रेडियोकर्मी कवि तथा साहित्यकार सिर्जन अविरलको नयाँ उपन्यास “मोक्ष”(२०७८)भर्खरै प्रकाशित भएको छ र सामाजिक सञ्जालहरूमा चर्चा परिचर्चाको विषय बनिरहेको छ । विविध प्रकारका लामाछोटा अठार ओटा उपशीर्षकमा विभक्त रहेको डिमाइ साइजको यस कृतिले २३१ पृष्ठमा पूर्णाकार ग्रहण गरेको छ ।

चामत्कारिक भाषाशैलीसँगै आरम्भ हुने मोक्ष उपन्यासमा पाठकलाई तान्ने चुम्बकीय शक्ति छ । असमानता र दलनको विषयलाई गम्भीर रूपले उठाइएको उपन्यासमा ब्यारेक, कारागार, रेडियो र डरलाग्दो समयको कथा छ ।

कृतिले मूलतः नेपालीको दश बर्से माओवादी युद्धको पृष्ठभूमिमा उभिएका लडाकुहरूको क्यान्टोनमेन्टको बसाइ र त्यसपछिको परिस्थितिलाई समेत कलात्मक रूपमा सङ्केत गरेको छ । उपन्यासकारका विचारमा यो दश बर्से युद्धकालीन समयको दस्तावेज हो तर पाठकका दृष्टिमा त्यसमा सबै कुरा समेटिएन कि भन्ने अनुभूत हुन जान्छ । समग्र दस्तावेज नभई क्यान्टोनमेन्टमा आइसकेपछिका दिनमा तिनले भोगेबेहोरेका अनुभव,गरेका अनुभूति, लडाकुको विगत,वर्तमान र अन्योलपूर्ण भविष्य बोकेर किङ्कर्तव्यविमूढ बनिरहेको समयको दस्तावेज हो जस्तो लाग्दछ । अझ समग्रमा भन्नुपर्दा “मोक्ष ” उपन्यास नेपाली इतिहास, समाज र समयको एउटा क्रूर र निर्दयी कालखण्डको दुर्दान्त चित्रपट हो जसलाई पढेर, हेरेर, सोच्दा र छाम्दा प्रत्येक पाठकले उपन्यासको कुनै न कुनै कुइनेटोमा आफू ठोकिन पुगेको अनुभूत गर्न सक्छ । यसैलै पनि पाठक यसलाई सजीव उपन्यासका रूपमा हेर्छ ।

मोक्षले विभिन्न वर्ग, तह र हैसियतका पात्र र चरित्रलाई प्रशस्त खेल्ने अवसर प्रदान गरेको छ । उपन्यासका चरित्रहरूका मियोको रूपमा रहेका पात्र “कार्यालय बा” भए पनि संस्कृतिक फाँटमा रहेर क्रान्तिको पाठ पढाउँदै छापामार युद्धको अँध्यारो सुरुङतिर पठाउने स्वतन्त्रताकी गायिका र विद्रोहकी नायिका संस्कृतिकर्मी शारदा श्रेष्ठको जीवन, चिन्तन, कर्म र सहादतको उल्लेख गरिए पनि आद्यन्त उपस्थित रहेर सिङ्गो उपन्यासको आख्यानलाई डोर्‍याउने प्रमुख चरित्र आविष्कार र इच्छा रहेका छन् र तीसँगै संवाद गर्दै रहेका पाइन्छन्, आदित्य र देव पनि ।

प्रस्तुत “मोक्ष” उज्यालो सपना बोकेर पनि अँध्यारो बाटो हिँड्नुपरेकाहरूको कथा हो । अब कहिल्यै काम नलाग्ने युद्धको अनुभव बोकेका आविष्कारजस्ता पात्रबाट सुरु भएर उसले आत्महत्या गरेको खबर पाउँदासम्मको अवधिमा जुन सन्दर्भ, जेजति र जस्ता चरित्र, घटना, दुर्घटना सबै उपन्यासको कथानक तन्तुमा उनिएर आएका छन् र तिनले बिर्सिसकेको हिजोको कहालीलाग्दो कालखण्डलाई हाम्रा सामु पसारिदिनछन् । यसैगरी “कार्यालय बा”को घर लडाकुहरूको उत्पादन र प्रशिक्षण स्थल बनेको छ । बा’कै शीतल छहारी र आडभरोसामा आदित्य, आविष्कार, इच्छा, शारदा, दिलसा र आकृति लगायत धेरैले स्वतन्त्रता, समानता र मुक्तिका नाममा आफूलाई युद्धमा होमेका छन् । मर्नेहरू त मरे, बाँच्नेहरूले के पाए त ? उत्तर खोज्दा प्रत्येक नागरिक झकझकिन्छ ।

डा. धनेश्वर भट्टराई

उपन्यासमा विद्रोही मात्र होइन, राज्यपक्ष पनि छ र उसका समस्त संरचनाहरू पनि उपस्थित छन् । सेना र प्रहरी छन्, अदालत छ, सैनिक व्यारेक छ । कारागार पनि छ । प्रहरीले गरेको फैसला अदालतले मान्दैन र अदालतले गरेको फैसला सेनाले टेर्दैन । अम्बिका, रिमाल, ताराजस्ता एकातिर छन् भने कर्णेल र पाण्डेहरू अर्कातिर समदूरीमै उभिएका छन् । जेलअवधि भुक्तान भएर पनि कारागारको बसाइ छाड्न नचाहने भैरवजस्ता पात्र छन् र छन् रिफाजस्ता पात्र, जो माओवादी सेनामा भन्दा प्रहरीमा भर्ना भएर कारागारको प्रवेशमा नाम लेखाउने काम गर्दै छे ।

उपन्यासले कार्यपीठिकाको रूपमा देशका विभिन्न क्षेत्रलाई आधार बनाएको छ । समय र समाजका बिचमा निकै घर्षण देखिन्छ । मन्द, तीव्र, तीव्र मन्द हुँदै उत्कर्षतर्फ लम्किरहँदा दाङदेखि रोल्पा हुँदै सङ्खुवासभासम्म कथानकले फन्को मारेको छ । रेडियो गणतन्त्रको प्रसारण होस् वा खाराको युद्ध होस् यौद्धिक मनःस्थितिको राम्रो चित्र उतारिएको छ । चितवनको पहाडीक्षेत्र, शक्तिखोरको माओवादी क्यान्टोनमेन्ट, भरतपुर नगरक्षेत्र वरपरका सडक, चोक र गल्लीहरूका दृष्य छन् । नारायणपुर, श्रीपुर र मङ्गलपुरतिरका पुराना घर, बाटा र बारीहरू देखिन्छन् । लाग्छ पारिवेशिक दृष्यचित्रलाई आख्यानकारले उजिल्याएका छन् ।

माओवादी युद्धको अनिश्चित गन्तव्यको यात्रा गलत थियो र अझै गलत थियो, युद्धको अँध्यारो बाटो डोर्‍याउने सिद्धान्त, भन्ने इच्छाको विचार निकै घतलाग्दो छ किनभने समयले पल्टाएको, हिँडेर पनि कहीँ नपुगेको, बन्न खोजेर पनि केही नबनेको अनि समयले दिएका लगाएका घाउहरू मुसार्दै बाटो अलमलिएर उभिएका लडाकु देख्दा यो भन्दा पर देख्न सक्ने अवस्था छैन । उपन्यासले कम्युनिस्ट सत्ता, क्रान्ति र युद्धसमाप्तिको कारण खोजेको छ । सबैसबै समान हुने, ठूलो सानो नहुने, सबै बराबर हुने भनेर युद्ध लडेको आविष्कारजस्तालाई त्यो युद्धले के दियो र ऊजस्तै नेताको आह्वानमा युद्धमा होमिनेले के पाए त ? उपन्यासको विचारणीय पक्ष रहेको छ यो । कक्षा ८ देखि नै माओवादीतिर आकर्षित भएर कलेज नपढीकन युद्धमा हिँडेकी र “तिमी के गर्छ्यौ “भन्दा “पार्टीले जे अह्रयाउँछ, त्यही गर्छु” भनेर रेखाबाट “इच्छा” बनेर युद्ध लडेकी युवतीको कहालीलाग्दो जीवनकथाले अवसाद ल्याउँदैन र?

आकृति, विद्रोहजस्ता युद्धमा मारिए पनि बाँचेका अम्बिका, तारा, सलिना, प्रज्ञा, इच्छा लगायतकाले कस्तो अनुभूति गरेका छन् ? हरेक युद्धका निम्ति तयार बनेर लड्दादेखि नै उनीहरूबीच कस्तो विभेद थियो ?स्वतन्त्रता, स्वाभिमान, समानता र मुक्तिकै निम्ति लड्नेहरूकै बीचमा विभेद किन मेटिएन ?जीवनमा कहिल्यै सुख र खुसीको गोरेटामा नभेटिएका आविष्कार र इच्छालाई पढ्दा पाठकको मन अमिलो बनेको पाइन्छ । लडाकुहरू उत्साहपूर्वक युद्ध लडेका छन् । जब लड्दालड्दै अचानक युद्ध रोकिएर क्यान्टोनमेन्टको कन्टेनरमा हतियार बिसाएका छन्, उनीहरूको जीवन ओइलाउन थालेको छ र अझ जब अयोग्य साबित भएपछि “घरको न घाटको ” हुन पुग्छन्, उनीहरूको जीवनको लय नै भत्किएको र बिग्रिएको छ ।

दश बर्से माओवादी युद्धलाई बाध्यता र आवश्यकता, परिवर्तन र रूपान्तरणको नाम जे दिए पनि उपन्यासमा त्यसप्रति रोष र क्षोभ व्यक्त भएको छ । चन्दा आतङ्कका कारण समाज पीडा र भयले सन्त्रस्त रहेको छ । युद्ध गलत बाटोमा हिँडेकाले मुक्ति र समानता भन्दा पनि प्रतिशोधपूर्ण हत्यामा अग्रसर भएको छ । दुनियाँ बदल्न हिँडेकाहरू आफैँ बदलिएर फर्केका छन् ।

लडाकुहरू आफ्नै शिविरभित्र असुरक्षित छन् । समानता र मुक्तिका वाहकहरू स्वयं लडाकु जातीय विभेदको दुश्चक्रमा फसेका छन्, सहेका छन् । अयोग्य लडाकुहरू राज्यको मूलधारबाट बहिष्कृत छन् । विमति राख्नेलाई सुराकीको आरोपमा हत्या गरिएको छ । लडाकुको नाममा आएको करोडौँकरोड रकमको हिसाबकिताब छैन । पार्टीभित्रै पक्षपात छ र लडाकुहरू त्यहाँबाट ज्यान जोगाएर भाग्नुपरेको छ ।

मोक्षमा पढिने यस्ता तथ्यहरूले समानताको नारा लगाएर असमान व्यवहार गर्ने नेतृत्वमा रहेको आदर्शको स्खलनलाई सङ्केत गरेका छन् । युद्ध त केवल सत्ताप्राप्तिको खेल मात्र रहेको स्पष्ट भएको छ । युद्धको वकालत गर्दै अबोध र निरीह सिधासादा जनतालाई युद्धको अँध्यारो सुरुङभित्र हुलेर जनमानसमा भय र आतङ्क सिर्जना गरी सिङ्गो राष्ट्र नै तहसनहस पार्ने यो दुर्दान्त परिणामका नेतृत्वकर्ताहरू आज आफूले बोलिरहेको कुरा र घोकिरहेको सिद्धान्तलाई दोबाटामा छाडेर आफू अर्कै बाटामा उभिई र हिँडिरहेको तथ्य उपन्यासले पस्किएको छ ।

लडाइँलाई उत्सव देख्ने र युद्धमै जीवन सौन्दर्य खोज्नु गलत रहेछ भन्ने कुरा इच्छा र आविष्कारजस्ता पात्रहरूको अवस्थाले प्रस्ट पारेको पाइन्छ । सपना गुमाएकी र हिँड्ने बाटो हराएकी इच्छा अन्त्यमा “अप्प दीपो भवः” भनेर तथागतको शरणमा पुगेकी छ । आविष्कार जीवनका तमाम उल्झनहरूको निवारणको मात्र एउटै उपाय देख्छ मृत्यु र रहरलाग्दो उमेरमै आत्महत्या गरेर जान्छ । इमाजस्ता चन्दा आतङ्कले उठिबास लाग्ने भयमा सपरिवार क्यानडातिर भासिन्छन् । विद्रोहीले सहादत प्राप्त गर्छ । उमा आफैँले बोकेको बम पड्किएर मर्छे । शारदा, दीपा र प्रज्ज्वल मारिन्छन् । दिलसा पार्टी छाडेर अस्ट्रेलियातिर लाग्छे । “कार्यालय बा” सत्ताईस महिनासम्म बेपत्ता, कस्टडिर कारागार हुँदै घर फर्किन्छन् । आदित्य माओवादी युद्धबाट सम्पृक्त/असम्पृक्त हुँदै -रहँदै र अनेक मानसिक कष्ट झेलेर आख्यान लेख्दै छ । निर्दयी कालखण्डलाई नजिकबाट नियालेर देव, प्रेम, रक्सी र पुस्तकको अम्मली भए पनि पर्यवेक्षकका रूपमा रहेर निष्कर्ष निकाल्छ- “यहाँ त राजनीति हुन्छ राजनीतिमा पनि । गरिबीमा राजनीति । बेपत्ता सहिदमा राजनीति । सत्ता र लडाकुको भत्तामा राजनीति ।”

मोक्ष उपन्यासमा व्यक्ति, समाज र सामाजिक जीवनका विविध आयामलाई समेटिएको पाइन्छ । प्रेम जुनसुकै प्रकारको होस् अनिवार्य तत्त्वका रूपमा स्वीकार गरिएको छ र त्यस्तै युद्ध पनि । बाह्यान्तरिक वा आत्मिक/भौतिक जस्तो होस् युद्ध र प्रेममा सादृष्यता देखाइएको छ र प्रेममा पनि युद्धको चर्चा छ । उपन्यासमा सिर्जनको गहन दर्शन व्यक्त भएको छ । माओवादी युद्धकालीन समयको पटाङगिनीमा उभिएर युद्ध, प्रेम र दलनको त्रिकोणात्मक रूप उपन्यासमा देखिन्छ । समाजको, जीवनको, युद्धको र क्रान्तिको बहुआयामिक चित्रणका क्रममा समाज दर्शन, जीवन दर्शन, क्रान्ति दर्शन र अन्ततिर बुद्धदर्शनको चर्चासँगै उपन्यासको पटाक्षेप भएको छ ।

हरेकले एकपटक पढ्नैपर्ने आख्यान हो, मोक्ष । पठनीय आख्यानका आख्यानकार सिर्जन सफल देखिन्छन् आख्यानमा । सिर्जनको उपन्यासको भाषा कवितात्मक छ । विशिष्ट कवि, सफल प्रस्तोता र सञ्चालकको परिचय औपन्यासिक प्रस्तुतिमा प्रतिबिम्बित भएको छ । यसलाई उपन्यासभन्दा काव्यन्यास वा कविताख्यान भन्दा अझ राम्रो होला जस्तो लाग्दछ । वस्तु र रूपलाई या विषय र प्रस्तुतिलाई अभेद रूपले प्रकट गर्ने “मोक्ष” उपन्यासका लेखक सिर्जनको कथा कथन शैली बेजोडको छ । उपन्यासमा चुनिएका शब्दहरू एकपछि अर्को ओइरिन्छन् । विचार बग्छ । चेतना चलमलाउँछ । पाठक कथातन्तुलाई थाती राखेर टोलाउँछ । सचेत भएर हेर्दा थाहा हुन्छ । ऊ त कला र प्रस्तुतिको दोभानमा पो अलमलिरहेछ । यसकारण पनि तेस्रो कृतिपछि चौथो कृतिका रूपमा जन्मिएको अविरलको यो आख्यान गहन छ ।

अन्त्यमा, उपन्यास प्रमुख चरित्रमध्येको आविष्कारको दुःखान्त नियतिले होस् वा इच्छाको जीवनपरक रागात्मकताबाट निवृत्त बनेर तथागत तर्फको प्रस्थानले होस् दुवै रूपमा “मोक्ष” शीर्षक सार्थक बनेको छ । सामाजिक चेतनाको विस्तार र यावत् “तन्त्र” हरूकानाममा गरिएका र गरिने युद्धले जीवनको सौन्दर्य लुट्छ र लुटिएको देखाइएको छ । क्रमशः समय परिवर्तन भएको छ । माटो र मान्छे उहीँ छ । अभाव, पीडा र दर्दहरू तिनै छन् । बदलिएको त केवल नेतृत्वको चाला, सत्ताप्राप्ति, विलासी जीवनको सुखभोग र कमाउधन्दा मात्र ।