वि.सं. २००२ साल मङ्सिर २९ गते साँगादिन ताप्लेजुङमा जन्मिएका नकुल काजी नेपाली साहित्यलेखनमा वि.सं. २०१९ सालमा यौवन तृष्णा कवितासङ्ग्रहमार्फत देखा परेका साहित्यिक सर्जक हुन् । पेसाले अजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका सशक्त कलमजीवि पत्रकार रहेका छन् । काजी विज्ञान विषयमा स्नातक भए पनि नेपाली भाषा साहित्यको उत्थानमा जीवनको उत्तरार्ध चरणमा पनि उत्तिकै सक्रियताका साथ लागिरहेका छन् । २०१९ को यौवन तृष्णादेखि २०६९ सालको गणतन्त्र र गौँथलीको बाउ (निबन्धसङ्ग्रह) सम्म आइपुग्दा काजीले डेढ दर्जन पुस्तककार कृति नेपाली साहित्यलाई उपहार दिइसकेका छन् । काजीका हालसम्म प्रकाशित कृतिहरूको सूचीलाई हेर्ने हो भने यौवन तृष्णा (कवितासङ्ग्रह २०१९ ) जीवन प्रश्न (कथासङ्ग्रह), मुना (खण्काव्य २०२०) सागर (उपन्यास २०३५), समस्या (उपन्यास २०२५), शान्ति (उपन्यास २०३६), गौरी (उपन्यास २०२७), विद्रोह बोल्छ (खण्डकाव्य २०३७), मेरो देशको कविता (कवितासङ्ग्रह २०३६), सगरमाथाको शान्ति सन्देश (२०३१), युद्धको दुर्व्यसन (कवितासङ्ग्रह २०६६) क्रान्तिको पहिलो चरण (उपन्यास २०६८) र गणतन्त्र, गौँथलीको बाऊ ( निबन्धसङ्ग्रह २०६९) र घरहरू भत्किरहेछन् (उपन्यास २०७१) जस्ता गहकिला कृति नेपाली साहित्य जगत्‌मा आइसकेका छन् ।

नकुल काजीले वि.सं. २०२७ सालदेखि झापा जिल्लालाई कर्मथलो बनाएर व्यावसायिक पत्रकारिता सुरु गरेर यही झापाली माटामा व्यावसायिक पत्रकारिताको महाविद्यालयका रूपमा झापाली पत्रकारितालाई स्थापित हुने वातावरण बनाउन पुगे । स्तरीय भाषा, चोटिलो व्यङ्ग्य, समसामयिक विकृति, विसङ्गतिप्रति प्रहार गर्न खप्पिस काजी राष्ट्रवादी स्वर उराल्ने सशक्त सर्जकका रूपमा आफूलाई दऱ्याउन सफल स्रष्टा हुन् । काजीको पछिल्लो कृतिका रूपमा आख्यानात्मक उपन्यास “घरहरू भत्किरहेछन्” नेपाली साहित्यको बजारमा आएको सामाजिक विषय केन्द्रित कृति हो । नेपालमा टड्कारो समस्याका रूपमा देखिएको वैदेशिक रोजगारी र त्यसबाट समाजमा परिरहेको नकारात्मक असरलाई आख्यान बनाइएको यो उपन्यास सशक्त विषय उठाएर पनि छायामा परेको कृति हो । समाजको वास्तविकता स्थलगत अनुगमन गरी लेखिएको यस कृतिले राष्ट्रिय मूलधारको साहित्यिक समाजको विभेदकारी नजर खपेको हो कि भन्ने चर्चाविहीन अवस्थाले दर्साउँछ ।

वैदेशिक रोजगारीलाई मूल विषयवस्तु बनाएको यस उपन्यासले तीन दशकयता नेपाली अर्थतन्त्रमा प्रमुख हिस्सा ओगटेको वास्तविकता बिर्सिएर नेपाली शासकहरू वैदेशिक रोजगारका बाध्यता रोकेर स्वदेशमै केही गर्ने मौका निर्माणमा चुकेको तीतो वास्तविकता नै विकृत समाज निर्माणको आधार भएको रहस्य बोकेर आएको छ । सरकार मुलुकभित्रै जीवित ऊर्जाशील मस्तिष्क र क्षमतावान् पाखुरा परिचालन गर्न नसक्ने तर कुर्सीमा आसीन रहन सुखी र समृद्धिका नारा बेचेर आफ्ना देशका नागरिकलाई विदेशमा दास बनाइरहेकोप्रति चोटिलो प्रहार बोकेर यो उपन्यासले आख्यान बुनेको छ ।

देशमा रोजगारी सिर्जना गर्ने वातावरण छैन । पेट पाल्न साहु महाजनको घरमा घरवारी बन्धकी राखेर युवा पुस्ता विदेश हानिनु पर्ने विडम्बना छ । राजनीतिले परिवर्तनका विभिन्न चरण पार गरे पनि शासकीय स्वरूप होइन व्यक्ति मात्र परिवर्तनको बाटो लाग्दा चंखे चतुरे कै राज बलियो भयो । भ्रष्टाचार, दुराचार, ठगी, तस्करी जस्ता माफियागिरिले समाज जगट्न सफल हुँदा गरिखाने मेहनती र इमानदार युवायुवती देश छोड्न बाध्य बने । स्वतन्त्र र अभिभाज्य मुलुक भनिएको नेपालमा शासकीय शक्ति कसले र कसरी चलाइरहेको छ ? नातावाद, कृपावाद, फरियावादभित्र समेटिन नसक्ने युवायुवती खाडी मुलुकको तातो बालुवामा पसिना चुहाउन जानुपर्ने बाध्यता नै नेपाली समाजको यथार्थ हो ।

देशलाई भत्कोस लाग्ने प्रमुख कारण वैदेशिक रोजगार हो । जबदेखि विदेश पलायनका लागि युवायुवतीलाई बाध्य बनाइयो तबबाट नेपाली समाजमा घरहरू भत्कन थालेको चित्र उपन्यासको कथानक बनिएको छ । जवानीले भरपुर युवतीलाई विवाह गरी यौनिक सुखमा रमाउन सिकाएर पुरुष बिदेसिएपछि जैविक चाहनाले यौनको उन्माद बिस्तारै छाडापनतिर ढल्कँदै गएको तथ्य उपन्यासले खोतल्न खोजेको छ । छाडापनमा अलमलिएको यौनिक मेला—बजार जताततै बरालिने माध्यम बनिँदा सुन्दर घरहरू भत्कन थालेको तथ्य वैदेशिक रोजगारले पतिवियोग वा पत्नीवियोग जन्माएर विकृत भएको हो । पैसाले मात्र जैविक चाहना पूरा हुँदैन । अतृप्त कामवासनाले दाम्पत्य जीवन विघटन हुन पुग्दा समाजका सग्ला घरहरू टुक्रा—टुक्रा भई बुढा आमाबाबु र कलिला छोराछोरी नराम्ररी प्रभावित भइरहेका छन् । यी सबै विकृतिको जग वैदेशिक रोजगार हो ।

यस उपन्यासमा विशेषगरी नेपाली समाजका नारी वर्गमा वैदेशिक रोजगारीमा गएको पतिवियोगबाट जैविक आवश्यकता पूर्ति नभएपछि परपुरुष रोज्ने आदत लागेको प्रस्ट्याउन खोजिएको छ । बिदेसिएको लोग्नेले रगत-पसिना गरी कमाएको पैसा पराई नाठाहरूको रजाइँ चलेकोप्रति यथार्थ चित्र उतारिएको छ । परदेशबाट आएको पैसा उत्पादनमूलक क्षेत्रमा खर्च हुन नपाउनुका पछाडि मोजमस्ती रूपी शहरीकृत सोच र एकल विलासी जीवनशैली भएको उपन्यासले देखाएको छ । नारी पात्रमात्र प्रमुख भूमिकामा उभिएका यस उपन्यासले नेपाली समाजको पछिल्लो समयखण्डको वास्तविकता चित्रण गरेको छ । पूनम प्रमुख भूमिकामा देखिएकी यस उपन्यासको कथानक अर्थात् विकृत यौनकीप्रतिनिधि पात्र हो जसले अत्याधुनिक शैलीलाई एकाएक नेपाली समाजमा ल्याएर मोजमस्तीका रूपमा परपुरुषसित यौन लीलामय जीवनमा दिनचर्या बिताएकी छ । यो क्रम लगभग समाज नै भएर वैदेशिक रोजगारमा गएका श्रीमान्‌का श्रीमतीहरू गाउँ छोडेर सहरी डेरामा नाठा, रखौटा, स्त्रीलम्पट दुराचारी पाल्ने परम्परा नै विकृति रहेको उपन्यासले चित्रण गरेको छ । वैदेशिक रोजगारीले गाउँसहरका भत्किरहेका घरहरू नदेख्ने सरकार विप्रेषणको फुर्ती देखाएर समाज विकृत पारिरहेकोप्रति व्यङ्ग्य समेत गरेको छ ।

नेपाली समाजको यथार्थचित्रण गरेको यस उपन्यासले समाज आर्थिक रूपमा जर्जर हुँदा सीमित समस्यामा थियो तर आर्थिक उन्नतिका लागि सात समुद्र पार गरेर उर्वर जवानी बोकेर पुरुष परदेश लागेपछि मस्त जवानीमा रहेकी नारी आर्थिक उन्नतिसित जैविक सुख खोजी गर्न विकृत यौनको खेलमा परेको चित्रणले टुक्रँदै गएको नेपाली परिवार तथा अलपत्र बालबच्चा र बुढाबुढीको पीडा समेत उपन्यासले समेटेको छ । नालायक सरकारका कारण एक करोड हाराहारीका नेपाली युवाको यथार्थ घटना र नाङ्गो शब्दचित्र बनेर आएको यस उपन्यासले उठाएको विषयवस्तु हरेक घरपरिवारसित कहीँ न कहीँ जोडिएको छ । गहिरो विषय र चोटिलो आख्यान बोकेको यस उपन्यासले चर्चा पाउन नसक्नु काठमाडौँबाहिरका साहित्यिक कृति रद्दीको टोकरीमा फालिन्छन् भन्ने भनाइको चरितार्थ हो ।