साहित्यकार अञ्जना वस्ती भट्टराईको पुस्तक ‘स्मृतिलोकको यात्रा’ संस्मरणात्मक निबन्धसङ्ग्रह हो । दुई सय बयालिस पृष्ठको यस सुन्दर पुस्तकलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो संस्मरण खण्ड अन्तर्गत ‘म अञ्जना वस्ती भट्टराइ’ देखि संस्कृति र सम्बोधनमा गाँसिएको आत्मसम्मान’ सम्म गरेर नौवटा रचनाहरू छन् भने दोस्रो श्रद्धा–सुमन खण्ड अन्तर्गत – ‘आँसु’ देखि ‘धनकुटाका प्ररेणा – उपेन्द्र पोखरेल’ सम्म गरेर ११ वटा रचनाहरू समावेश भएका छन् । यो पुस्तक ओरियन्टल प्रकाशनले २०७६ माघमा प्रकाशन गरेको हो । उक्त पुस्तक डा. अञ्जनाको नेपाली भाषामा लेखिएको दोस्रो कृति हो । अङ्ग्रेजी भाषामा मात्र कलम चलाउने उहाँका सबै पुस्तकहरू जोडेर रोलक्रम अनुसार भन्नुपर्दा यो उहाँको सातौँ सन्तान हो ।

जीवन एउटा यात्रा हो । यही जीवनरूपी यात्रामा देखेका भोगेका सम्पूर्ण सम्झनाहरूलाई बटुलेर तयार पारिएको एउटा सुन्दर माला नै ‘स्मृतिलोकको यात्रा’ हो । संस्मरण खण्डको पहिलो आलेख ‘म अञ्जना वस्ती भट्टराई’ लेखकको आजसम्मको जीवन त्यहाँ समेटिएको छ । जन्म, बाल्यकाल, अक्षरारम्भ, विद्यालय जीवन, धनकुटा क्याम्पसको उच्च शिक्षा, अध्ययनका लागि विश्व विद्यालय प्रवेश, विवाह, धनकुटा क्यापसमा शिक्षण पेशा आरम्भ, काठमाडौँ प्रस्थान, विद्यावारिधिका लागि हैदरावाद प्रस्थान, गृह निर्माण र अन्त्यमा विभागीय प्रमुख हुँदासम्मको आफ्नो सम्पूर्ण जीवनयात्राका कथाहरू र अनेकौँ भोगाइहरू यसै रचनामा समाहित छन् ।

२०६९ सालमा धनकुटामा आफ्ना बुवालाई अभिनन्दन गर्दै उहाँका नाममा ग्रन्थ प्रकाशन गर्ने निर्णय भएकाले त्यस ग्रन्थका लागि लेख्नुपर्ने दबाब सृजना नै आफ्नो नेपाली साहित्यको टर्निङ प्वाइन्ट हो भन्ने कुरा बारम्बार गर्दै आफू आफ्नै श्रीमान् गोविन्दराज भट्टराईबाट प्रभावित भएको कुरा उहाँ यसरी लेख्नुहुन्छ, “अनुशासनले निर्देशित साधना, तपस्या र निष्ठा उहाँको व्यक्तित्वका अभिन्न गहना हुन् । यिनै आभूषणले उहाँलाई आफ्नो गन्तव्यतिर अग्रसर गराइरहन्छन् । उहाँलाई आफ्नो सम्पर्कमा हुने सबैले यस्तै सिर्जनाको व्यसन अङ्गालून् र निष्ठापूर्वक त्यसैमा समर्पित होऊन् जस्तो मात्र लाग्छ । उहाँकै सङ्गतले म पनि लेखन यात्रामा छिरेँ ।” (पं १३९) वास्तवमै, जीवनको पर्याय नै सङ्घर्ष हो ।

देशको राजनीतिक अवस्थाले पनि धेरै कुरामा असर परिरहेको हुन्छ । आफ्नो जागिरे जीवनमा घटेका धेरै डरलाग्दा कुराहरू सम्झँदै लेखक नेताहरूप्रति कहिले यो देश हाम्रो हो भन्ने भावना अन्तरात्मादेखि आउला र प्रत्येक नेपालीले सुखको स्वास फेर्लान् भन्ने आशय व्यक्त गर्नुहुन्छ । “नयाँ पुस्तामा अलिकति पनि अनुशासन भन्ने कुरा नरहँदा कत्रो विनाश उत्पन्न हुने रहेछ । देशको अस्थिर राजनीति, द्वन्द्व, अन्तःसङ्घर्ष, विश्वविद्यालयको पदीय खिचातानी, किचलो षडयन्त्र, विद्यार्थी राजनीति जस्ता विषय हिजो थिए र आज पनि उस्तै छन् । यस्तो परिवेशले धेरै कठिनाइहरू थप्ने गर्छ । शिक्षक, कर्मचारी, विद्यार्थी स–साना समूहमा बाँडिएर एक अर्काप्रति घात–प्रतिघातको लडाइमा सहभागी भए । विश्वविद्यालयमा शिक्षा आर्जन गर्ने स्थल जस्तो नभईकन यो कुनै रणमैदान हो जस्तै हुन्थ्यो । विद्यार्थीहरूले विश्वविद्यालय क्याम्पसका विभिन्न विभागमा अग्निदाहका घटना घटाए, त्यसमध्ये एउटा हाम्रो विभाग पनि थियो । उद्दण्डताले सीमा नाघ्दै गरेका अनेक उदाहरण प्रस्तुत हुन्थे । ती दिनमा विश्वविद्यालय सेवामा कार्य गर्न कति कठिन कुरा थियो ।” (पेज ३४)

शशी भट्टराई श्रेष्ठ

लेखकको त्यो समय र आजको समयमा धेरै फरक छ । अहिलेजस्तो छोरीलाई पढाउन लेखाउनका लागि त्यो समयको समाज फराकिलो सोचको थिएन होला, अवश्य नै । त्यै पनि आफ्ना आमा, बुवा शिक्षित भएकै कारण शिक्षाको उज्यालो उहाँमा पसिहाल्यो । त्यस समयमा पढाइलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नु सामान्य कुरा थिएन । हामी समय सँगसँगै अप टु डेट छौँ तर बाहिरी रूपमा मात्र । मनमा पुरानो सोचाइ अझै खिया परेर बसिरहेको बताउने लेखक एकठाउँमा यसो भन्नुहुन्छ, हिजो र आजका समयबीचमा धेरै परिवर्तनहरू आए, भौतिक प्रविधि र सुविधाहरू थपिए तर महिलालाई हेर्ने दृष्टिकोण फेरिएन, सुरक्षाको प्रत्याभूति कहिल्यै हुन सकेन । हामी कहिले हुन्छौँ चेतनशील र परिष्कृत ? अब कति युग पर्खनुपर्छ भन्दै उहाँ आफूलाई प्रश्न गर्नुहुन्छ ।

स्वयं समय नै अस्थिर छ । त्यसैको प्रभावमा हाम्रा गतिविधिहरू परिवर्तित हुँदै जान्छन्, परिष्कृत हुँदै जान्छन् । यद्यपि नवीन सभ्यतामा त्यही अतीत झल्किएको हुन्छ यसर्थ आजका कुनै पनि कुरा नौला र पृथक् छैनन् । बरु केही शुष्क र यान्त्रिक बन्दै गएका छन् । ‘ढुकढुकीमा धनकुटा’ यस्तै अर्थ दिने एउटा बेजोड निबन्ध हो । असाध्यै मन छुने यो निबन्ध सरल शब्दमा धनकुटाका गाउँ, बस्ती, सहर र बजारको परिचय गराउन सफल भएको छ । ‘‘नेपालको पूर्वी भेगमा पर्ने कोसी अञ्चलको पहाडी जिल्ला धनकुटाको ख्याती राणा कालमै प्रशस्त फैलिएको प्रमाण सदरमुकाममा स्थापित त्यस बेलाका बडा हाकिम बस्ने गौँडाले दिन्छ । पछि आएको पञ्चायतकालमा देश पाँच विकास क्षेत्रमा विभाजित हुँदा पूर्वाञ्चलको सदरमुकाम धनकुटा नै रहेकाले यसको ख्याति खुम्चन पाएन ।’’ (पेज ९५) स्मृतिलोकमा बाल्यकालका ती रमाइला दिनहरू, आउँद र जाँदै गरेका चाडपर्वहरू, त्यतिखेरका सामाजिक संरचना, चालचलन अनि समाजको आफ्नै परिवेश झलझली आँखामा नाँच्न थाल्छन् भने त्यो परिवेशमा घुलमिल नभएका पाठकका लागि यी सबै कुराहरू आफैँ कल्पना गर्दै आफू हुर्केको समाजसँग तुलना गरेर फरक छुट्याउन बाध्य हुन्छन् ।

यस्ता सत्यपरक जीवनले मानिसको दैनिकीमा धेरै ठूलो मान्यता राख्दछ । महाभारत पढेर हामीले कति कुरा थाहा पाउँछौ आजका दिनमा त्यसैगरी गीताका सत्य वचनहरूले सन्मार्गमा हिँडाउन मद्दत गरेझैँ मानव जीवनमा साहित्य सिर्जनाको ठूलो महत्त्व छ । राम्रो साहित्यिक सिर्जनाहरू कहिल्यै मरेर जाँदैनन्, ती जुगौँजुग अमर रहन्छन् जस्तै – ‘धुपी, सल्ला र लालीगुराँसको फेदमा’, वि.पि. को ʻमोदिआइन’, वानिरा गिरीको ʻकारागार’, आदि ।

यस्ता कृतिहरूभित्र पसेर पाठक हराउन सक्नु, पुस्तकले पाठकलाई छुँदै-छुँदै अगाडि बढ्नु यही नै लेखकको सफलता हो र पाठकको आनन्द हो । त्यस्तै कृतिमा पर्छ यो ‘स्मृतिलोकको यात्रा’ । आत्मामा अटाएको आत्मारामा पाइखानाको प्रचलन थिएन । “प्रत्येक घरका आ–आफ्ना गल्ली थिए । ठूला-ठूला ढुङग्यानी पाखामा दैनिक ठाउँसरि मलत्याग हुन्थ्यो । सन् २०१७ मा प्रदर्शित हिन्दी सिनेमा ʻट्वाइलेट – एक प्रेम कहानी’ हेर्दा मलाई पचास वर्षअगाडिको आत्माराको सम्झना आयो । अझै नेपालका कतिपय स्थानमा यस्ता प्रचलन कायमै होला ।” (६१)
स्मृतिलोकका श्रद्धासुमन खण्डमा लेखकका आमा बुबा, सासु ससुरा, हजुरआमा, ठूलीआमा तथा आफ्ना निकटमा रहेका स्वजनप्रति भावपूर्ण श्रद्धा सुमनले सम्मान गरिएको छ । स्मृतिलोकका प्रत्येक रचना आफैँमा विशेष प्रकृतिका लाग्छन् । उहाँले आफ्नी हजुरआमाको सम्झनामा लखेको एउटा कविताको अंश यसप्रकार छ –

हजुरआमा,
म तपाईँजस्तै हुन सके हुन्थ्यो
हुन त तपाईँका कष्ट
मैले नदेखेको कहाँ हो र ?
पहिलो भालेको डाकमै
डोका गाग्री हालेर
कृष्णपक्षको अन्धकारमा समेत
एक्लै लमक-लमक सान्धारा पुगेको
सजीव तस्वीर मेरो आँखामा घुमिरहेको छ ।

उहाँका मनभरि यस्तै कैयौँ कविता लुकेका होलान् । ती किन आजसम्म बाहिर आएनन् ? यस्तो विविध रचनाहरूमा कलम चलाउने एउटी शिक्षित नारीको किन आजसम्म एउटै कविताको पुस्तक पाठकले पढ्न पाएनन् । उहाँलाई प्रश्न हो मेरो ।

अन्त्यमा, यस्तै सुन्दर कृतिहरू हामी पाठकले पढ्न पाइरहौँ । स्मृतिलाई रोचक र गम्भीर दुवै बनाउन सक्ने खुबी हजुरमा छ, त्यसरी नै देखेभोगेका कुरालाई कलात्मक पाराले प्रस्तुत गर्ने पृथक् शैली पनि छ । त्यसैले नेपाली साहित्य जगत्मा यस्ता कृतिहरूले स्थान पाऊन् । नयाँ पुस्तकका लागि अग्रिम शुभकामना ।