नेपाली बालसाहित्यको क्षेत्रमा सुपरिचित नाम हो, विजयराज आचार्य । लेखनको अत्यधिक समय बालसाहित्यमा दिएका आचार्यको ९४ औँ  कृति स्वयम्भूका आँखाहरू नामक  बाल कथा सङ्ग्रह बजारमा आएको छ ।

ऐतिहासिक, पुरातात्त्विक र विश्वसम्पदाका दृष्टिबाट पनि महत्त्वपूर्ण स्थल हो स्वयम्भू । स्वयम्भूको स्थलगत भ्रमण गरी सूचना, तथ्य र ऐतिहासिक प्रमाणहरू सङ्कलन गरि लेखिएका नौ कथाहरू यस सङ्ग्रहमा समावेश छन् ।

प्रत्येक कथाले बालमस्तिष्कमा सकारात्मक प्रभाव पार्ने  जानकारी दिएका छन् ।

नौ कथामा पाठकका आँखा

उत्पत्ति : यस कथामा बालबालिकालाई आफ्नो रुचिको क्षेत्रमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश राजा प्रचण्डदेवमार्फत कथाकारले दिएका छन् । राजालाई राजगद्दीभन्दा ठूलो शान्ति र सद्भाव लाग्यो । हामी पनि शान्ति र सद्भावको मार्गमा लाग्नुपर्छ । बाल मस्तिष्कमा यो ठूलो सन्देश हो । हरेक संरचना, सामानको संरक्षण समयमै गर्नुपर्छ भन्ने सिकाइ पनि यस कथामा पाइन्छ ।

स्तुप : बडो रमाइलो कथा छ यो । आम बालबालिकाले रोचक मानेर पढ्ने प्रसङ्ग अनुसार कथा अगाडि बढ्छ । यो कथाले ऐतिहासिक तथ्य र आधुनिक विज्ञान प्रविधिलाई बालमनोविज्ञानसँगै अगाडि लगेको छ । यो अनसन्धानात्मक कथा पनि छ ।

पाउमा दुई आँखा : गुरु चेलाको सम्बन्ध यस कथामा राम्रोसँग बगेको छ । आजका बालबालिकाहरू भविष्यमा ज्ञान बाड्ने गुरु भएपछि दान र धनको पछि होइन मानव कल्याणका लागि अगाडि बढ्नुपर्छ भन्ने सन्देश कथामा छ ।

आधुनिक बढ्दो ढाँट छल झुटको समयमा यस कथाले झुट टिक्दैन । झुठले स्वयंलाई ठूलो हानि गर्छ भन्ने सन्देश कथाले दिएको छ ।

शान्तिपुर : यस कथामा ऐतिहासिक र आध्यात्मिक प्रसङ्ग ऐतिहासिक समयको बाग्मतीझैँ सलल बगेको छ । राज्यमा सङ्कट आउँदा शासकले कति आँट गर्नुपर्छ भन्ने सन्देश यस कथामा छ । दशकौँदेखि बिग्रिएको नेपाली राजनीति यस कथा पढ्ने बालबालिका भविष्यमा देशका शासक भए देशको हितमा काम गर्छन् कि भन्ने आशा कथा पढेपछि आउँछ ।

पञ्चपुर : यस कथामा स्वयम्भूबारे पत्र-पत्र केलाएर ज्ञान दिइएको छ । बुद्धको भूमिमा हरेक सुक्खा ठाउँमा मोती फलाउन सकिन्छ भन्ने आशय कथामा छ । कथाले बाल मस्तिष्कमा हरेक संरचना र ज्ञान युगौँयुगसम्म काम लाग्ने तवरले संरक्षण गर्नुपर्छ भन्ने ज्ञान दिन खोजेको छ ।

बुद्धको न्याय : शान्तिका प्रतीक बुद्धले दुष्ट यक्षणीलाई कसरी शान्तिको मार्गमा ल्याए भन्ने कथाले उच्च चेतना बोकेको छ । बुद्धमार्फत कथाकारले बडो दार्शनिक र मनोवैज्ञानिक तवरले ज्ञानको ज्योति खोलेका छन् । मातापितालाई सन्तानको मायाँ कति हुँदो रहेछ कथामा प्रसङ्ग बडो उपयुक्त तवरले बहेको छ । यस कथामार्फत मातापिताले आफ्ना सन्तानलाई गर्ने मायाँ बुझेका सन्तानले भविष्यमा मातापितालाई त्यत्तिकै मायाँ गरे नेपाली वृद्धाश्रममा वृद्ध, वृद्धाको सङ्ख्या कम हुन्छ कि आश गर्न सकिन्छ ।

आविष्कार कला

हरिहरिहरिवाहन लोकेश्वर : बालबालिकाहरू अभिभावक अथवा गुरुको अनुमतिमा अगाडि बढ्नुपर्छ भन्ने प्रसङ्गबाट कथा अगाडि बढेको छ । कठिन समयमा अभिभावकसँग सहयोग र सल्लाह मागे सफल भइन्छ भन्ने सन्देश कथामा छ । हाल पश्चिमा विश्व वेदका मन्त्रमा अनुसन्धानरत छ । कथाले हाम्रा वैदिक मन्त्रमा शक्ति छ तर विधि, विधान र नियमितता आवश्यक छ भनी औलाएको छ । कथाले बालबालबालिकालाई झगडाको होइन प्रेमको बाटाबाट मात्रै अगाडि बढ्न सिकाएको छ ।

स्वयम्भूको यात्रा : विद्यार्थीहरू शैक्षिक भ्रमण गएको पूर्ण अनुभूति हुने कथा छ यो । कथामा आउने नाम आधुनिक विद्यार्थीका नामसँग मिल्ने नाम भएकाले कथा पढ्दा विद्यार्थी अधिक रमाउने कथा छ । कथामा कतै आफ्नो नाम मिल्न सक्छ नभए आफ्नै कक्षाका साथीहरूको नाम त मिल्छ नै । बालबालिका खुसी हुने ज्ञानसहितको कथा छ ।

प्रमाण कागजातहरू कसरी राख्नुपर्छ कथाले सिकाएको छ । पृथ्वीनारायणमार्फत कथाकारले शासक कस्तो हुनपर्छ, हामी बालबालिका कस्तो हुनुपर्छ भन्ने सन्देश दिएका छन् । माग्दैमा हरेक कुरा पाइँदैन भन्ने सन्देश पनि कथामा छ ।

ऐतिहासिक, धार्मिक, पुरातात्त्विक, पर्यटकीयस्थल घुम्न जाँदा गाइड वा जानकार मानिस साथमा हुनुपर्छ भन्ने सन्देश कथामा छ । घुम्न जाँदा एकैछिन आँखाका लागि मात्रै होइन भविष्यका लागि समेत चाहिने ज्ञान सुचना तथ्य सङ्कलन गर्नुपर्छ कथाले बालबालिकालाई यस कुरामा घचघचाएको छ ।

ज्ञानको प्रतीक षट्कोणको जानकारी लगायतका प्रसङ्गले कथाले दैनिक विद्यालय शिक्षकको काम पनि गरेको छ ।

पुरानो स्वयम्भू : समयमै घर फर्कनुपर्छ भन्ने नियमको ज्ञान कथाले दिएको छ । गुरुको सम्मान गर्नुपर्ने बडो अनिवार्य ज्ञान कथामा छ । बालबालिकालाई कमजोर मन होइन विश्वासिलो र संसार जित्ने मन बनाउनुपर्छ भन्ने सन्देश कथाले दिएको  छ ।

 …………

समग्रमा कथाहरू उच्च र जागृत चेतना बोकेको छन् । दैनिकी शैक्षिक संस्थामा पढाइ नहुने तर बालबालिका लागि अत्यावश्यक ज्ञानका कुरा कथामा प्रशस्त छन् ।

कथाका मार्फत कथाकारले नेपालका महत्त्वपूर्ण स्थलको जानकारी कथाबाट पनि दिन सकिन्छ भन्ने नौलो प्रयोग नेपाली साहित्यलाई दिएका छन् । सबै कथाहरू बालबालिकाका लागि मात्रै होइन अभिभावकका लागि पनि उत्तिकै ज्ञानमूलक छन् ।

कथाहरू आधुनिकता र प्रविधि मैत्री बनाउन खोजिएको छ । अझ फेसबुक र युटुबको प्रसङ्ग अनि अन्य सञ्चार माध्यमलाई पनि जोड्न सकेको भए अझ सुनमा सुगन्ध थपिने थियो ।

कथामा इतिहासका कुरा बगेको छ । संवत् खुलाएर महत्त्वपूर्ण मिति पनि बालबालिकालाई दिने सके कथाले दिन खोजेको बहुआयामिक पक्षमा अझ व्यापकता आउने थियो ।

अहिलेसम्म स्वयम्भू भ्रमण नगर्नु भएकालाई यो कथासङ्ग्रह महत्त्वपूर्ण छ नै । अब भ्रमण गर्न चाहानेका लागि यो सङ्ग्रहले गाइडको काम गर्छ । हिजो आँखाले मात्रै  भ्रमण गर्नुभएकालाई आँखाको घुमाइ र सूचनाको घुमाइको अन्तर थाहा पाउन उहाँहरूका लागि पनि यो कथासङ्ग्रह उत्तिकै महत्त्वपूर्ण छ ।

यस कथासङ्ग्रह विवेक सिर्जनशील प्रकाशन र रिभिजिट स्वयम्भू काठमाडौँले संयुक्तरूपमा प्रकाशनमा ल्याएका छन् । पुस्तक कथाले मागे अनुसार रङ्गिन चित्रहरूसहित बहत्तर पृष्ठको छ, जसको मुल्य  ३५०।- कायम गरिएको छ ।