विषयप्रवेश-

आम मानिसको सङ्घर्षगाथा हो, निसिप । निसिप अर्थात् नसीब, भाग्य, तकदीर । गाउँघरमा भाग्यमानी व्यक्तिलाई निसिप भनेर भनिन्छ । यो कथ्य भाषा हो । ती आम मानिस जसले व्यवसायमा अपार सफलता प्राप्त गरे । जो देशमा मात्रै सीमित भएनन्, विदेशमा पनि आफ्नो व्यापारलाई फैलाउन सफल भए । ती व्यक्ति हुन्, इन्द्रकुमार लामिछाने । जसको गाउँले नाम निसिप अर्थात् निसिपे थियो । जसलाई बोलीचालीको भाषामा उपनाम भनेर पनि चिन्ने गर्छौँ । पत्रकार, राजनीतिज्ञ पदम विश्वकर्माले निसिपलाई पुस्तकारका रूप दिएका छन् । नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय मुखपत्र ‘दलित मुक्ति’का सम्पादक पदमले केही वर्षको मेहनत खर्च गरेका छन् पुस्तकमा ।

उनकै अनुसार चार वर्षको अथक प्रयासपछि पुस्तकलाई आकार दिइएको बताइएको छ । पुस्तक २०७६ मै प्रकाशित भए पनि पढ्ने मौका मिलेको थिएन । बराह ग्रुपको धरानस्थित कार्यालयका सञ्चार संयोजक गायक भाइ प्रमोद पोर्तेलमार्फत पुस्तक अध्ययन गर्न अवसर जुऱ्यो । धरानको रिडर्स ग्रुपलाई पुस्तक अध्ययन गरिदिएर सहयोग गर्न भनिएपछि अध्ययनको पहिलो अवसर जुटेको हो । भन्नुपर्दा निसिप इन्द्रकुमार लामिछानेको सङ्घर्षको गाथा वा कथा हो । पुस्तकमा उनको व्यापारको पूर्वरूप, व्यापार गर्दाको सङ्घर्ष र एउटा उचाइ नजिक पुग्दापुग्दै इहलीला समाप्त भएको कथालाई उतारिएको छ । लेखकले पनि सोहीअनुसार पुस्तकलाई पठनीय बनाउन विभिन्न खण्डहरूमा विभाजन गरेका छन् । लेखकले सातओटा अध्यायमा विभक्त गरेका छन् । अध्याय १ मा निसिपको ‘कठोर जीवन-सङ्घर्ष’ जहाँ १४ओटा उपशीर्षक राखेर पठनीय बनाइएका छन् । उनको जन्मदेखि व्यापार गर्नुअघि गरिएको सङ्घर्षलाई सिलसिलाबद्ध शैली अर्थात् फिचरको प्रारूपमा लेखिएको छ । यही अध्यायमा निसिपमा व्यापारको जिजीविषाको अभ्युदय भएको छ । पुस्तकको पदावली हेरौँ-
एकदिन रणध्वज (निसिपका बुबा) ले घरको कान्लामुनि रहेको जुनेलाको बोट गन्ती गर्न अह्राए । जुनेलाको बोटको झुप्पा एक दानाबाट फलेको थियो । त्यही देखाउँदै उनले इन्द्रकुमारलाई व्यवसायमा सानो लगानी गरे पनि ठूलो प्रतिफल हुने पाठ सिकाए । उनले दुःखकष्ट पर्दा पनि आफ्नो काममा निरन्तर लाग्नुपर्ने सुझाव दिए । यही कुराले इन्द्रकुमारलाई व्यापार, व्यवसाय गर्न प्रेरित गऱ्यो । (पृ. ३०)

अझ व्यापारप्रति लाग्ने प्रेरणा उनले नेवारनी मैया नामकी पात्रबाट पाएको आभास दिलाएका छन् । नेवारी मैया जो उनकै गाउँमा सानोतिनो व्यापार गरेर परिवार धानिरहेकी थिइन् । धनकुटाबाट आएकी अपाङ्ग मैयाले नाङ्लामा व्यापार गर्थिन् । त्यही व्यापारबाट मैयाले होमताङ (निसिपको पुर्ख्यौली थलो) मा जग्गासमेत जोडेकी थिइन् । यस कुराले इन्द्रकुमारमा व्यापारको लोभले भित्रभित्रै गाँजेको पाउन सकिन्छ । बुबाको कुराले भन्दा नेवारनी मैयाको व्यापारले उनलाई प्रेरणा दिएको पुस्तकका अन्य खण्डहरूमा गरिएको चर्चाबाट थाहा पाउन सकिन्छ । यस अध्यायमा १४ वर्षकै किशोर उमेरमा धरान झरेको कथा, धान काट्ने कामदेखि लिएर सुनचाँदीको गहना बनाउने तालिम, धरान-धनकुटाको सडकमा मजदुरी, क्याडी ब्वाय (गल्फ खेलमा व्यावसायिक गल्फरको बललगायत सामग्री बोक्ने मानिस), चालक भएर भारतदेखि भुटानसम्म काम गर्न पुगेका उपकथाहरू जोडिएका छन् । यही खण्डमा वैदेशिक रोजगारीअन्तर्गत खाडी मुलुकको बहराइन पुगेको कथा पनि जोडिएको छ तर जहाँ पुगे पनि व्यवसायसँग कुनै न कुनै रूपमा उनी जोडिएको प्रसङ्ग कोट्याइएको छ । यही अध्यायमै विष्णुमायासँग विवाहको कुरा पनि जोडिएको छ । यो अध्याय इन्द्रकुमारको महत्त्वपूर्ण अध्यायभन्दा फरक पर्दैन ।

दोस्रो अध्यायमा ‘व्यापारिक जीवनको नालीबेली’ लाई उतारिएको छ । उक्त अध्यायमा सातओटा उपशीर्षकहरू समेटिएका छन् । व्यापारको सुरुवातदेखि देशबाहिरसम्म फैलिएको बराहको व्यापारलाई यस खण्डमा राखिएको छ । भोजपुर होमताङवासी इन्द्रकुमार स्थायी रूपमा तीन ठाउँमा बसेको पाइन्छ । जीवनको पूर्वार्द्ध होमताङमा, मध्य र उत्तरार्द्ध धरान, झापा हुँदै काठमाडौँ बसेका छन् तर व्यापारको सुरुवात भने सिन्धुलीबाट गरेका छन् । केही अनौठो लागे पनि व्यापारको सूत्रपात त्यहीँबाट भएको छ । केही महिनासम्म सुनचाँदी व्यापार गरे पनि त्यसपश्चात् धरान आएर सुरुवात गरेको देखिन्छ । सुनचाँदी व्यापारमा भित्र्याएको आधुनिक शैलीकै कारण उनी यस व्यवसायमा टिकेको देखिन्छ किनकि उनले व्यापार सुरु गर्दा धरानमा रैथाने सुन व्यापारीको जगजगी थियो । परम्परागत शैलीमा व्यापार गर्ने चलन थियो । सजावट गरेर व्यापार गर्ने शैली भित्रिएकै थिएन । जसलाई इन्द्रकुमारले भित्र्याएको धरानका पुराना व्यापारी खचान्चीदास अग्रवालको भनाइबाट पनि प्रस्टिन्छ । व्यापारकै सिलसिलामा हङकङ पुगेका उनी त्यहीँ रहस्यमय मृत्यु हुन पुग्छ । मृत्युको पूर्ण जानकारी हालसम्म प्राप्त भएको छैन ।

तर उक्त रहस्यमय मृत्युलाई तेस्रो अध्यायमा समेटिएको छ । जहाँ तीनओटा उपशीर्षकमा चर्चा गरिएको छ । मृत्युपछिको व्यापार व्यवसायमा पर्न सक्ने प्रभावका बारेमा पनि चर्चा गरिएको छ तर एउटा प्रणालीमा प्रवेश गरिसकेको बराह निरन्तर अगाडि बढेको छ । उक्त कुरालाई प्रमाणित गर्ने उनको भनाइ हेरौँ-

अबको समय भनेको सिस्टमले व्यावसाय चल्दछ, विश्वास र भावानाले मात्रै चल्दैन । (पृ. १६७)

गीतसङ्गीतमा जमेर बसेका छोरा शिवकुमारले व्यापारलाई हाँक्ने प्रण पनि यही खण्डमा गरेका छन् । विषम परिस्थितिमा पनि अध्यक्षको जिम्मेवारी लिँदै शिवकुमारले कम्पनीलाई अविराम चलाइरहेका छन् । चौथो अध्यायमा ‘बराह ज्वेलरीका संस्थापकको व्यक्तित्व’ अन्तर्गत चारओटा उपशीर्षक छन् । उक्त खण्डमा इन्द्रकुमारको व्यापारिक सूत्रको चर्चा गरिएको छ । उनी इमानदार, कर्तव्यनिष्ट र मेहनती भएकै कारणले व्यापारमा स्थापित बन्न पुगेको कुरालाई उल्लेख गरिएको छ । उनको व्यापारिक सूत्र पनि त्यसैसँग सम्बन्धित छ ।

पाँचौँ अध्यायमा ‘छोरा शिवकुमारको नजरमा’ भन्ने खण्ड राखिएको छ । बुबा कस्ता थिए देखि लिएर मृत्युपश्चात्‌को दुःखदायी क्षणका विषयलाई समेटिएको छ । सातओटा उपशीर्षक छन् । इन्द्रकुमारको हङकङमा अकल्पनीय मृत्युदेखि बाल्यकालमा बुबाको स्मृति, पारिवारिक तनावको क्षण, बुबाका अधुरा सपना पूरा गर्दै, व्यापारिक कौशल र योगदानको पाठ भन्ने उपशीर्षक राखेर चर्चा गरिएका छन् । छैटौँ अध्यायमा पाँचओटा उपशीर्षकहरू जोडेर इन्द्रकुमारको विचारलाई विनिमय गरिएको छ । जसमा व्यवसायको नजरमा सुनचाँदी व्यवसायसँगै विभिन्न पत्रपत्रिका तथा रेडियो टेलिभिजनमा गरिएका अन्तर्वार्तालाई स्थान दिइएको छ । सातौँ अध्यायमार्फत बिट मारिएको छ । जहाँ इन्द्रकुमारलाई चिनेजानेका तथा व्यापारमा संलग्न साथीभाइ, कर्मचारीको अनुभवलाई समेटिएको छ । लेखकले पुस्तक तयार गर्दाको क्षणमा भेटिएका पात्रहरूलाई स्रोतव्यक्तिको रूपमा चर्चा गर्दै ३०६ पृष्ठमा अन्त्य गरिएको छ । पुस्तकको अन्तिममा तस्बिरहरू समेटिएका छन् ।

पुस्तकभित्रका कथा-

भोजपुरको होमताङस्थित लुङ्कुवामा २०१४ असोज १४ गते जन्मिएका इन्द्रकुमार रणध्वज र नरमाया लामिछाने विकका तीन छोरामध्ये जेठा हुन् । उनी जन्मिएको क्षणलाई लेखकले आकर्षक ढङ्गले लिपिबद्ध गरेका छन् । लेखकले इन्द्रकुमारको जन्मसँग जोडिएका अनेक मिथकहरूलाई उप्काएका छन् । तीन-चारओटा मिथकमध्ये रणध्वजका बडाबाउ अजवीर लामिछाने (जो तत्कालीन समयमा पढेलेखेका र नाम कमाएका व्यक्ति) को चिना र नाम जुराएको विषयलाई प्राथमिकता दिइएको छ-

अजवीरले रणध्वजका छोराको भविष्य हेर्दै भने- “राशी, वर्ग, नक्षत्र सबै मेरो नै बोकेर आएछ । अब मेरो केही समयमै मृत्यु हुन्छ । ऊ मेरो कर्म र भाग्य लिएर जन्मेछ । ऊ निकै शक्तिशाली हुनेछ । यो निसिप भएको मान्छे हो । आइमाईको साथ र सहयोगबाटै यो शक्तिशाली मान्छे बन्छ र अन्तिममा आइमाईकै कारण यसको अन्त्य हुनेछ । (पृ.२१)

सोहीकारण रणध्वजले बोलाउने नाम निसिप राखिएको पुस्तकमा चर्चा गरिएको छ । निसिपको अभ्युदयबाट सङ्घर्षगाथालाई अगाडि बढाइएको छ । पुस्तकमा वणर्नात्मक शैलीलाई अपनाइएको छ । वणर्नात्मक शैलीमा पनि साहित्यकार, कविको शैलीभन्दा पनि पत्रकारिताको भाषाशैली अपनाइएको छ । जसले गर्दा पाठकहरू झुक्किन सक्छन् । कतिपय ठाउँमा लेखक स्वयम् इन्द्रकुमार बनेका छन् । एउटा उदाहरण हेरौँ-

पहिले कहीँकतै राँगाभैँसी काट्दा एक धार्नी मागेको ठाउँमा एक डोको मासु पठाइन्थ्यो, पछि केही दिनको उधारो समेत नपत्याएर मासु काटेको थलोबाट आफू कैयौँपटक रुँदै फर्कनुपर्थ्यो । (पृ. २९)

यो वाक्यमा प्रयोग भएको आफू लेखक हो कि इन्द्रकुमार हो छुट्टिँदैन । यस्ता भाषिक त्रुटिहरू अनगिन्ती छन् । त्यसको छुट्टै खण्डमा चर्चा गरौँला । सामान्य नागरिकहरू पनि त्यो उचाइमा पुग्न सक्छन् भन्ने उत्कृष्ट नमुना इन्द्रकुमारले प्रस्तुत गरेका छन् । यसकारण साधारणभन्दा साधारण र व्यवसाय गर्न चाहने पुस्ताका लागि यो पुस्तक जुनसुकै कालखण्डमा पनि पठनीय हुन सक्छ । पुस्तकले सङ्घर्षलाई मिहिन ढङ्गले केलाएको छ । अझ दलनमा परेका वर्ग, समुदायका लागि यो पुस्तक प्रेरणाको अजस्र स्रोत बन्न सक्छ । इन्द्रकुमार जसले कक्षा २ सम्म मात्रै पढे । स्कुल पढ्दा गोबर सोहोर्न बाध्य पारिएको कथादेखि स्कुल छाड्दाको पीडालाई पुस्तकले उत्कृष्ट ढङ्गले समेटेको छ । इन्द्रकुमारको अनुभव नै व्यावहारिक अध्ययनको कडी बनेको छ । सोही अध्ययनबाटै व्यावसायलाई एउटा उचाइ दिन सफल बनेका छन् । व्यापारमा उनलाई साथ र सहयोग गर्नेहरूका कारण र उनको इमानदारिताकै कारण बराह ज्वलरी इन्डस्ट्रिज प्रा.लि. देशविदेशमा स्थापित बनेको छ ।

पुस्तकको सकरात्मक पक्ष-

आत्मवृत्तान्त भनौँ वा जीवनको गाथा लेखिँदा पाठकलाई कुनै न कुनै भ्रममा राख्ने गरिन्छ । अर्थात् राम्रा पक्षको मात्रै बढाइचढाइ गरी प्रस्तुत गर्ने र नराम्रा पक्षलाई नखोतल्ने प्रवृत्ति आम प्रवृत्ति हो  तर इन्द्रकुमारको सङ्घर्षगाथा अन्यभन्दा विल्कुल फरक छ । पाठकलाई कहीँकतै भ्रम छरिएको छैन अर्थात् उनको जीवनका नराम्रा पक्षलाई पनि खुलेर प्रस्तुत गरिएको छ । उनीविरुद्ध सुनिएका भ्रमपूर्ण कुरा होस् वा अफवाह त्यस्ता विषयलाई पनि जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । उनी र उनको परिवारबीच लामो समय राम्रो सम्बन्ध नभएको कुरा धेरै धरानेलाई थाहा थियो । उक्त कुरा पनि पुस्तकमा जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । त्यस्तै बराह ज्वलेरीमा माओवादीको लगानी छ भन्ने बेलाबेलामा हैवा फैलिँदै आएको थियो र छ । त्यस कुरालाई पनि इन्द्रकुमारले स्पष्टसँग बताएका छन् । अर्थात् माओवादीको लगानी छ भन्ने कुरा सबै भ्रम हो भनेर उनले बताएका छन् । इन्द्रकुमारको जीवनमा महिलाहरूको अप्रत्याशित आगमनको विषयहरूलाई पनि पुस्तकमा उल्लेख गरिएको छ । यतिसम्म कि इन्द्रकुमारको रहस्यमय मृत्युपछि काठमाडौँमा ‘म उनको श्रीमती हुँ’ भन्ने हल्लालाई पनि चिरिएको छ ।

उक्त कुरा पनि पुस्तकले बोलेको छ । यसमानेमा पुस्तकले पाठकलाई कुनै पनि भ्रममा राख्ने काम गरेको छैन । त्यसअर्थमा यो पुस्तक हरेक पाठकका लागि पठनीय हुन सक्छ । उनको जीवनका ससाना आयामहरू जुन कुरा आमसमुदायले चाल पाएका छैनन्, त्यस्ता आयमहरू जान्न र बुझ्नका लागि यो पुस्तक रुचिकर हुन सक्छ । व्यापार व्यवसाय गर्नेका लागि पनि सूत्रहरू दिइएको छ । व्यवसायमा कसरी सफल बन्न सकिन्छ भनेर महँगा-महँगा पुस्तकहरू खरिद गरेर पढ्ने गरेका छौँ तर पनि त्यस्ता पुस्तकले व्यवसाय गर्नका लागि सूत्र बताउँदैन । यस पुस्तकले त्यस्ता कुरालाई पनि सहजै बताएको छ । यस मानेमा पनि यो पुस्तक पठनीय हो र यसको सकरात्मक पक्ष हो भन्दा अनर्थ हुँदैन । जे यथार्थ हो त्यसलाई सरल ढङ्गले राखिएको छ । त्यस मानेमा यो पुस्तक यथार्थवादी सङ्घर्षगाथा हो ।

दलित मुद्दा-

यो पुस्तकको सतही पक्ष व्यापार व्यवसाय भए पनि सूक्ष्म तथा गाम्भीर्य पक्ष भनेको दलित मुद्दा नै हो  तर दलित मुद्दालाई इन्द्रकुमारले बडो गज्जब ढङ्गले उठाएका छन् । सामान्यतः राजनीति, सामाजिक रूपमा देखिने दलित मुद्दा उनले आर्थिक कोणबाट उठाएका छन् । उनले कहिल्यै पनि दलित मुद्दालाई राजनीति कोणबाट हेरेका छैनन् । व्यापारिक सङ्घर्षको दौरानमा व्यापारिक कोणबाटै दलितको मुद्दालाई स्थापित गर्ने प्रयास गरेका छन् । यही नै पुस्तकको सबैभन्दा उत्कृष्ट पक्ष हो । इन्द्रकुमारको एउटै लक्ष्य छ- आफू आर्थिक, नैतिक, भौतिक रूपमा सफल भए जात व्यवस्था आफैँ हटेर जान्छ । आर्थिक रूपमा सबल भएपछि कसैले पनि हेप्न सक्दैन भन्ने उनले सन्देश दिएका छन् । उनले आर्थिक रूपमा विपन्न भए दलित मात्रै हैन, उच्च ब्राह्मण भनिने वर्ग पनि चेपुवामा पर्छ, दलनमा पर्छ भन्ने कुरालाई मिहिन ढङ्गले राखेका छन् । आर्थिक सुधार गर्न सके सबै वर्गहरू समान हुँदै जान्छन् । वर्ग व्यवस्थालाई पैसाले नै वर्गीकरण गरेको ठान्ने उनले बराह ग्रुपलाई त्यही ‘मोटो’ अनुसार अगाडि बढाएका छन् ।

पुस्तकका त्रुटिहरू-

व्याकरण, भाषा सम्पादनको तहबाट हेर्दा भने निकै त्रुटिपूर्ण छ । नेपाली भाषालाई मानक बनाउन व्याकरणको महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । व्याकरणगत त्रुटिहरूका केही उदाहरण हेरौँ-

गरिबीको मार र विभेदको अपमानले उनीहरूको जीवनलाई कष्टकर बनाइरहे । (पृ. २९)

घरमा रहेको घोडा चढ्दा उनी लिसोजस्तै टाँसिने बानी थियो । एक दिन घोडा चढेर जाँदै गर्दा रानीवास पुगेपछि नराम्ररी चिप्लिएछ । (पृ. ३७)

महँगो घडी भेट्टाएर इमानदारीपूर्वक दिएपछि उनलाई गोरा मेजरले एक सय रुपैयाँ बक्सिस दियो । (पृ. ४४)

उनीहरू जहाँ बसे पनि घरमा दुई चार पाहुना र आफन्त कहिल्यै पनि टुटेन । (पृ. ६२)

सामान्यतः वाक्यान्तरण गरिँदा वाक्यको लिङ्ग, वचन, पुरुष, काल, आदर पक्षलाई ध्यान दिइन्छ । त्यसैकारण नै भाषा समृद्ध बन्छ तर माथिका वाक्यमा लिङ्ग, वचन, पुरुषका आधारमा क्रियापदको तादम्यता मिल्दैन । विकारी पद लिङ्ग, वचन, पुरुष, आदरका आधारमा क्रियापद परिवर्तन हुन्छन् । त्यसैकारण हामी विकारी भनेर भन्छौँ । यस्ता त्रुटिहरू पुस्तकभरि थुप्रै छन् । एक-दुई स्थानमा यस्ता त्रुटिहरू हुनुलाई पुस्तक प्रकाशनको समयमा त्रुटि भएछ भनेर मान्नुपर्ने हुन्छ तर यहाँ त्यो स्थिति देखिँदैन ।

भाषा सम्पादनगत त्रुटि-

भाषा सम्पादनको तहमा पनि प्रशस्त त्रुटिहरू पाउन सकिन्छ । केही उदाहरण हेरौँ-

उनी नयाँ गाउँमा पुगेर जुवा खेल्न जाने गर्थे । (पृ. २८)

धरानमा रहँदा उनले दैनिकजसो गल्फ मैदानमा खेले । (पृ. ४६)

खेलको अनुभव पाउने क्रममा उनी गल्फका राम्रो खेलाडी बने । (पृ. ४६)

प्रशस्त घाँसपराल र पानी उपलब्ध भएकाले उनी टाढासम्म गोठालो जानु पर्दैन । (पृ. ५३)

उनले बेरोजगार र सिपालु व्यक्तिलाई हातमा लिन कुनै कसरत बाँकी राखेनन् । (पृ. १६८)

यी माथिका वाक्यमा भएका त्रुटिहरू भाषा सम्पादनगत त्रुटिहरू हुन् । विशेष गरी भाषा सम्पादकले यस्ता भाषालाई सुललित र सुसज्जित बनाइदिनका लागि भूमिका खेल्न सक्छन् । पहिलो वाक्यमा ‘उनी नयाँ गाउँमा पुगेर जुवा खेल्न जाने गर्थे’ भन्दा पनि ‘उनी नयाँ गाउँमा पुगेर जुवा खेल्थे’ भनेर भन्यो भने पूर्ण वाक्य बन्छ । दोस्रो वाक्यमा गल्फ खेले भने पुग्छ । अर्को कुरा गल्फ खेल्ने ठाउँलाई मैदान भनिँदैन । कोर्स भनिन्छ । यो वाक्यलाई ‘धरानमा रहँदा उनी दैनिकजसो गल्फ खेल्न पुग्थे’ भनेमा सुनमा सुगन्ध हुन्थ्यो होला । करिब चार वर्ष लगाएर लेखिएको पुस्तकमा यस्ता त्रुटिहरू देखिनु चाहिँ गम्भीर त्रुटि हो ।

भाषिक एकरूपतामा कमी-

पुस्तकको अर्को त्रुटि भनेको भाषिक एकरूपतामा कमी हो । पुस्तकको एउटै पेजको अनुच्छेद नै पिच्छे फरकफरक शब्द लेखिएको पाइन्छ । जस्तो; श्रद्धाञ्जलि, कहीँ श्रद्धाञ्जली । एवं कहीँ एवम् । पारादिप कहीँ पारादीप ।

यस्ता त्रुटिका साथै कतिपय स्थानमा भाषा पुनरुक्ति भएका पनि छन् । कतिपय स्थानमा लेख्य परम्पराभन्दा पनि कथ्य परम्परालाई आत्मसाथ गरिएको छ । कतिपय ठाउँमा अप्रासङ्गिक शब्द पनि आएका छन् । एउटा उदाहरण-

उनले बेरोजगार र सिपालु व्यक्तिलाई हातमा लिन कुनै कसरत बाँकी राखेनन् । (पृ. १६८)

यहाँ कसर भन्न खोजिएको होला तर कसरत भएको छ । यस्ता त्रुटिले वणविन्यासलाई खलबल्याउँछ । यहाँ दिएका उदाहरणहरू बाहेक पनि कैयौँ उदाहरणहरू छन् । दोस्रो संस्करण प्रकाशन गर्दा यस्ता विषयमा ध्यान दिन सकियो भने पक्कै पनि पुस्तक सबै पाठकका लागि पठनीय बन्नेछ भन्ने विश्वास गर्न सकिन्छ ।

निष्कर्ष-

एक वाक्यमा भन्ने हो भने पुस्तकमा ‘दृढ सङ्कल्प, इमानदारी र कर्तव्यनिष्ठ भएर लागे सफलता हात पर्छ’ भन्ने नै छ । एउटा आम मानिस देशविदेशमा कसरी कम्पनी खोल्न सफल भए । यो नै पुस्तकले दिने सन्देश हो । दलित आन्दोलनलाई आर्थिक कोणबाट हेरिनु पुस्तकको अर्को सफलता हो । पुस्तकमा इन्द्रकुमार र उनको परिवारमा घटेका घटनाहरूलाई काँचको शिशाझैँ जसरी पारदर्शी ढङ्गले प्रस्तुत गरिएको छ उक्त कुरा चाहिँ पुस्तकको ओज हो । बराह स्थापना गर्ने इन्द्रकुमार जति इमानदार थिए । यो पुस्तक पनि त्यति नै इमानदार भएर उभिएको छ । कही पनि छलकपट गरिएको छैन । कसैलाई भ्रममा राख्न खोजिएको छैन । बराहका कर्मचारी हुन् वा बराहसँग जोडिएको व्यक्तिहरू । पुस्तकलाई अझै सुन्दर ढङ्गले प्रस्तुत गर्ने ठाउँहरू भने प्रसस्तै छन् । त्यसतर्फ लेखक थप घोत्लिनु आवश्यक छ ।