एउटा यायावर स्रष्टाले कुर्कुच्चा छिया-छिया पारी-पारी आफ्नै पसिनाले कमाएको यात्राको वैयक्तिक अनुभूतिलाई आफ्नो लेखनीको मसी बनायो । सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक र सामाजिक बिम्बहरूलाई टपक्क टिप्यो । रोमाञ्चकारी प्रसङ्गहरूका अलङ्कार बनायो र त्यही पसिनाको मसीमा घोल्यो । त्यसैमा कला र शिल्प भऱ्यो । शब्दहरूको चित्र बनायो अनि थपक्क थमाइदियो आफ्ना पाठकहरूका हातमा ।

अब भन्नुस्, त्यस्तो नियात्रा पढ्ने पाठकवर्गले कस्तो अनुभूति गर्छन् होला ?

यस्तै रोमाञ्चकारी यात्राको सँगालो हो प्रतीक ढकालको नवीनतम नियात्राकृति ‘त्यो उज्यालो कर्णाली’ । यो नियात्राभित्रको मोहनीमय यात्रामा विचरण गर्दा लाग्छ, दैवले म आफैँलाई रोज्ने अवसर दिने हो भने पनि योभन्दा रमाइलो जीवनको त म कल्पनै गर्न सक्तिनँ ।

त्यो उज्यालो कर्णाली

अनुसन्धानमूलक लेखन । नदीजस्तै कञ्चन प्रवाह । प्राञ्जल भाषा । अनौपचारिक शैली । गहन बौद्धिक खुराक । उत्कृष्ट रचनाकौशल र निर्भीक प्रस्तुति प्रतीक ढकालका लेखनीका विशेषता नै हुन् । हिमालको विचित्रता, रहस्यमयता, वर्णनातीत सौन्दर्य, रौद्ररम्यता, अविचलता, गरिमा र ओज खोज्दै नेपालको उच्चतातिरै लम्किने ऊर्ध्वगामी नियात्राकार हुन् प्रतीक ढकाल जसले ‘वियोन्ड द हिमालयाज’ (२०५९) देखि ‘त्यो उज्यालो कर्णाली’ (२०७८) सम्म आइपुगेर १० वटा किताब लेखिसक्दा पनि हिमालकै गीत गाएर थाकेका छैनन् । हिमाली जिन्दगीका भाका सुनेर अघाएका छैनन् । राष्ट्रप्रेमी नेपालीहरूलाई ब्युँझाउन छाडेका छैनन् ।

अचम्म लाग्छ, मधेसको धुलोमाटोमा हुर्किएको एउटा बाहुन जातको नियात्राकारलाई यति ठूलो जिम्मेबारीबोध कसरी भयो होला ? छातीभरि देश बोकेर हिमाली क्षेत्रको अथक यात्रा गर्ने प्रेरणा कसले भरिदियो होला ? अनकन्टार ठाउँमा एक्लो यात्री बनेर सेर्पा पनि लड्ने बाटामा यात्रा गर्ने यस्तो दुस्साहसी आँट कहाँबाट पलायो होला ?

देशले सधैँ अँध्यारो ठानिरहेको ठाउँ— कर्णाली । रोग र भोकको बिम्बका रूपमा उभ्याइएको ठाउँ— कर्णाली । भौगोलिक विकटता र चेतनाको पछौटेपनको उपमा दिइएको ठाउँको पनि राजधानी नै हो— कर्णाली । मुलुकको सक्कली राजधानीले कहिल्यै पनि हार्दिक स्पर्श गर्न नचाहेको ठाउँ— कर्णाली । त्यही कर्णालीको गर्भमा जगमगाइरहेका हिराको खोज गरे र सम्भावनाको उज्यालो मार्ग पनि पहिल्याइदिए प्रतीक ढकालले र गौरवसाथ आत्मा साक्षी राखेर भने— ‘त्यो उज्यालो कर्णाली’ ।

‘त्यो उज्यालो कर्णाली’ को मोहक नियात्राले पाठकलाई चुम्बकले फलाम तानेजस्तै तानिरहँदो रहेछ । पाठकले थाहै नपाई उसको हृदय सुमसुम्याउँदो रहेछ । मस्तिष्क झन्न झन्न पारिरहँदो रहेछ । घर बसी-बसी सुदूरका गाउँबस्तीसँग अन्तघुर्लित गराउँदो रहेछ । अपरिचितहरूसित हार्दिकता साटिदिँदो रहेछ । अन्तरङ्गमा डुबेझैँ अनि अन्तरङ्गबाट ब्युँझेझैँ पनि तुल्याउँदो रहेछ । फकाई-फकाई हिँडाउँदो रहेछ । हिँडाउँदाहिँडाउँदै पसिनाले निथ्रुक्क भिजाउँदो रहेछ । थकाइले लस्त बनाउँदो रहेछ । मीठो दुखाइको अनुभूति पनि दिलाउँदो रहेछ ।

कस्तो अनौठो लेखन !

भवानी खतिवडा

कृतिभित्र अनेकौँ रोमाञ्चकारी प्रसङ्ग छन् । पाठकले कल्पनै नगरेका विचित्र-विचित्रका खुराकहरू छन् । प्रेरक सूचनाहरू छन् । सूक्तिमय विचारहरू छन् । स्रष्टा भन्छन् “कर्णालीले त मान्छे मर्दा पनि बाजा बजाएर मृत्युलाई सम्मान गर्दो रहेछ ।” इन्द्रलाई थर्काउँदै शानसँग बिदाइ गर्दो रहेछ— “हे इन्द्र, तिम्रो राज्यमा यहाँबाट हाम्रो मान्छे पठाएका छौँ । याद गर्नू, राम्रो स्वागत गर्नू, यी मान्छेलाई सुनकै ओढ्ने ओछ्याउनेसहित वासको सम्पूर्ण प्रबन्ध मिलाउनू ।” यति गर्विलो संस्कृतिले सम्पन्न भूमि अन्त कतै होला र ? स्रष्टाले कति शालीन र मिहिन ढङ्गले उधिन्न सकेका होलान् यस्ता तथ्यहरू ! हामी पाठकलाई पनि आश्चर्य लाग्छ ।

आफ्नै देशको माटाभित्र लुकेका यस्ता गर्वको कथा जान्न पाउँदा हर्षले अभिभूत भएँ म र रोएँ पनि ठाउँ-ठाउँमा । हीनताबोध पनि भयो— कठै, मलाई मेरै देशका बारेमा पनि थाहा छैन !

एउटी आमा शिक्षित हुनु भनेको त्यो परिवारमै असल संस्कारको बीजारोपण हुनु पनि हो । अझ त्यसमाथि पनि ठाउँ जति अविकसित छ– त्यहाँका लोग्नेमान्छेको व्यवहार त्यति नै बढी सामन्ती प्रकारको हुने पाएको छु मैले । यही सामन्ती संस्कारलाई तोड्न पनि यहाँका महिलाका हातमा २/४ पैसा आय हुनु जरुरी छ र यही कलेजले बिस्तारै त्यो अवसर दिँदै छ भन्ने मेरो मनले मान्यो ।

मैले बाटाबाटै त्यो विद्यामन्दिरलाई नमस्कार गरेँ । किन-किन मैले त्यहाँ आँखाभरि आँसु भरिएकी तर एउटा हातले पुस्तक र अर्को हातले नानी च्यापिरहेकी साक्षात् सरस्वती नै उभिइरहेकी देखेँ ।”

दुर्गम गाउँमा शैक्षिकसंस्था देख्दा नियात्राकारले उघार्नुभएको चेतनाको विस्तारित क्षितिज हो यो । के यति फराकिलो सोच आम नेपालीको होला र ? अभिव्यक्तिको यो शैलीमार्फत तमाम नारीवर्गप्रति दर्साएको सम्मान कुनै नाम चलेको पुरस्कारभन्दा कम छ त ? त्यस्तै ‘बिस्वाँ’ पर्वको कुरो आउँछ र लेखक भन्छन्— “एक दिन भए पनि रमाएछौ चेलीहरू, तपाईँहरू रमाएको देख्दा यो अपरिचित दाइ पनि असाध्यै खुसी भयो है !” पढ्दापढ्दै आँखा भरिन्छन् । टाढै रहेका लेखकप्रति पनि भावनामै नतमस्तक बन्छु । अनि कति हो कति गौरव महसुस गर्छु— हामी महिलाको दुःख बुझेर हाम्रै मर्म यसरी लेखिदिने पुरुष लेखक पनि त हाम्रै नेपालमा छन् नि !

कर्णालीकै एउटा गाउँ जहाँ चुरोट बिँडी खाने कुराको खिसी टिउरी गरिन्छ रे । अग्रगामी सोच भएका मान्छेहरूको बस्ती पनि त रहेछ नि कर्णालीमा । चेतनाको यो उज्यालो किन देख्तैन सिंहदरबारले भनेर पेचिलो प्रश्न गर्छन् नियात्राकार । लाग्छ, यो कृति सरकार सञ्चालकहरूका निम्ति पनि एक मार्गदर्शक दस्ताबेज हो ।

नेपाली सेनाका एक जना मेजर र उनकी पत्नीको चुरीफुरीप्रति पेचिलो व्यङ्ग्य गर्दै उनी विनम्र शैलीमा बोल्छन्– तपाईँले यी सिपाही दर्जाका मान्छेभित्र पनि ‘मान्छे’ देख्न थाल्नुभएको दिन कति सुन्दर हुँदो हो ! यसो कल्पना गर्नुस् त मेजरसा’ब । के त्यो दिन सृष्टिमा फूलैफूल फुल्दैन र ?”

शासन व्यवस्थाले उपेक्षा गरेका वर्ग, तह र तप्काका मान्छेहरूप्रति स्रष्टाले गरेको सम्मान उस्तै प्रेरणादायी र अनुकरणीय छ । “हामी त नदेखेका भगवान् ‘विश्वकर्मा’ को पूजा गर्ने र गाउँका वास्तविक विश्वकर्मालाई चाहिँ हेला गर्ने रोगबाट मुक्त भइनसकेका मान्छे । आज पनि दलितका नाममा ती प्राचीन इन्जिनियरका सन्तानहरूलाई होच्याइरहेका छौँ जो एक टुक्रा कपडा भेटे पनि कट्टु सिलाएर कसैका पुर्खाको लाज बचाइदिन्थे । जो एक टुक्रो सुन/चाँदीबाट इच्छित गहना बनाएर हाम्रै पुर्खाको बिहेवारीको बाटो फुकाइदिन्थे । जो एकटुक्रा काँचो छाला भेट्दा पनि खुसी भएर कसैका खुट्टालाई काँडाबाट बचाउने जुत्ता बनाइदिन्थे । जो कठोर ताप सहेर पनि फलाम पगालेर औजार, उपकरणहरू बनाइदिन्थे र यसैबाट धानिँदै आएको छ नेपालको कृषिअर्थतन्त्र जुगौँदेखि ।” दलित भनिएका जातिप्रतिको यो सम्मान र जातीय छुवाछुतविरुद्धको शङ्खघोषको धारिलो विद्रोहको अभिव्यक्तिले पाठक स्वयं पनि उत्तेजित बन्न पुग्छन्— हाम्रो सामाजिक वास्तविकताको नवीन, समयसापेक्ष र अर्थपूर्ण व्याख्या सुनेर ।

कालीकोट जिल्लाको पिलीको पहरो छिचोल्दै गर्दा माओवादी द्वन्द्वकालका बेला त्यही पिलीले भोगेको कहालीलाग्दो घटनामाथि गरिएको दृश्याङ्कन साँच्चै नै जीवन्त छ । कारुणिक, मार्मिक र पीडादायी छ । वर्तमान सत्ताधारीप्रति गम्भीर असन्तुष्टि पनि छ । देश र जनताप्रति उत्तरदायी बन्न र उचित बाटो पहिल्याउन उदात्त सन्देश पनि दिइएको छ, यदि ग्रहण गर्न सके भने ।

योबाहेक सबै पाठकलाई जीवनको उज्यालोतिरको गतिशील यात्रामा लाग्न अभिप्रेरित पनि गरेको पाइन्छ ठाउँ-ठाउँमा । समाजिक विसङ्तिप्रति पोखिएका तीव्र असन्तुष्टि, तितामीठा अनुभूति र घत लाग्दा अभिव्यक्ति पढ्दा पाठकलाई आफ्नै भोगाइसित साक्षात्कार गरेको आभास हुँदो रहेछ  ।

कालीकोटको पञ्चदेवलको दुर्दशा देखेपछि स्रष्टाको मन नमिठोसित अमिलिन्छि । उनी त्यहीँबाट बडो मार्मिक शैलीमा पोखिन्छन्– के कालीकोटको यो देवल बनाउन पनि सिंहदरबारकै ध्यानाकर्षण हुनुपर्ने हो ? यदि हो भने किन चाहियो सङ्घीयता र किन चाहियो स्थानीय सरकार ? हे कालीकोटवासी साथीहरू ! आफैँसँग भएका अमूल्य कुरालाई बेवास्ता गरेर र आफ्नै इतिहास र भूगोललाई उपेक्षा गरेर तपाईँहरू कतै पनि पुग्न सक्नु हुन्न है ! कृपा गरेर यी सम्पदालाई पुनर्जीवन दिनुस् र गर्वले छाती ठोकेर म कालीकोटे हुँ भन्न सुरु गर्नुस् न है !”

‘त्यो उज्यालो कर्णाली’ का कृतिकार श्री ढकाल आफ्नै पूर्वप्रकाशित अन्य कृतिहरूभन्दा फरक पहिचान बोकेर उदाएका छन् यो कृतिमार्फत । उनको यो कृतिभित्र के छैन र ? त्यो बिरानो भूगोलभित्रको संस्कृतिको खोज छ । कर्णालीको गौरवशाली इतिहास छ । जीवन परम्परा र दृष्टि छ । प्राणी छन्, वनस्पति छन्, औषधिविज्ञान छ । भाषा छ, महिला छन् र तिनलाई सशक्तीकरण गर्ने उपाय सुझाइएको छ । युद्ध छ, प्रेम छ र प्रकृति छ । कर्णालीको कायापलट गर्ने सम्भावनाको मार्गचित्र छ । ‘पातारासी’ र ‘चङ्खेली’ हिमालको जग्मगाउँदो आभा छ । रारा तालको अथाह प्रशान्ति छ । कर्णालीका दर्जनौँ नदनदी र झरनाको रुन्झुन छ । जीवन र जगत्‌लाई हेर्ने दृष्टिकोण छ । समाजले दलित भनेर हेपेका जातजातिहरूलाई ईश्वरकै समकक्षतामा राखेर सम्मान गरिएका छ । चल्तीमा रहेका हिन्दी गीतहरूलाई टक्कर दिन सफल भएका नेपाली गीतसङ्गीतका स्रष्टाहरूको मुक्तकण्ठले प्रशंसा गरिएको छ । कृतिमै हाम्रो यातायात व्यवस्था छ र त्यसभित्रको अव्यवस्था झन् टड्कारो रूपमा उधिनिएको छ । दिशाहीन राजनीति छ र खाडीमा पसिना चुहाउन अभीशप्त सपनाहरू छन् । पर्यटन छ, पर्यावरण छ र कर्णालीक्षेत्रका अनेकौँ रहस्यहरूको उद्घाटन गरिएको छ । यो किताबमा के छ भनेर खोज्नुभन्दा पनि कुन विषयले प्रवेश पाएको छैन भनेर छिद्रान्वेषण गर्नु बरु सजिलो हुन्छ कि जस्तो लाग्छ यो पङ्क्तिकारलाई त ! पढ्दापढ्दै आश्चर्य लाग्छ, एउटा विकट भौगोलिक क्षेत्रका बारेमा यति मिहिनसँग उत्खनन गरिएको अर्को कुनै किताब छ होला त नेपाली साहित्यमा ? यस्तै अर्को किताब पाइएला त नेपाली वाङ्मयमा ? मलाई लाग्छ, छैन र पाइन्न पनि किनकि वि.सं. २०२६ सालमा वाङ्मय शताब्दीपुरुष श्री सत्यमोहन जोशीज्यूको नेतृत्वमा अन्य चार जना मूर्धन्य स्रष्टाले गरेको ‘कर्णाली लोक संस्कृति’ (भाग–१ देखि ५ सम्म) को खोजपछि गरिएको यो नै सबैभन्दा ठूलो खोज र अनुसन्धान हो भन्ने कुरामा म प्रस्ट छु तर यी दुईमा फरक के छ भने त्यो खोज राष्ट्रले सङ्गठित रूपमा गरेको एउटा प्रोजेक्ट टाइपको प्रयास थियो भने यो चाहिँ एक नियात्राकारले गरेको विशुद्ध एक्लो र व्यक्तिगत प्रयास मात्रै हो । त्यही भएर हुनुपर्छ स्वयं सत्यमोहन जोशीज्यूले नै भन्नुभएको छ— “यो त ज्यादै ठूलो काम भएको छ, उदाहरणीय काम भएको छ । नेपालका यसरी लुकेका ठाउँहरूलाई प्रकाशमा ल्याउन प्रतीक ढकालको ठूलो योगदान रहेको छ ।”

पढ्दापढ्दै खिन्नता पनि लाग्छ— यो महान् कृतिमा लेखकका सहयात्री पात्र भएर आएका जुजी, केही क्षण मात्र वार्ता गरेका प्रकाश धिताल, चिहानसँग डराएका जीवन केसी, दुलाहा बनेका रामबहादुर थापा र साथमा रहेका कृष्णप्रसाद भट्टराईजस्ता सबै-सबै नै पात्रहरू अब अमर भएका छन् । हामी यी लेखकलाई मायाँ गरेर पढ्ने पाठक मात्र छुट्यौँ यो यात्रामा । कति राम्रो हुन्थ्यो होला, हामी पनि यसरी नै लेखक सँगसँगै डुल्न पाएको भए ! हामी न त ‘सगरमाथाको आधारशिविरबाट’ का चन्द्रजङ्ग राई हुन सक्यौँ न त ‘आनन्दभूमिको आँगन’ का पासाङ ल्हामु, गीता र सम्झना नै । हो, हामी पात्र हुन सकेनौँ, यो अलग कुरो हो तर लेखकलाई बचाउने त पाठकले हो नि ! त्यही महत्त्वपूर्ण भूमिकामा रहेको पाठक अब हामी भएका छौँ ।

यो किताबको समर्पण पृष्ठले पनि बडो भावुक बनायो । एक अर्काको खुट्टा तानातानमै रमाउने आम नेपाली स्रष्टाहरूभन्दा धेरै माथि उठेर लेखकले यो कृति आफ्नै बालसखा तर उमेरमा भाइ रहेका नेपाली आख्यानका एक उज्ज्वल नक्षत्र कृष्ण धरावासीलाई समर्पित गरेका छन्— ‘तँ’ को सम्बोधनसहित र पुस्तकको अन्त्यमा जब धरावासीले प्रतीकसँगको अन्तरङ्ग सम्बन्धका बारेमा लेखेको पढ्न थालिन्छ— तब अनायासै पाठकका आँखा बग्न थाल्छन् । नयाँ रहस्य खुल्छ पहिलोपटक औपचारिक रूपमै नेपाली साहित्यको इतिहासमा— यो ‘कृष्ण धरावासी’ भन्ने अमर नाम त स्वयं प्रतीकले नै पो दिएका रहेछन् आफ्नो प्यारो भाइलाई ।

नेपालकै गौरवशाली सम्पत्ति भएर पनि हामी नेपालीलाई आफ्नै हिमालबारे थाहा नभएजस्तै कर्णालीको यो वैभवबारे कति कर्णालीवासीलाई थाहा छ होला ? के नेपालका विश्वविद्यालयहरू, पाठ्यक्रम निर्माताहरू, राष्ट्रका नीति निर्माताहरू, कर्णालीको प्रदेश सरकार र त्यस अन्तर्गतका स्थानीय निकायहरूले यसलाई एउटा सामान्य किताब मात्रै ठानेर छोड्न मिल्ला अब ? यसलाई मध्यपश्चिम विश्वविद्यालयले आफ्नो माथिल्लो तहको पाठ्यक्रममा राख्नु पर्दैन ? यो पनि नपढाए के पढाउनुहुन्छ त अब ? कर्णालीको भाग्यनिर्माता हुन आइपुगेका जनप्रतिनिधिहरूले के यो किताबबाट केही सिक्नु पर्दैन ? हामी जो कर्णालीवासी होइनौँ तर यही किताब पढेर कर्णालीलाई मायाँ गर्ने भएका छौँ, हाम्रा मनमा धेरै प्रश्नहरू उठेका छन् र तिनको जबाफ केवल त्यहाँको नेतृत्वको विवेक र समयको प्रवाहले मात्र दिन सक्छ र अहिलेसम्मको छाँटकाँट हेर्दा यति त प्रस्टै भनौँ— तपाईँहरूबाट पनि केही भइहाल्ला भन्ने आशाचाहिँ त्यति प्रबल छैन तर पनि मलाई गलत साबित गरिदिनुभएका दिन म नै सबैभन्दा बढी खुसी हुनेछु । किनकि अब म पनि कर्णालीलाई मायाँ गर्छु ।

जे होस्, झापाको धुलोमाटोमा खेलेर हुर्केका एउटा निष्ठावान् लेखकले निरन्तर हिमाल–साधना गरिरहेका छन् । नेपालका हिमाल, कर्णाली प्रदेश र सुदूरपश्चिमलाई उज्यालोमा ल्याउन अनेकौँ कष्टकर यात्राहरू गरिरहेका छन् । प्रा.डा. दयानन्द बज्राचार्यले यी लेखकलाई भनेको एउटा कुरो सम्झन्छु— माटो, मकैका दाना र हिराका टुक्रा एकै ठाउँमा मिसाएर राखिदियो भने परेवाले मकै मात्र टिप्छ, मान्छेले हिरा मात्र बटुल्छ र गँड्यौलाले माटो मात्र रोज्छ तर यी अद्भुत लेखक त यस्ता छन् कि सबै कुरा टिपेर हिँड्छन् र चाहिने ठाउँमा ट्याक्कट्याक्क राखिदिन्छन् ।” त्यस्तै वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठले लेखेको सम्झन्छु— राजनीतिशास्त्र पढेको, प्रशासनमा जागिर खाएर सिडिओ भएको र नियात्रा लेख्ने सोख भएको एउटा मान्छेले वनस्पतिको दुनियाँमा हामीले भन्दा बढी चासो राखेको देख्दा आश्चर्य मात्र होइन, महाआश्चर्य लाग्छ ।”

हुन त उहाँहरू दुवै जनाले लेखककै अर्कै नियात्राकृति ‘गण्डकीको मुहानतिर’ को चर्चा गर्ने क्रममा यी कुराहरू भन्नुभएको हो तर यही कुरो यो कृतिमा झनै लागु हुने देखिन्छ । पुस्तकमा अभिव्यक्तिएको लेखकको अथाह ज्ञान, सूचनाको अतुलनीय प्रवाह र यो सिङ्गो कृतिलाई नै कर्णालीको गीता वा कर्णालीको बाइबल वा पाठकवर्गकै रोजाइअनुसार कर्णालीको कुरानसमेत भन्न सकिने स्थिति देखिएकाले लेखकलाई नै प्रत्यक्ष रूपमा यो प्रश्न सोधेर यो पठन–प्रभावलाई यहीँ टुङ्ग्याउँदछु —

कुन कुवाको पानी पिएपछि

यसरी फुट्छ सङ्गीतको मूल ?

र कसरी माटाका चपरी पल्टाएर

उधिन्न सकिन्छ धर्तीमुनिको अभिलेख ?

…………………. म यसको जबाफ पर्खिरहनेछु प्रिय लेखक !