आजभन्दा चार-पाँच वर्षअघि नै मैले सुकरातको डायरी पढिसकेकी थिएँ । मलाई अहिले यस्तो लागिरहेछ प्रतिदिन पाठकको बोधशक्ति निर्माण हुँदै जाने रहेछ, अनेक किसिमले । साहित्यिक परिवेश, बौद्धिक वर्गसँगको निकटता र निरन्तरको अध्ययनले हिजो पढेको त्यही पाठ आज फेरि पढ्दा अर्थहरू थपिँदै, परिष्कृत र परिमार्जित हुँदै जाँदा रहेछन् । नवीनतम अर्थहरू पनि त्यसरी नै खुल्दा रहेछन् । त्यसो किन पनि हुन्छ भने ज्ञानको विस्तारले पाठकको विश्लेषण र बोधशक्तिको तह थाहा नपाएरै बढिरहेको हुँदो रहेछ । यसकारण कुनै पनि कृतिको निश्चित र अन्तिम अर्थ निर्धारण किमार्थ हुन सक्दैन । यो कुरा म किन गर्दै छु भने सुकरातको डायरी पढ्दा मलाई यस्तै लाग्यो । ती दिनमा उति जरुरत नठानिएको डायरीमा आज मलाई धेरै कुरा खड्किँदा पृष्ठहरू फेरि पल्टिएका छन् । आद्योपान्त गम्भीर भएर पढेँ । सायद म पहिलोपटक उपन्यास लेख्न खोज्दै छु, जानी नजानी । यसकारण पनि डायरी पढ्न पुगेकी थिएँ । जुन अभिप्रायले उन्मुख थिएँ, त्यसमा सार्थकता पनि पाएँ । अर्थात् पुनः पठन धेरै उपलब्धिपूर्ण भयो ।

त्यस बेला पनि सुकरातको डायरी एउटा सचेत मस्तिष्कले नपढेको त होइत तर उति धेरै सचेत भएर गहिराइमा पुगिनछु या बोध गर्ने एउटा तह निर्माण भइसकेको थिएन । त्यस समय मैले सुकरातको डायरी होइन सुकरातका पाइला अधिक रुचाएकी थिएँ । त्यसैकारण डा. गोविन्दराज भट्टराईलाई नभेटेरै एक कल फोनको भरमा मैले सुकरातका पाइलामा थेसिस गर्ने स्वीकृति लिएँ । ती दिनमा मैले लेखकलाई चिनेकी थिइनँ । आज म पाइला होइन डायरी ज्यादा रुचाइरहेकी छु । मनमा यस्तो भइरहेछ, मानौँ अहिले मेरो थेसिस गर्ने समय हुँदो हो त म सुकरातको डायरीमा नै गर्ने थिएँ । तब एउटा अव्यक्त पश्चात्ताप मनभित्र जन्मिन्छ । प्रस्तुत उपन्यासले आज मलाई नयाँ चेतनाको अनेकनद्वार खुलाएको आभास भएको छ ।

अनिता पन्थी

पुरानो लयमा हिँडिरहँदा उही समयको सुकरातका पाइला, रूपमति, बसाइँ, वसन्ती, अविरल बग्दछ इन्द्रावती … जस्ता कृति बढी रुचिकर हुने थिए, जहाँ सरल रेखामा सलल्ल बगेको कथा वस्तु (जीवन) को आदि, मध्य र अन्त्यले पाठकलाई तानिरहेको हुन्छ । परन्तु सुकरातको डायरीमा त्यस्तो छैन, बेग्लै प्रवाहमा प्रवाहित छ, जस्तो आजको जीवन छ । कहानी खोज्नेहरूलाई अहिले पनि सुकरातको डायरीले आकृष्ट गराउन सक्ने छैन । जति यसप्रति आकर्षित भएका छन्, ती नवीनताको खोजीमा रहेका पाठक हुन् । नवीनता नरुचाउने या त नवीनतासँग परिचित हुन असमर्थहरू यस्ता कृतिबाट प्रायः टाढा रहन्छन् । आज हाम्रो जीवन जति दुर्बोध र कठिन हुँदै गएको छ त्यस्तै सुकरातको डायरी पनि बौद्धिक संरचनाले निर्मित कृति यसकारण भिन्न गोलार्द्धको लागेको छ । मेरो मनले अहिले भनिरहेको छ प्रस्तुत कृति अध्ययनमा आवृत्ति नहुँदो हो, धेरै कुरा सिक्नबाट म वञ्चित हुने रहेछु । धन्य दोहोर्‍याएर पढेँ । सन्तुष्टिको लामो श्वास फेर्दै अन्तश्चेतनाले मलाई यति भन्न बाध्य गरायो ।

नेपालको दश वर्षे (६२-६३) जनयुद्धको भय, त्रास, हत्या, हिंसा, द्वन्द्व, आतङ्कको पृष्ठभूमिमा रचिएको सुकरातका पाइला निराशा, पलायन र मृत्युको कथा हो भने अर्कातर्फ अपार सङ्घर्ष र चुनौतीका बीच जीवनतिर (आशावादी) फर्काउन खोजिएको प्रयास पनि थियो तर यता आएर सुकरातको डायरीमा युद्ध, भय, त्रास, मृत्युको ठाउँमा दुरूह जीवनको अनिश्चित अर्थहरू खोजिएको छ । सरसरती हेर्दा सुकरातका पाइला उपन्यासको दोस्रो खण्ड नै सुकरातको डायरी लाग्नेछ । जुन कुरा वास्तविक हो पनि होइन पनि । उता त्रासद युद्धको भयावह वणर्न छ भने यता युद्धको भग्नावशेष रूप र जीवनका अनेक सम्भावनाहरू रहेका छन् । जेहोस सुकरातका पाइला अध्ययन नगरी सुकरातको डायरी बुझ्न सम्भव छैन । यसर्थ अघिल्लाको क्रमिक रूप नै भन्नुपर्ला । केही थपघटसँगै तिनै पात्र र परिवेशमा अकथित विवशता र सङ्घर्षबाट उन्मुक्त हुन मृत्यु नै जीवनको अन्तिम सत्य ठानेको पात्र अनन्त यहाँ भर्चुअल रियालिटिमा पुनः सुकरात गुरु र नीलिमासँग जोडिन पुगेको छ । जहाँबाट उपन्यासको अन्त्य भएको थियो त्यहीँबाट फेरि अनन्तको स्मरणमा कथा यसरी सुरु हुन्छ “जीवन र मृत्युका बीचमा अनन्त नै झुन्डिएको देखेँ; न यथार्थ थियो न भ्रान्ति । भन्नै नसकी कति समय बितेर गयो । तिम्रो अनुपस्थिति सर्वत्र सुसाएको बेला आज म फेरि तिम्रो गहिरो सम्झनामा डुबेको छु (पृ. १) ।

सुकरातका पाइलामा अनन्त न जीवित थियो न त घोषित रूपमा उसले मृत्युवरण नै गरेको थियो । जीवन र मृत्युको दैलामा यहाँ उसको अस्तित्व फेरि कायम रहेको छ । जनमुक्ति सेनामा शहादत प्राप्त उसकी प्रेमिका पूर्णिमा पनि उसैगरी आफ्नो भूमिका निर्वाह गर्न आइपुगेकी छे । यसकारण सुकरातको डायरी मर्नेको होइन बोच्नेहरूको कथा हो । भर्चुअल जगत्‌मा रहेर अनन्तले आफू जीवितै रहेको भ्रम फिँजाएको छ । स्वैरकल्पनाको उच्च कलात्मक प्रयोगले कल्पित र यथार्थिक जगत्‌को समष्टि रूपमा सबै घटना हो जस्तै लागेका छन् । सुकरातको क्वाटरबाट सुरु भएको उपन्यास ग्रीसभूमि पुगेर डिल्लीबजारस्थित भोजनालयको एउटा कोठामा मञ्चित नाटकसँगै अन्त्य भएको छ । सुकरातको ग्रीस यात्रा स्वयं लेखकको यात्रा हो भने अन्य घटना, वस्तु, पात्र, परिवेश चाहिँ यथार्थ भित्रका काल्पनिक रूप हुन् । यात्रासँग जोडिएको हुँदा यात्रा साहित्य, अतीततिर फर्किएको हुँदा संस्मरणात्मक साहित्य, दैनिकीमा निकट हुँदा डायरी साहित्य, भर्चुअल जगत्‌मा पस्दा काल्पनिक तथा मायिक यथार्थ, जीवन जगत्‌को यथार्थसँग निकट हुँदा यथार्थवादी साहित्य । यी सबै पक्षबाट जुन अर्थ सम्प्रेषण हुन्छ त्यही नै सुकरातको डायरी हो ।

परम्परित संरचनात्मक दृष्टिले हेर्दा यस कृतिलाई उपन्यास भन्न मुस्किल पर्छ । पश्चिमी भूमिमा उदाएर हिजोआज हाम्रोमा प्रवेश लिएको उत्तरआधुनिकतावादी सिद्धान्तले मात्र यसलाई राम्ररी अर्थ्याउन सक्छ । न्याय दिन समर्थ हुन्छ । यहीँभित्र अनन्तले उचित भूमिका निर्वाह गर्न सकेको छ । हामी सबै यन्त्रमा निर्भर छौँ, त्यसैमा बाँचेका छौँ र अनन्त पनि । जहाँ यन्त्रलाई हटाइदिने हो भने ऊ जीवित रहने छैन । उसको यान्त्रिक बचाइ र ग्राम्य बालस्मृतिले के सङ्केत गर्दै छ भने एकातिर विज्ञान प्रविधिविना आजको जनजीवन सहज छैन । फेरि प्रकारान्तरमा यसले हामीलाई शुष्क गराउँदै छ र संवेदना शून्य । अनि विगतको (अनन्तको) स्मरणले प्रकृतितर्फ फर्क भन्दै छ ।

जसरी जुन दृष्टिबाट पनि अर्थ खोज्न र लगाउन सकिने यस उपन्यासमा बहुल अर्थहरू भेटिन्छन् । बस् त्यसलाई उत्खनन् गर्न सक्नुपर्छ । गहन र वैचारिक धरातलमा अडेर सूक्ष्म घटनाक्रमलाई विचारले बिट मारिएका कथा वस्तुहरू आफैँमा पूर्ण छन् र अन्त्यमा समष्टि भावले अर्थिन पनि चाहन्छन् । ती कथावस्तु एक आपसमा अन्तःसम्बन्धित नभए जस्तो लाग्छ, फेरि त्यसलाई कथानकले जोड्दै लगेको पनि छ ।

त्यस्तै अर्को कुरा उपन्यास सिकाउनकै निम्ति यहाँ उपन्यास रचिएको अनुभूति भएको छ । यथार्थता भने त्यति मात्र होइन, धेरै छन् । उपन्यास लेखनको तौरतरिका उल्लेख गर्दै सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा सवल बनाउन निर्मित कथावस्तुले नै कृतिलाई पूणर्ता दिएको छ । क्रम टुटेको र अव्यवस्थित अनुभूतिभित्र शृङ्खलाको पोयो भेट्न सकिन्छ तर पाठक सचेत हुनुपर्छ । लेखनकला सिकाउनुभन्दा पनि व्यावहारिक ज्ञान अर्थात् लेखकीय अनुभूति नै यहाँ प्रबल रहेको छ । त्यसै प्रसङ्गमा उपन्यासकारले भनेका छन् कुनै पनि साहित्य रचना गर्दा देखिएकोभन्दा भोगिएको कुरा ज्यादा शक्तिशाली हुन्छ, जहाँ सामान्य विषयवस्तु नै किन नहोस् । यहाँ लेखकले अनन्तलाई मुख पात्र बनाएर आफ्ना दृष्टिकोणहरू भन्न लगाएका छन् । सुकरात र नीलिमा दुवैले आआफ्नो धारणा अनन्तमाथि खन्याउँदा ऊ झन् अन्योलमा परेको छ । उसलाई एउटा थिचिएको, दबिएको पात्रका रूपमा समेत हेर्न सकिन्छ । सुकरात र नीलिमाका विचार परस्पर बाझिँदा उनीहरूको दाम्पत्य जीवन प्रतिक्षण धराशायी हुँदै गएको छ ।

सुकरातको डायरीमा विश्व साहित्यिक चेतनालाई बढी नै उद्बोध गराउन खोजिएको छ । विगतका विभिन्न कालखण्डसँगै वर्तमान समयमा आइपुग्दा के कस्ता कृति रचिए, अब कस्तो रचिनुपर्छ, विश्व सहित्य कता जाँदै छ भनी विदेशी तथा स्वदेशी स्रष्टाको कृति विश्लेषणमा लाग्छ यो एउटा समीक्षात्मक साहित्य पनि हो । अनुवादको महक पनि बेला-बेला पाठकले पाएका छन् । ती महान् स्रष्टाका अनूदित खण्ड हेर्दा सुकरातको डायरीमा पश्चिमी साहित्यको प्रभाव ज्यादा रहेको छ । सतही र निकृष्ट साहित्य लेखनबाट कसरी बच्न सकिन्छ, जुन कुरालाई स्पष्ट पारिएको छ । आख्यान क्षेत्रमा लागेका र लाग्न खोजेका सबैले एकपटक अध्ययन गर्नैपर्ने कृति हो सुकरातको डायरी ।

प्रकृतिको सूक्ष्म र जीवन्त प्रस्तुति अझ भनौँ न ग्राम्य परिवेशमा हुर्किएको अनन्तको बालस्मृति अनि पूर्णिमा र उसको अप्रकट प्रेमवणर्नमा लेखकीय शक्ति प्रदीप्त छ । लेखकको उच्च कलात्मक शैलीको निक्खरता छ । यस कृतिले पाठकलाई अध्ययन, चिन्तन र साहित्य सिर्जनामा लाग्न तत्पर गराएको छ । सुकरातका पाइला समसामयिक देशको छाया, त्यसले पारेको प्रभाव र भयभीत पात्रको मनोविज्ञानमा केन्द्रित रहेको छ भने डायरीमा चाहिँ विश्वसाहित्यको परिवेशमा नवीन मार्ग खोज्दै त्यसैमा पात्रको जटिल मनःस्थिति निर्माण गरिएको छ । फलस्वरूप कृतिले बौद्धिक पाठकको मात्रै अपेक्षा राखेको छ ।

सकुरातका पाइलाको त्रासदी यहाँ सेलाउँदै गएको छ तर त्यसले पारेको प्रभाव भने आज पनि उस्तै रहेको छ –

बोल,
सपनामा भए पनि
एकपल्ट मसित बोल
त्यो साँझ तिम्रो काँधमा
कसको बन्दुक थियो ?
बोल,
तीज आइसक्यो
नयाँ चुरा किनूँ कि
पुराना फुटालूँ (पृ. ५३७) ?

प्रस्तुत कविता हेर्दा त्यतिखेरको युद्ध अहिले पनि चहर्‍याइरहेको छ ।

पात्र तिनै भएर पनि यहाँ उनीहरूको परिवेश र कार्यक्षेत्र अदलबदल भएका छन् । उता सात-सातपटक ब्याचलर फेल भएकी पूर्णिमा यता विश्वविद्यालयमा अध्ययन गर्ने भएकी छ । हिजो नीलिमा कपडा फ्याक्ट्रिको डिजाइनर थिइन् भने आज पिके कलेजकी प्रोफेसर भएकी छन् । उपन्यासले सबै कुरालाई नवीन दृष्टिले हेर्दा ती पात्रहरू सुकरातको डायरीमा परिवर्तित भएका छन् । नारीलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ । स्वतन्त्र निणर्य गर्न दिइएको छ । परापूर्व तथा सभ्यताको त्यस कालदेखि रचिएका साहित्य जहाँ महिलाको भूमिका अनिवार्य थियो तर उनीहरूलाई पुरुषको स्वार्थमा राखेर सिर्जना गरिन्थ्यो तर यहाँ महिलालाई महिलाकै दृष्टिले हेर्ने प्रयास गरिएको छ । त्यसकारण यसलाई नारीवादी उपन्यास पनि भन्न सकिन्छ । यति हुँदाहुँदै पनि उपन्यासको पात्र सुकरातले नीलिमालाई आफूसँगै दौडमा सम्मिलित गराउन भने सकेको छैन किनकि उनीहरू सँगसँगै दौडिने हो भने प्रतिस्पर्धीको समरमा सुकरातले चाहेअनुकूलको परिवेश सिर्जिने थिएन । उसले नारीको विवशतालाई नजिक रहेर बुझेको छ । स्विकारेको पनि छ, के कति कारणले नीलिमा आफूसँगै भागदौडमा सरिक हुन असमर्थ भइन् । परन्तु ऊ लाचार भएर फेरि आफू एक्लै-एक्लै उच्छाइलो टाकुरीमा पुग्न दौडिरहन्छ ।

सुरकरातको चरित्र, परिवेश र कार्यक्षेत्रमा भने परिवर्तन आएको छैन । ऊ हरनिमेष नीलिमाप्रति नै समर्पित छ । समय कुसमयमा ऊ जल्छ, गल्छ, शिथिल हुन्छ किनकि नीलिमा आफ्नो शिष्य अनन्तप्रति आकर्षित भएकी छन् । मुर्झाइसकेकी नीलिमालाई पूर्णिमाको जून बनाएर उनी र अनन्तबीचको त्यो नाटकीय पर्दामा जैविक मनोविज्ञानको उच्च विश्लेषण भएको छ । आनन्द, हर्ष, चुनौती, ग्लानि, पीडा, अवसादमा पात्रहरू पुरातनको विद्रोह गर्दै उठेका छन् । आफूखुसी जोडिएका छन्, भत्किएका छन्, जस्तो स्थिति आजका हामीले भोग्दै आएका छौँ । सुकरातको डायरी रूपात्मक, प्रतीकात्मक, रागात्मक र स्वैकाल्पनिक दृष्टिले सफल रहेको छ । दुरूह संरचनाले गर्दा कृतिको अन्त्यमा पुग्दासम्म पनि पाठकलाई थाहा हुँदैन उपन्यास अब कुन मोडमा पुग्छ, पात्र कहाँ गएर थिग्रिन्छन् ? नीलिमाले सुकरातलाई छोडेर अनन्तमा समर्पित हुने पो हो कि ? पूर्णिमा कता जाने हो ? क्रम भङ्गता, अनिश्चितता, अनियमिततामा पाठकले अब के हुन्छ भनी अनुमान लगाउन सक्दैन । बौद्धिकता र जटिलताले पनि त्यसो गराएको होला ।

सुकरातको डायरी यसरी प्रस्तुत हुनुमा वैश्विक चेतनासँगै परिवर्तित जीवन दर्शन पनि अर्को दुर्बोध तत्त्व रहेको छ । जीवनलाई जसरी अर्थ्यायो त्यसरी नै अर्थिन्छ । साँच्चै जीवन एक प्रयोगशाला हो, रङ्गमञ्च हो । सुकरातले यही कुरालाई आफ्नो दर्शन बनाएको छ । पात्र, चरित्र, घटना र परिवेशभन्दा पनि वैचारिक दृष्टिले उचाइ भेट्टाएको यस उपन्यासले जीवन जगत्‌लाई हेर्ने बहुल मार्ग प्रशस्त गराउन चाहेको छ । नवीन सहित्यको खोजी पनि । विधाभञ्जन र विधामिश्रणको उत्कृष्ट नमुना जहाँ गीत, गजल, कविता, समीक्षा, अनुवाद, डायरी, यात्रा, संस्मरण, कथा, निबन्ध, नाटक, उपन्यास, पत्र सबै-सबै पक्षको मिठास पाठकले लिन सक्छन् । त्यसो त फेरि ती सबै विधा आफैँमा विघटित भएका छन् ।

जीवन कहिल्यै सरल र सोझो मार्गमा हिँड्न चाहेर पनि हिँड्न सक्दैन । आफूले चाहेको जिन्दगी न हिजाकाले बाँचे न आजकाले बाँचेका छन् । न भोलिकाले बाँच्न पाउनेछन् । चाहेको भन्दा बढी नचाहेकै जीवन बाँच्नुपर्ने छ । हरेक व्यक्तिले । जुन कुरालाई सुकरातले प्रस्ट पारेको छ । अनन्त र पूर्णिमको, नीलिमा र सुकरातको सम्बन्ध किन दृढ र आत्मीय हुन सकेन भने आज महाआख्यान भत्किसकेको छ । त्यसैले उनीहरू एकार्काप्रति निर्भर छैनन् । एक्लै पनि जीवन बाँच्न र अस्तित्व जोगाउन सकेका छन् । हिजोआज सम्बन्धको परिभाषा बदलिएको छ । बन्धित घेरा फुक्लिएको छ, भत्किएको छ, केन्द्र तोडिएर विकेन्द्रीकृत भएको छ, सँगसँगै जटिलता र चुनौतीहरू थपिँदै गएका छन् । आजका मान्छेसँग सम्भावनाहरू पनि प्रशस्तै रहेका छन् । यिनै अवधारणालाई उपन्यासको विषय बनाइएको सुकरातको डायरी उत्तरआधुनिकवादको अनुपम उदाहरण बन्न पुगेको छ ।

व्यक्ति स्वतन्त्रतालाई उच्च ठहर्‍याइएको यस कृतिमा स्वतन्त्र भएर नवीन मार्गमा हिँड्न आह्वान गर्दै उपन्यासको अन्त्य भएको छ ।

सुकरात एक्लै बोलेको सुनियो,
म हजारौँले टेकेको डोबलाई पछ्याउन चाहन्नँ ।
मलाई नयाँ सोच्न देऊ
मलाई नयाँ गर्न देऊ
मलाई स्वतन्त्र हिँड्न देऊ (पृ. ३२६)

अतः नवीनतम कलाको उच्चतम शैली प्रयोगको दृष्टान्त हो सुकरातको डायरी ।