सेवामा शमसेर अली
कालिम्पोङ
दाजु, यसै वर्ष २०२१ मा तपाईंको चौथो कथासङ्ग्रह प्रकाशित भएको छ। नामै कति अनौठो तर मिठो, अरूका भन्दा भिन्नै, आकर्षक र रोचक प्रस्तुति गर्नुभएको छ। तपाईंको यसमा जम्मा सत्रवटा कथासङ्ग्रह समावेश छन्। ‘बिउ भाले’, ‘सोल्दती गोर्खा मोल्तो ब्योनी’, ‘हुटिट्याउँ’ पछि यो चौथो कथासङ्ग्रह ‘आफ्रीन’को कथावस्तु, विन्यास, रूप र बनोट छुट्टै किसिमको छ।
तपाईँले कथाको कच्चा पदार्थ खोज्न अलिक समाज सर्वेक्षण गर्दै खट्नुभएको रहेछ। समाजभित्र लुकेर बसेर व्यक्तित्वहरूलाई खोजी खोजी उनीहरूको विगतबाट नै कथा बुन्न सक्नुभएको छ। कथा खोज्न तपाईँ कश्मिरसम्म जानुभएको रहेछ। त्यहाँ गएर जनताका राय बुझ्नुभएको रहेछ। तपाईँ कालिम्पोङका भित्री गाउँ पनि पुग्नुभएको रहेछ। कहिले मधेस खण्ड पुग्नुभएको रहेछ। दिल्लीको चोरको धार्मिक विश्वास र जीवनको सुधारलाई पनि छेउबाट हेरेजस्तो गरी उतार्नुभएको छ। ‘कटुसको रूख’मा सामाजिक र यौनशोषणलाई देखाएर कलियुगमा पहिलेको पाप पर्लक्क फर्किन्छ भन्ने हाम्रो विश्वासलाई टेवा दिनुभएको छ। बुढेसकालमा आएपछि जस्तै शक्तिशाली पनि मलिन र कारूणिक अवस्था पुग्छ भन्ने धारणालाई यस कथामा देखाउनु भएको छ। ‘कमिलाको बाबु’ कथामा कुनै लगनशील विद्यार्थीलाई एउटा शिक्षकले कमिला नाम राखिदिएकाले उसको बाबुसमेतको नाम कमिलाको बाबु भएको र उसको आरनमा समाजका विभिन्न जातका मानिसहरू आएर तत्कालीन राजनैतिक, सामाजिक आदि गफ गर्ने गरेको, समाजमा एकता, भातृत्व र सद्भावना आदि कायम रहेको तथ्यलाई देखाउनुभएको छ। इच्छेका पराजुली, बमबस्तीका पौड्याल डुमराबस्तीका कर्ने लिम्बू, सन्ते छेत्री, सिन्देबुङ बस्तीका नेवार, भालुखोपका तामाङ, छेत्री आदिको एकार्कामा सद्भावनालाई झल्काउनु भएको छ। यस कथामा कथातन्तु त खासै छैन तर कता कता जीवनवृत्तबाट नै कथावस्तु निर्मित छ।
यसमा रहेको पहिलो कथा ‘आफ्रीन’मा प्रेमको अनौठो रूपको रोचक वर्णन छ। ‘गोरू चोर’ कथामा चतुरबुद्धिको ज्वलन्त उदाहरण पाइन्छ। ‘फस्ट फ्लस’मा कथामा यौन शोषण र नारी शक्तिद्वारा त्यसको प्रतिशोध गरिएको पाइन्छ। ‘स्टेसन मोगलसराय’मा हराएका परिवारका सदस्यको धेरै वर्षपछि पुनर्मिलनको मार्मिक कथा पाइन्छ। हाम्रा समाजमा हराएका मानिस धेरै हुन्छन्। त्यस्ता हराएका मानिसको घटनाक्रमलाई लिएर ‘स्टेसन मुगलसराय’ र ‘हराएको मान्छे’ भन्ने दुईवटा कथामा बडो रोचक र मार्मिक सिर्जना गर्नुभएको रहेछ। ‘मुगलसराय स्टेसन’मा छुटेका परसुराम र उनकी पत्नी दिलमाया धेरै वर्षपछि पुनर्मिलनको मारमिक घटनालाई उतार्नुभएको छ। हराएको मान्छे कथामा लखनउको नबाब नामको गोर्खे केटा अठार वर्षपछि आफ्नो घर गान्तोक गएर आमालाई भेट्छ। उ लखनउ गएर एउटा खुँखार मान्छे भएर धन कमाएको र उडाएको र अन्तमा घर सम्झेर घर पुगेको रोचक कथा बुन्नुभएको छ। ‘चौँरी नाच’ कथामा चौरीको नृत्य गर्ने दलसित सिङ्गापुर जानखोज्ने अन्य जातिको सरकारी अधिकारीको एकोहोरो जिद्दीपनले निम्त्याएको सङ्कट देखाइको छ। ‘साम्प्रदायिक’ कथामा कसरी एउटा चोर पनि धर्मको सही आस्थाका कारण सुध्रिन सक्छ भन्ने सन्देश दिइएको छ। ‘काँस फूल’ कथामा पनि नेपाली श्रीमति र बंगाली श्रीमान् भएका दम्पत्तिको छुटानाम पछि फेरि पुनर्मिलन भएको कस्तो मिठो गरी कथा तुन्नुभएको छ। जातीय र सांस्कृतिक विभेद र जातीय अहम्का कारण एउटा दाम्पत्य जीवन र नै सङ्कटग्रस्त भएको सत्य देखाउनु भएको छ।
‘झुसे पत्रकार’ कथामा पत्रकारको सामाजिक जिम्मावारीको कुरा उठान गर्नुभएको रहेछ। कसरी कसैले कुनै काम पाएर भऩे पत्रकारितामा जाने चलन बढेको उल्लेख पाइन्छ। गाउँ घरका साना ठुला विद्रूपता, विकृति, भ्रष्टाचार, असामाजिकता, अकर्म्यता आदिलाई लिएर रिपोर्टिङ गर्दा केही सुधार आउन सक्ने अवधारणालाई अघि सार्नुभएको रहेछ। समाज सुधारको दायित्व पत्रकारहरूको पनि हुन्छ। छिचिमिरा कथामा अहिलेको कोरोनालाई मुख्य विषयवस्तु बनाउनुभएको छ। कथायिकाको पाखुरे अन्तरे काकाको छोरो वीरमान दिल्ली गएर काम गर्ने हुन्छ। कोरोनाको कहरका कारण दिल्लीबाट कहिले हिँडेर कतै गाडी पाएर, कहिले बाटामा मुसलमानहरूको खानपिनको सहयोग पाउँदै बडो दुःखले कालेबुङ आइपुगेको प्रसङ्ग छ। कालेबुङ आएर क्वारेन्टाइनमा खोलामा बस्नुपरेको पर्सङ्ग र अब उसो अर्काको काम गर्न बाहिर जानुभन्दा आफ्नो खेतीपाती र इलम गरेर खाने भन्ने विचार व्यक्त गर्छ। यसपालिको कोरोना महामारीले यस्ता धेरै युवाहरूलाई आफ्नो खेतीपाती र अन्य उद्योग धन्दा गर्न परोक्ष सन्देश दिएको तथ्यलाई तपाईंले देखाउनु भएको छ, जो प्रशंसनीय छ।
शमसेर अली दाजु, तपाईँका कथामा वास्तविकताभित्र कल्पनाको मिठो जलपले कलात्मक बनाइएको हुन्छ। कथाका शीर्षकहरू नै आकर्षक र प्रतीकात्मक हुन्छ। प्रत्येक शीर्षक रखाइमा नै तपाईँको सौंन्दर्य चेतना पाइन्छ। कथाको बुनाइको तपाईँको कुशलता र सिप रमाइलो लाग्यो। समाजमा नहेरिएका मानिसका, अरूले नदेखेका अनेकौं कुरालाई कसरी कथाका वस्तु बुन्न सक्नुभएको छ। प्रत्येक कथामा नयाँ नयाँ विषयवस्तुको चयन गर्नुभएको रहेछ। कुनैमा कथातन्तु झीना पनि रहेका छन्। तपाईँ एक इस्लाम धर्मावलम्बी भएर होला कता कता शब्दगत र आस्थागत इस्लाम मान्यतालाई अघि सार्नुभएको छ। परम्परागत कथाको शैली, प्रस्तुति, विषयवस्तु र परिपाटी आदिका कारणले नेपाली कथा पाठकका निम्ति यो नयाँ स्वादको रोचक र रमाइलो कुरा ठहर्छ।
शमसेर दाजु, तपाईँको कथावस्तु चयन बडो लोभलाग्दो र सह्रनीलाग्दो छ। अरू कथाकारका आँखा नपुगेको, अरूले नसुझेका कुरालाई सन्धान गरी कथा बुन्नुहुँदो रहेछ। कथाको पृष्ठभूमिमा कुनै ऐतिहासिक तथ्य प्रस्तुत गर्नुहुन्छ। कुनै कथा त कथाजदस्तो नभएर तथ्यहरूको दस्तावेज जस्तो पनि भएका छन्। तर पनि दस्तावेजहरूलाई पनि समावेश गरेर सत्यकथा बुन्न सक्नु नै तपाईंको कथागत शक्ति र सामार्थ्य हो।
हेर्नुहोस् शमसेर दाजु, अहिलेसम्म यत्रा चार-चारवटा कथासङ्ग्रहका अध्ययन गरे कति रमाइला कथा पढ्न पाइन्छ। समाजभित्र के के घटना भइरहेका हुन्छन्, तिनलाई नजिकबाट हेरेर तिनलाई अङ्कन गर्नुभएको छ। कतै तपाईँ डायरी बोकेर समाजभित्र पस्नुहुन्छ होला। कथा खोज्दै जाँदा बुढा पाकासित भेट गर्नुहुन्छ होला, उनीहरूको विगतका रमाइला वा विषादलाग्दा घटनाहरू कोट्याउन लाउनुहुन्छ होला, तपाईँ टिप्दै जानुहुन्छ होला। अझ पहिलो वा दोस्रो विश्वयुद्धका जीवित योद्धाहरू पाउनुभयो भने कति खातिर गेरर कुरा कोट्याउनु हुन्छ होला। तपाईँको युद्ध र योद्धा प्रसङ्गमा कति मजाले चाख लिएर कथा बुन्नुभएको छ। आफ्रीनमा भएको तीनवटा कथाको मूल विषय नै युद्ध प्रसङ्ग रहेको छ।
एउटा कथा बाघवीर मामा भन्नेमा विश्वयुद्धको प्रभावबाट बाघवीर मामाले पनि आफु सेनामा भर्ती नभई ठगीका रूपमा भए पनि विश्व युद्धका परोक्ष सहभागी बनी पेन्सनसम्म भ्याउँछ। अर्कालाई भर्ती पठाएर उसलाई ठगेर पेन्सन थापेर आफु नै सेनामा गएको झुटो कुरा गरेको रोचक कथा कथ्नुभएको छ। मेरो डायरीको पानाभित्र मेजर पुर्ने राई कथामा मलेसियामा अङ्गेजको सेनाको मेजर भएर लडाई गर्ने पुर्ने राईको कथालाई पाठकले सासै नफेरि पढ्ने गर्छन्। मलेसियाको घोर जङ्लमा त्यहाँ स्थानीय गोरिल्ला छापामार समूह र तिनका नेतृत्व गर्ने सिम्फोलाई मारेको रोचक घटनालाई सङ्कलन गर्नुभएको छ। लाहुरेको रेलीमाइ कथामा पनि कालेबुङका वृद्ध अम्बरबहादुर गौतमका विगतको दोस्रो विश्वयुद्धको घटना उपघटनालाई कसरी प्रस्तुत गर्नुभएको छ। आहा! रोचक बनाउऩु भएको छ। यस कथामा बर्माको थुम्का थुम्कामा लडिएका कथा छन्। यो कथा पढ्दा हामी पाठकको आङ सिरिङ हुन्छ, नछोडौं जस्तो लाग्छ। गुराँसको रक्सी कथामा पनि सन्दकपुका चौकीदार धनबहादुर मगरको विगतको प्रेमकथालाई राम्रोसँग बुन्नुभएको रहेछ। गुरासको फूल र त्यसबाट घरबनुवा रक्सीको कथा रोचक छ।
शमसेर दाजु, एउटा कुरा, कथाको भाषा भने भने अलिक बरालिएको छ। वाक्य घुमेका र असमापिका क्रियाको प्रयोग अधिक्यले कतै पाठकलाई दाँतमा ढुङ्गा लागेजस्तो पनि लाग्छ। तपाईंका रोचक, नित्य नवीन र अन्वेषणपरक कथाहरूमा भाषा भने अलिक खारिएको भए तपाईँ विश्वस्तरीय कथाकार बन्नसक्नुहुन्थ्यो। तर तपाईँभित्र एउटा प्रखर कथाकार प्रतिभा छ। तपाईँ एक उम्दा कथाकार हुनुहुन्छ। दाजु तपाईँलाई सलाम। मैले तपाईंलाई सबै राम्रो राम्रो मात्रै देखाएर फुर्काउन खोजेको होइन। कमजोरी पनि केलाउनु उचित हुन्छ।
कथामा कतै तपाईँ द्रुतगतिमा कहिले सुस्तरी कुद्नुभएको छ। कथालाई रोचक बनाउऩ घटनालाई ठाउँ हेरी हेरी घटाउनुभएको छ। कथामा रोचक पृष्ठभूमि तयार पारेर घटना घटाउने कुरामा पाठकलाई पूर्वसङ्केत दिनुहुन्छ। कथाको घटना घटाइसकेपछि त्यसलाई कुनै अन्य प्रसङ्ग तानेर कथामा जोडेर कथा टुङ्ग्याउनु हुन्छ। तपाईंले कथाको नामकरण कस्तो रोचक ढ़ङ्ग गर्नुहुन्छ। कुनै पनि कथाको कतै मूलसार, कतै पात्र-पात्रा नाम, कतै प्रतीक आदिलाई शीर्षकीकरण गर्नुभएको रहेछ। तपाईंको कथासङ्ग्रहको नाम नै कति रमाइला- बिउभाले, सोल्दती गोर्खा मोल्तो व्योनी, हुटिट्याउँ र आफ्रीन। सोल्दती गोर्खा मोल्तो ब्योनी भनेको के हो भन्ने कुरामा खुल्दुली हुँदो कुरा बुझियो इटलेली भाषामा गोकर्खा नराम्रो हुँदैनन् भन्ने अर्थ बोक्छ रे ! तपाईँले ब्रिटिस गोर्खाली सेनाका विषयमा साँच्चै रोचक कुरा खोजीपत्तो लाएर कथाको सामल बनाउनु भएको छ। यसको कारण तपाईँको बाबु नै हुनुपर्छ। तपाईँका बाबु दुई दुई पल्ट गोर्खाली सेनाको जवान भएर काम गर्नुभएको रहेछ। पहिलोपालि सामान्य सिपाही शेरजङ्ग थापा जो बर्माको लडाँमा अग्रिम पंक्तिमा बसेर लडेको प्रसङ्ग छ भने पछिल्लो पालि आफ्नो वास्तविक नाम रुस्तम अलीकै नाममा सैन्य अधिकारी भएर काम गर्नुभएको छ।
दाजु, तपाईँका कथामा वास्तविकता र कल्पनाका मिश्रित संयोजन पाइदो रहेछ। तपाईँलाई नजिकैबाट चिन्नेका लागि तपाईँको कथामा वास्तविकता बढी लाग्छन्। तपाईँलाई व्यक्तिगत नचिन्नेका लागि तपाईँ बढो विचित्रको कथाकार लाग्न सक्छन्, जहाँ कथागत वैभिन्न (Variation) हुन्छन्। तपाईंका कथाभित्र सांस्कृतिक चेतना पनि पूरा पाइन्छन्। तपाईंले मुखाल्नी मैयाँ भन्ने कथामा कसरी गुन्द्रुक तयार पारिन्छ, त्यसको बडो स्वादिलो वर्णन गर्नुभएको छ। आफ्रीन कथासङ्ग्रहमा पनि कमिलाको बाबुमा आरन र त्यससम्बन्धी औजार, छिचिमिरा कथामा सानामा छिचिमिराको शिकार गरेको र एकचोटि छिचिमिरा बाहिर निस्के मरिहाल्ने प्रसङ्ग र तिनलाई कोरोनाको समयमा घर फर्कने श्रमिकहरूसित सांकेतिक तुलना, काँसको फूलमा जन्मदिनको प्रसङ्ग, स्टेसन मुगलसराय कथामा भुटानको भित्री नेपाली गाउँको आदि विभिन्न सांस्कृतिक प्रसङ्गको उल्लेख गर्नुभएको छ। तपाईँका कतामा पूर्वसन्दर्भ, सङ्कथन, सांस्कृतिक अध्ययन आदिलाई उतार्नुभएको पाइयो।
दाजु, अन्तमा तपाईँको मष्तिष्कमा कथाको मुहानबाट कथा अझै आइरहुन्, अझै राम्रा राम्रा कथाको कल्पना गर्दै लेख्दै गर्नुहोस्। तपाईँले कति भव्य रूपमा कथासङ्ग्रहको लोकार्पण समारोह आयोजना गर्नुहुन्छ, अझै नयाँ नयाँ कथासङ्ग्रहका पनि त्यस्तै भव्य रूपमा लोकार्पण समारोह अझ फाइभस्टार होटेलमा भएको देख्न पाउँ भन्दै तपाईँको सुस्वस्थ्यको कामना गर्दछु।
उही तपाईँको कथाको एक सच्चा पाठक
नवीन पौड्याल, कालिम्पोङ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।