अनुहार मात्रै परिचयको हुलिया होइन सायद । अक्षरहरूले खिपेको हुलिया अक्षर प्रेमीहरूको सवोत्तम हुलिया हो रहेछ । व्यक्तिगत सम्पर्कभन्दा टाढा रहेर व्यक्तिलाई चिन्नु, उसको मनोभावना पढ्नु, समाजप्रतिको उसको हेराइ र चिन्तन पढ्नु साँच्चै आनन्द आउने रहेछ । यो बसाइमा राधिका कल्पितलाई ‘बरफका कोइलाहरू’भित्र बुझ्नुको छुट्टै आनन्द रह्यो । कविताभित्र पसेर कविसँगै प्रेमिल हुनु, कविसँगै विद्रोही हुनु, कविसँगै रुनु र हाँस्नुमा पाठकलाई आउने आनन्द नै कृतिको सवल पक्ष हो ।
‘बरफका कोइलाहरू’ राधिका कल्पितद्वारा रचित कविताहरूको सङ्ग्रह हो । २०७७ सालमा बजारमा आएको यो सङ्ग्रहको प्रकाशक बि.एन.पुस्तक संसार हो । पचहत्तर ओटा कविता सङ्ग्रहित यो सङ्ग्रहको आवरण शिल्प रमेश पौडेलको रहेको छ । ‘बरफका कोइलाहरू’ एकदमै नौलो चिन्तनसँग जुराइएको कृतिको नाम हो । शीर्षक भन्नु आम कविताहरूको प्रतिनिधि दृष्टिकोण हो । कविको यही दृष्टिकोणमा उभिएर हेर्दा/पढ्दा पनि थाहा हुन्छ कि हामी कस्तो परिवेशमा बाँचिरहेका छौँ भनेर । कल्पितको यो कल्पनाशीलता ज्यादै फराकिलो लाग्दछ शीर्षक चयनमा । आफू एक सचेत नागरिक हुनुका आँखाले समाजका पत्र-पत्र केलाएर वेथितिमाथि कलम चलाउन पोख्त कवि कल्पितले समाज, संस्कृति र सत्ताको ‘अति’लाई टपक्क टिपेर कवितामा राखेकी छिन् । एउटा लेखकले समाज र राष्ट्रको हितका लागि गर्ने यथेष्ठ योगदान लेखनी नै हो । यही धर्म निर्वाह गर्दै आफ्नो दृष्टिमा आएका उत्पीडित आवाज लिएर कल्पित आफ्नो कवितासङ्ग्रहमा उभिएकी छिन् ।
यो कृतिभित्रको शक्तिशाली पक्ष नै मलिन आवाजमा ठूलो विद्रोह गर्न सक्नु हो । आफू महिला भएको अनुभूतिले पनि हुन सक्छ महिलामाथि रहेको पितृसत्ताको मनोमानीलाई उनले आफ्ना कवितामा बलियो आवाज दिएकी छिन् । सधैँ-सधैँ पुरुष सत्ताकै आदेशमा चल्नुपर्ने स्त्री बाध्यतामाथि कवि खरो आवाज लिएर उत्रिएकी छिन् । ‘कुन अवतार लिऊँ म?’, ‘आइमाई’, ‘विधवा वर्षा’, ‘शरीरको सौदा’, ‘इतिहासको पुनर्लेखन’, ‘फूल मुस्काउँदैन आजभोलि’ जस्ता कविताहरू पाठकको हृदयबाट नझर्ने कविता हुन् । सधैँ ‘संस्कार’ नामक कारागारमा कुनै पनि महिलाले आफ्नो जिन्दगी आफैँ जिउन नपाएको तितो यथार्थमा कवि यसरी पोखिएकी छिन्—
रातमा राग जगाउँदा रतीझैँ बन भन्छौ
झिसमिसे हुन नपाउँदै फेरि सतीझैँ बन भन्छौ
घरी सबै सहेर बग्ने पवित्र गङ्गा बन भन्छौ
तिम्रो मन बहलाउनुपर्दा फेरि चङ्गाझैँ बन भन्छौ
…………कसरी फेरूँ म हरदम अवतार —‘कुन अवतार लिऊँ म?’
यस्ता प्रश्नहरू मात्रै छैनन् कवितामा । आफ्नो अस्तित्वको बलियो हेक्का भएका कविताहरू यो सङ्ग्रहका शक्ति हुन् । अक्षरहरूमा प्राण भर्ने मात्र होइन, साहस भरेर आम स्त्री अस्तित्वका पक्षमा उनको वकालत छ । स्त्री भनेको सृष्टि हो जान्दाजान्दै अन्जान जस्तो बनेर महिलामाथि युगौँदेखि भइरहेका सामाजिक र जैविक बेथितिमाथिको कविको प्रहार जोसिलो छ । पढ्दापढ्दै शरीरका रौँ जगाउने कविता युगका शङ्खघोष हुन् । हाम्रो प्राण, भरोसा र सृष्टिमाथिको अपमानका विरुद्ध कवि जाइलागेकी छिन् कवितामार्फत । गर्भदेखि नै भेदभावको सिकार भइआएका स्त्री जाति मरेपछि पनि आफ्नो अस्तित्वले पूर्ण ‘मान्छे’ भनिन पाउँदैनन् । समाजको यही कुरूप निरन्तरताका विरुद्ध कवि यसरी गर्जिन्छिन्—
……..तिमीले फेरेको पहिलो सास कसको हो?
तिमीले चाखेको पहिलो स्वाद केको थियो?
भन—कहाँ उभिएको छ शिवलिङ्ग?
भन—कहाँ फस्टाउँछ तिम्रो वीर्य?—‘आइमाई’
यी र यस्ता धेरै गर्जन यो कृतिका विशेषता हुन् । समाजले महिला हस्ताक्षरमाथि ठड्याउने औँलाभन्दा अगाडि बढेर कविले आफ्ना कवितामा शक्तिशाली हुङ्कार पोखेकी छिन् । एउटा सुन्दर काठमा भित्रभित्रै धमिरा लागेर मकाएझैँ मकाएको धराप सामाजिक जीणर्तामा बाँच्न अभिशप्त छ हाम्रो समय र नारी अस्मिता । प्रिय र आदरणीय पुरुष नाताभित्र पनि शङ्का गर्नुपर्ने, तर्किनुपर्ने र सधैँ डराइरहनुपर्ने अप्रिय र कुरूप यथार्थ छ आम छोरी सम्बन्धहरूको । साना छोरीहरूको उन्मुक्त हाँसो र खुसीकै घाँटी निमोठिदिने बलात्कारजस्तो अप्रिय, अमानवीय र अत्यन्त घृणित कार्य समाजको आँखाबाट लुक्न सक्दैन, लुकेको छैन । धेरै छोरीहरूको बलात्कारकै कारण हत्या भएका छन् । उसो त बाँचेका छोरीहरू झन् पटक-पटक मरेर बाँचेका छन् । आम छोरीहरूको प्रेम यसरी लुटिएको छ कि ऊ प्रत्येक पुरुषमा बलात्कारी क्रूर छाया देख्छे र तर्सिन्छे । यस्ता दुःखद आँसुहरूमा कवि यसरी बग्छिन्—
धरै दिनदेखि
खै कसको हो चित्र कोरिरहन्थी
र खाटमुनि लुकाइरहन्थी
आज त्यो तस्बिर च्यातचुत पार्दै
भित्रभित्रै दाह्रा किट्छे
जब मिल्न जान्छ त्यो तस्बिर
आफ्नै अङ्कलको मुहारसँग । —‘फूल मुस्काउँदैन आजभोलि’
कवि कलाकारले समयलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने सम्पत्ति भनेको अक्षरहरू नै हुन् । अन्य सर्वसाधारणभन्दा फरक दृष्टि र फरक शैलीसहितको प्रस्तुती प्रत्येक लेखकहरूको हुन्छ जसको कारण अक्षरहरू फरक स्वादका र अनुहारका मात्र हुँदैनन् अमर पनि हुन्छन् । राधिका कल्पितका कवितामा उनको पहिचान छ । सरल शैलीमा गम्भीर विषयको उठान र प्रस्तुती प्रस्तुत कृतिभित्रका ‘कल्पित’पन हुन् । विषयवस्तु भित्रको उच्च दृष्टिकोणलाई सरल शब्दमा पस्किनुले प्रस्तुत कृतिका कविता पाठकहरूका लागि प्रिय छन् । सामान्य पाठकले समेत बुझ्ने शैलीमा लेखिएका कविताहरूमा राज्यसत्ताप्रति तिखो व्यङ्ग्य छ । कोरोना सङ्क्रमणको विश्वव्यापी प्रहारमा लकडाउनले बाटैमा अलपत्र परेका यात्रुहरूको चीत्कारले ब्युँझाउन नसकेको सरकारको लाचारी छ कवितामा, बजारमा फस्टाउँदै गएको यौन बजारप्रति अदेख सत्ता छ र निरीह न्यायालयको मौनता कवितामा समेटिएको छ । सिमानामा रहेका नागरिक हुन् या सिङ्गो देश सबैको साझा चिन्तनलाई कविले कलात्मक ढङ्गले आफ्ना कवितामा उभ्याएकी छिन्—
के थाहा
यो जन्मिने दिनसम्म
मेरो आँगन मेरो रहने हो या होइन
जन्माऊँ कि नजन्माऊँ
कोखको यो सन्तान ?—‘धर्मसङ्कट’
कस्तो धर्मसङ्कटमा उभिएको छ देश ? कस्तो दोधारमा बाँचेका छन् सिमानामा बाँचेका नागरिकहरू ? यी र यस्तै आम जनताका साझा सवाललाई कविले मिहिन उठान गरेकी छिन् । शैक्षिक प्रमाणपत्रले साट्न नसकेको बेरोजगारीले डसेर परदेश पलायन हुनुको पीडाले देश थिलथिलो भएको समाजको पिलो कवितामा उनिएको छ । कसैले भन्न नसकेको विधुरको आँसु यो कृतिको नयाँ स्वाद हो । यी र यस्ता समसामयिक विषयवस्तुका अतिरिक्त उनले कवितामा उठान गरेको अर्को पक्ष हो प्रेम । उनको प्रेम पस्काइ पनि गज्जबको छ र आँटी पनि छ । जुन समाजले नारीलाई बोलेर प्रेम व्यक्त गर्नुलाई अस्लिल ठान्छ, त्यही समाजको केन्द्रमा उभिएर कविले प्रेम आह्वान गरेकी छिन् यसरी—
आऊ एकछिन सँगै अञ्जुलीका प्यालामा थापेर पिऔँ
आँखामा छचल्किएको मदिरा
एकैछिन् मातिदिऊँ र बकिदिऊँ
ओठसम्म ल्याएर चपाएर निलेका बातहरू—‘तिमीलाई भेटेपछि’
अक्षरहरूका कुशल चालक कविले प्रस्तुत कृतिमा धेरै मार्मिक र गम्भीर विषयवस्तु पस्किएर पाठकलाई सुम्पिएकी छिन् । प्रत्येक विषयवस्तुमाथिको गहिरो चिन्तन, समालोचकीय अध्ययन र सरल प्रस्तुतीले कविको कविताप्रतिको निखारपन प्रस्ट पार्दछ । विधवाप्रतिको समाजको अस्लिल दृष्टिकोण, विधुरको आँसु र प्रत्येक गृहिणीको मृत्युपछिको असरल्ल घर र विचलित परिवारको तस्बिर उनका कवितामा भेट्न सकिन्छ । विषयका दृष्टिले यति धेरै विविधता भएको सङ्ग्रहमा यो पाठकीय मनले अरू थप दुई-चार कविता खोजिरह्यो । आधा देश बाहिरिएको यो मुलुकमा लाखौँ यौवन नारीहरूले बिताएका एक्ला चिसा रातहरू, आमा बन्न रहराएका एक्ला मुनाहरू, आँगनीको डिलमा बसेर सन्तान पर्खिरहेका वृद्ध अनुहार र परदेशबाट दसैँ लिएर आउने बा पर्खिरहेका केटाकेटीको विवरण खुलाएको सङ्ग्रहमा रहेको ‘मदनको चिठी’झैँ मुनाले लेखेको चिठीजस्ता कविताका लागि पाठकीय आँखा भौतारिइरह्यो । तथापि ‘बरफका कोइलाहरू’ पठनीय मात्र नभएर सङ्ग्रहनीय कृतिको रूपमा सफल कृति हो । सरल र गहन दुवै दृष्टिले यो कृतिले पाठकको मन जित्नेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।