गुवाहाटी, असाम, भारतमा जन्मनुभएका मुक्ति उपाध्याय सिलिगुढीका स्थायी बासिन्दा हुनुहुन्छ । वहाँले नेपाली साहित्यका बहुविधामा कलम चलाउनुभएको छ।  उपन्यास, नाटक, निबन्ध, लेख, संस्मरण, अनुवाद, संवाद लेखनका साथै निर्देशक, अभिनेता, गीतकार र सङ्गीतकारका रूपमा पनि वहाँ परिचित हुनुहुन्छ । त्यसैले पूर्ण रूपले साहित्य सिर्जनामा समर्पित स्रष्टाहरूमध्ये वहाँ पनि एक हुनुहुन्छ ।

विशेष गरी विज्ञानमा आधारित वहाँका कृतिहरू सनसनीपूर्ण खोजले भरिएका रोचक छन् किनभने विज्ञानमा आधारित विषयवस्तु भएको साहित्य नेपाली भाषामा खासै लेखिएका छैनन् । रोबोटिक्सभित्र प्रवेश गर्नेमध्ये मुक्ति उपाध्याय  नेपाली साहित्यका प्रथम स्रष्टा हुनुहुन्छ । वहाँका ‘हिमाली’, ‘मालती’ र यो ‘कान्छी’ यी तीनवटै उपन्यास पढेपछि मैले केही नलेखी बस्नु अरू धेरै पाठकका लागि धोका हुनेछ भनेर नै कान्छीलाई हजुरहरूसँग परिचय गराउन चाहेँ ।

हाम्रो नेपाली साहित्यभित्र धेरै विषयवस्तु र विधाहरूमा लेखिएका कृतिहरू त छन् तर विज्ञान प्रायः अछुतो नै रहन्छ । भौतिक विज्ञान, जसलाई प्राविधिक विज्ञान पनि भनिन्छ यी विषयगत वस्तुनिष्ठ विज्ञान नै अहिले मानवजीवनमा नभई नहुने वस्तुका रूपमा गाँसिन पुगेको छ । न्युरोन्सले जेलिएको मानवमस्तिष्कले कल्पनाको दुस्साहसिक हठधर्मिता पुऱ्याएर मानिसलाई एक प्रकारले यस क्षेत्रमा क्रान्तिकारी नै बनाइसकेको छ । हो, त्यसैको उपज हो यो साहित्यकार मुक्तिको कान्छी उपन्यास ।

शशी भट्टराई श्रेष्ठ

यस उपन्यासको विषय र कथावस्तु विज्ञानमै आधारित भए पनि पछि मानव संवेदनशीलता र भावनात्मक पराकाष्ठामा पुगेर यो रोकिएको छ । बीसौँ शताब्दीका प्रसिद्ध कथाकारहरूमध्ये जुल्स भर्ने (Jules Verne), एच जी वेल्स (H.G.Wells), रे ब्राडबरी (Ray Bradbury) जस्ता विश्वका दश महान् वैज्ञानिक कथाकारमध्येका एक हुन् बोस्टन युनिभर्सिटी अमेरिकामा बायोकेमेस्ट्रीका प्राध्यापक आइज्याक असिमोव (Isaac Asimov) (सन् १९२० – १९८२ )। वहाँकै रचना पाठबाट प्रभावित भएर लेखिएको हो यो रोबोटिक्स ।

आफ्नै आइटी कम्पनी चलाएर बसेका एक जवान छोरा र एउटी गाउँले संस्कारी आमाका वरिपरि घुमेको छ यो उपन्यास । छोरा कृष्णका मिल्ने साथी सूर्य बराल नाम गरेका अर्का पात्र छन् । उनी पुलिस मुख्यालयका डिजिपी हुन्।

एकदिन आफ्नो घरमा काम गर्ने केटीहरू र ड्राइभर  मिलेर गरगहनासहित नगद चोरेर भागेपछि कथा अगाडि बढ्छ । कृष्ण आफ्ना साथी भेट्न पुलिस हेडक्वार्टर जान्छन् र आफ्नो घरमा भएको चोरीको सम्पूर्ण जानकारी साथीलाई दिन्छन् । घटना सुनेपछि डिजिपीले सल्लाह दिन्छन् । “तिम्रो एरियाको पुलिसका अफिसर इन्चार्जलाई म फोन गरिदिन्छु । अहिले नै गएर एउटा फस्ट इन्फरमेशन रिपोर्ट गर ।” (पेज १७ ) यसरी दुवै जना गफगाफ गर्दै गर्दा सूर्यलाई एउटा कल आउँछ । त्यो कल गर्ने सज्जन रिमारवि रोबोट फ्याक्ट्रीका मालिक हात्तीबाबा हुन्छन् । धेरै समयसम्म उनीहरूले फोनमा कुरा गरेको कृष्ण चुपचाप बसेर सुनिरहन्छन् । रोबोट मालिक भन्छन्- “पुलिस प्रशासनमा तपाईँहरूजस्तो सबल र सक्रिय अफिसर हुँदाहुँदै पनि पेपरमा सधैँ मारकाटका समाचार मात्रै देखिन्छन्, अशान्तिको खबर मात्र सुनिन्छ । तपाईँको सहयोगका लागि केही सिपाही रोबोट पठाऊँ म ? सहरको गुन्डागर्दी दुई दिनमा समाप्त हुन्छ । (पेज १९)

सूर्य त्यो कुरालाई छोडेर आफ्ना मित्रलाई परेको समस्या रोबोट फ्याक्ट्रीका मालिकलाई सुनाउँछन् र त्यस्ता रोबोट तिम्रो फ्याक्ट्रीमा बनाउन सक्छौ? भनेर कुरा अगाडि बढाउँछन् । ‘मेरा अभिन्न मित्र कृष्ण सुवेदी अहिले मसँगै छन्, उनलाई एक जना भान्से र एक जना आमाको रेखदेख गर्ने गरी दुईवटा रोबोट बनाइदेऊ, हामी तिम्रो फ्याक्ट्रीमा भोलि भेट्न आउनेछौँ ।’ (पेज २०) यसरी डिजिपी साबले चिनेका कारण एक हप्तामै दुई सहयोगी रोबोट घर भित्रिन्छन् । एउटा प्रसाद नामको केटो र कान्छी नाम गरेकी केटी । यी दुईको घरमा प्रवेश भएपछि कथामा ट्विस्ट आउँछ । एकाएक वातावरण रोमाञ्चक बन्छ तर ती दुवै रोबोट हुन् भन्ने कुरा आमालाई थाहा हुँदैन । यसको केन्द्रमा छ रिमारवि रोबोट फ्याक्ट्री, जसका उत्पादनले गरेका अर्धमानवीय चमत्कारले यो कृतिको निर्माण भएको छ । एक साइबेरीय रोबोटिक पात्र कान्छीको निर्दोशिता, अज्ञानता, अकल्पनीय डिग्रीको दक्षता उदेकलाग्दो मात्र छैन, त्यस यात्राभित्र आरोपित प्रोटोजिनमा मानवीय संवेदनाका अन्य तत्त्व पनि पसेको देख्दा र लेखक पात्र सोही यन्त्रसित प्रेममा फसेको देख्ता ठूलो आश्चर्य लाग्छ ।

“तिमीहरूजस्ता सहयोगी पाएर आमा धेरै खुसी हुनुहुन्छ पक्कै ! बाबा बितेपछि आमा मानसिक रूपले केही कमजोर हुनुभएको र एकपटक पक्षघात समेत भएकाले वहाँलाई ‌मनमा कुनै पनि ठूलो चोट पर्नु हुँदैन ।” आमाका सबै कुराहरू दुई रोबोटलाई कृष्णले बाटाभरि सुनाउँदै ल्याउँछन् । सबै कुरा बुझेर उनीहरूले पनि आमालाई बेस्सरी खुसी बनाएर राख्छन् ।

एकदिन आफ्नो साथी सूर्य घरमा आएका बेला आमाले रमाउँदै भन्नुभएछ, “यी दुई जना त के छन् छन् मेरा लागि । प्रसादले जे भन्यो त्यही पकाइदिन्छ अनि कान्छी त झन् कान्छी नै भइहाली । कति सेवा गर्छे मेरो भनेर साद्धे छैन । यो कान्छीजस्तै बुहारी भेटे कति राम्रो हुन्थ्यो ।” (पेज ३८)

कान्छी, आमाका हरेक इच्छाहरू पूरा गर्छे । बिहानै उठेर नित्य स्नान गरी शुद्ध भएर चोखो लुगा लगाउँछे । आमालाई मन पर्ने भजनहरू लय हालेर सुनाउँछे । आमाको माया पाएर ऊ पनि खुसी छे । आमाले माया गरेर सँगै खाना खान बोलाउँदा उनीहरू अनेक बहाना बनाएर टार्छन् । कहिलेकाहीँ आमाको मन राख्न सँगै खाए पनि तुरुन्तै बाथरुममा गएर निकाल्छन् र फ्लस गर्छन् । बिचरा, ती सोझी आमालाई के थाहा उनीहरूलाई खानु पर्दैन भन्ने कुरा ।

मानवमा विपरीत लिङ्गी आकर्षण हुनु, प्रेमको अङ्कुर टुसाउनु, फुल्नु, फक्रनु स्वाभाविक हो तर यता रोबोट कान्छी पनि कृष्णलाई मन पराउन थाल्छे । एकदिन कृष्णका छेउमा गएर कान्छीले हाउभाउका साथ प्रेमको प्रस्ताव राख्छे । प्रेममा अन्धो भैसकेको कुरा मनैदेखि अभिव्यक्त गर्छे । कान्छीको कुरा सुनेर कृष्णले मानव र रोबोटबीचको फरक देखाएर अनेक तवरले सम्झाउँछन् । कान्छी भन्छे, “हो, मलाई थाहा छ, म एउटा रोबोट हुँ तर के रोबोटले प्रेम गर्न सक्दैन ?” यस्तै अनेक प्रश्न गर्दागर्दै ऊ कृष्णको हात च्याप्प समाएर ऊसँगै टाँसिन्छे । कान्छीको स्पर्शले एउटा जवान कृष्णको पुरुषत्व डगमगाउँछ । ऊ कान्छीको हात सम्झिँदै भन्छ, “उसको हात निकै तातो थियो । मेरो स्पर्शले पनि उसलाई के  मलाई भएझैँ अनुभूति भयो होला ? मलाई जसरी नारी स्पर्शले उत्तेजित पार्छ, के त्यसरी नै पुरुष स्पर्शले कान्छी पनि उत्तेजित हुन्छे?”

कान्छीले प्रेमसम्बन्धी अनेक प्रश्न गरिरहन्छे । उसले, “रोबोटसँग मन हुँदैन, मन नहुँदा प्रेमले सार्थकता पाउँदैन र त्यो प्रेम सफल हुँदैन” भन्छ । कृष्णका यस्ता कुरा सुनेर कान्छी दुःखी हुन्छे, ऊ रुन्छे, उसका आँखाबाट आँसुका थोपा झरेर गालाबाट बग्न थाल्छन् । प्रत्येक दिन कान्छीका क्रियाकलापहरू फरक हुँदै जान्छन् । रोबोटमा यस्तो कसरी भयो? रोबोट र मान्छेबीचको अन्तर कसरी हट्यो भन्ने प्रश्न लिएर एकदिन कृष्ण रोबोट फ्याक्ट्री जान बाध्य हुन्छ । उसले त्यहाँ गएर वैज्ञानिक विवेकसँग कान्छीले गरेका पत्याउनै नसक्ने घटनाहरू सुनाउँछ । सबै कुरा सुनेपछि विवेकले उनलाई स्पष्ट पार्छन्, “कान्छीलाई बनाउँदा थोरै भए पनि केही त्यस्तै सर्किट्स प्रयोग गरेर रोबोटको पोजिट्रनिक मस्तिष्कमा मानवीय मस्तिष्कको सूक्ष्म स्वरूप समावेश गराउने प्रयास गरेको थिएँ जसले गर्दा मायाँ, दया, हाँसो, रोदन, भाव देखाउनुका साथै कसैले भनेका कुरालाई बुझेर सोहीअनुसारको प्रतिक्रिया गर्न सक्ने क्षमता पनि उसको मस्तिष्कमा विकास गरेकाले यस्तो भएको हो ।”

“ओहो ! त्यसैले पो कान्छी बेला-बेलामा मेरा छेउमा त्यस्तै हर्कत देखाउने रहिछे । कान्छी हेर्दा पनि त्यस्तै थिई । उसलाई देख्नेले नजर सजिलै अर्कातिर लान पनि सक्दै न। कान्छीसँग गजबको सौन्दर्य र आकर्षण छ । मैले पनि देख्नासाथ एकपटक मन थाम्न नसकेर उसलाई अँगालोमा बाँधेर चुम्बन गर्दा अनुभव गरेको थिएँ । मान्छेका जस्तै नरम र रसिला ओठ थिए कान्छीका ।” ( पेज ८२)

कान्छीमा धेरै परिवर्तनहरू आए । कृष्णकी बहिनी प्रेगनेन्ट हुँदा उसको शरीरका अङ्ग प्रत्यङ्गको बदलाव देखेर ऊ पनि आमा बन्न रहर गरी । त्यो सानो नानी देखेपछि त कान्छीले मन थाम्नै सकिन । मलाई पनि आमा बनाइदिनुहोस् भन्दै कृष्णलाई अनुनय गर्छे । कृष्ण सम्झाउँछन्, “कान्छी, तिम्रो मेमोरीमा धेरै ज्ञान छ, जानकारी छ, तिमी रोबोट हौ भन्ने कुरा पनि तिमीलाई थाहा छ । रोबोट कसरी प्रेगनेन्ट हुन सक्छ?” (पेज ९४)

आफू मानव होइन भन्ने वास्तविकताले कान्छीमा नैराश्य उत्पन्न हुन्छ । प्रेम अस्विकृत भएपछि त्यो बिछट्ट राम्री, साहसी, जाँगरिली सबै गुणले परिपूर्ण भएकी युवतीले एउटा ठूलो कदम उठाउँछे र सोच्नै नसकिने कार्य गर्छे । उसको यो साहस देखेर मलाई ऊ कति विचलित रहिछे, १६ औँ शताब्दीका दबिएका नारीजस्तै रहेछ उसको सोच भन्ने भान भयो । पाठकलाई कथाको क्लाइमेक्स अलि २१ औँ शताब्दीको परिवेशअनुसार नसुहाउँदो पो हो कि जस्तो पनि लाग्न सक्छ ।

यसमा उल्लेख गरिएका वैज्ञानिक आविष्कारका प्रसङ्गहरू विभिन्न प्रकारका रोबोटको जानकारीका हिसाबले यो एउटा नयाँ स्वादको रोबोटिक्स उपन्यास हो ।

अन्त्यमा,  विज्ञान प्रविधिको जगत्‌लाई बुझ्न विशेष गरी नयाँ पुस्तालाई स्कुलदेखि कलेज युनिभर्सिटीका विद्यार्थीका निमित्त यो पुस्तक अनिवार्य रूपले पठनीय छ र सबै पुस्तक प्रेमीले एकपटक कान्छीलाई भेट्नुहोस् भन्ने आग्रह गर्छु ।