पत्रकार तथा समालोचक राजकुमार बानियाँले एक कार्यकर्ममा भन्नुभयो, “यो उपन्यास पढेपछि मलाई नीलम कार्की निहारीकालाई योगमायाका लागि भन्दा ‘द्रौपदी अवशेष’ उपन्यासका लागि मदन पुरस्कार दिन पाएदेखि उहाँप्रति न्याय हुने थियो भन्ने महसुस भयो । नेपालमा मदन पुरस्कार पाइसकेपछि लेखकहरूमा राम्रो पुस्तक लेख्ने लेखकहरूको अभाव छ । लेखकहरूमा मैले नेपालको सबैभन्दा ठूलो पुरस्कार (मिनी नोवेल पुरस्कार) पाइहालेँ अब किन लेखिरहनुपऱ्यो र ? भन्ने पनि लाग्दो हो । “द्रौपदी अवशेष” उपन्यास एउटा अनुसन्धानमा रहेर लेखिएको पाएँ । नीलमजीको योभन्दा अगाडिको “योगमाया” उपन्यासलाई ननफिक्सन लेख्नुपर्नेमा फिक्सन लेख्नुभयो । अलिकति गलत छनोट गर्नुभयो कि भन्ने मलाई लागेको थियो । अहिले यो उपन्यास पनि खालि त्यही महाभारतको कथामा आधारित भएर लेखिएको होला भनेर मैले त्यति सकारात्मक रूपमा पढेको थिइनँ, तर उहाँले यो उपन्यास एकदमै अनुसन्धानमा आधारित भएर लेखेको पाएँ ।”
चितवनमा बसेर किताबहरू पढिरहने एक अध्ययनशील पाठक तथा समालोचक उदय अधिकारी दाजुले ‘द्रौपदी अवशेष’ उपन्यास पढेपछि उपन्यासमाथि आफ्नो धारणा राख्दै भन्नुभएको छ, “यस उपन्यासमा लेखकले दुई जना शक्तिशाली पात्रहरू ग्याल्जन र पेमालाई जीवन्त बनाएकी छन् । लेखकको कल्पनाशीलताले गर्दा हामी आफैँ हुम्लामा पुगेर सबै घटनाहरूको प्रत्यक्षदर्शी भएजस्तो लाग्छ । बहुपति प्रथाले घरमा ल्याउने जटिलतालाई लेखकले गहिराइमा गएर चित्रित गरेकी छन् । लेखकका पहिलाका उपन्यासहरू चीरहरण र योगमाया विशेष गरेर इतिहासका पात्रहरूमाथि थिए । ती चर्चित उपन्यासहरूले लेखकलाई डायमन्ड शमसेरको उत्तराधिकारीका रूपमा उभ्याउँदै लगेको थियो । त्यहाँ एउटा कमी पनि थियो । इतिहासमाथि जति सफल कुरा लेखे तापनि यदि लेखकले आफ्नो समयलाई चित्रित गर्न सकेको छैन भने त्यो एउटा कमजोरीको रूपमा मानिन्छ र यस उपन्यासमा आएर लेखकले आफ्नो समकालीन समयलाई सफल रूपमा चित्रित गरेकी हुन् । यसकारण ‘द्रौपदी अवशेष’ नीलमको शक्तिशाली उपन्यास हो ।”
छाता आफू नरुझी ओत दिन सक्तैन । घाममा आफू नसेकिई छाया दिन सक्तैन । पेमाका लागि वर्षामा रुझ्न, घाममा सेकिन ग्याल्जन हमेसा तयार थियो ।
मदन पुरस्कार विजेता उपन्यासकार नीलम कार्की निहारिकाद्वारा लिखित नयाँ उपन्यास `द्रौपदी अवशेष´ एक बिल्कुलै फरक विषयमा लेखिएको उपन्यास हो । महाभारतमा पाँच पाण्डव र द्रौपदीको वैवाहिक सत्यताबारे पढेको हुँ । उक्त घटना सुनेर मन अमिलो भएको थियो ।
अहिले `द्रौपदी अवशेष´मा पेमाले पनि द्रौपदीको जस्तै वैवाहिक जीवन जिउनुपरेको प्रतिनिधि सत्य घटनाले पुनः मन अमिलो भएर आयो ।
संस्कारलाई बचाउन अझै पनि हाम्रो नेपाली समाज कसरी जिइरहेको छ भन्ने यथार्थचित्रण यस उपन्यास पढ्दै गर्दा थाहा हुनेछ । वास्तवमा हामीले देखेको, भोगेकोभन्दा पनि फरक रहेछ समाज र संस्कृति ।
नेपालको उच्च हिमाली क्षेत्र हुम्लालगायतका केही भागमा रहेको बहुपति विवाह संस्कृतिबारे अत्यन्तै गहिरो अध्ययन अनुसन्धानपश्चात् यति सुन्दर उपन्यासले जन्मिने सौभाग्य प्राप्त गरेको छ । मैले महाभारतमा मात्रै बहुपति विवाह होला भन्ठानेथेँ । उपन्यास पढ्दै जाँदा थाहा लाग्यो, अझै पनि हाम्रो देशको हिमाली भेगमा यस्तो संस्कृतिको अवशेष बाँकी नै रहेछ ।
उपन्यास प्रथम दृष्टिविन्दुमा अर्थात् म पात्रबाट अघि बढेको छ । एक पात्र दिग्विजयले कथा भन्दै जान्छ । कुनै पहाडबाट झरेर तराईमा बसोबास गरेको परिवारमा जन्मिएको पहिलो यात्रा हुन्छ । जागिरको सिलसिलामा जब ऊ हुम्ला जानुपर्ने हुन्छ, त्यस बेला अन्य सहकर्मीको संवादबाट स्पष्ट हुन्छ – हुम्ला कति विकट र सेवा सुविधाबाट वञ्चित छ ।
दिग्विजय जन्मिएको समाजमा बहुपत्नीलाई सामान्य रूपमै स्वीकार गरिने भए तापनि उसका निम्ति बिल्कुलै नौलो हुन्छ । ऊ बहुपत्नी प्रथाबारे जान्न उत्सुक भए तापनि संस्कारप्रति सम्मान व्यक्त गर्छ । हरेक संस्कृतिलाई अर्को संस्कारमा हुर्किएकोले सम्मान गर्नुपर्छ भन्ने धारणा राख्छ । म पात्र ऊ आफैँ पनि बुवाले स्वीकार नगरेको, बुवाबाट नाम पाउन वञ्चित पात्र हो । बहुपति प्रथासँग जोडिएको अर्थात् अविवाहित आमाले जन्माएका सन्तानसँग आफूलाई तुलना गर्छ ।
“बहुपति प्रथा सुरु कसरी भयो ?” देखि त्यससँग जोडिएको विविध पाटामा उपन्यास बोलेको छ । मुख्य कुरा सामाजिक यथार्थ उपन्यासमा छ । लेखक भन्ने हाबी भएको मससुस पाठकलाई हुँदैन ।
स्थानीय संवादले रोचक बनाएको छ । साना साना कुराको विवरणले गर्दा पाठकलाई स्पष्ट दृष्टि दिएको छ । चलचित्र हेरेको प्रतीत हुन्छ । भिन्न समाजमा हुर्किएको लेखकले प्रस्तुत गर्नु लेखकको खुबी हो ।
‘पाटन चऱ्या भेडाकन बारम्बार नुन दिनू
आफन्तलाई माया दिनू पराईलाई गुन दिनू’
स्थानीय गीत र देउडाको पनि ठाउँ-ठाउँमा प्रयोगले उपन्यास जीवन्त बनेको छ । खर्क बस्न जाने, गोठको जीवनको चित्रण छ । पर्यटकीय दृष्टिकोणबाट पनि यो पुस्तक महत्त्वपूर्ण छ । कैलाश पर्वत दर्शन गर्ने सन्दर्भ छ । तिब्बत नपुगी नेपालकै लाप्चाबाट कैलाश दर्शन गर्न सकिने उल्लेख छ । हुम्ला बुझ्नकै लागि पनि महत्त्वपूर्ण सृजना बन्न पुगेको छ यस उपन्यास ।
उपन्यासमा एक प्रयोगको चुनौती उठाएकी छन् । एक केन्द्रीय पात्र पेमाले अन्तसम्म मौखिक संवाद गरेकी छैनन्, तर उनको हाउभाउबाट संवाद सुन्न सकिन्छ । कथालाई जीवन्त बनाई सम्मानका साथ आफ्नोभन्दा फरक संस्कृतिमा कलम चलाउनु र विवादरहित बनाउन सक्नु लेखकको अर्को खुबी हो ।
त्यस संस्कारभित्रका अप्ठ्यारा पाटाहरू खोल्दै गए पनि संस्कृतिप्रति लेखकको सम्मान पूर्ण रूपमा झल्किएको तमाम उदाहरणहरू छन् ।
हुम्लाको उपल्लो उत्तरी भेगको एक संस्कृति मुख्य विषय भए तापनि समग्र हुम्लाको अवस्था, कहर र कष्टसँग पाठकलाई साक्षत्कार गराई एक नेपालीलाई कर्णालीप्रति सोच्न बाध्य बनाएको छ यस पुस्तकले ।
उपन्यास सबै वर्गको पाठकका लागि पठनीय छ । सर्जक आफू कवि पनि भएको हुँदा कथामा प्रसस्त मात्रामा बिम्ब र प्रतीकको प्रयोग पनि छ । बुझ्नका निम्ति बौद्धिक कसरतको पनि खाँचो पर्छ, साथै भाषामा लालित्य छ ।
हुम्लालगायताका भेगहरूको भाषा, कला र संस्कृतिका बारेमा समेत धेरै जानकारी हासिल गर्न ठूलो सहयोगी पुस्तकका रूपमा आएको छ `द्रौपदी अवशेष´ ।
कर्णाली प्रदेशका उच्च पहाडी भेगका मान्छेले कसरी दु:खका पहाड चढ्ने र झर्ने गरेका छन् ? मान्छेहरूका पीडाका कथा र उनीहरूले भोग्दै आएका अनेकौँ व्यथाहरूको कहिले अन्त होला ? यहाँका मान्छेहरू आँसुका सागरमा कसरी पौडिन बाध्य छन् ? यस्तै यस्तै प्रश्नहरूले मन बिथोलिदिएको छ ।
दूरदराजमा सुखको घाम कहिले उदाउला ? शिक्षा र स्वास्थ्य, बाटो र बिजुली यो ठाउँमा कहिले पुग्ला ? संस्कृतिको जगेर्ना गर्ने नाउँमा कैयौँ विकृति र कुसंस्कारको अन्त कहिले होला ? यति बेला मेरो मनमा यस्तै प्रश्नहरू उब्जिएका छन् ।
पेमा र ग्याल्जनको प्रेम प्रसङ्गहरूले उपन्यास अत्यन्तै सुन्दर बनेको छ । पेमा र ग्याल्जनलाई पुर्नमिलन गराउन ठूलो भूमिका निभाउने दिग्विजयलाई मनैदेखि धन्यवाद भन्न चाहन्छु ।
अत्यन्तै खोजमूलक उपन्यास `द्रौपदी अवशेष´ले नेपाली साहित्यलाई थप उचाइ प्रदान गर्न सफल हुने कुरामा म निश्चिन्त छु । यो किताब युग-युग बाँचिरहने किताब हो भनेर निर्धक्क साथ भन्न सक्छु म । ऐतिहासिक उपन्यास बनेर हरेक पाठकको मनमा बस्न सफल हुनेमा म विश्वस्त छु ।
मेरो अरू कोहीसँग प्रतिस्पर्धा छैन, आफ्नै लेखनसँग छ भन्ने लेखकले आफ्नो भनाइलाई पुष्टि गर्दै सफल पनि भएकी छन् । अघिल्लो मानकलाई भत्काएर अघि बढेकी छन् । पाठक र समालोचकका नजरमा पनि यो निहारिकाको आजसम्मकै सबैभन्दा उम्दा सिर्जना हो ।
‘द्रौपदी अवशेष’ एउटा अर्गानिक उपन्यास भएकाले उपन्यास पढ्ने हरेक पाठकले आफ्नो पाठकीय आयु बढेको महसुस गर्नेछन् । यस्ता वजनदार उपन्यासले पुस्तक पढ्ने संस्कृतिमा समेत बढोत्तरी ल्याउन सफल हुनेछन् । उपन्यासकार नीलम कार्की निहारिकालाई हार्दिक बधाई तथा शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।