बालसाहित्यमा लामो समयदेखि क्रियाशील लेखक अनन्त वाग्लेको पहिलो उपन्यास ‘कदम’ बजारमा आएको छ । जङ्गली फिरन्ताका रूपमा रहेको अल्पसङ्ख्यक राउटे समुदायमाथि लेखिएको सामाजिक यथार्थपरक यो उपन्यास यस विषयको सम्भवतः पहिलो आख्यान हो । हुन त कुनै समुदाय तथा भूगोल विशेषमा कलम चलाउनु लेखनको पुरानो चलन हो तर जसरी राउटे समुदाय आफैँमा विशेष छ, ‘कदम’ पनि समकालीन नेपाली साहित्य तथा समाज अध्येताहरूका लागि एउटा विशिष्ट कोसेलीका रूपमा देखिएको छ ।
लेखकले ‘संसारका फिरन्ताहरूमा सप्रेम’ भन्ने वाक्यका साथ पुस्तक आफ्नो अस्तित्वका लागि सङ्घर्षरत संसारका सम्पूर्ण फिरन्तामाथि समर्पितमात्र गरेका छैनन्, पुस्तक बिक्रीबाट प्राप्त लेखकस्वको अंशसमेत राउटे समुदायको हितमा खर्चने उद्घोष गरेका छन् । यसलाई लेखकको विषयवस्तु प्राप्तिप्रतिको अनुग्रह वा राउटे समुदायप्रतिको प्रेम हो, सो ठम्याउने जिम्मा भने समयलाई छोडिदिँदा उपयुक्त होला । तथापि यसलाई असल प्रयासका रूपमा भने अवश्य लिन सकिएला ।
कथा, कथाको न्यारेटर वाग्मती दैनिकका पत्रकार सिम्रिक शर्माको मेसेज बक्समा कोही अपरिचितको सन्देश आएसँगै सुरु भई अतीतमा पुग्छ । अतीतको गर्तबाट कथाका पत्र-पत्र खोल्दै जान्छ कथाको मूख्यपात्र राउटे युवा कदम कल्यालले अनि कदमले नै आख्यानलाई अघि बढाउँदै लैजान्छ ।
जसै कथा अगाडि बढ्छ, पाठक सम्मोहित हुन पुग्छन् । सम्मोहित अवस्थामै पाठकले राउटे समाजको दिनचर्या भोग्न पाउँछन् । कदमका पाइला पछ्याउँदै पाठकले काठमा बन्चरो र बसिलाजस्ता हतियार प्रयोग गरेर कोसी, मदुस, पिर्का, सन्दुस आदि बनाउँछन् । कदमसँगै गुना बाँदरको सिकार गर्छन् । राउटे समाजसँगै फरक-फरक ठाउँको यात्रा गर्छन्, उकाली-ओराली गर्छन् । भुईँयार पूजामा उन्मुक्त भएर नाचगान गर्छन् । राउटीमा मस्त निदाउँछन् अनि थाहै नपाई पाठक आफैँ राउटे भइसक्छन् । कदमका बाबु घोधनेको चट्याङ लागेर निधन भएपछि विधवा बनेकी आमा न्याउलीमाथि समुदायमा भएको छोइछिटो र कदमको सङ्घर्षमा पाठक द्रवीभूत हुन पुग्छन् । कदमको सपनालाई आफ्नै ठान्न बाध्य हुन्छन् पाठक । पाठकलाई सम्मोहित गर्ने लेखकीय सीपका लागि लेखक बधाईका पात्र भएका छन् ।
आम समुदायसँगको निरन्तरको सम्पर्कबाट सोझा र सिधा राउटेमा कसरी सामाजिक सांस्कृतिक विचलन आइरहेको छ भन्ने तथ्यको पनि यथार्थ चित्रण उपन्यासमा भएको छ । आम समुदायमा झैँ राउटेमा देखिएको पुस्तान्तरणका प्रसङ्गले उपन्यासलाई यथार्थको थप नजिक ल्याएको प्रतीत हुन्छ ।
एक प्रसङ्गमा राउटे युवती टिकीमायाले लिपिस्टिक र नेल पालिस लगाएको देखेर मुखियाले उसलाई बेस्सरी झपार्दै भन्छन्, “पुर्खाले गर्दै नगर्याको काम किन गरी हिन्नु ! बाजेले नगरी हुन्या, बराजुले नगरी हुन्या, तमी हाम्ले गन्नैपर्न्या, तेस्थो के छ यछमा ?”
अर्को एक प्रसङ्गमा बाहिरी दुनियाँले फोटो खिचेर हैरान भएको मुखियाले भन्छन्, “धिरै फुटा खिचे आयु घट्छ भन्छ तर सप्पै जना फुटा खिच्न आउँच, नमानूँ भने उनका मन दुख्न्या….क्या गन्ने । यत्थै हो अब….।”
यस्ता केही प्रसङ्गले बाहिरी दुनियाँको राउटे समाजमाथिको अतिक्रमण दर्साउँछ । टिकीमाया तथा मुखियाका उल्लिखित प्रसङ्ग पढ्दै गर्दा केही समयअघि छापा तथा सामाजिक सञ्जाल तताएको सोझा राउटे युवतीमाथि भएको दुर्व्यवहारको समाचारको सम्झना गराउँछ । केही बेरका लागि पाठक राउटे अस्तित्वमाथि सभ्य भनाउँदो समाजको असभ्य अतिक्रमण सम्झेर थाहै नपाई आन्दोलित हुन पुग्छ । एकैछिनका लागि आफ्नै सभ्यतामाथि शङ्का गर्छ, लाज मान्छ तर फेरि थाहै नपाई कदमसँगै कदम मिलाउँदै काठमाडौँ र सुर्खेत पुग्छ ।
‘झाँक्रीबा र उनका किस्सा’ नामको अध्याय पढ्दापढ्दै झाँक्रीबाले खै के जादु गर्छन् पाठक केही बेर बरालिन्छ । ऊ राउटे बस्ती छोडेर छुट्टै तिलस्मी दुनियाँमा पुग्छ । यति हुँदाहुँदै पनि कथा कमजोरीबाट अछुतो भने रहन सकेको छैन । झाँक्रीबाको प्रसङ्ग कथामा सहज र प्राकृतिक लागे पनि ‘बुद्ध र मायादेवीसँग’ शीर्षकको अध्याय भने जबरजस्ती कथामा घुसाइएझैँ लाग्छ ।
त्यस्तै, दुर्घटनामा परी बेहोस भएको कदमलाई अघोरी योगी शिवहरनाथले बचाएको प्रसङ्ग पनि अलि नाटकीय लाग्छ । यस्तो किसिमको अलि अमिल्दो लाग्ने प्रसङ्गको सट्टा स्वाभाविक घटनाक्रमबाट कथालाई अघि बढाइएको भए कथा अझै सत्य निकट र सुन्दर हुन्थ्यो कि ! त्यस्तै सपनालाई पछ्याउने क्रममा स्वजन तथा समाजबाट अलग भएको कदमले हरदम गादो र पगरी लगाइरहने कुरा पनि त्यति सुपाच्य लाग्दैन ।
केही प्रसङ्ग पढ्दै गर्दा कथा आफ्नो स्वाभाविक गति तथा लयबाट भट्किएको हो कि जस्तो लागे पनि कदमको सपनाले पाठकलाई पनि कथा बीचैमा छोड्न दिँदैन । पछिल्ला दुई अध्याय ‘दुई उपकथा’ तथा ‘यायावर सम्मेलन’ पढ्दा ती कथाकै भागभन्दा बढी रिपोर्ट पो हुन् कि झैँ लाग्छ । यी दुई अध्यायलाई लेखकले लेखकीय चलाखीका साथ कथामा विलीन हुने गरी जोड्न चुकेका हुन् कि भन्ने भान हुन्छ । यदी त्यसो हुन सकेको भए ३ सय १२ पेजको किताब अलि छरितो आकारमा आउने मात्र थिएन, पुस्तक पढ्दाको लय मीठो कविता पढेझैँ हुने थियो ।
पुस्तक एउटा जङ्गली आदिमानवको बालकले कसरी सिक्छ र जीवनमा सफलता प्राप्त गर्न सक्छ भन्ने उदाहरण कदम आफूले चाहेजस्तै ड्राइभर बनिछाडेको घटनाबाट झनै रोचक बनेको छ । यस हिसाबले यो शिक्षाशास्त्रीय महत्त्वको पुस्तक बनेको छ । अर्कातिर लोपोन्मुख समुदायमा महिला र बालबालिकाको अवस्था, विधवाको अवस्था, जीवनशैली र सम्पूर्ण सांस्कृतिक पक्षहरू केलाइएको यो आख्यान समाजशास्त्रीय, मानवशास्त्रीय दृष्टिबाट पनि एउटा अब्बल आख्यान बनेको छ । यो लोपोन्मुख जातिको संरक्षण, संवर्द्धन र देशकै एक जीवित सम्पदाका रूपमा जोगाइराख्न लेखकले नवीन दृष्टिकोणहरू पनि यसमा प्रस्तुत गरेका छन्, जुन नीतिनिर्माता र राज्यलाई समेत उपयोगी सुझावका रूपमा रहेका छन् ।
सम्पूर्ण कथा भन्नलाई अलि बढी नै पेज खर्चिएको पो कि भन्नेमा शङ्का गर्ने प्रशस्त ठाँउ हुँदाहुँदै पनि पुस्तक गहकिलो तथा रोचक छ भन्ने सत्यमा भने कुनै शङ्का रहँदैन । विषयवस्तु तथा प्रस्तुतिका हिसाबले पुस्तक रोमाञ्चक त छँदै छ ज्ञानवर्द्धकसमेत बनेको छ । आद्योपान्त पुस्तक पढेपछि पाठकलाई राउटे मात्र नभएर संसारभरका फिरन्ताको बारेमा बुझ्ने हुटहुटी र राउटेको प्रिय सिकार ‘कान्छाबा’ को अनुहार आँखाभरि झलझली आउने यस पुस्तकको साइड इफेक्टस्को रूपमा रहेका छन् । काठमाण्डु पब्लिकेशनबाट प्रकाशित चार सय मूल्यको यो पुस्तक यस वर्ष प्रकाशित उल्लेखनीय पुस्तकमा पर्नेमा भने कुनै द्विविधा छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।