
नेपालका अग्रज मानवशास्त्री डोरबहादुर विष्टद्वारा लेखिएको सोताला उपन्यास नेपाल-भोटबीचको सामाजिक सम्बन्ध, व्यापार, त्यहाँको वस्तुस्थिति, धर्म संस्कृति, मौलिकता लगायतका कुरालाई आधार मानेर लेखिएको छ । यसमा नेपालको, तिब्बतको र कलकत्ताको सामाजिक, राजनीतिक, आर्थिक आदि दृष्टिकोणलाई देखाउन खोजिएको छ । विष्ट आफैँ मानवशास्त्री भएका कारण पात्रका बहुआयामिक पक्षलाई प्रस्तुत गर्न खोजिएको छ । विष्ट सन् १९७२ मा ल्हासाका लागि वाणिज्य दूतका रूपमा ल्हासा गएका बेलामा त्यहाँको वस्तुस्थिति, सामाजिक, सांस्कृतिक परम्परा, इतिहास आदिलाई कोट्याएर मौलिक आधारमा प्रस्तुत गरेको भेटिन्छ । वि.सं. २०३४ सालमा पहिलोपटक साझा प्रकाशनले प्रकाशित गरेको यो उपन्यास मौलिकतामा अल्झिएको साहित्यिक उपन्यास हो ।
वैदिक कालमा त्रिविष्टप नामले प्रचलित पौराणिक कालमा सुनको भण्डारका रूपमा चिनिन्थ्यो । महाभारतको लडाइँमा खर्च नपुगेर ऋण लिन जाने पाण्डवका प्रतिनिधि उतै पुगेको पाइन्छ । करिब २४ सय वर्षअघि इतिहास लेखन सुरु गरेका ग्रीक इतिहासकार हेरोडोटासले पनि हिमाल पहाड शृङ्खलाको दक्षिणमा बस्नेहरू हिमालपारिको प्रदेशमा सुन लिन जाने गरेको कुरा उल्लेख गरेका छन् । नेपालको उत्तरी क्षेत्रमा परेको हुनाले हजारौँ वर्षदेखि बिहेवारी तथा सांस्कृतिक आदानप्रदान सहितको गहिरो अन्तःसम्बन्ध रहेको पाइन्छ ।
नेपालका राजा अंशुवर्माकी छोरी भृकुटीको विवाह तिब्बतका राजा स्रोङचोङ गाम्पोसँग भएको पाइन्छ । पछि उनका लोग्ने अवलोकितेश्वर, उनको सौता श्वेततारा र उनी हरिततारा नामले प्रशिद्ध र पूजित भएँ । नेपाली जनमानसको चर्चित कृति मुनामदन पनि यस्तै ल्हासासँगको जोडिएको जनजीवनलाई प्रस्तुत गर्दछ । हिमाल पारी अझ पनि सुन र नुन प्रशस्त पाइन्छ भन्ने आज पनि जनमानसमा छ र पाइन्छ ।

कृष्ण खत्याडी
परिवेश –
नेपालका काठमाडौँका विभिन्न ठाउँ, साँखु, लिस्ती, दुगुनगढी, तातोपानी, कुती, तिङ्ग्री, डिगर्चा, ल्हासाका विभिन्न ठाउँहरू लगायत भाकोर सहर, छाम्दी, दार्जीलिङ, सिक्किम र कलकत्ता लगायतका विभिन्न ठाउँहरू । नेपाल ल्हासाको व्यापारको क्रममा हुने र जाने भरियाहरू, बाटामा भेटिएका अजङ्गका भिरपहरा, खोलानाला, हिमनदीहरू, पहाडपर्वत, हिमालमा मनमोहक दृश्यहरू, डिगर्चा, टिङरी र ल्हासाका फाँटहरू, वर्णन गरेर नसकिने प्राकृतिक सौन्दर्य र प्राकृतिक मनमोहकताहरू, कहिले ज्यान जानेसम्मको जाडो भने कहिले टाउकामा फूल उठ्ने गर्मी । ल्हासाको जनजीवन र परिवेश, कलकत्ताको सामाजिक, आर्थिक, विकसित परिवेश, नेपालका भीमफेदी लगायतका विभिन्न ठाउँहरूको परिवेशलाई भेटिन्छ ।
पात्रहरू र चरित्रहरू –
सानुमान तुलाधर – ( सोनाम, बनोट, सोताला )
काठमाडौँको जैसीदेवाल छेउमा बस्ने एउटा तुलाधर परिवारको केटो । जैसीदेवाल चोकमा कालो ढुङ्गाको पुरानो चैत्य । चैत्यको छेउमा लालिथकुँ घ्वाँय कासा ( एक प्रकारको उफ्रिएर खेल्ने खेल ) खेलिरहेकी हुन्थी, सानुमान १४ वर्षको तथा लालिथकुँ १२-१३ वर्षकी उनको कलिलो उमेर, जिउडाल देख्दा सानुमान मक्ख हुन्थ्यो । सानुमानकी आमाले उसको मनोविज्ञान बुझेर होला बुहारी बनाउने अपेक्षा राख्छिन् तर मारुटोलको साहु अष्टाधर तुलाधरकी बुहारी हुन पुग्छे । गरिब हुँदा प्राप्त नगरेको बुहारी र आमाले महसुस गरेको अपनमनको त्यो घाउ भयानक हुन्छ ।
आमाको पीडा, बाबुको सोझोपन, बाठो हुनुपर्छ धन कमाउन पर्छ भन्ने आमाले दिएको अर्ती, सम्पत्ति कमाउनुपर्छ भन्ने अस्तित्वको खोजी । ल्हासा जानुपर्छ भन्ने मनोविज्ञानको विकास जुन त्यो समाजको मान्यता र चलन थियो । त्यो आमाको अपमानको वेदना सुन्न नसकेर राति घर छाड्छ । बाटामा सेनाले भेट्छन् चोरको आरोपमा जेलको बसाइ । घर फर्कन अप्ठ्यारो लागी तेस्रो दिन पाटीको बसाइ । ल्हासा जान साँखुले साहुकोमा पुगी उसकोमा कारिन्दा हुन्छ ।
घरबाट हिँडेको चार महिनापछि र साँखुले साहुकोबाट हिँडेको तीन महिना पछि ल्हासा पुग्छ । ल्हासाको रोमाञ्चकता, ल्हासाको भाकोर बजार, नेपाली नेवार सोताला ( व्यापारी ) हरूको बढ्दो व्यापार र साँखुलेकोमा बनोट ( काम गर्ने ) भई काम गर्छ । धिमो रिम्पोछे ( ल्हासाको काजी ) जो साँखुले साहुको मोटो गाहकी हुन्छ । एकदिन रिम्पोछेबाट सानुमनलाई सोताला हुने भविष्यवाणी हुन्छ । झम्पा रानी ( परम सुन्दरी महिला ) ले विश्वास गर्छिन् । रिम्पोछे र झम्पा रानीले व्यापारमा आर्थिक सहयोग । कलकत्ताबाट व्यापार सुरु गर्छ । अनि सानुमान सोतालाका रूपमा स्थापित हुन्छ ।
झाम्पा रानीसँगको एक तर्फी सौन्दर्यतामा मोहित, पछि झाम्पा रानीसँग विवाह । छोरा प्रकाशको जन्म हुन्छ । प्रकाश छ वर्षको भएपछि दार्जीलिङ पढाउन पठाउछन् । घुम्न उत्तरतर्फ जाँदा लुटेराको आक्रमण र झम्पा रानी मारिन्छिन् । अनि सानुमानको एक्लोपना । कलकत्ताबाट प्रकाशको चिठी, ल्हासामा बाबुछोराको भेट । बाबुछोराको हुर्काएको फरक परिवेश र मतभिन्नता । प्रकाशको कलकत्ता गमन । काठमाडौँमा बाबुछोराको भेट हुन्छ । काठमाडौँमा सानुमानले जिउँदो देवीको स्थापना, तिब्बती शरणार्थीहरूसँगको सम्बन्ध । बाबुछोराबीच धार्मिक र सामाजिक मत भिन्नता छोराले सदाका लागि घर छोडाइ ।
साँखुले साहु – साँखुको नेवार शोताला ( व्यापारी ) जो नेपालबाट समान कुति हुँदै तिब्बतमा लागेर बेच्ने कोठीको स्थापन गरेको छ । ऊ त्यहाँको स्थापित व्यापारी हो । तिब्बतका ठूला र धनाढ्यहरूसँग राम्रो व्यापारिक सम्बन्ध स्थापना गरेको छ । ल्हासामा भोटिनीसँग घरजम भएको छ । सानुमानलाई बनोट ( कामदार ) का रूपमा नेपालबाट लागेको छ । फस्टाउँदो उसको व्यापार सिपालु छ । पछि सानुमानले रिम्पोछे र झम्पाको सहयोगले व्यापारको थालनी गर्छ । उसको सानुमानसँग ईर्ष्याको भाव ।
फुर्तेम्बा – साँखुले साहुको बनोट काठमाडौँको त्यौडटोलका रामलाल तमोट र भोटिनी आमाको छोरा हो । ऊ ल्हासामा नै जन्मिएको हो, बाबु रक्सीको अम्बल भएकै कारण, मुटु फुटेर ल्हासामा नै मर्दछ । बाबु मरेपछि आमा ल्हासाकै भोटेसँग पोइल जान्छे । ऊ झड्केलो बाबुकोमा हुर्कन्छ । उसले आफ्नो बाबु मजाले देख्नै पाएन । पछि एक्लो हुन्छ । परिवारको खोजी हुँदा काठमाडौँको तमोट परिवारमा आइपुग्छ । आउँदा आफ्ना हजुरबुवा र बाबुको कान्छी आमालाई भेट्छ । उसलाई हेर्ने दृष्टिकोण, कान्छी हजुरआमा, सम्पत्तिको महत्त्व, अपमानित भएर निस्किनु पर्ने बाध्यता । सहितको उसको कारुणिक कथा ।
रामलाल तमोट – काठमाडौँको तमोट परिवारको कलकलाउँदो केटो, सम्पत्ति कमाउन पाटनको दानज्योति साहुको बनोट भएर ल्हासा गएको थियो । ल्हासाबाट धेरै सम्पत्ति कमाएर ल्याएपछि ठूलो घर बनाउने, खानदानी परिवारको केटी बुहारीका रूपमा भित्राउने ठूलो अभिलाषाका साथ रामलाललाई ल्हासा पठाउन सहमत भएका थिए बाबुआमा । बाबुआमाले ठूलो सपना देखेर दही अक्षता र फूलमाला लगाएर बिदा गरेका थिए तर त्यसो भइदिएन । ल्हासामा बिहे गरेर उतै बितेको समाचार दानज्योति साहुकोमा आउने जानेले सुनाएपछि उसकी आमा मूर्च्छा परेकी थिइन् । आफ्नु कपाल आफैँ लुछ्थै, छाती कोपर्दै, चिच्याई चिच्याई रोएकी थिइन् । आफू र आफ्नो लोग्नेलाई सरापेकी थिइन्, यसको पीडाले छ महिना नपुग्दै मरिन् । रामलालका बाबु पागलजस्ता भएका थिए । पछि इष्टमित्रले गर्दा पुनर्विवाह गरे । छोराछोरी भए घरजम बसाए । पित्तलको भाडा बनाउने काममा व्यस्त रहे ।
झम्पा रानी – ( सानुमानकी श्रीमती/ पेम्बा ढोमा, प्रकाशकी आमा ) ल्हासाको सुदुर पूर्व छाम्दोको एउटा ठालुको घरमा उनकी आमा कमारी थिइन् । जुन ठालुको चौरी, भेडा र खेती प्रशस्त हुन्छ । आमाछोरी सँगै बस्थे । छोरीलाई भेडा चराउने काम जिम्मा दिएको थियो जति बेला उनको उमेर १२ वर्षको थियो ।
एकदिन थाहा नै नपाई ब्वाँसाले दुई भेडा मारिदिन्छ । जुन कुरा आमालाई सुनाउँछिन्, गाइँगुइँ हल्ला हुँदा ठालु कहाँ पुग्छ । पछि भेडा गन्ती गरिन्छ अनि दुई नभेटिएपछि उसलाई बाँधेर चरम कोर्राको यातना दिइन्छ । आमाले रोक्न विनय गर्छिन्, आमालाई पनि कोर्रा हानिन्छ । कुटाइले उनीहरू बेहोसी भएसँगै भोलि कुट्ने योजनासहित थाममा बाँधेर रातभरि राखिन्छ । राति कोही मनकारी नोकरले खोलेर बासी रोटी खान दिई, रातभरि सुत्ने र भोलि त्यही अवस्थामा राख्ने सर्तमा खोल्छ । राति नै आमाछोरी भाग्छन् ।
अनेकै पीडा र दुःख सहँदै सहँदै, छ महिनामा ल्हासा आइपुग्छन् । बरालिँदै बरलिँदै झम्पा काजी ( ल्हासाका २५ भारदारहरूमध्ये ठूला र प्रशिद्ध भारदार ) को घरमा आइपुग्छन्, वाङदुई ( झाम्पा महलको ढोके ) ले एकजोर कपडा र बासी रोटी दिएर तबेलामा बास दिन्छ । त्यही रात आमाको मृत्यु हुन्छ । त्यहाँबाट कसैले निकाल्दैनन्, घर बढार्ने काम, सफासुग्घर गर्ने काम हुँदै पछि घरमा काम गर्ने हुन्छिन् । खानपीन राम्रो र उमेर कलिलो भएको हुँदा, उनलाई आएको चमकले काजी मोहित हुन्छन् । डर थियो तर जुन उनले चाहेको थियो काजीलाई खुसी पर्ने । काजीलाई आफ्नु बसमा पार्न सफल भएन । काजिनीलाई थाहा भए पनि उनी चुप थिइन् किनभने उनी रोगी थिइन् ।
त्यहाँ बसेको छ वर्षपछि काजिनीको मृत्यु भयो । उनी नै झम्पा महल उनैले सम्हाल्न थालिन् । काजीले अर्को बिहे गर्ने आँट र अपेक्षा गरेनन् । काजी बुढो हुँदै गए घरको प्रभावमा नामग्याल ( काजीको छोरो ) को हुँदै गयो । उनलाई त्यो महलको हर्ताकर्ता हुने इच्छा हुन्छ । नामग्याललाई प्रभावमा पर्ने र बिहे गर्ने इच्छा असफल हुन्छ । त्यसपछि उनको सम्बन्ध सानुमानसँग हुन्छ । बिहे गर्छन् पछि । अगाध प्रेम, छोरो प्रकाश जन्मन्छ । छोरो जन्मँदा झन्डै बितेकी हुन्छिन् । थीरमुनि बज्राचार्य ( ल्हासाको सोताला ) की भोटिनी श्रीमती लेन्देभुटी निकै सहयोग गरेकी थिइन् । कुस्यो तेम्बे झम्बा ( धामी, पुजारी ) ले छेबु थुचि छेम्पो ( रोगबाट, कष्टबाट मुक्ति हुने मन्त्र ) पाठ र ओखती मुलो गरेका थिए । छ वर्षको भएपछि प्रकाशलाई दार्जीलिङ राखिन्छ । एकदिन उत्तरतिर पारिवारिक रूपमा घुम्न गएको मौकामा डाकाहरूद्वारा झम्पा रानी वा पेम्बा ढोकाको मृत्यु हुन्छ । त्यसपछि सानुमान एक्लो हुन्छ ।
धिमाप रिम्पोछे – ल्हासाका ख्याति प्राप्त र विद्वान् व्यक्तित्व हुन् । साखूले साहुको मोटा गाहकीमध्ये एक थिए । रिम्पोछे ढ्रे पुङ्ग गुम्बामा धेरै वर्षसम्मको अध्ययनले निकै विद्वान् थिए तर चैँ लामा थिएनन् । सबै कुराको पूर्ण ज्ञान थियो । उनी भविष्यदेखि वर्तमानसम्म भन्न सक्थे । उनी पहिलो दलाई लामाका अवतार स्रोङचोङ गाम्पोका वरिष्ठ मन्त्री लुवो गावाका अवतार मानिन्थे । त्यसैले प्रत्येक अवतारमा दलाई लामालाई राजकाजमा सल्लाह दिन उनको पनि अवतार आएको हो, भन्ने मानिन्थ्यो ।
कुन्द्यू ( दलाई लामा ) को हिन्दूस्तान सवारी भएको मौकामा कलकत्ताको वडाबजारको दत्त स्टुडियोमा कुन्द्यू ( दलाई लामा ) को फोटो खिचाउन लगाउँछन् । सानुमानले उसै गर्छ । कुन्द्यूको हजार प्रति फोटो छपाई, फोटो सित्तैमा बाढी फ्रेमिङको पैसा लिने अप्रत्यक्ष रूपम बिजनेस सानुमान र रिम्पोछेले गर्छन् । सानुमानलाई पनि शोतला बन्ने मौका दिन्छन् । उनले सानुमानलाई सोताला बनाउन ठूलो भूमिका खेल्छन् ।
प्रकाशमान – ( सानुमान र पेम्बा ढोमा / झाम्पा रानीको एक्लो सन्तान ) करिब १९८० तिर ल्हासामा जन्मिएको हो । सानुमानभन्दा निकै जेठी र निकै उमेर खाएकी आमा भएका कारण ऊ जन्मदा झन्डै बितेको थिइन् । करिब छ वर्षको उमेर भएपछि उसलाई पढाउन दार्जीलिङमा राखिन्छ । त्यसको केही समयपछि डाकाहरूद्वारा आमा पेम्बा ढोमाको हत्या हुन्छ र बाबु बाँच्न सफल हुन्छन् ।
दार्जीलिङबाट माध्यमिक स्तरको पढाइ सकी कलकत्ताबाट स्नातक ( बिए ) सम्मको पढेको बौद्धिक युवा हो । नेपालमा राम्रा विद्यालय तथा राम्रा कलेज नभएका र भएका मध्ये त्रिचन्द्र कलेजका ठिट्टाको रवाफ देखेर सानुमानले आफ्नु छोरामा पनि त्यो सपना देखेका हुन्छ । त्यसैले प्रकाशले पढाइमा प्राथमिकता पाउँछ । दार्जीलिङ र कलकत्ताको परिवेशको प्रभावले आधुनिकताको प्रभाव छ उसमा । समानता, मानवीयता र सचेतनाले भरिपूर्ण प्रकाश, ऊ नेपाली हुँ भन्ने भएका कारण केही कलकत्तामा रहेका नेपाली युवाहरूको जमघट र राजनीतिक सङ्गठनको सुरुवात गर्छन् । पछि समूहले परिस्थिति नबुझ्दा उसले सङ्गठन छाड्छ ।
बाबु भएको ठाउँ ल्हासाको यात्रा बाबुलाई व्यापारमा सहयोग । उसले भोटिनी आमाबाट जन्मिएका कारण उसले ल्हासामा भोगेको असमानता, धार्मिक कट्टरता, पारिवारिक विभेद, सामाजिक विभेद । बाबुसँगको सम्बन्धमा तिक्तता । उसको कलकत्ता फिर्ता । नेपालमा प्रजातन्त्र आएपछि नेपाल आउँछ, नेवार समाजमा भएको धार्मिक कट्टरता र विभेदको पारिवारिक र समाजिक पीडा सहन नसकेर सदाका लागि जान्छ ।
सांस्कृतिक पाटो –
नेपालका धेरै नेवारहरूमा हिन्दू धर्मको प्रभाव भए पनि यस उपन्यासमा बौद्ध धर्मलाई प्रधान्यताका साथ राखेको र देखाइएको छ । जैसीदेवालको चोकमा भएको पुरानो गुम्बाको कुराले वरिपरिका मानिस बुद्धमार्गी थिए भन्नेकुरा देखिन्छ । हुन त नेवारहरूमा ठूलो जमात आज पनि बुद्ध धर्म मान्ने समुदाय रहेको छ ।
पहिले पहिले नेपालका नेवारहरू पनि बुद्ध धर्म मानी निर्वाण प्राप्त गर्दथे, प्रचारमा हिँड्थे । पछि निर्वाण प्राप्त गरेका गुभाजुहरू बिहे गरी घरजम बसाउन थाले । यो दोर्जी फागमु र वज्राचार्य गुभाजुको कथाबाट प्रस्ट हुन्छ ।
तिब्बतको ब्रह्मपुत्र नदीको दक्षिणमा रहेको चाङ प्रान्तमा भएका निङमा गुम्बाहरू र जोरोङवुक गुम्बाको रिम्पोछे खोज्ने परम्परा अनि जे चोङ खपाले प्रचार र विकास गरेको गेलुप्पा मार्ग र परम्परा । कुन्द्यु ( दलाई लामा ), धीमो रिम्पोछे लगायतका अवतारको परम्परा । त्यहाँको बुद्ध परम्पराअन्तर्गतको ल्हासाको चुङला खाङ मन्दिर र त्यसको भव्यता र पूजा परम्पराहरू ।
रोग व्यधिमा छेबू थुची छेम्पो पाठ गर्ने परम्परा ।
दोर्जी फागमु र वज्रवाराही साथै पद्मसम्भव र वज्राचार्यहरूले प्रचार गरेको बौद्ध परम्परा । ल्हासामा वैशाख पूर्णिमामा हुने पूजाआजा गर्ने परम्परा । नेवारहरूको सोलुखुम्बुका शेर्पामा जोरोङवुक गुम्बाको प्रभाव ।
आर्थिक पाटो –
परम्परागत रूपमा हिमालयको उत्तरी भूभाग वा ल्हासा सुनको भण्डार रूपमा रहेको कुरा आज पनि हाम्रो जनमानसमा छ । “ल्हासामा सुन छ कान मेरो बुच्चै” उक्तिले पनि सुन र ल्हासा लाई मूल्याङ्कन गर्न सकिन्छ । हिमाली भूभाग हुने जडीबुटीहरू, छाला, चौरीको चम्बर, सुन र नुन लगायतका कुराहरू ल्हासाबाट निर्यात हुन्थे भने अन्य खाद्यान्न, शृङ्गारिक वस्तु लगायतका उपभोग्य सामग्रीहरू ल्हासामा आयात गरिन्थे । यसैबाट मानिसको दिनचर्या चल्थ्यो ।
खुम्बु नाम्चेबजारका शेर्पाहरू व्यापार र तीर्थ यात्राका लागि हिमालको पठारको बाटो हुँदै डोल्पा, हुम्ला, मुगु, मुस्ताङ र मनाङसम्म करिब दुई महिना लगाएर व्यापार गर्नु पर्ने बाध्यता र पशुपालनले धान्ने गरेको र चलेको सामाजिक अर्थतन्त्र ।
त्यहाँ व्यापार गर्ने विशेष गरेर नेपालको बाटो भई नेपालीहरू लगायतले व्यापार गर्दथे । व्यापारका क्रममा सामान मात्र व्यापार गरेनन्, सांस्कृतिक कुराहरूको समेत आदानप्रदान गरे । ल्हासाको व्यापारका लागि पैदल यात्रा गर्नुपर्दथ्यो । महिनौँ लाग्थ्यो, कति बाटैमा मर्थे, हिमालको बाटो, अनेक अप्ठ्याराहरू, कष्टपूर्ण यात्रा रहेको पाइन्छ । ल्हासामा नेपालीहरूले व्यापारिक कोठीहरू सञ्चालन गर्थे ।
ल्हासा-ब्रिटिस सन्धि हुनु भन्दा अघिसम्म नेपालको बाटो प्रयोग हुन्थ्यो, भने त्यहाँ नेपाली व्यापारीहरूको प्राधान्य देखिन्छ । उक्त सन्धिपछि, त्यो व्यापार कलकत्ताबाट सिलिगुढी, दार्जीलिङ सिक्किम हुँदै हुन थाल्यो । कतिपय नेवार व्यापारीहरूले कलकत्तामा पनि व्यापार कोठी सारेको कुरा उल्लेख छ । त्यसपछि सदियौँदेखिको काठमाडौँको व्यापार र बैभवमा परिवर्तन हुन थाल्यो, कम हुन थाल्यो । आजसम्म आउँदा ठप्प भएको पाउँछौँ ।
त्यसपछि नियाल्दा नेपाली व्यापारी व्यापारका लागि नेपालका विभिन्न ठाउँमा जान थाले, सहरको अवधारण विकास हुन थाल्यो । कतिपय जागिर र कामका लागि मुग्लान पस्न थाले ।
राजनीतिक पाटो –
तिब्बतमा अम्बान र लामाहरूद्वारा हुने शासन, भारदारीहरू र काजीहरू, गुम्बाका लामाहरू उनीहरूको सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभाव देखिन्छ ।
नेपालको राणा शासनको समयमा जनतालाई हेर्ने कमजोर दृष्टकोण देखिन्छ । जनताले धेरै पढ्नु हुन्न, धेरै कमाउनु हुँदैन भन्ने मान्यता राख्थे । धेरै धनी भए अनेक बहाना बनाएर फसाई सर्वस्व हरण गर्थे । ग्वारा साहुलाई त्यसरी नै फसाएका थिए । पछि बेचबाच गरी धनकुटातिर पलायन भएको कुरा भेटिन्छ ।
१९९७ को घटनापछि राणा शासनमा देखिएका सुधारका पनाहरू आउन थालेको पाइन्छ । राजाले पनि क्रान्तिलाई साथ दिएको कुराले तत्कालीन नेपालको राजनीतिलाई पनि प्रस्तुत गर्दछ । भारतमा नेपाली काङ्ग्रेस पार्टीहरूको गठन, यसका मिसनहरूलाई पनि देखाउन खोजिएको छ । प्रजातन्त्रका लागि भएको जनआन्दोलनमा भारतको प्रभाव र भूमिकालाई पनि देखाउन खोजिएको छ । कलकत्तामा प्रकाशका महेश लगायतका साथीहरू जो प्रजातन्त्र चाहन्छन् । सङ्गठनको विस्तार, लेभी सङ्कलन लगायतका कुराहरू देखाउन खोजिएको छ । राजनीतिक रूपमा स्थापना भएका सङ्गठनले आर्थिक सहयोगका लागि गरिएको स्वार्थ लगायतका कुराहरू प्रकाशको सङ्गठन छाड्दाको अवस्थालाई मूल्याङ्कन गर्न सकिन्छ । राजा र राजनीतिक दलको जागरुकतामा आएको प्रजातन्त्रका कुराहरूलाई देखाउन खोजिएको छ ।
कलकत्तामा इस्ट इन्डिया कम्पनीका नीतिहरू, उनीहरूको शासन, भारतमा विकसित जनलहर, स्वतन्त्रताको आवाज लगायतका कुराहरू, भारतमा आएको राजनीतिक परिवर्तन लगायत यसले नेपालमा परेको प्रभाव समेत देखाउन खोजिएको छ ।
सामाजिक पाटो –
ल्हासामा बौद्ध परम्परामा रहेको एउटा सामाजिक संरचना, सामाजिक अवस्था र जनजीवनलाई देखाइएको छ । उनीहरूको जीवनशैली, दिनचर्या, जनजीवनमा बुद्ध धर्मको ज्यादै प्रभाव छ । सामाजिक कार्यक्रमहरू, समारोहहरू, यसमा हुने व्यवहारहरूमा स्तरीकरणको अवस्थालाई देखाउन खोजिएको छ ।
नेवार बाबु र भोटिनी आमाबाट जन्मिएको सन्तानलाई त्यो समाजले हेर्ने कमजोर र विभेदको दृष्टिकोणलाई देखाउन खोजिएको छ । खच्चर भन्ने शब्दका रूपमा प्रयोग गरिएको छ । प्रकाशलाई सानुमानले वैशाख पूर्णिमाको पूजामा लाँदा देउता रिसाउँछन् भनेर जान नदिनु ।
ल्हासामा कथङ्कदाचित सोताला मरे भोटिनी श्रीमती रैछ र उसका छोराछोरी रैछन् भने पनि उसलाई भएको सम्पत्तिको हकदार नहुने कुराले महिलाको कमजोर सामाजिक अवस्थालाई देखाउँछ । मोतीरत्न शाक्य मर्दा उसकी भोटनी श्रीमती र करिब नौ वर्षको छोरा हुँदा पनि लगाएको कपडा र माटाको भाँडाबाहेक केही दिन नमिल्ने कानुनको र व्यावहारिक कुरा हेर्दा त्यहाँ जन्मिएका छोराछोरी र भएको श्रीमतीको दर्दनाक सामाजिक अवस्था देखिन्छ ।
तिब्बतमा मानिस मर्दा ठूला लामा र प्रशिद्ध व्यक्तिहरूबाहेकका मानिसको लासलाई एकान्तमा लगी काटेर गिद्धलाई ख्वाउने अनौठो र बर्बर सामाजिक परम्परा चित्रण गरिएको छ ।
कुस्यो तेम्बे झाम्बाले प्रयोग गरिएको काला दाना औषधि दलाई लामाको पिसाबमा मुछेर बनाउने जसले भूतप्रेतको हमलाबाट बचाउन प्रयोग गरिने कुराले, दलाई लामा वा धर्म गुरु र यसप्रतिको आस्थाको स्तरलाई देखाउन खोजिएको छ । रोगव्यधिमा छेबू थुची छेम्पो पाठ गर्ने परम्पराले भूतप्रेतप्रतिको विश्वासलाई देखाउन खोजिएको छ ।
सानिमा वा सौताको छोरासँग बिहे गर्न मिल्ने एउटा सामाजिक परम्परालाई पनि देखाउन खोजिएको छ । पेम्बा ढोमाले झम्पा काजी छँदै उसको छोरो नामग्याल लाई श्रीमान् बनाउने अनेक प्रपञ्च, ऊबाट छोरो जन्माउने र झम्पा महलको हकदार हुने विशिष्ट महिला मनकान्छेका माध्यमबाट देखाउन खोजिएको छ ।
समाजमा सम्पत्तिको महत्त्व, कस्तो हुन्छ भन्ने कुरा काठमाडौँको बासिन्दाले भोग्नुपरेको सामाजिक व्यवहार, प्रतिष्ठा र यसले धानेको सामाजिक इज्जत, लालीथकुसँग सम्पत्ति नभएका कारण हुन नसकेको विवाह आदिलाई देखाउँछ । फुर्तेम्बालाई घरमा आउँदा खोजिए सम्पत्ति, नहुँदा भएको अपमान आदिले समाजमा सम्पत्तिको महत्त्वलाई देखाउँछ ।
कुतीभन्दा माथि समान पिठ्युँमा बोकेर लान नसकिने भएका कारण त्यहाँदेखि माथि चौरी, गधा र खच्चरलाई बोकाएर लानुपर्ने । कुतीमा रहेको भन्सार अड्डामा हाकिमलाई घुस दिनुपर्ने, नदिए अनेक दुःख दिने कार्य जुन आज पनि छ । अड्डाका हाकिमलाई दोबाटोको भूत भनी संज्ञा दिएको छ । यसको अर्थ यिनले न देशलाई भलो गर्छन् न जनतालाई । यो अवस्था आज पनि छ मात्र दिने स्वरूप परिवर्तन मात्र भएको छ ।
यो अवस्था हेर्दा लाग्छ, आज पनि हाम्रो समाजमा इमानदार र पढेलेखेको केटालाई भन्दा, धनी रैछ भने भ्रष्ट, चोर र अपराधी नै किन नहोस्, उसैलाई चोरी दिने चलन छ वा तमतयार हुन्छन् छोरीका बाबुआमा । यो आज पनि छ । यो कुराले आज पनि हाम्रो सामजिक अभ्यास प्राथमिकतामा राखेको वा जरो गाडेको देखिन्छ ।
सानुमानकी आमाको त्यो रातको रुवाइ जुन दिन सम्पत्ति नभएका कारण बुहारी भित्राउन नसक्नु र अपमान महसुस गर्नु सम्पत्तिको महत्त्वलाई देखाउँछ । घर किन्दाको अलच्छिना र बिछुकी घरको अवधारणालाई समाजमा हुने मूल्यमान्यता र यसमा अडेको अन्धविश्वासको स्तरलाई देखाएको छ । नागको पूजा तान्त्रिकको चाटकलाई पनि देखाएको छ । राजनीतिमा आएको परिवर्तन यसले समाजमा पर्ने प्रभाव जसका कारण विकासमा अवधारणाहरूको कुरालाई पनि देखाउन खोजिएको छ ।
कलकत्तामा अङ्ग्रेजी शिक्षा र पश्चिमाको प्रभावले देखिएको स्वतन्त्रताको अवस्था, आधुनिक शिक्षा, विज्ञान प्रविधिसँगको अन्तःसम्बन्धले गर्दा तुलनात्मक रूपमा सामाजिक दायरा ठूलो देखिन्छ ।
र अन्त्यमा –
यस उपन्यास तत्कालीन नेपाल-ल्हासाबीचको सामाजिक जनजीवन र अवस्थितिलाई प्रस्तुत गर्दछ वा त्यो त्यो समाज चेतनाको झलक वा परिदृश्य हो । जसले तत्कालीन अवस्थालाई गज्जबले चित्रण गरेको छ । वास्तवमा यो आख्यान विशेष गरेर कथाप्रधान भन्दा पनि परिवेश र वस्तुस्थितिप्रधान आख्यान रहेको छ । कतिपय ठाउँमा पात्रलाई उठाइसकेपछि ती पात्रलाई अलमलमा पारेर छाडेको भान हुन्छ । कहीँ-कहीँ कथाको गति न्यून छ भने, कहीँ गति यति द्रुत छ कि पाठक नै हराउने अवस्था छ । यो आख्यान, आख्यान मात्र नभएर सामजिक जनजीवन, सामजिक अवस्था, राजनीतिक अवस्था, त्यसका परिवर्तनहरूको इतिहासका रूपमा हेर्न र राख्न सकिन्छ । ल्हासा र नेपालको प्राचीन सम्बन्ध र अवस्थिति बुझ्न खोज्ने पाठकका लागि ज्यादै उपयोगी र पठन योग्य छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

