साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

समीक्षा : साहित्यको नवीन विधाबाट जीवन दर्शन

डा. ब्यन्जना शर्मा द्वारा लिखित ” घाम अस्ताएको होइन” एकै बसाइमा सकिने एउटा अत्यन्त हृदयस्पर्शी कृति हो  जसलाई वहाँले आत्मसंलापको संज्ञा दिनुभएको छ । एउटा यस्तो घटना  जसले लेखकलाई  आफू भित्रको अध्यात्म अनि पारलौकिक जगतको रहस्य खोज्न प्रेरीत गर्यो ; आफ्नी जननी ; आफ्नी आमाको देहावसान त्यो पनि आफू भौतिक रुपमा टाढा रहेको बेला । यसो त यस्तो घटना हाम्रो लागि पहिलो होइन, धेरैको जीवनमा देख्न अनि सुन्न सकिन्छ । धेरैले आफ्ना माता, पिता, सन्तान, सहयात्री गुमाएका हुन्छन तर सहजताको लागि सबैले यो मार्ग समातेका हुन्नन ।अझ  स्पष्ट भन्नुपर्दा मृतकको आत्मासङ यस किसिमको कुराकानी ; जसको कारणले पिडा भै रहेछ त्यसै लाई औषधी बनाउने एउटा अचुक ‘प्रेस्कृप्सन’ अत्यन्तै सहज मार्ग रहेछ भन्ने स्पष्टता पुस्तक पढिसक्दा महसुस हुन्छ । आत्मसंलाप ; साहित्यको एक नवीन विधालाई अंगालेर आफ्नो जीवन दर्शनलाई प्रस्फुटित पार्न  डा. ब्यन्जना यस कृतिमा  अत्यन्त सफल हुनुभएको छ ।

अस्ट्रेलियामा आफ्नो परिवारसँग विद्यावारिधीको सिलसिलामा पाँच वर्ष देखि रहँदै आएको अवस्थामा अचानक एक दिन टेलिफोनको घन्टीले एउटा दुर्घटनाको सूचना दिन्छ; लेखकको आमाको देहावसानको खबर जसले उहाँको जीवनको भौतिक पक्षलाई नराम्ररी हल्लाइदिन्छ; हृदयको भोटेताल्चा फोडिदिन्छ त्यो कम्पनले र एकतीस दिनको पराकम्पन पछि जुन किसिमको तत्त्वज्ञान वहाँलाई प्राप्त भएको छ यसको वर्णन हो यो पुस्तक ।

भौतिक शरीर छोडेर पारलौकिक जगतमा पुगेपछि पहुँच खुल्ला भएर दिवंगत आमा आफूसँग अस्ट्रेलियामा नै रहनु भएको विश्वास गर्नुहुने डाक्टर शर्मा आफूलाई यस घटनाले मृत्युपछिको जीवन बुझ्न घच्घच्याएको मान्नुहुन्छ ।( २१)

यस्तो घटना सुने लगत्तै देखिको आफ्नो मनमा भएको हलचलको एक एक वर्णन प्रत्येक दिन गरेर लेखकले एकतीस दिन बिताउनु भएको छ र त्यो एकतीस दिनमा उहाँ बारम्बार बिन्दुको सेरोफेरोमा जाँदै फेरि बाहिर निस्कदै गर्नुभएको देखिन्छ ।  कहिले उहाँ आफ्नो वरिपरिको चराचुरुंगी, फूल, बोटबिरुवामा नै आमालाई पाउनुहुन्छ त कहिले बिक्षिप्त भएर  आफैसँग रिसाउनुहुन्छ । ” यतिका वर्षमा हजुरलाई भेट्न जाने मौका कहिल्यै नआएकोमा झनक्क रीस उठ्यो- परिस्थिति  र आफै देखि, डाँको छोडेर रोउँ जस्तो भयो । ” (४७)

लेखकको यो आफ्नी आमालाई गुमाए पछिको आत्म संलाप पढिरहँदा धेरै ठाउँमा मलाई द्रवित तुल्यायो सायद मैले आफूले पनि यसैगरी बाबु गुमाउँदाको पल सम्झे ।  त्यतिबेला मैले पनि दुईवटा चिट्ठी त लेखेकी रहिछु आफ्नो बुबालाई तर यसरी क्रमैसँग लगातार नलेख्दा मलाई आफ्नो मनको उपचार गर्न निकै वर्ष लागेछ ।

अब म यहाँ आफुले यस सङ्ग्रहमा अनुभव गरेको केही त्यस्ता घतलाग्दा  पक्षहरू बारे  चर्चा गर्दछु जसले गर्दा यो आफैंमा पृथक छ,  उदाहरणीय छ र आफ्नो निकटतम गुमाउनेको लागि मार्गदर्शन बनेको छ ।

तत्त्वज्ञानले भौगोलिक दुरी हटाउँछ :

 चैतन्यमा एकाकार भइसकेपछि त्यसको प्रतिविम्ब जहाँ जहाँ पर्छ त्यसैमा आफ्नो गुमाएको निकट देखिनु भौतिक दुरीको अन्त्य हुनु हो । लेखकले आफुलाई सम्हाल्दै पाँचौं दिन जब काममा जाने साहस गर्नुहुन्छ बाटोमा देखिने प्रकृतिका हरेक तत्वमा आमाको प्रतिविम्ब अनुभूत गर्नुहुन्छ ” घामले दिने न्यानोपन, हावाले दिने शितलता, जूनले दिने उज्यालो, ताराले दिने चमकमा म मुवाकै मायाको अनुभूति गर्न सक्छु ।” (१८) यो अनुभूत गर्नु भनेको मान्छे बिन्दुमा पुगेको अवस्था हो भन्ने मलाई लाग्दछ । यद्यपि त्यहाँ टिकिरहन हामीलाई आफ्नै मन, बुद्धि अनि इन्द्रियले साथ दिदैन र बारम्बार  तानेर फेरि भौतिक जगतमा ल्याइदिन्छ ।  तर बेला बेलामा त्यो तहमा पुग्नु भनेको चैँ आफैंलाई अध्यात्ममा चुस्तदुरुस्त ( अपडेट )राख्नु  हो ।

रन्जु पाण्डे

शोकाकुल समयको अवस्था:

सम्बन्धित पोस्टहरु

लघुकथा- बैगुनी बिउ

 जब कुनै दुर्घटना हुन्छ र आफ्नो भौतिक या भावनात्मक क्षति हुन्छ तब सामान्यतया मान्छे शोकले छट्पटाउछ र त्यस्तोबेला उ  पाँचवटा अवस्थाबाट गुज्रन्छ ।  अस्वीकार , क्रोध , घुर्की , निराशा र स्वीकार । आफुमा आउने यस अवस्था बारेमा अधिकांश पीडितहरू अनभिज्ञ रहन्छन् र ‘ यो आफूलाई के भइरहेको हो ‘  थाहा नपाएर बारम्बार विक्षिप्त हुन्छन । आफ्नी दिगंवत हुनुभएकी आमासङको भलाखुसारीको क्रममा यस कुराको जानकारी समेत दिनु भएर लेखकले  थुप्रै पीडितलाई  आफ्नो अवस्था बुझेर आफूलाई सम्हाल्न सजिलो बनाइदिनु भएको छ ।

मनको शुद्धता कति शक्तिशाली:

भौतिक शास्त्रका प्राज्ञता अनि अध्यात्मिक स्रष्टा डा.भुवन पाण्डेको अद्वैत वेदान्त बारेको एउटा टेलिभिजन अन्तर्वार्ताले म निक्कै प्रवाहित भएकी छु जसलाई यस पुस्तक अध्ययन पश्चातको समीक्षामा जोड्नु पर्दा जीवनमा सबै घटनाहरु समुद्रका छालजस्तै हुन् । सानो छाल, ठूलो छाल, अझ भयंकर छाल ।  प्रत्येक छाल समुद्रको प्रतिबिम्ब हो भने समुद्र चाहिँ ईश्वरीय तत्व हो ।  जब छाल उर्लन्छ तब मात्र समुद्र प्रतिबिम्बित हुन्छ आफैंभित्रको ईश्वरीय तत्व ।  अनि जब त्यो प्रतिबिम्बित हुन्छ तब मन पखालिन्छ र पखालिएपछिको शुद्ध मन निकै नै शक्तिशाली हुन्छ । त्यस्तो मनको प्राथना सिधै इश्वरीय तत्वमा ठोकिन पुग्छ । आफ्नो अद्वैत वेदान्त दर्शनलाई लेखकले धेरै ठाउँमा सहज मार्ग बनाउँदै त्यहाँबाट यसरी हिड्नु भएको देखिन्छ ,” मलाई मानव आत्माको अमरत्वप्रति गहिरो विश्वास जागेर आएको छ ।  मनको शुद्धता कति शक्तिशाली हुँदो रहेछ भन्ने कुरा म बुझ्दै छु । साँच्चै नै कसैले एकाग्र चित्तले तपस्या गर्छ भने उसले भगवानको साक्षात दर्शन पाउन सक्ने कुरा ज्यादै कठिन भएपनि दुर्लभ चाहिँ होइन रहेछ ।” (४३)

अध्यात्ममा पश्चिमाको विश्वास:

आफूमा दिनप्रतिदिन दृढ हुँदैगएको अध्यात्मिक चेतना ज्ञानको लागि लेखकले यस आत्मसंलापमा केवल आफ्नो मनभित्रका उतारचढाव मात्र  पोख्नु भएको छैन बरु आफुले थुप्रै पुस्तक अध्ययन गरेर  पारलौकिक दुनियाको अस्तित्वको बारेमा पश्चिमाहरुमा धेरै खोजी अनि जनविश्वास रहेको कुरा त्यसको उदाहरण सहित प्रस्तुत गर्नु भएको छ । त्यति मात्र नभै अझ गहिरिन चाहने पाठकहरुको  लागि उनीहरु द्वारा लिखित पुस्तकको लामो सूची समेत सन्दर्भमा प्रस्तुत गरि दिनु भएको छ (१०४)

जुली सोस्किनको “आर यू साइकिक ?’ ( तपाईं आत्मासँग संवाद गर्न सक्ने व्यक्ति हो ? ) भन्ने किताबमा उल्लेख भएको यो अंशले लेखकलाई निकै छोएको छ , ” हामी आफ्नो दैनिक जीवनमा यति विध्न व्यस्त छौं कि हामीलाई यो मायावी संसार भन्दा पर्तिर पनि मानव अस्तित्व भेटिन सक्छ भन्ने सोच्न समेत फुर्सद हुँदैन । तर जब आफ्नो सबैभन्दा नजिकको व्यक्तिको मृत्यु हुन्छ तब मात्र हामीलाई ‘आखिरमा मृत्युपछि मानिसको आत्मालाई के  हुन्छ?’ भन्ने तीव्र खुल्दुली पैदा हुनसक्छ । ” (३६)

प्रत्येक दिन आफ्नी दिगंवत आमासँग यसरी कुरा गरिरहँदा आफ्नो मानसिक उपचार भै रहेको  र निदाउनको लागि औषधि खान नपरेको यथार्थ उहाँको क्रमिक लेखबाट स्पष्ट हुन्छ ।

यस पुस्तकबाट मैले सिकेको एउटा महत्वपूर्ण व्यवहार,  स्वजन वा प्रिय व्यक्ति गुमाएर शोकमा बसेका क्रियापुत्री तथा आफन्तहरु आफ्नो प्रिय दिवंगतलाई सम्झेर बिहल भई कमजोर नभइदिउन् भन्ने मनसायले फलफूल लैजाने परम्परागत चलनमा अब मानसिक कमजोरीको उपचारको लागि त्यतिबेला उनीहरूको मनभित्रको ज्वारभाटा उकुसमुकुस पोख्न सकियोस भनेर एक-एकवटा कलम र कापी पनि लगिदिने परम्परा बसाल्नु जरुरी छ जसले उनीहरुलाई चाँडै भन्दा चाँडै घटनाको स्वीकारोक्तिमा पुग्न सघाउ पुर्याउने छ ।

यसरी आफ्नो जन्मभूमि बाट टाढा आफ्ना केही सीमित आफन्तसँग रहँदा आफ्नो अत्यन्त निकटतम गुमाउनु पर्दाको पीडादायी मनलाई  एकतीस दिनमा यसरी सुरक्षित अवतरण गर्न सफल लेखिका डा. ब्यन्जना शर्माले थुप्रै पीडित अनि पाठक वर्गलाई एउटा राम्रो सन्देश दिनुभएको छ कि जब आफुले आफुलाई बुझ्न र बुझाउन सकिन्छ तब मात्र सही अर्थमा मनको उपचार हुँदोरहेछ र मन भन्दा परको ज्ञान अनि अनन्य माया कोषमा उता अस्ताएको घाम यता झुल्किदो रहेछ भन्ने कुराको यथार्थ बोध हुनेछ ।

घामलाई डाँडाले छेक्दैमा  अस्ताएको कहाँ हुन्छ र ?  त्यो त हामी कुन स्थानमा उभिएर प्रकाशलाई हेर्दै छौ त्यसमा भर पर्छ भन्ने सांकेतिक विम्बलाई आफ्नी आमासङ जोडेर आमा पारलौकिक जगतमा उदाएको ब्याख्या गरिएको यो पुस्तक समग्रमा आफ्नो अौषधि आफै बन्न  एउटा सिर्जनात्मक रचना मात्र नभई शरीर भन्दा बाहिरको अस्तित्वलाई स्वीकार गर्ने; आत्मसात गर्ने; प्रेरित गर्ने एउटा साँचो पनि हो ।

प्रतिक्रिया
Loading...