमा, नुर्बु, आमै, ग्याल्जनकी दिदी र वाङ्दीबाट त्यहाँको यथार्थ अवस्थालाई बुझ्ने अवसर पाउँछ । बहुपति प्रथाभित्रका आचार-व्यवहार तथा सांस्कृतिक मूल्यलाई उनीहरूकै पृष्ठभूमिबाट यहाँ अवतरण गराइएको छ । जेठो दाजुले बिहे गरेर ल्याएकी महिलालाई सबै भाइले श्रीमतीका रूपमा वरण गर्ने परम्परा अहिलेसम्म कायम रहेको अवस्थालाई यहाँ उद्घाटन गरिएको छ ।

पुरानो पुस्ताले अझै पनि यस्तो प्रथालार्इ स्वाभाविक रूपमा लिएको तर नयाँ पुस्ताले यसबाट मुक्ति खोज्न थालेको छनक पनि उपन्यासमा पाइन्छ । केटीको सहमतिमा बिहे हुनुपर्ने, विवाह नगरी कसैको अवैध श्रीमती बनी न्येलु जन्माएमा समाजले निन्दोचर्चो नगर्ने तर त्यस्ता सन्तानलाई सामाजिक रूपमा वैधानिकता नदिने प्रचलन त्यहाँ कायम रहेको कुरा यहाँ झल्काइएको छ । लोग्नेले बाहिर अवैधानिक रूपमा रखौटी राख्ने तर त्यस्ताबाट जन्मिएको बच्चाकी आमाले बाबु चिनाइदिएमा बच्चाले सम्पति पाउने प्रवधानसमेत रहेको कुरा यहाँ उल्लेख पाइन्छ । बहुपतिलाई वरण गर्ने कुराले महिलाको स्वास्थ्य अवस्था खराब बन्न जाने सन्दर्भलाई पेमाको अवस्थाबाट प्रस्तुत गरिएको छ । ग्याल्जनकी दिदी र भान्जोका पृष्ठभूमिबाट कुमारी आमाबाट जन्मिएको बच्चाले बाबुको पहिचान नहुँदा भोग्नुपरेको समस्यालाई पनि उजागर गराइएको छ । ग्याल्जन र पेमाको प्रेम सन्दर्भका साथै ग्याल्जनकै भान्जोको नियति बाँचेको दिग्विजयको आफ्नै कथाको उद्घाटन पनि यहाँ गराइएको छ । हिमाली जीवनको विकराल अवस्थाको प्रस्तुतिका साथै सरल र निश्छल जीवन बाँचेका मानिसको दैनिकीलाई पनि यहाँ प्रस्तुत गरिएको पाइन्छ । शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातबाट टाढा रहेको भूगोलमा राज्य पुग्न नसकेको यथार्थलाई पनि सङ्केत गरिएको छ । छ महिनासम्म आफ्नो घरबस्ती छाडेर फिरन्ता जीवन बिताउनुपर्ने हुम्लीहरूको विवशतालाई पनि यहाँ चित्रण गरिएको छ ।

पात्र चयन

यस उपन्यासको समाख्याताका रूपमा मपात्र वा दिग्विजय रहेको छ । ग्याल्जन, आमा, वाङ्दी आदिलाई बोल्न लगाएर पनि उसले विषयलाई उठान गरेको छ । सुधारिएको चुलोको कार्यक्रम लिएर दुर्गम गाउँमा गएको दिग्विजयले हाम्रै देशको भूगोलमा मानिस कसरी बाँचेका रहेछन् भन्ने कुरालाई साक्षात्कार गर्न पुगेको छ । ग्याल्जन यस उपन्याको अर्को प्रमुख पात्रका रूपमा आएको छ । च्याछारा पहाडको साँगुरो बाटोमा दिग्विजयसँग भेट भएदेखि सिमीकोट पुगेर कथान्त हुँदासम्म उसकै साथीसहयोगी पात्रका रूपमा ऊ रहेको छ । जीवनलाई मसिनो गरी बुझेको ग्याल्जन पेमाप्रति अनुरक्त बनेको छ । पेमा यस उपन्यासकी प्रमुख नारी पात्र हो । बहुपति प्रथाको सिकार बनेकी नारीका रूपमा यसलाई हेर्न सकिन्छ । नुर्बुसँग मात्र जीवन बिताउने सर्तमा राजी भएर आएकी तर नुर्बुका आमा र फुपूहरूले परम्परा र संस्कार बिग्रिने हुनाले जेठाकी श्रीमती भएर बस्न दबाब दिएपछि बहुपतिलाई स्वीकार्न विवश नारीका रूपमा देखिन्छे । पटकपटक बिरामी परेर मृत्युका मुखबाट बाँचेकी निकै कम बोल्ने प्राकृतिक रूपमै सुन्दर नारीका रूपमा पेमालाई प्रस्तुत गरिएको छ । ग्याल्जनकी प्रेमिका नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा पनि पेमालाई लिन सकिन्छ । पेमाकी दिदी यस उपन्यासकी अर्की उल्लेखनीय चरित्र हो । ऊ पेमाका ससुराकी सुर्मु भएर बसेकी छ तर लाग्नेलाई चिनाउन चाहेकी छैन । ग्याल्जनको भान्जोलाई बाबु नचिनाइदिएकाले न्येलुले प्राप्त गर्ने सम्पतिबाट ऊ वञ्चित हुन पुगेको छ । एउटी आमाले न्येलु जन्माए पनि रङलु जन्माए पनि मातृत्वमा फरक नरहेको मान्यता उसले राखेकी छ । घरबेटी आमाको भूमिका पनि उपन्यासमा सशक्त रहेको पाइन्छ ।

परम्परा र संस्कारलाई मान्नुपर्छ भन्ने मान्याता लिएकी कडा स्वभावकी नारीका रूपमा ऊ रहेकी छ । चारवटा पुरुषहरूलाई पतिका रूपमा वरण गरी सबैलाई मिलाएर घरबार चलाउँदै आएकोमा ऊ सन्तुष्ट रहेकी छ । बहुपति प्रथाले गर्दा सन्तान कम जन्मिने र खेतीबारी प्रशस्त हुनेहुनाले खानलाउनलाई दुःख हुँदैन भन्ने मान्यता लिएकी छ । पुरुषहरूलाई मिलाएर राख्नुमा महिलाको महत्त्वपूर्ण भूमिका हुने कुरामा पनि उसले जोड दिएकी छ । नुर्बु यस उपन्यासमा पेमाको खास पतिका रूपमा उपस्थित छ । रलिङ गुम्बाको मेलामा गएका बेला गीत गाउँदै गर्दा राम्री देखेर पेमालाई भगाउन सफल भएको छ । पेमाको एकल पति बन्न तयार भई वाचा गरेर ल्याए पनि घरपरिवारको मर्यादालाई तोड्न नसकी साझा पत्नी बनाउन सहमत भएको देखिन्छ । पैसा कमाउन चतुर मानिएको नुर्बुले घरबाहिर डोल्मा नामकी केटीलाई पनि राखेको चर्चा पाइन्छ । पेमा र ग्याल्जनको प्रेम बुझी जारी नलिईकन पेमालाई ग्याल्जनको साथमा लगाइदिने उदार प्रकृतिको चरित्रका रूपमा पनि नुर्बुलाई देख्न सकिन्छ । वाङ्दी मपात्रको संस्थामा स्थानीय सहयोगीका रूपमा कार्यरत कर्मचारी हो । ऊ पनि न्येलुको नियति भोग्न विवश व्यक्तिका रूपमा देखिन्छ । ग्याल्जनलगायतका गाउँका मानिसहरूको अन्तर्यलाई उद्घाटन गराउने पात्रका रूपमा पनि यसलाई लिन सकिन्छ । मपात्र ग्याल्जनसँग जत्तिको वाङ्दीसँग खुलेको पाइँदैन । यीबाहेक अन्य धेरै पात्रहरू उपन्यासमा आई विषयलाई थप जीवन्त तुल्याएका छन् । पात्रको पृष्ठभूमिका आधारमा भाषिक प्रयोग गर्नुका साथै जीवन बुझाइ पनि सोही रूपमा भएको देख्न सकिन्छ ।

परिवेश

प्रस्तुत उपन्यास दुई खण्डमा संरचित रहेको पाइन्छ । पहिलो खण्डमा केही रूपमा काठमाडौँको सन्दर्भ जोडिए पनि मूलतः हुम्लाको विकट हिमाली भूगोल, कणर्ली नदीको माथिल्लो क्षेत्र यस उपन्यासको मुख्य परिवेशका रूपमा आएको छ । च्याछारा पहाडको कठिन यात्रा, ग्याल्जनको गाउँ, तुम्लिङ खर्क, लाप्चा, जाँग गाउँ, ताक्लाकोट, हिल्सा, तातोपानी, गेरुखर्क, ललुङजोङ, हल्जीको रिन्छेलिङ गुम्बा, माप्च्याखवा, ताक्पालुङ, लिमी नदी, सल्ली खोला, रलिङ गुम्बा, लाक्पाबाट देखिने मानसरोवर र कैलाशको सुन्दर दृश्य, घाँसे मैदानहरू, पशुपालन, चरिचरन, घरगृहस्थीका व्यवहार, लवाइखवाइको झलक यहाँ पाउन सकिन्छ । स्थानगत अवस्था तथा वातावरणीय परिवेशको झलक पनि सशक्त रूपमा आएको पाइन्छ । दोस्रो भागमा मपात्र सिमीकोट फर्किने क्रममा भएका बिदाइका सङ्केतहरू बाटोमा पर्ने ठाउँहरू, कणर्लीको विकट भूगोल, वरिपरि उठेका अगम पहाडहरूको प्रतिबिम्बका साथै जोखिमपूणर् जीवनको चित्र पनि प्रस्तुत भएको छ । यस क्रममा लिमी खोला, जाङ गाउँ, मानेपेमे, सबैभन्दा अग्लो पहाड नाराला, यारी, तुम्कोट, यालवाङ, मुचु, गरुङ पानी, धारापुरी, सल्ली खोला, च्याछहरा छाँगो, किर्मी, पेमाको माइती खगालगाउँ, हेप्का खोला, माझ गाउँ, डाँडाफया, लाग्ना, सिमीकोट जस्ता ठाउँहरूको सन्दर्भगत झलक प्रस्तुत हुनुका साथै बाटाका चौपायका बथानहरू, लेक चढ्ने र बेसी झर्ने मानिस तथा भरियाहरूका लस्कर, प्राकृतिक रूपमा बाँचेको जीवनशैली जस्ता कुराहरू परिवेशका रूपमा आएका छन् । स्मृतिबिम्बका पृष्ठभूमिमा मपात्रको बाल्यकालीन परिवेशको झाँकी पनि यहाँ साक्षात्कार गर्न सकिन्छ । खानपानका सन्दर्भमा उवा, जौ, आलु, फापर, हिमाली जडिबुटीको झोल, चौँरीको घिउ, नुन र घिउमा बनाइएको चिया, छ्याङकोल आदिको उल्लेख पनि यहाँ पाउन सकिन्छ ।

आञ्चलिकताको प्रयोग

प्रस्तुत उपन्यास आञ्चलिकताका दृष्टिले पनि महत्त्वपूणर् रहेको छ । हुम्लाको भूगोलमा केन्द्रित हुनु, त्यहाँको सामाजिक सांस्कृतिक विषय मूलतः बहुपति प्रथालाई केन्द्रमा राखेर विषयको उठान गर्नु, त्यहाँको भाषा, संस्कृति, परम्परा, समाजमा स्थापित मान्यता आदि कुराको जीवन्त प्रस्तुतिका कारण पनि यहाँ आञ्चलिकताको प्रत्यक्ष गन्ध पाउन सकिन्छ । स्थानीय पात्रहरूका संवादका क्रममा हुम्ली लवजलाई पछ्याउनुले पात्रको जनजिब्रोप्रति न्याय गरेको मान्न सकिन्छ । विकास र चेतनाबाट टाढा रहेका त्यस्ता गाउँहरूका आफ्नै कथा र व्यथा रहेको मर्मलाई हेर्दा सिङ्गो भूगोल नै सीमान्तीकृत बन्न गएको अनुभव हुन्छ । बहुपति प्रथाको विषय उठान पनि आफैमा आञ्चलिक बन्न गएको स्पष्ट हुन्छ ।

सामाजिक/ सांस्कृतिक मान्यता

हुम्ला जिल्लाका केही गाउँहरूमा अझै पनि जेठो दाजुले विवाह गरेपछि उक्त महिला सबै भाइकी श्रीमती कायम हुने प्रथा अस्तित्वमा रहेको कुरालाई मुख्य समस्याका रूपमा उठान गरिएको छ । त्यसरी गरिने विवाहको पनि खास सीमा र मर्यादा रहेको कुरालाई पनि यहाँ प्रकाश पारिएको छ । ठूलो विवाहमा एक्काईस जनासम्म जन्ती जाने र सानोमा तीन जनासम्म पनि जाने चलन रहेको कुरा यहाँ झल्काइएको छ । विवाहका क्रममा सबै भन्दा पहला माग्न जाने काम हुन्छ, त्यसलाई रेये भन्ने गरिन्छ । एक चिन्ठो जाँड, तीन पुरी सेतो गजिनो, कुरमा लिएर माग्न जाने गरिन्छ । कुरा छिन्ने कामलाई रेलेन भनिन्छ । कुरा छिनेपछि वचनबद्धताका लागि छिक खुवाउने काम हुन्छ । छिक खुवाएपछि छोरी नदिएमा लागेको खर्च माइती पक्षले तिनुपर्ने मान्यता रहेको र यसको एक वर्षभित्रमा लामाबाट निकालेको साइतमा पोइली घर पठाउने चलन रहेको कुरा यहाँ उल्लेख गरिएको छ । विवाहका समयमा लु वा गीत गाउने मुख्य प्रचलन रहेको देखिन्छ । यस्तै सन्तानको हकमा पहिलो जन्मेको छोरा जेठाको हुने र त्यसपछि क्रमशः माइला, साहिँलाको हुने प्रचलन रहेको कुरा पनि यहाँ प्रकाश पारिएको छ ।

जेठालाई सबै छोराछोरीले आप्पा वा बा भन्ने र अरूलाई काका भन्ने प्रचलन रहेको कुरा पनि यहाँ उल्लेख गरिएको छ । सन्तानलाई सबैले बराबरी माया गर्ने गरेको सन्दर्भलाई यहाँ उठाइएको छ । सन्तान वास्तवमा कसको हो भन्ने कुराको ख्याल आमालाई नै हुने कुरा पनि यहाँ प्रस्तुत गरिएको छ । परिवारका साना भाइहरू १६ वर्षका पुगेपछि मात्र पति बन्नका लागि योग्य हुने परम्परा पनि त्यहाँ कायम रहेको पाइन्छ । महाभारत कथा र भारतको हिमाचलतिर जस्तो खास आचारसंहिता नबनाइने भए पनि पत्नीले नै त्यसको व्यवस्था मिलाउँदै आएको परिपाटी यहाँ देख्न पाइन्छ । जोई सुत्दा एउटाको कोठामा र उठ्दा अर्कोको कोठामा भन्ने रोचक सन्दर्भहरू पनि व्यवहारमा रहेको उल्लेख पाइन्छ । छोरो वर्ष दिनको पुग्दा ठालुक पूजा गर्ने संस्कृति पनि आफ्नै प्रकृतिको रहको देखिन्छ । मृत्यु संस्कार पनि अन्तको भन्दा पृथक् प्रकृतिको रहेको पाइन्छ ।

भिन्नभिन्न संस्कृतिको अध्ययन

यस उपन्यासका माध्यमबाट हुम्ली समाज र काठमाडौँ तथा देशका अन्य क्षेत्रका सामाजिक सांस्कृतिक मान्यतालाई तुलनीय रूपमा अध्ययन गर्न सकिन्छ । हुम्ली समाजमा रहेको बहुपति प्रथाको प्रचल अन्य समाजका लागि आश्चर्यको विषय बन्न सक्छ । यसैगरी त्यहाँका प्रथा र मान्यता अन्यत्रका लागि अस्वाभाविक लाग्न सक्छन् भने अन्य क्षेत्रका कुराहरू उनीहरूका लागि अनौठा लाग्न सक्छन् । हुम्ली समाजमा अविवाहित रहेर कसैको सुर्मु भई न्येलुलाई जन्माउनुलाई हेयको दृष्टिले हेरिँदैन । यस्ता कुराहरू सबैलाई पर्नसक्ने सामाजिक समस्याका रूपमा लिने गरिएको पाइन्छ । तर हाम्रातिरको सामाजिक व्यवहारमा कुमारी आमाबाट सन्तान जन्मिने कुरालाई हेयका दृष्टिले हेर्ने गरिन्छ ।

यस उपन्यासको मपात्र दिग्विजय पनि ग्याल्जनको भान्जोकै नियति भोग्न विवश देखिन्छ । कुमारी आाको कोखबाट जन्मिएको दिग्विजयले बाबुको पहिचान पाउनका लागि गर्नुपरेको सङ्घर्ष र सामाजिक रूपमा भोग्नुपरेको अपमानलाई उपन्यासको उत्तराद्र्धमा अध्ययन गर्न सकिन्छ । यहाँ तुलनात्मक रूपमा हेर्दा हामी बाँचेको समाज रूढ र सङ्कीर्ण प्रकृतिको रहेको तर हुम्ली समाज उदार र सहिष्णु प्रकृतिको रहेको कुरा पनि अभिव्यक्त भएर आएको पाइन्छ । यहाँ जुम्ली समाजको मुखिया जसले समाजमा सिर्जना भएका समस्याको समाधान गर्ने क्षमता राख्दछ तर मपात्रको हजुरबुबा जो बुज्रुक भईकन पनि परिवारमै न्याय दिन नसकेको सन्दर्भबाट स्वार्थभन्दा माथि उठ्न नसक्दा न्याय गर्न नसकिने यथार्थलाई सङ्केत गरिएको छ । ग्याल्जनकी दिदी र मपात्रकी आमा जो अविवाहित अवस्थामै सन्तान जन्माउन विवश छन् तर सांस्कृतिक भिन्नताले गर्दा ग्याल्जनकी दिदीका तुलनामा दिग्विजयकी आमाले अपमान र तिरस्कार खेप्नुपरेको अवस्था यहाँ देखिन्छ । भान्जो र दिग्विजयको व्यथा पनि समान छ तर सामाजिक स्वीकृतिका दृष्टिले दिग्विजयले बढी अपमान खेप्नुपरेको अवस्था देखिन्छ । सामाजिक सांस्कृतिक तुलनीयताका दृष्टिल पनि प्रस्तुत उपन्यास महत्त्वपूर्ण रहेको मान्न सकिन्छ ।

मातृप्रेम

प्रस्तुत उपन्यासमा आमाको वात्सल्यका पृष्ठभूमिबाट मातृत्वको भावना सबल बनेर आएको देख्न सकिन्छ । विकट दुर्गम गाउँमा उद्धार र उपचारको अभावमा मृत्युवरण गरेकी ग्याल्जनकी आमाको प्रसङ्गले पाठकलाई द्रवित बनाउँछ ।

ग्याल्जनलाई जीवनमा खट्किने कुरा पनि आमाको अभाव रहेको देख्न सकिन्छ । कणर्लीको गहिराइमा आमाको छाया खोज्दै ग्याल्जनले देखाएको संवेदनाले जो कसैलाई पनि भावुक बनाउँछ । यस्तै आमाको अभावमा मातृस्नेहबाट वञ्चित हुन पुगेको दिग्विजयको अवस्थालाई हेर्दा ग्याल्जन र दिग्विजय दुवैको घाउ एउटै प्रकृतिको रहेको देख्न सकिन्छ । आमा र सन्तानको मायाका अनुपम सन्दर्भहरू ठाउँठाउँमा दृष्टान्तका रूपमा उल्लेख हुनुले यहाँ मातृप्रेम सघन बनेर आएको देख्न सकिन्छ । मपात्रभित्र सल्बलाएका हजुरआमासँगका सन्दर्भ र बाल्यकालीन प्रसङ्गहरूले पनि मातृप्रेमभाव छताछुल्ल भएर आएको पाइन्छ । भेडीहरूका व्यवहारमा मातृत्व भाव प्रकट हुनुका साथै कणर्ली नदीमा आमाको महानता, शालीनता देख्नुमा पनि मातृप्रेमको पाटो सशक्त रूपमा आएको स्पष्ट हुन्छ ।

हार्दिक प्रेमको जीवन्त प्रस्तुति

यस उपन्यासमा सल्बलाएको अर्को महत्त्वपूणर् पाटो हार्दिक प्रेमको आदर्शमय प्रस्तुति रहेको छ । दिग्विजयको सुलक्षणासँगको प्रेमिल सन्दर्भ पनि केही रूपमा उठान भएर आएको पाइन्छ । यहाँ ग्याल्जन र पेमाको हार्दिकतामा बाँचेको प्रेम सशक्त रूपमा मुखरित हुन पुगेको छ । दिग्विजयसँग भेट भएदेखिका धेरैजसो बसाइ र संवादहरूमा ग्याल्जनले पेमालाई नै सम्झिन पुग्छ । पेमाबाट टाढा हुन नचाहने अनि पेमाबाहेक अरू कसैसँग मन नबस्ने अभिव्यक्तिका कारण ग्याल्जन र पेमाका बीचको प्रेम दैहिक नभई आध्यात्मिक रहेको अनुभूति पाठकले गर्दछ । हरेक समयमा पेमाकै चिन्ता लिनु, पेमा बिरामी हुँदा मर्माहित बन्नु, पेमाको सन्दरतालाई रसपान गर्नु जस्ता सन्दर्भहरूले पेमाप्रतिको ग्याल्जनको प्रेमलाई नाप्न सकिन्छ । ग्याल्जन आफू निश्छल छ, त्यस्तै निश्छल प्रेम गर्छ पेमालाई । आमा समानकी भाउजूलाई श्रीमतीका रूपमा वरण गर्न नचाहने ग्याल्जन आफ्ना संस्कृतिमा भएका खराब पक्षलाई टिप्पणी गर्छ तर विद्रोह गर्न सक्दैन । पेमा पनि ग्याल्जनप्रति अनुरक्त छे भन्ने कुरा बेलाबेला भविष्यका बारेमा घचघच्याउनुले स्पष्ट हुन्छ । ग्याल्जन जारी तिर्ने पैसा जुटाएर पेमालाई आफ्नी बनाउने ध्येयमा छ तर भगाएर वा विद्रोह गरेर पेमालाई लैजाने आँट पनि गर्दैन । लोग्नेहरूले ख्याल नराख्दा पेमा पटकपटक बिरामी परेको र भ्रुणमै बच्चाहरू मरेकाले उसको अवस्था गम्भीर बनेकोमा चिन्तित छ । घरकाले औषधीको आवश्यकता नठान्दा पनि ताक्लाकोट गएर औषधी ल्याउन तत्पर छ ग्याल्जन । पेमालाई केही भई हाल्छ कि भनेर मपात्रलाई केही समय गाउँ नछाड्न समेत आग्रह गर्नुले ऊ पेमाका बारेमा कति ख्याल राख्छ भन्ने कुरा बुझ्न सकिन्छ ।

बाटामा देवीथान र मन्दिरहरू भेटेमा पेमाका लागि ढुङ्गाको घर बनाइदिन्छ अनि धजा चढाउँछ । पेमाबाहेक कसैसँग उसको मन बस्दैन । यस्ता विविध प्रसङ्गहरू उपन्यासमा व्याप्त रहेकाले यहाँ हार्दिक प्रेमको मूल्यलाई मुक्तकण्ठले प्रकाश पारिएको छ । ग्याल्जन र पेमाको प्रेमले मूर्त रूप प्राप्त गरेको अवस्थामा पुगेर उपन्यास टुङ्गिएकाले पनि प्रेमको आदर्श यहाँ सघन बनेर आएको मान्न सकिन्छ ।

निष्कर्ष

यस उपन्यासको केन्द्र भागमा सामाजिक सांस्कृतिक विषय रहेको छ । पृथक् संस्कृतिको उत्खननका रूपमा यस उपन्यासलाई लिन सकिन्छ । कर्णालीका हिमाली खोँच र पाटनहरू हेर्नलाई सुन्दर र रमाइला छन् तर त्यहाँ जीवन बाँच्नलाई कठिन छ भन्ने मर्म यहाँ प्रस्तुत भएर आएको छ । राहातमा आएको कुहेको चामल घोडालाई पनि नखुवाई फाल्नुको नियति बाँचेको विकट हिमाली बस्तीका कथाव्यथा र त्यसभित्रका सांस्कृतिक मूल्यहरूलाई उपन्यासमा महत्त्वसाथ प्रस्तुत गरिएको छ । अबोध पशुहरूको श्रमको मूल्यबोध पनि गर्न सकिन्छ उपन्यास पढ्दै जाँदा । दुर्गम बस्तीहरूमा पनि पुस्तान्तरणले ल्याएको भिन्नतालाई राम्ररी छाम्न पाइन्छ उपन्यासमा । भाषिक प्रयोग र शब्दावलीहरूले पनि नवीनताको अनुभूति गराउँछन् । परिवेश चित्रण, विषयको सन्दर्भ अनि भाषिक प्रस्तुतिले आञ्चलिकताको स्पष्ट छनक दिन्छ । पात्रहरूका भोगाइ अनि कथाव्यथालाई पढ्दै जाँदा पाठकलाई आफ्नै भोगाइ जस्तै लाग्छ । मानवीय सरल स्वभाव र फिरन्ते जिन्दगीको झलक पनि यहाँ प्रस्तुत भएको छ ।

मानिस बाहिरबाट हेर्दा जस्तो छ भित्र भिन्नै हुन्छ भन्ने मर्म यहाँ साक्षात्कार गर्न सकिन्छ । ग्याल्जनले दिग्विजयप्रति जे धारणा बनाएको छ त्योभन्दा पृथक् र प्रतिकूल छ दिग्विजयको जीवन । उपन्यासलाई विविध कोण र पक्षबाट अध्ययन गर्न सकिने आधारहरू रहेका छन् । जुन समाज र ठाउँमा बसे पनि मान्छेको मन र अनुभूतिहरू समान हुन्छन् भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ । जीवनबोधको गहिराइमा पुर्‍याउने खालको अभिव्यक्ति कला लोभ लाग्दो देखिन्छ । कलात्मकताभित्र सघन व्यङ्ग्य पनि पाउन सकिन्छ । महाभारतकी नारी पात्र द्रौपदीले पाँच पाण्डवलाई पतिका रूपमा वरण गर्नुपरेको सांस्कृतिक बिम्बलाई आधार बनाई नेपालको हुम्ला जिल्लाको हिमाली भेगमा अझै पनि कायम रहेको बहुपति प्रथाको सामाजिक सांस्कृतिक झलकलाई उपन्यासको केन्द्र भागमा राखी विषयको विन्यास गरिएकाले ‘द्रौपदी अवशेष’ शीर्षक स्वाभाविक र सार्थक बनेको छ । कृति पढ्दै जाँदा कतैकतै वणर्विन्यासीय त्रुटिको बियाँ लाग्न सक्छ । पाठकको संवेदनालाई तानिरहन सक्नुलाई लेखकको प्रस्तुतिगत सामथ्र्य मान्न सकिन्छ ।